विश्व बैंकको अनुदान प्राप्त सडक स्तरोन्नतिमा ढिलाइ
तनहुँ । विश्व बैंकबाट अनुदान प्राप्त यहाँका व्यास र शुक्लागण्डकी नगरपालिकाका दुई सडक स्तरोन्नतिमा ढिलाइ भएको छ । सहरी विकास मन्त्रालयको सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत सञ्चालित ती सडक आयोजना निर्माणमा ढिलाइ भएको हो । चालु आर्थिक वर्षको पुस महिनाभित्र सम्पन्न हुने गरी काम गर्न बजेट विनियोजन गरिएको छ । व्यास नगरपालिकामा पराशर मार्ग र शुक्लागण्डकी नगरपालिकामा दुलेगौडा–लामागाउँ स्तरोन्नति भइरहेका छन् । ती सडक अस्फाल्ट प्रविधिबाट कालोपत्र गर्न सम्झौता भएको थियो । व्यासका वडा नं ७, ९, १० र ११ गरी चार वडालाई जोड्ने गरी चक्रपथ निर्माणका लागि खुलेका ती ट्रयाकमा स्तरोन्नति भइरहेको नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । निर्धारित पुस महिनासम्ममा काम पूरा गर्न नगरपालिकाले सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । बुल्दीखोला–बेलटारी–फराकचौर–अधेरीभञ्ज्याङ–कुमालगाउँ–समता स्कुल–कलेस्ती जोडिने सो सडक खण्डमा १०.५५ किलोमिटर दूरी कालोपत्र हुनेछ । उक्त सडकको हालसम्म १८.२९ प्रतिशत मात्र काम भएको छ । विसं २०८२ असारसम्म सम्पन्न गर्ने गरी काम अघि बढाइएकोमा काम पूरा नभएपछि छ महिना म्याद थप भएको व्यास नगरपालिकाका सिनियर डिभिजन इञ्जिनियर डा राजु पौडेलले जानकारी दिए । सडक स्तरोन्नतिका लागि रु४० करोड ८३ लाख ३५ हजार ९२१ मा निर्माण कम्पनी बिकेएचटिडिसीएल एसिपिएल जेभी कालीमाटीसँग सम्झौता भएको थियो । त्यसैगरी दुलेगौंडा–लामागाउँ सडकखण्डमा ४५ प्रतिशत भौतिक प्रगति भएको छ । अबको ६१ दिनमा काम पूरा गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको शुक्लागण्डकी नगरपालिकाका प्रमुख नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए । यो सडक कालोपत्रका लागि निर्माण कम्पनीसँग नगरपालिकाले विसं २०८० चैत २५ गते सम्झौता गरेको थियो । मोटरमार्ग ७।१ किलोमिटर दूरी कालोपत्र गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले जानकारी दिए । लामादेका अनुसार उक्त ठेक्काको रकम रु २७ करोड ३४ लाख ७९ हजार ८३४ रहेको छ । शुक्लागण्डकी–४ दुलेगौडाबाट सुरु हुने कालोपत्रले शुक्लागण्डकी ८, ९ र १२ वडालाई जोडिनेछ । दुलेगौडास्थित बिपीचोक, हेल्थपोष्टचोक, पुल्चोक, घारी, तालबेँसी, मालेबगर हुँदै लीलाचोकसम्म कालोपत्र हुनेछ ।
कर्णाली विकास बैंक घोटाला प्रकरणमा ३ जनालाई थुनामा पठाउने आदेश
काठमाडौं । नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले बैंकका संस्थापक अध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेतलाई दुई लाख धरौटीमा छाड्न आदेश दिएको उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले जनाएको छ । 