त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान नियमित
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार बुधबार साँझदेखिनै विमानस्थलको उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । 'विगतका दिनहरुमा जस्तै आन्तरिक र अन्तरराष्ट्रिय उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ । यात्रु आवागमनलाई सहज तुल्याउन सुरक्षा निकायसँग समन्वय गरिएको छ', उनले भने । विमानस्थलको हालको उडान तालिका भन्दा उडान थप्नसक्ने अवस्था नरहेको र विगतकै क्षमतामा हवाई उडान नियमित गरिने विमानस्थलले जनाएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी रहेकाले हवाई यात्रुलाई परिचय खुल्ने कागजातका आधारमा आवतजावतमा सहजीकरण गरिएको छ । नेपाल पर्यटन बोर्डले सटल बसको व्यवस्था गरी विदेशी पर्यटकलाई गन्तव्यमा पुर्याइने जनाएको छ । यता वायुसेवा कम्पनीले पनि आफ्ना यात्रुलाई विभिन्न व्यवस्था गरेर गन्तव्य लगिरहेको विमानस्थलले जनाएको छ । निजी क्षेत्रका हवाई कम्पनी बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार आज बिहानदेखि नियमित रुपमा उडानहरु भइरहेका छन् । काठमाडौं र बाहिरका गन्तव्यमा दुई तीन दिनदेखि रोकिएका यात्रुलाई लैजानुपर्नेछ । ‘जेनजी पुस्ता’का कारण विषम परिस्थिति उत्पन्न भए पनि यही भदौ २४ गतेदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बन्द गरिएको थियो । विमानस्थल सुरक्षा समितिको बैठकको निर्णय अनुसार बुधबार दिउँसो ३ः३० बजेदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान पुनः थाल्ने निर्णय गरिएको थियो । बुधबार साँझदेखिनै आन्तरिक र अन्तराष्ट्रिय दुवै उडान सञ्चालन भइरहेका छन् । विमानस्थलले हवाई उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिएर विमानस्थल आउन अनुरोध गरेको छ । साथै यसरी आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउन समेत भनिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर दैनिक तीनसयभन्दा बढी उडान हुन्छ । यसमध्ये आन्तरिकतर्फ दुई सय ५० भन्दा बढी र अन्तरराष्ट्रियमा दैनिक १०० हाराहारी उडान हुन्छ । विमानस्थल बिहान ६ः०० बजेदेखि राति १३ः०० बजेसम्म सञ्चालन हुँदै आएको छ । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् । –––
म राष्ट्रिय हितका लागि काम गर्न तयार छु : सुशीला कार्की
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय हितका लागि काम गर्न तयार रहेको बताएकी छन् । नेपालको अन्तरिम सरकारको नेतृत्वका लागि जेनजी युवाबाट आएको प्रस्ताव उनले स्वीकार्ने बताएकी हुन् । भारतीय एक टेलिभिजनसँगको प्रतिक्रियामा कार्कीले नेपाली युवाले आफूलाई गरेको विश्वासप्रति विनम्रता महसुस गरेको बताइन् । उनले भनेकी छन्, ‘जेन-जी समूहले मलाई छोटो अवधिका लागि सरकारको नेतृत्व गर्न विश्वास गरेको छ । म राष्ट्रिय हितका लागि काम गर्न तयार छु ।’ साथै उनले आफू भारतीय नेताहरूबाट आफू धेरै प्रभावित भएको पनि बताएकी छन्। यद्यपि जेनजीहरूले अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीलाई दिने प्रस्ताव गरे पनि केही जेनजीले भने असन्तुष्टि जनाएका छन् । जेनजीहरुबीच नै नेतृत्वकर्ताको विषयमा असन्तुष्टि हुँदा नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय पनि पेचिलो बनेको छ । सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै केही जेनजीहरूले हिजो जंग्गीअड्डाबाहिर नाराबाजी पनि गरेका थिए । जेनजीहरूबीच नै कुरा नमिलेपछि सेनाले बिहीबार बिहान सम्पर्कमा आउन आग्रह गरेको थियो ।
चितवनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
चितवन । जिल्लामा लगाइएको कर्फ्यु हटाइएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार यही भदौ २४ गतेदेखि लगाइएको कर्फ्यु हटाएर निषेधाज्ञा लगाइएको छ । आज बिहान ६ः०० बजेदेखि कर्फ्यु हटाएर निषेधाज्ञा लगाइएको प्रजिअ अर्यालले जानकारी दिए । उनका अनुसार जिल्ला सदरमुकाममा रहेका बैंक तथा वित्तीय संस्थाहरु दिनको १ः०० बजेसम्म सञ्चालन गरिने छन् भने सरकारी कार्यालय खुला गरिएका छन् । निषेधाज्ञा कार्यान्वयन गर्दै विस्तारै जनजीवन सहज बनाउँदै लगिने उनले बताए। अहिले सडकमा सवारी आवागमन सहज हुँदै गएको छ ।
शान्तिसुरक्षामा असर पार्ने काम नगर्न सुरक्षा फौजको आग्रह
काठमाडौं । देशका सुरक्षा सङ्गठनले मुलुकको शान्ति सुव्यवस्थाको परिस्थिति क्रमशः सहजीकरणतर्फ उन्मुख भइरहेकाले त्यसलाई असर पर्ने कुनै पनि क्रियाकलाप नगर्न-नगराउन सबै तह र तप्कासँग आग्रह गरेका छन् । देशको शान्ति सुरक्षा र अमनचयनका लागि अहोरात्र परिचालित सुरक्षा फौजले सम्हालिँदै गएको परिस्थितिलाई बिथोल्ने कुनै पनि किसिमका गतिविधि र क्रियाकलाप नगर्न समाजका सबै पक्षको ध्यानाकर्षण गराएका छन् ।
रुपन्देहीमा कर्फ्यु आदेशलाई निरन्तरता
लुम्बिनी । रुपन्देही जिल्ला प्रशासन कार्यालयले जिल्लामा लगाएको कर्फ्यु आदेशलाई निरन्तरता दिएको छ । प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेले बिहीबार जारी भएको कर्फ्यु आदेशमा जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दङ्गा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थितिलाई दृष्टिगत गरी यही भदौ २४ गते बेलुका ८ः३० बजेदेखि जारी भएको कफ्र्यु आदेशलाई आज बिहान ९ः०० बजेदेखि पुनः लागू गरिएको जनाइएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ‘क’ बमोजिम आज बेलुका ७ः०० बजेसम्म रुपन्देही जिल्लाभर पुनः कर्फ्यु आदेश जारी गरिएको सूचनामा जनाइएको छ । यसअघि आज बिहान ७ः०० बजेदेखि ९ः०० बजेसम्म कर्फ्यु आदेश खुला गरिएको थियो । कफ्र्यु अवधिभर आदेशको उल्लङ्घन गरी कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गरेमा प्रचलित कानुनअनुसार कडाभन्दा कडा कारबाही गरिने ब्यहोरा आदेशमा जानकारी गराएको छ । प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि जिल्लामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कायम गर्न थप परिचालन भएका छन् ।
त्रिभुवन विश्वविद्यालयको पठनपाठन कात्तिक ११ गतेसम्म बन्द
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पठनपाठन आगामी कात्तिक ११ गतेपछि मात्रै सुरु हुने भएको छ । त्रिविले आज सूचना जारी गरी असामान्य परिस्थितिका कारण तत्काल पठनपाठन सुरु गर्न समस्या भएको जनाउँदै अब छठपर्वपछि मात्र पठनपाठन हुने जनाएको हो । सूचनामा भनिएको छ, 'मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको छ ।'
मुस्ताङमा ‘हाइब्रिड’ स्याउ उत्पादनमा वृद्धि, गतवर्ष ८२ करोडभन्दा बढी कारोबार
