विकासन्युज

कर्मचारीले घुस मागे सिधै अर्थमन्त्रीलाई इमेल गर्न सकिने

काठमाडौं । अब अर्थ मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीले घुस माग्ने वा काममा अनियमितता गर्ने घटनामा प्रत्यक्ष गुनासो सिधै अर्थमन्त्री समक्ष गर्न सकिने भएको छ । यसका लागि अर्थमन्त्री रामेश्वर खनालको इमेल रामेश्वर एट एमओएफ डटजीओभी डटएनपी वा गुनासो एट एमओएफ डटजीओभी डटएनपीमा  मा सिधै गुनासो पठाउन सकिने अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कर्मचारीले काम नगरेको, गर्नुपर्ने काम नगरेको वा अनुचित कामका लागि दबाब दिएको, घुस वा रिसवत मागेको, वा सेवा प्रवाहमा अनावश्यक ढिलाइ गरेको अवस्थामा समेत नागरिकहरूले सिधै गुनासो गर्न सक्नेछन् । अर्थ मन्त्रालयले यस कदमले सरकारी सेवा अधिक पारदर्शी र जवाफदेही हुने अपेक्षा राखेको जनाएको छ ।

नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त चार मन्त्रीले शपथ ग्रहण गरेका छन् । शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा उनीहरूले सपथ लिएका हुन् ।  पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदीश खरेल, जलवायुविज्ञ मदन परियारले मन्त्रीको शपथ लिएका हुन् ।  सिन्हाले उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण, पुनले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको सपथ लिएका छन् ।  यस्तै, परियारले कृषि तथा पशुपन्छी विकास र खरेलले  सूचना तथा सञ्चार मन्त्रालयको शपथ लिएका छन् ।  

जेनजी पुस्तालाई सन्तुष्टि हुनेगरी काम गर्छु : मनोज सिलवाल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले युवा पुस्ताको अपेक्षा सम्बोधन हुनेगरी प्राधिकरणमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्रिपरिषद्को आइतबारको बैठकबाट नियुक्त भएका सिलवालले हालको सेवा प्रवाहबाट ग्राहकहरूले गुणस्तरको प्रत्याभूति गर्न नसकेको स्वीकार गर्दै यसको सुधारमा जोड दिएका छन् । कार्यकारी निर्देशक सिलवालले आफ्नो कार्यकालमा गुणस्तरीय विद्युत् आपूर्तिः ग्राहकहरूलाई भरपर्दो र गुणस्तरीय विद्युत् सेवा प्रदान गर्नु प्रमुख लक्ष्य रहेको बताए ।  विद्युत्को पहुँच विस्तारः देशभर विद्युत् पहुँच नपुगेका स्थानहरूमा विद्युतीकरणलाई तीव्रता दिइने उनको भनाइ छ । यस्तै,  निजी क्षेत्रसँगको सहकार्यमा विद्युत् खरिद–बिक्री बढाउने र भारत लगायतका मुलुकहरूसँग आयात–निर्यातको सम्भावना अध्ययन गरी वृद्धि गरिने तथा प्राधिकरणको आर्थिक तथा प्राविधिक सुदृढीकरणः प्राधिकरणलाई आर्थिक र प्राविधिक दुवै रूपले बलियो बनाउन आन्तरिक सुधारमा जोड दिइने उनको दाबी छ ।  सिलवालले सार्वजनिक संस्थाबाट सेवा पाइरहेका युवा पुस्ताका ग्राहकहरूको सन्तुष्टिमा विशेष जोड दिएका छन् । । ‘युवा पुस्ताको अपेक्षा ठुलो छ, तर जुन हिसाबले सेवा डेलिभरी पाइराखेका छन्, उनीहरू सन्तुष्ट छैनन् । अब उनीहरू सन्तुष्ट हुने गरी हामीले सेवा प्रवाहमा सुधार गर्नुपर्छ,’ उनले भने । औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्तिमा विशेष ध्यान दिइने उनको भनाइ छ । निजी क्षेत्रसँगको सहकार्यलाई थप बलियो बनाउँदै विद्युत् खरिद सम्झौतालाई निरन्तरता दिइनेछ । नेपाल सरकारले तयार पारेको २८ हजार मेगावाटको ऊर्जा रोडम्यापलाई आफ्नो कार्यदिशा मान्दै निजी क्षेत्रको सहयोगमा मात्रै यो लक्ष्य हासिल गर्न सकिने उनले बताए । प्राधिकरणको आन्तरिक सुदृढीकरणलाई पनि उनले आफ्नो प्रमुख एजेन्डा बताएका छन् । यसका साथै, डेडिकेटेड ट्रंकलाइनको बक्यौता असुलीलाई पनि प्राथमिकतामा राखिने उनले स्पष्ट पारे  ।   

