विकासन्युज

विन नेपाल लघुवित्तको डीसीईओ बने दीपेन्द्र खतिवडा

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा दीपेन्द्र खतिवडा नियुक्त भएका छन् । साउन १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले डीसीईओको पदमा खतिवडालाई नियुक्त गर्ने निणर्य गरेको हो ।

८ हजार संस्थागत लगानीकर्ताको पक्षमा राष्ट्र बैंक, बजार पारदर्शी बन्ने विश्वास

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो राखेर दिने कर्जामा संस्थागततर्फ २० करोड रुपैयाँको सीमा खारेज गरेपछि लगानीकर्तामा उत्साह थपिएकाे छ । व्यक्तिगतमा १५ करोड र सोभन्दा माथि ऋण लिनु परेमा संस्थागत लगानीकर्तामार्फत् व्यवस्था खुला भएपछि लगानीकर्तामा उत्साह थपिएको हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर कर्जामा व्यक्तिगतर्फको कर्जालाई यथावत् राख्दै संस्थागततर्फको कर्जा सीमा खारेज गरेको घोषणा गरेका थिए । मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको भन्दै सेयर धितोमा संस्थागत लगानीकर्तालाई दिइने कर्जाको सीमा हटाइएको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले लगानीकर्ताले लामो समयदेखि राख्दै आएको माग पूरा गरिदिएको छ । संस्थागततर्फको सीमा हटाइए पनि राष्ट्र बैंकले व्यक्तिगत सेयर लगानीकर्तालाई सेयर कर्जाको सीमा यथावत् राखिएको छ । व्यक्तिगततर्फ सेयर कर्जाको सीमा अधिकतम १५ करोड रुपैयाँ छ । मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजी बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरिने मौद्रिक नीतिमा उल्लेख छ । संस्थागततर्फको कर्जामा सीमा खारेज गरेर पुँजीबजारमा थप पारदर्शिता ल्याउन खोजेको हुनसक्ने सीडीएससीका प्रवक्ता सुरेश न्यौपाने बताउँछन् । उनका अनुसार संस्थागत रूपमा कारोबार गर्नेहरूको संख्या कुल डिम्याट खाताको तुलानामा एकदमै न्यून छ । उनका अनुसार संस्थागत रूपमा कारोबार गर्नेको संख्या करिब ८ हजार मात्रै छ । ‘संस्थागत रूपमा कारोबार गर्ने संख्या साढे ८ हजार हाराहारी मात्रै हुनुहुन्छ, त्यसैले सरकारले सेयर बजारलाई थप चलायमान बनाउनका लागि पनि संस्थागततर्फको सिमा खारेज गरेको हुनुपर्छ,’ उनी भन्छन्, ‘संस्थागत रूपमा कारोबार हुनेबित्तिकै थप पारदर्शी हुने भयो, सरकारलाई करमा पनि थप सहयोग हुने भयो, लगानीकर्ताहरूले ढुक्कले लगानी गर्ने वातावरण पनि सिर्जना हुने भयो, त्यसैले संस्थागत कारोबारतर्फ जोड दिनु राम्रो पक्ष हो ।’ संस्थागत लगानीकर्ताको संख्या थप गर्नकै लागि भए पनि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत २० करोडको सिमा खारेज गरेको हुनसक्ने उनी बताउँछन् । हाल ६३ लाख ३६ हजार ५२९ डिम्याट खाता रहेका छन् । जसमध्ये ५३ लाख ९१ हजार ७१८ मेरोसेयरमा सूचीकृत छन् भने ३६ लाख ६६ हजार ६७९ मात्रै सक्रिय रहेको सीडीएससीले जानकारी दिएको छ । यस्तै, नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीका पनि हाल संस्थागत रूपमा कारोबार गर्नेको संस्था एकदमै कम छ । उनका अनुसार हाल ८ हजार ६२२ संस्थागत लगानीकर्ता छन् भने व्यक्तिगत लगानीकर्ता ३७ लाख ७३ हजार ६५१ रहेका छन् । ‘संस्थागत रूपमा कारोबार हुँदा लगानीकर्ताहरूलाई जोखिम कम हुन्छ, प्रणालीबद्ध रूपमा काम हुन्छ, त्यसैले संस्थागततर्फ लगानीकर्ता बढ्नु राम्रो पक्ष हो’ उनी भन्छन्, ‘राष्ट्र बैंकको यो नीतिले सेयर बजार चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा लिएका छौं ।’ धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्न नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरूलाई सहमति दिएको छ । मौद्रिक नीतिमा ऊर्जा क्षेत्रमा लगानी अभिवृद्धि गर्न ऊर्जा क्षेत्रसँग सम्बन्धित विशिष्टीकृत संस्थाहरूबाट जारी गरिएका ऊर्जा बन्डलगायतका ऊर्जासम्बन्धी ऋणपत्रमा गरिएको लगानीलाई ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सिमामा गणना गर्न सकिने व्यवस्था गरिएको छ । राष्ट्र बैंकका अनुसार २०८१ जेठ मसान्तमा वाणिज्य बैंकहरूबाट ऊर्जा क्षेत्रमा कुल लगानीको ७.९ प्रतिशत ऋण प्रवाह गरेको छ । ऊर्जा क्षेत्रमा ३ खर्ब ५० अर्ब ७४ करोड रुपैयाँ ऋण प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । विकास बैंकहरूबाट कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा कुल कर्जाको २६.० प्रतिशत अर्थात् १ खर्ब २५ अर्ब ८३ करोड रुपैयाँ ऋण प्रवाह भएको जनाएको छ । लगानीकर्ताहरू पनि संस्थागततर्फको कर्जा सिमा हट्नुले बजार थप चलायमान बन्ने आशा लिएको बताउँछन् । लगानीकर्ता तथा नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल कम्पनीमार्फत कारोबार गर्दा कारोबार गुणस्तरीय हुने बताउँछन् । ‘संस्थागत लगानी गर्नेबित्तिकै राज्यले कर पनि राम्रो पाउने भयो, संस्थाले गर्ने भएपछि रोजगारी पनि सिर्जना हुने भयो, कारोबार पनि पारदर्शी हुने भयो, यी विभिन्न कारणले गर्दा १५ करोडभन्दा माथि कारोबार गर्नेले संस्थागत रूपमा गर्दा राम्रो हुन्छ भनेर संस्थाको सिमा खारेज गरिएको हो,’ उनी भन्छन्, ‘यसले पुँजी बजार चलायमान बनाउँछ, झन् पारदर्शी बनाउँछ ।’ संस्थागत रूपमा कारोबार गर्नेहरूको संख्या न्यून भएकोले यसको संख्या बढाउने सोचले नै सरकारले संस्थागततर्फको सिमा खारेज गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘१५ करोड सम्म कारोबार गर्नेले व्यक्तिगत रूपमा गर्न पाउने नै भयो, त्योभन्दा माथि गर्छु भन्नेले एउटा संस्था स्थापना गरेर त्यहाँबाट कारोबार गर्ने भयो, त्यसैले पनि संस्थागततर्फको सिमा हट्नु सेयर बजार चलायमान बनाउनका लागि एउटा राम्रो आधार हो ।’ व्यतिगततर्फको पनि सिमा खारेज भएको भए सुनमा सुगन्ध हुने बताउँदै सरकारले संस्थागततर्फको सिमा हटाएर स्वागतयोग्य काम गरेको उनको भनाइ छ । नेपाल राष्ट्र बैंकले पनि यो नीति सेयर बजार र सरकारका लागि प्रभावकारी हुने बताएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले संस्थागत लगानीकर्ताले नाफा कमाउँदा त्यसबाट सरकारले ३० प्रतिशत कर पाउने भएकाले संस्थागत लगानीकर्ताले पाउने कर्जाको सिमा हटाइएको बताए । ‘राष्ट्र बैंकले सरकारको नीतिलाई सहयोग गर्ने गरी पुँजी बजारमा जाने कर्जाको नीतिमा परिवर्तन गरेकाे छ, नयाँ मौद्रिक नीतिले संस्थागत लगानीकर्तालाई प्रोत्साहित गरेको छ, संस्थागत लगानीकर्ता धेरै हुँदा सेयर बजार परिपक्व पनि हुन्छ,’ उनले भने ।

