विकासन्युज

मेकानिकल इञ्जिनियरिङमा अध्यापन गराउँदै पोखरा विश्वविद्यालय

गण्डकी । पोखरा विश्वविद्यालयमा स्नातक तहमा मेकानिकल इञ्जिनियरिङ विषयको पढाइ यसै वर्षदेखि सुरु हुने भएको छ । विश्वविद्यालयले पाठ्यक्रम तयार गरी पहिलोपटक यस शैक्षिकसत्रका लागि भर्ना खुलाएको विश्वविद्यालयका विज्ञान तथा प्रविधि सङ्कायका डिन सहप्राध्यापक बुद्धिराज जोशीले जानकारी दिए । विश्वविद्यालयले समयानुकूल आवश्यकता समेतलाई दृष्टिगत गर्दै नवीनतम् प्रविधियुक्त विषयको पठनपाठन बढाउने योजनाअनुुरुप नै मेकानिकल इञ्जिनियरिङको पठनपाठन सुरु गर्न लागेको उनको भनाइ छ । नेपालका विद्यार्थीहरूलाई स्वदेशमै उच्च गुणस्तरीय मेकानिकल इञ्जिनियरिङ शिक्षाको सुविधा उपलब्ध गराउने उद्देश्यका साथ यस विषयको पठनपाठन सुरु गरिएको भर्ना समितिका संयोजक सह प्रा डा सुरेश बरालले जानकारी दिए । यसअघि विश्वविद्यालयमा सबै प्रमुख इञ्जिनियरिङ शाखाहरू भए पनि मेकानिकल इञ्जिनियरिङको अभाव थियो । नेपालमा जलविद्युत्, ऊर्जा, डिजाइन, स्वचालन, म्यानुफ्याक्चरिङ र औद्योगिक क्षेत्रमा मेकानिकल इञ्जिनियरको माग तीव्र रूपमा बढिरहेकाले विश्वविद्यालयले यस आवश्यकतालाई सम्बोधन गर्ने गरी पहल बढाएको हो । यस कार्यक्रमको पाठ्यक्रमले परम्परागत विषयमात्र नसमेटी आधुनिक प्रविधियुक्त अटोमेसन र रोबोटिक्स, इण्डस्ट्री ४.० र मेसिन लर्निङजस्ता क्षेत्रहरुलाई पनि समेटेको छ । यो विषयको अध्ययनसँगै विद्यार्थीले परियोजना आधारित शिक्षण, हातको अभ्यास र राष्ट्रिय तथा स्थानीय उद्योगसँगको प्रत्यक्ष सम्पर्कमार्फत व्यावहारिक सीप हासिल गर्ने उनले जानकारी दिए । कार्यक्रमले विद्यार्थीहरू शिक्षितमात्र नभई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको बताउँदै उनले यसबाट नेपालको पूर्वाधार र प्रविधिको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको उनले जानकारी दिए । पाठ्यक्रम संरचना कुल चार वर्षमा संरचित र यसका लागि विश्वविद्यालयले अध्ययन शुल्क रु पाँच लाख ८७ हजार २०० निर्धारण गरिएको उपप्राध्यापक ऋषभ खनालले जानकारी दिए । उनका अनुसार आठ सेमेस्टरमा समेटिएको यस कार्यक्रममा १३० घण्टा कक्षा भार (क्रेडिट आवर) तय गरिएको छ । पाठ्यकमअनुसार सुरुमा इञ्जिनियरिङ ड्रइङ, थर्मोडायनामिक्स, मेकानिक्स र वर्कशप प्रविधिजस्ता आधारभूत विषय पढाइन्छ भने पछिल्ला वर्षहरूमा (फेम) रोबोटिक्स, अटोमोटिभ प्रविधि, ऊर्जा तथा वातावरण र डिजाइनसँग सम्बन्धित उन्नत विषयहरू पढाइन्छ । 'तीन वैकल्पिक पाठ्यक्रम, एक माइनर प्रोजेक्ट, दुई भागमा हुने मेजर प्रोजेक्ट र १२ हप्ता अनिवार्य इन्टर्नसीप पनि समावेश गरिएको छ', उनले भने । यस विषयले विद्यार्थीलाई समसामयिक प्रविधिको ज्ञान दिने मात्र नभई व्यावसायिक, अनुसन्धान तथा उद्यमशीलताका लागि समेत सक्षम बनाउने लक्ष्य राखेको खनालको भनाइ छ । अध्ययनसँगै विद्यार्थीले नेपालभित्र जलविद्युत्, उत्पादन, पूर्वाधार निर्माण र नवीकरणीय ऊर्जा क्षेत्रमा रोजगारी पाउने सम्भावना राख्ने उल्लेख गर्दै उहाँले अन्तरराष्ट्रिय रूपमा पनि अटोमोटिभ, एयरोस्पेस, रोबोटिक्स र स्मार्ट म्यानुफ्याक्चरिङजस्ता क्षेत्रमा यस विषय पढेका जनशक्तिको माग रहेको बताए । यस विषयमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि विश्वविद्यालयले अनलाइन आवेदन माग गरिसकेको र आवेदन दिने अन्तिम मिति आगामी भदौ १२ सम्म र प्रवेश परीक्षा भदौ १३ गते हुने जनाइएको छ । विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अध्यापन हुने यस विषयका लागि ४८ जनाको कोटा रहेको र त्यसमध्ये नौजना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उनले बताए ।

