आइएमई लाइफले २१.०५ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी सेयरधनीलाई नगद लाभांश दिने भएको छ । माघ २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो । कम्पनीले २१.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको यो प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर आगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् ।
कोशीटप्पुमा भेटिए ७६ प्रजातिका ९ हजार २५० चरा
बेलबारी । कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्या वृद्धि भएको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगतको तुलनामा यो वर्ष चराको सङ्ख्या बढेको हो । कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका अनुसार गत पुस २६ देखि माघ १ गतेसम्म ‘मिडविन्टर वाटर वर्ड सेन्सस २०२५’ अन्तर्गत आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा ७६ प्रजातिका नौ हजार दुई सय ५० को चरा फेला परेका छन् । गत वर्ष ५३ प्रजातिका पाँच हजार पाँच सय २७ चरा फेला परेका थिए । गणनाका क्रममा यस वर्ष सबैभन्दा धेरै चखेवा जातका चरा एक हजार ६८ र सबैभन्दा कम सेतोकण्ठे गरुड, पानीचाहा, चित्राङ्गद र फुस्रो टिकटिके चरा एउटा-एउटा मात्र फेला परेको आरक्षका वरिष्ठ संरक्षण अधिकृत रामदेव चौधरीले बताए । सन् १९८७ देखि हुँदै आएको गणनामा जलपक्षीका प्रजाति, तिनको सङ्ख्या र बासस्थानमा देखिएका समस्याजस्ता जानकारीको अभिलेख राखिने उनले बताए । सुरक्षित बासस्थान, पर्याप्त आहारा, सिमसारको संरक्षण अनि मनाव चहलपहल कम गर्नसके सिमसार खोलानालामा आगन्तुक चराको सङ्ख्या बढ्ने राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए । रासस
जीवन बीमाको नाफा साढे ३ अर्ब रुपैयाँ, सिटिजन र एशियन लाइफको आक्रामक वृद्धि
काठमाडौँ । जीवन बीमा कम्पनीहरूले ६ महिनामा साढे ३ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा १४ जीवन बीमा कम्पनीहरूले ३ अर्ब ४८ करोड ८२ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हुन् । गत वर्षको पुसमा बीमा कम्पनीहरू ३ अर्ब ३ करोड ७२ लाख ७५ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेका थिए । गत वर्षको तुलनमा चालु आवको पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूको खुद नाफा १४.८४ प्रतिशत अर्थात् ४५ करोड ९ लाख ७६ हजार रुपैयाँ बढी आर्जन गरेका हुन् । समीक्षा अवधिमा सिटिजन लाइफ इन्स्योरेन्सको नाफा सर्वाधिक बढेको छ । सिटिजन लाइफको खुद नाफा ८६.७८ प्रतिशत बढेर २३ करोड ९ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको पुसमा कम्पनीले १२ करोड ३६ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सार्वजनिक वित्तीय विवरण अनुसार एशियन लाइफको नाफा ५६.५४ प्रतिशत बढेर २५ करोड ३ लाख ७ हजार रुपैयाँ, रिलायबल नेपाल लाइफको ५१.६९ प्रतिशत बढेर ३५ करोड ३ लाख ९० हजार रुपैयाँ, मेट लाइफको १४.८० प्रतिशत बढेर २२ करोड २५ लाख ५९ हजार रुपैयाँ, आइएमई लाइफको १४.११ प्रतिशत बढेर २६ करोड ७८ लाख ६२ हजार रुपैयाँ आर्जन गरेका छन् । समीक्षा अवधिमा नेपाल लाइफको खुद नाफा ९.४४ प्रतिशत बढेर ४६ करोड ८१ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ । जुन जीवन बीमा कम्पनीमा सबैभन्दा धेरै रकम हो । गत वर्षको पुसमा कम्पनीले ४२ करोड ७७ लाख ३७ हजार रुपैयाँ खुद नाफा गरेको थियो । रकमका आधारमा सबैभन्दा धेरै नाफा आर्जन गर्ने सूचीको दोस्रोमा हिमालयन लाइफ इन्स्योरेन्स छ । हिमालयन लाइफको नाफा ८.७३ प्रतिशत बढेर ३७ करोड ६२ लाख ८२ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३४ करोड ६० लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा नेशनल लाइफको ९.४० प्रतिशत बढेर २७ करोड ९१ लाख ४० हजार रुपैयाँ, सानिमा रिलायन्स लाइफको ५.४४ प्रतिशत बढेर २३ करोड १६ लाख ८९ हजार रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालको ३.