विकासन्युज

विदेशी मुद्रा सञ्चिति ३० खर्ब रुपैयाँ नजिक, २९.९ प्रतिशत बढ्यो रेमिट्यान्स

काठमाडौं । नेपालमा विदेशी मुद्रा सञ्चिति ३० खर्ब रुपैयाँ नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउनसम्ममा कुल विदेशी विनिमय सञ्चिति २८ खर्ब ६ अर्ब ४ करोड रुपैयाँ पुगेको हो । यसअघि गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर विदेशी विनिमय सञ्चिति रहेको थियो । असारको तुलनामा साउनमा ४.८ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ र  राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ साउन मसान्तमा २.७ प्रतिशतले वृद्धि भई २० अर्ब ३ करोड पुगेको छ ।  कुल विदेशी विनिमय सञ्चिति मध्ये राष्ट्र बैंकमा असारमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा साउनमा ४.० प्रतिशतले वृद्धि बढेर २५ खर्ब ११ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । यस्तै, बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति असारमा २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेकोमा साउनमा १२.० प्रतिशतले वृद्धि भई २ खर्ब ९४ अर्ब ५८ करोड रुपैयाँ कायम छ । साउनमा कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.४ महिनाको वस्तु आयात र १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको दाबी छ । साउनमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४५.९ प्रतिशत, १३८.३ प्रतिशत र ३६.० प्रतिशत रहेका छन् । गत असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए । चालु आवको साउनमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २९.९ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ रहेको थियो ।  समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.० प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको थियो  समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १ खर्ब ९३ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब ४८ अर्ब ८ करोड रुपैयाँ रहेको थियो ।  समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४४ हजार ४६६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २३ हजार ६४४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३६ हजार ९२८ र २२ हजार ६४७ रहेको थियो । समीक्षा अवधिमा चालु खाता ७८ अर्ब १४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३३ अर्ब ८ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ५६ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।  राष्ट्र बैंकको तथ्याङ्क अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति ८९ अर्ब ३० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ६४ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब ४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२ करोड रुपैयाँ रहेको थियो । यसैगरी, समीक्षा अवधिमा ६९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८० करोड रुपैयाँ रहेको थियो ।

मानवअधिकार आयोगको नौ बुँदे आह्वान : जेनजी आन्दोलनका मृतकको शवपरीक्षण र राहतमा जोड

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा मृत्यु भएकाहरूको शवपरीक्षण गर्नुपर्नेसहित नौ बुँदे आह्वान गरेको छ ।    आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलल सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा आन्दोलनका क्रममा मृत्यु भएकाहरूको परीक्षण, दाहसंस्कार तथा पीडित परिवारलाई राहतलगायत कार्यमा विशेष ध्यान दिनुपर्ने उल्लेख छ ।   ‘देश, जनता, लोकतन्त्र, मानवअधिकार र विधिको शासनलाई केन्द्रमा राखी सबै सरोकार भएकाहरूको सहभागितामा आगामी कार्यहरू अगाडि बढाउनु जरुरी छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्यौलपूर्ण अवस्थालाई तात्विक निष्कर्षमा पुर्‍याउन सबैले धैर्य र संयमतापूर्वक अगाडि बढ्नुपर्छ ।’   आफ्ना अभिव्यक्तिहरू सार्वजनिक गर्दा अरूको अधिकारको सम्मान गर्दै शिष्टता र नम्रतापूर्वक सम्प्रेषण गर्न, द्वन्द्व र हिंसालाई प्रश्रय दिने अभिव्यक्ति नदिन र आफ्ना मागहरू लोकतान्त्रिक विधि र प्रक्रियाअनुरूप शिष्टतापूर्वक राख्न आयोगले आग्रह गरेको छ ।   विकसित परिस्थितिमा आमनागरिकको मानवअधिकारको उपभोगमा आइपर्ने अवरोध पहिचान गरी त्यस्ता अवरोध हटाउन प्रभावकारी कार्य गर्नुपर्ने र सङ्कटको अवस्थामा हुनसक्ने कालोबजारी र कृत्रिम अभावलाई नियन्त्रण गर्न आयोगको आग्रह छ ।  दैनिक उपभोग्य सामग्री र सेवालाई सहज रूपले सञ्चालन गर्ने आवतजावतलाई सहज बनाउनुपर्नेमा जोड दिएको छ ।   ‘प्रदर्शनका क्रममा भएका आगजनी र तोडफोडबाट भएको क्षति विवरण सङ्कलन गरी भौतिक पुनर्निर्माण र सेवा प्रवाहमा जोड दिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सङ्कटपूर्ण अवस्थालाई सामान्यीकरण गर्न सबै सङ्घसंस्था र नागरिक समाजले जिम्मेवार नागरिकको आफ्नो दायित्व पूरा गर्नुपर्छ ।’     

तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ

दमौली । तनहुँ कारागारबाट फरार भएकामध्ये १०९ जना कैदीबन्दी पक्राउ परेका छन् । गत भदौ २४ गते राति जेनजी आन्दोलनको बहानामा फरार भएका ३२७ जनामध्ये आजसम्म १०९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।  पक्राउ पर्नेमा ६८ पुरुष, नौ महिला र ३२ पुरुष थुनुवा रहेको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । प्रहरीले जेनजी आन्दोलनको बहानामा तनहुँ कारागारबाट फरार रहेका कैदीबन्दीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।  देशको विकसित असमान्य परिस्थितिको फाइदा लिई हिरासत र कारागारबाट फरार रहेका थुनुवा, कैदीबन्दीलाई स्वेच्छिक रुपमा नजिकको प्रहरी कार्यालय वा कारागार कार्यालयमा सम्पर्क आउन आग्रह गरिएको थापाले बताए । अन्यथा आवश्यकताका आधारमा बल प्रयोग गरी नियन्त्रणमा लिइने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।  साथै कारागारबाट फरार रहेका कैदीबन्दीहरू छरछिमेकमा आएको थाहा पाएमा प्रहरीलाई सूचना दिन आम जनसमुदायमा अपिल गरिएको छ । 

आगजनी भएका संरचनाको दशैंअघि नै रङरोगन गरिने

काठमाडौं । आगजनीका कारण कुरूप देखिएका संरचनाको दशैंअघि नै रङरोगन हुने भएको छ । सहरी विकासमन्त्री कुलमान घिसिङले सोमबार मन्त्रालयको पदभारपछि सम्बोधन गर्दै तत्कालका लागि रङरोगन गरिने र त्यसपछि फर्निचरलगायत अत्यावश्यक सामान व्यवस्थापन गर्नुपर्ने बताएका हुन् ।   उनले पुनःनिर्माण कार्य अगाडि बढाउन विशेष कोष खडा गर्ने तथा त्यसमा स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई आग्रह गरिने बता‍ए ।  ‘गत साता जेनजी आन्दोलनका क्रममा आगजनी भएका संरचनाको पुनर्निर्माण गर्नुपर्ने र त्यसका लागि आर्थिक स्रोत व्यवस्थापन नै अहिलेको मुख्य चुनौती हो । हाम्रो संरचना हामी आफै बनाउन सक्छौं भन्ने सन्देश दिनका लागि पनि विभिन्न सहयोगीसँग आग्रह गर्नेछौं,’ उनले भने, ‘तत्काल पुन:निर्माणको काम अगाडि बढाउने गरी एक साताभित्र खाका तयार गरेर अगाडि बढ्नेछौं ।’ मन्त्री घिसिङले भ्रष्टाचार उन्मूलन र सुशासन कायम गर्ने तथा मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नु ठूलो चुनौती रहे पनि तिनको समाधान गर्न सबै लाग्नुपर्ने बताए।  मन्त्रालयका सचिव गोपाल सिग्देलले पूर्वाधारमा भएको क्षति मूल्याङ्कन गर्ने, पुन: निर्माणका लागि स्थानीय र प्रदेश सरकारसँग समन्वय गरिने जानकारी दिए ।   

चिरायु नेशनल हस्पिटलले गर्‍यो स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । हालैको जेनजी आन्दोलनका क्रममा घाइते भई निजामती कर्मचारी अस्पतालमा उपचाररत बिरामीहरूको उपचारमा सहजता ल्याउन चिरायु नेशनल हस्पिटलले आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ। उक्त सामग्री चिरायु नेशनल हस्पिटलका अपरेसन डाइरेक्टर चण्डेश्वरा नन्दराज वैद्यले विशेष समारोहका बीच निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. मोहनचन्द्र रेग्मीलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा चिरायु नेशनल हस्पिटलतर्फबाट वसन्त खनाल र लोकनाथ रेग्मीको उपस्थितिसमेत रहेको थियो । सोही कार्यक्रममा निजामती कर्मचारी अस्पतालको तर्फबाट डा. दीपक पौडेलसमेत सहभागी भएका थिए । चिरायु नेशनल हस्पिटलले समाजप्रति आफ्नो उत्तरदायित्वबोधसहित विपद् वा आपतकालीन परिस्थितिमा समुदायलाई निरन्तर सहयोग गर्दै आएको छ । यसपटकको सामग्री हस्तान्तरणलाई पनि सोही निरन्तरताको रूपमा लिइएको छ ।