'उहाँले धरौटी बुझाउन नसकेकाले तत्काल थुनामा पठाइएको छ तर धरौटी बुझाएमा उहाँलाई छाडिने छ,' उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका सूचना अधिकारी बलबहादुर विष्टले भने। उनका अनुसार बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपति दयाल मिश्र, बैंकका वित्त विभाग प्रमुख वेदप्रकाश सिंह ठकुरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । सो आदेशमा फरार रहेका १०० भन्दा बढी प्रतिवादीको हकमा म्याद तामेली पठाउने उल्लेख छ । बैंक सञ्चालक समितिका दुई पूर्वअध्यक्ष र एक कर्मचारीलाई अहिल्यै छाड्दा मुद्दा प्रभावित पार्न सक्ने आँकलन गरी अदालतले तीन जनालाई थुनामा राख्ने आदेश सुनाएको बताइएको छ । अदालतका न्यायाधीशद्वय चन्द्रबहादुर सारू र पुनमसिंह चन्दको इजलासले बैंकका पूर्वअध्यक्षसहित चार जना प्रतिवादीविरूद्धको रकम घोटाला प्रकरणको सुनुवाइ सकेर बुधबार सो आदेश सुनाएको थियो । बैंकको तीन अर्ब २० करोड हिनामिना प्रकरणमा कुल १०९ जनालाई प्रतिवादी बनाइएको थियो । तीमध्ये १०३ जना अझै फरार छन् । विभिन्न समयमा पक्राउ परेका दुई जना सञ्चालक समितिका पूर्वअध्यक्षसहित चार जना प्रतिवादीमध्ये साउन १४ गते सिआइबीले आफ्नो अनुसन्धान प्रतिवेदनमा आर्थिक अनियमिततामा दोषी करार गर्दै जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । सिआइबीले बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायसहित १०९ जनाबाट रु तीन अर्ब २० करोड ११ लाख ५४ हजार १५७ बिगो माग दाबी गर्दै मुद्दा दायर गर्नुपर्ने सुझाव दिएको थियो । सिआइबीको सोही अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले उच्च अदालत तुलसीपुर नेपालगञ्जमा मुद्दा दायर गरेको थियो । अदालतका सूचना अधिकारी विष्टका अनुसार चार जना प्रतिवादीमध्ये बैंकका संस्थापक अध्यक्षसमेत रहेका राजेन्द्रवीर रायसँग रु दुई अर्ब ६३ करोड ३२ लाख १६ हजार ५९७ रूपैयाँ बिगो र जरिवाना माग दाबी गरिएको थियो । नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका कर्णाली विकास बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्रसँग रु ८२ करोड ४६ लाख २९ हजार बिगो र जरिवाना मागदाबी गरिएको थियो । बैंकका तत्कालीन वित्त विभाग प्रमुख वेदप्रकाशसिंह ठकुरीसँग रु २४ करोड ६३ लाख ९९ हजार बिगो र जरिवाना मागदाबी गरिएको थियो । राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतसँग रु १० करोड ८९ लाख २५० बिगो र जरिवाना मागदाबी गरिएको थियो ।
कुमारी बैंकको नाफा ४५ हजार ८२९ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक
काठमाडौं । कुमारी बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ४५ हजार ८२९ प्रतिशत बढेर २ अर्ब ११ करोड ६४ लाख ९ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ४६ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी ६.९५ प्रतिशत वृद्धि गरी ११ अर्ब ५५ करोड ४३ लाख ९४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब ८० करोड ३३ लाख ४० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष बैंकको कुल सञ्चालन आम्दानी १०.९७ प्रतिशत बढेर १५ अर्ब १३ करोड ३० लाख ५२ हजार रुपैयाँ, सञ्चालन नाफा ५२९.८७ प्रतिशत बढेर ६ अर्ब १३ करोड ४४ लाख ९१ हजार रुपैयाँ र खुद शुल्क तथा कमिसन आम्दानी २७.