विकासन्युज

राष्ट्रिय बीमा कम्पनीको नाफा ४२.७६ कराेड रुपैयाँ, यस्ता छन् अन्य वित्तीय सूचक

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्ष २०८१ /८२ को चौथो त्रैमाससम्ममा ४२ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको नाफा घटेको छ । कम्पनीले गत आवमा जुन अघिल्लो आवको तुलनामा ३१.८३ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ६२ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड ४५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ६५ करोड ९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको कुल बीमा शुल्क आर्जन १०.०८ प्रतिशतले घटेको छ । समिक्षा वर्षमा कम्पनीको कम्पनीको खुद बीमा शुल्क आर्जन पनि घटेको छ । कम्पनीले गत आवमा २४ करोड ७४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३१ करोड १० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क २०.४५ प्रतिशतले घटेको छ ।  गत आर्थिक वर्षमा कम्पनीको रटेन्ड अर्निङमा २ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको महाविपत्ती कोषमा ६९ करोड २२ लाख, स्पेसल रिर्जभमा ३ अर्ब १५ करोड, र अन्य इक्विटीमा १० अर्ब ७० करोड रुपैयाँ रहेको छ ।

माबिलुङ्ग इनर्जीको आईपीओ खरिद गर्ने आज अन्तिम मौका

काठमाडौं । माबिलुङ्ग इनर्जीको आईपीओमा आवेदन दिने आज साउन २९ गते अन्तिम दिन रहेको छ । साउन २६ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १८ लाख ९० हजार ५३० कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ३ लाख ८५ हजार ८२४ कित्ता सेयर आयोजना प्रभावित क्षेत्र स्थानीय बासिन्दा र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ५० हजार ४७१ कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ ।  दोस्रो चरणमा १३ करोड ५४ लाख २३ हजार ५ सय रुपैयाँको १३ लाख ५४ हजार २३५ कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये ३० हजार ९५ कित्ता कर्मचारी, ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोष र बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

बिक्री आम्दानी बढेसँगै हिमालयन डिष्टिलरीको नाफामा १६१.१३ प्रतिशत उछाल

काठमाडौं । हिमालयन डिष्टिलरीको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा १६१.१३ प्रतिशत बढेर ९५ करोड ३२ लाख ६३ हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा ३६ करोड ५० लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  गत वर्ष कम्पनीको बिक्री आम्दानी ७३.३० प्रतिशत बढेर ७ अर्ब २० करोड ११ लाख ५० हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ४ अर्ब १५ करोड ५२ लाख ३६ हजार रुपैयाँ बिक्री आम्दानी गरेको थियो ।  गत वर्ष कम्पनीको कुल नाफा ७७.२८ प्रतिशत बढेर २ अर्ब १६ करोड ८६ लाख ६९ हजार रुपैयाँ, सञ्चालन नाफा १६६.७८ प्रतिशत बढेर १ अर्ब २८ करोड ९१ लाख ६६ हजार रुपैयाँ गरेको छ । कम्पनीको चुक्ता पुँजी १५ प्रतिशत बढेर ३ अर्ब ७ करोड ३४ लाख १ हजार रुपैयाँ र अन्य इक्विटी ६१.३२ प्रतिशत बढेर १ अर्ब १० करोड १६ लाख ५३ हजार रुपैयाँ रहेको छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी १७.२६ रुपैयाँ बढेर ३१.०२ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३५.८४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३९.८७ गुणा रहेको छ ।

