विकासन्युज

बाढी प्रभावित क्षेत्रमा संक्रमण फैलन नदिन अपनाइँदै छ यी उपाय

काठमाडौं । असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी-पहिरोले देश अहिले आक्रान्तमा छ । २ सय बढी नागरिकले ज्यान गुमाएका छन् भने २७ जना बेपत्ता भएकाे गृह मन्त्रालयले जनाएकाे छ । यस्तै, बाँचेकाहरूको पनि घरगोठ बाँकी छैन । कोही आफन्तको घरमा त कोही सामुदायिक स्थलमा आश्रय लिरहेका छन् । बाढीले विशेषगरी काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा ठूलो क्षति पुर्‍याएकाे छ । खोला किनारमा बस्नेहरू अहिले घरभित्रको पानी र हिलो फाल्नमै व्यस्त छन् । विपदबाट सबैभन्दा ठूलो जनधनको क्षति काभ्रे जिल्लामा भएको छ भने ललितपुर, काठमाडौं लगायतका क्षेत्रमा पनि जनधनको क्षति भएको छ । बाढी प्रभावित क्षेत्रमा अहिले थुप्रिएको फोहोरले दुर्गन्ध फैलन थालेको छ । जसबाट महामारी फैलने जोखिम बढेको चिकित्सकहरूले जनाएका छन् । विपद्को बेला दूषित खाना र पानीका कारण हैजा र झाडापखाला फैलन सक्ने जोखिम हुन्छ भने कीटजन्य रोगहरूको जोखिम पनि उत्तिकै रहन्छ । बाढीसँग हिलो घरभित्र पसेकाले पानीको मुहानमा पनि ढलको पानी हुनसक्ने भन्दै खानपानमा सतर्कता अपनाउन चिकित्सकले अनुराेध गरेका छन् । यो बेलामा लामखुट्टेको टोकाइबाट लाग्ने रोगहरू पनि फैलने जोखिम रहेको विज्ञहरू बताउँछन् । कुन पालिकाले के गरिरहेकाे छ ?  गोदावरी नगरपालिका ललितपुरको दक्षिणी भेगमा धनजनको क्षति पुर्‍याएकाे छ । ललितपुरको गोदावरी नगरपालिकामा १९ जनाको मृत्यु भएको छ भने सडकहरू पनि अवरुद्ध भएका छन् । धेरै ठाउँमा खानेपानीको  समेत समस्या भएकाे  छ । केही पानीकाे मुहानमा बाढी पसेकाे छ । स्वास्थ्यकाे जोखिमलाई मध्यनजर गर्दे अहिले उद्धार राहतको कामसँगै स्वास्थ्यकर्मी पनि परिचालन गरिएको पालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले प्रत्येक वडा कार्यालयमार्फत सचेतनाका कार्यक्रम पनि सुरु गरेको बताए । पानी उमालेर र पिउस गरेर खान पनि सल्लाह दिएका छौं,’ प्रमुख महर्जन भन्छन्, ‘अहिलेसम्म स्वास्थ्य समस्या भएको देखिएको छैन, जोखिम हुनसक्छ भन्दै हामीले सचेत गराएका छौं । ’ ललितपुर महानगर ललितपुर महानगरले भने प्रभावित क्षेत्रमा अहिले डाक्टरसहितको स्वास्थ्यकर्मीको टोली खटाएको छ । डा. सवेन्द्र गैरेको नेतृत्वमा महानगरले हरेक वडामा डाक्टरसहितको टोली परिचालन गरेको महानगरका प्रवक्ता राजु महर्जनले बताए । उनले आवश्यक औषधि बोकेर टोली प्रभावित क्षेत्रमा गएको जानकारी दिए । काठमाडौं महानगर यता काठमाडौं महानगरले भने नियमित सरसफाइ कार्यलाई तीव्र पारेको जनाएको छ । बाढीले फोहोरको थुप्रो भएका क्षेत्रमा हटाउने, सरसफाइ गर्ने कार्यलाई जोड दिएको महानगरका सहायक प्रवक्ता नमराज ढकालले बताए । उनले प्रभावितहरूलाई केही दिन विद्यालयमा ल्याएर राखेको र अहिले अवस्था सामान्य हुँदा आ-आफ्नो घर फर्किसकेको जानकारी दिए । ‘अहिले जोखिम भनेको सरसफाइको कमीका कारण लाग्ने रोगहरूको हो, यो कार्य हामीले गर्दै आएका छौं,’ उनी भन्छन्, ‘महानगरभित्र अहिले स्वास्थ्यकर्मी नै पठाउनु पर्ने अवस्था छैन । यस्तो अवस्था आउन नदिन हामीले हाम्रा नियमित कार्यलाई जोड दिएका छौं । ’ कस्तो छ प्रभावित क्षेत्र ? डा. सवेन्द्र गैरे अहिले ललितपुर महानगरकाे प्रभावित घरघरमा पुगिरहेका छन् । उनीसँग नर्सलगायत अन्य स्वास्थ्यकर्मीको टोली पनि छ । मंगलबार उनको टोली ललितपुरको बागडोलमा पुगेको थियो । जहाँ क्रिस्चियनकाे एउटै चर्चमा दुई सयभन्दा बढी प्रभावितहरू बसिरहेका छन् । बाढीले उनीहरूको घर मात्र होइन, अन्नपात, भाँडाकुँडा सबै बगाएको छ । महानगरले खानबस्नको व्यवस्था गरे पनि यति धेरै मान्छे एकै ठाउँमा बस्दा जोखिम हुने सम्भावना रहेको छ । डा. गैरेको टोलीले सबैको स्वास्थ्य परीक्षण गरी पानी उमालेर खान र सरसफाइमा ध्यान दिन सल्लाह दिएको छ । उनीहरूलाई जाँच गर्दा गम्भीर समस्या नदेखे पनि कसैलाई ज्वरो, कसैलाई टनशिलको समस्या देखिएको डा. गैरेले जानकारी दिए । उनी भन्छन्, ‘हामीले सबैको जाँच गर्दा ठूलो समस्या देखिएन तर, बालबालिका, वृद्धवृद्धा सबै एकै ठाउँमा बस्दा जोखिम हुने सम्भावना छ ।’ डा. गैरेले यस्तो बेला हुन सक्ने जोखिमबारे जानकारी गराउँदै केही समस्या देखिनेबित्तिकै आफूलाई सम्पर्क गर्न भनेको बताए । उनले प्रभावितहरू अहिले घरभित्र पसेको पानी र हिलो फाल्नमा व्यस्त रहेको बताए । उनकाे टाेलीले जाँच गर्दै आवश्यक पर्नेलाई औषधि वितरण गरिरहेकाे छ । स्वास्थ्य मन्त्रालयले के गरिरहेको छ ? बाढी-पहिरोले जोखिम निम्त्याएको क्षेत्रमा संक्रमण फलन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सजग रहन आग्रह गरेकाे छ । खानेपानीमा ढलको दूषित पानी पसेको हुन सक्ने भन्दै पानी उमालेर मात्र पिउन भनेको छ भने सरसफाइमा पनि ध्यान दिन प्रभावितहरूलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रका हरेक घाइते भएका नागरिकलाई निःशुल्क उपचार गरिरहेको जनाएको छ । यस्तै, बाढी-पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएमा मन्त्रालयको हटलाइन नम्बर १११५ मा फोन गर्न र एम्बुलेन्सको लागि १०२ मा फोन गर्न आग्रह गरेको छ । वरिष्ठ जनस्वास्थ्य अधिकृत एंव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी रविकान्त मिश्रले सरकारले पालिकासँग समन्वय गरेर स्वास्थ्य सेवा दिने काम गरिरहेको जानकारी दिए । उनले खाना र दूषित पानीबाट झाडापखाला, हैजा, आउँ, टाइफाइडलगायतका समस्या देखिनसक्ने सँगै कीटजन्य समस्या पनि देखिन सक्ने भन्दै सजग रहन आग्रह गरेका छन् । इपिडिमियोलोजी तथा रोग निण्न्त्रण महाशाखाले संक्रामक रोग फैलन नदिन र जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहेको जनाएको छ । महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले केन्द्रदेखि तलसम्मका सबै निकायलाई तयारी अवस्थामा राख्न निर्देशन दिसकेको बताउँदै संकटको अवस्था आउन नदिने बताए । बाढी प्रभावित क्षेत्रमा आउन सक्छन् यस्ता जोखिम बाढी प्रभावित क्षेत्रमा विभिन्न प्रकारका स्वास्थ्य जोखिमहरू आउने सम्भावना रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरू बताउँछन् । यस्तो बेलामा पानीजन्य रोगहरू जस्तै झाडापखाला, हैजा, टाइफाइड र हेपाटाइटिस फैलिन सक्ने सम्भावना धेरै हुन्छ । दूषित पानीको प्रयोगले यी रोग लाग्ने जोखिम बढी हुने चिकित्सकहरू बताउँछन् । बाढीपछि मानिसहरू अस्थायी शिविरमा बस्न बाध्य हुन्छन्, जहाँ पर्याप्त सरसफाइ र स्वास्थ्य सुविधाको कमी हुनसक्नाले संक्रमणको जोखिम बढाउँछ । बाढीका कारण पानी जम्नाले यो बेला मच्छरको संख्या वृद्धि हुन्छ, जसले डेंगु, मलेरिया, र चिकुनगुनिया जस्ता रोगहरूको प्रकोप फैलिन सक्छ । लामो समयसम्म पानीमा रहेर काम गर्दा छालासम्बन्धी समस्या जस्तै चिलाउने, घाउखटिरा, फंगस संक्रमण हुन सक्छ। संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन यस्तो बेलामा बासी सडेगलेका खानेकुरा नखान र पानी पनि उमालेर, फिल्टर गरेर पिउस राखेर मात्र पिउन आग्रह गर्छन् । काँचो खानेकुरा फलफुल खाँदा पनि राम्रोसँग धोई पखाली खानुपर्नेमा उनले जाेड दिए । ‘यो बेलामा यस्ता सतर्कता अपनायो भने आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन मद्दत गर्छ,’ उनी भन्छन्, ‘यदि यति गर्दा पनि समस्या देखिहाल्यो भने तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्छ, हामीले स्वास्थ्य संस्था जान लापरवाही गर्‍याैं भने ज्यान नै जोखिममा पर्न सक्छ ।’

