घाइतेको ज्यान बचाउन सबै उपचार निःशुल्क, सिभिल इमर्जेन्सीमा स्वास्थ्यले थप चिकित्सक खटायो
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइतेको ज्यान जोगाउन आवश्यक सबै उपचार निःशुल्क गर्न अस्पतालहरुलाई परिपत्र गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अग्रसरतामा घाइतेहरुको जीवनरक्षाका लागि आवश्यक सबै उपचार निःशुल्क गर्ने गरी मन्त्रालयले अस्पतालहरुलाई पत्र पठाएको हो । आकस्मिक कक्षमा थप स्वास्थ्यकर्मी बिरामीहरुको उपचार भैरहेका अस्पतालका आकस्मिक कक्षमा परेको बिरामीको चाप मध्यनजर गर्दै जनशक्ति व्यवस्थापनमा मन्त्रालयले विशेष जोड दिएको छ । सिभिल अस्पतालको आकस्मिक कक्षमा सघाउन ४ चिकित्सकसहित ६ सुरक्षाकर्मी खटाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । वीर अस्पतालको ट्रमा सेन्टरले पूर्ण क्षमतामा बिरामीको उपचार गरिरहेको छ । रगत अभाव हुन नदिन २४ सै घण्टा हटलाइन १११५ मन्त्रालयले घाइते बिरामीहरुलाई रगत अभाव हुन नदिन मन्त्रालयको हटलाइन हेल्लो स्वास्थ्यलाई २४ सै घण्टा चलाउने भएको छ । कुनै पनि बिरामी वा अस्पतालले रगत अभाव भएमा १११५ मा फोन गरेर जानकारी गराउन सक्ने व्यवस्था मिलाइएको मन्त्रालयले उल्लेख गरेको छ । एम्बुलेन्स सेवा प्रभावकारी बनाउन सक्रियता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानहरूमा सहजै उपलब्ध गराउने गरी आपतकालीन अपरेशन सेन्टरमार्फत व्यवस्था मिलाएको छ । काठमाडौं उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट रिफर हुने बिरामीलाई अर्को अस्पातलमा लिएर जान सहजीकरणका लागि व्यवस्था मिलाइएको छ । मन्त्रालयले सबै चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूलाई एकजुट भई घाइतेको उपचारमा जुट्न पनि मन्त्रालयले आह्वान गरेको छ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा छिरे प्रदर्शनकारी
काठमाडौं । जेनजी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरेका छन् । सुदूरपश्चिमका जेनजीले पनि आन्दोलन बढाएर सरकारी कार्यालय घेरिरहेका छन् । अहिले मुख्यमन्त्री कार्यालयभित्र जेनजी युवाहरू प्रवेश गरेका छन् । उनीहरूले सरकार विरुद्ध प्रदर्शन गरिरहेका छन् । मंगलबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले उच्च पदस्थ सुरक्षा निकायसँग छलफल गरेका थिए ।
जेनजीको टार्गेटमा भीआईपी नेता, घर-घरमा पुगेर तोडफोड
काठमाडौं । जेनजीको आन्दोलन भीआईपी नेता केन्द्रीत भएको छ । दोस्रो दिनको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले प्रमुख दलका प्रमुख नेतृत्व निवास लक्षित गरेका हुन् । मंगलबार बिहानै प्रदर्शनकारीहरु भीआईपी नेताको घर घेर्न पुगेका छन् । सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको घरमा आगजनी नै भएको छ । यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास अघि प्रदर्शन भइरहेको छ । देउवा निवास बुढानीलकण्ठस्थित देउवा चोकमा र प्रचण्ड निवास खुमलटारमा प्रदर्शन गरेका छन् । केही प्रदर्शनकारी देउवाको निवास बूढानीलकण्ठ पुग्दा प्रहरीले उनीहरुलाई रोकेको छ । उनीहरुलाई प्रहरीले कृष्णपाटी चोकमा रोकेको हो ।
रुपन्देहीमा निषेधाज्ञा जारी
भैरहवा । रुपन्देही जिल्ला प्रशासन कार्यालयलले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले आज बिहान ९ः३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरेको हो । स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित) को दफा ६ को उपदफा ३ (क) बमोजिम प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेद्वारा जारी आदेशमा निषेधाज्ञा लागू भएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाइने उल्लेख छ । यसैगरी अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन र सभाजस्ता विरोधका कार्यक्रम गर्न पूर्ण रूपमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले यस आदेशको पालना नगर्ने वा अवरोध पुर्याउने जोकोहीलाई पनि प्रचलित कानुनबमोजिम कारबाही गरिने जानकारी दिएको छ ।
