भिबोर सोसाइटीको २२२ दिने मुद्दती निक्षेप योजना अन्तर्गत ९ प्रतिशत ब्याज
काठमाडौं, २३ मंसिर । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले २२२ दिने मुद्दती निक्षेप योजना ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले ९ प्रतिशत प्र.ब.ब्याजदर प्राप्त गर्न सक्नेछन् । यो मुद्दतीको अवधि २२२ दिन रहने छ । बैंकले आफ्नो ४२ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर सबै स्थानबाट यो अधिकतम ब्याज दरको लाभ लिन सम्पूर्ण ग्राहक वर्गमा आग्रह गरेको छ । यो निश्चित अवधिको लागि मात्र रहने बैंकले जनाएको छ ।
पारदर्शिताको लागि कुनैपनि सूचना लुकाईंदैन– पर्यटन मन्त्रालय
काठमाडौं, २३ मंसिर । पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम संचालन तथा नेपाल वायु सेवा निगममा अपारदर्शी गतिविधि भइरहेको भन्दै व्यापक आलोचना खेपिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पारदर्शिताको लागि कुनैपनि सूचना नलुकाउने र सार्वजनीक रुपमा जानकारी दिने जनाएको छ । मन्त्रालयले आफ्नो मातहतका कुनैपनि निकायबाट सूचना लिन सक्ने जनाउँदै सार्वजनीक हितमा पारदर्शिताको लागि सकेसम्म सवैखाले सूचना उपलब्ध गराउने जनाएको हो । पर्यटन मन्त्री जीवनबहादुर शाहीले मन्त्रालय र मातहत निकायबीच आन्तरिक समन्वय हुन नसकेको गुनासो आइरहेको बताउँदै सबै संयन्त्रलाई चुस्त र प्रभावकारी बनाउन आफुले सक्दो पहल गर्ने बताए । मुलुकको आर्थिक समृद्धिमा पर्यटन गतिविधिले ठूलो भूमिका खेल्ने हुँदा यसको विकासमा संचारमाध्यमबाट पनि सकारात्मक संदेश जानुपर्ने र आवश्यक जानकारीको लागि पर्यटनसँग समन्वय गर्न मन्त्री शाहीले पत्रकारहरुलाई पनि आग्रह गरे । मन्त्री शाहीले मुलुकको पर्यटन क्षेत्रको सुधार गरी विदेशी पर्यटक आकर्षण गर्न पूर्वाधार विकासलगायत कार्यलाई प्राथमिकताका साथ अघि बढाएको बताए । उनले आफु मन्त्री भएको एक सय दिनको समीक्षा सहित सुझाब लिन पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेका थिए । मन्त्रालयमा आयोजा गरिएको कार्यक्रममा सचिव शंकरप्रसाद अधिकारीले मन्त्रालय र मातहत निकायको सूचना प्रणाली व्यवस्थापन र नियमित गर्न तत्कालै प्रवक्ताको बैठक राखी नियमित सूचना प्रदानको व्यवस्था गरिने जानकारी दिए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन प्रवद्र्धनात्मक कामलाई प्रभावकारी बनाउन बोर्डलाई गतिशील बनाउँदै लगिने बताए ।
नेपाल इन्भेष्टमेन्ट बैंकले पायो बैंक अफ द एयर अवार्ड २०१६, अहिलेसम्म पाँच पटक जित्यो
काठमाडौं, २३ मंसिर । नेपाल इन्भेष्टमेन्ट बैंकले ‘बैंक अफ द एयर अवार्ड २०१६’ प्राप्त गरेको छ । बेलायतको प्रतिष्ठित पत्रिका ‘दी बैंकर्स’ले हिजो राती यो अवार्ड प्रदान गरेको छ । लण्डनमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र ज्योति प्रकाश पाँडेले उक्त अवार्ड लिएका छन् । बैंकका सूचना शाखाका सावित्री घिमिरेका अनुसार बैंकले अहिलेसम्म पाँच पटक यो अवार्ड प्राप्त गरेको छ । बैंकर्स पत्रिकाले प्रत्येक वर्ष हरेक देशका बैंकहरु मध्ये उत्कृष्ट बैंकलाई बैंक अफ द एयर अवार्ड दिने गरेको छ ।
