विकासन्युज

माघ ९ देखि देशभर बीवाईडीको ‘एक्सचेन्च फेस्ट’ हुँदै, पुराना गाडीसँग नयाँ ईभी साट्न सकिने

काठमाडौं । बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने भएको छ । पाँच दिनसम्म चल्ने उक्त मेला माघ ९ देखि १३ गतेसम्म आयोजना हुन लागेको हो । एक्स्चेन्ज कार्यक्रममा ग्राहकले आफूसँग भएको जुनसुकै ब्रान्डको पुरानो गाडीसँग बीवाइडीको ब्रान्ड न्यू ईभी साट्न सक्नेछन् । एक्सचेन्ज गर्दा ग्राहकले उत्कृष्ट मूल्यांकनको साथै एक्सचेन्ज बोनस, लोयल्टी बोनस, नि:शुल्क प्रिमियम एसेसोरिज र नि:शुल्क चार्जर जडानको सुविधा पाउने कम्पनीले जनाएकाे छ । एक्सचेन्ज अफर काठमाडौं उपत्यकाका पाँच स्थानसहित बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, वीरगञ्ज, पोखरा, बनेपा, नेपालगन्ज र नारायणघाटमा हुनेछ । बीवाईडीको एट्टो थ्री, डल्फिन र एम सिक्सजस्ता चर्चित र लोकप्रिय ईभी एक्सचेन्ज गर्न सक्नेछन् । बीवाईडी नेपाली बजारमा सर्वाधिक बिक्री हुने ईभी ब्रान्ड हो । नेपाली बजारमा यसको एट्टो थ्री, डल्फिन र एम सिक्स मोडल निकै लोकप्रिय मानिन्छन् ।

ट्रम्पका १ सय छानिएका पाहुनाहरूमध्ये मुकेश अम्बानी र नीता पनि

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मुकेश अम्बानी र उनकी श्रीमती नीताको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । यो वाशिंगटन डीसीमा ट्रम्पको दोस्रो शपथ ग्रहण समारोहको एक दिन अघिको कुरा हो। अम्बानी परिवार जनवरी १८ मा वाशिंगटन पुगेको थियो । मुकेश ट्रम्पसँगको विशेष ‘मैनबत्ती बाल्ने रात्रिभोज’ मा भाग लिन छनोट भएका १०० जनामध्ये एक हुन् । उनले उपराष्ट्रपतिमा निर्वाचित जेडी र उषा भान्सलाई पनि भेटे । ट्रम्प परिवारको व्यक्तिगत निमन्त्रणामा अम्बानी परिवार जनवरी २० मा हुने शपथ ग्रहण समारोहमा पनि सहभागी हुनेछ । रिलायन्स इन्डस्ट्रिज लिमिटेड (आरईएल) ले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा अम्बानी र ट्रम्पको फोटो सेयर गरेको छ । ‘नीता र मुकेश अम्बानीले राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पलाई उनको शपथ ग्रहण अघि वाशिंगटनमा आयोजित एक निजी स्वागत समारोहमा बधाई दिए,’ कम्पनीले पोस्ट गरेको छ । ट्रम्प र अम्बानी परिवारबीच गहिरो सम्बन्ध अम्बानी परिवारको ट्रम्प परिवारसँग घनिष्ठ सम्बन्ध छ । २०१७ मा हैदराबादमा भएको ग्लोबल इन्टरप्रेन्योरशिप समिटमा इभान्का ट्रम्पसँगै सबैभन्दा धनी भारतीय मुकेश अम्बानी उपस्थित थिए । त्यतिबेला उनी राष्ट्रपति ट्रम्पकी सल्लाहकार थिइन् । इभान्का डोनाल्ड ट्रम्पकी छोरी हुन् । फेब्रुअरी २०२० मा ट्रम्पको भारत भ्रमणको समयमा अम्बानी पनि उपस्थित थिए । मार्च २०२४ मा गुजरातको जामनगरमा अम्बानीका कान्छा छोरा अनन्त र राधिका मर्चेन्टको तीन दिने पूर्व-विवाह समारोहमा सहभागी हुने सेलिब्रेटीहरूमा इभान्का, उनका श्रीमान् जारेड कुशनर र उनकी जेठी छोरी अराबेला रोज पनि थिए । बाइडेन र ह्यारिस पनि उपस्थित हुने राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस आफ्ना आ-आफ्ना पति/पत्नी, प्रथम महिला जिल बाइडेन र दोस्रो सज्जन डग एमहोफसँगै शपथ ग्रहण समारोहमा उपस्थित हुन सक्ने बताइएको छ । पूर्वराष्ट्रपतिहरू बाराक ओबामा, जर्ज डब्लु बुश र बिल क्लिन्टन पनि उपस्थित हुने अपेक्षा गरिएको छ । व्यापारिक दिग्गजहरूको भेला विश्वका तीन धनी व्यक्तिहरू- टेक उद्यमी र ट्रम्पका सबैभन्दा मुखर समर्थक एलन मस्क, अमेजनका संस्थापक जेफ बेजोस, एप्पलका सीईओ टिम कुक र फेसबुकको मातृ कम्पनीका सीईओ मार्क जुकरबर्ग पनि समारोहमा उपस्थित हुनेछन् । उपस्थित हुने अन्य ठूला टेक दिग्गजहरूमा ओपनएआईका सीईओ साम अल्टम्यान, गुगलका सीईओ सुन्दर पिचाई र उबरका सीईओ दारा खोसरोशाही समावेश छन् । अल्टम्यान, कुक र खोसरोशाहीले मेटा, अमेजन, गुगल र उबरसँगै ट्रम्पको उद्घाटन कोषमा कम्तिमा १० लाख डलर योगदान गरेका छन् । कर नीति, व्यापार नीति र एन्टीट्रस्ट प्रवर्तनमा सम्भावित परिवर्तनहरूका कारण ट्रम्पको दोस्रो कार्यकालमा प्राविधिक कम्पनीहरूको महत्त्वपूर्ण हिस्सा छ ।

