विकासन्युज

देउवा निवास बुढानिलकण्ठमा पनि आगजनी

काठमाडौं । प्रदर्शनकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पनि आगजनी गरेको छ ।  प्रदर्शनकारीलाई रोक्न खोजेपनि प्रहरीलाई स्थिति नियन्त्रणमा लिन सकस भएको छ ।  अहिले प्रदर्शनकारीले भीआईपी नेताहरूको घरलाई टार्गेट गरेर तोडफोड तथा आगजनी गरिरहेका छन् ।   

नेपाली कांग्रेसको पार्टी कार्यालयमा आगजनी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको कार्यालयमा आगजनी भएको छ । जेनजी प्रदर्शनकारीहरूले मंगलबार कार्यालयमा पुगेर आगजनी गरेका हुन् । प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घर र पार्टी कार्यालयमा पुगेर ढुंगामुढा र आगजनी गरिरहेका छन् ।

जेनजी आन्दोलनमा भएको जनधन क्षतिप्रति महासंघले जनायो दुःख, शान्तिपूर्ण समाधानमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजीको प्रदर्शनको क्रममा देशभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै प्रदर्शनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत महासंघले गरेको छ । मर्यादित रोजगारी, स्वरोजगारी, सर्वसाधारण एवं उद्यमी व्यवसायीले तिरेको राजश्वको सदुपयोग लगायत विषयमा युवापुस्ताले देखाएको चासोप्रति संवेदनशील हुन नेपाल सरकार, राजनीतिक दलहरू लगायत सम्बन्धित सबैमा आग्रह गरिएको छ । मुलुकमा थप निराशा र अशान्तिको वातावरण कहीं कतैबाट पनि सिर्जना नहोस र शान्तिपूर्ण आन्दोलन र त्यस क्रममा अनावश्यक बल प्रयोग नहुनेतर्फ पनि महासंघले ध्यानाकर्षण गराएको छ । सामाजिक न्याय सहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्याला सहितको मर्यादित रोजगारी सम्भव रहेको महासंघको भनाइ छ ।  आर्थिक गतिविधि चलायमान बनाउन र मुख्य पर्यटकीय समयमा नेपालबाट सकारात्मक सन्देश विश्वभर प्रवाह गर्न सबै संयमित हुनुपर्ने समेत महासंघले बताएको छ । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकार लगायत सम्पूर्ण सबै राजनीतिक दल एवं जेनजीसँग महासंघले अपिल गरेको छ ।

जेनजीको प्रदर्शनमा दिवगंत भएकालाई मेयर्स फोरमको श्रद्धाञ्जली

ललितपुर  । काठमाडौं उपत्यका मेयर्स फोरमले जेनजीको प्रदर्शनमा दिवंगत भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै मंगलबार उपत्यकाभित्रका पालिकामा शोक विदा दिने निर्णय गरेको छ ।  फोरमले एक विज्ञप्ति जारी गर्दै  भदौं २३ गते काठमाडौंको वानेश्वर क्षेत्रमा भएको जेनजीको ¥याली तथा आन्दोलनका क्रममा १९ जना हताहत हुन पुगेको घटनाबाट काठमाडौं उपत्यका मेयर्स फोरम मर्माहत भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, 'यस घटनामा दिवंगत हुनु भएकाहरुप्रति मेयर्स फोरम हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकको आत्माको चीरशान्तिको कामना गर्दछ । फोरमले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना समेत प्रकट गरेको छ । उक्त घटनामा परि घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको समेत फोरमले कामना गरेको छ ।'  

ऊर्जामन्त्री दीपक खड्काको घरमा आगजनी, जेनजीले घरबाट पैसा निकालेर हावामा उडाए

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काको घरमा आगजनी भएको छ । बूढानीलकण्ठमा रहेको उनको घरमा जेनजी प्रदर्शनकारीले आगजनी गरेका हुन् । खड्काको निवासबाट प्रदर्शनकारीले पैसा निकालेर हावामा उडाएको प्रत्यक्षदर्शीले बताएका छन् ।  जेनजीहरूले सोमबार गरेको प्रदर्शनका कारण १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानबाट प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।  

रास्वपाका सबै सांसदले सामूहिक राजीनामा दिँदै, सडकमा उत्रिन रविको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) सबै सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । अहिले आकस्मिक संसदीय दलको बैठक बसेर सामूहिक राजीनामा दिने तयारी गरेका हुन् ।  अहिलेसम्म असिम साह, सुमना श्रेष्ठ र तोसिमा कार्कीले राजीनामा घोषणा गरिसकेका छन् ।  हिजो सभापति रवि लामिछानेले सबै सांसदहरूलाई सामूहिक राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने भन्दै तयार रहन निर्देशन दिएका थिए । सोही निर्देशन अनुसार रास्वपाका सांसदले राजीनामा दिन लागेका हुन् ।  देशभर जेनजीको आन्दोलन आक्रामक बनेपछि नेताहरूका घर र निवासहरूमा तोडफोड भइरहेको छ । 

गगन थापाको घरमा ढुंगामुढा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको घरमा पनि ढुंगामुढा प्रहार भएको छ । सोमबार प्रदर्शनकारीले कमलपोखरीस्थित थापाको घरमा पुगेर प्रदर्शन गरिरहेका हुन् । जेनजीहरूले सोमबार गरेको प्रदर्शनका कारण १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानबाट प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ । प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घरमा पुगेर ढुंगामुढा र आगजनी गरिरहेका छन् ।

देशभर सार्वजनिक यातायात बन्दको घोषणा

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभर सार्वजनिक तथा मालवाहक यातायात सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । महासंघले हालको असहज परिस्थितिमा यात्रुवाहक र मालवाहक सार्वजनिक यातायात सञ्चालन असम्भव भएको उल्लेख गर्दै नेपाल सरकारले शान्ति सुरक्षाको भरपर्दो प्रत्याभूति नदिएसम्म देशभर सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द रहने स्पष्ट पारेको हो ।  महासंघले विज्ञप्ति जारी गर्दै ‘जेनजी’ को प्रदर्शनमा सरकारले गरेको दमनका कारण १९ जना विद्यार्थीको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महासंघले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै नेपाल सरकारलाई घाइतेहरूको उपचारको समुचित व्यवस्था गर्न माग गर्दै महासंघ अन्तर्गतका सबै संघ, समिति, कम्पनी तथा प्रालिहरूलाई उपचार सहयोगका लागि आग्रहसमेत गरेको छ ।  विज्ञप्तिमार्फत महासंघले आफ्ना सम्पूर्ण सदस्य संघ, समिति, कम्पनी तथा प्रालिहरुलाई सार्वजनिक तथा मालवाहक सवारी साधन सञ्चालन नगर्न/नगराउन अनुरोध गरेको छ ।