खराब मौसमका कारण भारतमा आठ सय पर्यटक अलपत्र
नयाँ दिल्ली, २३ मंसिर । अत्याधिक खराब मौसमका कारण भारतको दक्षिणपश्चिम क्षेत्रमा पर्ने अन्दामन र निकोबार टापुमा स्वदेशी तथा विदेशी गरी आठ सय जना पर्यटक अलपत्र परेका छन् । भारतीय नौसेनाले अन्दामन र निकोबार टापु गरी दुवै ठाउँमा चार वटा पानी जहाज पठाएको जनाएको छ । नौसेनाका प्रवक्ता डि.के. शर्माले पर्यटकहरू अलपत्र परेको ठाउँमा चार वटा पानी जहाज पठाएको भए पनि हेभलक टापुमा अत्यधिक खराब मौसमका कारण सो ठाउँमा पुग्न नसकेको जानकारी दिए । “आठ सयभन्दा बढी पर्यटक यातायातका साधन नपाएर अलपत्र परेका छन्, हामी उनीहरूलाई उद्धार गर्न तयारी अवस्थामा छौँ, त्यसका लागि सफा मौसमको प्रतिक्षा गरिरहेका छौँ,” उनले भने । प्रवक्ता शर्माले थपे, “हाम्रो सबैभन्दा ठूलो चासो पर्यटकहरूलाई सुरक्षित तरिकाले उद्धार गर्नु हो ।” हेभलकको किनारा पर्यटकका लागि लोकप्रिय गन्तव्य मानिन्छ । हरेक नयाँ वर्षमा हजारौँ पर्यटकले हेभलकमा डिसेम्बरमा रमाइलो गर्ने गर्दछन् । रासस/सिन्ह्वा
नेपालबाट संसारले सिक्न सक्छ- परराष्ट्रमन्त्री डा. महत
काठमाडौं, २३ मंसिर । परराष्ट्रमन्त्री डा प्रकाश शरण महतले नेपालले शान्ति वार्ताबाटै द्धन्द्धको समाधानमा हासिल गरेको सफलता संसारकै लागि एक सफल उदाहरण भएकोले यसबाट विश्वले नै सिक्न सक्ने बताएका छन् । इन्डोनेसियाको बालीमा बिहीबारदेखि सुरु भएको बाली डेमोक्रेसी फोरमको नवौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले भने— संसारका अरु देशमा पनि द्धन्द्ध व्यवस्थापन र शान्ति स्थापनाका लागि नेपालबाट विश्वले नै सिक्न सक्छ । शान्ति र प्रजातन्त्रका लागि नेपालले विगत लामो समयदेखि गरेको संघर्षको उदाहरण दिँदै परराष्टमन्त्री डा. महतले यस संघर्षले नेपाली नागरिकलाई पनि शान्त र सहनशिल बन्न सिकाएको धारणा राखेका छन् । नेपालले विगतमा शान्ति र प्रजातन्त्रका लागि गरेको यस संघर्षको परिणामस्वरुप दशकौंपछि नेपाली जनताले संविधान सभामार्फत आफै संविधान लेख्ने अवसर पाएका र नेपाली जनताद्धारा जारी यस संविधान प्रजातान्त्रिक, समावेशी र सहभागितामूलक रहेको पनि बताए । मन्त्री डा महतले भने- हामी संसारममा नै उदाहरण दिनमिल्नेगरी समावेशी प्रजातन्त्रको अभ्यास गरिरहेका छौँ र हामीले संविधानमा नै देशको संसदमा कम्तीमा पनि ३३ प्रतिशत र देशका सबै स्थानीय तहहरुमा ४० प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरेका छौँ । उनले अगाडि भने, हाल नेपालमा राष्ट्रपति, संसदमा सभामुख र प्रधानन्यायाधीशमा पनि महिला रहेका छन् । समावेशी र सहभागितामूलक विकास प्रयासलाई नेपाल सरकारले प्राथमिकतामा राखेको र देशका महिला, गरिब तथा समाजमा विभिन्न कारणले पछि परेका समुदायका नागरिकको सशक्तिकरणका लागि आवश्यक नीति र कार्यक्रमहरुका लागि अघि बढेको जानकारी पनि उनले सो सम्बोधनका क्रममा दिए । नेपालले आगामी