सिन्धु विकास बैंकका सीईओ गिरीले दिए राजीनामा

काठमाडौं । सिन्धु विकास बैंकका प्रमुख कार्यकरी अधिकृत (सीईओ) रामकुमार गिरीले राजीनामा दिएका छन् । सीईओ गिरीले आफ्नो व्यक्तिगत कारण जनाई गत साउन ६ गतेबाट आफ्नो पदबाट राजीनामा दिएको कम्पनीका सचिव प्रमोद न्यौपानेले जानकारी दिए । साथै, साउन १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सीईओ गिरीको राजीनामा स्विकृत गर्ने निणर्य गरेको हो । सोही बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेश कुमार केसीलाई साउन १४ गतेबाट लागु हुने गरी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निणर्य गरेको हो ।

अविरल वर्षासँगैको बाढीले उपत्यका जलमग्न (केही तस्बिर)

काठमाडौं । मंगलबार राति भएको अविरल वर्षासँगैको बाढीका कारण काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेका छन् । वागमती, विष्णुमती, हनुमन्ते, धोबिखोला, नख्खु, बल्खु खोला लगायतमा वर्षासँगै बाढी आएको हो । बाढीका कारण उपत्यकाका नदी किनार छेउका बस्तीहरु जलमग्न भएका छन् । नदी किनारका सडकहरु, होटल, विद्यालय डुबानमा परेका छन् । अहिले पानी पसेको कोठाहरुबाट पानी निकाल्ने प्रयास गरिरहेको देख्न सकिन्छ । पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

असुसको एआई ल्यापटप नेपाली बजारमा

काठमाडौं । असुसले नेपाली बजारमा एआई ल्यापटप सार्वजनिक गरेको छ । गेमिङ ल्यापटपको दुनियाँमा राम्रो नाम कमाएको असुसले नेपाली बजारलाई लक्षित गर्दै एआई ल्यापटप भिभोबुक एस १५ सार्वजनिक गरेको हो । नेपालका लागि असुसको आधिकारिक वितरक नागमणि इन्टरनेशनलले एक कार्यक्रमका बिच उक्त ल्यापटप सार्वजनिक गरेको हो । तीन वटा प्रोसेसर सहित असुसको एआई ल्यापटप सार्वजनिक भएको कार्यक्रममा नागमणि इन्टरनेशनलका निर्देशक अमित सराफले जानकारी दिए । उनका अनुसार असुस भिभोबुक एस १५ मा १२ कोर भएको आर्ममा आधारित क्वालकमको स्न्याड्रयागन एक्स ईलाइट प्रोसेसर प्रयोग गरिएको छ, जुन एप्पलको एम थ्री चीपभन्दा पनि फास्ट रहेको छ । यसमा क्वालकमको ओरेन सिपियु र हेक्जागन एनपीयु (न्युरल प्रोसेसिङ युनिट) पनि रहेको उनले जानकारी दिए । एआई सुविधायुक्तले सिपियु र जीपीयुलाई फ्री गर्नेछ, जसले गर्दा एकै पटक धेरै काम गर्न उनको तर्क रहेको थियो । विन्डोज ११ अपरेटिङ सिस्टम रहेको यसमा १६ जीवी र्‍याम र एक टिभी एसएसपी स्टोरेज रहेको छ । ल्यापटपको र्‍यामलाई आवश्यकता अनुसार ३२ जाबीसम्म बढाउने सकिने नागमणिले जानकारी दिएको छ । ल्यापटपले १८ घण्टासम्म ब्याट्री ब्याक अप दिने कम्पनीले जानकारी दिएको छ । यसमा आरजीबी किबोर्ड समेत राखिएको छ । असुस भिभोबुक एस १५ मा युएसबी, एचडीएमआई, बाइफाई ७, अडियो ज्याक, माइक्रो एसडी कार्ड रिडर लगायत सुविधा समेत रहेको कम्पनीले जानकारी दिएको छ । असुस भिभोबुक एस १५ को मूल्य २ लाख ९ हजार ९०० रुपैयाँ रहेको र उक्त ल्यापटपको २ वर्षको वारेन्टी अनि एक्सिडेन्ट ड्यामेज प्रोडेक्ट सेवा समेत रहेको कम्पनीले जानकारी दिएको छ । जुन सुविधा मार्फत ग्राहकले पहिलो वर्ष फिजिकल ड्यामेजको मर्मत शुल्कको ८० प्रतिशत सम्म छुट पाउन सक्ने नागमणिले जानकारी दिएको छ । यो सुविधा भने नेपालमा खरिद गरिएका ल्यापटपमा मात्र भएको समेत कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार उक्त ल्यापटपमा विभिन्न अन्य सुविधा समेत रहेको छ । जसका कारण हाम्रा दैनिक जीवनका विभिन्न काम तथा गेमिङको दुनियाँमा यो ल्यापटपले अझ सुविधा दिने कम्पनीले विश्वास राखेको जानकारी दिएको छ ।