विभिन्न क्याम्पसमा लगाइएको तालाबन्दी तत्काल खोल्न शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं । पेशागत विद्यार्थी संघसंगठनले विभिन्न क्याम्पसमा  गरिएका तालाबन्दीप्रति शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ध्यानाकर्षण गराएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभिन्न क्याम्पसमा विद्यार्थी संगठनहरूले ताला लगाउँदा विद्यार्थीहरू पठनपाठनबाट वञ्चित भएको समाचारहरू आउन थालेपछि मन्त्रालयले ध्यानाकर्षण गराएको हो ।  मन्त्रालयले लामो समयदेखि क्याम्पसको पठनपाठन नै प्रभावित हुने गरी क्याम्पसमा तालाबन्दी र हड्ताल गरिने काम तत्काल बन्द गर्न विद्यार्थी संघसंगठनलाई आग्रह पनि गरेको छ ।  ‘आफ्नो हकको माग गर्दा आम विद्यार्थीको ज्ञान आर्जन गर्न र सिक्न पाउने अधिकारको हनन हुने गरी शैक्षिक संस्था भित्र अवरोध गर्ने गतिविधि भइरहनु उपयुक्त हुँदैन । शिक्षण संस्था शैक्षिक गतिविधि सञ्चालन गर्ने पवित्रस्थल भएका कारण यस्ता संस्थामा हुने कुनै पनि प्रकारका तालाबन्दी र हड्तालले विद्यार्थीको भविष्यमा नकारात्मक प्रभाव पार्ने मात्र नभई विद्यार्थीको शिक्षा प्राप्त गर्ने मौलिक हकको समेत हनन हुने हुँदा यस प्रकारका गतिविधि शिक्षण संस्थामा नगर्नु/नगराउनु हुन सम्बन्धित सबैमा मन्त्रालय हार्दिक अपिल गर्दछ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  यस्तै, मन्त्रालयले यस्ता कार्यमा आवश्यक समन्वय र सहजीकरण गरिदिन स्थानीय प्रशासनलाई समेत अनुरोध गरेको छ । कुनै पनि शिक्षण संस्थामा  भइरहेका त्यस्ता गतिविधिको अन्त्य गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।  

म्याग्दीका ९५ प्रतिशत घरमा पुग्यो बिजुली

म्याग्दी । म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्ने तयारी भएको छ । ९५ प्रतिशत भन्दा बढी घरपरिवारमा बिजुलीको सुविधा पुगेको म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्न लागिएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर झलकमोहन ओझाले सबै घरपरिवारमा केन्द्रिय लाइन, लघुजलविद्युत् र सौर्य ऊर्जाको पहुँच पुुगेकाले गण्डकी प्रदेश सरकारको मापदण्ड अनुसार उज्यालो जिल्ला घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । ‘राष्ट्रिय जनगणनाको प्रतिवेदन र कार्यालयले गरेको सर्वेक्षणका क्रममा म्याग्दीका सबै घरमा कुनै न कुनै किसिमको विद्युत् सुविधा पुगेको देखिन्छ,’ उनले भने, ‘स्थानीय तहमार्फत तथ्याङ्कलाई पुष्ट्याइ गरेर उज्यालो जिल्ला घोषणा गर्न लागिएको हो ।’ केन्द्रिय लाइन र लघु जलविद्युत् परियोजना नभएका कुनै घर भएमा सौर्य ऊर्जा जडानका लागि प्रदेश सरकारले ७५ प्रतिशत अनुदान उपलब्ध गराउने विषयमा पनि स्थानीय तहमार्फत जानकारी गराइएको कार्यालय प्रमुख ओझाले बताए । राष्ट्रिय जनगणना–२०७८ को नतिजा अनुुसार म्याग्दीमा रहेको २८ हजार आठ सय ३० घरपरिवारमध्ये उज्यालोका लागि ९५ दशमलब एक प्रतिशतले बिजुली, तीन दशमलब चार प्रतिशतले सोलार, शून्य दशमलब पाँच प्रतिशतले मट्टितेल, शून्य दशमलब चार प्रतिशतले बायोग्यास र शून्य दशमलब नौ प्रतिशतले अन्य माध्यम प्रयोग गर्छन् । जनगणनाका क्रममा कुुनै पनि विद्युत्को सुविधा नपुगेको देखिएको धवलागिरि गाउँपालिकाको मराङ, सिम्कोस, अर्चे, वारवाङ, नाउरा, जुरुकोष र छहरीका एक सय २० र मालिका गाउँपालिकाको जेमका एक सय घरमा प्रदेश सरकारको बजेटबाट सौर्य ऊर्जा जडान गरिएको थियो । तीमध्य अधिकांश बस्तीहरुमा अहिले केन्द्रिय प्रशारणलाइनको विद्युत् पुगिसकेको छ । गण्डकी प्रदेश सरकार स्थापना भएदेखिनै उज्यालो प्रदेशको कार्यक्रममार्फत विद्युत् सुविधा विस्तारका कार्यक्रम सञ्चालन हुँदै आएको छ । केन्द्रिय लाइन नपुगेको र पुग्न नसक्ने ठाउँमा लघुजलविद्युत् परियोजना निर्माण, मर्मत सम्भार र सौर्य ऊर्जा जडान गर्ने योजना सञ्चालन भएको हो । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा बाहेकका बस्तीमा चालुु आर्थिक वर्षमा केन्द्रिय प्रशारण लाइनको विद्युुत् सुविधा पुग्ने नेपाल विद्युुत् प्राधिकरणको बेनी वितरण केन्द्रले जनाएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित दुई सय ५० घरपरिवारको बसोबास रहेको गुर्जामा लद्युजलविद्युत् परियोजनाको सुविधा छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्र अन्तरर्गत २३ हजार विद्युत्का ग्राहक छन् । आर्थिक वर्ष २०८०/८१ मा एक हजार चार सय, २०७९/८० मा हजार दुई सय ३८ र २०७८/७९ मा सात सय ७० घरमा केन्द्रिय लाइन जडान भएको विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए । यसवर्ष मालिका गाउँपालिकाको पात्ले, चिउरीबोट, धवलागिरिको लुलाङ, लमसुङ, खोरिया, नेरवाङ, अर्चे, मल्कवाङ र रघुगङ्गाको कुइनेमङ्गले क्षेत्रका करिब छ सय घरमा केन्द्रिय लाइनको विद्युत् विस्तारको काम अन्तिमचरणमा पुगेको छ । म्याग्दीका दुई हजार घरधुरीमा केन्द्रिय लाइन विस्तारका लागि विसं २०७९ मा नेपाल विद्युत् प्राधिकरणमार्फत रु २० करोड बजेट विनियोजन गरेर योजना सञ्चालन गरिएको छ । रासस

के कार्यालयमा काम गरिरहँदा बारम्बार भोक लाग्छ ? बोक्नूहोस् यी ४ स्वस्थ खानेकुरा

आजभोलि महिला र पुरुष दुबै काममा व्यस्त हुन्छन् ।  दिनभरि काम गर्दा भोक लागेको बेला खाजा बनाउन समय हुँदैन । अझ कहिलेकाहीं त बच्चाहरूलाई खाजा बनाइदिनेसमेत समय हुँदैन । यस्तो अवस्थामा सबैले रोज्ने भनेका बजारमा सजिलै पाइने प्याकेज गरिएका र प्रशोधित खानाहरू हुन् । हामी आफू र बच्चाको लागि यस्ता विकल्पहरू रोज्न पुग्छौं । यदि तपाईं कार्यालयमा काम गर्नुहुन्छ र पटक-पटक भोक लाग्छ भने आफ्नो झोलामा यी चार खानेकुरा बोक्न सक्नुहुन्छ । जसले तपाईंको भोक मेट्ने मात्र होइन, स्वस्थ पनि राख्छ । मिक्स सिड्स    मिक्स सिड्स स्न्याक्सका लागि एक उत्कृष्ट खानेकुरा हो ।  सिड्सलाई हल्का रोस्ट गरेर कुनै भाँडामा स्टोर गर्न सकिन्छ । आफू कार्यालयमा जाँदा सानो डब्बामा प्याक गरेर बोक्न पनि सकिन्छ  । रोष्टेड मिक्स सिड्स प्रोटिन र फाइबरको राम्रो स्रोत हो, जसले लामो समयसम्म भोक लाग्न दिँदैन । यो काम गर्दै पनि खान सकिन्छ । यो तौल घटाउन पनि सहयोग साबित हुन्छ। मिक्स सिड्समा धेरै महत्त्वपूर्ण भिटामिन र खनिज तत्त्वहरू पाइन्छन् । जसले कोलेस्ट्रोल स्तरलाई सामान्य राख्न मद्दत गर्छ । यसमा रहेको फाइबरले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ । त्यसैले मिक्स सिड्स मधुमेह र हृदय रोगीहरूका लागि एक स्वस्थ स्न्याक्स विकल्प साबित हुन सक्छ । यसले पाचन प्रक्रियालाई पनि सुधार गर्न मद्दत गर्छ भने यसमा रहेका एन्टीअक्सिडेन्टहरूले शरीरलाई सुरक्षा प्रदान गर्छन् । मखाना  मखानालाई सधैं एक स्वस्थ र पोषणयुक्त स्न्याक्सको रूपमा प्रयोग गरिँदै आएको छ । यसलाई घ्यू र नुनमा रोस्ट गरेर पौष्टिक र स्वादिष्ट स्न्याक्सको रूपमा आफ्नो नियमित आहारमा समावेश गर्न सकिन्छ । मखाना फाइबर र प्रोटिनको उत्कृष्ट स्रोत हो । साथै यसमा क्यालोरी अत्यन्त कम हुन्छ, त्यसैले तौल घटाउन प्रयासरत व्यक्तिहरूले यसलाई स्वस्थ स्न्याक्सको रूपमा आनन्द लिन सक्छन् । मखानाको ग्लाइसिमिक इन्डेक्स धेरै कम हुन्छ । यसले रगतमा चिनीलाई बिस्तारै छोड्ने गर्छ भने मधुमेहका बिरामीहरूले पनि यसलाई आफ्नो आहारमा ढुक्कसँग समावेश गर्न सक्छन् । मखाना म्याग्नेसियम र पोटासियमको उत्कृष्ट स्रोत पनि हो । जुन उच्च रक्तचापका बिरामीहरूको लागि अत्यन्त आवश्यक हुन्छ । यदि कसैलाई हृदयरोगसम्बन्धी समस्या छ भने उनीहरूले यसलाई आफ्नो नियमित आहारको हिस्सा बनाउन सक्छन् । मखानाको सेवन बच्चाहरूका लागि पनि अत्यन्त फाइदाजनक छ । यसले तत्काल ऊर्जा प्रदान गर्छ भने महिलाहरूको छालालाई स्वस्थ र चमकदार बनाउन पनि सहयोग गर्छ । फलफूल  फलफूलमा प्रशस्त मात्रामा पोषकतत्व पाइन्छ । यसमा फाइबर र धेरै महत्त्वपूर्ण भिटामिन भरपुर हुन्छ । यी पोषकतत्वहरूले व्यक्तिलाई लामो समयसम्म तृप्त राख्न मद्दत गर्छ । तौल घटाउन प्रयासरत व्यक्तिहरूले पनि यसलाई आफ्नो आहारमा समावेश गर्न सक्छन् ।  