केही समयभित्रै केन्द्र तथा स्थानीय तहहरुका निर्वाचनको योजना गरिरहेको र यसमार्फत लामो समयपछि नेपाली जनताले लेखेको संविधानको कार्यान्वयनमा थप सशक्तता आउने र दिगो विकास र देशले लिएको समावेशी र सहभागितामूलक शासन व्यवस्थालाई थप संस्थागत बनाउन सहयोग पुग्ने धारणा पनि राखेका छन् । सो सम्मेलनमा मन्त्री डा महतले नेपाल धार्मिक सहिष्णुता र सांस्कृतिक बहुलताको एक अद्धितीय उदारहण हो भन्दै हाम्रो देशमा हिन्दू, बौद्ध, इस्लामलगायतका अन्य धर्महरुबीचमा ऐतिहासिक रुपमा सहिष्णुता कायम रही आएको स्मरण गरेका छन् । नेपाल सधैं शान्तिपूर्ण सहअस्तित्व र धार्मिक तथा बहुसांस्कृतिक मान्यतामा विश्वास गर्छ भन्दै उनले भने-प्रजातन्त्र, कानुनी शासन, बहुलबाद र शान्तिपूर्ण सहअस्तित्वका माध्यमबाट नै अन्तर्राष्टिय समुदायका बीचमा पनि सहयोग, साझेदारिता र समन्वय कायम गर्न सकिन्छ भन्नेमा नेपालको विश्वास रहेको बताए । नेपाल संसार नै एउटा परिवार हो भन्ने बसुधैव कुटुम्बकम मान्यतामा विश्वास गर्छ भन्दै एसिया नै यस्तो क्षेत्र हो जुन गौतम बुद्ध, महात्मा गान्धी, कन्फ्युसियस र अरु कैयौं महान दार्शनिकहरुको जन्मस्थल हो । एसिया यस्तो धार्मिक र सांस्कृतिक बहुलताको धनी क्षेत्र हो भन्दै नेपालजस्तै इन्डोसियाको बालीले पनि एसियाली विविधतायुक्त समाजको प्रतिनिधित्व गर्ने बताए । समाजका हरेकखाले चुनौतीहरुको समाधानका साथै नागरिकको सामाजिक न्यायका लागि समावेशी प्रजातन्त्र र धार्मिक स्वतन्त्रता एवम् सहिष्णुता सशक्त औजार हुन् भन्दै नेपाल सधैं धर्म वा अन्य कारणले हुने कुनै पनि प्रकारका आतंकवादको विरुद्धमा रहदै आएको प्रतिबद्धता पनि सो अवसरमा उनले व्यक्त गरेका छन् । नेपाल सधैं शान्ति, प्रजातन्त्र र मानवअधिकारका पक्षमा रहेको भन्दै नेपालले हरेक नागरिकको मौलिक तथा नैसर्गिक अधिकारको सम्मानको पक्षमा रहेको उनले उल्लेख गरेका छन् ।
नेपाल र बङ्गलादेशबीच विद्युत् सेवा विस्तार बारे छलफल, बङ्गलादेशमा विद्युत्को माग
काठमाडौं, २३ मंसिर । बङ्गलादेशको भ्रमणमा रहेका ऊर्जामन्त्री जनार्दन शर्माले बङ्गलादेशका प्रधानमन्त्री सेख हसिनासँग दुई देशबीच विद्युत् सेवा विस्तार गर्नेबारे छलफल गरेका छन् । बिहीबार साँझ भएको शिष्टाचार भेटमा उनीहरुबीच नेपालसँग विद्युत्को प्रचूर सम्भावना रहेको र बङ्गलादेशमा ठूलो परिमाणमा विद्युत्को माग भएकाले दुई देशबीच विद्युत् सेवा विस्तार गर्नेबारे सम्झौता गरी अघि बढ्ने विषयमा कुराकानी भएको थियो । भेटका अवसरमा उनीहरुबीच द्विपक्षीय सम्बन्ध विस्तारका अन्य विविध विषयमासमेत छलफल भएको ढाकास्थित नेपाली दूतावासले जनाएको छ । सो अवसरमा नेपालका तर्फबाट ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरे तथा बङ्गलादेशका लागि नेपाली निमित्त राजदूत डिल्लीप्रसाद आचार्य र बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिजमन्त्री नसु्रल हमिद, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार गोहर रि ज्वी, परराष्ट्र मन्त्राल तथा विद्युत्, ऊर्जा तथा खनिज मन्त्रलायका उच्च अधिकारी उपस्थित थिए । रासस
भारु ५०० र एक हजारको नोटमा लागेको प्रतिबन्धको महिना दिन, उपलब्धि शुन्य
काठमाडौं, २३ मंसिर । भारत सरकारले भारु ५०० र एक हजारको नोटमा प्रतिबन्ध लगाएको विहिबार एक महिना पुगेको छ । भारु ठूला दरका नोटमा प्रतिबन्ध लगाएको एक महिना पुग्दा पनि नेपालमा भएको भारु ५०० र एक हजारको नोटको सटहीबारे सरकार अझै अनिर्णित रहेको छ । भारत सरकारले आफ्नो देशबासीको लागि ५०० र एक हजारको भारु डाक घर वा बैंकमा गएर ५० दिनभित्रमा साटिसक्न समय सिमा तोकेको छ । सो समयसिमामा अव जम्मा २० दिनमात्र बाँकी रहेको छ । तर नेपालमा रहेका ५०० र एक हजार दरका भारुको सटहीको बारेमा सरकारी प्रयास भने पर्याप्त नहुदा अझै के गर्ने भन्ने अन्यौलता कायम नै छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिबी नेपालसँग टेलिफोन कुराकानी गर्दै आरबिआइका गभर्नर उर्जित पटेलले नोटको समस्या समाधान गर्न एउटा कार्यदल बनेको जानकारी गराएको राष्ट्र बैंकले जनाएको थियो । तर सो कार्यादलले कस्तो सुझाव दियो र नेपालमा भएको भारुको समस्या बारे के भइरहेको छ भन्ने विषयमा भने राष्ट्र बैंकले केही बोलेको छैन । गभर्नर डा. नेपालले भने दैनिकजसो भारतीय राजदुत रन्जित रे र आरवीआइका गभर्नर उर्जित पटेलसँग कुराकानी भइरहेको र सकारात्मक रुपमा अगाडी बढेको भनेपनि भारतले नेपालमा रहेको ५०० र एक हजारको भारुको विषयमा कुनै चासो देखाएको छैन । सरकार र राष्ट्र बैकको कमजोरीका कारण ५०० र एक हजारको भारुको विषयमा निर्णय हुन नसक्दा सर्वसाधरणले दुख भोग्नुपरेको छ । ‘एक महिना वितिसक्दा पनि भारतीय ठुला दरका विषयमा अझै अन्यौलता कायमै रहेको छ’ न्युरोडका व्यापारी प्रेम अग्रवालले भने । उनले सरकारसँग आक्रोस पोख्दै भने—‘सर्वसाधरणलाई यसरी अल्मल्याएर राख्नु हुदैन यदी ५०० र एक हजारको भारु साटिदेन भने नसाट्ने भनिदिए हुन्छ सर्वसाधरण अरु विकल्प खोज्छन् ।’ नेपाल राष्ट्र बैंकका अनुसार, नेपालको बैकिङ प्रणाली र मनि चेञ्जरहरुसँग कुल तीन करोड ३६ लाख बराबरको ५०० र १००० दरका भारु नोट छन् । तर व्यापारी, नेपाल भारत आउजाउ गर्ने सर्वसाधारण र कामका लागि भारत पुगेका सूदूर पश्चिमका सर्वसाधारणसँग ठूला दरको भारु कति छ भन्ने अझै यकिन भएको छैन । भारत सरकारले कालोधन नियन्त्रणका लागि भन्दै एक महिनाअघि ५ सय र एक हजार दरका नोट कारोबारमा रोक लगाएको थियो ।
‘जतिवटा उद्योग चलायो, दैनिक त्यतिथरी औषधि खानुपर्छ’ उद्यमी प्रबलजंग पाण्डे भन्छन्–‘तरपनि म हरेक वर्ष नयाँ उद्योग खोल्छु’