घोराही सञ्जीवनी शिक्षण अस्पतालको उपचार सेवा शुभारम्भ

काठमाडौं । दाङको घोराही सञ्जीवनी शिक्षण अस्पतालले उपचार सेवाको शुभारम्भ गरेको छ ।  अस्पताल मेडिकल व्यवसायी खुमप्रसाद अर्यालको लगानीमा निर्माण भएको हो । देशैभरि मेडिकल कलेजको ठूलो नेटवर्क बनाएका अर्यालले निकट भविष्यमा दाङको घोराहीमा पनि मेडिकल कलेज सञ्चालन गर्ने तयारी गरिरहेका छन् । उक्त अस्पतालमा करिब ४ अर्ब रूपैयाँ लगानी भएको अस्पतालका प्रमुख इञ्जिनियर नारायण ज्ञवालीले जानकारी दिए । उक्त्त अस्पतालले दाङ, कपिलवस्तुसहित लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लाका जनतालाई सेवा दिने इञ्जिनियर ज्ञवालीले जानकारी दिए ।  उक्त शिक्षण अस्पताल सञ्चालन गर्नुअघि उपलब्ध स्वास्थ्य सेवाको व्यापक अनुसन्धान गरेर सोही अध्ययन प्रतिवेदनका आधारमा स्वास्थ्य सेवा विस्तार गर्न शिक्षण अस्पताल खोलिएको इञ्जिनियर ज्ञवालीले जानकारी दिए ।

४ महिनापछि रारा विमानस्थलमा उडान, स्थानीयहरू र पर्यटक उत्साहित

मुगु । मुगुको रारा विमानस्थलमा चार महिनापछि नेपाल एयरलाइन्सले सोमबार उडान भरेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले यसअघि गत वैशाख महिनासम्म रारा विमानस्थलमा हप्ताको तीन दिन उडान भर्दै आएको थियो । नियमित उडान हुँदा मुगालीहरुले राहत महसुस गरेका थिए । तर चार महिनायता उडान नहुँदा यो विमानस्थल भएर नेपालकै ठूलो ताल राराताल घुम्न आउने पर्यटक र अन्य यात्रुले हवाई यात्राका लागि सास्ती भोग्दै आएका थिए । आजदेखि नेपाल एयरलाइन्सले रारा विमानस्थलमा पुनः उडान सुरु भएको नेपाल एयरलाइन्स रारा विमानस्थल कक्षका प्रमुख नवीनकुमार विष्टले जानकारी दिए ।    नेपालगञ्ज उपचारका लागि नेपाल एयरलाइन्सबाट यात्रु सुमित्रा रावल भन्छिन्, 'नियमित उडान गरिदिए दुर्गमका जनताले राहत पाउँथ्यौँ ।' विविध कारणले नियमित उडान नभए पनि अब नियमित उडानका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रमुख विष्ट बताउँछन् । रारा विमानस्थलमा समिट एयर, तारा एयर, सीता एयर र नेपाल एयरलाइन्सले उडान भर्दै आएका छन् ।