यसमा रहेका भिटामिन र खनिजहरूले समग्र स्वास्थ्यलाई प्रोत्साहित गर्छन्, जुन सबैका लागि लाभदायक हुन्छ । स्ट्रबेरी, ब्लुबेरीलगायतका अमिला फलफूलमा भिटामिन सी र एन्टीअक्सिडेन्ट भरपूर पाइन्छ ।  फलफूलको नियमित सेवनले महिलाको छालामा प्राकृतिक चमक कायम रहन्छ । यसले विभिन्न जोखिम पनि बहन गर्छ । खजुर   धेरै पटक हामी तनावमा हुँदा वा कुनै समस्याले सताउँदा मीठो खाने इच्छा हुन्छ । यस्तो अवस्थामा प्रायः मानिसहरू अस्वस्थ विकल्प रोज्छन् । तर यदि तपाईंले खजुर साथमा राख्नुभयो भने मीठोको चाहना पूरा गर्न यसभन्दा राम्रो विकल्प केही हुन सक्दैन । खजुर स्वादिष्ट र अत्यन्त पौष्टिक हुन्छ । खजुरमा एन्टीअक्सिडेन्टसहित फाइबर, भिटामिन बी सिक्स, फ्लाभोनाइड्स, भिटामिन सी, भिटामिन के पोषकतत्व पाइन्छ । खजुरको नियमित सेवनले कोलेस्ट्रोल स्तरलाई सामान्य राख्छ भने हृदयरोगसम्बन्धी समस्या हुने जोखिम कम गर्छ । पाचन प्रक्रियाका लागि पनि यो लाभदायक हुन्छ । यदि पाचनसम्बन्धी समस्या छ भने पनि खजुर खान फाइदाजनक हुन्छ ।

क्रेस्ट माइक्रो लाइफले माघ १५ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले माघ १५ गतेदेखि सार्वजनिक प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । यस निष्कासनमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिंदा न्युनतम १० कित्ता अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ ३ गते सेयर निष्कासनको अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासनको अनुमति प्रदान गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँमै सेयर निष्कासन गर्ने छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त संस्था हो ।

अर्ब कमाउने बैंक करोडमा झरे, नाफा वृद्धिमा प्रभु, एनआईएमबि र ग्लोबल आइएमई बैंकबीच प्रतिस्पर्धा

काठमाडौं । विगतमा आकर्षक नाफा गर्ने वाणिज्य बैंकहरूको नाफा चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा भने निराशाजनक देखिएको छ । बैंकहरूले सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार २० वटा वाणिज्य बैंकको खुद नाफा औसत ४.६१ प्रतिशतले घटेको छ । वाणिज्य बैंकले दोस्रो त्रैमाससम्म कुल २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ खुद नाफा गरेका छन् । गत आवको सोही अवधिमा वाणिज्य बैंकको खुद नाफा २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ थियो । यो अवधिमा ९ वटा वाणिज्य बैंकको नाफा घटेको छ । विगतमा अर्ब बढीको नाफा गर्ने वाणिज्य बैंक चालु आवको दोस्रो त्रैमासमा करोडमा झरेका हुन् । गत आव २०८०/८१ को दोस्रो त्रैमासमा करिब २ अर्ब अर्थात् १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ खुद नाफा गरेको एनआईसी एशिया बैंकको चालुआवको दोस्रो त्रैमासमा कुल १५ करोड १७ लाख रुपैयाँ मात्रै खुद नाफा छ । यो अवधिमा यस बैंकको नाफा ९२.०३ प्रतिशत घटेको छ । यस्तै, गत आवको दोस्रो त्रैमासमा झण्डै एक अर्ब अर्थात् ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा गरेको कुमारी बैंक्ले चालुआवको पुस मसान्तसम्म २७ करोड ५७ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको छ । यो अवधिमा यस बैंकको नाफा ६८.२० प्रतिशतले घटेको छ । यस्तै, गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १ करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेको राष्ट्रिय वाणिज्य बैंकले चालु आवको सोही अवधिमा ७६ करोड ३० लाख रुपैयाँ मात्रै खुद नाफा गरेको छ । यो अवधिमा यस बैंकको पनि नाफा ६२.१३ प्रतिशतले घटेको छ । यस्तै, गत आवको सोही अवधिमा १ अर्ब १३ करोड ६८ लाख रुपैयाँ खुद नाफा गरेको सिद्धार्थ बैंकले यस अवधिमा कुल ५३ करोड २ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको छ । यो अवधिमा यस बैंकको नाफा ३५.