विकासन्युज

ट्रम्पको नोबेल सपना र अमेरिकाको आर्थिक यथार्थ

काठमाडौं । अगस्ट महिनाको सुरुमा नर्वेका अर्थमन्त्रीलाई ओस्लोको सडकमा एउटा फोन आयो । उक्त फोन चकित पार्ने खालको थियो । नर्वेजियन पत्रिका डागेन्स नाएरिङ्सलिभका अनुसार त्यो फोन गर्ने व्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प थिए । ट्रम्पले नर्वेका अर्थमन्त्री जेन्स स्टोलटेन्बर्गलाई सोधेको कुरा थियो– कसरी आफूलाई नोबेल शान्ति पुरस्कारका लागि नामांकन गराउन सकिन्छ ? ट्रम्पले सार्वजनिक रूपमा बारम्बार आफूले उक्त पुरस्कार पाउनुपर्ने इच्छा व्यक्त गरेका छन्् । कतिपयको भनाइमा यही चाहनाले उनलाई युक्रेन–रूसबीच शान्ति सम्झौता गराउने प्रयास र इजरायल–गाजामा ध्यान केन्द्रित गर्न प्रेरित गरेको हो । तर जुनमा उनले ट्रुथ सोसलमा लेख्दै गुनासो गरेका थिए, ‘मैले जे गरे पनि मलाई नोबेल शान्ति पुरस्कार दिइँदैन– चाहे रूस–युक्रेन होस् वा इजरायल–इरान । परिणाम जे भए पनि फर्किँदैन । तर जनताले थाहा पाएका छन् र त्यही नै मेरो लागि महत्त्वपूर्ण छ ।’ यो हप्ता ट्रम्पको अर्थतन्त्रमा पारिएको प्रभाव विशेष रूपमा चर्चामा रहनेछ, किनभने उनी सामेल हुन चाहेको नोबेल पुरस्कार विजेताहरूको समूह जर्मनीको लिण्डाउमा हुने वार्षिक कार्यक्रममा भेला हुँदैछ । यो बैठक ह्वाइट हाउसका लागि असहज हुने खालको हुनसक्छ । प्रसिद्ध नोबेल विजेता अर्थशास्त्री जोसेफ स्टिग्लिट्जले द गार्डियनलाई भनेका छन्, ‘संयुक्त राज्य अमेरिका लगानीका लागि डर लाग्दो ठाउँ बनेको छ ।’ उनले यस वर्ष भनेका थिए कि प्रशासनको ट्यारिफ नीतिले स्ट्यागफ्लेशन (आर्थिक सुस्ती/वृद्धि नहुने अवस्था) ल्याउने खतरा छ, जसले फेडरल रिजर्भलाई ‘स्पष्ट रूपमा चिन्तित’ बनाएको छ । लिण्डाउको कार्यक्रममा सहभागी हुने अर्का नोबेल विजेता रोजर मायरसन अमेरिकी राजनीतिबाट बढी चिन्तित छन् । उनले द हिलमा लेखेका छन्, ‘जब ठूलो संख्याका मतदाताले केवल एक मात्र पार्टीले आफूलाई ख्याल गर्छ भन्ने विश्वास गर्छन्, उनीहरूले प्रजातन्त्रमा कुनै सरोकार देख्दैनन्’ र आफ्नो नेतालाई असुविधाजनक संवैधानिक सीमा तोड्न समर्थन गर्छन् ।’ त्यस्तै, नोबेल विजेता साइमन जोनसनले पनि अमेरिकी पृथककतावादप्रति चिन्ता व्यक्त गरेका छन् । उनले नोबेल प्राइज कनभर्सेसन्स पोडकास्टमा भनेका छन्, ‘यसले मानव पूँजी नष्ट गर्दैछ र भू–राजनीतिक प्रतिस्पर्धीलाई ठूलो फाइदा दिँदैछ । यो ट्रम्प प्रशासनले गरेको आत्मघाती मूर्खतापूर्ण कदम हो ।’ राष्ट्रपति ट्रम्पका लागि यो सजिलो स्रोता समूह हुने छैन । तर उनको शान्ति पुरस्कारको प्रयासमा एक अप्रत्याशित समर्थक भने भेटिएका छन् । पूर्व डेमोक्र्याटिक प्रतिद्वन्द्वी तथा पूर्व प्रथम महिला हिलारी क्लिन्टनले हालै भनेकी छिन्– यदि उनले युक्रेन–रुस युद्धलाई ‘युक्रेनले आफ्नो भू–भाग आक्रमणकारीलाई सुम्पनुपर्ने अवस्थामा नपारीु अन्त्य गर्न सके’ म उनलाई नोबेल शान्ति पुरस्कारका लागि नामांकन गर्थें ।’

