आज हरितालिका तीज पूजा आराधना गरी मनाइँदै, पुरुषले पनि लिनुपर्छ व्रत
काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्य युगमा हिमालय पुत्री पार्वतीले गौरी घाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । सोही मान्यताअनुसार वरदान विपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएको र पार्वती समस्यामा परेको थाहा पाएपछि साथीले हरण गरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको परेकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्म शास्त्रीय मत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्य युगमा आजैका दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ, तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् प्रा.डा रामचन्द्र गौतमले सुनाए । ‘निराहार, जलाहार र फलाहार गरी तीन किसिमका व्रत छन् । सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ,’ उनले भने, ‘‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनि मात्र व्रत गर भन्ने धर्म शास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुन्छ ।’ प्रा.डा रामचन्द्र गौतमले स्वास्थ्य ठीक नहुनेले गहुँ वा मकैको रोटी, स्याउ, सुन्तला, केराजस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने जानकारी दिए । श्रीमान्को दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका पूर्व प्रमुख समेत रहनुभएका उनले बताए । ‘अटल सौभाग्यको कामना, सन्तान प्राप्ति, अविवाहित केटी एवं केटाहरूले असल वर र बधू प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ,’ प्राडा गौतमले भने । नारीले परिवारको अभिभावकका रूपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा हाल केही नारी वादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्को भनाइ छ । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्म शास्त्रीको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्त्व छ । महिला/पुरुष दुवैले लिनुपर्छ हरितालिका (तीज) व्रत धर्म शास्त्रीय रूपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि व्रत बस्ने गरेको बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा, केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य अध्यक्ष प्रा डा देवमणि भट्टराई बताउँछन् । व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ । तीजको व्रत हिन्दु मात्रका लागि नभई मानव मात्रका लागि भएको कुरा धर्म शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि धर्मशास्त्रविद् प्रातोयराज नेपालले सुनाए । ‘अकरणे प्रत्यवाय श्रवणात् करणे फल श्रवणाच्च हरितालिका व्रत नित्यं काम्यं च भवति’ भनी धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएकाले पनि यस व्रतलाई संकुचित अर्थमा लिन नहुने पनि उनले बताए । जसको अर्थ यो व्रत नगर्दा दोष लाग्छ, गरेमा फल प्राप्त हुन्छ, यो व्रत नित्य र नैमित्तिक दुवै हो भन्ने हुन्छ । कालान्तरमा पुरुषले घर बाहिरको काम गर्ने र महिलाले गृह व्यवस्थापनका काम गर्ने प्रचलन बस्न थाल्यो । महिलाले घरलगायत धर्म कर्मका काम गर्न थालेपछि व्रत बस्ने जिम्मेवारी पनि दिइएको बुझिन्छ । प्रायः घरमा धर्म कर्मका काम महिलाले नै गर्छन् । यसैले पनि धेरै जसो महिलाले नै यो व्रत गर्ने गरेका देखिन्छन् । दुई भाग रात हुँदै दर खाइ सक्नुपर्ने यो व्रत सक्नेले निराहार बस्ने भएकाले सोमबार व्रतालुले मीठा मीठा परिकार दरका रूपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दुई भाग रात हुँदै दर खाइ सक्नुपर्ने शास्त्रीय विधान छ । महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरूले सार्वजनिक गर्दछन् । पछिल्लो समय तीजका नाममा उच्छृङ्खलता र तडकभडक आएको छ । एक महिना अघि देखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृति बनाइरहेको धेरैले बताउने गरेका छन् । यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद् एवं धर्मशास्त्रीको जोड छ । एक महिना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रूपमा यसका लागि तोकिएको छ । सोमबार दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तर्षिको पूजा गरी तीज समापन हुन्छ ।
