ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये ८ जनाको मृत्यु, ५ जनाको पहिचान खुल्यो
काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुगेका मध्ये ८ जनाको मृत्यु भएको छ भने हालसम्म ५ जनाको पहिचान खुलेको छ । सेन्टरका अनुसार अन्दाजी १९ वर्षीय ग्लोबल कलेजका विद्यार्थी श्रीयाम चौलागाईं, बाँकेका सुलभ राज श्रेष्ठ, काठमाडौं कीर्तिपुरका बुद्धि तामाङ, काठमाडौं वनस्थलीका स्टप अधिकारी र गौरव जोशीको पहिचान खुलेको हो । अन्यको भने पहिचान नखुलेको सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले जानकारी दिए । उनका अनुसार ट्रमा सेन्टरमा उपचारका लागि ५६ जना घाइते पुगेका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबारको जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने ४२१ जना घाइते भएका छन् । काठमाडौंको सिभिल अस्पतालमा ३ जना, ट्रमा सेन्टरमा ८ जना, एभरेष्ट अस्पतालमा ३ जना, केएमसीमा २ जना, त्रिवी शिक्षण अस्पतालमा १ जना,, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा २ जनाको निधन भएको छ । सरकारले जेनजीको प्रदर्शनमा घाइते भएकाहरूको निःशुल्क उपचारको प्रबन्ध गर्ने निर्णय गरिसकेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।
आजको मौसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षा
काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदरभन्दा दक्षिणतिर रहेको छ । साथै पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र मधेस प्रदेशलगायत बाँकी पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान र बाँकी प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।
जेनजी प्रदर्शनको अनुसन्धान गर्न छानबिन समिति गठन गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले सोमबारको जेनजी प्रदर्शनलाई लिएर छानबिन समिति बनाउने निर्णय गरेको छ । जेनजीहरूले सोमबार गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि घटेको घटनाबारे सरकारले छानबिन समिति बनाउने निर्णय गरेको हो । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । समितिले १५ दिनभित्र घटनाको अनुसन्धान गरेर प्रतिवेदन बुझाउनु पर्ने समयसीमा तोएिको छ ।
१९ जनाको मृत्यु र सयौं घाइते भए पनि ओलीको आफ्नै अडान, सामाजिक सञ्जालको प्रतिबन्ध कायमै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध कायमै राखेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले प्रतिबन्ध फुकुवा हुन आवश्यक नरहेको धारणा राखेको बुझिएको छ । प्रधानमन्त्री ओलीले सरकारको निर्णय सही रहेको भन्दै निर्णयमाथि पुनर्विचार गर्न आवश्यक नरहेको धारणा बैठकमा राखेको एक मन्त्रीले बताए । ओलीले जेनजीको आन्दोलनमा घुसपैठ भएको भन्दै अराजकता मच्चाउन खोज्नेहरूको चाहना पूरा हुन नदिने धारणा राखेको पनि बुझिएको छ । प्रदर्शनमा १९ जनाको मृत्यु र सयौं जना घाइते हुँदा पनि ओलीकोे अडान भने कायमै छ ।
गृहमन्त्री लेखकले दिए राजीनामा
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन् । सोमबार भएको जेनजीको प्रदर्शको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् । सोमबारको प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् । यसअघि सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले नैतिकताका आधारमा पदबाट राजीनामा दिने बताएका थिए ।
राजीनामा दिने तयारीमा गृहमन्त्री, पार्टी बैठकमा भने- पदमा बस्दिनँ
काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिने तयारी गरेका छन् । उनले आफू पदमा नबस्ने जानकारी पार्टीलाई गराएका हुन् । सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले नैतिकताका आधारमा पदबाट राजीनामा दिने बताएका हुन् । अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सम्भवतः उनले मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओली समक्ष राजीनामा दिन सक्नेछन् ।
सवारी आवागमन अस्तव्यस्त, हवाई उडान नियमित सञ्चालन
काठमाडौं । जेनजी प्रदर्शनले काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनिरहँदा मुलुकको हवाई उडान भने नियमित सञ्चालन भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सामान्य रहेको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले हवाई उडानमा कुनै समस्या नरहेको बताए । आन्तरिक तर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तर्राष्ट्रियस्तरतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् । काठमाडौं बाहिरका विमानस्थलमा पनि हवाई उडान सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ । ‘जेनजी’को प्रदर्शनले काठमाडौंका ठाउँठाउँमा सडक अवरोध हुँदा आवागमनमा समस्या भएको छ । विशेषगरी कोटेश्वर, नयाँबानेश्वर, माइतीघर, थापाथली, रत्नपार्क, नयाँ सडक, रामशाह पथ, पुतलीसडकलगायत क्षेत्रको सडकमा सवारी आवागमनमा अवरोध भएको छ ।
बानेश्वर क्षेत्रमा फेरि चल्यो गोली, ३ जना घाइते
काठमाडौं । बानेश्वर क्षेत्रमा फेरि गोली चलेको छ। प्रहरीले गोली प्राहर गर्दा ३ जना घाइते भएका छन् । केहीबेर अघि बानेश्वर क्षेत्र सेनाले नियन्त्रणमा लिएपनि फेरि जेनजी प्रदर्शनकारी भेला भएपछि तनाव बढेको हो । घाइते ३ जना अस्पतालमा लगिएको छ ।