देउवा निवासमा पनि तोडफोडको प्रयास, अगाडि बढे प्रदर्शनकारी
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा पनि ताडफोड हुने प्रयास भएको छ । जेनजीहरु देउवाको घरतर्फ प्रस्थान भएर तोडफोड गर्ने प्रयास भएको हो । केही प्रदर्शनकारी देउवाको निवास बूढानीलकण्ठ पुग्दा प्रहरीले उनीहरुलाई रोकेको छ । उनीहरुलाई प्रहरीले कृष्णपाटी चोकमा रोकेको हो ।
निषेधाज्ञा जारी भएपछि सेयर कारोबार स्थगन
काठमाडाैं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएपछि आज पूँजीबजारको कारोबार स्थगित गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक सूचना जारी गर्दै सोमबारको कारोबार स्थगन गरिएको जनाएको हो । उपत्यकाभित्र निषेधाज्ञा आदेश जारी भएपछि धितोपत्र कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगनका लागि अनुरोध भइआएको पनि नेप्सेले जनाएको छ । सूचनामा भनिएको छ, ‘चक्रपथभित्र कर्फ्यू आदेश जारी भएको तथा धेरै कारोबार सदस्य र लगानीकर्ताबाट समेत कारोबार स्थगन गर्न अनुरोध भइआएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार आजको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ । ‘
कृषिमन्त्रीबाट रामनाथ अधिकारीले दिए राजीनामा
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री मनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार सार्वजनिक रूपमा आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्दै वर्तमान सरकारको अलोकतान्त्रिक रवैयाप्रति गम्भीर आपत्ति जनाउँदै राजीनामा दिएका हुन् । अधिकारीले आफ्नो राजीनामा वक्तव्यमा भदौ २३ गते अर्थात् सोमबार काठमाडौंलगायत देशका विभिन्न स्थानमा युवाहरूले शान्तिपूर्ण रूपमा सरकारको भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रणविरुद्ध प्रदर्शन गर्दा भएका दमन र हिंसात्मक कारबाहीहरूले स्तब्ध र चिन्तित भएको उल्लेख गरे । ‘लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार हो । त्यसको बदला व्यापक रूपमा दमन, हत्या र बल प्रयोग हुनु निकै दुःखद र निन्दनीय हो,’ अधिकारीले भने । उनले अहिंसा लोकतन्त्रको प्राण हो भन्ने मेरो दलको सिद्धान्तमा कुनै सम्झौता हुन नसक्ने बताए । राजीनामा पत्रमा अधिकारीले सरकारमा बसिरहनु आफ्नो नैतिकता र पार्टीले प्रदान गरेको शिक्षाविरुद्ध भएको जनाउँदै, देश र जनतासमक्ष क्षमायाचना गर्दै पदबाट अलग हुने निर्णय लिएको स्पष्ट पारे । नेता अधिकारीले देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्यो ? भन्दै प्रश्न गरे । उनले साना बालबालिका र युवाहरूको दमन तथा हत्या भएको समाचारप्रति गहिरो दुःख व्यक्त गर्दै, वर्तमान सत्ताको यो प्रवृत्तिलाई तानाशाहीतर्फको संकेत भनेका छन् । ‘पटक-पटक युवापुस्ता र जनताले आन्दोलन गरिरहनुपर्ने र सत्तासीनहरूले सदैव असहिष्णुता देखाइ हिंसा गरिरहने बिडम्बनाबाट मुलुकले चाँडै निकास पाउनुपर्छ । लोकतन्त्रमा जनताको जीवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथि केही हुँदैन,’ उनले भने ।
प्रचण्डको घरमा तोडफोड, सुरक्षाकर्मी र प्रदर्शनकारीबीच मुडभेड
काठमाडौं । जेनजीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को घरमा तोडफोड गरेका छन् । नेताको घर र निवासमा तोडफोड गर्ने तयारीका साथ प्रदर्शनकारी प्रचण्डको घरमा तोडफोड गर्न पुगेका हुन् । प्रदर्शनकारीले तोडफोड गरेपछि सुरक्षाकर्मीसँग मुडभेड भएको छ ।