संस्थापक समूहको सेयर अभौतिकरण गर्ने सिडिएससीको प्रस्तावमाथि इप्पानले गर्यो विरोध
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)को सञ्चालक समितिले कम्पनीहरुको सेयर सूचीकरण गर्ने सम्बन्धमा गरेको पछिल्लो निर्णयप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विरोध जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै इप्पानले विरोध गरेकाे जनाएको हो । सिडिएससीले धितोपत्र बजारमा सेयरको सार्वजनिक निष्काशन गरी सूचीकृत हुने प्रक्रियामा रहेका कम्पनीहरुको संस्थापक समूहको सेयर अभौतिकरण प्रक्रिया लम्ब्याउँदै अन्तत सबै कम्पनीहरुको संस्थापक र सर्वसाधारणतर्फ जारी भएको शेयरको छुट्टाछुट्टै इन्टरनेशनल सेक्युरीटीज आईडेन्टीफिकेसन नम्बर (आईएसआईएन) नम्बर जारी गर्नको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रस्ताव पठाएको थियो । त्यस सन्दर्भमा इप्पानले भनेको छ, ‘सो प्रस्तावले संस्थापक लगानीकर्ता, निजी क्षेत्र, वैदेशिक लगानीकर्ता, सेयरमा लगानी गर्ने आम सर्वसाधारणमा थप अन्यौलता र अस्पष्टता पैदा मात्र भएको छैन, यसले उनीहरुमा निराशा पैदा हुने अवस्था सिर्जना भएको छ । यो प्रस्ताव कार्यान्वयन भएमा हालसम्म नेपालको पुँजी बजारमा लागू भईरहेको, प्रचलित कानून, अन्तर्राष्ट्रिय मान्यता र अभ्यास विपरित छ ।’ इप्पानले उक्त प्रस्तावले नेपालको पुँजी बजारमा दीर्घंकालीन प्रभावसँगै देशप्रति अर्न्तराष्ट्रिय जगतको दृष्टिकोणमा समेत नकारात्मक प्रभाव पार्ने निश्चित भने नेपाली निजी क्षेत्र तथा गैरआवासीय नेपाली समुदायको लगानीका साथै प्रत्यक्ष वैदेशिक लगानीमा समेत असर पर्ने गरी अघि बढाएको प्रस्तावले स्वदेशी पुँजी संकलन, गैरआवासीय नेपालीहरुमार्फत आउने लगानी र विदेशी लगानी व्यवस्थापनमा समेत कठिनाई हुने जनाएको छ । ‘यसले नेपालमा निजी क्षेत्रले विभिन्न उद्योग व्यवसायमा गरेको लगानीमा विश्वास गुम्नुका साथै वैदेशिक लगानीकर्ताहरूमा समेत नेपालको लगानी वातावरणप्रति गम्भीर आशंका उत्पन्न भएको छ । सिडिएससीको यो प्रस्तावले नेपालको एउटा कानुनलाई हेरेर लगानी गरेको विदेशी लगानीकर्ताले आफ्नो शेयर बेचेर लगानी फिर्ता लिन नै नसक्ने वातावरण निर्माण गर्नेछ,’ इप्पानले उल्लेख गरेकाे छ, ‘यसले सरकारको वैदेशिक लगानी प्रवर्द्धन नीति, पूँजीबजारको सुदृढीकरण र समग्र आर्थिक सुधार लक्ष्यप्रति निकै ठूलो नकारात्मक प्रभाव पार्ने प्रष्ट छ ।’
सनराइज ब्लुचिप फण्ड र लक्ष्मी भ्यालु फण्ड-२ को लाभांश घोषणा
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले दुइवटा म्युचुअल फण्डकाे लाभांश घोषणा गरेको छ । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज ब्लुचिप फण्ड र लक्ष्मी भ्यालु फण्ड-२ का इकाईधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लक्ष्मी सनराइज बैंकद्वारा प्रबर्द्धन गरिएको लक्ष्मी सनराइज क्यापिटलको योजना व्यवस्थापन रहेकाे सनराइज ब्लुचिप फण्डले कर सहित १९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएकाे हो । यस्तै, लक्ष्मी भ्यालु फण्ड-२ ले कर सहित १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएकाे हो । साउन १२ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