समृद्धि फाइनान्स चौथो त्रैमासमा ३.१९ करोड नाफामा

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले प्रकाशन गरेको वित्तीय विवरणले सुधारको आशा देखाएको छ । लामो समयदेखि नोक्सानीमा रहेको फाइनान्सले चौथो त्रैमासमा ३.१९ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ । यस अवधिमा संस्थाको निक्षेप संकलन १३.७२ प्रतिशतले वृद्धि भएको छ भने कर्जा लगानी ९.६२ प्रतिशतले वृद्धि भएको छ । उच्च रुपमा रहेको निष्कृय कर्जा एकल अंकमा ल्याउन सफल भएको । अघिल्लो वर्षको सोही अवधिमा १९.९३ प्रतिशत रहेको निष्कृय कर्जा अनुपात यस अवधिमा ९.६६ प्रतिशतमा झरेको छ । प्रति सेयर आम्दानी ३.९० रुपैयाँ रहेको छ । सानो व्यवसाकिय आकारले गर्दा सञ्चालन नोक्सानीमा रहनु एवं उच्च मात्रामा निष्कृय कर्जा रहेकोमा क्रमिक रुपमा व्यवसाय वृद्धि गर्दै संस्था सञ्चालन मुनाफामा लैजाने दृढ अठोट संस्थाले लिएको छ । पोखरा फाइनान्स लि.सँग मर्जर सम्झौता गरेको फाइनान्सले आगामी दिनमा अझ दरिलो, विश्वासिलो एवं सुदृढ फाइनान्सको रुपमा स्थापित भई सेयरधनीलाई उच्चतम लाभांश प्रदान गर्ने अठोट लिएको छ ।

दक्षिण कोरियाको अदालतद्वारा पूर्वराष्ट्रपति युनकी श्रीमतीलाई पक्राउ गर्न वारेन्ट जारी

काठमाडौं । दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक-योलकी श्रीमती किम केओन–हीलाई पक्राउ गर्न वारेन्ट जारी गरेको छ । जसलाई विद्रोह र अन्य आरोपमा हिरासतमा राखिएको छ ।  स्वतन्त्र वकिल मिन जोङ–कीले अनुरोध गरेको सोल केन्द्रिय जिल्ला अदालतले पूँजी बजार ऐन, राजनीतिक कोष ऐन र मध्यस्थताको लागि घूस स्वीकार गर्ने कानूनको उल्लङ्घन गरेको आरोपमा वारेन्ट जारी गरेको हो । जसमा भनिएको छ कि यो कदम किमलाई प्रमाण नष्ट गर्नबाट रोक्नको लागि हो । किमलाई सियोलको सियोल दक्षिणी हिरासत केन्द्रमा जेल हालिएको थियो ।  जहाँ उनी आफ्नो हिरासतको अदालतको सुनुवाइमा उपस्थित भएपछि अदालतको निर्णयको पर्खाइमा थिइन् । देशको संवैधानिक इतिहासमा यो पहिलो पटक हो कि पूर्वराष्ट्रपति जोडीलाई एकैसाथ हिरासतमा ल्याइएको थियो । गत डिसेम्बरमा छोटो समयको लागि लगाइएको मार्शल ल लागू गरेकोमा विद्रोहको आरोपमा जुलाई १० देखि युनलाई छुट्टै हिरासत केन्द्रमा राखिएको छ ।  किममाथि स्टक मूल्य हेरफेरमा भाग लिएको, २०२२ को संसदीय उपचुनावमा उम्मेदवारहरूको मनोनयनमा हस्तक्षेप गरेको र व्यावसायिक पक्षको बदलामा युनिफिकेशन चर्चबाट विलासी उपहारहरू प्राप्त गरेको आरोप लगाइएको थियो ।   

अल्फा बिटा इन्स्टिच्युटले अन्तर-कलेज फुटसल प्रतियोगिता आयोजना गर्दै, १६ कलेजले भाग लिने

