चन्द्रागिरीमा एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति निर्माण
काठमाडौं । चन्द्रागिरी नगरपालिका–५ भुजिङडोलमा एउटै ढुङ्गामा १०८ वटा शिवलिङ्ग १०८ वटै नागसहितको मूर्ति कुँदिएको छ । सोही ढुङ्गामा विश्राम गरिरहेका महादेव पनि निर्माण गरिएको छ । महादेवको शिरमा सातमुखे नागले सुरक्षा दिइरहेको आकृति निक्कै सुन्दर बनाइएको छ । छेवैमा साँढे र यज्ञ कुण्ड निर्माण गरिएको छ । यहाँ हालै विश्रामेश्वर महादेवको मूर्ति स्थापना गरिएको हो । 'गाउँमै धार्मिक आयाम थपिएको छ', विश्वविश्रामेश्वर १०९ शिवलिङ्ग विश्वधाम मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष श्यामलाल श्रेष्ठले भने, 'कतिपयले यो सबै मूर्ति एउटै ढुङ्गामा होइन होला ?, जोडेको होला भनेर शङ्का गर्छन् तर होइन, म आफैँले धादिङको जुङ्गे खोलाबाट ल्याएको एउटै ढुङ्गामा मूर्तिकारले यो मूर्ति कुँदेका हुन् ।' सात तहमा बनाइएको शिवलिङ्गको हरेक तहमा १०८ वटा नाग बनाइएको छ । अध्यक्ष श्रेष्ठले बुबा धनलाल र आमा न्हुच्छेमायाको चाहनाबाट निजी प्रयासमा यो मूर्ति बनाएको र यहाँ मन्दिर निर्माण जारी रहेको बताए । मन्दिर निर्माणलगायतमा स्वेच्छिक सहयोग गर्न सकिने श्रेष्ठले बताए । यहाँ रु ३० हजार १०५ सहयोग गर्नेका नाममा एउटा शिवलिङ्ग र आजीवन सदस्य रहने तथा तीन पुस्ताको नाम शिलापत्रमा राखिने जनाइएको छ । हाल यहाँ शिवपुराण ज्ञान महायज्ञ सञ्चालन भइरहेको छ । महायज्ञका संयोजक ध्रुवकुमार घिमिरेले गोसाइँकुण्डमा विश्राम गरिरहेका महादेवलाई यहाँ स्थापना गरिएको बताए। घिमिरेले भने, 'गोसाइँ स्नान गर्ने बेलामा एक दृष्टिले हेर्दा महादेव सुतेको देखिन्छ, त्यसैको स्वरुप यहाँ बनाइएको हो ।' मुख्यगरी धार्मिक पर्यटन प्रवर्द्धन गर्न उद्देश्य रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । त्यसो त विश्रामेश्वर महादेव र मन्दिर निर्माण गर्नुमा विशेष कारण छ । श्यामलाल श्रेष्ठका बुबा धनलालले सपनामा यहाँ भगवान् शिवलाई सुतेको देखिरहन्थे । त्यसकारण उनले यहाँ मन्दिर बनाउन अनुरोध गरेका थिए । उनको निधनपछि आमा न्हुच्छेमायालाई पनि त्यही दृश्य झल्झली आइरह्यो । भर्खरै ८४ गरिएकी न्हुच्छेमायाले पनि मन्दिर बनाउन छोराहरुलाई अनुरोध गरिन् । उनीहरूकै चाहना पूरा गर्न आफूले मन्दिर निर्माण थालेको श्रेष्ठले बताए। सो ढुङ्गामा कलाकार काजी लामाले छ महिना लगाएर मूर्ति कुँदेका हुन्। त्यसका लागि श्यामलालले रु ३७ लाख कलाकारका लागि पारिश्रमिक दिएका छन् । करिब रु सात लाख ढुङ्गा यहाँसम्म ल्याउन खर्च लागेको उनको भनाइ छ । तरकारी ढुवानी व्यवसाय गर्ने श्रेष्ठले आमाको जिउनीबाट प्राप्त पैसा र त्यसमा थप लगानी गरेर मूर्तिसहितको मन्दिर निर्माण गरिरहेको र हालसम्म कतैबाट सहयोग प्राप्त नभएको बताए। महायज्ञ सुरु भएपछि यहाँ चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले सो मन्दिरको अवलोकन गरी नगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । स्थानीय छिमेकी विष्णुप्रसाद लामिछानेले आफ्नो टोल छिमेकमा नयाँ मन्दिर निर्माण भएकाले यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे। आफूले पनि मन्दिर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता उनले जनाए । रासस
युवा अवस्थामा किन बढ्दैछ डायबिटिज ?