जनमतबाट हुने परीक्षण नै अबको विकल्प बन्नुपर्छ : एमाले उपाध्यक्ष पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले सडक छोडेर निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन् । उनले विकासन्यूजसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनका अनुसार जति छिटो निर्वाचनतर्फ लागियो त्यति छिटो देश राज्यविहीनताबाट बाहिर निस्कन्छ ।  उपाध्यक्ष पाण्डेले चुनावको पक्षमा उभिन ढिलो गर्न नहुनेमा जोड दिएका छन् । अब प्रतिनिधिसभा पुनःस्थापना सम्भव नभएकोले पाण्डेले सम्पूर्ण एमाले पङ्तिसहित देशलाई नै निर्वाचनतर्फ अग्रसर हुन आह्वान गरेका छन् ।  ‘अहिले हिजो राजा ज्ञानेन्द्र कालमा भएकोजस्तो जनअधिकार हनन नभएकोले प्रतिनिधि सभा पुनःस्थापनाको मागको औचित्य छैन,’ विकासन्युजसँग कुरा गर्दै पाण्डेले भने, ‘सडक संर्घषको धङ्गधङ्गिबाट छिटो निस्किएर निर्वाचनको तयारीमा लाग्नु नै अहिले देश र पार्टी दुवैका लागि हितकर छ ।’ सुशीला कार्कीको सरकारको गठन नै निर्वाचन प्रयोजनको सरकार भएकोले अबको छ महिनापछि देशले नयाँ जनमत प्राप्त गर्ने पाण्डेले बताए ।  एमालेको दवाव तोकिएको समयमा निष्पक्ष निर्वाचनको दिशामा अघि बढ्नुपर्ने उनको भनाइ छ । ‘यो सरकार अन्तरिम भएकाले उसको कर्तव्य चुनाव गराउने हो,’ पाण्डेले भने, ‘सबै लोकतान्त्रिक पार्टीहरू जनतामा गएर, जनताको अभिमत प्राप्त गर्ने कुरामा प्रवेश गर्नुपर्छ ।’

शिवम् सिमेन्टले जिल्ला प्रशासन कार्यालयमा गर्‍यो सरसफाई

काठमाडौं । हालैको जेनजी आन्दोलन पश्चात काठमाडौंमा भएको आगजनी तथा तोडफोडका कारण उत्पन्न अव्यवस्था व्यवस्थापनका लागि शिवम् सिमेन्टले सरसफाई अभियान सञ्चालन गरेको छ । कम्पनीले सोमबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग समन्वय गर्दै कार्यालय परिसरमा सरसफाई गर्नुका साथै दैनिक कार्य सञ्चालन सहज बनाउन आवश्यक फर्निचरसमेत हस्तान्तरण गरेको जनाएको छ । शिवम् सिमेन्टका अनुसार वर्तमान विषम परिस्थितिमा सहयोग र श्रमदानमार्फत समुदायलाई साथ दिइरहेको छ र आगामी दिनमा समेत निरन्तर सरसफाई तथा श्रमदान कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । 'समुदाय र शहरको पुनर्निर्माणका लागि सहयोग गर्नु हाम्रो कर्तव्य हो । काठमाडौंलाई सफा, व्यवस्थित र सुरक्षित बनाउन निरन्तर योगदान गर्नेछौं,' कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

सरकार र निजी क्षेत्रको संयुक्त पहल, आपूर्ति सहज बनाउने तयारी तीव्र

काठमाडौं । वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाडपर्वलाई लक्षित गर्दै मुलुकमा सहज आपूर्ति सुनिश्चित गर्न निजी क्षेत्रका छाता संगठनहरूसँग विशेष छलफल गरेको छ । सो छलफलमा मन्त्रालयका अधिकारीहरू, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई), नेपाल च्याम्बर अफ कमर्स (एनसीसी), महिला उद्यमी महासंघ नेपाल (एफडब्ल्यूईएएन) र नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई) का प्रतिनिधिहरू, कर पदाधिकारी एवं अन्य सरोकारवालाको सहभागिता रहेको थियो । बैठकले हालैको घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै आन्दोलनका क्रममा सरकारी र निजी संरचनामा भएको क्षतिको विवरण तयार गर्न, औद्योगिक वातावरण सुधार गर्न तथा लगानीकर्ताको मनोबल उकास्ने विषयमा गम्भीर छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार परिस्थिति क्रमशः सहज बन्दै गएको छ । अन्तर्राष्ट्रिय व्यापारका सीमा नाकामा भन्सार कार्यालय सञ्चालन भइसकेको र मालसामानको ढुवानी र वितरण सहज भइरहेको छ । चाडपर्वलाई लक्षित गर्दै साधन आपूर्ति तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत देशभर १५३ सहुलियत मूल्य पसल आजैदेखि सञ्चालनमा ल्याइएको छ । बजारमा दैनिक उपभोग्य सामग्री र पेट्रोलियम पदार्थको पर्याप्त आपूर्ति भएको मन्त्रालयको दाबी छ । मन्त्रालयले उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र व्यवसायीहरूलाई अत्यधिक वस्तु सञ्चयन नगर्न र आपूर्ति व्यवस्थामा अवरोध पुर्‍याउने काम नगर्न आग्रह गरेको छ ।  साथै बजार अनुगमनलाई कडा पार्दै उपभोक्ता अधिकार हनन हुने कुनै गतिविधि भएमा कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।