विकासन्युज

५८ अंकले बढ्यो नेप्से, ८ कम्पनीमा लाग्यो सर्किट

काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्स (नेप्से) परिसूचक ५८ अंकले बढेर २६८२ बिन्दुमा पुगेको छ ।  आज २३८ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीको घटेको छ । मंगलबार ३२८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, युनिर्भसल पावर कम्पनीको १८ करोड, हिमालयन डिस्टीलरीको १८ करोड, शिवम् सिमेन्टको १६ करोड र हिमालयन रिइन्स्योरेन्सको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबारको कारोबारमा बैंकिङ १.३८, विकास बैंक २.९५, फाइनान्स २.१२, होटल तथा पर्यटन २.७८, हाइड्रोपावर ३.३०, लगानी १.६६, जीवन बीमा २.३१, उत्पादन तथा प्रशोधन १.१२, माइक्रोफाइनान्स २.५४, अन्य २.५१ तथा व्यापार समूह १.८३ प्रतिशतले बढेको छ ।  आज ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सप्तकोशी डेभलपमेन्ट बैंक, जोशी हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भुगोल इनर्जी डेभलपमेन्ट, एसियन हाइड्रोपावर र हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।  

काँकरभिट्टा नाकामा आयात ९ प्रतिशत बढ्दा निर्यात घट्यो, राजस्व भने बढ्यो

भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा पूर्वीनाका काँकरभिट्टाबाट ८ अर्ब १९ करोड एक लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् ।  जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा ६८ करोड ८ लाख अर्थात् नौ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले जानकारी दिए ।  उनका अनुसार गत आवमा ७ अर्ब ५० करोड ९२ लाख बराबरको वस्तु तथा सामान आयात भएको थियो ।  चालु आर्थिक वर्षको साउन  र भदौ महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । चालु आवको दुई महिनामा ३ अर्ब ६ करोड ३७ लाख बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ । गत आवको सोही अवधिमा ३ अर्ब ८६ करोड २८ लाखको वस्तु तथा सामान निर्यात भएको थियो । उक्त निर्यात २० दशमलव ६९ प्रतिशतले घटेको सूचना अधिकारी हुमागाईंले बताए । पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुहरुमा अलैंची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनिउर सिट, मोलासिसलगायत रहेका छन्भने आयात हुने मुख्य मालवस्तुहरूमा पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराको कच्चापदार्थ, तरकारी, फलफूल, खनिज उत्पादन, तयारी कपडालगायत रहेका छन् ।  कार्यालयका अनुसार चालु आव २०८२/​​​​​​​८३ को पहिलो दुई महिनामा आयात निर्यातबाट २ अर्ब ६२ करोड ९५ लाख १८ हजार राजस्व सङ्कलन भएको छ । जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा आठ दशमलव ६२ प्रतिशत अर्थात्  २० करोड ८६ लाख नौ हजारले बढी हो । 

एनआईसी एशिया बैंकका ग्राहकलाई लन्डन ब्रिज गार्डेन रिसोर्टमा छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई नवलपरासीस्थित लन्डन ब्रिज गार्डेन रिसोर्टमा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले बर्दघाट, नवलपरासीमा रहेको उक्त रिसोर्टमा सेवा लिँदा डिजिटल भुक्तानीमार्फत १० प्रतिशत छुट पाउनेछन् । ग्राहकहरुले यो सुविधा प्रयोग गर्न डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्न सक्नेछन् । बैंकका अनुसार, यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध गराउने मात्र नभई मुलुकमा डिजिटल भुक्तानी प्रवर्द्धन गरी नगदरहित कारोबारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

गुण्डुमा ओली सार्वजनिक, दिएनन् कसैलाई कुनै प्रतिक्रिया

काठमाडौं । एकसाता लामो सेनाको शिवपुरी ब्यारेकमा बसेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार सार्वजनिक भएका छन्। अध्यक्ष ओली भक्तपुरको गुन्डुस्थित भाडाको निवासमा उपस्थित भएका नेता  तथा कार्यकर्ताहरू बीचमा सार्वजनिक भएका हुन् ।  उनी सार्वजनिक हुने कार्यक्रममा एमालेका धेरै नेता कार्यकर्ता उपस्थित भएका थिए ।  यद्यपि ओलीले केही पनि सम्बोधन गरेनन् । नेता तथा कार्यकर्तालाई कुनै सम्बोधन नगरेका ओलीले पत्रकारहरूलाई पनि कुनै प्रतिक्रिया दिएनन् ।