एनभीडीयाको सेयर मूल्य दोब्बर, माइक्रोसफ्टभन्दा ५०० अर्ब डलरले अगाडि
काठमाडौं । एआई चिप बनाउने कम्पनी एनभीडीयाका सेयरहरूमा तीव्र वृद्धि जारी छ । सोमबार कम्पनीको सेयर झन्डै २ प्रतिशतको वृद्धिसँगै १७६.७७ डलरमा पुगेको छ । यससँगै कम्पनीको मार्केट क्याप (बजार मूल्य) ४.३ ट्रिलियन डलरमा पुगेको छ । यससँगै एनभिडियाको बजार मूल्य विश्वकै दोस्रो ठूलो कम्पनी माइक्रोसफ्टभन्दा ५०० अर्ब डलरले बढी भएको छ । अहिले विश्वमा एआई क्रान्तिको सुरुआत भएको छ । जसअनुसार आगामी दिनहरूमा एआईको प्रयोग बढ्दै जाँदा एनभीडीया र अरू चिप बनाउने कम्पनीहरूको सेयर मूल्यमा अझै तीव्रता आउने प्रक्षेपण गरिएको छ । जानकारहरू भन्छन्, ‘आगामी दुई वर्षभित्र एनभिडियाको सेयर मूल्य ३०० डलरसम्म पुग्न सक्छ ।’ पछिल्ला केही महिनामै कम्पनीका सेयरहरूमा ठूलो उछाल आएको छ । अप्रिलमा यसको मूल्य करिब ९५ डलर आसपास थियो भने हाल यो १७५ डलर आसपास पुगिसकेको छ । पछिल्ला १२ महिनामा एनभीडीयाको आम्दानी झन्डै दोब्बर भएको छ । पछिल्ला तीन वर्षमा कम्पनीको आम्दानी वार्षिक औसतमा ६९ प्रतिशतले बढेको छ । यदि कम्पनीले आगामी दुई वर्षमा आफ्नो आम्दानी ६० प्रतिशतभन्दा बढीको दरले वृद्धि गर्न सक्यो भने वित्तीय वर्ष २०२७ सम्ममा यसको आम्दानी ३३४ अर्ब डलर पुग्न सक्छ । यदि यस्तो भयो भने कम्पनीको सेयर मूल्यमा समेत उल्लेखनीय वृद्धि हुनेछ ।
गोदावरी फरेस्ट रिसोर्ट दसैंअघि सञ्चालनमा आउने, लागत १ अर्ब ९५ करोड
काठमाडौं । गोदावरी फरेस्ट रिसोर्ट दसैंअघि सञ्चालनमा आउने आएको छ । ललितपुरको गोदावरीमा निर्माण गरिएको गोदावरी फरेस्ट रिसोर्ट दसैं अगाडि नै सञ्चालनमा आउने जनाएको लगानीकर्ता युवराज श्रेष्ठले जानकारी दिए । अमेरिकन चेन ब्रान्ड वेस्ट वेस्टेन प्लसले व्यवस्थापन गर्ने उक्त रिसोर्ट पूर्ण रूपमा तयार भई सञ्चालनमा ल्याउन लागिएको लगानीकर्ता युवराज श्रेष्ठले जानकारी दिए । उनका अनुसार रिसोर्टमा ८३ वटा कोठा, ३ वटा सुविधा सम्पन्न मिटिङ हल, एउटा इन्फिनिटिभ स्विमिङ पुल, २ वटा रेस्टुरेन्ट रहेका छन् । साथै, ३ सय भन्दा बढी क्षमताको इभेन्ट प्यालेस पनि रहेको उनले बताए । १ अर्ब ९५ करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न भएको उक्त रिसोर्ट रिसोर्टमा कुशन्द्र महत, कल्याण जोशी, राजेन्द्र भण्डारी, युवराज श्रेष्ठ, मदनलाल जोशी लगायतको लगानी रहेको छ ।
चितवन निकुञ्जमा बाघ पाल्न बजेट अभाव
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रबाट नियन्त्रणमा लिइएका बाघ पाल्न मुस्किल हुने गरेको छ । बजेट अभावमा बाघ पाल्न कठिन हुने गरेको हो । चितवन राष्ट्रिय निकुञ्जको खोरमा सात बाघ रहेका छन् । निकुञ्जको मुख्य कार्यालय कसरामा तीन, सौराहामा दुई र देवनगरमा दुई बाघ छन् । मानव बस्तीमा पसेर हिंस्रक गतिविधि गरे वा बिरामी भएमा बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिन्छ । दैनिक मासु खुवाउनु पर्छ। निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार वार्षिक रूपमा ती बाघ पाल्न ३० लाख रुपैयाँ हाराहारी बजेट चाहिन्छ । एउटा बाघलाई दैनिक पाँच किलोदेखि सात किलो राँगाको मासु खुवाउनुपर्ने हुन्छ । सरकारले नियन्त्रणमा लिइएका बाघ पाल्न वार्षिक पाँच लाख हाराहारी मात्रै बजेट छुट्याउने गरिएको उहाँले बताए । सूचना अधिकारी थापामगरले भने, ‘गत आर्थिक वर्षमा बाघका लागि रु २२ लाख हाराहारी मासुको भुक्तानी गर्न बाँकी छ । एक महिनामा सात बाघलाई दैनिक पाँच किलोका दरले राँगाको मासु खुवाउँदा मासिक दुई लाखभन्दा बढी खर्च हुन्छ ।’ बाघलाई दैनिक मासु खुवाइरहेको भए पनि रकम भुक्तानी गर्न नसकिएको उनले जानकारी दिए । ‘खोरमा थप बाघ राख्ने ठाउँ छैन,’ सूचना अधिकारी थापामगरले भने । राख्ने ठाउँ नभएपछि गत वर्ष एउटा बाघ पर्सा पठाइएको थियो । बर्सेनि बाघको आहाराका लागि बजेट घट्दै जाने र नियन्त्रणमा लिनुपर्ने बाघ थपिँदै जाने हुँदा समस्या भएको उनले बताए । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क बाघ १२८ रहेका छन् । आहारा प्रजातिको सङ्ख्या बढ्दै जाँदा बाघको सङ्ख्या पनि बढ्दै गएको छ । यो निकुञ्ज बाघका लागि राम्रो बासस्थान हो । यहाँ आउने पर्यटकलाई सहजै देखाउन देवनगरको खोरमा बाघ राखिएका छन् । त्यहाँ सहज रुपमा बाघ हेर्न पाइन्छ ।
३०.७६ अंकले बढ्यो नेप्से, ४ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.७६ अंकले बढेर ३ हजार २.०७ बिन्दुमा पुगेको छ । आज १७६ कम्पनीको सेयर मूल्य बढ्दा ७४ कम्पनीको मूल्य घटेको छ । मंगलबार ३२१ कम्पनीको ४ करोड कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन डिस्टिलरीको भएको छ । हिमालयन डिस्टिलरीको ६४ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, ग्रीन भेन्चरको ६३ करोड, नेपाल रिइन्स्योरेन्सको ५६ करोड, हिमालयन रिइन्स्योरेन्सको ५२ करोड र राधी विद्युत कम्पनीको ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा विकास बैंक, वित्त र व्यापार समूहको उपसूचक घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ । आज ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भी इनर्जी र नाडेप लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
नयाँ उद्योग व्यवसाय दर्ता घट्दो, बन्द गर्ने क्रम बढ्दो
बागमती । पछिल्लो छ वर्षयता मकवानपुर जिल्लामा नयाँ उद्योग व्यवसाय दर्ता घट्दो र बन्द गर्ने क्रम बढ्दै गएको छ । मकवानपुरमा गत आर्थिक वर्ष २०८१/८२ मा उद्योगतर्फ ४१८ र वाणिज्यतर्फ २६० नयाँ उद्योग व्यापार दर्ता भएको छभने सो आवमा उद्योगतर्फ २८१ र वाणिज्यतर्फ ३६१ उद्योग व्यवसाय बन्द भएको उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसालले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा उद्योगतर्फ ३६६ र वाणिज्यतर्फ ३३५ नयाँ उद्योग व्यापार दर्ता भएकामा उद्योगतर्फ २६८ र वाणिज्यतर्फ ३३६ उद्योग व्यापार बन्द भएको थियो । गत आर्थिक वर्ष २०७९/८० मा उद्योगतर्फ ५७९ र वाणिज्यतर्फ ४३० नयाँ उद्योग व्यापार दर्ता हुँदा उद्योगतर्फ र वाणिज्यतर्फका गरी २८३ वटा उद्योगको लगत कट्टा गरिएको थियो । यसअघि आव २०७८/७९ मा उद्योगतर्फ ७६७ र वाणिज्यतर्फ ७७० नयाँ दर्ता भएको थियो । सो आर्थिक वर्षमा उद्योगतर्फ र वाणिज्यतर्फ गरी ११० वटा उद्योग व्यापारको मात्र लगत कट्टा भएको थियो । आव २०७७/७८ मा उद्योगतर्फ ८२० र वाणिज्यतर्फ ८१० नयाँ उद्योग व्यापार दर्ता भएकामा सो आवमा उद्योगतर्फ र वाणिज्यतर्फ गरी ३४० को लगत कट्टा गरिएको सो कार्यालयको तथ्याङ्कले देखाएको