वैशाखदेखि बन्द रहेको हेटौंडा सिमेन्टको पुनः उत्पादन सुरु
काठमाडौं । हेटौंडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । उद्योगका मेसिनहरू मर्मत सम्भार सकिएपछि आजदेखि उत्पादन सुरु गरिएको उद्योगका निमित्त महाप्रबन्धक इञ्जिनियर रामबाबु साहले बताए । मेसिनमा समस्या देखिएपछि गत वैशाखदेखि उद्योग बन्द भएको थियो । मेसिन मर्मत गरी कोइला व्यवस्थापन भएपछि उत्पादन सुरु गरिएको निमित्त महाप्रबन्धक साहले जानकारी दिए । ‘उद्योग चलाउन हामीलाई कोइलाको समस्या थियो । सिमेन्ट उत्पादन गरी बिक्री गरेर भुक्तानी गर्ने सर्तमा करिब एक हजार टन कोइला व्यवस्थापन गरेका छौँ । ‘कोइलाको व्यवस्थापनसँगै हामीले उत्पादन सुरु गरेका छौँ,’ उनले भने । विसं २०३३ मा हेटौंडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । तर आर्थिक समस्यालगायत कारण उद्योग बन्द हुने खुल्ने क्रम चलिरहेको छ । यसअघि गत वैशाख दोस्रो सातादेखि उद्योग सञ्चालन गरी करिब एक लाख बोरा सिमेन्ट उत्पादन गरेको थियो । उद्योगसँग धादिङको जोगीमारा तथा मकवानपुरको ओख्रे, मजुवा र भैँसे गरी चार ठाउँमा चुन ढुङ्गा खानी छ । पुरानो प्रविधि, उपकरण, बजारको अभाव, मूल्य समायोजन नहुनु, दरबन्दी अनुसार कर्मचारी नहुनु, प्रतिस्पर्धात्मक बजारलगायत समस्याका कारण उद्योग सञ्चालन गर्न कठिनाइ भइरहेको निमित्त महाप्रबन्धक साहको भनाइ छ ।
पशुपतिमा स्वास्थ्यकर्मी र एम्बुलेन्ससहित ७ सय जना परिचालन, राति २ बजेदेखि ड्युटी
काठमाडौं । तीजका लागि पशुपति क्षेत्रमा सशस्त्र प्रहरी बलको स्वास्थ्यकर्मी र एम्बुलेन्ससहित करिब ७ सय जनशक्ति परिचालन गरिने भएको छ । जसमध्ये १५० महिला सशस्त्र प्रहरी कर्मचारीहरू खटिने जनाइएको छ । दर्शनार्थीको सहजताका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीको कमाण्डमा आज राति २ बजेदेखि ड्युटी परिचालन हुने सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता कालीदास धौवजीले जानकारी दिए । पशुपति परिसरमा सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा कमाण्ड पोष्ट स्थापना गरिएको छ भने मेलाको सम्पूर्ण कमाण्ड नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले गर्ने उनको भनाइ छ । उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयहरूबाट एक सिफ्टमा तीन सयभन्दा बढी सशस्त्र प्रहरीको सुरक्षा फौज परिचालन हुने बताइएको छ ।
शिक्षक महासङ्घले बुझायो राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षणपत्र
काठमाडौं । नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक २०८० मा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै देशव्यापी आन्दोलन सुरु गरेको छ । महासङ्घले सोमबार प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षणपत्र बुझाएको हो। महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलनको पहिलो चरणअन्तर्गत ध्यानाकर्षण पत्र बुझाइएको जानकारी दिए । आन्दोलनरत शिक्षकहरूलाई नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले विद्यालय शिक्षा ऐनमा राम्रा कुराहरू पनि भएकोले तिनीहरूलाई स्वागत गर्न आग्रह गरे । उनले शिक्षकहरूका धेरै माग पुरा गरिएको र केही मागहरू भने सम्बोधन गर्न बाँकी रहेकोले आगामी दिनमा सम्बोधन गर्दै जाने बताए । सरकारलाई ठुलो आर्थिक भार नपर्ने खालका शिक्षकका मागहरू