काठमाडौं । अल्फा बिटा इन्स्टिच्युटले भदौ ४ र ५ गते धुम्बाराहीस्थित सूर्य फुटसलमा अन्तर–कलेज फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । खेलप्रेमी विद्यार्थीलाई प्रोत्साहन दिने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा १६ कलेजका विद्यार्थी टोलीहरूको सहभागिता रहनेछ । आयोजकले विजेता टोलीलाई ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्ने जनाएको छ । अल्फा बिटाका मार्केटिङ म्यानेजर स्वरुप तिम्सिनाका अनुसार प्रथम हुने टोलीलाई रु। ६० हजार र द्वितीय हुने टोलीलाई ३० हजार नगद पुरस्कार दिइनेछ । साथै, उत्कृष्ट खेलाडीहरूलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । तिम्सिनाले खेलकुद विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने बताए । उनले यसपटकको प्रतियोगिता भव्य र व्यवस्थित हुने उल्लेख गर्दै खेल तालिका तथा सहभागी विद्यालयहरूको सूची सार्वजनिक भइसकेको जानकारी दिए । प्रतियोगिताको प्राविधिक पक्ष व्यवस्थित गर्न अनुभवी प्रशिक्षक, निर्णायक र रेफ्रीहरूको टोली खटाइनेछ । अल्फा बिटाको विश्वास छ कि यस्ता प्रतियोगिताले युवा पुस्तामा खेलप्रतिको रुचि बढाउने मात्र नभई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्नेछ । साथै, अन्तर–कलेज फुटसल प्रतियोगिता विद्यालयहरूबीच आपसी समझदारी, सहकार्य, मित्रता, सम्मान र प्रतिस्पर्धात्मक भावना निर्माण गर्ने उत्कृष्ट अवसर पनि हो । यस प्रतियोगितामा सहभागी १६ कलेजमा डीएभी कलेज, युनिग्लोब कलेज, बुढानीलकण्ठ स्कुल, युलेन्स स्कुल, द ब्रिटिश इन्टरनेशनल कलेज, डियरवाक कलेज, स्वस्तीश्री गुरुकुल, कान्जिरोवा कलेज, काष्ठमण्डप स्कुल, प्रिमियर इन्टरनेशनल आईबी वर्ल्ड स्कुल, काठमाडौं वर्ल्ड स्कुल, लिटिल एन्जल्स कलेज, ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ट्रिनिटी इन्टरनेशनल कलेज, जेभियर इन्टरनेशनल कलेज र सीसीआरसी रहेका छन् ।

कर्णालीमा जग्गा बाँझो राख्नेलाई जरिवाना

सुर्खेत । कर्णाली प्रदेशमा खेतीयोग्य जमिन बाँझो राख्नेलाई जरिवाना लाग्ने भएको छ । प्रदेश सरकारले आर्थिक ऐन, २०८२ मा त्यस्तो व्यवस्था गरेको हो । उक्त ऐनअनुसार १० रोपनीसम्म जमिन बाँझो राख्नेलाई रु ५००, दशदेखि २० रोपनी बाँझो राखेमा एक हजार, २० रोपनीभन्दा बढी बाँझो राखेमा रु एक हजार ५०० जरिवाना लाग्नेछ । यो ऐन प्रदेश राजपत्रमा प्रकाशित भएको छ । बाँझो जमिनमा खेती गर्नेलाई अनुदान र सहुलियतको व्यवस्था पनि गरिएको छ । प्रदेश सरकारले कर्जा सुविधा पनि उपलब्ध गराएको छ । पाँच हेक्टरभन्दा बढी जमिनमा खेती गर्नेको ऋणको सम्पूर्ण ब्याज प्रदेश सरकारले तिर्ने प्रबन्ध मिलाइएको छ । पाँच हेक्टरभन्दा कम क्षेत्रफलमा खेती गर्नेलाई पनि ७ देखि १० प्रतिशतसम्म ब्याज अनुदान दिइने व्यवस्था ऐनमा गरिएको छ ।

काठमाडौं प्रहरीमा बैंकिङ कसुरका मुद्दाका चाङ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंमा बैंकिङ कसुरका मुद्दाको चाङ लागेको छ । परिसर  प्रमुख विश्व अधिकारीका अनुसार बितेको एक वर्षमा दर्ता भएका १२ हजार ९१५ मुद्दामा छ हजार ५५३ मुद्दा बैंकिङ कसुरका छन् ।  सहकारी ठगी, अनुचित लेनदेन, विद्युतीय कसुर, साइबर अपराध र अभौतिक मुद्रासम्बन्धी अपराधका घटना बढेका छन् ।  परिसरमा दैनिक ३५ मुद्दा दर्ता हुने गरेका छन् ।  आव २०८०/८१ मा सहकारी ठगीका २६ मुद्दा दर्ता भएकामा आव २०८१/८२ मा ३२ मुद्दा परेका छन् । परिसरमा ज्यानमार्ने उद्योगका १४० मुद्दा दर्ता भएका प्रमुख अधिकारीले जानकारी दिए।