३५ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको कृषि विकास बैंकको चालु आवको पुस मसान्तसम्म कुल ९५ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिको तुलनामा यस आवको दोस्रो त्रैमासमा यस बैंकको नाफा २९.३४ प्रतिशत घटेको छ । यो अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४.९६प्रतिशत, नेपाल बैंकको २१.८६ प्रतिशत, सिटिजन्सको १५.४५ प्रतिशत र प्राइम कमर्सियलको १४.३३ प्रतिशत नाफा घटेको छ । ९ वाणिज्य बैंकको नाघा घट्दा ११ वाणिज्य बैंकको भने बढेको छ । यो अवधिमा सबैभन्दा बढी नाफा प्रभ्र बैंकको बढेको छ । प्रभु बैंक्ले गत आवको सोही अवधिमा ७२ करोड रुपैयाँ नाफा गरेको भएपनि यस आवको दोस्रो त्रैमासमा भने १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ नाफा गर्न सफल भएको छ । यस बैंकले रिकभरीमा राम्रो सुधार गरेको छ । बैंक्ले यो अवधिमा ८५.४८ प्रतिशतको नाफा वृद्धि गरेको हो । यस्तै, नेपाल इभ्नेटमेन्ट मेगा, ग्लोबल आइएमई, एनएमबि र एभरेष्ट बैंकले पनि राम्रो नाफा वृद्धि गरेका छन् । यी बैंकले क्रमशः ५७.१८ प्रतिशत, ४९.५१ प्रतिशत, ४५.६प्रतिशत र २१.१ प्रतिशतले नाफा वृद्धि गरेका छन् । हालसम्म सबैभन्दा बढी नाफा गर्ने बैंकको अग्रणी सूचीमा भने नबिल बैंक नै छ । नबिलले चालुआवको दोस्रो त्रैमाससम्म कुल ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आवको सोही अवधिमा ३ अर्ब २० करोड नाफा गरेको थियो ।

५० वर्षपछि देखिनुपर्ने रोग आजभोलि कम उमेरमै देखिन्छन् : डा. आदित्य महासेठ

काठमाडौं । जाडोको मौसममा हृदयघातको जोखिम बढी हुन्छ । त्यसैले जाडो याममा शतर्कता बढी अपनाउनुपर्ने चिकित्सकहरु बताउँछन् । खासगरी हृदयका रोगीले जाडो याममा बढी शतर्कता अपनाउनु पर्छ । त्यसैपनि जाडो मौसम मुटु रोगीका लागि अनुकुल मानिदैन । वाह्य चिसोको कारण नसाहरु खुम्चने वा साँघुरिने हुन्छ । यसले रक्त प्रवाहमा कठिनाई ल्याउँछ । जसको सोझो भार, मुटुमाथि पर्छ । यस्ता अनेक कारण छन्, जसले जाडोमा हृदयघातको जोखिम बढाउँछ । केएमसी हस्पिटलका मुटुरोग विशेषज्ञ डा.आदत्य महासेठले संसारमा सबैभन्दा धेरै हुने रोग भनेको हृदयघात भएकाले समयमै चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए । खानपान र चिन्ताका कारण जुनकुनै समयमा पनि हृदयघातको समस्या बढेको बताए । प्रश्तुत छः केएमसी अस्पतालका मुटुरोग विशेषज्ञ डा. आदित्य महासेठसँग गरेको कुराकानीनको सम्पादित अंश । मुटुमा समस्या भएको कसरी थाहा पाउने, मुटु रोगलाई कसरि बुझ्ने ? मुटु रोग भनेको मुटुमा समस्या आउनु हो । यसमा विभिन्न समस्याहरु पर्छन् । त्यसमा वंशाणुगतदेखि लिएर बुढो मान्छेमा लाग्ने रोगहरु हुन्छन् । वंशाणुगत भन्नाले मान्छे गर्भमा रहँदाखेरिको रोग हो । जस्तै मुटुमा प्वाल परेको, मुटुको बनावटमा गडबडी भएको मानिन्छ । मान्छे जन्मेपछि पनि मान्छेको मुटुमा विभिन्न रोगहरु लाग्छन् । हाम्रो देशहरुमा चाहीँ कमन हार्ट डिजिजहरु भन्छन् । त्यो अन्य देशमा पाइँदैन हाम्रो देशमै बढी पाइन्छ । यसलाई मुटुको बाथरोग भन्छ । तर संसारमा कमनल्ली बुझ्ने भनेको मुटु रोग भनेको हृदयघात नै हो । ब्लड प्रेसर पनि मुटु रोगको प्रमुख कारण हो । त्यस्तै सुगर भएको मान्छेमा हुने हार्ट अट्याक, हार्ट फेलियर, मुटुको चालमा गडबड हुने रोगहरु मादक पदार्थ सेवन गर्दा हुने रोगहरु यस अन्तर्गत पर्दछन् । फोक्सो जस्तै मुटुको पनि खोलभित्र पानी जम्ने पेडियोकाली रिफ्युजनहरु, किड्नि प्यासेन्टलाई हुने रोगहरु हो । यस्ता रोगहरु धेरै भएपनि संसारमा सबैभन्दा धेरै हुने रोग भनेको हृदयघात नै हो । मुटु र हृदयघातको सम्बन्ध कस्तो हुन्छ, अनि के कारणले हृदयघात बढी हुने गर्दछ ? हृदयघात भनेको नै मुटु अट्याक हो । यसलाई छुट्याएर हेर्न मिल्दैन । मुटु भनेको मासु हो । मुटु रगतको पम्प हो । जसले शरीरका प्रत्येक अंगहरुमा रगत पुर्याउने काम गर्छ । मुटु आफैँलाई पनि चाहिन्छ । मुटुले आफूले रगत पाउने तीन वटा नसाहरुमा समस्या आएर मुटुले रगत नपाउने अवस्थालाई