चरासँग ठोक्किएर क्षति पुगेपछि आइबेरियाको उडान म्याड्रिड फर्कियो
काठमाडौं । चरासँग ठोक्किएर क्षति पुगेपछि आइबेरियाको उडान म्याड्रिड फर्किएको छ । म्याड्रिडको एडोल्फो–सुआरेज–बाराजास विमानस्थलबाट पेरिस ओर्ली विमानस्थलका लागि उडेको आइबेरियाको उडान उडेको केही समयपछि नै चराले ठक्कर दिएको थियो । त्यसपछि विमानस्थल फर्किएको हो । ठोक्किएपछि विमान सुरक्षित अवतरण गर्न सफल भयो । विमानको अगाडिको भागमा क्षति पुगेको छ भने विमानको एउटा इन्जिनमा पनि क्षति पुगेको छ ।
कक्षा १२ को नतिजामा सुधार, मौका परीक्षा भदौ २८ र २९ मा
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको कक्षा १२ को नतिजा गत वर्षभन्दा सुधार भएको छ । सोमबार साँझ बसेको बोर्ड बैठकले सार्वजनिक गरेको नतिजामा गत वर्षभन्दा करिब नौ प्रतिशतले नतिजामा सुधार भएको पाइएको हो । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले गत वर्षभन्दा नौ प्रतिशतले वृद्धि गर्दै यस वर्ष ६१ दशमलव १७ प्रतिशत विद्यार्थीले ‘ग्रेड’ (उत्तीर्ण) प्राप्त गरेको जानकारी दिए । गत वर्षको नतिजामा ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । सार्वजनिक नतिजाअनुसार नियमिततर्फ तीन लाख ९६ हजार ३४७ विद्यार्थी परीक्षामा सहभागी भएकामा दुई लाख ४२ हजार ४६५ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । यस्तै, आंशिकतर्फ एक लाख १४ हजार ६४० विद्यार्थी परीक्षामा सहभागी भएकामा ४१ हजार ८४० विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ ११ र आंशिकतर्फ छ गरी १७ विद्यार्थीको परीक्षा रद्द गरिएको जानकारी दिँदै अध्यक्ष डा शर्माले सबै विषयमा ग्रेड प्राप्त विद्यार्थीको सङ्ख्या दुई लाख ८४ हजार ३०५ विद्यार्थी रहेको बताए । नियमिततर्फ ६१ दशमलव १७ र आंशिकतर्फ ३६ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नतिजाअनुसार परीक्षामा सहभागी भएकाहरूमध्ये १३ हजार ५०२ जनाले तीन दशमलव ६१ देखि चार जिपिए, ५५ हजार ८९६ विद्यार्थीले तीन दशमलव २१ देखि तीन दशमलव ६० जिपिए र ९४ हजार २६८ विद्यार्थीले दुई दशमलव ८१ देखि तीन दशमलव २० जिपिए प्राप्त गरेको बोर्डका अध्यक्ष डा शर्माले जानकारी दिए । यसैगरी ६९ हजार ८१२ विद्यार्थीले दुई दशमलव ४१ देखि दुई दशमलव ८० र आठ हजार ९६४ विद्यार्थीले दुई दशमलव ०१ देखि दुई दशमलव ४० जिपिए ल्याएका छन् । २३ जनाले भने एक दशमलव ६१ देखि दुई जिपिए ल्याएको उनले बताए । यसको वर्ष वैशाख ११ गतेदेखि निर्धारण गरिएको परीक्षा नेपाल शिक्षक महासङ्घले गरेको शैक्षिक हडतालका कारण १० दिनपछि २१ गतेदेखि सुरु भएको थियो । जेठ २ गतेसम्म सञ्चालन भएको परीक्षामा पाँच लाख १० हजार ९८७ परीक्षार्थी सहभागी भएका थिए । शिक्षकको २९ दिने सडक आन्दोलनका कारण १० दिन ढिलो गरी परीक्षा भए पनि नतिजा भने पोहोरभन्दा एक दिन मात्रै ढिलो गरी सार्वजनिक गरिएको छ । यसैगरी, ‘ननग्रेड’ पाएका विद्यार्थीका लागि भदौ २८ र २९ गते पूरक अर्थात् मौका परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ । दुई विषयमा ‘ननग्रेड’ पाएका वा बढीमा दुई विषयको परीक्षामा अनुपस्थित रहेका परीक्षार्थीले मौका परीक्षा दिन पाउने गरी व्यवस्था गरिएको अध्यक्ष डा. शर्माले जानकारी दिए ।
‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’
म्याग्दी । धवलागिरि गाउँपालिका–२ मुनाको धवलागिरि माविका शिक्षक र विद्यार्थीले तरकारीखेती गरेका छन् । मुनामा वार्षिक रु पाँच हजार भाडा तिर्नेगरी दुई रोपनी जग्गा भाडामा लिएर तरकारीखेती गरेका हुन् । एक रोपनीमा बन्दा, काउली, रायोसाग, मुला, गाजर र दुईवटा पलास्टिक टनेलमा गोलभेँडाका बिरुवा रोपिएको प्रधानाध्यापक रुपेश सुवेदीले जानकारी दिए । 