हेटौंडा उपमहानगरले नगरभित्र फोहोर संकलन नगर्ने
काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रभित्र फोहर संकलन रोकेको छ । उपमहानगरपालिकाले बिहीबार सार्वजनिक सूचना नै जारी गरेर फोहर संकलन रोक्ने जनाएको हो । उच्च अदालत पाटन हेटौंडा इजलासले माघ २२ गते हेटौंडा- १० राप्ती खोला तटमा बनाइएको डम्पिङ साइटमा फोहोर नफाल्न र हेटौंडा उपमहानगरको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि उपमहानगरले फोहोर संकलन नगर्ने निर्णय गरेको जनाएको छ । अर्को आदेश वा व्यवथा नभएसम्मको लागि उपमहानगरपालिकाले फोहोरको संकलन र व्यवस्थान कार्य स्थगित भएको हो ।
१९ बुँदे माग राखी ग्यास उद्योग संघले घोषणा गर्यो विभिन्न चरणका आन्दोलन
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। संघले १९ बुँदे माग राखी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हाे । बिहीबार पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गर्दै संघले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हाे । विगत ६ वर्षदेखि डिलर कमिसन, ढुवानी, ओभरहेड खर्च वृद्धि नभएकोले तत्कालै वृद्धि हुनु पर्ने र हरेक वर्ष मुद्रास्फीती दर अनुसार समायोजन गर्ने व्यवस्था गर्नुपर्ने माग संघको छ । यसैगरी, उद्योगी र डिलरहरूको मुनाफा प्रतिशतमा कायम गरी ५ प्रतिशत नघट्ने व्यवस्था हुनु पर्ने माग छ । पेट्रोलियम ऐन/नियम/कानुनको निर्माण गरी एउटा छुट्टै पेट्रोलियम बोर्ड प्राधिकरण नियमन निकाय खडा गर्नुपर्ने र सोका लागि निजी क्षेत्र तथा विज्ञको सहभागितामा सुझाव आयोग गठन गर्नुपर्ने माग पनि संघको छ । संघले फाल्गुण १८ गतेदेखि ५९ वटै एलपी ग्यास उद्योगहरूका माग सम्बोधन नभएमा अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिएको छ । देशभरका ५९ वटै एलपी ग्यास उद्योगहरूले नेपाल आयल निगमबाट प्रोडक्ट डेलिभरी अडर (पीडीओ) खरिद नगर्ने भएका छन् । यसैगरी, संघले फाल्गुण ६ गतेदेखि भारतको इन्डियन आयलका नेपालका लागि लोड हुने एलपी ग्यासको ग्यास बुलेट कुनै पनि लोड नगर्ने पनि भएको छ । फागुन १२ गतेदेखि नेपालका लागि लोड भएर आयका कुनै पनि ग्यास बुलेटहरू कुनै पनि भन्सार नाकाबाट नछुटाउने, यसैगरी फागुन २२ गते शनिवारदेखि देशभरका ग्यास बिक्रेता डिपोहरूले सम्पूर्ण बन्द गरिदिने पनि संघले जनाएकाे छ ।
ग्लोबल आइएमई बैंकले पत्रकारलाई क्यामरा किन्न विना धितो कर्जा दिने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे) का सदस्यहरुलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपलब्ध गराउने भएको छ । यस सम्बन्धी सम्झौतामा बैकका हेड ट्रान्जेक्सन बैंकिङ्ग विभागका प्रमुख प्रकाश पौडेल र एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बैंकले क्यामरा खरिदको लागि २ लाख देखि ५ लाख रुपैयाँसम्म विना धितो कर्जा प्रवाह गर्ने समझदारी भएको हो । बैंकले फोटो पत्रकारहरूलाई क्यामेरा खरिद गर्न ६ महिनादेखि १८ महिनासम्म सरल किस्ताबन्दी सुविधा सहित कर्जा उपलब्ध गराउने छ । कर्जाको लागि फोटो पत्रकारहरुले आवश्यक कागजातहरू र आवेदन फारमसहित एनएफपिजेको सिफारिसमा कर्जाको लागि बैंकमा सम्पर्क गर्नुपर्नेछ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
झन् गहिरिँदै अमेरिका र चीनबीचको ‘व्यापार युद्ध’