सम्बोधन गरेर अगाडि बढ्न सकिने उनको भनाइ छ । नेपाली काङ्ग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतक कृष्णबहादुर रोकायले अहिले शिक्षा विधेयक आउनु नै महत्त्वपूर्ण भएको बताए । सङ्घीयतालाई कार्यन्वयन गर्नको लागी विद्यालय शिक्षा ऐन, सङ्घीय निजामती ऐन र प्रहरी ऐन बन्न आवश्यक रहेको औंल्याउँदै उनले यो विद्येयक आउनु नै महत्त्वपूर्ण कुरा भएको दावी गरे । उनले विद्येयक अपरिवर्तनीय नभएकोले अभ्यास गर्दै जाँदा समस्या परेको अवस्थामा संशोधन गर्न सकिने बताए । महासङ्घले विद्यालय शिक्षा विधेयकले शिक्षकहरूको सेवा–सुविधा, स्थायित्व र अधिकारलाई कमजोर बनाएको जनाएको छ । शिक्षकहरूको गत वैशाखमा एक महिनासम्म चलेको आन्दोलन ९ बुँदे सहमतिपछि स्थगित भएको थियो, तर भदौ ६ मा प्रतिनिधिसभामा पेस भएको विधेयकमा ती सहमति कार्यान्वयन नभएको महासंघ पुनः आन्दोलनमा होमिएको महासङ्घका अध्यक्ष सुवेदीले बताए । महासङ्घले २०७५, २०७८, २०८० र २०८१/८२ मा सरकारसँग भएका सहमति लागू गर्न, अस्थायी शिक्षकका लागि ७५५ आन्तरिक र २५५ खुला पदपूर्ति (हालको ६०५–४०५ को सट्टा), आवधिक बढुवा, म्याद सकिएको अध्यापन अनुमतिपत्रको नवीकरण, विद्यालय कर्मचारीको तलब र पद, बालकक्षा शिक्षकको सेवा, संस्थागत विद्यालयका शिक्षकको सुरक्षा, द्वन्द्वपीडित शिक्षकको उपदान र शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरणको विरोध गरेको छ ।
होन्डाको दशैं योजना सार्वजनिक, यस्ता छन् अफर
काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले हिन्दूहरूको महान् चाड दशैंको अवसर पारेर आफ्ना ग्राहकहरूका लागि आकर्षक योजना ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ सार्वजनिक गरेको छ । यो योजना कार्तिक १४ गतेसम्म नेपाल अधिराज्यभरका सबै होन्डा शोरूमहरूमा लागू हुनेछ । यस योजनाअन्तर्गत ग्राहकहरूले होन्डा कारको खरिदमा विभिन्न आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन् । कम्पनीले ४ लाखसम्मको आकर्षक नगद छुटको व्यवस्था गरेको छ । यसका साथै ग्राहकहरूले ५ वर्षको लागि निःशुल्क सर्भिसिङ, १ वर्षको निःशुल्क फुल इन्स्योरेन्स, र १ वर्षको लागि सडक करमा छुट जस्ता सुविधा पनि पाउनेछन् । पुराना गाडीसँग नयाँ होन्डा साट्न चाहने ग्राहकहरूका लागि २५ हजार बराबरको एक्सचेन्ज बोनसको पनि व्यवस्था गरिएको छ । यसबाहेक ग्राहकहरूले हरेक गाडीको खरिदमा निःशुल्क एसेसरिज, २ वर्षको इन्जिन वारेन्टी, र एक पटकको लागि निःशुल्क रोडसाइड असिस्टेन्स जस्ता थप सुविधा पनि प्राप्त गर्नेछन् । यो योजना होन्डाका लोकप्रिय मोडेलहरू जस्तै होन्डा सिटी, सिटी ईःएचईभी, एलिवेट, अमेज, र सिटी फिफ्थ जेनेरेसन लगायतका गाडीहरूमा उपलब्ध हुनेछ। स्याकार ट्रेडिङ्ग कम्पनीले विगत लामो समयदेखि नेपाली बजारमा उच्च गुणस्तरीय गाडी र उत्कृष्ट ग्राहक सेवा प्रदान गर्दै आएको छ ।
ग्रीन डेभलपमेन्ट बैंकको १३ औं वार्षिकोत्सव सम्पन्न
पोखरा । ग्रीन डेभलपमेन्ट बैंक १२ वर्ष पुरा गरी सोमबारबाट १३ औं वर्षमा प्रवेश गरेको छ । बैंकले वार्षिक उत्सवको अवसरमा आज बिहान ८ः०० बजे बैंकको केन्द्रीय कार्यालय, न्यूरोड पोखरामा लायन्स क्लव अफ भद्रकालीको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । साथै यसै अवसरमा श्री रत्न शोभा माध्यामिक विद्यालयका आर्थिक रुपले विपन्न तथा जेहन्दार विद्यार्थीहरुलाई जुत्ता वितरण गरिएको थियो । बैंकले अनवरत रूपमा साथ एवं सहयोग प्रदान गर्ने बैंकका समस्त संस्थापक, अग्रज एवम् सेयरधनी, ग्राहक, नियामक निकाय, कर्मचारीलगायत अन्य सरोकारवालाप्रति कृतज्ञताका साथै धन्यवाद ज्ञापन गरेको छ । यस बैंकले हाल बाग्लुङ, म्याग्दी, कास्की, तनुहुँ र नवलपुर जिल्लाका १५ वटा शाखा कार्यालयमार्फत ग्राहकसमक्ष बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