आठ वर्षमा त्रिशूलीमा ५५ जना बेपत्ता

चितवन । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् । पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत ५५ जना बेपत्ता भएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आव २०७३/७४ मा पाँचवटा, २०७४/७५ मा चारवटा, २०७५/७६ मा चारवटा सवारीसाधन बेपत्ता भएका हुन् । आव २०७६/७७ मा एउटा, २०७७/७८ मा एउटा, २०७९/८० मा एउटा र २०८०/८१ मा पाँचवटा सवारीसाधन बेपत्ता भएका हुन् । बेपत्ता भएका सवारीसाधनमध्येबाट आव २०७३/७४ मा १४, २०७८/७९ मा चार र २०८०/८१ मा ३७ जना बेपत्ता भएका हुन् । उक्त अवधिमा सो सडकखण्डमा ६६ वटा सवारी साधन दुर्घटना भएका थिए । आव २०७३/७४ देखि आव २०८०/८१ सम्ममा ४० ट्रक, नौ बस, १२ कार, तीन मोटरसाइकल र दुईवटा अन्य सवारीसाधन दुर्घटनामा परेका हुन् ।

तनहुँमा एक वर्षमा ७७१ उद्योग दर्ता

फाइल फोटो दमौली । आर्थिक वर्ष २०८०र८१ तनहुँमा सात सय ७१ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ उद्योग दर्ता भएका हुन् । सोही आवमा एक हजार एक सय ३७ उद्योग नवीकरण भएका छन् । उक्त कार्यालय प्रमुख दुर्गाराज सुवेदीका अनुसार सोही आवमा दुई सय ६२ उद्योग बन्द भएका छन् । त्यस अवधिमा वाणिज्यतर्फ आठ सय १७ नवीकरण र दुई सय ७० फार्म बन्द भएका हुन् । आव २०७९र८० मा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका थिए । सो आवमा रु ५१ लाख २१ हजार आठ सय राजस्व सङ्कलन भएको छ । आव २०७९र८० मा रु ६६ लाख चार हजार एक सय ६५ राजस्व सङ्कलन भएको थियो ।

देशभर वर्षा, केही प्रदेशमा मुसलधारे वर्षा हुने

काठमाडौं । पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको विभागले बताएको छ । हाल देशभर साधारणतया बदली रहेको बागमती र मधेस प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही भेगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न विभागले अनुरोध गरेको छ ।