विकासन्युज

सहकारीको साधारण सभामा प्राधिकरणको कडाइ : भोजभतेर, भत्ता र यातायात खर्च दिन नपाइने

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाहरूका लागि ८ बुँदे निर्देशन जारी गरेको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको साधारण सभा संचालनमा कडाइ गर्दै सहकारी प्राधिकरणले ८ बुँदे निर्देशन जारी गरेको हो । साधारण सभामा गैर सदस्य व्यक्ति वा पदाधिकारीलाई आमन्त्रण गरी उद्घाटन सत्र, आसन ग्रहण वा अतिथिका मन्तव्य जस्ता औपचारिक कार्यक्रममा समय व्यतित नगरी सिधै साधारण सभाको छलफल एजेन्डामा प्रवेश गर्नुपर्ने प्राधिकरणले निर्देशन जारी गरेको छ ।  यस्तै, बचतकर्ताको हितलाई मध्यनजर गरी संस्थामा मितव्ययिता कायम गर्न साधारण सभामा उद्घाटन, अतिथि सत्कार, यातायात खर्च, सहभागी भत्ता, अतिथि उपहार, भोज भतेर (आवश्यकताअनुसार सदस्यहरूको सामान्य खाजा खाना बाहेक) जस्ता क्रियाकलापमा फजुल खर्च नगराउन प्राधिकरणले निर्देशित गरेको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको साधारण सभामा सहकारी संस्थाको दर्ता, नियमन, अनुगमन वा सुपरीवेक्षणसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित कुनै पनि निकायका गैर सदस्य कर्मचारी वा पदाधिकारी सहभागी नगराउन निर्देशन जारी गरिएको छ । यदि यस विपरीत त्यस्ता पदाधिकारीहरूको सहभागितालाई स्वार्थको द्वन्द्व मानिने प्राधिकरणको भनाइ छ ।  सहकारी संस्था आबद्ध रहेको माथिल्लो संघबाट कुनै परामर्श आवश्यक परेमा वा सदस्य शिक्षा दिनु परेमा न्यूनतम संख्यामा मात्र गैरसदस्य प्रतिनिधि वा स्रोत व्यक्तिलाई साधारण सभाको प्रारम्भमै परामर्श वा सदस्य शिक्षा प्रदान गर्ने गरी आमन्त्रण गर्न सकिने प्राधिकरणले जनाएको छ ।  साधारण सभामा नयाँ कार्यसमिति निर्वाचित गर्नुपर्ने अवस्थामा निर्वाचन उपसमिति सहित निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने जनशक्तिलाई उपस्थित गराउन सकिने, सहकारी संस्थाको कार्यक्षेत्रभित्र सदस्यहरूलाई पायक पर्ने स्थानमा साधारण सभाको आयोजना गर्नुपर्ने प्राधिकरणले जारी गरेको निर्देशनमा उल्लेख छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले प्रचलित कानून तथा यस निर्देशन बमोजिम साधारण सभा सम्पन्न गरी सोको एक महिनाभित्र यस प्राधिकरणमा विद्युतीय प्रणालीमार्फत संक्षिप्त प्रतिवेदन पेश गर्न सहकारी संस्थाहरूलाई निर्देशन गरिएको छ ।  सहकारी ऐन, २०७४ को दफा ३९ (२) बमोजिम बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको साधारण सभालाई सदस्य केन्द्रित र मितव्ययी बनाई सुशासन कायम गर्न आवश्यक देखिएको प्राधिकरणका कार्यकारी निर्देशक शेषनारायण पौडेलले बताए । साथै सहकारी ऐनको दफा १०३ (ज) को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी विभिन्न निर्देशन जारी गरेको उनको भनाइ छ । यदि यी निर्देशनको पालना नभएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने उनले बताए । 

एनआईसी एशिया बैंकका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा छुट

काठमाडौं । एनआईसी एशिया बैंक र नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिटबीच छुट सुविधा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले सो होटलमा कुनै पनि सेवा लिँदा डिजिटल भुक्तानी गरे १० प्रतिशत छुट प्राप्त गर्नेछन् । ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्दा छुट सुविधा लिन सक्नेछन् । बैंकले यस सहकार्यले ग्राहकलाई सहज सुविधा मात्र नभई देशभर डिजिटल भुक्तानी प्रवर्द्धन गर्न र नगदरहित कारोबारलाई प्रोत्साहन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।  