एमक्यूब र बीवाइडीको सहकार्यमा काठमाडौं क्रोनिकल्सको घोषणा
काठमाडौं । नेपालको सौन्दर्य, इतिहास र संस्कृतिलाई उजागर गर्ने उद्देश्यसहित सुरु गरिएको 'काठमाडौं क्रोनिकल्स' एक अनौठो र रमाइलो अनुभवका रूपमा सार्वजनिक गरिएको छ । एमक्यूब नेपाल अन्तर्गत म्यारियट काठमाडौंद्वारा हरेक वर्ष आयोजना हुने रिट्रिट स्वरूप ल्याइिएको यो पहलले सहकार्य र सम्बन्धलाई सम्मेलन हलमा मात्र सीमित नराखी नेपालको जीवित सम्पदासम्म पुर्याउने प्रयास गरेको हो । कार्यक्रम विशेष रूपमा म्यारियटका एमआइसी (मीटिङ, इन्सेन्टिभ, कन्फरेन्स र एक्जिबिसन) पार्टनर र सरोकारवालाहरूका लागि तयार पारिएको हो । यसले आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै काठमाडौंको सांस्कृतिक सम्पदालाई पर्यटकीय यात्रामार्फत चिनाउने लक्ष्य राखेको आयोजकहरूले जनाएका छन् । काठमाडौं क्रोनिकल्सको मुख्य आकर्षण भनेकै उपत्यकाका तीन प्रमुख सम्पदा स्थलहरू काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर र स्वयम्भूनाथमा आयोजना गरिने 'ट्रेजर हन्ट' हो । सहभागीहरूलाई बीवाइडीका गाडीमार्फत यी स्थलहरूमा पुर्याइनेछ, जहाँ उनीहरूले पजल समाधान गर्ने, टास्क पूरा गर्ने र ऐतिहासिक स्थलका कथालाई जीवन्त तरिकाले अनुभव गर्ने अवसर पाउनेछन् । यो अनुभवले काठमाडौंलाई अन्तर्राष्ट्रिय स्तरमा एमआइसी गन्तव्यका रूपमा प्रस्तुत गर्दै यहाँका व्यवसायिक सम्मेलनलाई सांस्कृतिक पर्यटनसँग जोड्न सकिने प्रमाणित गर्ने आयोजकहरूको विश्वास छ । ऐतिहासिक चौतारोदेखि प्राचीन मन्दिरसम्म, प्रत्येक स्थल सहभागीका लागि रमाइलो गर्ने, ज्ञान साटासाट गर्ने र टिम स्पिरिट जगाउने अनौठो अनुभवमा परिणत हुनेछ । कार्यक्रम म्यारियट काठमाडौंबाट सुरु भई फेयरफिल्ड बाइ म्यारियटमा समापन हुनेछ । समापन समारोहमा विजेता टोलीलाई 'काठमाडौं एक्सपर्ट्स' को उपाधि प्रदान गरिनेछ । एमक्यूब र बीवाइडीबीचको यस सहकार्यले सहभागीलाई केवल मीठा सम्झनाहरू मात्र नभई काठमाडौंलाई सम्पदा र अतिथ्यको सहरका रूपमा चिन्ने नयाँ दृष्टिकोण समेत प्रदान गर्ने अपेक्षा गरिएको छ ।
गण्डकी विश्वविद्यालयमा नयाँ संरचना बन्दै
गण्डकी । गण्डकी विश्वविद्यालयले चार करोड १५ लाख २४ हजार रुपैयाँको लागतमा परीक्षा नियन्त्रण कार्यालयको भवन निर्माण कार्य सुरु गरेको छ । गण्डकी प्रदेश सरकारको लगानीमा पोखरा महानगरपालिका–३२ मालेपाटनमा परीक्षा नियन्त्रण कार्यालय निर्माण गर्न लागिएको हो । निर्माणाधीन सो भवनको एक कार्यक्रमबीच गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले आज शिलान्यास गरे । समयमा नै गुणस्तरीय भवन निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन दिँदै उनले गण्डकी विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाएर आधुनिक प्रविधियुक्त शैक्षिक थलोका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । विश्वविद्यालयको जग्गा प्राप्त गर्न स्थानीयवासी र वडाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री थापाले निर्माणाधीन भवन गुणस्तरयुक्त र अपाङ्गतामैत्री हुनुपर्ने आवश्यकता औँल्याए । विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले विश्वविद्यालयले शिक्षा, स्वास्थ्य, रोजगार र समाजिक उत्तरदायित्वमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे । स्रोत जुटाउँदै विश्वविद्यालयलाई अगाडि बढाउन आफू सदैव प्रयत्नशील रहेको उनको भनाइ थियो । भवन निर्माणसँगै परीक्षा प्रणालीलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने उनले धारणा राखे । पोखरा महानगरपालिका–३२ का वडाअध्यक्ष अक्कलबहादुर कार्कीले विश्वविद्यालयको उन्नयनका लागि स्थानीय तहबाट गर्नुपर्ने साथ सहयोग निरन्तर गर्दै आएको उल्लेख गर्दै आपसी सहयोग र समन्वयबाट अघि बढ्नुपर्नेमा जोड दिए ।