८१ प्रतिशत बढेर १४ करोड १८ लाख ३२ हजार रुपैयाँ नाफा गरेका छन् । पुस मसान्तसम्ममा प्रभु महालक्ष्मी लाइफको ३.४९ प्रतिशत बढेर १८ करोड २५ लाख ८६ हजार रुपैयाँ र सूर्यज्योति लाइफको ३.३६ प्रतिशत बढेर १९ करोड ६१ लाख ३९ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । तर, समीक्षा अवधिमा सन नेपाल लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीको खुद नाफा भने घटेको देखिन्छ । सन नेपाल लाइफको १४.०४ प्रतिशत घटेर २८ करोड २२ लाख ७९ हजार रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीको ४३.५५ प्रतिशत घटेर ८० लाख ६५ हजार रुपैयाँ मात्रै नाफा गरेका छन् ।
स्मार्टच्वाइस टेक्नोलोजिज साधारण सभामा ५ जना सञ्चालक निर्विरोध निर्वाचित
काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले आफ्नो २३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित सोही आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत भएको छ । साथै सोही सभाबाट ५ जना सञ्चालकहरू आगामी कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरूमा आइएमई लिमिटेडबाट क्रमशः रविन कुमार नेपाल र सविन ढकाल, प्रभु बैंक लिमिटेडबाट रश्मी पन्त, ग्लोवल आईएमई बैंक लिमिटेडबाट अनिल जोशी र सिटी एक्सपे्रस मनि ट्रान्सफर प्राइभेट लिमिटेडबाट सुभाष ज्ञवाली रहेका छन् । साथै सोही दिन बसेको सञ्चालक समितिको बैठकले पुनः रविन कुमार नेपाललाई अध्यक्ष चयन र स्वतन्त्र सञ्चालकको रुपमा मृगेन्द्र प्रधानलाई नियुक्त गरेको छ ।
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित
पोखरा । गण्डकी प्रदेश सरकारको क्यान्सर उपचार सहायता कार्यक्रमबाट सात सय ३३ जना लाभान्वित भएका छन् । उनीहरुलाई प्रदेश सरकारले रु दुई करोड ३५ लाख ८९ हजार प्रदान गरेको छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठककाअनुसार प्रदेश सरकारले काठमाडौंस्थित वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर क्यान्सर अस्पताल, निजामती कर्मचारी अस्पताल र चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसँग सम्झौता गरी क्यान्सर उपचार सहायता कार्यक्रम विस्तार गरेको छ । नेपाल रेडक्रससँगको समन्वयमा रगत निःशुल्क उपलब्ध गराइएको छ भने दश वर्षमुनि र ६० वर्षमाथिका व्यक्तिको प्रयोगशाला परीक्षण पनि निःशुल्क गरिएको छ । यसैगरी प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट नसर्ने र मानसिक रोगका २२, नवजात शिशु एवं बालरोगको ११, आधारभूत र आकस्मिक उपचारका लागि ४५ र आयुर्वेदतर्फ २३ प्रकारका औषधि निःशुल्क वितरण भएको छ । प्रदेश सरकार मातहका अस्पतालमा पाठेघर खसेको महिलाको पनि निःशुल्क उपचार हुने गरेको छ । मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा पनि निःशुल्क प्रदान गरिएको छ । सरकारी र निजी गरी १५ वटा स्वास्थ्य संस्थाबाट आठ सय चार जना बिरामीले उक्त सेवा लिइरहेका छन् । स्वास्थ्य मन्त्रालयले समुदायस्तरमा नसर्ने रोगको ‘स्क्रिनिङ’ गर्ने कार्यक्रम पनि सुरु गरेको छ । स्थानीय तहसँगको सहकार्यमा रक्तचाप, मधुमेह, मोटोपना, क्यान्सरलगायत नसर्ने रोगको निदानका लागि ‘स्क्रिनिङ’ सुरु गरिएको स्वास्थ्यमन्त्री पाठकले बताए ।
अरुण जलविद्युत आयोजना पीडितलाई सोह्र वर्षपछि मुआब्जा वितरण
खाँदबारी । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जा पीडितले १६ वर्षपछि पाएका छन् । अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग (छ्याङ्कुटी–दिदिङ) सडकखण्डको जग्गाको मुआब्जा वितरण गर्न थालिएको हो । प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार सर्वोच्च अदालतको आदेश अनुसार छ्याङकुटी–दिदिङ सडकखण्डको (२४.