दशैं मनाउन राजधानीबाट पाँच दिनमा एक लाख ८९ हजार यात्रु बाहिरिए

काठमाडौं । मुलुकको संघीय राजधानी काठमाडौंबाट चाडपर्व मनाउनका लागि पछिल्लो पाँच दिनमा एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक यातायातमा एक लाख ८९ हजार २१८ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् । कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले देशका विभिन्न क्षेत्रबाट काठमाडौं उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दसैँ मनाउन घर जान थालेको जानकारी दिए । उनका अनुसार थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट ती यात्रुहरू गन्तव्यस्थलमा गएका हुन् । कार्यालयका अनुसार असोज १ गते ३४ हजार ५५६, असोज २  गते ३६ हजार १००, असोज ३ गते ४० हजार ५५५, असोज ४ गते ३४ हजार ८७९ र असोज ५ गते ४३ हजार १२४ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् । यस वर्ष सडकको दूरावस्थाका कारण यात्रुहरूलाई आवतजावतमा समस्या परेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले बर्सातका कारण राजमार्गमा पहिरो जाँदा सवारीसाधनलाई आवतजावतमा समस्या परेको बताए । ‘मुग्लिङ–नारायणघाट सडकखण्डमा पहिरो जाँदा घन्टौँसम्म बस बाटोमा रोकिएका छन्, जसका कारण समयमै काठमाडौंमा बस नआउँदा यात्रुलाई गन्तव्यस्थलसम्म पठाउन समस्या भएको छ’, महासचिव गौतमले भने । अवरुद्ध राजमार्ग समयमै सञ्चालन गर्न उहाँले सरकारलाई आग्रह गरे । पछिल्ला दिनमा काठमाडौं गोङ्गबुस्थित राष्ट्रिय बसपार्क नयाँबसपार्कमा समेत दसैँमा घर जाने यात्रुको चाप बढ्न थालेको छ । नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले अन्य समयको तुलनामा नयाँ बसपार्कबाट घर जाने यात्रुको सङ्ख्या बढेको छ । उनका अनुसार अन्य समय चार पाँच हजार हाराहारीमा यात्रु नयाँबसपार्कबाट बाहिरिने गरेकोमा अहिले उक्त सङ्ख्या बढेर दैनिक १५ हजारभन्दा बढी पुगेको छ । रासस

