१ हजारभन्दा बढी आगलागीका घटना, चट्याङले २८ जनाको निधन
काठमाडौं । गत वैशाखदेखि हालसम्म १ हजार ११ वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर १५ जनाको निधन भएको छ भने १४४ जना घाइते भएका छन् । त्यसबाट १ हजार १२४ घर परिवार प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाखदेखि हालसम्म विपद जन्य २ हजार ४५६ घटना भएका छन् । प्राधिकरणका अनुसार सो अवधिमा २४३ वटा चट्याङको घटना रेकर्ड भएको छ । चट्याङमा परेर २८ जनाको ज्यान गएको छ । १६९ जना घाइते हुँदा चट्याङका कारण २८३ घरपरिवार प्रभावित भएका छन् । सो अवधिमा सर्प दंशका ६६ घटना हुँदा ८ जनाको ज्यान गएको छ भने कुल ६४ जना घाइते हुँदा ७३ परिवार प्रभावित भएका छन् । जनावर आक्रमणका मात्रै १३४ घटना हुँदा १२ जनाको ज्यान गएको छ । कूल ६२ जना घाइते हुँदा २०६ परिवार प्रभावित भएका छन् । लेक लागेर १२ जना, हावाहुरीका कारण १२ जनाको ज्यान गएको छ । यस्तै, पहिरोका मात्रै २४१ घटना हुँदा १२ जनाको निधन भएको छ । हावाहुरीका कारण २७६ घटना हुँदा ८ जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ । मंगलबार मात्रै बाढीका ८, पहिरोका १६, आगलागीका ५, जनावर आक्रमणका ३ घटना भएका छन् ।
बसे पनि सहर, गाउँकै खाने रहर नीति, एचआइभी सङ्क्रमितलाई १ हजार रुपैयाँ भत्ता
काठमाडौं । तनहुँको म्याग्दे गाउँपालिकाले अर्गानिक उत्पादन र उपभोगमा जोड दिन ‘बसे पनि सहर: गाउँकै खाने रहर’ को नीति ल्याएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ मा लागू गर्ने नीति तथा कार्यक्रममा ‘बसे पनि सहर गाउँकै खाने रहर’ को नीति अन्तर्गत अर्गानिक उत्पादन र उपभोगलाई जोड दिँदै कोदोको सेल, कोदोको मःमः, कोदोको बिस्कुट उत्पादन तथा बिक्री गरिने उल्लेख छ । नियमानुसार कोदोको रक्सी उत्पादन गर्नेलाई अनुदान सहायता प्रदान गर्ने नीति लिइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । उनले स्थानीय कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने नीति लिइएको उल्लेख गरे । स्थानीय उद्यमीले उत्पादन गरेको झोल साबुन, टोपी, अचार, गुन्द्रुक, मह, आदि गाउँपालिकाले खरिद गरी बिक्रीको व्यवस्था मिलाउने तथा व्यावसायिक रुपमा दुधालु गाई तथा भैँसी खरिद गरी दूध र दूध जन्य उत्पादन गर्ने किसानलाई लागत साझेदारीमा गाई तथा भैँसी खरिद अनुदान उपलब्ध गराइने श्रेष्ठले बताए । अनुदानमा ४० लाख रुपैयाँ गाउँपालिकाले विभिन्न क्षेत्रमा अनुदान दिनका लागि ४० लाख रुपैयाँ बजेट छुट्याएको छ । उपाध्यक्ष बालकृष्ण घिमिरेका अनुसार एचआइभी सङ्क्रमितलाई मासिक १ हजार रुपैयाँ भत्ता उपलब्ध गराइनेछ । त्यस्तै गम्भीर मनोसामाजिक पीडितलाई मासिक १ हजार रुपैयाँ भत्ता उपलब्ध गराइने बताउँदै घिमिरेले अन्तर्जातीय दाइजो मुक्त जोडीलाई ५० हजार रुपैयाँ अनुदान दिइने बताए। त्यस्तै गाउँपालिकाको लोगोसहित सगरमाथा आरोहण गर्ने युवालाई ५ लाख रुपैयाँ प्रोत्साहन, अति गरिब तथा विपन्नलाई विद्युत महसुलमा ३ हजार रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।
नेवार समुदायको सांस्कृतिक पहिचान झल्कने बर्खे नाच सुरु