'गत हप्ता कक्षा ८, ९ र १० का विद्यार्थीका साथै शिक्षकले खाली समयमा श्रमदान गरेर जग्गा तयार गरेर तरकारीका बिरुवा लगाएका छौँ', उनले भने, 'बाँकी एक रोपनी जमिनमा प्याजका बिरुवा उत्पादन गरेर बिक्री गर्ने योजना छ ।' विद्यार्थीलाई तरकारीखेतीसम्बन्धी व्यावहारिक र व्यावसायिक ज्ञान, सीप सिकाउने, छात्रावासमा आवश्यक पर्ने तरकारी आफैँ उत्पादन गर्ने र तरकारी बिक्री गरेर विद्यालयको कोष वृद्धि गर्ने उद्देश्यले तरकारीखेती थालिएको प्रअ सुवेदीले बताए । तरकारीखेतीका लागि धवलागिरि गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’ भन्ने कार्यक्रममार्फत सहयोग गरेको थियो । गाउँपालिकाले उपलब्ध गराएको रु एक लाख ५० हजारबाट मल, बीउ, टनेल खरिद, जग्गा भाडा तिरेको छ । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले विद्यार्थीलाई पढ्दै कमाउँदै गर्ने सीप सिकाउने उद्देश्यले हेम नमूना आवासीय मावि र धवलागिरि माध्यमिक विद्यालयमा ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’ कार्यक्रम सञ्चालन गरेको बताए । हेम नमूना आवासीय माविको झिनडाँडास्थित छात्रावासमा बस्ने ५० विद्यार्थीले छ रोपनी पाखोको झाडी फाडेर तरकारीखेती गरेर हराभरा बनाएका छन् । गत वर्ष रु तीन लाख बजेट विनियोजन भएको कार्यक्रम प्रभावकारी बनेकाले आगामी वर्षलाई पनि निरन्तरता दिएको उनले बताए । रासस
सार्वजनिक खरिद ऐन विकासको वाधक बन्यो : मेयर महर्जन
इलाम । ललितपुर महानगरका प्रमुख चिरी बाबु महर्जनले नेपालको विकासको बाधक सार्वजनिक खरिद ऐन २०६३ भएको बताएका छन् । इलामको सूर्योदय नगरपालिकाको आर्थिक वर्ष २०८२ /२०८३ को बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रममा विशेष अतिथिका रुपमा इलाम पुगेका नगर प्रमुख महर्जनले भने,‘ सार्वजनिक खरिद ऐन २०६३मा आमूल परिवर्तन नभएसम्म मुलुक बन्दैन, यसको संशोधन जतिसक्दो छिटो हुनुपर्छ ।’ नेपालको विकासमा महत्व राख्ने विकासका ठूला योजना वर्षौसम्म सम्पन्न भएकोमा दुख व्यक्त गरे । योजनामा गरिएको लगानी बढ्दै जाने र समय पनि थपिदैं जाने तर कामको प्रगति दर अत्यन्तै न्यून हुन राष्ट्रिय रोग भएको बताए । सार्वजनिक खरिद ऐन २०६३ संशोधनको विषय आफूले पटक पटक उठाएको बताउँदै यो विषयलाई थप छलफलमा ल्याउन इलामका संघीय सांसद महेश बस्नेतलाई अनुरोध गरे । कार्यक्रमका प्रमुख अतिथि सांसद बस्नेतले सार्वजनिक खरिद ऐन संशोधनको बारेमा आफूपनि यसअघि कुरा राखेको स्मरण गर्दै फेरि पनि यो ऐन संशोधनको बारेमा कुरा उठाउने बताए । उनले भने, ‘महानगर मेयरसाबले कुरा उठाउनु भयो, सम्झाउनु भयो, म यस विषयमा म कुरा उठाउँछु ।’ सार्वजनिक खरिद ऐन अनुसार मठमन्दिर निर्माण गर्दा मन्दिर राम्रो नबन्ने भएकाले यसको विकल्प खोज्नुपर्ने औल्याए । महानगरले निर्माण र पुनर्निर्माण गरेको मन्दिर उपभोक्त समिति मार्फत निर्माण भएका छन् । नगर प्रमुखको नेतृत्वमा इलाम पुगेको महानगरको प्रतिनिधिमण्डलमा प्रवक्ता राजु महर्जन र नगरसभा सदस्यहरु इन्द्रा श्रीश र अनुप घिमिरे रहेका छन् । ललितपुर महानगरले सम्पदा संरक्षण, हरियाली संरक्षण,गुणस्तरीय पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताए । महानगरले हरियाली संरक्षणको लागि वोटविरुवा मात्रै नरोपेको बताउँदै त्यसको संरक्षण गर्छौ, पानी हाल्छौ, हिउँदमा धुलाम्मे हुने भएकाले विरुवा नुहाइदिन्छौँ ।‘महानगर प्रमुख महर्जनले सडक पूर्वाधार निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए । उनले भने , ‘कुटो कोदालो नगर्ने हो भने, दश वर्ष यता हामीले बनाएको सडक बिर्गदैंन । ’ महानगरले अधिकार क्षेत्रभित्र रहेका भित्री सडकको गुणस्तर मापन गर्न जनप्रतिनिधिको रोहबरमा कोर कटिङ गर्ने र त्यसलाई महानगरले तोकेको ल्याबमा परीक्षण गरेपछि मात्रै भुक्तानी पाउने व्यवस्था गरेको छ । महानगर प्रमुख महर्जनले शिक्षा, स्वास्थ्यलाई पनि महानगरले त्यति नै प्राथमिकतामा राखेको धारणा राखे । विपद् व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेर काम गरेको बताउँदै भने, ‘ एलएमसी एप्स बनाएका छौंं, त्यसमा नगरभित्र भएका समस्या, अप्ठ्यारोबारे जानकारी आउँछ, जानकारी पाएलगत्तै नगर प्रहरी त्यहाँ पुगेर समस्या समाधान गर्छ ।’ सुर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्राथमिकता राखेर काम गरेको बताए । बजेटको उच्चतम तवरले सदुपयोग गर्ने बताउँदै नागरिकका आवश्यकतालाई प्राथमिकीकरण गरेर काम गरेको प्रष्ट पारे । कार्यक्रममा प्रदेश सांसद, राजनीतिक दलका प्रतिनिधिले मन्तव्य राखेका थिए । यसैगरी कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
