विकासन्युज

कुमारी सुनौलो लगानी योजनाको ८.८८ प्रतिशत लाभांश घोषणा

काठमाडौं । कुमारी क्यापिटलले कुमारी सुनौलो लगानी योजनाको लाभांश घोषणा गरेको छ । क्यापिटलको साउन १३ गते बसेको बैठकले कुमारी सुनौलो लगानी योजना म्युचुअल फण्डका इकाईधनीहरूलाई गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट करसहित ८.८८ प्रतिशत प्रतिफल वितरण गर्ने भएको हो । कुमारी बैंक कोष प्रवर्द्धक र कुमारी क्यापिटल योजना व्यवस्थापक रहेको कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित कुमारी सुनौलो लगानी योजनाको गत वर्षको लेखापरीक्षण सम्पन्न भएपछि प्रतिफल वितरण गरेको हो । साथै प्रतिफल वितरण प्रयोजनार्थ साउन १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले साउन १२ गतेसम्म कायम इकाईधनीहरू मात्रै उक्त प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् । कुमारी सुनौलो लगानी योजनाका इकाईधनीहरूले लाभांश प्राप्त पश्चात् समायोजित मूल्यमा पुनः लगानी योजनामार्फत उक्त रकमले थप इकाईहरु खरिद गर्न सकिने कम्पनीले जनाएको छ । जसका लागि साउन २७ गतेभित्र नाम दर्ता गराउनुपर्नेछ ।

बैंकिङ अनुशासन भङ्ग भयो, राजनीतिक दलहरू संवेदनशील हुनुपर्छः अध्यक्ष यादव

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष राम बहादुर यादवले बैंकिङ क्षेत्रमा बैंकिङ अनुशासन भङ्ग भएको बताएका छन् । नेपाली कांग्रेस वित्तीय संस्था समन्वय विभागले काठमाडौंमा आयोजना गरेको देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । बैंकिङ क्षेत्र संवेदनशील भएकाले राजनीतिक दलहरूले संवेदनशील भएर धारणा राख्नुपर्ने उनको भनाइ छ । बैंकिङ क्षेत्र विरुद्ध भइरहेका अराजक गतिविधि रोक्न सबै राजनीतिक दलहरूले गम्भीर भएर लाग्नु पर्ने उनले बताए ।  तीनै तहका सरकारले दिने व्यावसायिक तालिम, वित्तीय साक्षरताको कार्यक्रम, जनचेतना मूलक कार्यक्रममा लघुवित्त संस्थाहरूसँग समन्वय गर्न सकियो भने आर्थिक र सामाजिक रुपान्तरणमा गर्न सकिने उनको धारणा छ । साथै, सहरी र ग्रामीण अर्थतन्त्रलाई सन्तुलन कायम गर्न उद्यमशीलता र रोजगारी श्रृजनामा जोड दिनुपर्ने उनले बताए । ‘सहरी अर्थतन्त्रलाई मात्रै बढी जोड दिइन्छ । तर, ग्रामीण अर्थतन्त्रलाई सन्तुलन गर्न नसक्दा समस्या सधैं आइरहन्छ । किनभने सहरी र ग्रामीण अर्थतन्त्र समान रुपमा अघि बढ्नुपर्ने हुन्छ । ग्रामीण क्षेत्रमा उत्पादन गरेर शहरले खपत गर्ने र शहरको पैसा ग्रामीण क्षेत्रमा जानुपर्छ,’ उनले भने, ‘ग्रामीण क्षेत्रमा पूर्वाधार विकास असाध्यै भएका छन् । तर, त्यो विकासलाई उपभोग गर्ने मान्छे छैनन् । विकाससँग उत्पादनलाई जोड्न सकिरहेको छैन । जबसम्म उद्यमशीलताको विकास गर्न सकिँदैन, रोजगारी श्रृजना गर्न सकिँदैन, तबसम्म ग्रामीण क्षेत्रको मान्छेहरू सहरमा आउने र शहरको मान्छे विदेशमा जाने प्रवृत्ति रोक्न सकिँदैन ।’  ग्रामीण क्षेत्रमै रोजगारी, उद्यमशीलता श्रृजना गर्न लघुवित्त संस्थाहरूले अहम् भूमिका खेलिरहेको उनले बताए । उनका अनुसार लघुवित्त संस्थाहरू ६० लाख घरपरिवारमा पुगिसकेका छन् भने २७ लाख व्यक्तिलाई ऋण प्रवाह गरेका छन् । ‘३० प्रतिशत बैंकको ऋण ४ प्रतिशत व्यक्तिमा गएको भन्ने सुनिन्छ । तर, लघुवित्त संस्थाहरूले त्यसरी कर्जा प्रवाह गरेका छैनन् । ६० खर्ब रुपैयाँ ऋणमध्ये ८ प्रतिशत अर्थात्  ५ खर्ब रुपैयाँ ऋण लघुवित्तको छ । त्यो ५ खर्ब रुपैयाँ ऋण ६० प्रतिशत मान्छेहरूले लगेका छन् । जति मान्छेहरूमा ऋणको पहुँच विस्तार गर्न सकियो त्यति नै उद्यमशीलताको विकास गर्न सकिन्छ,’ उनले भने । 

बाफिया जस्ताको त्यस्तै पारित भए आर्थिक गतिविधि प्रभावित हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधनले नेपालको आर्थिक गतिविधि नै प्रभावित हुने बताएका छन् । नेपाली कांग्रेस वित्तीय संस्था समन्वय विभागले मंगलवार काठमाडौंमा आयोजना गरेको देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।  ऐनमा संशोधनको प्रस्ताव अनुसार जस्ताको त्यस्तै पारित भएमा आर्थिक गतिविधिमा गम्भीर असर पर्ने उनको भनाइ छ । बाफियासँग सम्बन्धी ऐन संशोधन गर्न प्रस्तावित विधेयकमा बैंकर र उद्योगी छुट्याउने प्रस्ताव गरिएको अवस्थामा यो विषयलाई गम्भीर रुपमा लिनु पर्ने उनको धारणा छ ।  ‘व्यवसायी र बैंकर छुट्याउने विषयले अर्थतन्त्रमा समस्या पार्न सक्छ । एकातिर प्रमोटरलाई उत्तरदायी बनाउने भन्दै ५१ प्रतिशत सेयर संस्थापकलाई दिने भनिएको छ । यस बाहेक, सम्बद्ध पक्ष भनेर परिभाषित गरिएको छ । यो व्यवस्थाअनुसार १ प्रतिशतभन्दा बढी सेयर भएका लगानीकर्ताले कर्जा लिन नपाउने हो भने सबै जसो उद्योगधन्दा व्यवसाय बन्द हुने जोखिम छन्,’ अध्यक्ष ढकालले भने ।  आर्थिक विकासको लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्नुको विकल्प नभएको बताउनु भएको छ । महासंघका सुझाव अनुसार उच्चस्तरीय आर्थिक आयोग गठन, आयोगको सुझाव अनुसार विभिन्न ३० वटा कानुनहरूको संशोधन र बजेटमा निजी क्षेत्रलाई प्राथमिकता दिने जस्ता विषयले निजी क्षेत्र उत्साहित भएको अध्यक्ष ढकालले बताए ।  ‘देशको आर्थिक समृद्धिका लागि नीतिगत सुधार, लगानी मैत्री वातावरण आवश्यक छ भनेर हामीले भन्दै आएका थियौं । वर्तमान सत्ता गठबन्धनको प्रमुख घटक नेपाली काँग्रेस सम्मिलित सरकारले गरेका नीतिगत सुधारहरुको प्रयासहरू स्वागत योग्य छन । आव २०८२/८३ को बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको संवाहक मानि आर्थिक सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता जनाएको छ । यसबाट महासंघ आशावादी र उत्साहित भएको  छ,’ उनले भने । नेपालमा पर्याप्त सम्भावना भएकोले यी सम्भावनाबाट आर्थिक समृद्धिको खाका कोर्न सकिने बताउँदै अध्यक्ष ढकालले नकारात्मक सोचबाट सकारात्मकताको दिशामा जानु पर्ने तर्क गरे ।  ‘अहिले सरकारले धेरै नीतिगत सुधार गरेको छ स हामीसँग इतिहासमै सबैभन्दा बढि विप्रेषण आएको छ । विदेशी मुद्राको सञ्चिति राम्रो छ । बैंकको ब्याजदर घटेको छ स यो अवस्थामा लगानीको वातावरण छ । यो सबै कुरालाई सकारात्मक रुपमा लिनु पर्दछ,’ उनले भने ।  उनले देश विकासको लागि आन्तरिक तथा बाह्य पूँजी परिचालन आवश्यक रहेकोमा जोड दिँदै विकासको लागि आन्तरिक पूँजी परिचालन गर्ने सोच सहित महासंघको नेतृत्वमा १० अर्ब रुपैयाँको नेपाल पब्लिक लिमिटेड कम्पनी स्थापना गरि विभिन्न क्षेत्रमा लगानी गरिएको समेत जानकारी दिए ।

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजलाई ३२ करोड ६२ लाख रुपैयाँको आईपीओ बिक्री गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले श्रीनगर एग्रीटेक इन्डष्ट्रिजलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्न अनुमति दिएको छ । धितोपत्र बोर्डले मंगलबार कम्पनीलाई ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।  अब कम्पनीले ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका ३२ लाख ६२ हजार ५ सय कित्ता सेयर जारी गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । 

झापा इनर्जीको आईपीओ बिक्री बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । झापा इनर्जीले आज साउन १४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ८० लाख १९ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३ लाख ८० हजार १९० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गरेको हो । जसमध्ये १ लाख ९० हजार ९५ कित्ता सेयर प्रत्यक्ष प्रभावित क्षेत्र झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा सौर्य विद्युत आयोजना निर्माण र सञ्चालन भइरहेको स्थल र आयोजना क्षेत्रबाट १०० मिटर वरपरका बासिन्दालाई र १ लाख ९० हजार ९५ कित्ता सेयर झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ का बासिन्दालाई छुट्याइएको छ ।  साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ५७ लाख २ हजार ९०० रुपैयाँको ५७ हजार २९ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूलाई छुट्याइएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीयले छिटोमा साउन २८ गते र ढिलोमा भदौ १२ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले हिमालय बैंकको दुधे, दमक तथा सुरुङ्गाका शाखा कार्यालय तथा आयोजना स्थलबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । ​​​​​इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

