प्रतिनिधिसभाको बैठक १ बजे बस्दै, अर्थमन्त्री पौडेलले भन्सार विधेयक पेस गर्ने
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपरान्ह १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । आजै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा ‘लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौतीलगायतका विषयमा’ समसामयिक छलफल गर्ने कार्यसूची छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा दफावार छलफल हुनेछ । विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ । त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदन’का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
मोरङ उद्योग व्यापार संघमा इन्डस्ट्रियल अटोमेसन पावर कन्ट्रोल विषयकमा सात दिने तालिम सम्पन्न
काठमाडौं । इन्डस्ट्रियल अटोमेसन पावर कन्ट्रोल विषयक ७ दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ । साउन १४ गते देखि २० गतेसम्म मोरङ उद्योग व्यापार संघमा सञ्चालित उक्त तालिममा विभिन्न उद्योगका विद्युत प्राविधिक तथा इलेक्ट्रिसियनहरूलाई आधुनिक औद्योगिक विद्युत प्रणाली, अटोमेसन कन्ट्रोल, प्रोगामेबल लोजिक कन्ट्रोलर,मोटर ड्राइभ, विद्युत सुरक्षाका उपायहरु र ऊर्जा दक्षतासम्बन्धी विषयमा सैद्धान्तिक र व्यवहारिक सीपहरू प्रशिक्षण गराइएको हो । तालिमको समापन कार्यक्रमलाई सभापतित्व गर्दै मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले संघले आफ्नो मूलभूत उद्देश्य बमोजिम उद्योगरव्यवसाय क्षेत्रको विकास तथा आधुनिकिकरणका निम्ति आवश्यक पर्ने विविध विषयका तालिम तथा अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए । सोही क्रममा संघका महासचिव सञ्जयकुमार श्रेष्ठले तालिमबाट प्राप्त सीपहरू उद्योगहरूका लागि लाभदायक रहेको र प्रशिक्षार्थीहरूले आफू कार्यरत उद्योगमा कार्यान्वयनमा ल्याई विद्युतसम्बन्धी थप सुरक्षित र आधुनिक सेवाहरु प्रदान गर्न सक्ने बताए । संघका कार्यकारिणी सदस्य तथा संघको ऊर्जा समितिका संयोजक सुशील सुरानाले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई बधाई तथा शुभकामना दिए । तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये एशियन विस्कुट एण्ड कन्फेक्सनरी उद्योगका प्राविधिक बलरामकुमार साहले आफुले तालिमबाट प्राप्त गरेको सीपहरू उद्योगको विद्युत व्यवस्थापनका लागि अत्यन्त उपयोगी र प्रभावकारी रहेको बताए । मोरङ(सुनसरी औद्योगिक करिडोरका विभिन्न उद्योगका विद्युत प्राविधिक तथा इलेक्ट्रिसियनहरूको सहभागिता रहेको उक्त तालिममा संघले प्रशिक्षक र प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र समेत वितरण गरेको थियो ।
नेपाल प्रहरीलाई एनएमबि बैंकको उद्दार सामग्री
काठमाडौं । मनसुनको मौसममा हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै एनएमबि बैंकले आफ्नो सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गत नेपाल प्रहरीलाई सहयोग गरेको छ । बैंकले मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी एउटा १६ फिटको सेल्फ(बेलिङ राफ्ट, लाइफ ज्याकेटहरू र अन्य विपद् उद्दार सामग्रीहरू हस्तान्तरण गरेको हो । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले नेपाल प्रहरीका प्रतिनिधि प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङलाई औपचारिक रूपमा ती उद्दार सामग्रीहरू हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा हस्तान्तरण गरिएका सामग्रीहरूमा रबर बोटसहित लाइफ ज्याकेटहरू र अन्य आपतकालीन उपयोगी उपकरणहरू समावेश छन् । मनसुनको समयमा बाढी, डुबान तथा अन्य जलजन्य विपद् तथा आकस्मिक घटनाहरूको सम्भावना उच्च हुने भएकाले यस किसिमको सहयोगले प्रहरीको कार्यक्षमतामा सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ । एनएमबि बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा विपद् व्यवस्थापन जस्ता विभिन्न क्षेत्रहरूमा निरन्तर योगदान पुर्याउँदै आइरहेको छ । यस प्रकारको सहयोगले समुदायमा बैंकको प्रतिबद्धता झल्काउने विश्वास बैंकको रहेको छ । एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरू, १८७ एटीएमहरू र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
एलएस क्यापिटलले घोषणा गर्यो ३ वटा म्युचुअल फण्डको लाभांश, कुनको कति ?
