विकासन्युज

प्रभु बैंकलाई 'नेपालको उत्कृष्ट डिजिटल एसएमइ बैंक' उपाधि

काठमाडौं । प्रभु बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित युरोनोमि एक्सीलेन्स अर्वाड २०२५  प्राप्त गरेको छ । यस पुरस्कार अन्तर्गत प्रभु बैंकलाई  नेपाल बेस्ट डिजिटल बैंक फर एसएमइको रुपमा सम्मानित गरिएको हो । यस उपलब्धिले प्रभु बैंकले साना तथा मझौला उद्यमीहरूलाई डिजिटल सेवामार्फत प्रदान गर्दै आएको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त भएको पुष्टि गरेको छ । यसअघि पनि प्रभु बैंकले बैंक अफ द इयर २०२३ जस्ता महत्वपूर्ण पुरस्कारहरू जितिसकेको छ । बैंकले ग्राहकमैत्री डिजिटल सेवा, सहज पहुँच र व्यवसायिक पारदर्शिताका कारण निरन्तर यस्ता अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ ।

नाडामा भाँडभैलोः विशेष साधारणसभा स्थगित, प्रशासनको हस्तक्षेप विरुद्धअदालत जाने तयारी

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) भित्रको आन्तरिक कलह छताछुल्ल भएको छ । भदौ २४ गतेका लागि बोलाइएको नाडाको विशेष साधारण सभा जिल्ला प्रशासन कार्यालय काठमाडौंले रोक्न निर्देशन दिएको छ । नाडालाई महासंघ बनाउने महत्वाकांक्षी एजेण्डा लिएर अगाडि बढेका वर्तमान नेतृत्वलाई यो निर्देशनले ठूलो झट्का लागेको छ भने संस्थाको भविष्य थप अन्योलग्रस्त बनेको छ । नाडाभित्र झाङ्गिदै गएको विवाद विशेष साधारण सभाको स्थगनले नयाँ मोडमा प्रवेश गरेको छ ।  विशेष गरी ४७ औं वार्षिक साधारण सभाबाट पारित विधान संशोधनको विषयमा तत्कालीन अध्यक्ष ध्रुव थापा र वर्तमान अध्यक्ष कर्ण चौधरी पक्षबीच लामो समयदेखि किचलो चल्दै आएको छ । निवर्तमान अध्यक्ष ध्रुव थापा र वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा लगायतका ९ जना कार्यसमिति सदस्यहरुले नाडाको वर्तमान नेतृत्वले मनोमानी ढंगले संस्था चलाएको, विगतका निर्णयहरु कार्यान्वयन नगरेको र विधान मिचेर काम गरेको आरोप लगाउँदै आएका छन् ।  उनीहरुको मुख्य आपत्ति ४७ औं साधारण सभाले पारित गरेको विधान संशोधनलाई जिल्ला प्रशासन कार्यालयबाट विधिवत दर्ता नगराइएको र सोही कारणले आकाश गोल्छालाई वरिष्ठ उपाध्यक्षबाट सदस्य पदमा घटुवा गरिएको विषयमा छ ।  ‘हामीले पहिला भएकै विधान संशोधन नगरिकन किन जाने भनेर गयौं,’  ध्रुव थापाले भने, ‘गृहकार्य नै नगरी हतारमा महासंघमा लैजाने कुरा गरियो, जसले नाडालाई झन् ड्यामेज गर्थ्याे ।’ जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ १६ गते नाडालाई पत्र लेख्दै तत्कालका लागि विशेष साधारण सभा रोक्न निर्देशन दिएको छ । प्रशासनले नाडालाई गैरकानुनी तरिकाले विशेष साधारण सभा बोलाइएको भन्दै उजुरी परेको जानकारी गराएको छ ।  प्रशासनले नाडा नेतृत्वलाई विधान बमोजिम वार्षिक साधारण सभा नबोलाई किन विशेष साधारण सभा बोलाइएको, पटक/पटक छलफल गर्दा पनि विवाद समाधान नहुनुको कारण के हो भन्दै स्पष्टीकरण समेत सोधेको छ ।  विशेष साधारण सभा बोलाउनका लागि गरिएका निर्णयहरूसहित ७ दिनभित्र कार्यालयमा उपस्थित हुन र हाल गर्न लागिएको भनिएको विशेष साधारण सभा स्थगित गर्न निर्देशन दिइएको छ ।  महासंघ बनाउने सपनामाथि प्रशासनको ब्रेक  नाडाको वर्तमान नेतृत्वले भदौ ८ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट नाडालाई महासंघमा रूपान्तरण गर्ने निर्णय गरेको थियो । यसै एजेन्डासहित भदौ २४ गते विशेष साधारण सभा डाकेको थियो । तर, जिल्ला प्रशासनको निर्देशनले यो प्रक्रियामाथि पूर्णविराम लागेको छ ।  