काठमाडौं । म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलबारदेखि नेवार समुदायको ३ सय वर्ष पुरानो सांस्कृतिक पहिचानको रुपमा रहेको बर्खे नाच मङ्गलबारदेखि सुरु भएको छ । पहिलो दिन लाखे नाच प्रदर्शन गरिएको छ । करिब ३ सय वर्षअघि भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै बेनीमा नेवार संस्कृतिको अभिन्न अङ्ग मानिएको वर्षे नाच भित्रिएको जानकारहरु बताउँछन् । यसरी बेनीमा भित्रिएको बर्खे नाच अन्तर्गत हरेक वर्षको नाग पञ्चमीका दिनदेखि बेनीमा विभिन्न नाचका साथै लाखे नाच देखाउने गरिन्छ । नेपाल भाषा मंकाखलको आयोजना तथा यूवा सङ्गठन ल्यामपुचको व्यवस्थापनमा सदरमुकाम बेनीबजारमा लाखे नाच सुरु गरिएको हो । घण्टा कर्ण चतुर्दशीका दिन परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको भनिएको घण्टा कर्ण नाम गरेको राक्षसको प्रतिमालाई म्याग्दी नदी र कालीगण्डकीको दोभानमा लगेर विसर्जन गरिएपछि बेनीमा बर्खे नाच भएको हो । पति वियोगमा विक्षिप्त बनेकी घण्टा कर्णकी श्रीमतीको चरित्र लाखे नाचमा प्रदर्शन गरिन्छ । ठूलठूला आँखा भएकी, दाह्रा निस्केकी, जगल्टा फिँजाएकी स्वरूपकी घण्टा कर्णकी श्रीमतीलाई लाखेको संज्ञा दिएर प्रदर्शन गरिने यो नाच बेनीमा प्रसिद्ध छ । हरितालिका तीजको दिनसम्म देखाइने विभिन्न नाचलाई बर्खे नाच भनिन्छ । साउन १३ गतेदेखि सुरु भएको बर्खे नाच अन्तर्गत भदौ १० गते हरितालिका तीजको दिनसम्म विभिन्न नाच देखाउने तयारी भएको नेपाल भाषा मंकाः खलः अन्तर्गतको ल्यामपुचःका पूर्व अध्यक्ष एवं उद्योग वाणिज्य सङ्घ म्याग्दीका अध्यक्ष सुविन श्रेष्ठले बताए । यही साउन ९ गते घण्टा कर्ण चतुर्दशीका दिन दानवको प्रतीक घण्टा कर्णको प्रतिमालाई कालीगण्डकी नदीमा विसर्जन गरेपछि बर्खे नाचका लागि तयारी सुरु गरिएको थियो । बेनीमा लाखे नाच, जोगी नाच, नागनागिनी नाच, श्रीकृष्ण रथ यात्रासहित विविध नाच देखाइने गरिन्छ । जनशक्तिको अभाव हुन थालेपछि रोपाइँ नाच, हनुमान नाचलगायत धेरै जनशक्ति भएका नाचहरु भने नियमित हुन सकेका छैनन् । बर्खे नाचको सुरुवात लाखेको पति अर्थात् घण्टा कर्ण नामक राक्षसको पुतला दहन गरेर हुन्छ भने तीजको दिन साँझमा दानवीय स्वरूपको लाखेलाई भगवान श्रीकृष्ण रुपी शक्तिले बध गरेपछि यो नाचको अन्त्य गरिन्छ । हिन्दू धर्म ग्रन्थमा वर्णित द्वापरयुगमा भगवान श्रीकृष्ण र उनका मामा कंशबीचको लडाइँको अभिनय गरी यो नाच नाच्ने गरिन्छ । नेपाल भाषा वंशावलीअनुसार लाखे नाचको चलन राजा गुण कामदेवले सुरु गरेको बताइए राजा प्रताप मल्लका पालादेखि मुकुट लगाएर लाखे नाच्ने गरिएको नेवार समुदायका अगुवाले बताएका छन् । बर्खे नाच अन्तर्गत लाखे नाच, घोडानाच, नागानागीनी नाच, श्रीकृष्ण र रथयात्रासहित विविध नाच देखाइने नेपाल भाषा मंका खलःका उपाध्यक्ष कुबिरकुमार श्रेष्ठले बताए । बर्खे नाच अन्तर्गत जनै पूर्णिमाको दिन र भोलिपल्ट वर्षभरिमा दिवङ्गत भएका व्यक्तिको घरबाट उनीहरुको सम्झनामा सापरु अर्थात नागानागीनी नाच निकाल्ने चलन छ । बेनी बजारमा बस्ती बसेदेखि नै नेवार समुदायको सक्रियतामा बर्खे नाच देखाउँदै आएको पाइन्छ । ऐतिहासिक महत्व बोकेको यो नाचमा पछिल्लो समय बेनीका युवाले सक्रियता पूर्वक सहभागिता जनाउने गरेका छन् । घण्टा कर्ण पर्वको अवसरमा बेनी स्थित संगम चोकमा घण्टा कर्णको आकृति बनाएर बजार परिक्रमा गरी म्याग्दी र कालीगण्डकी नदीको दोभानमा लगेर विसर्जन गर्ने परम्परा छ । तीजको दिनमा दानवीय स्वरूपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच सकिने प्रचलन रहेको नेपाल भाषा मंका खलःका उपाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