करोडौंको सरकारी भवन प्रयोग विहीन, भाडाको घरमा गाउँपालिका

काठमाडौं । सिरहा जिल्लाको विष्णुपुर गाउँपालिका-१ गौरीपुर स्थित लक्ष्मीनियाँधार किनारमा निर्माण गरिएको करोडौं लगानीको ‘विष्णु भवन’ वर्षोंदेखि प्रयोग विहीन अवस्थामा छ । वृद्धाश्रम सञ्चालनको उद्देश्यले करिब ३ करोड रुपैयाँमा बनेको उक्त भवन अहिले जर्जर बन्दै गएको छ । भवन निर्माणका लागि सुरुमा २ करोड ५० लाख रुपैयाँको बजेट ल्याइएको थियो भने ठेक्का सम्झौता २ करोड रुपैयाँमा गरिएको थियो पछि भान्साघर निर्माणका लागि थप १ करोड रुपैयाँ खर्च भएको पूर्ववडाध्यक्ष गोविन्द्र यादवले जानकारी दिए । ‘मैले जुन उद्देश्यले भवन बनाएको थिएँ, त्यो हुन नसके पनि अहिले कम्तीमा पालिकाको कार्यालय चलाउँदा भवनको सुरक्षा र सरकारी रकमको बचत हुन्थ्यो,’ उनले भने ।  २४ वटा कोठा, छुट्टै भान्साघर र आवश्यक पूर्वाधार रहेको सो भवनको झ्याल, ढोका, शौचालयमा क्षति हुन थालेको छ ।  स्थानीय नागेश्वर यादवले भने, ‘सरकारी रकमले बनेको भवन यतिकै अलपत्र छ । तर पालिकाले लाखौँ तिरेर भाडामा बसिरहेको छ ।’ गाउँपालिकाका लेखा सहायक गङ्गाप्रसाद यादवका अनुसार पालिकाले हाल चारवटा छुट्टा छुट्टै भवन भाडामा लिएको छ, जसमा वार्षिक १२ लाख रुपैयाँभन्दा बढी खर्च भइरहेको छ । पालिका अध्यक्ष सत्यनारायण यादवले भवनमा प्राविधिक शिक्षालय सञ्चालन गर्ने पहल गरिरहेकाले सिटिइभिटीसँग समन्वय भइरहेको जानकारी दिए । तर, अन्य जनप्रतिनिधिले अध्यक्षको भनाइ भ्रम छर्ने प्रयास मात्र भएको आरोप लगाएका छन् ।

दसैंअघि नै रसुवागढी नाका सञ्चालन आउने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले रसुवागढी नाका दसैंअघि नै सञ्चालन गर्ने गरी ल्हेन्दे खोलामा बेलीब्रिज जडान सुरु भएको बताएका छन् ।  त्रिदेशीय अन्तर्राष्ट्रिय राजमार्गका रूपमा विस्तार भइरहेको ‘गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रु बेसी-रसुवागढी सडक योजना’को अवलोकनपछि मङ्गलबार नुवाकोटमा पत्रकारहरूसँग कुरा गर्दै उक्त जानकारी दिए । गत असार २४ मा ल्हेन्दे खोलामा उर्लिएको बाढीले नेपाल-चीन मैत्रीको प्रतीक मितेरी पुल बगाएको थियो । ‘गल्छी-रसुवागढी त्रिदेशीय राजमार्ग सञ्चालन गराई चाडपर्वका बेला नाका सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई परिचालन गरिएको छ,’ मन्त्री दाहालले भने, ‘रसुवातर्फ स्याफ्रु बेसी-रसुवागढी सडक खण्ड चीन सरकारको सहयोगमा सञ्चालन गर्ने सहमति भएको छ ।’  मन्त्री दाहालले निर्माणाधीन सडकको निर्माण कार्य तीब्र पार्न निर्देशन दिए । नदीबाट हुने क्षति समेत नियन्त्रण तर्फ पनि ध्यान दिन उनको भनाइ छ ।  रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले चिनिया पक्षसँग समन्वय गरि चीन तर्फ रोकिएका नेपालीहरू ल्याउने र समस्या समाधान गर्ने काम भइरहेको जानकारी दिए । 

गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने, तराई भेगमा आंशिक बदली

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको जनाएको छ ।  महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका धेरै स्थान तथा बाँकी प्रदेशका साथै तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भू-भागमा साधारणतया बदली रही तराई भेगमा आंशिक बदली हुनेछ । पहाडी भूभागका केही स्थान तथा तराईका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । सम्भावित वर्षाका कारण भूक्षय, बाढी तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबान हुनसक्ने, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्ने भएकाले सचेत रहन महाशाखाले सम्बद्ध सबैलाई अनुरोध गरेको छ । साथै, अधिक वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।