विकासन्युज

बैंक र मालपोत कर्मचारीसँग भूमाफिया, किर्ते गरेर जग्गा हडप्ने गिरोह सक्रिय

काठमाडौं १९, पुस । सार्वजनिक तथा निजी स्वामित्वका जग्गा तथा जमिन हडप्न मालपोत बैंकरवित्तीय संस्थाका कर्मचारी र भूमाफिया संगठित रुपमा सक्रिय हुन थालेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले त्यसविरुद्ध अपरेसन थालेको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नापी विभाग तथा बैंकरबित्तीय संस्थासँग समन्वय गरेर व्यूरोले देशभर सक्रिय भूमाफियाको सञ्जाल भत्काउन अग्रसरता देखाएको हो । यसका लागि व्यूरो देशभरका सरकारी, सार्वजनिक तथा गुठीका जग्गाको विवरणदेखी धितो राखेर कर्जा प्रवाह गरिएको शंकास्पद कारोबारसम्मको अभिलेख संकलनमा जुटेको छ । । फाइल तस्बिर व्यूरोका निर्देशक डीआइजी नवराज सिलवालका अनुसार सार्वजनिकरगुठी तथा व्यक्तिका नाममा रहेका जग्गा हडप्न मालपोत, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र भू–माफियाबीच मिलेमतो हुने गरेको बताए । मालपोतका कर्मचारी र गिरोहले कागजात किर्ते गरेर सार्वजनिक तथा निजी जग्गा हडप्ने र उक्त जग्गा धितो राखेर बैंकबाट कर्जा झिक्न गिरोह सक्रिय रहेको प्रहरीको दाबी छ । “निजी, सार्वजनिक, सरकारी तथा गुठीका जग्गा हडप्न माफियाले त्रिकोणात्मक सञ्जाल विस्तार गरेको अनुसन्धानले देखाउँछ,” व्यूरो प्रमुख सिलवालले भने, “अनुसन्धानका क्रममा भेटिएका तथ्य र प्रमाणले यसमा भू–माफिया, मालपोतका कर्मचारी र कर्जा विभागका कार्यरत बैंकका अधिकारीबीचको मिलेमतो विना यस्तो ठगी अघि बढाउँन सम्भव नै हुदैन ।” दलालले मालपोत र नापी कार्यालयमार्फत व्यक्ति तथा सार्वजनिक जग्गाको विवरण पाएपछि नक्कली लालपुर्जा, नागरिकता, नाता प्रमाणित, मृत्युदर्ता प्रमाणपत्रलगायतका महत्वपूर्ण कागजात तयार पार्छन् । गिरोहको उक्त सेटिङलाई नापी र मालपोत कार्यालयका कर्मचारीले साथ दिँदै आएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् । नक्कली कागजात तयार भएपछि मालपोतका कर्मचारीले माफियाकै योजनामा नक्कली जग्गाधनी खडा गर्ने र त्यसपछि बैंकमा धीतो राखेर कर्जा निकाल्ने र विक्री गर्ने गर्छन् । त्यसक्रममा नाता प्रमाणीकरण, जन्मरमृत्युदर्ता, नक्कली पति–पत्नीको विवाह दर्ता प्रमाणपत्र, अपरिचित जग्गाधनीका लालपुर्जा फोटोकपी लगायतका गाविस सचिवदेखी मालपोतका कर्मचारी सम्मको मिलेमतो देखिएको व्यूरोको दाबी छ । माफियाले जग्गा हडपेको थाहा पाएपछि प्रहरीमा कारबाहीको माग गर्दै उजुरी दिनेको लर्को लागेको छ । भण्डारा गाविस–२ चितवनका लोकेन्द्रराज पाठकको करिव २२ करोड रुपैयाँ मूल्य बराबरको जग्गा माफियाले किर्ते कागजातका आधारमा हडप्न सफल भयो । १ लाख मूल्य राखेर माफियाले उक्त जग्गा आफ्नो स्वामित्वमा ल्याएपछि हिमालयन बैंक र प्राइम बैंकबाट क्रमशः ५ करोड र ८ करोड रुपैयाँ कर्जा लिएका थिए । कारोबार दैनिकबाट ।

