विद्युत प्राधिकरणमा पूर्वमन्त्री दीपक खड्काले बनाएको निजी कार्यकक्ष ऊर्जामन्त्री घिसिङले हटाए
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले मंगलबार विद्युत प्राधिकरण प्रधान कार्यालय रत्नपार्कमा रहेको मन्त्री कार्यकक्ष तत्काल बन्द गरी उक्त स्थानलाई प्राधिकरणको प्रयोजनका लागि प्रयोग गर्न निर्देशन दिएका छन् । उनले उक्त कार्यकक्ष मन्त्रीका लागि अब आवश्यक नभएको भन्दै प्राधिकरणलाई नै प्रयोग गर्न आग्रह गरेका हुन् यसअगाडि विद्युत प्राधिकरणमा पूर्वमन्त्री दीपक खड्काले निजी कार्यकक्ष बनाएका थिए । सोही कार्यकक्ष घिसिङले हटाउन निर्देशन दिएका हुन् । ऊर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरण, दरबारमार्गलाई पठाएको पत्रमा भनिएको छ, ‘ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाल विद्युत प्राधिकरण, सञ्चालक समितिका अध्यक्षज्यूको प्रयोजनमा रहेको कार्यकक्ष आवश्यक नभएको हुँदा त्यहाँ प्राधिकरणले प्रयोग गर्न अनुरोध छ ।’ यो निर्णय ऊर्जामन्त्री स्वयंको प्रयोजनका लागि छुट्ट्याइएको कार्यकक्ष अब आवश्यक नभएको भन्ने भनाइले धेरैको ध्यान तानेको छ । कतिपयले यसलाई जनमुखी प्रशासनको एउटा उदाहरणको रूपमा पनि हेरेका छन् भने कतिपयले स्टन्टको संज्ञा दिएका छन् ।
हितेन्द्रले फेसबुकबाटै दिए ऊर्जामन्त्री कुलमानलाई बधाई
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नव नियुक्त ऊर्जामन्त्री कुलमान घिसिङलाई बधाई दिएका छन् । शाक्यले मंगलबार दिउँसो आफ्नै फेसबुकमार्फत विभागीय मन्त्रालयको जिम्मेवारी पाएका घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । फेसबुकमा शाक्यले लेखेका छन्, 'ऊर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका श्री कुलमान घिसिङज्यू नयाँ नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई छ ।'
जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
काठमाडौं । जेनजी पुस्ताको आन्दोलनमा ज्यान गुमाउनेहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पोस्टमार्टम सकिएसँगै ज्यान गुमाएका शहीदहरुको त्रिवि शिक्षण अस्पतालबाट शवयात्रा गरी पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । शव यात्रामा गृहमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याल, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ लगायतको उपस्थिति रहेको थियो । द्वय मन्त्रीहरूले मृतकको पार्थिव शरीरमाथि राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे । आन्दोलनमा ७० जना भन्दा बढीले ज्यान गुमाएका छन् । सशस्त्र प्रहरी बलले मृतकलाई सलामी अर्पण गरी सम्मान व्यक्त गरेका छन् । सरकारले आन्दोलनमा मृत्यु हुनेहरुलाई शहीद घोषणा गरी जनही दश लाख नगद राहत स्वरुप प्रदान गर्ने घोषणा गरेको छ ।
निर्वाचनका लागि प्रारम्भिक तयारी सुरु
काठमाडौं । प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले प्रारम्भिक तयारीका काम सुरु गरेको छ । यसअघि आगामी कात्तिक १७ गतेका लागि निर्धारित रुपन्देही निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द गरी मध्यावधि निर्वाचनका लागि आयोगले प्रारम्भिक तयारी सुरु गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणासँगै सरकारसँगको औपचारिक परामर्श र अन्य व्यवस्थापकीय तयारी तथा योजना तर्जुमा सुरु भएको बताए । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका लागि आवश्यक पर्ने रकमको प्रबन्ध हुनेगरी बजेट परिमार्जित गर्ने घोषणा गरिसकेका छन् । यही भदौ २३ २४ गते भएको ‘जेनजी पुस्ता’को आन्दोलन र यसबाट उत्पन्न परिस्थितिका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई यही भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । सोही दिन प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरेका थिए ।
प्रधानमन्त्री कार्की र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेट, के भयो कुराकानी ?