१ रुपैयाँमै घरको इस्टिमेसन, १० लाख रुपैयाँसम्म जोगिने

काठमाडौं । घर तथा भवन निर्माणको क्षेत्रमा काम गर्दै आएको कम्पनी घरदबारले १ सय रुपैयाँमा कुनै पनि प्रकारको घरको लागत विवरण प्रदान गर्ने भएको छ । निर्माण क्षेत्रमा विगत सात वर्षदेखि काम गर्दै आएको सो कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्त्व अन्तर्गत सो अफर सार्वजनिक गरेको हो । कम्पनीका अनुसार पहिलो चरणमा १ सय वटा घरको लागत अनुमान विवरण प्रदान गरिनेछ । वार्षिक ५० वटा बढी घर निर्माण गर्दै आएको घरदबारले  निर्माण क्षेत्रमा रहेको अनियमितता हटाउन तथा घरधनीलाई निर्माणसम्बन्धी सबै जानकारी दिनका लागि सो अफर ल्याइएको जनाएको हो । घर तथा भवन निर्माणको योजना बनाएका र निर्माणको काम गरिरहेकाहरुको लागि घर निर्माणमा हुने अनावश्यक खर्चको कटौती तथा कम लागतमा कसरी गुणस्तरीय काम सम्पन्न गर्ने भन्नेबारे जानकारी प्रदानका लागि यो अफर ल्याइएको घरदबारले जनाएको छ । काठमाडौंको थापाथलीबाट आफ्नो सेवा प्रदान गर्दै आएको घरदबारको यो अफरमार्फत सेवाग्राहीले १० लाख रुपैयाँसम्म बचत गर्न सक्नेछन् भने लागत घटाउने विभिन्न उपायबारे जानकारी प्राप्त गर्न सक्नेछन् । घरको डिजाइन सम्पन्न भएर पनि सन्तुष्ट हुन नसकेकाहरुले यो अफरमार्फत लागत अनुमान तथा निर्माण सुरुदेखि अन्त्यसम्मका आवश्यक सम्पूर्ण परामर्श पाउन सक्नेछन् ।  घर निर्माणमा हुने अनावश्यक खर्च घटाउन अपनाउन सकिने उपायबारे घरदबारले परामर्श प्रदान गरिने जनाएको छ । घर निर्माण सुरु गरेकाहरूको डिजाइनका आधारमा लाग्ने खर्च निर्धारण हुनेछ । सेवा लिन चाहनेले घरको ‘टु डी’ वा ‘थ्री डी’ डिजाइनको आधारमा लागत सम्बन्धी सम्पूर्ण जानकारी प्रदान गरिने घरदबारले जनाएको छ । पछिल्लो समय घर तथा भवन निर्माणमा प्रयोग हुने कमसल सामाग्री र निर्माणकर्ताको लापरबाहीले संरचना कमजोर हुने, निर्माण कार्य ढिलो हुने तथा लागत समेत बढ्दै गइरहेको अवस्थामा सार्वजनिक भएको यो अफरले धेरैलाई फाइदा पुग्ने कम्पनीको विश्वास छ । घरदबारले १ सय दिनसम्म प्रदान गर्ने यो अफरमा १ सय जनाले परामर्श प्राप्त गर्नेछन् । विशेषगरी लागत विवरण तयार पारि निर्माणको काम गरिरहेका तर चित्त नबुझेका घर निर्माणकर्ताले यो अफरको फाइदा लिन सक्नेछन् । 

