अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता
काठमाडौं । जेन-जी पुस्ताले देशव्यापी रुपमा गरेको प्रदर्शनका कारण मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्र प्रभावित भएको छ । दुई दिनअघिको काठमाडौं केन्द्रित प्रदर्शन देशव्यापी फैलिएर सबैजसो क्षेत्र प्रभावित भएको देखिन्छ । विशेषगरी पहिलो दिन नयाँबानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा घाइते भएका विरामीको उपचार गर्न अस्पतालहरूलाई भ्याइनभ्याइ भएको अवस्था छ । मीनभवनस्थित सिभिल अस्पतालले विरामीको चाप अध्यधिक भएसँगै आकस्मिक सेवाबाहेकका अरु सेवा अहिले बन्द गरेको छ । अस्पतालका निर्देशक डा मोहनचन्द्र रेग्मीका अनुसार बिरामीका लागि खानालगायत अत्यवश्यक सेवा पुर्याउन कठिन भएको छ । ‘स्रोतसाधनको समस्या छ, जनशक्ति व्यवस्थापन पनि त्यत्तिकै चुनौतीपूर्ण छ । चिकित्सक तथा नर्सहरु ‘डबल ड्युटी’ गरेर भए पनि अहोरात्र खटिनुभएको छ, तर हाललाई ‘ओपिडी’ र ‘ओटी’ सेवा बन्द गरिएको छ”, उनले भने, “हिजोदेखि ड्युटीमा आएका आजमात्र घर फर्किँदै हुनुहुन्छ ।” हाल सो प्रदर्शनमा घाइते ४६ जनाको उपचार भइरहेको छ । त्रिवि शिक्षण अस्पतालले पनि प्रदर्शनमा घाइतेहरूलाई उच्च प्राथमिकता दिइ उपचार गरिरहेको अस्पतालका निर्देशक डा सुवास आचार्यले जानकारी दिए । अत्यावश्यक र ‘रेफर’ भएर आएका बिरामीको भने उपचार रोकिएको छैन । ‘ओपिडी’ सेवा सञ्चालनमै छ, तर बिरामीहरू अस्पतालसम्म आइपुग्न सकेका छैनन् । 'डबल ड्युटीमा खटेर हामीले काम गरिरहेका छौँ । घर जाने अवस्था नभएकाले स्वास्थ्यकर्मीहरू अस्पतलामै रही काम गरिरहनुभएको छ', उनले भने, 'हाल ५३ जना घाइतेको यस अस्पतालमा उपचार भइरहेको छ ।' निर्देशक आचार्यका अनुसार ‘ओपिडी’ नियमित रूपमा सञ्चालन भइरहेको, आकिस्मक सेवामा चाप रहेको, मुख्य शल्यक्रिया भने हाललाई बन्द गरिएको र यातायात नियमित रूपमा चले भोलिबाट सबै सेवा सञ्चालन गरिने छ । 'राष्ट्रिय ट्रमा सेन्टरमा हाल ४० जना घाइतेको उपचार भइरहेको छ । जसमा चार जनालाई शल्यक्रियापछि ‘आइसीयु’मा राखिएको छ । अहिले त अवस्था ठिकै छ । तर एउटा एम्बुलेन्स नै तोडफोड गरेका छन्', अस्पतालका निर्देशक डा बद्री रिजालले भने, 'चिकित्सक र नर्स ल्याउन भने केही समस्या छ । स्रोतसाधन अभावका बीच पनि उपचार सेवा रोकेका छैनौँ ।' परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पनि २४सै घण्टा सेवा सञ्चालनमा छ । जस्तोसुकै परिस्थितिमा पनि आफ्नो सेवालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै सो अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले भने, 'ओपिडी नियमित नै सञ्चालन छ, आकस्मिक सेवा चलिरहेकै छ । शुल्क लिएर दिइने सेवा (पेइड सर्भिस) बन्द गरिएको छ ।' रासस
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ । मंगलबारदेखि बन्द गरिएको विमानस्थल कहिले खुल्ने भन्नेबारे स्पष्ट नभएको विमानस्थल कार्यालयले जनाएको छ । विषम परिस्थितिका कारण अनिश्चितकालीन रूपमा सञ्चालन रोकिएको कार्यालयले जानकारी दिएको हो । यस सम्बन्धमा जारी सूचनामा अर्को सूचना नआएसम्म विमानस्थल बन्द नै रहने उल्लेख गरिएको छ । विमानस्थल बन्द भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका छन् । यात्रुहरूलाई आवश्यक जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न आग्रह गरिएको छ ।