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार भएको उक्त भेटमा उनीहरूबीच देशको विकसित घटनाक्रम तथा समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको थियो । सो अवसरमा अध्यक्ष दाहालले राष्ट्रियसभाको कामकारबाही, अवस्था र बानेश्वरस्थित सङ्घीय संसद् भवन तथा सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा भएको क्षतिका बारेमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराएको अध्यक्ष दाहालका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए । भेटमा प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातर्फ लैजान राष्ट्रियसभाको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै वर्तमान राष्ट्रिय सङ्कटलाई सही निकास दिन सबैले सहकार्य गरी अघि बढ्न आग्रह गरिन् ।
निर्वाचन र पुनःनिर्माणका लागि बजेट स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन
काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण र आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि बजेटको स्रोत खोज्न अर्थमन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ । बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री कार्यदलमा छन् । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार अहिलेका बजेटमा परेका केही योजना र कार्यक्रम कटौती गरेर कसरी स्रोत व्यवस्थापन गर्न सकिन्छ भनेर आन्तरिक अध्ययनका लागि कार्यदल गठन भएको बताए । ‘चुनाव र पुनःनिर्माणका लागि केही बजेट चाहिन्छ । त्यसका लागि स्रोत जुटाउन अहिलेकै बजेटभित्र रहेर कसरी व्यवस्थापन गर्न सकिन्छ र सम्भावनाका क्षेत्र कुन–कुन छन् भनेर अध्ययन गर्नका लागि कार्यदल बनाइएको हो’, प्रवक्ता पाण्डेयले भने, ‘बजेटका केही आयोजना तथा कार्यक्रम कटौती गर्नुपर्ने हुनसक्छ । त्यसको प्राथमिकता निर्धारण गर्ने कार्याधिकार कार्यदलले पाएको छ ।’ सोमबार कार्यभार सम्हाल्दै नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनालले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा राजनीतिक दबाबमा बजेटमा परेका, पूर्वतयारी नसकिएका, टुक्रे योजना तथा कार्यक्रम कटौती गरिने बताएका थिए । सरकारले पूरक बजेट नल्याउने र अहिलेको बजेटमा परेका योजना तथा कार्यक्रम कटौतीबाटै निर्वाचन र पुनःनिर्माणका लागि करिब १ खर्ब बराबर स्रोत जुटाउन सकिने अर्थमन्त्री खनालको भनाइ थियो । रासस
सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो प्रहरी वृत्त दरबारमार्गलाई सहयोग
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले प्रहरी वृत्त दरबारमार्गलाई दुई थान कम्प्युटर र एउटा स्क्यानर तथा फोटोकपीसहितको प्रिन्टर (थ्री इन वान) मेसिन सहयोग गरेको छ । केही दिनअघि आन्दोलनका क्रममा भएको आगजनीमा वृत्तको कार्य सञ्चालन प्रभावित भएपछि संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सहयोग गरिएको हो । उक्त सहयोग सामग्री बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले मङ्गलबार वृत्तका इन्चार्ज प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठलाई हस्तान्तरण गरे । इन्चार्ज श्रेष्ठले यस्ता सहयोगहरूले कार्यालय सञ्चालनमा सहजता भए पनि आगजनीले ठूलो क्षति पुर्याएकाले अझ बढी सहयोग आवश्यक रहेको बताए । आम नागरिकको विश्वास र भरोसाका आधारमा सांग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई पालना गर्दै आएको बैंकले आगामी दिनमा सेवालाई अझ विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।