राष्ट्रिय वाणिज्य बैंकले बाढीपीडितलाई दियो दुई करोड

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैंक सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गानाले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री ओलीले बैंकप्रति कृतज्ञता व्यक्त गर्दै बाढीपहिरो र डुबानले जनता अप्ठ्यारोमा परेका बेला यस प्रकारका सहयोग र ऐक्यबद्धताले राहत मिल्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले संस्थागत सामाजिक उत्तारदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको बताएका थिए । मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त कोषमा एक अर्ब रुपैयाँ दाखिला गर्ने निर्णय गरेको थियो ।

बाढी-पहिरो पीडितलाई सहयोग गर्न एमाले सांसदहरूले आधा महिनाको पारिश्रमिक दिने

काठमाडौं । सत्तारूढ दल नेकपा एमालेले प्राकृतिक विपत्तिमा परेका नागरिकको उद्धार र राहत कार्यमा जुट्न पार्टीका नेता/कार्यकर्तालाई निर्देशन दिएको छ । मंगलबार बसेको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पीडितहरुको पुनःस्थापना, राहतको व्यवस्था गर्न र समस्या परेका स्थानमा समाधान गर्न सरकारी तवरबाट पहल र प्रयत्न गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एमाले सचेतक सुनिता बरालले एमालेका जनप्रतिनिधिहरुले पनि आवश्यक सहयोगमा लाग्न निर्देशन दिएको बताइन् । उनले आम नागरिकलाई साझा रूपमा संयुक्त आह्वान गरेर डटेर विपद् व्यवस्थापनमा जुट्न आग्रह गरेकाे बताइन् । सरकारी, गैरसकारी संस्था, नागरिक समाजलाई पनि आवश्यक सहयोग गर्न आह्वान गरेको ‍उनले जानकारी दिइन् । सचेतक बरालले एमाले सांसदहरुले आधा महिनाको पारिश्रमीक राहत कोषमा जम्मा गर्ने निर्णय बैठकले गरेको पनि बताइन् । गृह मन्त्रालयले बाढी-पहिराेमा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएकाे जनाएकाे छ । यसैगरी,  मन्त्रालयले नेपाली सेनाका तीन हजार ९०६, नेपाल प्रहरीका १४ हजार ८०२ सशस्त्र प्रहरीका १२ हजार २३ जनशक्ति विपद्पछि खोज र उद्धारमा खटिएकाे पनि जनाएकाे छ ।