ग्लोबल आइएमई लघुवित्तको नाफामा १२१.९० प्रतिशत उछाल, ईपीएस ३८.११ रुपैयाँ

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्ष २०८१÷८२ मा खुद नाफा १२१.९० प्रतिशत बढेर २३ करोड ५८ लाख ७२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष लघुवित्तले १० करोड ६२ लाख ९४ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।  लघुवित्तको खराब कर्जा ह्वात्तै घटेपछि नाफा बढ्न पुगेको हो । अघिल्लो वर्ष ४.०७ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर ३.६२ प्रतिशतमा झरेको छ ।  गत वर्ष लघुवित्तले ७५ करोड ९७ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष लघुवित्तले ६३ करोड १४ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  गत वर्ष लघुवित्तले ८ करोड ५२ लाख ४ हजार रुपैयाँ खुद शुल्क तथा कमिशन आम्दानी, ८४ करोड ४९ लाख ३१ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी, ३३ करोड ७२ लाख ३० हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।  गत वर्ष लघुवित्तको वितरणयोग्य नाफा १७ करोड १९ लाख ९ हजार रुपैयाँ रहेको छ  । गत वर्ष लघुवित्तले ३३ करोड ७६ लाख १६ हजार रुपैयाँ कर्मचारी खर्च, ६ करोड ३९ लाख ३३ हजार रुपैयाँ अन्य सञ्चालन खर्च गरेको छ । ६१ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ७१ करोड ३९ लाख १० हजार रुपैयाँ रहेको छ ।  अघिल्लो वर्ष १७.१६ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको लघुवित्तको गत वर्ष दोब्बर बढेर ३८.११ रुपैयाँ पुगेको छ । लघुत्तिको मूल्य आम्दानी अनुपात ३४.६५ गुणा छ भने प्रतिसेयर नेटवर्थ २१५.३५ रुपैयाँ रहेको छ ।

१३.७१ प्रतिशत बढ्यो सीआईटीको नाफा, २.८९ खर्ब रुपैयाँ पुग्यो लगानी

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब २५ करोड ३५ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष कोषले १ अर्ब १० करोड २४ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कोषले १३.७१ प्रतिशत बढी नाफा आर्जन गरेको हो । गत वर्ष कोषले ३३ करोड ७४ लाख ३० हजार रुपैयाँ ब्याज आम्दानी, १ अर्ब ६५ करोड ३५ लाख ६५ हजार रुपैयाँ सेवा शुल्क तथा कमिशन आम्दानी, १० करोड ६४ लाख १४ हजार रुपैयाँ विविध आम्दानी र २ अर्ब ९ करोड ७४ लाख १० हजार रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो वर्ष कोषले ४४ करोड २५ लाख ४८ हजार रुपैयाँ ब्याज आम्दानी, १ अर्ब ४१ करोड १२ लाख ५१ हजार रुपैयाँ सेवा शुल्क तथा कमिशन आम्दानी, ७ करोड ११ लाख ४१ हजार रुपैयाँ विविध आम्दानी र १ अबए ९२ करोड ४९ लाख ४० हजार रुपैयाँ कुल आम्दानी गरेको थियो । यस्तै, गत वर्ष कोषले २७ करोड ६१ लाख ३३ हजार रुपैयाँ व्यवस्थापन खर्च, १४ करोड ७३ लाख ३९ हजार रुपैयाँ खर्च व्यवस्था र ४२ करोड ४२ लाख ७२ हजार रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्ष कोषले ३२ करोड ७५ लाख १५ हजार रुपैयाँ व्यवस्थापन खर्च, १२ करोड ७५ लाख ४५ हजार रुपैयाँ खर्च व्यवस्था र ४५ करोड ५० लाख ६० हजार रुपैयाँ कुल खर्च गरेको थियो । ६ अर्ब ४८ करोड १७ लाख १२ हजार रुपैयाँ चुक्ता पुँजी र २० अर्ब ११ करोड ७३ लाख १६ हजार रुपैयाँ जगेडा कोषमा रहेको छ ।  कोषले गत वर्ष २ खर्ब ८९ अर्ब १६ करोड ६६ लाख ६२ हजार रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्ष कोषले २ खर्ब ४३ अर्ब ७२ करोड १८ लाख ८० हजार रुपैयाँ लगानी गरेको थियो । गत वर्ष कोषको प्रतिसेयर आम्दानी १९.३४ रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी २०.७५ रुपैयाँ थियो । 