छ । आव २०७६र७७ मा उद्योगतर्फ एक हजार ५३६ र वाणिज्यतर्फ एक हजार ५२५ नयाँ उद्योग व्यापार दर्ता भएको थियो । सो आवमा उद्योगतर्फ र वाणिज्यतर्फका गरी २४० उद्योग व्यापारको लगत कट्टा गरिएको थियो । यसरी पछिल्लो छ वर्षमा नयाँ उद्योग व्यापार दर्ता घट्दै जाँदा उद्योग व्यापार बन्द हुने क्रम बढ्दै गएको छ । विभिन्न निकायबाट अनुदान प्राप्त गर्न उद्योग व्यवसाय दर्ता गराउने र अनुदान पाइसकेपछि बन्द गर्ने प्रवृत्ति, छोराछोरीलाई विदेश पठाउन व्यावसायिक पुँजी देखाउन मात्र व्यापार व्यवसाय दर्ता गराउने र पछि छोराछोरी विदेश गएपछि व्यापार व्यवसाय बन्द गर्ने, व्यापार घाटा हुनु र उद्योग कार्यालयमा दर्ता भएपछि स्थानीय तहमा समेत दर्ता गराउनुपर्ने दोहोरो व्यवस्थाका कारण पनि उद्योग व्यापार दर्ताभन्दा बन्द गराउने क्रम बढेको प्रमुख भुसालको भनाइ छ । त्यसैगरी उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरको राजस्व सङ्कलन पनि घटेको छ । सो कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकमा दुई करोड ६० लाख ८० हजार ५७० रुपैयाँ राजस्व सङ्कलन भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६१ लाख ६९ हजार ३०० रुपैयाँ कम राजस्व हो । सोही आवमा उद्योग र वाणिज्यतर्फको व्यवसायी दर्ता, नवीकरण, प्रतिलिपीलगायतका शीर्षकमा दुई करोड ६० लाख ८० हजार ५७० रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख भुसालले बताए । अघिल्लो आर्थिक वर्षमा २०८०/८१ मा विभिन्न शीर्षकमा सो कार्यालयले तीन करोड २२ लाख ४९ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको थियो । रासस
ठूलो घोटालामा मुछिँदा निलम्बनमा सांसद, आफ्ना प्रतिनिधि खोज्दै जनता
काठमाडौं । पछिल्लो प्रतिनिधिसभा र प्रदेशसभाका आठ जना सदस्यहरू विभिन्न कारणले निलम्बनमा परेका छन् । तीन वर्ष पहिले २०७९ मङ्सिर ४ मा भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि हालसम्म प्रतिनिधिसभाका सदस्य चारजना र विभिन्न प्रदेशसभाका चारजना सदस्यहरू निलम्बनमा परेका हुन् । प्रतिनिधिसभा सचिवालयले दिएको जानकारीअनुसार विभिन्न मितिमा प्रतिनिधिसभाका चारजना सदस्यहरू अहिले निलम्बनमा रहेका छन् । प्रतिनिधिसभाकी एकजना सदस्य भने फरार रहेकी छिन् । सचिवालयको भनाइअनुसार सबैभन्दा पहिले नेकपा एमालेका अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी निलम्बनमा परेका हुन् । रायमाझीलाई भुटानी शरणार्थी काण्डमा २०७९ वैशाख ३१ गते जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको थियो । निलम्बनको सुरुवात गर्ने रायमाझीको निलम्बन २०७९ असार १ गतेबाट सुरु भएको हो । रायमाझीपछि निलम्बनमा पर्ने दोस्रो सांसद चितवन निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद रवि लामिछाने हुन् । सहकारी घोटाला र संगठित अपराधमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने २०८१ पुष ८ गतेदेखि निलम्बनमा परेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता पनि हुन् । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट निर्वाचित मोहनबहादुर बस्नेत पनि अहिले निलम्बनको अवस्थामा रहेका छन् । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं २ का सांसद बस्नेत सञ्चारमन्त्री रहेका बेला टेरामक्स खरिद प्रकरणमा अन्य १६ जनासँगै मुछिएका हुन् । बस्नेतको पद २०८१ जेठ १ गतेदेखि निलम्बनमा परेको छ । निलम्बनमा पर्ने हालसम्मका सबैभन्दा पछिल्ला प्रतिनिधिसभा सदस्य माधवकुमार नेपाल हुन् । प्रधानमन्त्री रहेका बेला हदबन्दीभन्दा धेरै जग्गा एक निजी कम्पनीलाई दिने र सो जग्गा साटफेर गर्न दिएको अभियोग नेपालमाथि लागेको छ । २०८२ जेठ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पतञ्जलि जग्गा साटफेर प्रकरणमा मुद्दा दायर गरेपछि सोही दिनदेखि नेपाल निलम्बनमा परेका हुन् । प्रतिनिधिसभाकी अर्की सांसद भने फरार रहेकी छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट समानुपातिक सांसद रहेकी गीता बस्नेत नवलपुरको छिपछिपे बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा २०८१ वैशाख १४ गतेदेखि फरार रहेकी छिन् । प्रदेशसभा पनि छैन चोखो प्रदेशसभाका पनि विभिन्न चारजना सांसद निलम्बनमा रहेका छन् भने एकजनाको निलम्बन फुकुवा भइसकेको छ । हाल निलम्बनमा रहेका सदस्यहरू कर्णाली, मधेस, सुदूरपश्चिम र लुम्बिनी प्रदेश सभाका सांसद हुन् । गण्डकी प्रदेशसभाका फणिन्द्र देवकोटाको निलम्बन भने फुकुवा भइसकेको छ । दल बदलमा निलम्बनमा रहेका देवकोटा हाल नेकपा माओवादी केन्द्रमा रहेका छन् । सुदूरपश्चिम प्रदेशका सांसद तथा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही हाल निलम्बनमा रहेका छन् । ह्वाइटबडी जहाज खरिदमा १ दशमलव ४७ अर्ब रुपैयाँ अनियमितता गरेको आरोपमा २०८० चैत २२ गतेदेखि उनी निलम्बनमा परेका हुन् । लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेतासमेत रहेका अभिराम शर्मालाई २०७२ सालमा मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थम्मन विकको हत्या अभियोग लागेको छ । शर्मा २०८० मंसिर २८ गतेदेखि निलम्बनमा छन् । उनी मधेस प्रदेशका सांसद हुन् । नेकपा एकीकृत समाजवादी संसदीय दलका सुदूरपश्चिम प्रदेशका नेता दीर्घ सोडारी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा हाल निलम्बनमा परेका छन् । यस्तै, लुम्बिनी प्रदेशसभा सदस्य जानकी प्रसाद यादव पनि हाल निलम्बनमा परेकी छन् । यादव वन व्यवस्थापन समिति अध्यक्ष रहेको बेला २९ लाख रुपैयाँ बराबरको अनियमितता गरेको अभियोग रहेको छ । पछिल्लो समय निलम्वित सांसदहरुका निर्वाचन क्षेत्रका जनताले आफ्ना सांसदहरु निलम्बनमा पर्दा स्थानिय जना मर्कामा परेको बताएका छन् । लामो समयसम्म निर्वाचन क्षेत्रहरूलाई जनप्रतिनिधिविहिन बनाउन नहुने आम मानिसको माग रहेको छ । अर्घाखाँचीका मतदाताले त आफुहरु लामो समय जनप्रतिनिधिविहीन भएकोले आफ्ना सांसद रायमाझीको मुद्दा छिटो टुङग्याउन अनुरोध गर्दै प्रेस विज्ञप्ति समेत सार्वजनिक गरिसकेका छन् । पछिल्लो समय निलम्बित सांसदहरूका निर्वाचन क्षेत्रका जनताले आफ्ना सांसदहरू निलम्बनमा पर्दा स्थानीय जनता मर्कामा परेको बताएका छन् । लामो समयसम्म निर्वाचन क्षेत्रहरूलाई जनप्रतिनिधिविहीन बनाउन नहुने आम मानिसको माग रहेको छ । अर्घाखाँचीका मतदाताले त आफूहरू लामो समय जनप्रतिनिधिविहीन भएकोले आफ्ना सांसद रायमाझीको मुद्दा छिटो टुङ्ग्याउन अनुरोध गर्दै प्रेस विज्ञप्तिसमेत सार्वजनिक गरिसकेका छन् ।