१ अर्ब ८५ करोड लगानीमा एकै ठाउँ होटल र सपिङ स्टोर, लक्ष्मी सनराइज बैंकको सहकार्य

चितवन । चितवनमा होटल ‘लर्ड्स’ सिबिसी प्लाजा र सपिङ स्टोर ‘सेल्सबेरी’ एकसाथ सञ्चालनमा आएका छन् । भरतपुर महानगरपालिका–१०, विमानस्थल अगाडि एउटै भवनबाट होटल र सपिङ स्टोर सञ्चालनमा आएका हुन् । चितवन बिजनेस कम्प्लेक्स होटल प्रालि (सिबिसी) र चितवन बिजनेसन मार्टले सञ्चालन गरेको सेल्सबेरीले आज पत्रकार सम्मेलनको आयोजना गरी दुवै सेवा एकसाथ सञ्चालनमा आएको जनाएको छ । चितवन बिजनेस कम्प्लेक्स होटल प्रालि (सिबिसी) का कार्यकारी अध्यक्ष दिनुप बरालले भवन र होटलमा गरी कुल १ अर्ब ६० करोड र सपिङ स्टोर ‘सेल्सबेरी’मा २५ करोड लगानी रहेको बताए । उनका अनुसार दुई तला अन्डरग्राउन्डसहित ११ तल रहेको उक्त कम्प्लेक्समा अन्डरग्राउन्ड दुई तलामा पार्किङ, तीन तलामा सेल्सबेरी, छवटा तलामा होटल सञ्चालन गरिएको बरालले जानकारी दिए । अन्तरराष्ट्रिय रूपमा ख्यातिप्राप्त अमेरिका, भारत, नेपाललगायत विभिन्न देशमा चेन होटल सञ्चालन गरेको लर्ड्स हस्पिटालिटीसँगको सहकार्यमा होटल सञ्चालनमा ल्याइएको बरालले बताए । ‘होटलमा ५८ वटा कोठा रहेका छन् । तीमध्ये प्रेसिडेन्टियल एक, स्विट तीन, सुपर डिलक्स १०, प्रिमियम १५ र बाँकी स्ट्यान्डर्ड कोठा रहेका छन्,’ उनले भने । होटल शुभारम्भका अवसरमा  सन् २०२५ भरि २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उनको भनाइ छ । होटलमा ५०० क्षमताको सभा कक्ष, १०० क्षमताको कन्फ्रेन्स हल, ३० जना क्षमताका तीनवटा बैठक कक्ष रहेको भन्दै कार्यकारी अध्यक्ष बरालले भने, ‘रेष्टुरेन्टमा बाहिर र भित्र गरी १२५ जना एकै पटक बसेर सेवा लिन सक्ने क्षमता रहेको छ ।’ भवनको माथिल्लो तलामा स्वीमिङ पुल छिट्टै सञ्चालनमा आउने गरी तयारी गरिएको उनले जानकारी दिए । कम्प्लेक्सको तीनवटा तलामा सेल्सबेरीको ३८औं शाखा सञ्चालनमा आएको भन्दै उनले भने, ‘ग्रोसरी, हाउसवायर, इलेक्ट्रोनिक्स, कस्मेटिक्स, मदिरा (लिक्वायर) लगायत घरायसी सम्पूर्ण सामग्री सेल्सबेरीमा रहेका छन् ।’ कपडा, फर्निचरलगायतका सामग्री निकट भविष्यमा उपलब्ध हुने उनको भनाइ थियो । भवनको अन्डरग्राउन्ड दुई तलामा पार्किङको व्यवस्था गरिएको भन्दै उनले जहाँ चारपाङ्ग्रे (कार) ८० वटा र दुईपाङ्ग्रे (मोटरसाइकल स्कुटर) २०० वटा पार्किङका लागि सहज व्यवस्था रहेको बताए । यहाँका स्थानीय १८ जना व्यवसायीको लगानी रहेको यो व्यवसायमा लक्ष्मी सनराइज बैंकसँग सहकार्य गरिएको छ । रासस

अर्थमन्त्री खनाल भेट्न सिंहदरबार पुगे अमेरिकी राजदूत, के भयो कुराकानी ?

काठमाडौं । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्पसनले अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार राजदूत थम्पसन अर्थमन्त्रालयमा मन्त्री खनाल भेट्न गएका हुन् । भेटका क्रममा अर्थमन्त्री खनालले नेपालको वर्तमान राजनीतिक र सामाजिक परिस्थितिबारे जानकारी दिँदै सरकारको प्राथमिकता निर्वाचन समयमै सम्पन्न गर्ने, पुन:निर्माण योजना कार्यान्वयन गर्ने र सहुलियत प्याकेजमार्फत निजी क्षेत्रको मनोबल उच्च राख्न रहेको बताए । अमेरिकी राजदूत थम्पसनले हालैका घटनामा ज्यान गुमाउने परिवारप्रति समवेदना व्यक्त गर्दै अमेरिकी सरकार नेपालका पक्षमा रहेको उल्लेख गरे । साथै एमसीसीको सहयोगमा सञ्चालित परियोजनाहरू समयमै सम्पन्न गर्न सरकारको थप प्रतिबद्धता आवश्यक रहेको जानकारी दिए । अर्थमन्त्री खनालले यी परियोजनाको सफल कार्यान्वयनमा ढिलाइ नहुने विश्वास दिलाउँदै अमेरिकी सरकारको निरन्तर सहयोगको उच्च सराहना व्यक्त गर्नुभयो र भविष्यमा पनि सहयोग निरन्तर रहने अपेक्षा व्यक्त गरे । भेटमा अर्थसचिव घनश्याम उपाध्याय, वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका पदाधिकारी तथा अमेरिकी राजदूतावासका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।