१३ गते भूमि र २६ गते शिक्षा विधेयक पारित गर्ने तयारी
काठमाडौं । प्रतिनिधि सभाले भदौ महिनामा महत्वपूर्ण विधेयकहरू पारित गर्ने तयारी गरेको छ । शुक्रबार (भदौ १३ गते) बस्ने बैठकमा भूमि सम्बन्धी विधेयक पारित गर्ने कार्यसूची तय गरिएको छ । सभामुख देवराज घिमिरेले बिहीबार प्रमुख सचेतकहरूसँग बैठक कार्यसूचीबारे छलफल गरेका थिए । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार भूमि सम्बन्धी विधेयक पारित गरी राष्ट्रिय सभामा पठाइनेछ । सोही बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका पनि रहेको छ । भदौ १८ र १९ गते बस्ने बैठकमा नागरिकता सम्बन्धी विधेयक तथा राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी विधेयक पारित गर्ने तयारी भएको छ । यस्तै, १७ गते राष्ट्रिय सभाबाट संघीय निजामति सेवा विधेयक सन्देशसहित फिर्ता आएमा १८ गते टेबुल र १९ गते पारित गरिने योजना छ । यसबाहेक, प्रतिनिधि सभाको अर्को बैठक भदौ २५, २६ र २७ गते बस्नेछ । यस अवधिमा विशेष गरी विद्यालय शिक्षा विधेयक पारित गर्ने तयारी गरिएको छ । शिक्षा विधेयकलाई भदौ २६ गते पारित गर्नेगरी कार्यतालिका तय भएको प्रमुख सचेतक बर्तौलाले जानकारी दिए । उनका अनुसार भदौ महिनाभर प्रतिनिधि सभाले संघीयता र सुशासनसँग सम्बन्धित महत्वपूर्ण विधेयकहरू पारित गर्नेछ ।
स्काईलाईन ईन्फ्राले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा हिमालय सेक्युरिटिज बैंकर
काठमाडौं । स्काईलाईन ईन्फ्रा लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा हिमालय सेक्युरिटिज बैंकर लिमिटेडलाई नियुक्त गरेको छ । यससम्बन्धी सम्झौता स्काईलाईन ईन्फ्रा र हिमालय सेक्युरिटिज बैंकरबीच सम्पन्न भएको हो । सम्झौताले कम्पनीलाई नयाँ व्यवसायिक यात्रा सुरु गर्न तथा विस्तारमा सहयोग गर्ने अपेक्षा गरिएको छ । सम्झौतामा स्काईलाईन ईन्फ्राको तर्फबाट अध्यक्ष प्रतीक अग्रवालसहित सञ्चालक, संस्थापक तथा प्रमुख वित्त अधिकृतको सहभागिता थियो भने हिमालय सेक्युरिटिज बैंकरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष बहादुर श्रेष्ठ र नायब महाप्रबन्धक शंकर राजबाहकले हस्ताक्षर गरेका छन् ।
बर्सातमा जहिल्यै हिलाम्मे पृथ्वीराजमार्ग, आवतजावतमा सकस
मलेखु । कतै पिच, कतै ढलान झट्ट हेर्दा कस्तो राम्रो सडक बनेछ भन्ने लाग्न सक्छ । तर ठाउँठाउँमा पहिरो, धुलो, हिलो र खाल्डाखुल्डीले दिने सास्तीले फेरी यात्रुले देखेजस्तो रहेनछ भन्ने अनुभूति गर्छन् । विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गमा पानी परेको बेला कतिखेर कहाँनेर पहिरोले बाटो थुनिने हो पत्तो हुँदैन । डोजरले खारिएका भित्ताबाट झर्ने ढुङ्गामुढाबाट जोगिन धौधौ पर्छ । काठमाडौंदेखि धादिङ सम्मको माइक्रोबस चालक विकास श्रेष्ठ भन्छन्, 'हिजोआज त सडकको खाल्डोमा भन्दा आँखा पहिरो झर्ने ठाउँमा पुर्याउनुपर्छ ।' बुधबारदेखि यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ । ठाउँ ठाउँमा स–साना पहिरोले सडक थुनिने र सञ्चालन हुने क्रम चलिरहेको छ । घण्टौँ कुर्नुपर्ने गरी भने सडक थुनिएको छैन । त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडक खण्ड र पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड बर्खा लागेसँगै जोखिमपूर्ण छ । सडक फराकिलो बनाउन काटिएका भित्ताबाट खसेको स–साना पहिरोले अधिकांश सडक हिलाम्मे र धुलाम्मे हुने गरेको छ । आधा काम