काठमाडौं, २३ मंसिर । ‘एउटा नयाँ उद्योग खोल्नु भनेको बल्ड प्रेसरको अर्को एउटा औषधि थप्नु हो । मैले अहिले ३ वटा उद्योग हेर्छु र मैले दैनिक ४ प्रकारका औषधि खान्छु । अब मैले नयाँ उद्योग खोले भने ५ प्रकारका औषधि खानुपर्ने हुन्छ’ युवा उद्यमी प्रवलजंग पाण्डे भन्छन्–‘नयाँ उद्योग खोल्नु भनेको अर्को तनाव लिनु हो । तरपनि म नयाँ उद्योग खोल्छु । यो मेरो अठौट हो । आज सरकारले बुझेको छैन, तर कुनै दिन सरकारले बुझ्ने छ ।’ प्रबलजंग पाण्डे हरेक वर्ष एउटा उद्योग खोल्दै जाने उदेश्य आफूले लिएको बताए । ‘सानो होस वा ठूलो, प्रत्यक वर्ष एउटा उद्योग खोल्छु’ उनले आफ्नो अठोट सुनाए । उनी र उनका परिवारले औषधि, सिमेन्ट, जलविद्युत् क्षेत्रमा लगानी विस्तार गरिरहेको छ । साथै, बैकिङ, बीमा र सूचनाप्रविधि जस्ता सेवा मुलक क्षेत्रमा पनि लगानी विस्तार गर्दै आएको छ । आफूले लगानी गरेको सबै कम्पनीहरुको पर्फमेन्स राम्रो रहेको बताए । ‘हामीले लगानी गरेको जुनसुकै बिजनेश वार्षिक १५÷२० प्रतिशत वृद्धि भईरहेको छ । उद्योग होस्, बैकिङ होस् वा बीमा’ पाण्डे भन्छन्–‘हामीले औषधिको उत्पादनमा हरेक वर्ष २५ प्रतिशतले वृद्धि गर्दै आएका छौं । पहिला जनकपुरमा मात्र सिमेन्ट उद्योग थियो, अहिले विराटनगरमा पनि सिमेन्ट उद्योग लगाएका छौं । जनकपुरमा पहिला ४०० मेट्रिकटन उत्पादन हुन्थ्यो, अहिले उत्पादन क्षमता वृद्धि गरेर ८०० मेट्रिकटन पुर्याएका छौं । एकमहिना भित्र क्लिङकर उद्योग सञ्चालन गर्दैछौं ।’ ‘हामीले उत्पादन गरेको औषधि विश्व बजारमा प्रतिस्पर्धा गरिरहेको छ । हामी ८ भन्दा बढी देशमा औषधि निर्यात गर्दै आएका छौं’ पाण्डेले भने–‘हामी संलग्न भएको शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा क्षेत्रमा सबैभन्दा अगाडि छ, बैंकले पनि राम्रो गरिरहेको छ ।’ व्यवसायको लागि उद्योग भन्दा सेवाको क्षेत्र सजिलो भएको उनले बताए । ‘सेवा क्षेत्रमा प्रतिस्पर्धा स्वदेशमा मात्र हुन्छ । उद्योगले विश्व बजारसँग प्रतिस्पर्धा गर्नुपर्छ । त्यसैले उद्योग चलाउन गाह्रो छ’ उनले भने । उद्योग चलाउँदा धेरै समस्याहरुसँग जुध्नु पर्ने उनले बताए । उत्पादन लागत बढी हुनु सबैभन्दा ठूलो समस्या भएको उनले बताए । बजार सानो भएकोले ठूलो परिमाणमा उत्पादन गर्न नसक्नु, उद्योमा विद्युत आपूर्ति नियमित नहुनु, अधिकांश नेपाली उद्योग विदेशी कच्चा पदार्थमा आधारित हुनु र कच्चा पदार्थ नै महँगो पर्नु, ढुवानी तथा यातायातको लागत बढी हुनु, नीतिगत अस्तिरता हुनु, जग्गा व्यापारीलाई भन्दा उद्योगीलाई आयकर दोब्बर हुनु मुख्य समस्या भएको बताए । उद्यमीलाई इज्जत नदिने संस्कारले व्यवसायीहरुको मनोबल गिरेको उनले बताए । ‘नेता, प्रशासकहरु नै उद्योगी व्यवसायीलाई चोर, ठग भनेर गाली गर्छन’ युवा उद्यमी पाण्डे भन्छन् ‘जतिसुकै दुःख भएपनि हामी उद्योग बन्द गर्दैनौ । हामी जस्ता धेरै उद्यमी, जो निरन्तर उद्योगमा लागेका छन्, उनीहरु नै यो देशका सच्चा देशभक्त र देश निर्माता हुन् ।’ ‘जुनदिन औषधिको एउटा केसमा मलाई प्रहरीले एक दिन समातेर लग्यो र भोलि पल्ट छोडिदियो । त्यहि वेला मैले भनेको थिए, नेपालमा उद्योगमा लगानी गर्नु भनेको पाप गर्नु हो । अहिलेसम्म मेरो बुझाई त्यहि हो कि उद्योगमा लगानी गर्नु पाप गर्नु नै हो’ उनले निरासा व्यक्त गरे । उनीसँग गरिएको ‘विकास वहस’ विकास मिडियाको प्रिन्ट संस्करण देशविकास पत्रिका र डिजिटल संस्करण विकासन्युज डटकममा अागामी आईतबार प्रकाशित हुनेछ ।