मुस्ताङ । मुस्ताङमा उच्चघनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउको उत्पादन भइरहेको छ । यसपटक ‘पोस्ट हाभेस्ट’ अन्तिम चरणमा पुगेको छ । यहाँ सरोकार भएका निकाय सम्मिलित जिल्लास्तरीय समन्वयात्मक बैठकले उच्च ‘हाइब्रिड’ गाला स्याउ भदौ ५ देखि र किङरट जातको स्याउ भदौ १५ गतेदेखि जिल्ला बाहिर लैजान पाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार यहाँका स्याउ बगैँचाबाट पोखरा-काठमाडौंलगायत स्थानमा पुर्याइसकिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यसवर्ष यस्तो स्याउको उत्पादन करिब १० प्रतिशतले वृद्धि भएको अनुमान छ । कार्यालय प्रमुख राजेश गुरुङले यहाँको प्रारम्भिक सर्वेक्षणमा स्याउ उत्पादनमा वृद्धि भएको देखिएको बताए । गत वर्ष मुस्ताङमा ६० हेक्टर ‘हाइब्रिड’ स्याउ बगैँचा क्षेत्र रहेकामा उत्पादनशील ५० हेक्टर क्षेत्रफलमा एक हजार २५० मेट्रिक टन स्याउ उत्पादन भएको उनले जानकारी दिए । यसवर्ष गत वर्षभन्दा एक सय २५ मेट्रिक टन बढी उत्पादन भएको कार्यालय प्रमुख गुरुङको भनाइ छ । यहाँ परम्परागत स्थानीय जातका स्याउको उत्पादनमा भने ह्रास आउने देखिएको कृषि ज्ञान केन्द्रले अनुमान गरेको छ । यस वर्ष गत वर्षको तुलनामा स्थानीय जातको स्याउ १५ प्रतिशतले ह्रास आउने प्रक्षेपण गरिएको केन्द्र प्रमुख गुरुङले सुनाए । गत वर्ष यहाँ आठ सय ३० हेक्टरमा स्थानीय लगाइएकामा छ हजार ७८ दशमलव ८४ प्रतिशत मेट्रिक टन उत्पादन भएको थियो । ज्ञान केन्द्रले गत वर्षभन्दा ९२ मेट्रिक टन कम उत्पादन हुने अनुमान गरेको छ । थासा-१ टुकुचेका कृषक दिपसागर थकालीले यसवर्ष थासाङ क्षेत्रमा स्थानीय स्याउको उत्पादन एक तिहाईले घटेको बताए । 'गत वर्ष लटरम्म फलेको थियो, तर यस वर्ष बोटमा स्याउ नै थोरै फलेको छ', उनले भने । केही क्षेत्रमा भने उत्पादनमा समस्या नआउने अनुमान रहेको छ । यहाँको घरपझोङ-५ स्थित चिम्ले अचार्ड कृषि स्याउ फार्ममा स्थानीय जातका स्याउ उत्पादनमा कुनै असर नपरेको फार्मका सञ्चालक कर्म गुरुङले बताए । बगैँचाको उचित व्यवस्थापन, भूगोल र स्थानले समेत स्याउ उत्पादनमा फरक पर्ने उनले सुनाए । शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयले बोटमा फूल फुल्दै गरेको बेला वर्षा भएकाले असर पुर्याएकाले उत्पादनमा कमी आउने देखिएको बताए । तथापि, जिल्लामा कति स्याउ उत्पादन भयो भन्नेबारे असोजपछि यकिन हुने उनको भनाइ छ । केन्द्रका अनुसार स्थानीय र ‘हाइब्रिड’ गरी गतवर्ष यहाँ छ हजार १६ हेक्टर क्षेत्रफलमा सात हजार ३२८ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । जसमध्ये १० प्रतिशत स्याउ मुस्ताङमै खपत भएको थियो भने ९० प्रतिशत स्याउ बाहिर निकासी भएको थियो । स्याउ निकासीबाट रु ८२ करोड ६८ लाख कारोबार हुँदा रु नौ करोड १८ लाख ६७ हजार बाराबर जिल्लामै खपत भएको ज्ञान केन्द्रले जनाएको छ । रासस
कालीगण्डकी करिडोर सडक अवरुद्ध
गुल्मी । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से भन्ने स्थानमा सडक माथिबाट पहिरो खसेपछि गए रातिदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएको जानकारी पाएपछि प्रहरीचौकी पुर्तीघाटबाट प्रहरी टोलीलाई बिहानै सडक सुचारुका लागि पहिरो गएको स्थानका खटाई सकिएको प्रहरीले जनाएको छ । अहिले पनि उक्त क्षेत्रमा लगातार वर्षा भइरहेका कारण सडकमा थुप्रिएको पहिरो पन्छाउन समस्या परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिएका छन् । सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पर्वत, बागलुङ एवं रिडी हुँदै पाल्पा र बुटवलसम्म आवजावत गर्ने सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् । वर्षा रोकिनासाथ सडक सुचारु गर्नका लागि स्थानीय निर्माण कम्पनी कालिका कन्ट्रक्सनले पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राखेको सूचना अधिकारी सारुले बताएका छन् । पहिरोका कारण उक्त सडक पटक पटक अवरुद्ध हुने गर्दछ ।