एनपीएल अक्सन : ३७ खेलाडी किन्न २ करोड १८ लाख खर्च, महँगो बन्यो चितवन राइनोज

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको मिनी अक्सनबाट ८ टोलीले २ करोड १८ लाख ७५ हजार रुपैयाँ खर्च गरेका छन् । ८ वटा टीमले ३७ खेलाडी छनोट गर्दा सो रकम खर्च गरेका हुन् । अक्सनका लागि छनोट गरिएका १६४ खेलाडीबाट ३७ खेलाडी अनुबन्ध भएका हुन् । शनिबार सम्पन्न अक्सनमा खेलाडीमाथि सबैभन्दा धेरै खर्च चितवन राइनोजले तथा कम पोखरा एभेन्जर्सले गरेको छ । चितवनले ३९ लाख रुपैयाँ, काठमाडौंले ३७ लाख रुपैयाँ, लुम्बिनीले ३२ लाख रुपैयाँ, कर्णालीले २९ लाख रुपैयाँ, विराटनगरले २७ लाख रुपैयाँ, सुदूरपश्चिमले २४ लाख रुपैयाँ, जनकपुरले १९ लाख ७५ हजार रुपैयाँ तथा पोखराले ११ लाख रुपैयाँ खर्च गरेको छ ।  अक्सनमा ८ टोलीले पहिलो चरणमा २६ खेलाडी अनुबन्ध गरेका थिए । पहिलो चरणमा अनुबन्ध नगरिएका बाँकी ११ खेलाडी ‘विस लिस्ट’बाट छानिएका हुन् । ‘ए’ श्रेणीका चार खेलाडीलाई जनही १५ लाख रुपैयाँमा खरिद गरिएको छ ।  दोस्रो संस्करणका लागि सबैभन्दा बढी मूल्यमा देव खनाल, अर्जुन साउद, आदिल आलम र पवन सर्राफलाई खरिद गरिएको छ । देव र अर्जुनले चितवन राइनोजबाट, आदिलले काठमाण्डू गोर्खाजबाट र पवनले कर्णाली याक्सबाट खेल्ने तय भएको छ । चारै खेलाडीलाई एउटाभन्दा बढी टोलीले भित्र्याउन खाजेबाट ‘लक्की ड्र’ मार्फत निर्णय गरिएको थियो । यसैगरी दिलीप नाथ र शेर मल्ललाई लुम्बिनी लायन्सले, हेमन्त धामीलाई सूदुरपश्चिम रोयल्सले, सूर्य तामाङलाई विराटनगर किङ्ग्सले, सन्तोष यादवलाई काठमाण्डू गोर्खाजले र युवराज खत्रीलाई कर्णाली याक्सले जनही १० लाख रुपैयाँमा अनुबन्ध गरेको छ । यस्तै मयन यादवलाई जनकपुर वोल्टस्ले ७ लाख ७५ हजार रुपैयाँमा तथा आकाश त्रिपाठीलाई काठमाण्डू गोर्खाजले ७ लाख रुपैयाँमा अनुबन्ध गरेको छ ।  यसैगरी शङ्कर राना, नारायण जोशी र साहिल पटेललाई विराटनगर किङ्ग्सले, अर्जुन कुमाललाई पोखरा एभेन्जर्सले, विशाल पटेल र दुर्गेश गुप्तालाई लुम्बिनी लायन्सले, आदित्य महता र विकास आग्रीलाई जनकपुर बोल्टसले, विपिन रावललाई चितवन राइनोजले तथा दिपक बोहरा र मिलन बोहरालाई सुदूरपश्चिम रोयल्सले जनही ५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । उत्तम थापा मगरलाई काठामण्डु गोर्खाजलेरु ३ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । यसैगरी टेकबहादुर रावत र दीपेन्द्र थापालाई सुदूरपश्चिम रोयल्सले, सन्दीप खत्री क्षेत्री, अभिषेख तिवारी र कृष्ण पौडेललाई पोखरा एभेन्जर्सले, सचिन भट्टलाई जनकपुर बोल्टसले, तुलबहादुर थापालाई काठमाण्डू गोर्खाजले, इमरान शेख र दीपक डुम्रेलाई कर्णाली