ध्रुव थापाका अनुसार सिडिओ कार्यालयले कुनै पनि संघलाई महासंघमा लग्न नमिल्ने र यदि नाडालाई महासंघ बनाउने हो भने यसलाई पहिला विघटन गर्नुपर्ने र यसका सबै सम्पत्ति सरकारमा जाने जानकारी गराएको छ ।  ‘सिडिओले रोकिदिएको छ,’ थापाले भने, ‘यसले गर्दा झन् नाडालाई ड्यामेज हुन्थ्यो । कानुनी सल्लाह नलिकन हतारमा निर्णय गरिएको हो ।’ यस्तै, आकाश गोल्छाले नाडालाई महासंघमा लैजाने वर्तमान कार्यसमितिको प्रयास कानुनसम्मत नभएको र आफूलाई उपाध्यक्ष पदबाट हटाएकोबारे उनीहरुले स्पष्टीकरण नदिएको आरोप लगाए ।  उनले भने, ‘मैले आफूलाई पदबाट किन हटाएको हो भनेर स्पष्टीकरण खोजिरहेको छु । हालसम्म कसैले यसको जफाव दिएको छैन् । नाडाभित्र मनोमानी चलिरहेको छ । ’ साधारणसभाबारे आफूहरुमा कुनै छलफल नै नभएको गोल्छाको भनाइ छ ।  यस विषयमा अध्यक्ष करण चौधरीलाई बुझ्दा उनले आफु पोखरा रहेको बताए । यो प्रसंगबारे उनले महासचिव सुरेन्द्र उप्रेतीलाई सोध्न आग्रह गरे । सुरेन्द्र उप्रेतीलाई हामीले बारम्बार सम्पर्क गर्दा उनको फोन नै उठ्न सकेन् ।  अदालत जाने तयारी विशेष साधारण सभा स्थगित भएपछि असन्तुष्ट पक्ष थप सशक्त बनेको छ । ध्रुव थापाको नेतृत्वमा रहेका ९ जना कार्यसमिति सदस्यहरुले संयुक्त विज्ञप्ति जारी गर्दै संस्थालाई महासंघमा लैजाने निर्णय असामयिक र संस्थाको हित विपरीत रहेको बताएका छन् ।  विज्ञप्तिमा भनिएको छ, ‘संस्थाको नियमित वार्षिक साधारण सभा हुन जम्मा बढीमा चार महिना मात्र बाँकी छ, तर त्यसो नगरी आफ्नो कार्यकाल लम्ब्याउने दुषित मनसाय राखी वार्षिक साधारण सभालाई बाइपास गर्दै तदर्थ समिति गठन गर्ने उदेश्यले संस्थालाई महासंघमा लैजाने निर्णयार्थ भन्दै विशेष साधारण सभा बोलाइएको जुन सम्बन्धित सबैलाई गुमराहमा पार्ने प्रपन्च भएको महसुस गरेका छौं ।’ उनीहरुले जिल्ला प्रशासन कार्यालयबाट ४७ औं साधारण सभाको निर्णयलाई मान्यता नदिएमा अदालत जाने चेतावनी समेत दिएका छन् । ‘यदि जिल्ला प्रशासन कार्यालयबाट ४७ औं साधारण सभाको निर्णय कार्यान्वयन तर्फ अगाडि बढे नभने हामी अदालत जान्छौं,’ थापाले भने ।  विज्ञप्ति जारी गर्ने ९ जना कार्यसमिति सदस्यहरुमा ध्रुव बहादुर थापा नाडाका निवर्तमान अध्यक्ष, आकाश गोल्छा वरिष्ठ उपाध्यक्ष, कार्य समिति सदस्यहरू निराकार श्रेष्ठ, सुनिल रिजाल, यमुना श्रेष्ठ, सञ्जय खेतान, प्रदिपमान प्रधान, सोहन श्रेष्ठ, सौरभ थापा रहेका छन् । नाडाभित्रको यो विवादले अटोमोबाइल व्यवसायीहरुमा चिन्ता बढाएको छ । 

मल्टीपर्पस फाइनान्सको सीईओमा पुन: रजनीश कुमार सिंह नियुक्त

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन: रजनीश कुमार सिंह नियुक्त भएका छन् । भदौ १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सिंहलाई सिईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई ४ वर्षको लागि भदौ २५ गतेदेखि लागु हुने गरी पुन: नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

काठमाडौं । सिन्धुपाल्चोकको तारामराङ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । मङ्गलबार राति ११ बजेर २३ मिनेटमा चार म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका  जिल्लाहरुमासमेत अनुभव गरिएको थियो । मङ्गलबार बिहान ६ः१५ मा पनि गोरखाको अजिकोट–३ हंशपुरलाई  केन्द्रबिन्दु बनाएर चार म्याग्निच्यूडको भूकम्प गएको थियो भने दिउँसो ३ः१३ बजे दोलखाको लापिलाङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ ।   