उच्छृङ्खल गतिविधिमा संलग्न २७ जना पक्राउ, ३३ लाख बरामद
काठमाडौं । पछिल्लो विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले उच्छृङ्खल गतिविधिमा संलग्न २७ जना पक्राउ परेका छन् । मङ्गलबार राति १० बजेदेखि आज बिहान १० बजसम्म देशका विभिन्न स्थानमा विध्वंसात्मक तथा अराजक गतिविधिमा संलग्न भएका उनीहरूलाई नेपाली सेनाले नियन्त्रणमा लिएको हो । सुरक्षा निकायले काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिबाट रु ३३ लाख ७० हजार बरामद गरिएको सेनाले जनाएको छ । काठमाडौंका विभिन्न स्थानबाट २३ र पोखराबाट आठ नाल गरी विभिन्न किसिमका हतियार ३१ थान तथा म्यागजिन एवं गोलीगठ्ठा बरामद भएका छन् । सार्वजनिक तथा निजी सम्पत्तिमाथि प्रदर्शनकारीले लगाएको आगो तीनवटा बारुणयन्त्रको प्रयोग गरी नियन्त्रण गर्ने कार्य भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
आधारभूत सेवा प्रवाहका विषयमा छलफल हुँदै
काठमाडौं । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा सचिवहरूसँग छलफल गर्दै छन् । वर्तमान असहज परिस्थितिमा न्यूनतम आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा मुख्यसचिव अर्यालले सचिवहरूसँग भर्चुअल बैठक आयोजना गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
‘अलपत्र विदेशीलाई सहयोग गरौँ’
काठमाडौं । नेपाली सेनाले अलपत्र परेका विदेशी नागरिकलाई सहयोग गर्न आह्वान गरेको छ । विदेशी नागरिकहरूसँग सम्बन्धित होटल, पर्यटन व्यवसायी वा अन्य सङ्घसंस्थालाई उद्धार तथा सहयोगका लागि आवश्यक समन्वय एवं सहजीकरण गर्न सेनाले आह्वान गरेको हो । विद्यमान जटिल परिस्थितिका कारण अलपत्र अवस्थामा उद्धारलगायत कुनै पनि सहयोगको प्रतीक्षामा रहेका सबै विदेशी नागरिकहरुलाई नजिकको सुरक्षा निकाय वा नजिक तैनाथ सुरक्षाकर्मीहरूसँग सम्पर्क गर्न सेनाले एक सूचना जारी गरेर अनुरोध गरेको हो ।
सुदूरपश्चिममा बाजुरा बाहेक सबै जिल्ला कारागारका कैदीबन्दी फरार
काठमाडौं । जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशका बाजुरा बाहेक सबै जिल्ला कारागारका कैदीबन्दी फरार भएका छन् । मंगलबार भएको जेनजी युवाको प्रदर्शनका क्रममा सुरक्षास्थिति नियन्त्रण बाहिर जाँदा प्रदर्शनकारीहरूले विभिन्न जिल्ला कारागारमा पुगेर कैदीबन्दीहरूलाई छुटाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) डम्बर विश्वकर्माका अनुसार कैलाली कारागारका करिब ७ सय कैदीसहित आठ वटा जिल्ला कारागारबाट करिब १ हजार ४ सय कैदीबन्दी फरार भएका हुन् । कञ्चनपुर कारागारमा रहेका ४ सय ७६ कैदीबन्दीमध्ये २२ जना भने भाग्न अस्वीकार गर्दै कारागारमै रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार तीमध्ये १३ पुरुष र ९ महिला कैदीले कानुनको उल्लङ्घन नगर्ने अडान राख्दै भाग्न अस्वीकार गरेका हुन् । यस्तै, बझाङ जिल्ला कारागारमा रहेका ८५ कैदीबन्दीमध्ये ६६ जना भागेका छन् भने बाँकी कैदीहरू कारागारमै रहेका छन् । भागेकामध्ये मंगलबार तीन र बुधबार दुई गरी पाँच जनालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ । अन्य अधिकांश जिल्ला कारागारहरू पनि अहिले प्रायः खाली छन् ।