राष्ट्रिय सभाबाट चलचित्र विधेयक विधायन समितिमा पठाइने
काठमाडौं । सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ः१५ बजे बस्दैछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, विकास आर्थिक मामिला तथा सुशासन समितिमा सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने छन् । यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक आज बिहान १०ः३० बजे बस्दैछ । सो समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।
वार्षिक डेढ खर्ब रुपैयाँको भैँसीको मासु चीन निर्यात गर्ने, छेन्दु जियानलाई अनुमति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्पनी छेन्दु जियान फुड कम्पनीलाई नेपालमा भैँसीको मासु प्रशोधन उद्योग स्थापना गर्न स्वीकृति प्रदान गरिएको बताएका छन् । प्रधानमन्त्री ओलीले चीनको सिचुवान प्रान्त स्थित छेन्दु जियान फुड कम्पनीले मरिण गाउँपालिका-४ सिन्धुलीमा भैँसीको मासु प्रशोधन उद्योग स्थापना गर्न स्वीकृति प्रदान गरिएको बताए । उद्योग विभागबाट २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको उनको भनाइ छ । ‘गत मङ्सिरमा मेरो चीन भ्रमणमा भएको सम्झौताअनुसार छेन्दु जियान फुड कम्पनीले मारिण-४ मा भैँसीको मासु प्रशोधन उद्योग स्थापना गर्न उद्योग विभागबाट २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको छ । उद्योगले वार्षिक २ लाख मेट्रिक टन मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादन (छाला, भित्री अङ्ग, टाउको) उत्पादन गर्नेछ,’ प्रधानमन्त्री ओलीले भने । उनका अनुसार निर्यात र रोजगारी सिर्जनाका लागि यो महत्वर्ण हुनेछ । प्रधानमन्त्री ओलीले छेन्दु जियान फुड कम्पनीले ५ हजार १५६ जनालाई रोजगारी दिने र वार्षिक करिब डेढ खर्ब रुपैयाँको मासु चीन निर्यात गर्ने बताए ।
एनसेलको बिज सधैं अनमा मनसुन बिजनेस अफर सार्वजनिक
काठमाडौं । एनसेलले आफ्ना पोस्टपेड, साना तथा मझौला उद्यमी र कर्पोरेट ग्राहकहरूका लागि 'बिज सधैं अन' मा मनसुन बिजनेस अफर ल्याएको छ । यो अफरमा ग्राहकहरूले कम खर्चमा पूरै एक वर्ष निश्चिन्त भई सेवाहरू उपयोग गर्न सकिने लगायतका सुविधाहरु रहेकाे कम्पनीले जनाएकाे छ । ग्राहकहरूले बिज सधैं अन ३९९ प्लान वा बिज सधैं अन ६४९ प्लानको १० महिनाको लागि सदस्यता लिँदा १२ महिनाको सेवा पाउने यो अफरको विशेषता हो । यसको अर्थ थप दुई महिनाको सेवा निःशुल्क लिएर एक वर्ष दूरसञ्चार सेवाका लागि ढुक्क हुन सकिन्छ । यो अफर '१० महिना तिर्नुहोस्, १२ महिना सेवा पाउनुहोस्' भन्ने मोडलमा आधारित रहेको छ। बिज सधैं अन ३९९ प्लानमा ग्राहकहरूले हरेक महिना १० जीबी डेटा, ४०० मिनेट जुन सुकै लोकल नेटवर्कमा कल गर्न सकिने टक टाइम र ४०० एसएमएस प्रति महिना पाउँछन् । त्यस्तै, बिज सधैं अन ६४९ प्लानमा हरेक महिना ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० एसएमएस पाइन्छ । यो मनसुन अफरमा ग्राहकहरुले बन्डल/कम्बो अफरको पनि फाइदा लिन सक्छन् । यसमा कर्पोरेट ग्राहकहरुले आफ्ना तीन वटा मोबाइल नम्बरहरूमा सेवाका लागि वार्षिक सदस्यता लिँदा एउटा नम्बरले एक पटकका लागि ६ महिनाको लागि सेवा निःशुल्क पाउँछ । यसैगरी पाँच वटा नम्बरका लागि एक वर्षको सेवा लिँदा दुई वटा नम्बरले ६ महिनाका लागि सेवा निःशुल्क पाउँछ । यसका साथै एनसेलले क्लाउड र डाटा सेन्टर सेवाहरूमा सीमित अवधिका लागि मनसुन अफर दिएको छ जसमा ग्राहकहरूले विशेष छुट पाउनेछन् । बिज सधैं अन ३९९ प्लान र बिज सधैं अन ६४९ प्लानको मासिक सेवा लिएका ग्राहकहरुले पनि आफूलाई अपग्रेड गरी वार्षिक सेवा सदस्यता र कम्बो अफरको फाइदा लिन सक्ने कम्पनीले जनाएकाे छ । ग्राहकहरुले बिज सधैं अन प्लानहरूमा मासिक रुपमा डेटा, भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एपमा पनि पहुँच पाउँछन् ।
नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्टले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डले प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले ३० करोड मूल्य बराबरको सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले उक्त सेयर निष्काशनका लागि लक्ष्मी सनराइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सम्झौतामा लक्ष्मी सनराइज तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डका तर्फबाट अध्यक्ष डा. मनिष थापाले हस्ताक्षर गरे । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड लिमिटेड नेपालको अग्रणी स्थायी पूँजी साधन लगानी संस्था हो, जसलाई ग्लोबल इक्विटी फण्डले व्यवस्थापन गर्दै आएको छ । ग्लोबल इक्विटी फण्ड नेपालको पहिलो नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्ड प्रबन्धक हो । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्टले भौतिक पूर्वाधारको विकासको लागि स्वच्छ ऊर्जा, यातायात, विद्युतीय सवारी साधन, सौर्य, जलविद्युत, सूचना प्रविधि, कृषि र आतिथ्य जस्ता प्रमुख क्षेत्रहरूमा सञ्चालन हुने कम्पनीहरूमा पूँजी परिचालन गरिसकेको छ ।
चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य
काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले चालु आर्थिक वर्षमा १२१ वटा नयाँ कानुन बनाउने लक्ष्य रहेको बताएका छन् । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा उनले आवश्यक विधेयक पहिचान गरी आफ्नो मन्त्रालयले सङ्घीय संसदमा विधेयकको सूची पेस गरेको जानकारी दिए । ‘सरकारको नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना क्षेत्रगत नीति तथा अन्तरराष्ट्रिय सन्धिसम्झौताद्वारा सिर्जित दायित्वका आधारमा नयाँ कानुन बनाउने प्रयत्न भएको हो,’ मन्त्री चौरसियाले भने, ‘न्यायपालिकालाई साधनस्रोत सम्पन्न बनाई अदालतको कार्यबोझ घटाउने प्रदेश र स्थानीय तहसँगको समन्वयमा निःशुल्क कानुनी सहायतासम्बन्धी व्यवस्थालाई प्रभावकारी बनाउन सरकार लागेको छ ।’ कानुन मन्त्रालयले विधायन ऐन कार्यान्वयनमा आएको, हालसम्म विभिन्न मन्त्रालय र निकायहरूबाट ६ वटा नियमावली, पाँचवटा विनियमावली, तीनवटा निर्देशिका र सातवटा कार्यविधि मन्त्रालयमा दर्ता भएका जनाएको छ । मन्त्रालयले ७४ वटा जिल्लामा कानुनी सहायता अधिकारीको नियुक्ति गरी निःशुल्क कानुनी सहायता सुविधा पुर्‍याइएको जनाएको छ । निःशुल्क कानुनी सहायता परियोजनाअन्तर्गत हालसम्म एक हजार १७९ कानुनी परामर्श र ७९९ वटा मुद्दा दर्ता भएका छन् । कानुनी सहायतालाई प्रभावकारी बनाउन निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक तयार गरिएको र त्यसलाई चालु आवभित्रै पेस गरिने उक्त मन्त्रालयले जनाएको छ ।