हृदयघात भनिन्छ । यो जुनसुकै नसामा पनि हुनसक्छ । यो अचानक पनि हुनसक्छ र बिस्तारै पनि हुनसक्छ । एक्कासी भएको अवस्थामा हामी हृदयघात भन्छौं । बिस्तारै भएकोलाई चाहीँ एनजाइना भन्छौं । यो बढ्दै भएपछि हृदयघात हुनसक्छ । पछिल्लो समय हृदयघात वृद्धवद्धामा भन्दापनि युवा अवस्थाका मान्छेहरुमा पनि बढ्दै गएको हो, कस्तो उमेरका बिरामीहरु आउने गर्दछन् ? पछिल्लो समय तपाईंले भनेजस्तै २० देखि ३५ वर्ष सम्मका बिरामी पनि उपचारका लागि आउने गर्नुहुन्छ । हृदयघात भनेको जीवनस्तर अनुसारको रोग हो । पहिलेका मान्छेहरुसँग पैसा थोरै थियो, बढी काम हुन्थ्यो । दिनभर स्वस्थ काम गथ्र्यो । अहिले दिनभर अफिसमा कम्युटरमा बस्छन् । खानपनि जंकफुड खाने गरिन्छ । कसैलाई पनि खाना पकाउने फुर्सद छैन । यसमा धुम्रपान सेवन पनि गर्ने कारणले यस्तो समस्याहरु बढदै गएको हो । यिनै समस्याका कारण ५० वर्षपछि देखिनुपर्ने रोगहरु आजभोलि कम उमेरमा देखिरहेका छौं । युवा अवस्थामा हृदयघात हुनुको प्रमुख कारणले चुरोट सेवन हुनु अध्ययनले देखाएको छ । अर्को कुरा पछिल्लो समय मान्छेरुको शरीरमा कोलेस्ट्रोल बढी बन्ने र शरीरमा भएको कोषहरुले त्यो कोलेस्ट्रोल लिन नसक्ने भएको छ । यसले मुटुको नसाहरुमा ब्लक गरिदिने गर्छ । यसले गर्दापनि हृदयघात बढिरहेको छ । अनि हामीले मुख्य कुरा त घरको खाना नखाएर बजारको खानेकुराहरु बढी खाइरहेका हुन्छौं । यसले गर्दा खानपिनमा आएको परिवर्तन, हाम्रो जीवनमा भएको परिवर्तन र सुगर हामी बढी खाने गर्दछौं । सुगरले पनि शरीरमा कोलेस्ट्रोल नै बढाउने हो । बच्चाबेलादेखि नै हाम्रो बानी पहिलेको जस्तो छैन बिग्रिएको छ । त्यसले गर्दा एकदमै युवा अवस्थामा नै हृदयघात देखिरहेको छ । मुटु रोगबाट बच्नको लागि खानाको सन्तुलन कसरी मिलाउने ? खानाको सन्तुलनको कुरा गर्दा हाम्रो शरीरलाई चाहिने भन्दा बढी क्यालोरी पाइने गरी खाइरहेका छौं । मैले दिनभरमा कार्यालयमा बस्छु, काम गर्छु भने मलाई धेरै क्यालोरी चाहिँदैन । बिहानदेखि साँझसम्म खेतमा काम गर्ने मान्छे छ भने उसलाई क्यालोरी बढी चाहिन्छ । हाम्रो शरीरलाई अरु सुगरको जरुरत छैन । बरु मान्छेलाई बोसोको जरुरत हुन्छ तर सुगरको जरुरत हुँदैन । प्रोटिनको जरुरत हुँदैन । हामीले चिनी खानु हुँदैन । त्यसलाई खानु हुँदैन । यसमा सिम्पल कुरा राख्ने हो भने प्राकृतिक कुराहरु खाने हो । जुट र कम्पनीमा पनि बनेका खानेकुराहरु खाने होइन । हामीले आफ्नो शरीरको मागअनुसारको खाना खाने हो । हामीले बढी खाना खायो भने पनि शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने हो । मुटु रोग र उमेर समूहको अन्तरसम्बन्ध के हुन्छ, तपाईको अनुभवले कस्तो पाउनुभएको छ, कुन उमेर समूहको मान्छेलाई मुटु रोगको जोखिम हुन्छ ? अहिले पनि सामान्यतः मुटुसम्बन्धी रोग बढी लाग्ने भनेको ४५ वर्ष केटेको मान्छेमा नै हो । तर पछिल्लो समय युवा अवस्थाको मान्छेमा पनि भेटिन थालेको छ । विषेश गरी चुरोट खाने मान्छेमा । नेपाल र नेपालबाहिरको अध्ययनले खासगरी चुरोट खाने मान्छेमा हृदयघात हुने देखाएको छ । त्यसबाहेक कसैलाई पारिवारिक पृष्ठभूमिको आधारमा पनि हुने गर्दछ । तर अहिले पनि कमनल्ली भन्ने हो भने हृदयघात ४५ वर्ष कटेपछि मात्रै हो । शरीर जति बुढो हुँदै गयो त्यति नै सन्तुलित खानपान खाँदै गयौं । र जंकफुडहरु, चुरोट, मादक पदार्थ पिउने, शारीरिक अभ्यास नगर्ने र खाएको पनि नपचाउने बानीले हामीमा मुटु रोगको जोखिम बढाउँदै जान्छ । त्यसकारणले शरीरमा बनेको क्यालेस्ट्रोलले कहीँकहीँ त अटाउनु पर्यो नि । कि त नसामा कि त मुटुमा, कि त शरीरमा त्यहाँ नअटाएको खण्डमा उमेर बढ्दै गएपछि हृदयघात हुने हो । तपाईले दैनिक कम्प्युटरमा लामो समय बस्ने मान्छे र शारीरिक अभ्यास कम गर्ने मान्छेमा हृदयघातको जोखिम बढी हुन्छ भन्नुभयो, यसलाई थप स्पष्ट पारिदिनुस् न ? मुटु रोगको रिस्क फ्याक्टरमध्ये शारीरिक अभ्यास नगर्नु पनि एक हो । शारीरिक अभ्यासले एक त मुटुको कन्डिसनलाई ठिक राख्छ । अभ्यास गर्ने क्षमता