काठमाडौं । लक्ष्मी सनराइज (एलएस) क्यापिटलले ३ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलको मंगलबार बसेको बैठकले लक्ष्मी उन्नती कोष, सनराइज फस्ट म्युचुअल फण्ड र सनराइज फोकस्ड ईक्विटीको लाभांश घोषणा गरेको हो । क्यापिटलले लक्ष्मी उन्नती कोषको कर सहित २० प्रतिशत, सनराइज फस्ट म्युचुअल फण्डको कर सहित १४ प्रतिशत र सनराइज फोकस्ड ईक्विटी फण्डको कर सहित १३.५० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । आर्थिक वर्ष २०८१/८२ काे असारमा लक्ष्मी उन्नती कोषको खुद सम्पत्ति मूल्य १२.४६, सनराइज फस्ट म्युचुअल फण्डको कोषको खुद सम्पत्ति मूल्य ११.९३ र सनराइज फोकस्ड ईक्विटी फण्डको कोषको खुद सम्पत्ति मूल्य १२.१३ रहेको क्यापिटलले जनाएको छ । साथै खुल्लामुखी योजना शुभ लक्ष्मी कोषको १६ प्रतिशत, बन्दमुखी योजनाहरू लक्ष्मी भ्यालु फण्ड-२ को १५ प्रतिशत र सनराइज ब्लुचिप फण्डको १९ प्रतिशत प्रतिफल वितरण सम्बन्धी निर्णय गरेको क्यापिटलले जनाएको छ ।
म कुलिङ पिरियडकै पक्षमा छु, समितिले मेरो नाम लिएको छैन : रामहरि खतिवडा
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले आफू सधैँ कुलिङ पिरियडको पक्षमा रहेको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले समितिले पठाएको रिपोर्टमा कतै पनि आफ्नो नाम उल्लेख नभएको स्पष्ट पारे । आफूले हस्ताक्षर गरेको प्रतिवेदनमा कुलिङ पिरियड रहेको तर बीचमा कतै हटाइएको बताए । कुलिङ पिरियड राष्ट्रिय सभाले सच्याउनुपर्ने बताए । उनले भने, ‘पहिला समितिले पठाएको रिपोर्ट हेर्नुस् । कसको कसको त्रुटी भयो, नाम कसको कसको उल्लेख गरेको छ, त्यसपछि कुरा गरौँ । कुलिङ पिरियड रहनुपर्छ भन्ने पक्षमा म छु । समितिले कतै रामहरि खतिवडाको नाम लिएको छ भने भन्नुहोला । सभापतिको हस्ताक्षर छ, मैले हस्ताक्षर गरेकोमा कुलिङ पिरियड छ, त्यो कहाँ त्रुटी भयो छानविन गर भनेर मेरै अनुरोधमा छानविन भएको हो ।’ कुलिङ अफ पिरियड छेडखानीविरुद्ध गठित संसदीय छानविन समितिले आज प्रतिवेदन प्रतिनिधि सभामा प्रश्तुत गरेको छ ।
२४ क्यासिनोले गरे नवीकरण, रोयल्टी तिरे २५ करोड रूपैयाँ
काठमाडौं । देशभरका विभिन्न स्थानमा सञ्चालित २४ क्यासिनोले नवीकरण गरेका छन् । नेपाल पर्यटन विभागका अनुसार रोयल्टी बुझाएका २४ क्यासिनोको चालु आर्थिक वर्ष २०८२/८३ मा क्यासिनो सञ्चालनको लागि नवीकरण भएको हो । नवीकरण भएकामध्ये ९ ठूला क्यासिनो र १५ सानो क्यासिनो रहेका छन् । नवीकरण भएका क्यासिनोहरूमा बेल्लिज नेपाल, डेल्टीइन नेपाल, माजोङ इन्टरटेन्टमेन्ट, वाल्डो डाइनेस्टी इन्टरटेन्टमेन्ट, इम्पेरियल इन्टरटेन्टमेन्ट, भेगास रिक्रियसन, रोयल टाइगर रिक्रियसन रहेको छ । त्यसैगरी, प्राइड इन्टरटेन्टमेन्ट एण्ड रिक्रियसन किङ्वश्वरी इन्टरटेन्टमेन्ट, सिद्धार्थ गेमिङ जोन, ज्याकपोट गेमिङ सेन्टर, निर्वाना लक्जरी इन्टरनेशनल, ओम त्रयम्बकम इन्टरटेन्टमेन्ट, ताज इन्टरटेन्टमेन्ट, ग्रीन ज्याकपट इन्टरटेन्टमेन्ट, अपूर्व गेमिङ जोन, दियालो गेमिङ प्रालि, ईलिगेन्ट इन्टरटेन्टमेन्ट, डाइमण्ड रिक्रिइसनले नविकरण गरेका छन् । त्यस्तै, नवीकरण गर्ने क्यासिनोहरूमा च्याम्पिएन जोन, सेपिएर इन्टरटेन्टमेन्ट, गोल्डेन फिंगर, वेलिज इन्टरटेन्टमेन्ट र गोल्डेन क्वाइन क्यासिनो रहेका छन् । क्यासिनो नियमावलीअनुसार नवीकरणको लागि रोयल्टी अनिवार्य चुक्ता हुनुपर्ने व्यवस्था छ । नियमावलीअनुसार ठूलो क्यासिनोको लागि नवीकरण शुल्क १ करोड ५० लाख रुपैयाँ तोकिएको छ भने सानो क्यासिनोले ७५ लाख रुपैयाँ तिर्नुपर्छ । २४ कम्पनीले २४ करोड ७५ लाख रूपैयाँ रोयल्टी तिरेका छन् ।