जलवायु परिवर्तनका दुष्प्रभाव : सुक्दै शुक्लाफाँटा निकुञ्जका ताल

दोधारा चाँदनी । जलवायु परिवर्तन, जलकुम्भी र झारपातका कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका तालहरू सुक्न र पुरिन थालेका छन् । पर्याप्त बजेट नहुँदा संरक्षणमा चुनौती थपिएको सम्बद्ध अधिकारीहरूले बताएका छन् । निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार रानीताल, सिकारी ताल, बाबाताल, कालीताल, ताराताल, सालगौडी ताललगायत ठूला प्राकृतिक ताल जलकुम्भी र झारपातले पुरिनुका साथै सुक्ने क्रममा छन् । यी ताल वन्यजन्तुका निमित पानीका स्रोत हुन् । 'हामीसँग पुँजीगत बजेट रु ३४ लाखमात्र छ । यति रकमले निकुञ्जभित्र पर्यटनकपथ निर्माण गर्नुपर्ने र अन्य पर्यटकीय पूर्वाधारमा खर्च गर्नुपर्ने बाध्यता छ', सूचना अधिकारी वाग्लेले भने । निकुञ्ज क्षेत्रमा प्राकृतिकबाहेक ४० वटा कृत्रिम ताल पनि छन् । शुक्लाफाँटा जैविक विविधताले भरिपूर्ण स्थल भएकाले स्वदेशी एवं विदेशी पर्यटकका लागि यो आकर्षक गन्तव्य मानिन्छ । आरक्षमा असङ्ख्य जीवजन्तु तथा वनस्पति पाइन्छन् । यहाँ धेरै सानाठूला तालतलैया पनि छन् । यो सिमसार क्षेत्रको संरक्षणका निम्ति पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा सूचना अधिकारी वाग्लेको जोड छ ।

सवा ४ करोड नगद र ९ किलो सुन बरामद

काठमाडौं । नेपाल प्रहरीले काठमाडौं महानगरपालिका-२६ गोङ्गबु स्थित टाउन प्लानिङबाट ४ करोड २५ लाख ५० हजार रूपैयाँ नगद, ९ किलो ८३७.९६ ग्राम सुन र ३ किलो २१८.४९२ ग्राम चाँदी बरामद गरेको छ । गोर्खा जिल्ला गोर्खा नगरपालिका-६ गोर्खा बसपार्क घर भई हाल काठमाडौं महानगरपालिका-२६ सामाकोसी गोङ्गबु क्षेत्र बस्ने ७६ वर्षीय विनोदकुमार श्रेष्ठको घरबाट स्रोत नखुलेको सम्पत्ति बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिल राज बोहोराले जानकारी दिए ।  उनले भने, ‘श्रेष्ठको घरमा स्रोत नखुलेको अकुत सम्पत्ति र अवैध तरिकाबाट राखेको सुन र चाँदीको गरगहना छ भन्ने विशेष सूचनाको आधारमा खानतलासी गर्दा नगद र सुनचाँदी बरामद गरिएको हो ।’

आज प्रतिनिधिसभाको बैठक बस्दै, नेपाल नागरिकता विधेयक पेस गर्ने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपरान्ह १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने छन् ।  यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम छ । यस्तै, प्रतिनिधिसभाका सचिव हर्कराज राईले ‘जलस्रोत विधेयक’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने छन् । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।  बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।  यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । सो समितिमा बैठकमा समितिको आव २०८१/८२ को वार्षिक प्रतिवेदन तथा आव २०८२/८३ को वार्षिक कार्य योजनाको मस्यौदामाथि छलफल गर्ने कार्यक्रम छ ।

२८ हजार ७५५ जनाले पाए बरुण हाइड्रोको हकप्रद सेयर, भदौ १८ गतेदेखि रकम फर्ता गर्ने

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको हकप्रद सेयर बाँडफाँड गरिएको छ । कम्पनीले असार ३१ गतेदेखि भदौ ३ गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयर भदौ १७ गतेका दिन बाँडफाँड गरिएको तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्गले जनाएको छ ।  हकप्रद सेयरमा रितपूर्वक आवेदन दिएका २८ हजार ७५५ जना आवेदकलाई ५१ लाख १९ हजार ७०७ कित्ता सेयर वितरण गरिएको कम्पनीले जनाएको छ ।  कम्पनीले चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका ५३ लाख ५८ हजार १५० कित्ता सेयर बिक्री गरेको थियो ।  कम्पनीका अनुसार २ लाख ३८ हजार ४४३ कित्ता सेयर बिक्री हुने सकेन । बिक्री हुन नसकेको उक्त सेयर मूल्य बढाबढमा लिलामीमा राख्ने कम्पनीले जनाएको छ ।  साथै आफ्नो कायम हक भन्दा बढी सेयर माग आवेदन दिएका आवेदकहरूको हकमा बाँडफाँडमा नपरेका हकप्रद सेयर वापतको रकम भदौ १८ गतेदेखि आईपीएस मार्फत सम्बन्धित आवेदकहरूको बैंक खातामा रकमान्तर गरिने कम्पनीले जनाएको छ ।