याक्सले, लुम्बिनी लायन्सले आदिल खानलाई, विराटनगर किङ्ग्सले श्रवण किश्कुलाई तथा चितवन राइनोजले विपिन आचार्य र रञ्जित कुमारलाई जनही २ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । एनपीएलको शनिबारको मिनी अक्सनमा १५० खेलाडीले भाग लिएका थिए । दर्ता भएका ४५८ खेलाडीबाट १५० जनालाई मिनी अक्सनका लागि छनोट गरिएको थियो । अक्सनमा ‘ए’ श्रेणीको न्यूनतम १० लाख रुपैयाँ र अधिकतम १५ लाख रुपैयाँ, ‘बी’ श्रेणीको न्यूनतम ५ लाख रुपैयाँ र अधिकतम १० लाख रुपैयाँ तथा ‘सी’ श्रेणीको न्यूनतम २ लाख रुपैयाँ र अधिकतम ५ लाख रुपैयाँ मूल्य राखिएको थियो ।  योसँगै ८ टोलीमा ८८  खेलाडी आबद्ध भएका छन् । प्रत्येक टोलीमा ११–११ नेपाली खेलाडी छनोट भएसँगै अब ८ वटै टोलीले कम्तिमा चार विदेशी खेलाडी अनुबन्ध गर्नेछन् ।   आठवटै टोलीको खेलाडी सूची   जनकपुर बोल्ट्सः आसिफ शेख (मार्की खेलाडी), अनिलकुमार साह, शुभ कङ्साकार, किशोर महतो, ललितनारायण राजवंशी, तुलबहादुर थापामगर, रुपेश सिंह, सचिन भट्ट, आदित्य महता, मयन यादव र विकाश आग्री । सुदूरपश्चिम रोयल्स: दिपेन्द्रसिंह ऐरी (मार्की खेलाडी), विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे, नरेन साउद, हेमन्त धामी, टेकबहादुर रावत, दिपेश थापा, दिपक बोहरा र मिलन बोहरा । कर्णाली याक्स: सोमपाल कामी (मार्की खेलाडी), गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, बिपिनप्रसाद शर्मा, युनिशविक्रमसिंह ठकुरी, पवन सर्राफ, इमरान शेख, दीपक डुम्रे र युवराज खत्री । चितवन राइनोज: कुशल मल्ल (मार्की खेलाडी), रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला, गौतम केसी, देव खनाल, अर्जुन साउद, बिपिन रावल, बिपिन आचार्य र रन्जित कुमार । काठमाण्डु गोर्खाज: करण केसी (मार्की खेलाडी), भीम सार्की, दिपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ, राशिद खान, उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी र आदिल आलम । विराटनगर किङ्स: सन्दीप लामिछाने (मार्की खेलाडी), लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट, सुवास भण्डारी, सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शङ्कर राना । पोखरा एभेन्जर्स: कुशल भुर्तेल (मार्की खेलाडी), दिनेश खरेल, बिपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द, तृतराज दास, अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्री । लुम्बिनी लायन्स: रोहित पौडेल (मार्की खेलाडी), सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम, दिनेश अधिकारी, दिलिप नाथ, विशाल पटेल, शेर मल्ल, दुर्गेश गुप्ता र आदिल खान ।