असोज १ गतेदेखि सबै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य
काठमाडौं । आगामी असोज १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य हुने भएको छ । संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्न गठित समितिको बैठकले यस्तो निर्णय गरेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा मंगलबार सम्पन्न बैठकमा प्रदेशका मन्त्री, सचिव तथा स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता थियो। बैठकले सबै प्रदेश सरकार अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरूबाट सवारी दर्ता, नामसारी तथा नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्नुपर्ने निर्णय गरेको छ । इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयनका लागि प्राविधिक सहयोग यातायात व्यवस्था विभागले उपलब्ध गराउने र गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरी परिचालन गर्ने पनि बैठकले निर्णय गरेको छ । यस्तै, सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइका लागि सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच गत जेठ ९ गते समझदारी पत्रमा हस्ताक्षर भएको सन्दर्भमा भदौ मसान्तभित्र छपाइ सुरु गर्न केन्द्रलाई अनुरोध गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशले आवश्यक खरिद प्रक्रिया अघि बढाइसकेका छन् । बैठकले लाइसेन्स वितरणलाई व्यवस्थित बनाउन १० वर्षे अवधिका लागि राजश्वमा एकरूपता कायम गर्ने, तथ्यांक डिजिटलाइज गर्ने, भुक्तानी प्रणाली विद्युतीय बनाउने, सफ्टवेयर प्रणाली चुस्त पार्ने, बेरुजु फर्स्योट सुधार गर्ने लगायतका निर्णय पनि गरेको छ । साथै, राइड सेयरिङ सेवामा एकरूपता कायम गरी लागू गर्ने उल्लेख गरिएको छ । मन्त्री दाहालले संविधान र ऐनले तोकेका व्यवस्थाहरू कार्यान्वयन गर्दै संघीयताको प्रभावकारी कार्यान्वयन गर्न तीनै तहबीच सहकार्य अपरिहार्य रहेको बताए । उनले समितिका निर्णयहरू कार्यान्वयन गरेर नागरिक सेवा छरितो र प्रभावकारी हुनेमा जोड दिए । बैठकमा मन्त्रालयका सचिव केशवकुमार शर्माले विगतका निर्णयहरूको समीक्षा गर्दै आगामी कार्यदिशा तय गरिएको बताए ।
बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । बागमती प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । बानियाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले एक औपचारिक समारोहमा शपथ गराएका हुन् । मंगलबार दिउँसो बानियाँलाई प्रदेश प्रमुख देवकोटाले बागमतीको छैठौं मुख्यमन्त्रीको रूपमा नियुक्त गरेका थिए । नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहेका बानियाँले सोमबार नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा संयुक्त सरकार गठनको दाबी पेश गरेका थिए । ११० सदस्यीय प्रदेश सभामा दुवै पार्टी मिलेर ६४ सांसदको बहुमत हासिल भएकाले बानियाँ मुख्यमन्त्री नियुक्त भएका हुन् । बानियाँअघि बागमती प्रदेशमा डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा मुख्यमन्त्री बनिसकेका छन् ।