दशैंका लागि अग्रिम टिकट बुकिङ नखुल्ने
काठमाडौं । यस वर्षको दशैं, तिहार लगायतका चाडपर्वका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । मंगलबार काठमाडौंको मीन भवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा बसेको संवद्ध सबै पक्षको बैठकले यात्रुहरु जाने क्रम सुरु भइसकेकाले दशैंका लागि भनेर अग्रिम टिकट खुला गर्न आवश्यक नभएको निष्कर्ष निकालेका हुन् । जेनजीको आन्दोलन पछि विश्वविद्यालय, कलेजहरू बिदा हुने र उनीहरुको घर जाने क्रम सुरु भइसकेकाले यस वर्ष दशैंलाई लक्षित गरेर अग्रिम टिकट बुकिङको व्यवस्था नगर्ने निर्णयमा पुगिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए । उनले दशैंका लागि घर जानेहरूले ३-४ दिन अगाडि नै बसको टिकट लिने व्यवस्था मिलाइएको पनि जानकारी दिए । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा यात्रुहरूको सहज ढंगले गन्तव्यमा पुर्याउने गरी सम्वद्ध सबै पक्षसँग छलफल गरिएको बताए । यात्रुहरूको सहज रुपमा गन्तव्यमा पुर्याउने कुरामा कुनै कमी हुन नदिने उनले प्रतीज्ञा गरे । बैठकमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले पनि दशैंमा यात्रुहरूलाई गन्तव्यमा पुर्याउनका लागि प्रहरीले आवश्यक सुरक्षाको व्यवस्था मिलाइसकेको बताए । उनले दशैंमा बस यात्रुहरुलाई ठग्नेमाथि कारबाही हुने चेतावनी समेत दिए । उनले नेपाल प्रहरीले यात्रुहरुको सुरक्षाका लागि सहायता कक्षमा पनि प्रहरी परिचालन गर्ने पनि बताए । सडकको अवस्था र सुधारका प्रयास सडकको अवस्था पूर्ण रूपमा सन्तोषजनक नरहेको व्यवसायीहरू बताउँछन् । बीपी राजमार्ग, पूर्व–पश्चिम राजमार्ग र विशेषगरी नागढुङ्गादेखि मुग्लिङसम्मको बाटो जीर्ण अवस्थामा छ । यद्यपि, सडक विभागले खाल्डाखुल्डी पुर्ने तथा अन्य मर्मत सम्भारको कामलाई अगाडि बढाएको छ। पोखरा क्षेत्रको बाटो भने सामान्य अवस्थामा रहेको बताइएको छ। ठाउँ–ठाउँमा हेभी उपकरण राखेर सडकलाई सहज बनाउने प्रयास जारी छ । दशैंमा यात्रु भाडादर नबढ्ने महासंघले स्पष्ट पारेको छ । सरकारले निर्धारण गरेको भाडादर नै लागू हुनेछ । विभागले ठाउँ–ठाउँमा बुकिङ गर्ने स्थानहरूमा भाडादरको सूचना राखेर यात्रुहरूलाई जानकारी दिने व्यवस्था मिलाउनेछ । यद्यपि, रिजर्भ गाडीमा भने मानिसहरूले बढी भाडा तिरेर पनि यात्रा गर्न सक्नेछन् । यात्रुको चापअनुसार सवारीसाधनको अभाव सधैं रहने भए तापनि महासंघले देशभरिको आफ्नो ठूलो सञ्जालको उपयोग गर्नेछ । महासंघअन्तर्गत ३५७ वटा संघ/समितिहरू आबद्ध रहेकाले कुन ठाउँमा गाडीको माग बढी छ, त्यहीअनुसार गाडीहरूलाई ‘डाइभर्ट’ गरेर पठाउने व्यवस्था मिलाइनेछ । ‘हिजो मात्रै करिब ४०० गाडी बसपार्कबाट छुटेका छन् । पोखरामा लोड कम भएमा त्यहाँका गाडीहरूलाई पनि अन्यत्र पठाएर अधिकतम उपयोग गरिनेछ,’ महासंघका अध्यक्ष स्वाँरले भने । मौसम खराब भएको अवस्थामा समेत गत वर्ष स्थानीय गाडीहरूलाई केही शुल्क बढाएर भए पनि प्रयोगमा ल्याइएको अनुभव महासंघले सुनाएको छ । दशैंको बेला यात्रुहरूको सुरक्षित र सहज यात्राका लागि टिकट बुकिङदेखि सडक र सुरक्षा व्यवस्थापनमा विशेष तयारी गरिएको महासंघले जनाएको छ ।