काठमाडौं । केही वर्षदेखि डायबिटिज (मधुमेह) तीव्र गतिमा बढिरहेको रोगहरूमध्ये एउटा रोग हो । अहिलेको तथ्याङ्क हेर्दा संसारभरमा लगभग ६० करोड मानिसहरूलाई डायबिटिज भइसकेको छ । अब आउने केही वर्षहरूमा (सन् २०५० मा) ८० करोड नाघ्ने प्रक्षेपण गरिएको छ । हरेक नौ जना व्यक्तिमध्ये एक जनामा डायबिटिज भएको तथ्याङ्कले देखाउँछ । विगत केही समयदेखि यो ग्लोबल प्याण्डामिकका रूपमा बढिरहेको छ । डायबिटिजको क्यापिटल (राजधानी) चीन र भारत हो । विश्वमा सबैभन्दा धेरै जनसङ्ख्या भएका देश पनि यिनै दुई वटा हुन् । नेपालको अवस्थामा जनसङ्ख्याको ८ देखि १० प्रतिशतमा डायबिटिज रहेको बताइएको छ । मधुमेहका सम्बन्धमा डा. प्रिया दर्शिनी योञ्जनसँग गरिएको कुराकानीको सम्पादित अंश: मुख्य कारण जीवनशैली हाम्रो अहिलेको जीवनशैली पहिलेको भन्दा धेरै नै फरक छ । पहिला संसारभर नै जति एक्टिभ खालको जीवनशैली हुन्थ्यो, मान्छेहरू धेरै हिँड्थे, अहिले त्यस्तो खालको वातावरण छैन । शहरतिरको अलिक छिटो लाइफस्टायल हुन्छ । बाहिरतिर खाने, स्ट्रेसफुल कामको इन्भाइरोमेन्टका कारणहरूले गर्दा मोटोपनाको मात्र पनि मानिसहरूमा बढिरहेको हुनाले डायबिटिजको सङ्ख्या बढिरहेको हो । त्यो सँगसँगै मानिसहरू अलिक सचेत भएर परीक्षण गर्ने टाइमिङ पनि अलिक छिटो—छिटो भएको हुनाले यसले बढिरहेको देखाएको हो । तर मुख्यकुरा जीवनशैलीकै कारण अहिले मधुमेह बढिरहेको हो । अर्को के कुरा याद गर्नुपर्छ भने मधुमेह भएको व्यक्तिमा जुन खालको लक्षणहरू हुन्छ, जस्तो कि तिर्खा लाग्ने, पिसाव लाग्ने, घाउ निको नहुने, तौल घट्दै जाने, प्रायमा यी लक्षण हुँदैनन् । त्यसकारण लक्षण नभइकन त कसैले ब्लड टेस्ट गर्दैन । तर पनि कुनै समस्या नभइकन पनि ब्लड टेस्ट गर्दा हामीले धेरैमा डायबिटिज देखेका छौँ । मधुमेह र थाइराइडको सम्बन्ध मधुमेह र थाइराइड भनेको एन्डोक्राइन प्राक्टिस अर्थात् हर्मोन सम्बन्धी विशेषज्ञ भएको हुनाले यी दुईवटा रोगहरू सबैभन्दा कमन हर्मोनल कन्डिसन हो । त्यहाँबाट शुरु गरौँ । डायबिटिज नभएको व्यक्ति र डायबिटिज भएको व्यक्तिलाई तुलना गरेर हेर्दा थाइराइडको समस्या डायबिटिज भएका व्यक्तिहरूमा बढी मात्रामा भेटाइन्छ । विशेष गरेर टाइपान डायबिटिज अर्थात प्रकार १ डायबिटिज भन्छौँ । जुन बच्चादेखि नै अर्थात सुरुदेखि नै इन्सुलिनको अभाव भएको रोग हो । यो रोगमा थाइराइडको समस्या अझै बढी लगभग ३० प्रतिशतमा नै भेटाउँछौँ । मधुमेह कसलाई हुनसक्छ ? मधुमेह त जसलाई पनि हुनसक्ने रोग हो । तर मधुमेह हुनुमा धेरै कुराको रिस्क फ्याक्टर हुन्छ । जस्तो मैले मोटोपनको कुरा गरेँ । सेटेन्टरी लाइफस्टाइल अर्थात् अलिक एक्टिभ नहुने, एउटै ठाउँमा लामो समय बस्ने, फिजिकल एक्टिभिटी नभएको, शारीरिक व्यायाम नहुने, अथवा वंशाणुगत छ भने ती रिस्क फ्क्टरहरूले भविष्यमा डायबिटिज हुने रिस्क बढाउँछ । तर हामीले भन्छौँ नि मोटो मान्छेमा नै डायबिटिज देखिने हो, त्यस्तो होइन । हामीले नेपालको जनसंख्यामा हेर्दा वा भारतमा पनि के भेटिरहेका छौँ भने डायबिटिजको समस्या पश्चिमा अर्थात युरोप अमेरिकाको तुलनामा अलिक छिटो अथवा १० वर्षअघि नै देखिने गरेको छ । मोटोपन नभएको मान्छे जस्तै शारीरिक रूपमा मान्छे दुब्लो छ, तर सेन्ट्रल ओबिसिटी अर्थात पेटमा बोसोको मात्रा बढी हुने त्यस्तो व्यक्तिहरूमा पनि हामीले डायबिटिज भेट्टाइरहेका छौँ । भनेपछि मोटोपना नै हुनुपर्छ भन्ने छैन । परीक्षण कसले गर्ने, कसरी गर्ने ? मधुमेह हामी सामान्यतया ब्लड टेस्टबाट हेर्छौँ । परीक्षणका क्रममा हामीले कि खाली पेटमा सुगर हेर्छौँ कि त खाना खाएको दुई घण्टापछि हेर्छौँ । अर्को तीन महिनाको सुगर हेर्ने जाँच हुन्छ । जसलाई हामी एचपीए वायोप्सी भन्छौँ । यी तीन वटा जाँचमा जुनै जाँच गर्दा पनि डायबिटिज छ कि छैन भनेर हामीलाई थाह हुन्छ । अहिलेको गाइडलाइन अर्थात् अमेरिकन डायबिटिज