नेप्से परिसूचकमा ११४ अंकको वृद्धि, कारोबार बढेर अर्ब ६१ करोड

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको सुधार देखिएको छ । मंगलबार नेप्से परिसूचक ११४ दशमलव ७० अंकले बढेको हो । चार दशमलव ५७ प्रतिशतको वृद्धिपछि परिसूचक दुई हजार ६२३ दशमलव ५६ को अंकमा कायम भएको छ । मंगलबार तीन सय सात कम्पनीका एक करोड ७५ लाख सात हजार ५५५ कित्ता सेयर ९६ हजार ९०६ पटक खरिदबिक्री हुँदा सात अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ रुपैयाँ बराबरको कारोबार भएको छ । वित्त समूह आज सबैभन्दा धेरै नौ दशमलव ७४ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ तीन दशमलव ८३, विकास बैंक पाँच दशमलव ४८, होटल तथा पर्यटन पाँच दशमलव ९७ र जलविद्युत् पाँच दशमलव ९८ प्रतिशतले बढेको छ । लगानी छ दशमलव १०, जीवन बीमा चार दशमलव १२, उत्पादन तथा प्रशोधन दुई दशमलव १९, लघुवित्त तीन दशमलव ९८, म्युचुअल फन्ड एक दशमलव ६६, निर्जीवन बीमा तीन दशमलव शून्य नौ, व्यापार तीन दशमलव ९९ र अन्य समूह चार दशमलव ६७ प्रतिशतले बढेको छ । मंगलबार १८ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने एनएमबी–५० म्युचुअल फन्डको सेयर मूल्य तीन दशमलव ८६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा मंगलबार सबैभन्दा धेरै एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडको २८ करोड ८२ लाख ८३ हजार ९५६ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै अपी पावर कम्पनी लिमिटेडको छ लाख १२ हजार ४०१ कित्ता सेयर किनबेच भएको छ ।

पोखरामा सुरु भयो एमएडब्लु वृद्धि ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

पोखरा । दिपल, सेरेस र नामी इभीको नेपाली वितरक एमएडब्लु वृद्धिले पोखरामा ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ सुरु गरेको छ । पोखरा इभेन्ट सेन्टर, बुलाउदी–०६ मा सोमबारबाट सुरु ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ बुधबारसम्म चल्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार एमएडब्लु वृद्धिको ‘एक्सचेन्ज इभेन्ट’को अवधिमा ग्राहकले दिपल, सेरस र नामीले नाडा अटो सोमा जारी गरेको विशेष अफर उपयोग गर्न सक्नेछन् । जसअन्तर्गत दिपल एस ०७ बजेट अघिको मूल्य यानि ७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् । साथै, नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सक्नेछन् भने नामी इभीमा ७ किलोवाटको चार्जर पाउनेछन् । ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउनेछन् । यसबाहेक ‘अनस्पट फाइनान्सिंग’ र ‘अनस्पट डेलिभरी’ पनि लिन सक्ने कम्पनीले बताएको छ । दिपल, सेरेस र नामीलाई ८.४९ प्रतिशतको निश्चित ब्याजदरमा घर लान सक्नुका साथै यो कार्यक्रममा सहभागी हुने एक जना भाग्यशाली विजेताले रुपाकोटको स्टे पाउने कम्पनीको भनाई छ । यी अफरहरुबाहेक एक्सचेन्ज क्याम्पमा आएर टेस्ट ड्राइभ गर्नुहुनेले ‘फुडस्टल’ र ‘म्युजिक’को मज्जा लिन सक्ने कम्पनीले बताएको छ ।