काठमाडौं । अमेरिका र चीनबीचको व्यापार युद्ध झन् गहिरिँदै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ उत्पादनमा थप १० प्रतिशत ट्यारिफ लगाएका छन् । यसको प्रतिक्रियास्वरूप चीनले पनि अमेरिकी उत्पादनहरूमा १५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेको छ । यसले आउने दिनमा दुवै देशबीच सम्बन्ध अझ बिग्रने सम्भावना छ । अमेरिका विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र हो । यता चीनले २१ औं शताब्दीमै अमेरिकालाई पछि पार्ने सपना देखेको छ । यस बीच अमेरिकाले चीनबाट गरेको आयात कुल आयातको १३.५ प्रतिशतमा झरेको छ जुन २१ वर्षमा सबैभन्दा कम हो । सन् २०१८ देखि यसमा ८ प्रतिशत कमी आएको छ भने यसै अवधिमा क्यानडा र मेक्सिकोबाट आयात बढेको छ । यसले यो कुरा स्पष्ट छ कि अमेरिकी अर्थतन्त्र चीनमा निर्भर हराउँदै गएको छ । दुवै देशबीच तनाव बढेपछि अमेरिकी कम्पनीहरूले चीनबाहेक अन्य स्रोत खोज्न थालेका छन् । तथ्यांकअनुसार २०१८ पछि अमेरिकाले अन्य देशहरूबाट आयात बढाएको छ। अमेरिकाले सबैभन्दा बढी आयात भियतनामबाट गरेको छ । यसबाहेक मेक्सिको, ताइवान, युरोप, कोरिया, थाइल्याण्ड, भारत र क्यानाडाबाट पनि आयातमा वृद्धि भएको छ । मेक्सिकोबाट आयात २ प्रतिशतको उछालसहित १५.५ प्रतिशतको ऐतिहासिक उचाइमा पुगेको छ । अमेरिकाले क्यानाडा र मेक्सिकोमा लगाएको २५ प्रतिशत ट्यारिफ अहिले एक महिनाको लागि स्थगित गरिएको छ । विश्लेषकहरूको भनाइ छ कि चीनले लगाएको ट्यारिफले अमेरिकामा ठूलो प्रभाव पार्ने छैन । किनभने अमेरिकाले चीनमा आफ्नो निर्भरता निकै घटाएको छ । तर चीनलाई यसले ठूलो आर्थिक क्षति पुग्न सक्छ । कारण अमेरिका नै चीनको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । २०२४ मा अमेरिकासँग चीनको ट्रेड सरप्लस १ ट्रिलियन डलर नजिक पुगेको थियो । अर्कोतिर अमेरिकाले चीनलाई निर्यात गर्ने मात्रा घट्दैछ । चीनले ट्यारिफ लगाएका वस्तुको निर्यात २०२४ मा २३.६ अर्ब डलरमा सीमित भएको थियो । अर्थात यस युद्धमा चीनको नै बढी नोक्सानी हुने देखिन्छ । मेक्सिको, क्यानडा र चीनविरुद्ध अमेरिकाको ‘ट्रेड वार’ अमेरिकी ट्यारिफले विश्वभर तनाव, आर्थिक परिवर्तनदेखि कूटनीति र सुरक्षासम्म असर
ज्योति विकास बैंकको स्वतन्त्र सञ्चालकमा रेग्मी नियुक्त, राष्ट्र बैंकमा २५ वर्षको अनुभव
काठमाडौं । ज्योति विकास बैंकको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको स्वतन्त्र सञ्चालकमा रेशमराज रेग्मीलाई नियुक्त गरेको छ । उनी बिहीबारदेखि लागु हुनेगरी बैकको स्वतन्त्र सञ्चालकमा नियुक्त भएका हुन् । वरिष्ठ अधिवत्ता रेशमराज रेग्मीको नेपाल राष्ट्र बैंकमा करिब २५ वर्ष विभिन्न कार्यक्षेत्रमा कार्य अनुभव पनि छ । कानून विषयमा स्नातकोत्तर गरेका रेग्मीले नेपाल सरकार अन्तर्गत विभिन्न क्षेत्रमा पनि कानूनी सल्लाहकारका रूपमा योगदान दिँदै आएका छन् । उनले अध्यापकको रूपमा पनि विभिन्न शैक्षिक संस्थाहरूमा आवद्ध छन् । नेपाल मध्यस्ता परिषदको आजीवन सदस्य रहेका रेग्मीले संस्थागत सुशासन, एएमएल तथा समग्र बैंकिङ्ग क्षेत्रको विषयमा विशेषज्ञता हासिल गरेका छन् । रेग्मीले बैंकिङ्ग कानून तथा संस्थागत सुशासन सम्बन्धि पुस्तक प्रकाशित गर्नुका साथै विभिन्न रिसर्च पेपरहरु एवम् जर्नलहरुमा आलेख प्रकाशित गरेका छन् । रेशम राज रेग्मीको लामो कार्य अनुभव तथा विषयगत कुशलता र दक्षताले यस बैंकलाई थप सबल तथा सफलता उन्मुख मार्गदर्शन प्रदान गर्ने विश्वास बैंकले लिएको छ । संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ ।
अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट रविलाई निलम्वन गर्नु हुँदैन : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निलम्वन न्यायपूर्ण नभएको बताएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अदालतहरुले धरौटीमा छोडिसकेपछि संसदबाट राष्ट्रिय स्वतन्त्र पार्टीकासभापति रवि लामिछानेको निलम्वन न्यायपूर्ण नभएको बताएका हुन् । उनले सहकारीबाट पैसा ल्याउन प्रत्यक्ष कतै नजोडिए पनि लामिछानेलाई देशको सबैभन्दा ठूलो सहकारी ठगका रुपमा देशभर दौडाइएको बताए । विगतमा प्रधानमन्त्री बनाउन अफर गर्नेहरुले आज न्यायपालिकालाई धम्क्याएर डाइछाड्ने षड्यन्त्रमा लागेको बताए । सहकारी ठगीमा सरकारको मापदण्ड अन्यायपूर्ण मात्र नभइ अपराधपूर्ण रहेको जानकारी दिए । ‘सरकार बलियो तब देखिन्छ, जब प्रतिशोध लिनुपर्ने हुन्छ । त्यसको सबैभन्दा ठूलो उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुनहुन्छ । सहकारीबाट पैसा ल्याउन प्रत्यक्ष कतै नजोडिएका उहाँलाई आज देशको सबैभन्दा ठूलो सहकारी ठगका रुपमा देशभर दौडाइएको छ ,’ उनले भने । अध्यक्ष दाहालले प्रतिशोध लिने कुरामा सरकार बलियो देखिएको जानकारी दिए ।
जनकपुरबाट अल्ट्रालाइट वायुयान उडान परीक्षण
जनकपुर । एभियाक्लब पोखराले सगरमाथा हिमाल, त्यस वरपरका चुचुरा र कोसी टप्पु क्षेत्रको दृश्यावलोकन गर्नेगरी जनकपुरबाट अल्ट्रालाइट वायुयानको उडान परीक्षण गरिएको छ । परीक्षणका लागि बिहीबार जनकपुर विमानस्थलबाट एभियाक्लबको अल्ट्रालाइट वायुयानले राजविराजका लागि उडान भरेको हो । भारतीय पर्यटकको हिमाल तथा कोसी नदी क्षेत्रको दृश्यावलोकनप्रति बढ्दै गएको रुचिलाई दृष्टिगत गरी मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अल्ट्रालाइट वायुयान सञ्चालन गराउन नागरिक उड्ड्यन प्राधिकरणलाई आग्रह गरेका थिए । प्राधिकरणका सहनिर्देशक देवचन्द्रलाल कर्णले एभियाक्लबको अल्ट्रालाइट वायुयानले सगरमाथाको चुचुरो देखिने गरी जनकपुरबाट राजविराजका लागि आज उडान भरेको जानकारी दिए । उनले सो उडान सफल र व्यावसायिक रूपमा नाफामूलक देखिएमा भविष्यमा राजविराज विमानस्थललाई केन्द्र बनाई सगरमाथा दर्शनका लागि परिचालन गरिने उल्लेख गरे । हेलिकोप्टरबाट सगरमाथाको दृश्यावलोकन महँगो भएको र जहाजबाट दृश्यावलोकनको पूर्ण आनन्द प्राप्त गर्न नसकिने हुँदा तुलनात्मक रूपमा अल्ट्रालाइट वायुयान पर्यटकका लागि सस्तो र आकर्षक हुने कर्णले विश्वास व्यक्त गरे । एक यात्रु लिएर उड्ने अल्ट्रालाइट वायुयानबाट सगरमाथा दर्शन गर्न प्रतिव्यक्ति १५ हजार रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ ।
बजार घटे पनि कारोबार रकममा वृद्धि
काठमाडौं । साताको अन्तिम कारोबारको दिन अर्थात बिहीबार सेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.६४ अंकले घटेर २६९९.८१ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ७४ कम्पनीको सेयर मूल्य बढ्दा १६० कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज सेयर घटे पनि काराेबार भने बढेकाे छ । ३१५ कम्पनीको १ करोड ८६ लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार साहस ऊर्जाको भएको छ । साहसको ३१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै नेपाल रिइन्स्योरेन्स कम्पनीको २२ करोड, बरुण हाइड्रोपावरको १८ करोड, सानिमा माइ हाइड्रोपावरको १६ करोड र युनाइटेड मोदी हाइड्रोपावरको १६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज फाइनान्सबाहेक सबै सेक्टरका सूचक घटेका छन् । फाइनान्स १.५८ प्रतिशतले बढेको छ । विकास बैंक सबैभन्दा धेरै १.५३ प्रतिशत घटेको छ । बैंकिङ ०.३५, होटल तथा पर्यटन ०.३७, हाइड्रोपावर ०.३८, लगानी ०.३९, जीवन बीमा ०.१६, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.५९, निर्जीवन बीमा ०.४५, अन्य १.०५ र व्यापार ०.११ प्रतिशतले घटेको छ । आज अप्पर लाहोरे खोला हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, उपकार लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।