पनि बढाउँछ । यसले सुगर र प्रेसर नियन्त्रण गर्नको लागि पनि काम लाग्छ । हामीले एक्स्ट्रा खाइरहेको क्यालोरीलाई पचाउन पनि मद्दत गर्छ । त्यसले गर्दा मुटु रोग पनि कम देखिन्छ । खानपानसँगै मुटुको स्याहार कसरि गर्नुपर्छ, अनि चुरोट र मादकपदार्थ गर्ने मान्छेलाई हृदयघात नहुने र नखाने मान्छेलाई हुने भन्ने भाष्य छ नि ? चुरोट सेवन गरेर मात्र हृदयघात हुन्छ भन्ने त कुनैपनि अध्ययनमा छैन । तर चुरोट खाने मान्छेमा चुरोट नखाने मान्छेभन्दा तीन गुणा बढी नै हृदयघात भएको देखिएको छ । यो चाहीँ अध्ययनले देखाएको छ । हृदयघात भनेको हाम्रो जीवनशैलीको आउटकमको रुप हो । कसैलाई हुनसक्छ । तर कसैलाई हृदयघात नभईकन चुरोट सेवनका कारण क्यान्सरले पहिले नै मृत्यु पनि हुनसक्छ । हामीले मेडिकल साइन्समा सम्भावनाको कुरा गर्ने हो । कसैलाई डायबिटिज पनि छ, प्रेसर पनि छ । परिवारमा मुटु रोग पनि भएको छ र उसले चुरोट पनि सेवन गर्छ भने उसको हृदयघात हुने सम्भावना अझै बढी भयो । कसैको परिवारमा सुगर र प्रेसर पनि छैन, डायबिटिज पनि छैन र कोलेस्ट्रोल पनि छैन भने हृदयघात हुने सम्भवना न्युन हुन्छ । त्यस्तो मान्छेले चुरोट खायो भने पनि हार्ट अट्याक हुने रिस्क एकदम कम होला । तर हुँदै नहुने भन्ने हुँदैन । यो विज्ञान हो हुन्छ नै र हुँदैन भनेर भन्न चाहीँ अलि गाह्रो नै हुन्छ । अर्को कुरा खानपानको कुरा गर्ने हो भने इटालीतिरका मान्छेमा हृदयघात कम भएको देखिएको छ । किनभने उनीहरुले खाने खानामा जुन तेल हुन्छ नि त्यसमा प्राकृतिक तेलहरु हुन्छ नि बीउबाट बनेको त्यसको मात्रा बढी हुने र माछामासुमा पनि लिन फ्याडहरु खाने गरेको पाइन्छ । चारखुट्टे जनावर होइन कि अरु नै खानाका जनावरहरुको मासु खाने देखिएको छ । खानपिनमा तपाईले फ्याक्ट्रीहरु बनेको प्रशोधित खानेकुरा कम खानुपर्यो । र पशुजन्य मासु कम खानुपर्यो । यसमा चारखुट्टे जनावरको मासु भयो र दुधबाट बनेको परिकारहरु घ्यु, बटर, चिजको मात्रा कम गर्ने र खानामा सलाद र अन्य अन्नहरुको मात्रा राखेर गर्नुभयो भने त्यो सबैभन्दा बेस्ट हुन्छ । मौसम र मुटुको सम्बन्ध कस्तो हुन्छ, जाडो समयमा मुटुसम्बन्धी समस्याहरु बढ्दै जाने हुन् ? यसमा दुईवटा कुरा छन् । मौसम परिवर्तन र वातावरणमा आएको परिवर्तनले निकै फरक पार्दछ । जाडो र गर्मी त भइरहन्छ नै । तर पछिल्लो वर्षहरुमा जलवायु परिवर्तनको कारण वातावरणमा परिवर्तन पनि आइरहेको छ । आजभोलि गरिएको एक अध्ययनले मुटुसम्बन्धी रोगहरुको मेजर इफेक्टरमा चाहीँ स्ट्रेस अथवा एन्जाइटी र दुषित वातावरण पनि छ । अहिले काठमाडौंको वातावरण पनि सामान्य छैन । प्रदुषणले हाम्रो शरीरमा भएको सामान्य क्यालेस्ट्रोललाई अक्सिजन रेडिकलहरु बनाउँदो रहेछ । र त्यही रेडिकलहरु शरीरको रगतमा गएर जम्मा भइदिने हुन्छ । त्यो पनि हृदयघातको एउटा प्रमुख कारण हो । अर्को कुरा चिसो समयमा चिसोले गर्दा मुटुको चल बढ्ने र प्रेसर बढ्ने हुन्छ । मुटुसम्बन्धी समस्या भएका मान्छेलाई प्रेसर बढ्ने र मुुटुको चाल बढ्ने कुरा त्यति राम्रो हुँदैन । त्यसकारण पहिलेदेखि समस्या भएका मान्छेहरुमा हृदयघात हुने सम्भावना चिसो महिनामा धेरै हुन्छ । निमोनिया हुने सिजन पनि भएको हुनाले इन्फेक्सन भएको सात दिन भित्र हार्ट अट्याक भएको अध्ययनले पनि देखाएको छ । मुटु रोगको घरेलु उपचार हुन्छ कि हुँदैन, मुटुमा कस्तो समस्या आएपछि चिकित्सकको मा जाने ? मुटु रोग भनेको एक दिनको रोग होइन । यो भनेको ३० देखि ४० वर्षको रोग हो । हामीले बच्चा बेलादेखि नै हाम्रो जीवनशैली सही राख्नसक्यौं भने चाहीँ यस्ता चान्सहरु कम गर्नसक्छौँ । घरेलु उपचार भन्नुहुन्छ भने हामीले गर्नसक्ने भनेको दुई वटा कुरा मात्रै हो । खानपिन राम्रो गर्नसक्छौं र शारीरिक अभ्यास गर्नसक्छौं । हामीले विषेशगरी चिल्लो खानेकुराहरु खानु भएन । प्राकृतिक कुराहरु फलफूल र सलाद लगायतका खानेकुराहरु खानुपर्दछ । अनि उमेर २० वर्ष पुगेपछि एकपल्ट कोलेस्ट्रोलको जाँच गर्ने । परिवारमा प्रेसर मुटुको समस्या भएको छ भने त्यो