४४ प्रतिशत बढेर २ अर्ब ६७ करोड ३८ लाख १९ हजार रुपैयाँ गरेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ७९ करोड ४० लाख २० हजार रुपैयाँ ऋणात्मक छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३६ करोड ७४ लाख २४ हजार रुपैयाँ ऋणात्मक थियो । बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ र जगेडा कोषमा १३ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ रहेको छ । गत वर्ष बैंकको निक्षेप संकलन ९.४६ प्रतिशत बढेर ३ खर्ब ६४ अर्ब ६३ करोड ९१ लाख रुपैयाँ र कर्जा लगानी २.७८ प्रतिशत घटेर २ खर्ब ६० अर्ब ९४ करोड ८३ लाख रुपैयाँ छ । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी ८.०७ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको प्रतिसेयर आम्दानी ०.०२ रुपैयाँ थियो । बैंकको प्रतिसेयर नेटवर्थ १४२.१९ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ५.९६ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ६.४२ प्रतिशत पुगेको छ । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७५.७३ प्रतिशत, आधार दर ६.४४ प्रतिशत रहेको छ ।
मोबिलिटी एक्स्पो पहिलो दिन १५ हजार बढीले गरे अवलोकन
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को पहिलो दिन १५ हजारभन्दा बढीले अवलोकन गरेका छन् । उद्घाटन सम्पन्नपछि सर्वसाधरणलाई खुला गरिएको एक्स्पोमा १५ हजार भन्दा बढीले अवलोकन गरेको जनाएको छ । नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यले मोबिलिटी एक्स्पो २०२५ ले प्रत्यक्ष तथा अप्रत्यक्ष गरी १२ लाख ४० हजारभन्दा बढी जनशक्तिलाई रोजगारी प्रदान गर्ने बताइन् । साथै, राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा ७.१३ प्रतिशतको योगदान पुर्याउने उनीहरुको दाबी छ । उनका अनुसार हाल नेपालमा ५५ लाखभन्दा बढी सवारी साधन दर्ता छन्, जसले बिक्री, मर्मत, लजिस्टिक्स र पूर्वाधारका क्षेत्रमा रोजगारी सिर्जना गरिरहेको छ ।
न्युजिल्यान्डमा बेरोजगारी दर ५.२ प्रतिशत, श्रम बजार थप कमजोर
काठमाडौं । न्युजिल्यान्डको बेरोजगारी दर सन् २०२५ को दोस्रो त्रैमास (अप्रिल-जुन) मा बढेर ५.२ प्रतिशत पुगेको छ । श्रम बजारमा लगातार कमजोरी देखिँदै गएको राष्ट्रिय तथ्यांक विभाग स्ट्याटस एनजेडले बुधबार जानकारी दिएको छ । मार्चमा बेरोजगारी दर ५.१ प्रतिशत थियो भने अघिल्लो वर्षको यही अवधिमा ४.७ प्रतिशत थियो । अहिले देशभर १ लाख ५८ हजार व्यक्ति बेरोजगार छन्, जुन अघिल्लो वर्षको तुलनामा १६ हजारले (११ प्रतिशतले) बढी हो । स्ट्याटस एनजेडका श्रम विश्लेषक जेसन एट्टवेलका अनुसार, पछिल्ला केही वर्षमा श्रम बजारको अवस्था उल्लेखनीय रूपमा कमजोर हुँदै गएको छ । सन् २०२२ को जुन यता बेरोजगारी दरमा १.९ प्रतिशत अंकको वृद्धि भएको छ । बेरोजगारी मात्र होइन, श्रम बजारको समग्र अवस्थालाई देखाउने अन्डरयुटिलाइजेसन दर पनि बढेर १२.८ प्रतिशत पुगेको छ । यो दर मार्च त्रैमासमा १२.४ प्रतिशत थियो भने एक वर्षअघि ११.९ प्रतिशत थियो । यद्यपि तलब वृद्धि भइरहेको छ, यसको गति भने सुस्ताएको छ । वार्षिक तलब वृद्धि दर ४.३ प्रतिशतबाट घटेर २.४ प्रतिशतमा झरेको छ । औसत घण्टाको तलब ४.५ प्रतिशतले बढेर ४३.३९ न्युजिल्यान्ड डलर (लगभग २५.६६ अमेरिकी डलर) पुगेको छ । श्रम बजार कमजोर बनेपछि धेरै युवा शिक्षातर्फ फर्किएका छन् । १५ देखि २४ वर्ष उमेर समूहका विद्यार्थीको संख्या ५ प्रतिशतले बढेर ३ लाख ७९ हजार नौ सय पुगेको छ । युवाको रोजगार र सहभागिता दर घटेर क्रमशः ५३.१ र ६२.३ प्रतिशतमा झरेका छन्। तर, रोजगार, शिक्षा वा तालिममा नरहेका (नीट) युवाको दर भने १२.२ प्रतिशतमै स्थिर रहेको स्ट्याटस एनजेड ले जनाएको छ ।