विद्यालय समायोजनलाई लिएर दुई दिनदेखि वडा कार्यालय तालाबन्दी

सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका–१ को वडा कार्यालय जैरमा दुई दिनदेखि तालाबन्दी लगाइएको छ । माझ गाउँमा रहेको सिर्जनशील प्रावि डिल गाउँमा रहेको बिहानी प्राविसँग समायोजन (गाभ्ने) निर्णय गाउँपालिकाले गरेसँगै माझ गाउँवासीले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । यहाँका स्थानीयले विद्यालय समायोजन (गाभ्ने) गाउँपालिकाको निर्णय मान्ने नहुने भन्दै मङ्गलबार लगाएको ताला आज पनि खुल्न नसकेको हो । जैरको माझ गाउँवासीले गाउँपालिका र वडाले आफूहरुसँग कुनै समन्वय तथा जानकारी नगरी एकलौटी विद्यालय समायोजन गरेको भन्दै आन्दोलन गर्नुपरेको प्रयागलाल बुढाले बताए।  यस्तै सिर्जनशील प्रावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुपलाल रावतले माझ गाउँवासीलाई मात्रै नभएर आफूलाई समेत कुनै जानकारी नगराइ विद्यालय समायोजन गर्ने निर्णय प्रति असन्तुष्टि व्यक्त गरेका छन् । माझ गाउँका लागि २०६८ सालमा स्थापना भएको विद्यालय कुनै पनि हालतमा समायोजन गर्न नदिन यहाँका अधिकांश अभिभावक लागिपरेका छन् ।  विद्यालय समायोजन निर्णयविरुद्ध अभिभावकहरु आन्दोलनमा उत्रिदै वडा कार्यालय बन्द गरेपछि वडाबाट हुने सम्पूर्ण कामकाज दुई दिनदेखि ठप्प रहेको वडाध्यक्ष बलबहादुर कार्कीले बताए ।  सिर्जनशील प्राविमा अध्ययनरत ५२ विद्यार्थीमध्ये २७ विद्यार्थी बिहानीमा अध्ययन गर्दै आएका र बाँकी २५ मात्रै विद्यार्थी भएको हुँदा सबै पायक पर्ने भएर बिहानीमा यो विद्यालय समायोजन गरिएको वडाध्यक्ष कार्कीले बताए । सबै विद्यार्थी बिहानी जाने भएको हुँदा विद्यालय समायोजन र कर्मचारी पदास्थानको पत्र वडामा आइपुगेको उनको भनाइ थियो ।      सिर्जनशील विद्यालय दुई वर्षअघि नै बिहानीसँग समायोजन गर्ने सहमति भएको थियो । अहिले आएर यहाँका अभिभावक आन्दोलित बनेका छन् । रासस

कलंकीमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम

काठमाडौं । नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टायल्स ब्रान्ड लेमिनार टायल्सले राजधानीमा आफ्नो नयाँ विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ । काठमाडौंको कलंकीस्थित टन्केश्वर टाइल एण्ड मार्बल हाउस प्रालिलाई आधिकारिक डिलर नियुक्त गर्दै बुधबार एक कार्यक्रमका बीच नयाँ शोरूमको उद्घाटन गरिएको हो । टन्केश्वर टाइल एण्ड मार्बल हाउसका सञ्चालक प्रज्ज्वल अधिकारी, लेमिनार टायल्सका निर्देशकद्वय अभिनभ चुरिवाल र आशुतोष खेतानले संयुक्त रूपमा ‘एम्पोरियो’ श्रेणीअन्तर्गतको शोरूम उद्घाटन गरे । कार्यक्रममा बोल्दै निर्देशक चुरिवालले लेमिनार टायल्सले देशभर १०० भन्दा बढी विशेष शोरूम सञ्चालन गर्ने लक्ष्य लिएको बताए ।  बर्दियाको गुलरियामा १२.५ बिगाहा क्षेत्रफलमा स्थापित अत्याधुनिक यूरोपेली प्रविधियुक्त उत्पादन केन्द्रमार्फत लेमिनार टायल्स उत्पादन हुँदै आएको छ । कम्पनीले हाल ५०० भन्दा बढी डिजाइनमा पाँच विभिन्न साइजका टायल्स बजारमा उपलब्ध गराएको छ । कम्पनीका अनुसार यी टायल्स पूर्ण भिट्रिफाइड भएकाले ९९.९२ प्रतिशतसम्म वाटरप्रुफ छन् र उच्च गुणस्तरका कच्चा पदार्थ प्रयोग भएकाले साधारण सेरामिक टायल्सभन्दा चार गुणा बढी टिकाउ हुने विशेषता रहेका छन् ।

दुई लाख घुससहित मालपोतका खरिदार पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल ९काभ्रेपलाञ्चोक०मा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको साविक दोलालघाट गाविस–७ मा रहेको फिल्डबुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले पक्राउ गरेको हो । आयोगले खरिदार भण्डारीलाई मालपोत कार्यालय धुलीखेलको कार्यालय परिसरबाट पक्राउ गरेको हो । भण्डारीको साथबाट आयोगले मोबाइल एक थान पनि नियन्त्रणमा लिएको छ । आरोपी भण्डारीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।  