एसोसिएसनले के भन्छ भने तीव्र गतिमा बढेको रोग भएको हुनाले ३० वर्ष नाघेको, जसमा कुनै पनि रिस्क फ्याक्टर छैन भनेपनि सबैले ब्लड टेस्टमा सुगरको जाँच गर्नुपर्छ । र नर्मल आयो भने हरेक तीन–तीन वर्षमा गर्दा राम्रो हुन्छ । यो बाहेक तपाईँमा डायबिटिज हुने रिस्क फ्याक्टर छ, जुन अघि मैले कुरा गरिसकेँ । तपाईंको परिवारमा छ, मोटोपना छ, लाइफस्टाइल त्यति एक्टिभ छैन भने उहाँहरूले पनि गर्नुपर्छ । त्यो सँगसँगै जसमा कहिले कहीँ हर्मोनहरू गडबड हुने कन्डिसन छ, जस्तो महिलाहरूमा महिनावारी गडबड हुने, टाइममा नहुने । यस्तो कन्डिसनमा जसलाई हामीले ‘पुलिसेस्टिक ओन्ड्रिक सिस्टम’ भन्छौँ । अथवा पहिले गर्भवती भएको बेलामा सुगर देखिएको छ, जसलाई हामी ‘जेस्टिसन डायबिटिज’ भन्छौँ । यस्तो समस्या देखिएको छ भने पनि यस्ता व्यक्तिहरूले एक–एक वर्षको फरकमा आफ्नो ब्लडसुगर चेक गर्नुपर्ने हुन्छ । थाइराइड पनि डायबिटिजको जस्तै ब्लड टेस्टबाट थाह हुन्छ, लक्षणहरूबाट थाहा हुँदैन । थाइराइडको टेस्टलाई हामी ‘थाइरोइड फङ्सन टेस्ट’ भन्छौँ । जुन सिम्पल ब्लड टेस्ट हो । यो जता पनि हुने जाँच हो । त्यसकारण टीएफटी अर्थात् ‘थाइरोइड फङ्सन टेस्ट’ बाट हामीलाई थाहा हुन्छ । थाइराइड कसले टेस्ट गर्ने ? अघि कुरा गरेजस्तै जस्तो टाइप वान डायबिटिज छ भने यस्तो व्यक्तिहरूले टेस्ट गर्नुपर्यो । महिलाहरूमा प्रेगनेन्सी अगाडि चेक गर्नुपर्यो । जुन महिलाहरूको बाँझोपनको समस्या छ, महिनावारी गठबडीको समस्या छ, यस्तो महिलाहरूले चेक गर्नुपर्यो । र फेम्लीमा कसैलाई थाइराइडको समस्या छ भने उहाँहरूले चेक गर्नुपर्यो । सँगसँगै लक्षणहरू छ भनेपनि उहाँहरूले पनि चेक गर्नुपर्यो । मधुमेहका प्रकार मधुमेहका पनि धेरै प्रकार हुन्छ । त्यसमध्ये प्रकार १ र २ का बारेमा कुराकानी गर्छु । हामीले ९० प्रतिशतभन्दा धेरै जुन प्राक्टिसमा भेट्टाउँछौँ त्यो प्रकार २ मधुमेह हो । प्रकार २ अथवा टाइप टु डायबिटिज उमेर बढ्दै गएपछि यो प्रकारको मधुमेह लाग्ने सम्भावना बढी हुन्छ । ४० वर्ष नाघेपछि टाइप २ डायबिटिजको रिस्क बढ्दै जान्छ । तर प्रकार २ मधुमेह बच्चादेखि वृद्धसम्म जसलाई पनि लाग्न सक्ने रोग हो । दोस्रो भनेको टाइप १ डायबिटिज । प्रकार १ मधुमेह प्रायजसो बच्चाहरूमा देखिने रोग हो । तर, यो पनि उमेर कटिसकेकाहरूमा पनि देखिन सक्छ । तर, बच्चाहरूमा नै बढी देखिन्छ । युवा अवस्थामा किन बढ्दैछ डायबिटिज ? ‘युथ अनसेट डायबिटिज’ अथवा अलि कम उमेरमै ४०/३५ वर्षभन्दा कम उमेरमै देखिने डायबिटिज पनि विगत केही वर्षहरूमा बढेको देखिएको छ । पहिले हामीले के सोच्थ्यौँ भने डायबिटिज उमेर बढेपछि हुने रोग हो, यो एकदम गलत हो । अहिले जसरी जीवनशैली परिवर्तन भएको छ, खानपान पहिले जस्तो छैन, जुन प्रकारको स्टेस छ, यी कारणहरूले गर्दा कम उमेरमा अथवा ३५ वर्ष नपुग्दै वा ३० वर्ष मुनिकालाई पनि डायबिटिज देखिराखेको छ । ५० वर्ष अगाडिसम्म पनि हामीले यस्तो देखेका थिएनौँ । तर १५/२० वर्षयता किशोरावस्थामा वा युवाअवस्थामा देखिने डायबिटिज हामीले लगभग दोब्बर पाएका छौँ । अहिले जुन प्रकारको जीवनशैली छ, खानेकुराको स्वरुप छ, बाहिर बढी खाने, फिजिकल एक्सरसाइज नगर्ने, ओबिसिटी अर्थात् मोटोपनाले यो समस्या बढाएको छ । के खाने के नखाने ? मधुमेह भएको व्यक्तिहरूले अलिक कम कार्बोहाइड्रेट भएको खानेकुरा खाने भनेर सल्लाह दिन्छौँ । चिनी, आलु, यो प्रकारको खानेकुरा खाँदा सुगर एकैचोटी ह्वात्तै बढ्छ । त्यसकारण चिनी, आलु, मैदाले बनेका परिकारहरू नखाने सल्लाह दिन्छौँ । त्यो बाहेक भिनी मिसिएका चिजहरू मिठाइहरू, जुस, कोक, फेन्टा, आइसक्रिमहरू भयो, जसमा चिनीको मात्रा धेरै हुन्छ । यस्तो प्रकारको खानेकुरा पनि नखाने सल्लाह दिन्छौँ । ग्रामीण क्षेत्रमा डायबिटिज कम प्रायजसो ग्रामीण क्षेत्रमा बस्ने मानिसहरूमा डायबिटिज कम नै देखिन्छ । किनभने उहाँहरूको