पहिराका कारण कालीगण्डकी करिडोरसहित विभिन्न सडकमा आवतजावत रोकियो
गुल्मी । कालीगण्डकी करिडोरको तीन खण्डसहित गुल्मीका चार स्थानमा पहिराका कारण सडक अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालयुका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिकाका वडा नं १, २ र ३ स्थित गरगरे, राक्से र कनौटामा आज बिहानदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । रिडी–वामीटक्सार सडकअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोला, चन्द्रकोट गाउँपालिका–८ तल्लाफाँट र रिडी–खज्र्याङ सडक पनि अवरुद्ध भएको छ । विगत तीन दिनदेखि गुल्मीसहित आसपास क्षेत्रमा निरन्तर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । निरन्तर वर्षाका कारण कालीगण्डकी नदी किनारमा पानीको सतह बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।
१२५ प्रतिशत लाभांश बाँड्ने प्रभुको घोषणा
काठमाडौं । प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको साउन १९ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट प्रतिकित्ता १२५ प्रतिशतका दरले कर बाहेक बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न कम्पनीले भदौ २१ गते दिउँसो ३ बजे काठमाडौंमा वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । साथै, सञ्चालक समितिलाई तलब, भत्ता एवं अन्य सुविधा प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
सागर डिष्टिलरीले साउन २८ गतेदेखि आईपीओ बिक्री गर्ने, कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । सागर डिष्टिलरीले साउन २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात् १४ करोड ५२ लाख रुपैयाँको आईपीओ जारी गर्ने भएको हो । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १४ लाख ५२ हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् १ करोड ४५ लाख २० हजार रुपैयाँको १ लाख ४५ हजार २ सय कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्ने भएको हो । कम्पनीको आईपीओमा भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिभित्र पूर्ण आवेदन नपरेमा भदौ ११ गतेसम्म लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिङ्गल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
स्थानीय बासिन्दाले बन्दीपुर केवलकारको सेयर खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । बन्दीपुर केवलकार एंव टुरिजमको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आवेदन दिने आज साउन २० गते अन्तिम दिन रहेको छ । साउन ६ गतेदेखि कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५८ लाख ६० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात् ५ करोड ६६ लाख रुपैयाँको ५ लाख ६६ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र तनहुँको बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा नं. १ र गोरखाको पालुङ्गटार नगरपालिका वढा नं. ७ का स्थानीय बासिन्दालाई छुट्याएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ । कम्पनीको आईपीओमा बिक्री प्रबन्धकसँगै केवलकारको तल्लो स्टेसन, बन्दीपुर गाँउपालिका वडा नं. ४, आँबुखैरेनी गाँउपालिकाको कार्यालय, भानु नगरपालिका वडा नं. १ को कार्यालय र पालुङ्गटार नगरपालिका वडा नं. ७ को कार्यालयबाट आवेदन दिन सक्नेछन् ।