अर्थ मन्त्रालय राहतसँगै सुशासनमा केन्द्रित छ : प्रवक्ता पाण्डेय

काठमाडौं ।  अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयले  सरकार र निजी क्षेत्र सहयात्री भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघद्वारा आयोजित अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो नामक कार्यक्रममा बोल्दै मन्त्रालयका प्रवक्ता पाण्डेयले सरकार निजी क्षेत्रसँग मिलेर  राहत र सहुलियत प्याकेज, सुरक्षा र सुशासनमा केन्द्रित रहेको बताएका हुन्  । ‘आर्थिक पुनरुत्थानका कार्यक्रम बढी प्राथमिकतामा छ । नेपालमा लगानी सुरक्षित छ भन्ने सन्देश दिनुपर्नेछ । जलेका गाडी हटाएर रंगरोगन गरेर सुरुवात गरेका छौं । सरकार सम्पत्तिको बीमा थिएन । क्षति कभर हुन सकेन । सचेत भएका छौं ’उनले भने ।    सरकारले के गर्दैछ भन्ने विषयमा  प्रवक्ता पाण्डेयले  भने ‘सहुलियतपूर्ण कर्जाको बक्यौताबापत ९ अर्बभन्दा बढी रकम शोध भर्नाका लागि निकासा भइसकेकाे छ । चीनतर्फ तातोपानी नाका हिजोबाट सञ्चालनमा आइसकेको छ । कोरला नाका खुलिसकेको छ । अर्थमन्त्रीस्तर कर दाखिला गर्ने म्याद थप गरेका छौं । मन्त्रिपरिषद्बाट पुन:निर्माण कोष कार्यविधि पारित भइसकेको छ ।’  उनले  सरकारी खर्चमा कटौतीका प्रस्ताव गरेको भन्दै कटौतीपछि १ खर्ब २१ अर्ब रकम कोषमा रहने बताए । प्रदर्शनका क्रममा क्षतिग्रस्त संरचनाको पुन: निर्माणलाई चाहिने आयातमा भन्सार छुट दिने निर्णय भएको छ । ‘मन्त्रालयको पहिलो प्राथमिकतामा सुशासन छ । हिजोबाट हटलाइन सेवा सुरु गरेका छौं । मन्त्रीज्यूले आफ्नै इमेल सार्वजनिक गरेर गुनासो लिने सुरुवात भएको छ । निर्माण व्यवसायीका भुक्तानी दिन महालेखानियन्त्रकको कार्यालयमार्फत् सहजिकरण गरिरहेका छौं,’ उनले भने ।

कारागार फर्किए टोपबहादुर

काठमाडौं । भदौ २४ गते कारागारमा आक्रमण भएपछि कारागारबाट निस्किएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कारागार फर्किएका छन् ।  कारागारले बाहिरिएका कैदीबन्दीलाई फर्किन आह्वान गरेपछि कारागारको सम्पर्कमा आएका रायमाझी सोमबार साँझ कारागार फर्किएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझी आफै कारागार फर्किएको कारागार विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए । उनका अनुसार रायमाझी बाहिर रहँदा पनि कारागारको सम्पर्कमै थिए । पूर्वउपप्रधान तथा ऊर्जामन्त्री रहेका रायमाझी २०६४ चैत्रमा भएको पहिलो संविधानसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित संविधान सभा सदस्य हुन् ।  त्यसयता रायमाझीले अर्घाखाँचीबाट निरन्तर निर्वाचन जित्दै आएका थिए । रायमाझीसहित पूर्वगृहसचिव टेकनारायण पाण्डे पनि उक्त कारागारमा पुर्पक्षका लागि थुनामा रहेका छन् । 