तनावग्रस्त अवस्थामा देशभरका कारागार : हजौरौं कैदी भागे, आगजनी र तोडफोड बढ्दै
काठमाडौं । जेनजीको दुई दिने आन्दोलनपछि देशभरका कारागार तनावग्रस्त बनेका छन् । मंगलबार ललितपुरमा रहेको नख्खु कारागरबाट सात सय बढी कैदी बन्दी कारागारबाट घर फर्किएपछि देशभरका अन्य कारागारका कैदीकन्दीले पनि आफूहरु पनि बाहिरि आउनु पर्ने माग राख्दै आगजनी तथा तोडफोड गरेका छन् । काठमाडौंमा रहेको डिल्लीबजार कारागारमा बिहानैदेखि तनावग्रस्त अवस्था छ । त्यहाँका कैदीबन्दीले बिहानैदेखि तोडफोड तथा आगजनी गरेका छन् । उनीहरुले आफूहरु पनि बाहिर आउन पाउनुपर्ने माग राख्दै आगजनी गरेका छन् । आगजनीपछि त्यहाँबाट अन्यत्र सार्ने काम भइरहेको छ । ठूलो संख्यामा सेना परिचालन भइरहेको छ । यस्तै, भक्तपुर कारागाबाट पनि कैदीबन्दी भागेको जानकारी प्राप्त भएको छ । विभिन्न कारागारका कैदीबन्दी आज भित्रै आन्दोलन गरिरहेको जानकारी प्राप्त भएको छ । मंगलबारमात्रै सुदूरपश्चिमका सबै जिल्लाका कारागारबाट कैदीबन्दी भागेका छन् । सुदूरपश्चिममा बाजुरा बाहेकका सबै कारागारबाट कैदीबन्दी भागेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) डम्बर विश्वकर्माले ८ वटा कारागारबाट करिब १४०० कैदीबन्दी भागेको बताए । सबै जिल्ला कारागारका कैदीबन्दी भागेपछि कारागार नै खाली भएको उनले बताए । उनका अनुसार कञ्चनपुरबाट ४५० जना, बझाङबाट ६५ जना र कैलालीबाट सात सय जना र बैतडीबाट ६२ जना कैदी भागेका छन् । यस्तै, सुनसरीको झुम्का कारागारबाट १५ सय ७५ कैदी, रौतहटको गौर कारागारबाट २६० जना, चितवनबाट ७०० जना, रुकुम पश्चिमबाट ७२ जना, सोलुखुम्बुबाट ८६ जना, दाङ तुल्सिपुरबाट १२४ जना, जुम्लाबाट ३६ जना, म्याग्दीबाट ७६ जना, जलेश्वर कारागारबाट ५७६ जना र कास्कीबाट ७७३ जना कैदीबन्दी भागेको सूचना प्राप्त भएको छ । केन्द्रीय कारागार सुन्धाराबाट पनि कैदीबन्दी भागेको बताइएको छ ।
लुटिएका हतियार तत्काल फिर्ता गर्न सेनाको अनुरोध
काठमाडौं । नेपाली सेनाले जेनजी नेतृत्वको आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार तथा गोलीगट्ठा सुरक्षा निकायलाई अविलम्ब फिर्ता गर्न अनुरोध गरेको छ । सैनिक तथा जनसम्पर्क निर्देशनालयले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रदर्शनको क्रममा लुटिएका हातहतियार, गोलीगट्ठा तथा सुरक्षा सामग्री सुरक्षा निकायलाई बुझाउन अनुरोध गरेको हो । हतियारको दुरूपयोग भएमा जनधनको क्षति समेत हुनसक्ने जनाउँदै सेनाले कसैसँग फेला पारेमा कानुन अनुसार कारबाही हुने चेतावनी दिएको छ । साथै विज्ञप्तिमा सुरक्षा निकायका पोशाकहरू पनि अनाधिकृत रूपमा प्रयोग नगर्न अनुरोध गरिएको छ ।