शीर्ष धनीको सूचीमा किन पर्न चाहँदैनन् चीनका टाइकुनहरू ? यस्तो छ कारण

ई-कमर्स कम्पनी पीडीडीका संस्थापक कोलिन ह्वाङ । फाइल तस्बिर । तस्बिर: ब्लुमबर्ग । काठमाडौं । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । त्यहाँका जनताको सम्पत्ति द्रूत गतिमा बढिरहेको छ तर चिनियाँ टाइकुनहरू अरबपतिहरूको सूचीमा शीर्षमा रहन चाहँदैनन् । यसको कारण हाे- चिनियाँ कम्युनिष्ट पार्टीले अति धनीलाई निशाना बनाउनु । गत महिना ई-कमर्स कम्पनी पीडीडीका संस्थापक कोलिन ह्वाङ चीनको सबैभन्दा धनी व्यक्ति बनेपछि चर्चामा आए । तर उनको नाम चर्चामा आएपछि पीडीडीले नाफाको अनुमानलाई कम गरेर लगानीकर्ताहरूलाई छक्क पार्‍यो । यसको सेयरमा भारी गिरावट आएको छ । ह्वाङले रातारात १४ अर्ब डलर गुमाए र पेय पदार्थ कम्पनी नोङफु स्प्रिङका संस्थापक शान्सन झोङ फेरि चीनको शीर्ष अर्बपति बने । २४ घण्टाभित्र नोङफु स्प्रिङले अप्रत्याशित रूपमा आफ्नो निराशाजनक आउटलुक जारी गर्‍यो र झोङ पनि चाँडै धनी सूचीमा पहिलो स्थानबाट झरे । उक्त घटनाबाट सरकारी कारबाहीबाट बच्न कर्पोरेट दिग्गजहरूले कसरी आफ्नो सेयर मूल्यलाई प्रभाव पार्न सक्छन् भनेर चिनियाँ सोशल मिडियामा छलफल सुरु भयो । सी चिनफिङको ‘साझा समृद्धि’ अभियानको मुख्य जोड भनेको उच्च धनीहरूमाथि कारबाही गर्नु हो । एक वाल स्ट्रीट ब्रोकरले ‘चीनमा के कोही पनि धनी व्यक्ति बन्न चाहँदैन?’ भन्ने कुराकाे निष्कर्षमा पुग्न असम्भव भएकाे बताए । पुरानो मानसिकता सन् १९७० को दशकको उत्तरार्धमा देङ सियाओपिङ सर्वोच्च नेता बनेपछि पुरानो माओवादी मानसिकता परिवर्तन गर्न काम सुरु गरे । विशेषगरी धन कमाउने प्रति वैचारिक शत्रुता परिवर्तन हुन थाल्यो । बढ्दो पुँजीवादी राष्ट्रमा धनी बन्नु ठूलो कुरा हो भनी उनले सोचे । धनी बन्नु शानदार थियो तर धेरै धनी बन्नु थिएन । चीनले अन्य विकासोन्मुख देशहरूको तुलनामा धेरै सम्पत्ति आर्जन गरिरहेको थियो, तर पनि नाइजेरिया, मेक्सिको र भारतलगायत साना अर्थतन्त्रहरूको तुलनामा यसको सबैभन्दा ठूलो व्यक्तिगत सम्पत्ति मामूली नै रह्यो । २००० दशकाे आर्थिक छलाङकाे समयमा पनि त्यहाँ एक अलिखित सीमा थियो । उक्त सीमाले कसैको व्यक्तिगत सम्पत्ति १० बिलियन डलरभन्दा बढी बढ्न दिँदैन थियाे । कम्तीमा दुई अर्बपतिहरूको कुल सम्पत्ति २०१० को प्रारम्भमा १० बिलियन डलरकाे नजिक पुगेकाे थियाे । तर चाँडै नै उनीहरू भ्रष्टाचारको