अर्थमन्त्रालय मातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर

काठमाडौं । अर्थमन्त्रालय मातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर भएको छ । गत सातामात्रै अर्थ मन्त्रालय मातहतका उच्चपदस्थसहित ८० भन्दा बढी कर्मचारीहरूको सरुवा गरिएको थियो । फेरि उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलकै इच्छामा शाखा अधिकृतहरूको पनि व्यापक रूपमा जिम्मेवारी हेरफेर गरिएको हो । रसुवागढी भन्सार कार्यालयमा कार्यरत रविन्द्र प्याकुरेललाई आन्तरिक विभाग मातहतका कार्यालयमा ल्याइएको छ । ठूला करदाता कार्यालय ललितपुरमा कार्यरत निर्मलकुमार मैनालीलाई राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगमा पठाइएको छ । यस्तै अन्य दर्जनौँ अर्थका अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको हो । यसअघि सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर भएको थियो । जसअनुसार वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानालाई अर्थ मन्त्रालय तानेर उनको ठाउँमा काजीबाबु कोईरालालाई पठाइएको थियो । यो सरकार बनेको १ वर्ष पुग्दै गर्दा अर्थमन्त्री पौडेलले भन्सार विभागमा एक वर्षमै चार जना महानिर्देशक फेरेका थिए । मन्त्री पौडेलले आफैंले महानिर्देशक बनाएका महेश भट्टराईलाई ६ महिनामै हटाए । भट्टराईलाई अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखामा सरुवा गरेर उनको ठाउँमा अर्थ मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख श्याम भण्डारीलाई महानिर्देशक बनाइयो । पौडेल २०८१ असार ३१ गते मन्त्री नियुक्त हुँदा विभागका महानिर्देशक ढुण्डीराज निरौला थिए । पौडेलले निरौलालाई एक महिनामै हटाएका थिए । निरौलालाई तत्कालीन अर्थमन्त्री वर्षमान पुनले २०८० चैत १९ गते महानिर्देशक नियुक्त गरेका थिए । पौडेलले निरौलाको स्थानमा २०८१ भदौ ६ गते हरिशरण पुडासैनीलाई महानिर्देशक बनाए । तर पुडासैनीलाई पौडेलले ६ महिना पनि काम गर्न दिएनन् । पुडासैनीको ठाउँमा फागुनमा भट्टराईलाई जिम्मेवारी दिइएको थियो । मन्त्री पौडेलका विश्वासपात्र मानिएका भट्टराईको पनि ६ महिनामै सरुवा गरिएको छ । अहिले उनलाई मन्त्रालयमै तानिएको छ । भण्डारीलाई भन्सार विभागको महानिर्देशक बनाउँदै पौडेलले मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको जिम्मेवारी टंकप्रसाद पाण्डेलाई दिएका छन् । भन्सार विभागका उपमहानिर्देशक जनकराज शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनाइएको छ । ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक रमेश अर्याललाई पनि मन्त्री पौडेलले आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेवारी दिएका छन् । अर्थमन्त्री पौडेलले सहसचिव भरतमणि पाण्डेलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गरेका छन् भने सहसचिव टंकनाथ लम्साललाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाएका छन् । पछिल्ला दिनहरूमा अर्थ मन्त्रालय मातहतका निकायहरूमा व्यापक सरुवा भइरहँदा बजेट कार्यान्वयनको मुखमा प्रभाव पर्ने खतरा बढेको जानकारहरूले बताएका छन् ।

सरकारले सुरु गरेको स्वर्णकल्प खुवाउने अभियान रोक्न निपासको आग्रह

काठमाडौं । बालबालिकालाई स्वर्णभस्म/स्वर्णकल्प खुवाउने सरकारी अभियान विरोध गरिएको छ । नेपाल पेडियाट्रिक सोसाइटी (निपास)ले हालसम्म उपलब्ध वैज्ञानिक प्रमाण नभएको भन्दै यो अभियान रोक्न माग गरेको छ ।  सोसाइटीले एक विज्ञप्ति निकाल्दै यो अभियान अगाडि नबढाउन भनेको छ । ‘स्वर्णभस्ममा बाल सुरक्षा, गुणस्तर र जोखिम तथा नियामक स्पष्टता अपर्याप्त देखिएको हुँदा शिशुहरूमा स्वर्णकल्प बाट 'प्रतिरक्षा प्रणालीको वृद्धि' हुने आधारको अभाव, हेवी मेटल (गोल्ड) सम्बन्धी जोखिम, र औषधी व्यवस्था विभागमा दर्ता व्याच–परीक्षण सार्वजनिक नभएका कारण यसमा हाम्रो असहमति छ,’ निपासले निकालेको विज्ञप्तिमा भनिएको छ ।  वैज्ञानिक प्रमाण, बाल–सुरक्षा र नियामक पारदर्शिता नआएसम्म यो अभियान स्थगित गर्न निपासले सरकार समक्ष आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको अगुवाइमा सरकारले देशका २५ वटा आयुर्वेदिक संस्थाहरूबाट स्वर्णकल्प खुवाउने कार्यक्रम राखेको छ । भदौ ५ गते स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सुदूरपश्चिमको धनगढी पुगेर स्वर्णकल्प खुवाउने कार्यक्रम सुरु गरेका थिए ।  सरकारले पहिलो चरणमा छ महिना देखि पाँच वर्ष उमेर समूहका बालबालिकाहरूलाई स्वर्ण विन्दु थोपा खुवाउन सुरु गरेको थियो । यो  कार्यक्रमका लागि करिब १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