'ओडी लिएर पुन:निर्माण गर्दा सार्वजनिक ऋण नबढ्ने, विदेशी मुद्रा सुरक्षित'

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले जेनजी प्रदर्शनपछि सरकारले आर्थिक पुनरुत्थानमा काम गर्नुपर्ने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्राकार संघ (नाफिज)ले आयोजना गरेको अर्थतन्त्रको पुनरोत्थानको आगामी बाटो विषयक अन्तरक्रिया कार्यक्रममा थापाले यस्तो बताएका हुन् । ‘जेनजी प्रदर्शनले हाम्रोमा भौतिक क्षति ठूलो मात्रामा भएको छ । यस्तो क्षति यो भन्दा पहिला कहिले पनि भएको थिएन । आर्थिक हिसाबमा क्षति भन्दा यसको प्रभाव झनै ठूलो छ,’ थापाले भने, ‘यद्यपि, सरकारले वित्तीय स्थिति बिग्रिन नदिन केही प्याकेजहरु दिने घोषणा गरिसकेको छ । अब सरकारले यी कुराहरुलाई निरन्तरता दिँदै आर्थिक पुनरुत्थानमा काम गर्नुपर्ने आवश्यक छ ।’ उनले केन्द्रीय बैंकको ऐनमा भएको व्यवस्था बमोजिम ओडी लिएर पुननिर्माणमा लाग्दा उचित हुने सुझाए । अबको मुख्य विषय स्रोत व्यवस्थापन भएकाले अहिले सरकार ओडी लिएर पुननिर्माणमा जुट्नुपर्ने उपयक्त समय भएको उनको भनाइ छ । ओडी लिएर पुन:निर्माण गर्दा यसले सार्वजनिक ऋण नबढ्ने र विदेशी मुद्रा सञ्चितिमा पनि असर नपर्ने धारणा थापाले राखे । सरकारले क्षति पुगेका प्रहरी चौकि लगायतका संरचना यसरी निर्माण हुन्छ र तदअनुरुप राज्यका संयन्त्र परिचालन हुन्छ भनेर नागरिकसमक्ष भनेर मनोबल उकास्न जरुरी भएको पनि बताए । ‘निजी क्षेत्रमा ८० अर्बको क्षति भएको अनुमान आएको छ भने व्यक्तिगत पनि धेरै क्षति भएको छ । यसमा सरकारी संयन्त्रको क्षति पनि जोड्दा करिब २४० अर्ब अर्थात् मुलुकको कुल ग्राहर्स्थ उत्पादन (जिडीपी)को चार र पाँच प्रतिशत असर पुराएको अनुमान गर्न सकिन्छ,’ थापाले भने, ‘बेरोजगारीका कारण आन्दोलन भएकोमा अहिले, यहि आन्दोलनका कारण थप बेरोजगार बढ्ने हो कि भन्ने पनि देखिएको छ ।’ उनले धेरैको रोजगारी गुमिसकेको अवस्थामा यसको मुख्य असर विश्वभर नै नेपाल भ्रष्टाचारयुक्त मुलुकको रुपमा दर्ज भएको पनि बताए । निजी क्षेत्रको मनोबल कमजोर भएको र व्यापार व्यवसायसमेत धराप बनेको विषयमा पनि  सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ । विदेशी लगानी पनि आउने कि नआउने भनेर सोच्न बाध्य हुने स्थिति सिर्जना भएकाले यी सबै विषयलाई मध्येनजर गरेर आधार बनाउँदै अगाडि बढ्नुपर्ने थापाले बताए । ‘बाहिरबाट पुँजी ल्याउने काममा पनि सरकार अग्रसर हुनुपर्नेछ । विश्व बैंकसँग कुरा गरेर एसएमई र आईटी क्षेत्रमा लगानी भित्र्याउने काममा अगाडि बढ्न सकेमा मुलुकका लागि थप राम्रो हुन्छ,’ थापाले भने, ‘पर्यटन क्षेत्रमा पनि यहि किसिमको नीति अपनाउन सकिन्छ । यसरी, बाहिरको लगानी भित्र्याउन सकेमा हाम्रो अन्तर्राष्टिय इमेज पनि राम्रो देखिन सहयोग पुग्छ ।’ उनले सरकार पुन: निर्माण, आर्थिक सुधार, संस्था सबलीकरण, लगायत काममा अगाडि बढ्न आवश्यक भएको बताए ।

भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान पनि आवश्यक छ : सीईओ ज्ञवाली

काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले आन्दोलनपछि डर र आशा दुवै रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषायक कार्यक्रममा ज्ञवालीले अबको पुनःनिर्माण भौतिक मात्रै नभएर आर्थिक पुनरुत्थान आवश्यक रहेको बताएका हुन् ।  भुकम्पपछिको पुनःनिर्माणमा छुट्टै संस्था खडा गरेर बैंकिङ च्यानलमार्फत रकम दिँदा सफल भएको बताए । उनले भुकम्पछि धेरै युवाहरुको सहयोग जस्तै अबपनि आत्मबल बढाएर गरेर अघि बढ्नु पर्ने बताए ।  ‘श्रीलंकामा आन्दोलन हुँदा त्यहाँको अर्थतन्त्र नकरात्मक अवस्थामा रहेको थियो । नेपालको अर्थतन्त्रका सूचक राम्रो अवस्थामा छन्,’ ज्ञवाली भन्छन्,‘अब निजी क्षेत्रको विश्वास जितेर जान सक्दा छिटो नै अर्थतन्त्रको पूनरुत्थान हुन सक्छ ।’ सरकारले अबका कार्यक्रम बनाउँदा आर्थिक क्षेत्रसँग जोडर बनाउनु पर्ने बताए । युवालाई शिक्षा सीपसहित विकास गर्न आवश्यक रहेको छ । ‘विभिन्न फोरम र सरकारका प्रतिनिधीले युवाका कुरा नसक्दा विद्रोह हुन्छ,’ उनी भन्छन्,‘युवाहरूले भोगेका समस्या समयमा सुन्न सक्दा मानिसमा निराशता पैदा हुँदैन ।’ ‘आशा केन्द्रसँग, समाधान स्थानीय तहबाट’  नेपालको संविधानले ३ तहको सरकारको परिकल्पना गरेको छ । जेनजी आन्दोलनपछि केन्द्रिय सरकासंग बढी अपेक्षा गरिएको भएपनि  प्रदेश र स्थानीय तह मार्फत धेरै विषय समस्या समाधान गर्न सकिने ज्ञावलीले बताए ।  ‘संघ सरकारसंग मात्रै मुख ताक्दा युवाले खोजेका सबै सेवा सहज पाउँदैनन् । स्थानीय तहबाट कार्यान्वयन हुने विषय त्यहिँबाटै हुनुपर्छ,’ उनले भने ।  सरकारी नीति नियमको कारण परिणाममा भन्दा प्रक्रियामा भुल्ने गरेकोमा परिर्वतन हुनुपर्ने बताए । उनले बैदेशिक लगानी भित्राउनकोलागि सार्वजनिक निजी साझेदारीको मोडलमा नै अघि बढ्नुपर्ने बताए ।  ‘लगानी बोर्डका लामो समय देखी वन स्टप सर्भिस सेन्टरको प्रणाली छ । तर त्यसको कार्यन्वयन राम्रोसंग हुन सकेको थिएन,’ उनले भने,‘अध्यादेशबाट कानुन संसोधन भएर कर्मचारीलाई अधिकार सहितको जिम्मेवारी दिएका छौं। अब कार्यविधी बनाएर त्यसलाई छिटो कार्यन्वयन गछौं ।’ सरकार परिवर्तन हुनासाथ नीति परिवर्तन हुँदा वैदेशिक लगानीकर्तामा विश्वास पैदा हुन सकेको छैन । लगानी बोर्डको संरचना नै परिवर्तन गरेर बोर्डमा सरकार र विपक्षी दल सहितका प्रतिनिधी हुनेगरी अघि बढेको छ। अब त्यसमा थप छलफल गरेर टुंगाउनु पर्ने उनले बताए ।