जीवनशैली अलिक एक्टिभ हुन्छ, जस्तो खेतीमा जाने, काम गर्ने, श्रम बढी हुन्छ । खानेकुरा पनि प्रायः घरकै खानुहुन्छ । मिलाएर खानुहुन्छ । उहाँहरूको डाइट पनि अलिक हेल्थी हुन्छ । तर, के पनि देखिएको छ भने ग्रामीण क्षेत्र पनि शहरीकरण हुँदै जाँदा परिश्रम कम, खानेकुरा पनि नमिलाएर खाने गरेको देखिएकोले त्यहाँ पनि डायबिटिज देखि नै रहेका छौँ । तर सहरमा बस्ने मानिसहरूमा डायबिटिजको मात्रा अलिक बढी नै देखिन्छ । इन्सुलिन वा औषधि खानेले ध्यान दिनुपर्ने कुरा मधुमेह भएको व्यक्ति जसले इन्सुलिन (सुगरलाई घटाउने सुई) प्रयोग गरिरहनुभएको छ, वा औषधि खाइरहनुभएको छ, उहाँहरूले चाडपर्वको बेला आफ्नो औषधि नियमित लिने, खानेकुरामा ध्यान दिनुपर्छ । किनभने चाडपर्वमा अलिकति गुलियो खानेकुरा बढी खाने, चिल्लो बढी खाने हुन्छ । त्यसकारण यस्ता कुरामा ध्यान दिएर चिल्लो, गुलियो बारेर सामान्य, जुन सादा खानेकुराहरू छ, त्यो मिलाएर खानुपर्ने हुन्छ । लामो यात्रामा जाँदै हुनुहुन्छ भने पनि आफ्नो खानेकुरा बोकेर हिँड्ने, आफ्ने इन्सुलिनहरू आइसमा प्याक गरेर बोक्ने, औषधिहरू बोकेर हिँड्ने । यात्रा गर्दा यदि तपाईँ आफूले ड्राइभ गरिरहनुभएको छ, गाडी कुदाइरहनुभएको छ भने एउटा सुगर नाप्ने मेसिन बोकेर हिँड्ने । लामो समय हिँड्दा सुगर लो हुनसक्छ । खानेकुरा समयमा खाने, बिचबिचमा मसिनले सुगर चेक गर्ने र आफूसँग केही गुलियो खानेकुरा जस्तो चकलेटहरू पकेटमा राख्ने । यदि सुगर लो भयो भने त्यो खानुभए हुन्छ । जीवनशैली कस्तो बनाउने ? दिनको सुरुवात सकारात्मक सोचबाट गर्नुपर्यो । निद्रा राम्रो हुनुपर्यो । बिहान उठेर आफ्नो दिनको सुरुवात कुनैपनि प्रकारको फिजिकल एक्सरसाइजबाट गर्ने । र खानेकुरा यस्तो मिलाउनुस् किनभने अहिले व्यस्त जीवनशैली छ । हामी सबैजना व्यस्त हुन्छौँ, काम कहिले पुग्ने भनेर रेस हुन्छ । बिहानको खाना सकभर घरबाटै खाएर जानुहोस् । सक्नुहुन्छ भने आफ्नो खानेकुरा प्याक गरेर लैजानुहोस् । सक्नुहुन्न भने खानेकुरा के खानुहुन्छ, त्यसमा विशेष ध्यान दिनुहोस् । प्रायः हाम्रो खाजा भनेको मैदाले बनेको परिकार हुन्छ । जस्तै, समोसा, मम, चाउमिन, यस्तो खानेकुरा सकेसम्म नखानुहोस् । यसको सट्टा बरु चिउरा, तरकारी, रोटी, उसिनेको अण्डा यस्तो मिलाएर खानुहोस् । मिल्छ भने घरबाट सलादहरू पनि बोकेर लैजानुस् । कामको स्टेस अलि कम गर्नुहोस्, कामको धेरै स्ट्रेस नलिनुहोस् । खानेकुराको टाइमटेबल मिलाएर र औषधि नछुटाइकन लिनुपर्ने हुन्छ । औषधि छोड्दा के हुन्छ ? तपाईँलाई मधुमेह भइसकेको छ र औषधि खाने गर्नुभएको छ भने आफैँ औषधि नछोड्नुहोस् । किनभने यो दीर्घरोग हो । औषधि नछाड्ने, आफ्नो जीवनशैली मिलाउने । डायबिटिजको उपचार भनेको औषधि मात्र होइन, यसको सबैभन्दा फाइदा गर्ने उपचार भनेको आफ्नो जीवनशैली हो । त्यो भनेको खानपान मिलाउनुपर्यो । तौल यदि बढी छ भने तौल घटाउनुपर्यो । धूम्रपान मध्यपान गर्नुहुन्छ भने यो दुवै कुरालाई छोड्नुहोस् । मधुमेह भएको व्यक्तिमा उपचार गर्ने भनेको जटिलताहरूबाट बचाउनका लागि हो । जटिलताहरूबाट बचाउनका लागि जीवनशैली पनि सुधार्नुपर्ने हुन्छ । र चौथो भनेको तपाईँलाई बोलाएको टाइममा परीक्षण गर्नुहोस् । वर्षको एकपटक आफ्नो आँखा, किड्नी लगायत अरु जाँच गर्नुपर्ने परीक्षणहरू गर्नुहोला । र सकारात्मक सोच राख्नुहोस् । ध्यान दिनुपर्ने कुरा हामीले के कुरा याद गर्नुपर्छ या ध्यान दिनुपर्छ भने मधुमेह भएको व्यक्ति प्रायलाई थाह हुँदैन कि मलाइ मधुमेह छ भनेर । मलाई मधुमेहको लक्षण छैन, त्यही भएर म किन टेस्ट गर्ने भनेर सोच्नुहुन्छ । तर, ५० प्रतिशत व्यक्तिहरूमा मधुमेह भइसकेपछि पनि कुनै पनि लक्षणहरू हुँदैन । त्यसकारण तपाईँ ३० वर्ष कट्नुभएको छ भने कृपया वर्षको एकचोटी आफ्नो स्वास्थ्य जाँचमा एउटा सुगरको जाँच पनि राख्नुहोस् । किनभने यो एउटा सिम्पल टेस्ट हो । तपाईँ बिहानको समयमा खाली पेटमा गएर ब्लड दिनुभए हुन्छ, दिनभरी कुर्नुपर्दैन । तपाईँमा लक्षण छैन भनेपनि वर्षको एक पटक सुगर टेस्ट गर्नुहोस् ।