शिक्षक महासंघ आजबाट पुनः आन्दोलनमा, माग पुरा नभए सडकबाट नफर्कने

काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक २०८० मा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै भदौ ९ (आज) देखि देशव्यापी आन्दोलन सुरु गर्ने भएको  छ । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विधेयकले शिक्षकहरूको सेवा-सुविधा, स्थायित्व र अधिकारलाई कमजोर बनाएको आरोप लगाएका छन् ।  गत वैशाखमा एक महिनासम्म चलेको आन्दोलन ९ बुँदे सहमतिपछि स्थगित भएको थियो, तर भदौ ६ मा प्रतिनिधिसभामा पेस भएको विधेयकमा ती सहमति कार्यान्वयन नभएको महासंघ पुनः आन्दोलनमा होमिएको अध्यक्ष सुवेदीले बताए ।  महासंघले २०७५, २०७८, २०८० र २०८१/८२ मा सरकारसँग भएका सहमति लागू गर्न, अस्थायी शिक्षकका लागि ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला पदपूर्ति (हालको ६० प्रतिशत–४० प्रतिशतको सट्टा), आवधिक बढुवा, म्याद सकिएको अध्यापन अनुमतिपत्रको नवीकरण, विद्यालय कर्मचारीको तलब र पद, बालकक्षा शिक्षकको सेवा, संस्थागत विद्यालयका शिक्षकको सुरक्षा, द्वन्द्वपीडित शिक्षकको उपदान र शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरणको विरोध गरेको छ ।  अध्यक्ष सुवेदीले आन्दोलनको पहिलो चरणमा भदौ ९ मा प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण गराउने बताए। भदौ ११ देखि २० सम्म राजनीतिक दलका केन्द्रीय कार्यालय, पालिका र जिल्लाहरूमा २ घण्टे धर्ना दिने बताए । भदौ २१ देखि दोस्रो चरणको कडा आन्दोलन, जसमा धर्ना, अवरोध र विरोध प्रदर्शन हुने महासंघले जनाएको छ। अध्यक्ष सुवेदीले शिक्षकहरूको आन्दोलन विद्यार्थीको गुणस्तरीय शिक्षा र शिक्षकको सम्मानको लडाइँ भएकोले माग पूरा नभए हामी सडकबाट फर्कन नसकिने बताए । 

हिमालयन लाइफ इन्स्योरेन्सले सम्पन्न गर्‍यो सम्पत्ति शुद्धीकरण निवारण कार्यक्रम

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार हिल्टन होटलमा आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक तथा सम्पत्ति शुद्धीकरण निवारण महाशाखा प्रमुख शाम्बराज लामिछाने र शाखा प्रमुख पदम सोडारीले जीवन बीमा कम्पनीहरूले सम्पत्ति शुद्धीकरण निवारणका क्षेत्रमा निर्वाह गर्नुपर्ने विविध जिम्मेवारीबारे जानकारी गराएका थिए । कार्यक्रममा निर्देशक लामिछानेले बीमा प्राधिकरणले हालै जारी गरेको ‘सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशिका, २०८२’ लाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरे । उनले हिमालयन लाइफले यसअघि सम्पत्ति शुद्धीकरण निवारणका क्षेत्रमा गरेका कामहरू प्रशंसनीय रहेको उल्लेख गर्दै अझ प्रभावकारी कार्य गर्न सुझाव पनि दिए । सो अवसरमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष शुलभ अग्रवालले कम्पनीले सम्पत्ति शुद्धीकरण निवारणलाई प्राथमिकतामा राखेर नीति–नियमअनुसार काम गरिरहेको बताए । साथै सञ्चालक समिति सदस्य प्रमिला केसी र प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले पनि यस विषयमा कम्पनी गम्भीर र प्रतिबद्ध रहेको प्रष्ट पारे । कार्यक्रममा कम्पनीका सञ्चालक समिति पदाधिकारी, सेयरधनी तथा उच्च व्यवस्थापकीय पदाधिकारीहरूको उपस्थिति थियो ।