सप्तकोशीमा पानीको बहाव खतराको तहभन्दा माथि, २८ ढोका खोलियो

काठमाडौं । लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टरका सशस्त्र प्रहरी उपरीक्षक निर्मल कुमार थापाका अनुसार शनिबार राति ९ बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख ४३० क्यूसेक पुगेको छ ।  मापन केन्द्रका अनुसार कोशी ब्यारेजका ५६ मध्ये अहिले २८ ढोका खोलिएका छन् । कोशी ब्यारेज हुँदै पानीको बहाव प्रतिसेकेण्ड १ लाख ५० हजार क्यूसेक नाघेपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ, सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ । हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति नभएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । केही दिन देखिको लगातार वर्षाका कारण जलसतह बढेको हो ।

पोखराबाट साढे ६ किलो सुनसहित ११ जना पक्राउ

काठमाडौं । कास्कीको पोखरामा प्रहरीले ६ किलो ४ सय ग्राम अवैध सुनसहित ११  भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको महाराष्ट्र तथा पश्चिम बङ्गाल घर भई पोखरामा विभिन्न स्थानमा बस्ने उनीहरुलाई पक्राउ गरी शनिबार सार्वजनिक गरिएको हो । पक्राउ परेकाहरूबाट नगद ५ लाख १४ हजार रुपैयाँ समेत बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक श्यामबाबु ओलीयाले जानकारी दिए । पोखरा महानगरपालिका-२, ३, ४ र ९ मा अवैध सुनचाँदी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । पक्राउ पर्नेमा ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४० वर्षीया सुनिता पवार, ४५ वर्षीय मनिकलाल आदक, ३५ वर्षीय असित वर, ४४ वर्षीय तापस सामन्त, ३८ वर्षीय उज्ज्वल भोमिक, ३५ वर्षीय सन्दिप ढाव, ४१ वर्षीय सोमनाथ पाल, ४७ वर्षीय दीपक सामन्त, ४७ वर्षीय गोविन्दा दिण्डा र ४९ वर्षीय प्रोभास माझी रहेका छन् ।  उनीहरुबाट ४४४ तोला चाँदी समेत बरामद भएको प्रहरी उपरीक्षक ओलीयाले बताए । बरामद गरिएको सुनको बजार मूल्य ११ करोड १ लाख रुपैयाँ रहेको छ । पक्राउ परेकाहरूलाई बरामद सुन, चाँदी र नगदसहित आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइने प्रहरीले जनाएको छ ।

रसुवामा आएको बाढीले क्षति हुँदा बीमा दावी १ अर्ब रुपैयाँ पुग्यो, कुन कम्पनीमा कति ?

काठमाडौं । गत असार २३ गते रसुवामा अविरल वर्षा तथा बाढी पहिरोको क्षतिबाट उत्पन्न प्रारम्भिक बीमा दाबी १ अर्ब रुपैयाँ परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार साउन २२ गतेसम्म कुल ७८ बीमा दाबी बापत ९८ करोड ५९ लाख ८२ हजार रुपैयाँ माग गरिएको हो । त्यसमा ६ वटा सम्पत्ति बीमा, ९ वटा सामुद्रिक बीमा, ५ वटा इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा, १६ वटा मोटर बीमा (निजी) र ४२ वटा मोटर बीमा (सार्वजनिक) दाबी परेको छ ।  प्राधिकरणका अनुसार हिमालयन एभरेष्टमा ५५ करोड रुपैयाँ, शिखर इन्स्योरेन्स कम्पनीमा १६ करोड ९६ लाख ३० हजार रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनी ८ करोड ७३ लाख रुपैयाँ र सानिमा जिआइसीमा ६ करोड ८४ लाख ८२ हजार रुपैयाँ बराबरको बीमा दाबी भएको छ ।   प्राधिकरणका अनुसार नेको इन्स्योरेन्स ५ करोड ६७ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २ करोड ६५ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीमा ९१ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी ७६ लाख ७० हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीमा ४७ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर ३१ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्स २८ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । लेहेन्दे खोलामा आएको बाढीका कारण नेपाल-चीन सीमामा रहेको मितेरी पुल, भन्सार यार्डमा पार्किङ गरी राखिएका सवारीसाधन बगाएको थियो । यस्तै, रसुवागढी हाइड्रो पावरलगायत संरचनामा समेत बाढीले  क्षति पुगेको थियो ।