‘युट्युब’बाट सिकेर कौसीमा ड्रागन खेती, वार्षिक ८ लाख आम्दानी
नवलपरासी । यहाँको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–९ निवासी सीता जिसी राउतले कौसीमा ड्रागन फल खेती गरेर वार्षिक रु आठ लाख सम्म आम्दानी लिने गरेकी छन् । तीन वटा बिरुवाबाट कौसीमा सुरुआत गरेको सो खेती हाल १३५ वटा गमलामा विस्तार गरिन्। उनले बारीमा ४२४ वटा बोट रोपेकी छन् । घरमै खान भनी चार वर्ष पहिले सुरु गरेको खेती अहिले व्यावसायिक बनेको हो । ‘युट्युब’बाट हेरेर प्रभावित भई उनले कौसीमा ड्रागन फल खेती सुरुआत गरेका थिइन् । सुरुमा मलेसियन सी भेराइटीको जम्मा तीन वटा बिरुवा रु दुई हजार एक सयमा पनौतीबाट ल्याएर लगाएकी थिइन् । कौसीमा खेती सुरु गर्दा रु २५ हजार लगानी लागेको उनले बताइन् । उनले फल मात्र होइन बिरुवा पनि बिक्री गरेर आम्दानी लिँदै आएकी छन् । “मैले सुरुमा आफ्नै लागि बिरुवा तयार गरेर लगाएँ, त्यसले राम्रो फल दियो, बिरुवा सफल भएपछि मैले बिरुवा बिक्री गर्न थालेँ, अहिले मकहाँ धेरैजना बिरुवा लिन आउनुहुन्छ । यसपालि करिब रु दुई लाखको त बिरुवा नै बेचेँ”, जिसीले भनिन् । गत असार पहिलो सातादेखि उत्पादन सुरु भएकामा तीन लट बिक्री गरी हाल चौथो लट टिप्न थालेकी छन् । असार महिनामा मात्रै साढे तीन क्वीन्टल ड्रागन फल बिक्री गरिसकेका छन् । बजारका लागि कुनै समस्या नभएको उनको भनाइ छ । स्थानीय बजार र मुख्य सहरहरू नारायणगढ, काठमाडौँदेखि बुटवलसम्म उनले बिक्री गर्दै आएकी छन्। पानी ट्याङ्की राखेका फलामका डण्डी, छतमा प्रयोग भएको रेलिङले नै पिल्लरको काम गर्ने हुँदा कौसीमा लगानी कम लाग्ने, पात नहुँदा झरेर फोहर हुने पिर नहुने, अनि धेरै घाम र थोरै पानी भए पुग्ने भएकाले, कौसी खेतीका लागि ड्रागन फ्रुट खेती एकदमै उपयुक्त रहको जिसीको अनुभव छ । रासस
स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ
सिरहा । यहाँको लहान–३ अस्पताल चोकदेखि आज सशस्त्र प्रहरीले स्रोत नखुलेको रु १० लाख एक हजार ६९५ नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लास्थित लौकाहा बजार बस्ने अन्दाजी २४ वर्षीय राहुल कुमार रहेका छन् । सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण सिरहाका गणपति, सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार बिहान करिब ९ः३० बजे सुरक्षा वेश क्याम्प लहानबाट खटिएको ‘चेक प्वाइन्ट’ टोलीले यात्रुवाहक सवारी जाँच गर्ने क्रममा इनरुवाबाट लहानतर्फ आउँदै गरेको बसमा सवार राहुल कुमारलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका राहुल कुमारलाई नगदसहित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।
भायानेटको स्वतन्त्र सञ्चालकमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त
काठमाडौं । इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले परशुराम कुँवर क्षेत्रीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ । बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव भएका क्षेत्री भायानेटको सञ्चालक समितिको निर्णयअनुसार बोर्डमा आबद्ध भएका हुन् । क्षेत्रीले आफ्नो करियर सन् १९८६ मा तत्कालीन ग्रिण्डलेज बैंक (हाल स्ट्यान्डर्ड चार्टर्ड बैंक) बाट सुरु गरेका थिए। उनले नेपाल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, बैंक अफ एसियाको विभिन्न वरिष्ठ जिम्मेवारी सम्हालेका थिए भने जनता बैंक र ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेका थिए । उनले सन् २०२० मा ग्लोबल आइएमई बैंकको सीईओबाट अवकाश लिएका थिए । कम्पनीले क्षेत्रीलाई बोर्डमा स्वागत गर्दै उनको तीन दशकभन्दा बढीको अनुभवले भायानेटको दिगो विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।
ज्योति विकास बैंक १८ औं वर्षमा प्रवेश : सामाजिक सेवा र डिजिटल क्रान्तिमा अग्रसर
काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १७औं वार्षिकोत्सव समारोह भव्य रूपमा सम्पन्न गरेको छ । वि.सं. २०६५ सालको श्रावण ९ गते स्थापनाभएको बैंकले २०८२ सालको साउन ९ गते गौरवमय १७ वर्षको सफल यात्रा सम्पन्न गर्दै १८ औं वर्षमा प्रवेश गरेको हो । बैंकको केन्द्रीय कार्यालय परिसरमा आयोजित वार्षिकोत्सव समारोहको सभापतित्व बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरेका थिए । पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रमको विधिवत उद्घाटन भएको उक्त समारोहमा बैंकका सञ्चालक समिति सदस्यहरू, भूतपूर्व अध्यक्ष, भूतपूर्व सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन समूह तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो। समारोहको अवसरमा बैंकले प्रविधिमा आधारित ग्राहक सेवा विस्तारको दिशामा एक कदम अघि बढ्दै २४ घण्टा ७ दिन सेवा उपलब्ध गराउने एआई च्याटबट ‘ज्योति’ सार्वजनिक गरेको छ। यो च्याटबटले सरल इन्टरफेस र भाषिक विकल्पमार्फत ग्राहकलाई बैंकिङ जानकारी सहज रूपले उपलब्ध गराउनेछ। साथै, बैंकले Interbank Teller QR सेवा शुभारम्भ गरेको छ, जसले खाता नभएका व्यक्तिहरूलाई समेत मोबाइल बैंकिङ एप वा खल्ति वालेटमार्फत ज्योति विकास बैंकका शाखाबाट नगद झिक्न सक्ने व्यवस्था गरेको छ। यो सेवा विशेषगरी एटीएम सुविधा नपुग्ने तथा शाखा टाढा भएका स्थानहरूमा निकै उपयोगी हुने अपेक्षा गरिएको छ। बैंकले वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रमको घोषणा तथा सम्झौता गरेको छ। ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत सम्पन्न हुने यी कार्यक्रम अन्तर्गत तिलगंगा इन्स्टिच्युट अफ अफध्याल्मोलोजीसँगको सहकार्यमा सप्तरीको कञ्चनरुपमा आँखा जाँच तथा मोतिविन्दुको निःशुल्क शल्यक्रिया सञ्चालन गरिनेछ। त्यसैगरी, राष्ट्रिय आविष्कार केन्द्रसँग साझेदारीमा १० वटा ‘न्यानो नानी’ बेबी वार्मर उपकरणहरू दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा जडान गरिनेछ। ई-नेबल नेपालसँगको सहकार्यमा १७ जना फरक क्षमताका बालबालिकालाई 3D प्रविधिबाट निर्मित कृत्रिम हात प्रदान गरिनेछ। साथै, लुम्बिनी वर्ल्ड पिस फोरमसँग सहकार्यमा सातै प्रदेशमा १ हजार ७ सय वटा वृक्षारोपण गरिने योजना सार्वजनिक गरिएको छ। यस वर्ष पनि बैंकले ‘Jyoti’s Got Talent’ को दोस्रो संस्करण आयोजना गरी कर्मचारी तथा उनीहरूका बालबालिकाको सिर्जनशीलता र प्रतिभालाई प्रोत्साहन दिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिने सहभागीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने सबै सहभागीहरूलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो। बैंकले वार्षिकोत्सवको अवसरमा आफ्नो ‘कर्पोरेट एन्थम’ पनि सार्वजनिक गरेको छ। यस एन्थमले बैंकको उद्देश्य, ध्येय र मूल्य मान्यता समेट्दै सबै सरोकारवालासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिएको छ। संगीतमार्फत बैंकको पहिचान र भावनालाई सशक्त रूपमा व्यक्त गर्न खोजिएको यस रचनात्मक प्रयासले संस्थाको आन्तरिक भावना तथा बाह्य प्रस्तुतिलाई सन्तुलित बनाउने अपेक्षा गरिएको छ। समारोहको अवसरमा आयोजित रक्तदान कार्यक्रममा करिब ५५ जना कर्मचारी, ग्राहक तथा सर्वसाधारणले सहभागिता जनाएका थिए। साथै निःशुल्क स्वास्थ्य तथा आँखा जाँच शिविरसमेत सञ्चालन गरिएको थियो, जसमा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बैंकले विगत १० वर्ष तथा १५ वर्षदेखि निरन्तर सेवा दिँदै आएका समर्पित कर्मचारीहरूलाई समारोहमै विशेष सम्मान गरेको छ। अध्यक्ष हरि चन्द्र खड्काले मन्तव्य व्यक्त गर्दै विगत १७ वर्षको