एमजी गाडीमा पर्व अफर : ४ लाखसम्म छुट, इन्स्योरेन्स र चार्जिङ सुविधा नि:शुल्क

काठमाडौं । मोरिस गराजेज (एमजी) का नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले नजिकिँदै गरेका चाडपर्वहरूलाई लक्षित गरेर विशेष अफरको घोषणा गरेको छ । कम्पनीले  दसैँ, तिहार र छठलाई लक्षित गर्दै मोरिस गराजेज 'पाथ्स अफ स्माइल' नामक योजना घोषणा गरेको हाे । उक्त योजनाअन्तर्गत ग्राहकहरूले एमजीका गाडीहरू– एमजी४ ईभी, एमजी कमेट ईभी, एमजी जेडएस ईभी, एमजी एस५ ईभी, एमजी विन्डसर ईभी र एमजी आईएम६ ईभी खरिद गर्दा विशेष सुविधा पाउनेछन् । यस योजनाअन्तर्गत ग्राहकहरूले एमजीका सवारीसाधनहरू खरिद गर्दा ४ लाखसम्म छुट पाउनेछन् । त्यस्तै, हरेक गाडीको खरिदमा निःशुल्क कम्प्रिहेन्सिभ अटो प्लस इन्स्योरेन्स र निःशुल्क ३ किलोवाट वा ७ किलोवाट चार्जर कम्पनीले उपलब्ध गराउनेछ । यो योजना ६ भदौ २०८२ देखि १० कात्तिक २०८२ सम्म एमजीको नक्साल र थापाथलीस्थित शोरूमहरूमा मात्र लागू हुने बताइएको छ ।  प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनीलबहादुर क्षेत्रीले भने, 'पर्वहरू खुसी, एकता र उत्सवको समय हुन् । ‘पाथ्स अफ स्माइल’ योजनामार्फत हामी हाम्रो ग्राहकहरूको एमजी गाडीको अनुभवलाई अझ विशेष बनाउन चाहन्छौँ । आकर्षक छुट, निःशुल्क इन्स्योरेन्स र सजिलो चार्जिङ सुविधासहित यो पर्व, एमजी घर ल्याउने उत्तम अवसर हो ।' 'पाथ्स अफ स्माइल' योजनाले नेपालमा एमजीको प्रिमियम, नवीनतम र ग्राहक–केन्द्रित अनुभव दिने प्रतिबद्धता झल्काउने कम्पनी विश्वास छ । यस योजनामा सर्तहरू लागू हुने कम्पनीले जनाएको छ ।

ह्युन्डाई नेपालद्वारा ‘फेस्टिभ डिलाइट २०८१’ को विजेतालाई पुरस्कार हस्तान्तरण

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल, नेपालका लागि ह्युन्डाई गाडीका आधिकारिक वितरकले ‘फेस्टिभ डिलाइट २०८१’ योजनाको विजेतालाई बम्पर पुरस्कार हस्तान्तरण गरेको छ । यस योजनाअन्तर्गत विजेता बनेको कुवेरा कन्स्ट्रक्सन भदौ ८ गते आइतबार 'ल्याब्सपेरियन्स २०२५' को दोस्रो दिन नयाँ ह्युन्डाई भेन्यू १.२ हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । दशैं–तिहारलाई लक्षित गरी २०२४ अगस्ट २२ देखि नोभेम्बर ८ सम्म सञ्चालन गरिएको उक्त योजनामा सहभागी ग्राहकहरूले आकर्षक नगद छुट, अधिकतम १ लाख रुपैयाँसम्मको स्क्र्याच कार्डमार्फत नगद छुट, एक वर्षको सडक कर, एक वर्षको बीमा तथा एक्सचेन्ज बोनसजस्ता सुविधा पाएका थिए । ह्युन्डाई नेपालले विजेता कुवेरा कन्स्ट्रक्सनलाई बधाई दिंदै योजनामा सहभागी सबै ग्राहकप्रति आभार व्यक्त गरेको छ ।

सिद्धार्थ बैंकका ग्राहकलाई माया मनोर बुटिक होटेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र माया मनोर बुटिक होटेलबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार काठमाडौंको हात्तीसारस्थित माया मनोर बुटिक होटेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । बैंकले यो सहकार्यले ग्राहकलाई छुटको सुविधा प्रदान गर्नुका साथै नगद कारोबारलाई डिजिटल कारोबारतर्फ प्रवाहित गर्ने विश्वास लिएको जनाएको छ । यस सम्झौता सम्बन्धी थप जानकारीका लागि बैंकको २४ घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिनेछ ।