जेनजी आन्दोलनले यतिसम्मको विध्वंश हुन्छ भन्ने कल्पना थिएन, ताकी-ताकी गोली हान्ने आदेश थिएन’
काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २३ र २४ भदौ भएको जेनजी आन्दोलनमा विध्वंश हुन्छ भन्ने कल्पना पनि नगरेको धारणा राखेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत् उनले यस्तो धारणा राखेका हुन् । उनले जेनजी आन्दोलनमा षड्यन्त्रकारीहरूले घूसपैठ गरी हिंसा मच्चाएको टिप्पणी पनि गरेका छन् । २४ गतेयता सार्वजनिक कार्यक्रममा नदेखिएका ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै यस्तो धारणा राखेका हुन् । उनले प्रदर्शनकारीलाई ताकी ताकी गोली हान्ने आदेश सरकारले नदिएको पनि बताएका छन् । यस्तो छ उनको अभिव्यक्ति : दिदीबहिनी तथा दाजुभाइहरू ! आज संविधान दिवस। नेपाली जनताले ७० वर्षसम्म संघर्ष गरेर आफैंले निर्वाचित गरेको संविधानसभाले बनाएको संविधान जारी गरेको दिन । लोकतान्त्रिक गणतन्त्र, सङ्घीय समावेशी व्यवस्था र जनताका अधिकार स्थापित भएको दिन । यो संविधान निर्माण गर्दा हामीले भोगेका चुनौती तपाईँहरूको सम्झनामा ताजै छ । नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई समेत परास्त गर्दै संविधान जारी भएको थियो । तसर्थ नेपालको संविधान नेपाली जनताले आफैले आफ्ना निम्ति लेखेको भविष्य रेखा हो । संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्नेगरी भूपरिवेष्ठित देशलाई भूजडित बनाउन उत्तर दक्षिण जोड्ने यातायात संरचनाहरु बनाइरहेका थियौं। उत्तरी छिमेकी देशसँग पनि यातायात पारवहन सम्झौता गरेका थियौं। हाम्रो सार्वभौमसत्ताको सामर्थ्य विस्तार गरेका थियौं। हाम्रा विकास संरचनाहरूका जग बसालेका थियौं । अर्थतन्त्र तंग्रदै थियो। गत साता जेन-जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो-आह्वान कर्ताले भनेझैं । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ । त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रध्दाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु। हामी यतिबेला हाम्रो संविधानमाथि ठूलो आक्रमण भएको अवस्थामा छौँ। प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ - नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ। जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ। यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैं बयान दिनेछ। हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो ? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैं महसुस गर्ने छ। विदेश जाने/आउने एयरपोर्टको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउने छ। हाम्रो नयाँ पुस्ताले आफैं बुझ्ने छ । तर, यो कुरा समय छँदै बुझ्नु पर्ने छ, नबुझेमा हाम्रो देशको सार्वभौमसत्ता इतिहासमा मात्र रहने छ । हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ। देशको सीमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो। यथार्थ भन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरु पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन् झन् गाढा सम्झना गराउने छ। हामी सबै पुस्ताका नेपाली एकजुट हुनु पर्दछ - सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न र हाम्रो संविधानको रक्षा गर्न। सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो। हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय सङ्कटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्छ। मेरो सबैमा अपील छ - संविधान जोगाऔं, सार्वभौमसत्ताको रक्षा गरौं।
क्षमायाचना गर्दै विष्णु पौडेलले भने- नीति र नेतृत्व निर्माणमा युवाशक्तिको निर्णायक योगदान
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी र राजकीय जिम्मेवारी निर्वाह गर्ने क्रममा भएका आफ्नो हिस्साका गल्ती, कमजोरी र भूलहरुप्रति क्षमा याचना गरेका छन् । संविधान दिवसका अवसरमा दिएको सन्देशमा पौडेलले विगतमा एमालेले लिएका निर्णय, गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुने भन्दै युवा शक्तिको निर्णायक योगदान रहेको गतिशील र परिवर्तनको संवाहक शक्तिको भूमिकामा पार्टीलाई स्थापित गर्ने जिम्मेवारी आएको बताए । उनले जेनजी आन्दोलनका सहिदहरुप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजन तथा आफन्तहरूमा समवेदना र घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरे । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठित मन्त्री परिषदबाट शान्ति र अमन चैन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने, जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका सार्वजनिक र निजीक्षेत्रका संरचनाहरूको पुन निर्माण गर्ने र तोकिएको मितिमा प्रतिनिधि सभाको निर्वाचन गर्ने अपेक्षा रहेको उनको भनाइ छ । जेनजी आन्दोलनको क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीको निष्पक्ष छानबिन गर्न, दोषीहरुलाई कानुन बमोजिम कारवाही गर्न र क्षतिग्रस्त सार्वजनिक तथा निजी संरचनाहरूको यथाशीघ्र पुनर्निर्माण गर्न उनले सरकारसँग माग राखे । उनका अनुसार जनताको, विशेषगरी युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोशलाई बुझ्न र सम्वोधन गर्न नसक्नु र भ्रष्टाचार नियन्त्रण, सुशासन एवं सेवाप्रवाहमा अपेक्षित सुधार हुन नसक्नु जेनजी आन्दोलनका मुख्य कारणहरू हुन् । तर आन्दोलनका क्रममा भएको हत्या-हिंसा, तोडफोड र आगजनी पनि त्यत्तिकै निन्दनीय छ । ‘विगतमा नेकपा (एमाले)ले लिएका निर्णय, गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुने नै छ । पार्टी र राजकीय जिम्मेवारी निर्वाह गर्ने क्रममा भएका आफ्नो हिस्साका गल्ती, कमजोरी र भूलहरुप्रति क्षमायाचना गर्दछु,’ उनले भने ।
नारायणगढ-मुग्लिन सडकमा सुक्खा पहिरो खस्दा बसमा क्षति, यातायात दुईतर्फी सञ्चालन
काठमाडौं । नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राति १०:५५ बजे समयमा चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा सुक्खा पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको थियो । अवरुद्ध सडकको पहिरो पन्छाइ राति ११:५५ बजदेखि एकतर्फी सवारी सञ्चालनमा ल्याएकोमा आज बिहान ७:१५ बजेदेखि भने दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । उनका अनुसार पहिरोसँगै खसेको ढुङ्गाले लागेर ना६ख १५२२ नम्बरको बसको अगाडि सिसामा क्षति पुगेको छ ।
जनताले पटकपटक गरेको आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि संविधान : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान नेपाली जनताले पटकपटक गरेको क्रान्ति, सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि बताएका छन् । संविधान दिवसका अवसरमा आज जारी गरेको सन्देशमा उनले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक क्रान्ति, सङ्घर्ष र जनआन्दोलनको उपलब्धि स्वरूप संविधानसभाबाट संविधान जारी भएको उल्लेख गरे । यस अवसरमा सभापति देउवाले आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात अज्ञात वीर सहिदहरूको समर्पण र बलिदानको उच्च कदर गर्दै संविधान दिवसका अवसरमा उनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरे । सन्देशमा सभापति देउवाले कांग्रेसको नेतृत्वमा, जनताका निर्वाचित प्रतिनिधिद्वारा असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई संविधान घोषणा भएको बताए । यो संविधानले लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायका विश्वव्यापी मान्यतालाई आत्मसात गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ । संविधान जारी भएको एक दशक पूरा भएको यो ऐतिहासिक दिनलाई सबैले गौरवसाथ स्मरण गर्दै हरेक नागरिकले आफू स्वतन्त्र र समान भएको महसुस गर्दै प्रत्येक वर्ष हर्षोल्लासका साथ संविधान दिवस मनाउँदै आएको उनको सन्देशमा उल्लेख छ । उनले न्याय, समानता र स्वतन्त्रता एवं बहुलवादमा आधारित बहुदलीय संसदीय लोकतान्त्रिक व्यवस्था स्थापना गर्न पटकपटक भएका राजनीतिक एवं सामाजिक क्रान्ति, सङ्घर्ष र आन्दोलनमा आफ्नो प्राण उत्सर्ग गर्ने महान् सपुतहरूप्रति संविधान दिवसको यस पावन अवसरमा उच्च सम्मानका साथ हार्दिक श्रद्धासुमन अर्पण गर्दै संविधान दिवसको शुभकामना व्यक्त गरेको सन्देशमा उल्लेख छ ।
प्रतिनिधिसभा नहुँदा संसदको जिम्मेवारी पूरा गर्न राष्ट्रिय सभा सदैव क्रियाशील छ : अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा नभएको वर्तमान अवस्थामा संसदको जिम्मेवारी र संवैधानिक दायित्व पूरा गर्न राष्ट्रिय सभा सदैव क्रियाशील रहने विश्वास दिलाएका छन् । उनले संविधान दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै संविधान कार्यान्वयन, आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा र त्यसको पूर्ण पालनामा लाग्न सबैलाई आग्रह गरे । अध्यक्ष दाहालले जेनजी पुस्ताको आन्दोलनले ल्याएको परिवर्तनसँगै सबै पक्षका बीचको एकताबाट तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने र देशलाई फेरि जन निर्वाचित प्रतिनिधिहरूकै नेतृत्वमा संविधानको रक्षा गर्ने चुनौती रहेको पनि उल्लेख गरे । शुभकामना सन्देशमा भनिएको छ, ‘यस अवसरमा देशको परिवर्तन र संविधानसभाबाट अग्रगामी संविधान निर्माणका लागि जीवन उत्सर्ग गर्ने महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता तथा घाइते, अपाङ्गता भएका व्यक्तिप्रति उच्च सम्मान व्यक्त गर्दछु ।’ विसं २०७२ असोज ३ गते जनताबाट निर्वाचित प्रतिनिधि रहेको संविधानसभाले नेपालको संविधान जारी गरेको थियो । सोही दिनको सम्मान र स्मरणमा हरेक वर्ष असोज ३ गते संविधान दिवसलाई गौरव र उत्सवका रूपमा मनाउने गरिएको छ ।
भदौ २३ र २४ गतेको आन्दोलनलाई एउटै कोणबाट हेर्न सकिँदैन : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता औंल्याएका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हुने उल्लेख गर्दै संविधान र लोकतन्त्रको रक्षामार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गर्नु सबै नेपालीको साझा कर्तव्य भएको बताए । उनले भर्खरैको जेनजी आन्दोलनसम्म आइपुग्दा समयले संविधानको निरन्तरतामा अझ विस्तार र परिमार्जन मागेको उल्लेख गर्दै अहिले सबैभन्दा उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्न म सम्पूर्ण पार्टी पङ्क्ति र जनसमुदायलाई आह्वान गरे । यही भदौ २३ र २४ गतेका घटनाहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरमा ल्याउन सरकारसँग माओवादीको माग छ । अध्यक्ष दाहालले भने, ‘मलाई विश्वास छ, जेनजी आन्दोलन लोकतन्त्र विरोधी होइन बरु यथास्थिति र तदर्थवादी शासन प्रणालीको विरोधी र उन्नत लोकतन्त्रको पक्षधर हो, त्यति हुँदाहुँदै पनि २३ र २४ भदौका आन्दोलनलाई एउटै कोणबाट हेर्न सकिँदैन । भदौ २३ को आन्दोलन वास्तविक जेनजी आन्दोलन थियो ।’
निर्दोष युवाको विरोध देखाएर जन निर्वाचित संसद विघटन गर्नु गैर संवैधानिक