यात्रामा साथ दिने ग्राहक, शेयरधनी, नियामक निकाय, कर्मचारी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरे । उनले सामाजिक समृद्धि तथा कर्मचारी विकासमा बैंक निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै भविष्यमा पनि साथ र समर्थनको अपेक्षा गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले संस्थापक सञ्चालक, पूर्व अध्यक्ष, कर्मचारी, शेयरधनी तथा ग्राहकप्रति कृतज्ञता व्यक्त गर्दै बैंकले तय गरेको लक्ष्य र ध्येयप्रति अझ सशक्त प्रतिबद्धता व्यक्त गरे । उनले सामाजिक उत्तरदायित्वका कार्यक्रम र बैंकले हासिल गरेका उपलब्धिहरूको जानकारी गराउँदै भावी दिनहरूमा अझ प्रभावकारी ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकसँग सहकार्य गरेका संस्थाहरूका प्रतिनिधिहरूले पनि आफ्नो मन्तव्य व्यक्त गरेका थिए। तिलगंगा इन्स्टिच्युट अफ अफध्याल्मोलोजीकी कार्यकारी प्रमुख डा. रीता गुरुङले दृष्टि प्रदानमार्फत आत्मनिर्भर जीवन निर्माणमा बैंकको सहयोगको प्रशंसा गरे । राष्ट्रिय आविष्कार केन्द्रका महाप्रबन्धक संजय झाले न्यानो नानी परियोजनामा बैंकको योगदानलाई वैज्ञानिक समाधानमार्फत समाज रूपान्तरणको उदाहरणका रूपमा उल्लेख गरे । ई-नेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठले 3D कृत्रिम हातले बालबालिकाको आत्मबल बढाउने विश्वास व्यक्त गर्नुभयो भने लुम्बिनी वर्ल्ड पिस फोरमका अध्यक्ष बसु गौतमले हरियाली प्रवर्द्धनमा बैंकको सहभागिता भावी पुस्ताका लागि प्रेरणादायक हुने बताए । समारोहमा बैंकले सामाजिक उत्तरदायित्व, नवीनतम प्रविधिको प्रयोग, कर्मचारी सशक्तिकरण, र दिगो विकासमा निरन्तर क्रियाशील रहने अठोट दोहोर्याएको छ । संस्थागत सुशासन, नवप्रवर्तनशील सोच र नागरिकप्रति उत्तरदायित्व बोक्ने वित्तीय संस्था रूपमा ज्योति विकास बैंकले आगामी दिनमा पनि परिवर्तनको ज्योति बनेर अघि बढ्ने विश्वास व्यक्त गरिएको छ ।
बीवाईडी सिलायन ७ को बिक्री सुरु, अर्ली बर्ड अफरमा २ लाख सस्तो
काठमाडौं । बीवाईडीको नेपालस्थित आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी सिलायन ७ इलेक्ट्रिक एसयूभीको औपचारिक बिक्री सुरु गरेको छ । यो मोडल गत वर्षको नाडा अटो शोमा पहिलो पटक सार्वजनिक गरिएको भए पनि अब मात्र यसको व्यावसायिक रूपमा बजारमा प्रवेश भएको हो । सिलायन ७ को मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने, अर्ली बर्ड अफर अन्तर्गत २ लाख छुट दिँदै कम्पनीले हाल ७२ लाख ९९ हजारमा बिक्री शुरू गरेको हो । यस एसयूभीमा ७१.८ किलोवाट आवरको ब्लेड ब्याट्री प्याक राखिएको छ, जसले एक पटकको फुल चार्जमा ४४० किलोमिटर रेन्ज प्रदान गर्न सक्ने कम्पनीको दाबी छ । बीवाईडीको ई–प्लेटफर्म ३.० मा निर्मित यो गाडीमा बीवाईडी एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम, सेल–टु–बडी प्रविधि, प्याटेन्टेड ब्लेड ब्याट्री टेक्नोलोजी, डबल विसबोन सस्पेन्सन, ३६० डिग्री प्यानोरामिक भ्यु, भेइकल टु लोड लगायतका अत्याधुनिक फिचरहरू दिइएका छन् । डिजाइनका हिसाबले, सिलायन ७ मा सिल आकारको हेडलाइट, क्लोज अफ ग्रिल, १९ र २० इन्चका ड्युअल टोन अलोय ह्विल, फ्लश टाइप डोर ह्यान्डल र एलईडी टेललाइट सहितको एग्रेसिभ स्पोर्टी लुक दिइएको छ। स्टोरेजको हिसाबले यसमा ५८ लिटरको फ्रन्ट ट्रंक र ५२० लिटरको बुट स्पेस रहेको छ, जसलाई पछाडिको सिट फोल्ड गरेर १७८९ लिटरसम्म विस्तार गर्न सकिन्छ । यसको इन्टेरियरमा रोटेटेबल १५.६ इन्च टचस्क्रिन, १०.२५ इन्च डिजिटल ड्राइभर डिस्प्ले, १२ स्पिकर साउन्ड सिस्टम, हिटेड र भेन्टिलेटेड सिट, ५० वाट वायरलेस चार्जर, हेड-अप डिस्प्ले र सनशेडसहितको प्यानोरामिक ग्लास रूफ लगायतका प्रिमियम फिचरहरू समावेश छन् । सुरक्षाको लागि, गाडीमा ११ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, फ्रन्ट र रियर पार्किङ सेन्सर अन्तर्गत एडाप्टिभ क्रुज कन्ट्रोल तथा रियर कोलिजन वार्निङ सुविधा पनि उपलब्ध गराइएको छ । एसयूभीले नेपाली बजारमा प्रिमियम ईभीको अनुभवमा नयाँ उचाइ ल्याउनेछ र दिगो मोबिलिटीतर्फको यात्रामा थप गति प्रदान गर्ने साइमेक्स इंकको विश्वास छ ।