गरेर बाँकी रहेको स्थानका खाल्डाखुल्डीले साना ठूला सबै सवारी साधन गुडाउन गाह्रो छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमाल भन्छन्, 'पृथ्वी राजमार्ग यतिबेला जोखिमपूर्ण छ । तर, हिँड्नै नसक्ने अवस्थाको छैन ।' पहिरो र गेग्रानले सडक छियाछिया छ । सडकमा हरेकले चालक होसियार भएर ट्राफिक नियमको पालना गर्ने होभने मात्र सम्भावित दुर्घटनाबाट जोगिन सकिन्छ । मोटरसाइकल र स्कुटरलाई यो सडक पार गर्न निकै कष्ट छ । घाम लागेको बेला अधिकांश स्थान धुलाम्मे हुन्छ । पानी प¥यो भने त्यही धुलो लेदोमा परिणत भएर चिप्लो हुने गर्छ । 'कहीँकतै असहज अवस्था सिर्जना नहोस्, विपद् नपरोस्, परिहालेछ भने धनजनको क्षति हुन नदिन चौबिसै घण्टा हामी खटिरहेका छौंँ', जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले भने । नागढुङ्गा नौबिसे क्षेत्रका पहिरो पूर्ण रुपले थामिएका छैनन् । कृष्णभीरदेखि मुग्लिनसम्मको सडकमा जुनकुनै ठाउँमा जुनकुनै बेला पहिरो झर्न सक्ने जोखिम छ । नागढुङ्गादेखि मुग्लिनसम्म ९६ किलोमिटर राजमार्गमा हरेक समय कही न कही सडक एकतर्फी बन्छ । निर्माणधीन पुल र सवारी एकतर्फी हुनसक्ने साँघुरा स्थानको दुबैतर्फ प्रहरी तैनाथ गरेर चालकलाई सजग गराइरहेको श्रेष्ठले जानकारी दिए । नागढुङ्गाको चेकपोष्ट पृथ्वी राजमार्गमा दैनिक कति सवारी काठमाडौं भित्रिन्छन् र कति बाहिरिन्छन् यकिन तथ्याङ्क छैन । सामान्य अवस्थामा दैनिक १३ हजार र चाडपर्वको बेला २० हजारसम्म सवारी आउजाउ हुने प्रहरीको अनुमान छ । रासस
मिड सोलु हाइड्रोपावरको लाभांश घोषणा
काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को १५ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस र ०.७८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश आगामी चौथो वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण गरिने कम्पनीले जनाएको छ ।
कोटबारी होटलमा नेपाल बैंकका ग्राहक तथा कर्मचारीलाई छुट
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका नगरपालिका ०७ स्थित रहेको रिसोर्ट कोटबारीबीच छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । बुधबार बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र कोटबारी होटलको तर्फबाट महाप्रबन्धक आनन्दसिंह ठकुरीले हस्ताक्षर गरे । सम्झौतापश्चात नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र कर्मचारीको परिवार र बैंकमा खाता रहेका ग्राहकहरूलाई रिसोर्टका विविध सेवामा लाग्ने शुल्कमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुनेछ।
पिटर नवारोको आरोप– भारतले रुसलाई वित्तीय सहयोग गरिरहेको छ
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पीटर नवारोले भारतले रूसको युद्धलाई वित्तीय सहयोग गरिरहेको आरोप लगाएका छन् । साथै उनले यस युद्धलाई ‘मोदीको युद्ध’ समेत भने । नवारोले बुधबार ब्लूमबर्ग टेलिभिजनको कार्यक्रममा भनेका छन्, ‘यदि भारतले रूसी तेल किन्ने काम बन्द गर्छ भने उसले २५ प्रतिशत छुट पाउन सक्छ ।’ ‘मोदी एक महान नेता हुन्, भारत एक परिपक्व लोकतन्त्र हो, तर पनि उनीहरू हामीलाई सिधा हेरी भन्छन् कि उनीहरूको देशमा विश्वकै सबैभन्दा बढी ट्यारिफ छैन, जबकि वास्तविकता त्यस्तो छैन,’ उनले थपे । पिटर नवारोले रुसले भारतको पैसा आफ्नो युद्ध मेसिन चलाउन प्रयोग गर्ने र बढी युक्रेनी मारिने पनि बताए । साथै उनले अमेरिका र युरोपकोमा आएर युक्रेनले पैसा माग्ने पनि बताए । ‘यसरी अमेरिकी जनतालाई नोक्सान हुन्छ किनभने हामी मोदीको युद्धलाई फन्ड गर्न बाध्य हुन्छौं,’ उनले भने । ‘जब भारतले सस्तो रूसी तेल किन्छ र भारतीय रिफाइनरीहरूले रूसी रिफाइनरीसँग मिलेर त्यसलाई विश्वका अन्य ठाउँमा महँगो मूल्यमा बेच्छन्, तब प्रत्येक अमेरिकी नागरिकको नोक्सान हुन्छ,’ उनले थपे ।