सिटिजन्सको १५.७९ प्रतिशत लाभांश घोषणा
काठमाडौं । सिटिजन्स सेयर ब्रोकर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको साउन २० गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित १५.७९ प्रतिशतका दरले ३ करोड १५ लाख ७८ हजार ९४७ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न कम्पनीले भदौ १३ गते बिहान ८ बजे प्रधान कार्यालय कुपण्डोल ललितपुरमा तेस्रो वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । कम्पनीको नियमावली अनुसार सञ्चालक नियुक्त अनुमोदन गर्ने र प्रबन्ध पत्रमा आवश्यक संशोधन प्रस्ताव पारित गर्नेछ ।
सेवाग्राही खोज्दै जनप्रतिनिधि र कर्मचारी सहरमा
काठमाडौं । सेवाग्राही खोज्दै म्याग्दीको धवलागिरि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू सहर झरेका छन् । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित, सिफारिसलगायत सेवा उपलब्ध गराउन घुम्ती शिविर लिएर जनप्रतिनिधि र कर्मचारी प्रमुख सहरमा पुगेका हुन् । साउन १८ र १९ गते काठमाडौंमा घुम्ती शिविरमार्फत सेवा दिएको गाउँपालिकाले बुधबारदेखि प्रदेशको राजधानी पोखराको नदीपुरस्थित नेपाल छन्त्याल सङ्घको सभाहलमा शिविर सञ्चालन गरेको छ । पहिलो दिन करिब १५० जना सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित र नागरिकताको सिफारिससम्बन्धी सेवा लिएका गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले जानकारी दिए । ‘हरेक वर्ष भत्ताका लागि ‘बायोमेट्रिक’ सहित लाभग्राही सूची नवीकरण गर्नुपर्ने बाध्यकारी व्यवस्था छ,’ उनले भने, ‘गाउँपालिकामा नाम भए पनि बजारमा बसोबास गर्ने ज्येष्ठ नागरिक, अशक्त, बिरामी लाभग्राहीहरुलाई बर्खामा गाउँसम्म पुग्न कष्ट, झन्झट र दुःख हुने भएकाले जनप्रतिनिधि र कर्मचारी नै सहर झरेर नवीकरण गर्ने व्यवस्था मिलाएका हौँ ।’ गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनले सेवाग्राहीको सहजताका लागि जनप्रतिनिधि र वडासचिवहरु सहरमा पुगेर सेवा दिएको बताए । अध्यक्ष र उपाध्यक्ष पुनद्वयका साथै सातवटै वडाका अध्यक्ष र तीन जना वडा सचिवहरूले शिविरमा सेवा दिएका छन् । गत आर्थिक वर्षमा धवलागिरिका २ हजार ९३८ जनालाई १० करोड ५८ लाख ४ हजार २८८ रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो । सेवासुविधा र अवसरका लागि सहर बजारमा बसोबास गरे पनि धेरैले औपचारिक रुपमा बसाइँसराइ गरेका छैनन् । गत आर्थिक वर्षमा धवलागिरिमा ७६ परिवार बसाइँ गरेर जाँदा १० परिवार आएका थिए ।
देशभर जलवाष्पयुक्त हावाको प्रभाव कमजोर, कुन-कुन प्रदेशमा वर्षा हुन्छ ?
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, मुलुकको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैगरी आज राति देशभर साधारणतया बदली रहनेछ । मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।