पार्वती बनिन् एनसेल करोडपति
काठमाडौं । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ भन्ने सोचमा विश्वास गर्ने धादिङ, गंगाजमुना गाउँपालिका–६ बांगेपिपल, बसेराकी पार्वती कार्कीले शुक्रबार खुसी हुँदै भनिन्, 'अब भने साँच्चै हाम्रो पनि दिन आयो !' कार्कीले यही असार १ देखि ३२ गतेसम्म सञ्चालन भएको एनसेलको ‘सधैँ अन करोडपति’ योजनामा एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार जितेपछिको उनको प्रतिक्रिया सुन्दा लाग्थ्यो, उनले जीवनमा ठुलो सङ्घर्ष गरेकी छन्, धेरै गुमाएकी छन् । उनले झण्डै आठ वर्षअघि एनसेलको सीम किनेकी थिइन् र असारको तेस्रो साता रु ९९ को ‘बेसिक रिन्युअल’ प्याक किनेर योजनामा स्वतः सहभागी भएकी थिइन् । विसं २०७२ सालको भूँइचालोमा धन्सारमा सुतिरहेको एक महिना दुई दिनको कान्छो छोरा गुमाइन । भूँइचालोले छोरासँगै निर्माण सकेर घरपूजा गर्ने तरखरमा रहेको घर पनि ढलायो । त्यसपछि अझ बढी आर्थिक अवस्थाले पिसोलिएकी उनले ऋण गरेर श्रीमानलाई वैदेशिक रोजगारीमा पठाएकी थिइन् । गाउँमा खेती किसानी गर्ने कार्की महिला स्वास्थ्य स्वयंसेविका पनि हुन् । उनका श्रीमान् अहिले बहराइनमा छन् भने छोरा काठमाडौँमा प्लस टुमा अध्ययनरत छन् । एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले एनलेलको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा कार्कीलाई बम्पर उपहारअन्तर्गतको एक करोड रुपैयाँ हस्तान्तरण गरे । बम्पर पुरस्कार बुझ्दै कार्कीले आफूले जीवनमा कहिल्यै नसोचेको उपहार प्राप्त गरेको बताइन् । 'मैले जीवनमा कैयौँ दुखहरू भोगेकी छु, तर कहिल्यै हार नमानी कर्म गर्दै परिवारलाई अगाडि बढाउँदै आएकी थिएँ, मेरो सोच र मैले गरेको सङ्घर्षको परिणाम स्वरूप यो पुरस्कार प्राप्त भएको हो भन्ने लाग्छ, यसका लागि म एनसेल परिवारलाई विशेष धन्यवाद दिन्छु', उनले भनिन् । श्रीमानलाई विदेश नफापेपछि उनले केही समय काठमाडौँमा व्यापार पनि गरिन् । तर केही महिनामै लाखौँ रुपैयाँ घाटा भएपछि कार्कीले श्रीमानलाई फेरि विदेश पठाइकी थिइन् । 'अहिले पनि श्रीमान् विदेश जाँदाको र अरू ऋण बाँकी छ, श्रीमानको स्वास्थ्य पनि राम्रो छैन । अब ऋण तिर्नका लागि रोगी शरीर घोटिनु परेन, नेपालमै श्रीमान्–श्रीमती मिलेर केही उद्यम गर्ने सोच छ । छोरोको शिक्षामा लगानी गर्छौ', उनले सुनाइन् । एनसेलले ल्याएको उक्त योजनामा कार्कीले बम्पर नगद पुरस्कार जितेकी हुन् भने अन्य ५० जना भाग्यशाली ग्राहकहरूले साप्ताहिक पुरस्कार स्वरूप जनही एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् । एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन बमोजिम १२ हप्ताका लागि सञ्चालनमा ल्याएको यो योजना पाँचौँ हप्ताको बिचमा नै साउन १ गतेबाट बन्द गरेको थियो । 'सधैँ अन करोडपति अभियानअन्तर्गत यो बम्पर पुरस्कार प्रदान गर्दै हाम्रो प्रतिबद्धता पूरा गर्न पाउँदा हामीलाई अत्यन्तै खुसी लागेको छ,' एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले भने । 'सम्पूर्ण एनसेल परिवारको तर्फबाट म पार्वती कार्कीलाई हार्दिक बधाई दिन चाहन्छु । उहाँको कथा आशाको कथा हो । यसले हाम्रो वचनप्रति रहेको अटल प्रतिबद्धतालाई पनि प्रतिबिम्बित गर्दछ । उहाँको यात्रामा भागिदार हुन पाउँदा हामी हर्षित छौँ । उहाँले यो पुरस्कार रकमलाई आफ्नै व्यवसाय सुरु गर्ने सपना साकार पार्न प्रयोग गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु । उहाँको श्रीमान् फर्किएपछि हामी धादिङ जाने योजनामा छौँ ।'