आरोपमा जेल परे । आरोप निराधार थिए भन्न सकिँदैन तर यसले शंका भने उब्जाएकाे छ । निशानामा काे छ ? सत्तारूढ दललाई हरेक व्यवसायको सम्पूर्ण जानकारी भएकाले धेरै उद्यमी डरले बाँचिरहेका थिए । सन् २०१२ मा सी जीनपीङ सत्तामा आएपछि उनले कुलीन वर्गहरूमाथि भ्रष्टाचारविरुद्धको अभियान चलाए । सुरुमा सार्वजनिक पदमा रहेका ठूला व्यक्तिहरू उनको निशानामा थिए । तर चीनको अर्थतन्त्र सुस्त भएपछि ठूला टेक कम्पनीहरू पनि सरकारको निशानामा परेका छन् । पछिल्ला वर्षहमा धेरै चिनियाँले १० बिलियन अमेरिकी डलरभन्दा बढीको नेट वर्थ बनाए । यसमा अलिबाबाका संस्थापक ज्याक मा सबैभन्दा अगाडि थिए । यो अवस्था २०२० मा परिवर्तन भयो । चीनले लगभग २४० अरबपतिहरू उत्पादन गर्‍याे जुन अमेरिकाको दोब्बर संख्या हो । २०२० काे अन्त्यमा ज्याक माले चीनको सरकारको आलोचना गर्दै भाषण दिए । उनीमाथि कडा कारबाही भयो । अलिबाबाको सेयर मूल्य घट्यो । ज्याक मा धनीहरूको सूचीबाट झरे र जनताको नजरबाट गायब भए । अर्को वर्षको सुरुमा सीले आफ्नो ‘साझा समृद्धि’ अभियान सुरु गरे । चिनियाँ नेतृत्वको ‘समानतावादी’ मूल्यमान्यतासँग मेल नखाने सबै कम्पनीहरू विरुद्ध कारबाही गरियो । बढ्दै छ समस्या चीनमा धेरै धनी हुनु खतरनाक छ । दबाबका कारण भेन्चर क्यापिटल वित्त सुक्न थालेपछि युवाहरू इन्भेष्टमेन्ट अनि बैंकिङजस्ता आकर्षक पेशामा करिअर बनाउन डराउँछन् । धनाढ्यहरू द्रूत गतिमा देश छाडिरहेका छन् । कारबाही सुरु भएदेखि चीन छोड्ने करोडपतिहरूको संख्या बढ्दै गएको छ । गत वर्ष यस्ताे संख्या १५ हजारभन्दा बढी पुगेको थियाे । यो कुनै पनि अन्य देशको तुलनामा धेरै हो । यसकाे प्रमाण याे पनि हाे कि निजी क्षेत्र अब चीनमा पछि हटिरहेको छ । यसले चीनलाई महाशक्ति बनाउन महत्त्वपूर्ण भूमिका खेल्‍याे तर चिनियाँ सरकारकाे नीतिले उल्टै असर गरिरहेकाे छ । २०२१ देखि सेयर बजार ओरालो लागेको छ । तर सरकारी कम्पनीहरूले कुल बजार पूँजीकरणमा आफ्नो हिस्सा एक तिहाइभन्दा धेरै बढाएर ५० प्रतिशत पुर्‍याएका छन् । चीन अहिले विश्वको एक मात्र ठूलो सेयर बजार हो जहाँ सरकारी स्वामित्वका कम्पनीहरूको मूल्य निजी क्षेत्रका कम्पनीहरूको बराबर छ । पछिल्लो तीन वर्षमा व्यक्तिगत सम्पत्तिमा नाटकीय रूपमा गिरावट आएको छ । चीनमा अर्बपतिको संख्या ३५ प्रतिशतले घटेको छ भने बाँकी विश्वमा १० प्रतिशतले बढेको छ । – एजेन्सीहरूकाे सहायताबाट