काठमाडौं । सभामुख देवराज घिमिरेले आजको नेपाली जनताले संविधानविरोधी गतिविधिलाई समयमा नै बुझ्न सके मात्रै संविधानको रक्षा र विधिको शासनको प्रवर्द्धन हुने विश्वास व्यक्त गरेका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजु भाइहरूमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले संविधान घोषणाको एक दशक पुग्न १० दिन बाँकी रहँदा नै गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताले गरेको आन्दोलनले मुलतः समाज र राष्ट्रलाई नयाँ सोचका साथै पारदर्शिता र सुशासन दिनुपर्ने महत्त्वपूर्ण चेतना दिएको उल्लेख गरेका छन् । उनले भ्रष्टाचार र कुशासन अन्त्यको माग अघि सारेका निर्दोष युवाहरूको विरोधलाई देखाएर देशमा असामान्य स्थितिको सृजना गरिएको र जन निर्वाचित सर्वोच्च विधायिकी संस्थालाई विघटन गर्ने गैर संवैधानिक कार्य भएको उल्लेख गरे । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मार्ग चित्रलाई कार्यान्वयन गर्दै सङ्घ, प्रदेश र स्थानीय तहमा निर्वाचन सम्पन्न भई जनप्रतिनिधिहरूको सहभागितामा सरकार सञ्चालनको नयाँ प्रणाली अगाडि बढेको र अधिकार प्रत्यायोजन सहित स्थानीय तहलाई सबल बनाउँदै सेवा प्रवाह नागरिकको ढोका ढोकामा पुग्ने वातावरण बनेको उनको भनाइ छ । सभामुख घिमिरेले विगतमा पनि नेपाली जनताबाट खोसिएको अधिकार संसदमार्फत नै पुनर्स्थापित गरेको तर्फ स्मरण गराउँदै लोकतान्त्रिक शासन प्रणालीको विकल्प अझ उन्नत लोकतन्त्रमात्र हुने तर्फ ध्यानाकर्षण पनि गराए । विसं २०७२ असोज ३ गते नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको फलस्वरुप जारी भएको संविधान नेपालको मौलिक यथार्थ र लोकतान्त्रिक प्रणालीमा आधारित महत्त्वपूर्ण संवैधानिक दस्तावेज हो । यस संविधानले सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्दै विविधतामा एकता, समान अधिकार र साझा गौरवको मार्ग प्रशस्त गरेको छ ।
समुन्नत राष्ट्रको अग्रस्थानमा छिट्टै पुग्छौं : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनका अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधता युक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना आज सन्देश दिँदै उनले सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न हामी सबैलाई एकजुट हुन प्रेरणा दिनेछ भनी शुभकामना व्यक्त गरे । राष्ट्रपति पौडेलले नेपालको संविधानले सामाजिक न्यायमा आधारित समता मूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको बताए । उनले संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आम नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ-आफ्नो तर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न सबैमा आह्वान गरे । राष्ट्रपति पौडेलले मुलुकको संस्कृति र प्रकृतिले देशमा रोजगारी र आम्दानी दिने असीमित सम्भावनाको ढोका खोलेको छ भन्दै सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट जलस्रोत र ऊर्जा शक्तिको उचित व्यवस्थापन गर्न सकेमात्र पनि नेपाल समुन्नत राष्ट्रको अग्रस्थानमा छिट्टै नै पुग्न सक्ने विश्वास व्यक्त गरे । हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संरचनाको बहु जाति, बहुभाषी एवं बहु संस्कृतिलाई संविधानले समान संरक्षण प्रदान गरेको छ । यस्तो अवस्थामा नेपालीहरूबीच रहेको आपसी सद्भाव, भ्रातृत्व र सह अस्तित्वमा आँच आउने काम कोही कसैबाट नहुने उनको अपेक्षा छ । विसं २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानमा आज संविधान दिवस (राष्ट्रिय दिवस) मनाइँदैछ । दिवसका अवसरमा राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजु भाइहरूमा शुभकामना व्यक्त गरे । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ विभिन्न आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन आहुति दिने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे साथै उनले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेताहरूप्रति सम्मान एवं श्रद्धा प्रकट गर्दै लोकतान्त्रिक आन्दोलनमा सहभागी आमनागरिक एवं राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसा गरेका छन् ।