हिमस्टार उर्जा कम्पनीको सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमस्टार उर्जा कम्पनी लिमिटेडको सेयर सूचीकृत भएको छ । बिहीबार कम्पनीकाे ३७ लाख ३० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत गरिएको हो । यसमा सर्वसाधारणलाई बिक्री गरिएको ११ लाख १९ हजार कित्ता र संस्थापक सेयरधनीले लगानी गरेको २६ लाख ११ हजार कित्ता सेयर समावेश छन् । कम्पनीको सेयर आगामी भदौ ११ गते देखि नेप्सेमा कारोबार हुनेछ । पहिलो कारोबारका लागि नेप्सेले ९९ रुपैयाँ १७ पैसा देखि २९७ रुपैयाँ ५१ पैसासम्मको ओपनिङ रेञ्ज तोकेको छ । यसै आधारमा आइतबारको स्पेशल प्रि–ओपन सेसनपछि नियमित बजारमा कारोबार सुरु हुनेछ ।
दक्षिण कोरियाली कम्पनीले नेपालमा हरित हाइड्रोजन र फ्युल सेल प्लान्ट स्थापना गर्ने
काठमाडौं । नेपालमा कोरियन कम्पनीले हरित हाइड्रोजन र फ्युल सेल प्लान्ट स्थापना गर्ने भएको छ । लगानी बोर्ड नेपाल र दक्षिण कोरियाको जी–फाइलोस को–अपरेटिभ लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भयो बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा दुई पक्षबीच विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयारी गर्न सहमति भएको हो । यो परियोजना सफल भएमा नेपालमा पहिलोपटक हरित हाइड्रोजन उत्पादन र फ्युल सेल प्रविधि भित्रन सक्नेछ । सम्झौताअनुसार कोरियाली कम्पनीले प्रविधि, अनुभव र लगानीका सम्भावनाहरू प्रस्तुत गर्नेछ भने लगानी बोर्ड नेपालले आवश्यक नीतिगत तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ । हरित हाइड्रोजनलाई भविष्यको शुद्ध ऊर्जा स्रोत मानिँदै आएको छ, जसले नेपालमा नवीकरणीय ऊर्जाको दायरा थप विस्तार गर्ने अपेक्षा गरिएको छ । यस परियोजनाले नेपालमा वातावरणमैत्री उद्योग विस्तार, रोजगार सिर्जना र दिगो उर्जा सुरक्षामा योगदान पु¥याउने विश्वास गरिएको छ । लगानी बोर्डकाअनुसार फिलोसले सात अर्ब बढी लगानीको प्रश्ताव गरेको छ । जसमा कम्पनीले ग्रिन हाइड्रोजन अध्ययन लगायतका काम गर्नेछ । कम्पनीले २० मेगावाट क्षमताबाट हाइड्रोजन उत्पादन सुरु गर्नेछ । कम्पनीले कहाँ प्लान्ट बनाउने यकिन भइसकेको छैन । ग्रिन हाइड्रोजन प्लान्ट स्थापनाको लागि आएको यो पहिलो विदेशी लगानीसम्बन्धी प्रस्ताव हो । उक्त प्लान्टले नेपालको खेर जाने जलविद्युत्बाट प्रयोग गरी इलेक्ट्रोलाइसिस विधि (पानी र विद्युतको रासायनिक प्रक्रिया) मार्फत हरित हाइड्रोजन उत्पादन गर्ने लक्ष्य राखेको छ । उत्पादित ग्रिन हाइड्रोजनलाई स्टिल तथा मल उद्योग, अमोनियम नाइट्रेट उत्पादन एवं भण्डारणमा गर्न सकिनेछ । जेठ १३ मा बसेको लगानी बोर्डको ६३ औं बैठकले उक्त कम्पनीलाई नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको पाइलट प्लान्ट र फ्युल सेल प्लान्ट स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययनको अनुमति दिएको थियो । एमओयुकार्यक्रममा लगानी बोर्डका सीईओ सुशील ज्ञवाली, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतको उपस्थिति रहेको थियो।