मान्छेले २० वर्ष पुगेपछि एकपटक जाँच गर्नैपर्छ । होइन भने ४० वर्ष कटेपछि एकपल्ट पे्रसर र सुगरको जाँच गर्नुप¥यो । चुरोट खानु भएन । मादक पदार्थ पनि खानु भएन । हामीले मुटुको सुरक्षा कसरी गर्ने ? मुटुलाई माया गर्नको लागि शुरुमा त हामीले मुटु रोग हुनबाट बच्नुपर्यो । त्यसको लागि मुटु सम्बन्धी रोगको उपचार खानपिन र शारीरिक अभ्यासबाट नै शुरु हुन्छ । त्यसपछि तपाईले मुटुसम्बन्धी कुनैपनि लक्षण देख्नुभएको छ भने तुरुन्त जाँच गर्नुपर्यो । मुटु बिग्रिनुभन्दा पहिले नै मुटुको उपचार गर्न सकियो भने त्यसको परिणामा राम्रो हुन्छ । तपाईले तीन पटकभन्दा बढी जाँच गर्दा प्रेसर उच्च छ भने तपाईंले त्यसको उपचार गर्नुपर्दछ । त्यसलाई म खानपिनले नै नियन्त्रण गर्छु भनेर बसिराख्नु भएन । प्रेसरको लक्षणहरु देखिएको छ भने तपाईंले औषधि शुरु गर्नैपर्यो । मुटु रोगको लक्षण भनेको छातिमा दुख्ने, स्याँस्याँ हुने ढुकढुक हुने, आवश्यकताभन्दा बढी थकान लाग्ने र मान्छे बेहोस् हुने र रिंगटा लाग्ने प्रमुख कारणहरु हो । हाम्रोमा औषधि नखाने भन्ने छ । तर समस्या भइसकेपछि औषधि खाएर त्यति फाइदा चाहीँ हुँदैन । रोग छ कि छैन भनेर चिकित्सकको सहायतामा कन्फर्म गर्नुपर्यो । त्यसपछि रहेछ भने औषधि शुरु गर्नुपर्यो । अहिले केएमसीमा मुटुसम्बन्धी रोगको निदानात्मक व्यवस्था र जनशक्तिको अवस्था कस्तो छ ? म विगत दुई वर्षदेखि यहाँ कार्यरत छु । हामीले अहिले क्याथेल्याब सेवा शुरु गरेका छौं । अनि मुटुको ओपिडि दैनिक बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चलि नै रहेको छ । त्यसैगरि हाम्रो आपतकालीन सेवा २४ सै घण्टा शुरु नै हुन्छ । दिनको एक जना मान्छे ड्युटिमा जहिले पनि हुन्छ । हामीले मुटुको जाँचमा पे्रसर, सुगर, कोलेस्ट्रोल बाहेक रगतको सबै जाँचहरु भइ नै हाल्छ । त्यसबाहेक मुटुको इसिजि, इको, टिएमटी र सिटिस्क्यान गर्दछौं । यहाँ मुटुको एमआरआई पनि हुन्छ । मुटुसम्बन्धी अपरेसनहरु नगरिकन गर्ने सम्पूर्ण उपचारहरु म आफैँ गर्छु । अब छिट्टै छाती चिरेर गर्नुपर्ने अपरेसनहरु पनि शुरु हुने तयारीमा छ । सरकारबाट पाउने एक लाखको विपन्न नागरिक स्किम छ त्यो चाहीँ सबै प्यासेन्टलाई उपलब्ध छ । जे होस् मुटु रोगको लागि नेपालमा हुने जतिपनि जाँचहरु र अपरेसनहरु सबै नै यहाँ भइरहेको छ । सरकारले मुटुसम्बन्धी रोगका लागि गरेको लगानी पर्याप्त छ कि छैन ? वास्तवमा भन्ने हो भने मुटुरोगलाई सरकारले एकदमै ध्यान दिएर हेरेको छ । संसारमा नेपालभन्दा सस्तो मूल्यमा मुटु रोगको उपचार कहीँ पनि छैन । अर्को कुरा जनशक्तिको कुरा गर्नुहुन्छ भने काठमाडौंमा केन्द्रित चाहीँ छ । काठमाडौं बाहिर भने अहिले पनि जनशक्ति पुगेको छैन । पूर्व र पश्चिममा पनि बिस्तारै स्वास्थ्य क्षेत्रको विकास त हुँदैछ । तर मान्छेमा जनचेतनाको अभाव छ । मान्छेमा हृदयघात भयो भनेपनि ग्यास्ट्रिक भन्ने गरेको पाइन्छ । त्यसकारण जनशक्ति बिस्तार त गर्नुपर्यो । काठमाडाैंमा भने बिस्तारै सबै हस्पिटलहरुमा क्याथल्याबको सेवाहरु बढ्दैछ । मुटुको रोग आजभन्दा तीन वर्षपछि अगाडि बढ्नेवाला छ त्यहीअुसार हामीले तयारी गरेर हामीले अगाडि बढ्नुपर्नेछ । तर गाम्रिण भेगमा जनशक्ति बिस्तार गर्नुपर्ने आवश्यकता छ । आम नागरिकलाई तपाईंको सन्देश के छ ? संसरमा सबैभन्दा बढी मृत्यु हुने रोग मुटुसम्बन्धी नै हो । जसलाई डाइग्नोस गर्नको लागि केही पनि पैसा चाहिँदैन । खालि एउटा चिकित्सकले एउटा ब्लड प्रेसर नापेर पुग्छ । त्यसको सबैभन्दा सजिलो उपचार भनेको एउटा दुई रुपैयाँको औषधि हुन्छ । त्यसलाई दिनको एकपल्ट खाने हो । त्यही भएर मुटुसम्बन्धी मुख्य रोगरुलाई बेवास्ता गर्नुभएन । मुुटु रोगसम्बन्धी लक्षण आइसकेपछि त्यसको जाँच गरेर त्यसको उपचार समयमै गर्नुपर्यो । नेपाल एउटा गरिब देश हो । सरकारले पनि धेरे नै सहजता प्रदान गरेको छ । स्वास्थ्य बीमा गर्न सकिन्छ । सामाजिक सुरक्षा कोष छ त्यसबाट पनि उपचार गर्न सकिन्छ । त्यसकारण सबैले मुटुलाई माया गर्न सुझाव दिन्छु ।