५ किलोमिटर) अन्तर्गत चार सय ५४ रोपनी जग्गाको मुआब्जा वितरण थालिएको हो । अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जावापतको रकम हालसम्म रु चार करोड ८८ लाख पीडितको खातामा भुक्तानी भइसकेको प्रजिअ खड्काले बताए । खाँदबारी नगरपालिका–४, छ्याङ्कुटीदेखि चिचिला गाउँपालिका–२, दिदिङ सडकखण्डको पीडितले छुट मुआब्जाको माग गर्दै आएका थिए । विसं २०८० वैशाख २६ गते छ्याङ्कुटी–दिदिङ सडकखण्डको छुट मुआब्जा प्रमुख जिल्ला अधिकारी संयोजक भएको मुआब्जा निर्धारण समितिले प्रति रोपनी रु ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो । छ्याङकुटी–दिदिङ सडक खण्डको (२४.५ किलोमिटर) जग्गाको मुआब्जा २०४६ सालमा नै दिएको भए पनि छुट जग्गाको मुआब्जा जग्गाधनीले पाएका थिएनन् । गत माघ ९ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवाला र सर्वदलीय बैठकको निर्णयानुसार प्रवेशमार्ग (छयाङ्कुटी–दिदिङ) सडकखण्डको जग्गाको मुआब्जा वितरण प्रक्रिया अघि बढाइएको हो । अरुण तेस्रो परियोजनाले व्यावसायिक उत्पादन गर्न थालेको एक वर्षभित्र स्थानीयलाई सेयर दिने उल्लेख छ । अरुण तेस्रो परियोजनामा नेपाली तथा भारतीय नागरिकसहित चार हजार कामदार कार्यरत छन् । रासस
नेपाल टेलिकमको नाफा २.६३ अर्ब रुपैयाँ, ८.४० प्रतिशत घट्यो कुल आम्दानी
काठमाडौं । नेपाल टेलिकमको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा खुद नाफा ३२.९७ प्रतिशत घटेर २ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी १.४० प्रतिशत घटेर १७ अर्ब ४९ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १७ अर्ब २४ करोड ६७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको वित्तीय आम्दानी ३६.३० प्रतिशत ३६.३० प्रतिशत घटेर २ अर्ब ३० करोड ३४ लाख रुपैयाँ र कुल आम्दानी ८.४० प्रतिशत घटेर १९ अर्ब ५१ करोड ९२ लाख रुपैयाँ गरेको छ । साथै कम्पनीको वित्तीय खर्च ०.१९ प्रतिशत घटेर ७ करोड ६७ लाख रुपैयाँ गरेको छ । १८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७३ अर्ब १४ करोड रुपैयाँ सञ्चित छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी १४.४० रुपैयाँ घटेर २९.३८ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५०६.३४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३०.३३ गुणा रहेको छ ।
माघ शुक्ल पूर्णिमा: स्वस्थानी व्रत समापन गरिँदै
काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसैदिनदेखि सुरु गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ । विधिपूर्वक एक महिने व्रत गरेका वर्तालुले माघ शुक्ल पूर्णिमाका दिन आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ पmूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घय दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ । सय रोटी वर्तालुले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा वर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान, योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ । सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ । स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी व्रतकथामा उल्लेख गरिएको छ । यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनःमिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथा समेत प्रचलित छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग नागिनीको पुनःमिलन भएको कथामा उल्लेख छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथा समेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिए । आज मध्याह्न कालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जागराम बसी बिहीबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी व्रत समापन हुने विधि रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताए । उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिने भएको छ । यहाँ करिब दुई सय महिला पुरुषले एक महिना लामो माधवनारायणको कठोर व्रत गरेका छन् । आजको दिनलाई नेवार समुदायले भने सि पुन्हिका रुपमा मनाउँछन् ।