हिमस्टार ऊर्जाको सेयर मूल्यमा सकारात्मक सर्किट, ३९ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ अंकले घटेर २७२६ बिन्दुमा झरेको छ ।  आज ३९ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको सेयर मूल्य घटेको छ । बुधबार ३२६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार युनियन हाइड्रोपावरको भएको छ । य्नियनको ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, लिर्बटी फाइनान्सको २७ करोड, नेपाल रिइन्स्योरेन्सको २६ करोड, हिमालयन रिइन्स्योरेन्सको २४ र पञ्चकन्या माइ हाइड्रोको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  

१२१ अस्थायी दरबन्दी स्वीकृत, नयाँ भर्ना कि पुरानाको सरूवा ?

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको भदौ १३ गतेको बैठकले १२१ अधिकृत स्तरका कर्मचारीहरुको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।  विभिन्न मन्त्रालय अन्तर्गतका आयोजना र कार्यालयरूबाट माग भएबमोजिम त्यस्ता दरबन्दी स्वीकृत गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता श्रृजना शर्माका अनुसार भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयमा सबैभन्दा धेरै अधिकृतहरूको दरबन्दी स्वीकृत गरिएको छ । उक्त मन्त्रालयमा ८७ जना अधिकृतको अस्थायी दरबन्दी स्वीकृत गरिएको हो । यसैगरी, युवा तथा खेलकुद मन्त्रालयमा २१ र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा १० जना अधिकृतको अस्थायी दरवन्दी स्वीकृत गरीएको प्रवक्ता शर्माले जानकारी दिइन् । शर्माका अनुसार ती दरबन्दीहरू अस्थायी भएपनि बहालवाला स्थायी कर्मचारी नै ती दरबन्दीमा रहनेछन् ।  भूमि व्यवस्था मन्त्रालयका ८७ जना अधिकृतमध्ये ३ जना सहसचिव स्तरका  र ४ जना उपसचिव स्तरका अधिकृत रहेको मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले जानकारी दिए ।  भूमि आयोगसहितका विभिन्न कार्यालयमा काजमा कार्यरत कर्मचारीहरूको दरबन्दी स्वीकृत मन्त्रिपरिषदले गर्ने गरेको उनले जानकारी दिए । खेलकुदमा पनि राष्ट्रिय युवा परिषद, फाप्ला क्रिकेट मैदानलगायतमा रहेका अस्थायी दरबन्दीका स्थायी कर्मचारीको दरबन्दी मन्त्रिपरिषदले स्वीकृत गरेको मन्त्रालयका  सूचना अधिकारी जगदीश पराजुलीले बताए । यस्तै, पर्यटन मन्त्रालय अन्तर्गतका दश दरबन्दी पनि सोही प्रकृतिको रहेको मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिए । उनका अनुसार पुरातत्व विभागमा एक जना सहसचिवसहित दश जनाको दरबन्दी रहेको छ ।  

४ करोड र ९ किलो सुनसहित पक्राउ परेका मिटरब्याजी श्रेष्ठलाई राजस्वमा पठाइने

काठमाडौं । चार करोड २५ लाख रुपैयाँ र ९ किलो सुनसहित गोरखाका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई राजस्व अनुसन्धान विभागमा पठाइने भएको छ । प्रहरीले उनलाई बरामद रकम र सुनसहित राजस्व अनुसन्धान विभाग, हरिहर भवन पठाउने तयारी गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार श्रेष्ठको कसुरलाई प्रहरीले भन्दा पनि विभागले हेर्ने किसिमको रहेकाले सो स्थानमा पठाउन लागिएको हो । मंगलबार प्रहरीले श्रेष्ठको घरमा छापा मारेर ठूलो मात्रामा रकम र मूल्यवान धातु बरामद गरेको थियो । बैंकको मेसिन प्रयोग गरी रकम गणना गर्दा करिब ४ करोड २५ लाख रुपैयाँ भएको पुष्टि भएको थियो । साथै, सुनका विभिन्न गरगहनाहरू ९ किलो ८३७ ग्राम र चाँदीका गरगहनाहरू ३ किलो २१८ ग्राम बरामद भएको छ । प्रहरीले पक्राउ परेका श्रेष्ठ मिटरब्याजी रहेको दाबी गरेको छ । काठमाडौं महानगरपालिका–२६, गोंगबुस्थित आफ्नै घरबाट पक्राउ परेका श्रेष्ठले सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गरेको बताइएको छ । ठूलो मात्रामा अवैध रकम लुकाइएको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले छापा मारेको थियो ।