‘एप्पल’को जागिर छाडेर निर्मितले बनाए ‘९ हजार करोड’को कम्पनी

निर्मित पारेख । फाइल तस्बिर । काठमाडौं । मुम्बईको मायानगरीमा रहेकाे एक साधारण परिवारका निर्मित पारेखले एप्पलजस्तो ठूलो कम्पनीमा जागिर छोडेर ९ हजार करोडको बिजनेश खडा गर्न सफल भएका छन् । उनले ‘अपना’ नामको प्लेटफर्म बनाएका छन् । यसले ब्लु कलर जब (शारीरिक श्रममा आधारित) खोज्नेहरू र कम्पनीहरूलाई जोड्दछ । स्थापना भएकाे २२ महिनामा कम्पनी १.१ बिलियन डलर (लगभग ९ हजार १६ करोड भारु)को भएको छ। आज ‘अपना’ मा १ लाख ५० हजार‍भन्दा बढी कम्पनी दर्ता भएका छन् । यसमा अनएकेडेमी, ‍बिगब्यास्केट, लिसियस, ह्वाइटह्याट जुनिअर, फ्लिपकार्ट, जाेमाटाे, डेल्हीवेरीजस्ता ठूला नाम समावेश छन्। काे हुन् निर्मित पारेख? उनकाे बारेमा संक्षिप्तमा जानाैं । सानैदेखि केही फरक गर्न चाहना राख्ने पारेखमा सानैदेखि केही फरक गर्ने विचार थियो । ७ वर्षको उमेरमा उनले डिजिटल घडी बनाएका थिए । त्यसपछि १३ वर्षको उमेरमा उनले रोबोटिक्स प्रोग्रामिङ सिके । पारेखले गुजरातको ‘निरमा इन्स्टिच्युट अफ टेक्नोलोजी’बाट बीटेक गरे। २१ वर्षको उमेरमा आफ्नो पहिलो स्टार्टअप सुरु गरे । जसको नाम इन्कोन टेक्नोलोजी थियो । यो कम्पनीले बाढी व्यवस्थापनका लागि समाधान तयार गर्ने गर्दथ्यो । स्ट्यानफोर्ड विश्वविद्यालयबाट एमबीए इन्काेनपछि पारेखले क्रक्सबक्स नामको अर्को कम्पनी खोले । पछि उनले यसलाई इन्टेललाई बेचेका थिए । त्यसपछि उनले डाटा एनालिटिक्सको निर्देशकको रूपमा इन्टेलमा काम गर्न थाले । यस अवधिमा उनले स्ट्यानफोर्ड विश्वविद्यालयबाट एमबीए पनि गरे । एमबीए गरेपछि पारेख एप्पल कम्पनीसँग जाेडिए । त्यहाँ उनी आईफोन उत्पादन र रणनीति टोलीको एक हिस्सा बनेका थिए । यसरी सुरु भयो ‘अपना’ भारतमा ब्लु कलर जागिरको क्षेत्रमा देखिएको समस्या देखेर पारेखले एप्पलको जागिर छोडेर भारत फर्कने निर्णय गरेका हुन् । उनको उद्देश्य एउटा प्लेटफर्म सिर्जना गर्नु थियो जसले असंगठित ब्लु कलर जबका कामदारहरूलाई रोजगारदाताहरूसँग जोड्न सकाेस् । उनले कोरोना महामारीअघि नै ‘अपना’ सुरु गरेका थिए । ब्लु कलर जब शारीरिक श्रममा आधारित हुन्छ । २२ महिनामै धमाका स्थापना भएको २२ महिनामा अपनाले निकै धमाका गरिसकेकाे छ । कम्पनी १२५ प्रतिशतकाे प्रभावशाली दरमा बढ्दै गइरहेकाे छ । अहिले भारतमा १ लाख ५० हजारभन्दा बढी कम्पनीहरूले अपनाकाे प्रयोग गरिरहेका छन् ।

एकै वर्षमा शर्मिलाले बेचिन् १० लाखको निगुरो 

गलकोट । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका स्थानीय शर्मिला पुर्जाले निगुरो संकलन गरी बिक्रीका लागि बागलुङ बजार पठाउँछिन् । साउनदेखि असोजसम्म पुर्जासहित दोवा गाउँका महिलाको दैनिकी जंगलमा निगुरो खोज्ने र बेच्नेमा बित्छ । लेकाली जंगलमामा उम्रिने निगुरोको बजारमा राम्रो माग हुने गरेको छ । निगुरो उपभोक्ताको रोजाइमा परेपछि शर्मिला पुर्जासहितका महिलाहरुलाई आयआर्जनमा सहयोग पुगेको छ । यस वर्ष मात्रै शर्मिला र मायाकुमारी पुनले १० लाख ५० हजार रुपैयाँको निगुरो बिक्री गरिन् । पुर्जाले भनिन्, ‘वन उपभोक्ता समिति, संकलन कर्ता, गाडी भाडा कटाएर बाँकी रकम नाफा हुन्छ, यहाँका महिलालाई घर खर्च पुग्छ, कम्तीमा एकजनाले एक ‘सिजन’मा एक लाख रुपैयाँभन्दा माथिको निगुरो बिक्री गर्छौं ।’ पुर्जाले मात्रै यस वर्ष आठ लाख ५० हजार रुपैयाँ र माया पुनले दूई लाख ५० हजार रुपैयाँको बिक्री गरेको बागलुङ बजारका व्यापारी शंकर रेग्मीले बताए । रेग्मीले विगत चार वर्षदेखि निगुरोको बिक्री गर्दै आएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाको जंगलमा पाइने निगुरो सदरमुकाम बेनी बजार हुँदै बागलुङबजार ल्याउने गरिएको छ । बागलुङ बजारका व्यापारी रेग्मीले होलसेल मूल्यमा तरकारी व्यापारीलाई निगुरो बिक्री गर्दै आएका छन् । बागलुङमा दोवाको निगुरो होलसेल प्रतिमुठा ८० रुपैयाँ र खुद्रा प्रतिमुठा १०० रुपैयाँमा बिक्री हुने गरेको छ ।