हवाई यात्रुको बीमा बढ्दै, २० हजारबाट १ लाख १३ हजार डलर बनाइँदै

काठमाडौं १९, पुस । सरकारले ६ दशकपछि हवाई यात्रुको बिमा रकम बढाउने तयारी गरेको छ । साविकको भन्दा करीब ६ गुणासम्म रकम बढाउने गृहकार्य भइरहेको छ । हाल प्रतियात्रु २० हजार अमेरिकी डलर रहेको यात्रु बिमा रकम अन्तरराष्ट्रियतर्फ १ लाख १३ हजार र आन्तरिकतर्फ ५० हजार डलर पुर्‍याउने सरकारको तयारी छ । नेपालले हवाई यात्रुको बिमा रकम बढाउन सन् १९९९ मा क्यानडामा चलेको अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ‘मोेन्ट्रिल कन्भेन्सन’ मा हस्ताक्षर गरिसकेको छ । तर उक्त महासन्धि हालसम्म पनि नेपाल सरकारले अनुमोदन नगर्दा बीमा रकम बढ्न सकेको छैन । जसका कारण अन्तरराष्ट्रिय हवाई यात्रुले नेपालका एयरलाइन्सलाई विश्वासमा लिँदैनन् । सरकारले अन्तरराष्ट्रिय समुदायलाई विश्वसमा लिनको लागि पनि आगामी एक वर्षभित्र सबै प्रक्रिया टुंग्याउने गरी प्रक्रिया अगाडि बढाएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हवाई महाशाखाका प्रमुख तथा सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । बिमा रकम नबढाएमा नेपाल वायुसेवा निगमलाई अन्तरराष्ट्रिय उडानमा समस्या पर्ने भएकोले पनि नेपाललाई बिमा बढाउनु अनिवार्य छ । सन् १९५५ मा ‘हेग प्रोटोकल’ मा २० हजार डलर कार्यान्यवनमा गएको थियो । नेपालले हालसम्म पनि सोहीदर कार्यान्वयनमा राखेको छ । त्योभन्दा पहिला सन् १९२९ मा १० हजार डलर थियो । जापान, अमेरिका, युरोप तथा आईकाओका अधिकांश सदस्य राष्ट्रहरूले बिमा रकम सन् १९७७ मै ७५ हजार डलर पुर्‍याएका थिए । हाल ती देशले १ लाख १३ हजार डलर कार्यान्वयनमा लगेका छन् । तर, नेपालले भने अहिले पनि सन् १९५५ को ‘हेग प्रोटोकल’ले तयार पारेको २० हजार डलर कार्यन्वयन गरिरहेको छ । “नेपालले मनोट्रियल कन्भेन्सन मात्र नभएरले केपटाउन कन्भेन्सन समेत अनुमोदन गर्नुपर्ने भएकोले बिमा रकम बढाउनुको विकल्प छैन,” लामिछानेले भने । विश्वका धेरै देशले १ लाख १३ हजार डलर बिमा रकम कार्यान्वयनमा लागिसकेको उल्लेख गर्दै उनले अबव नेपालले पनि सोहीदरमा कार्यन्यनमा जानुपर्ने बताए । यो व्यवस्था कार्यान्वनयनपछि नेपालबाट अन्तरराष्ट्रिय उडान गर्ने नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई बाध्यता हुनेछ । नेपाल आउने अधिकांश एयरलाइन्समा हाल १ लाख १३ हजार डलरको हवाईयात्रु बिमा उपलब्ध छ । महासन्धि अनुमोदन गरेका देशबाट यात्रा गर्ने कुनै यात्रु नेपाली एयरलाइन्समा चढ्दा दुर्घटना भएको खण्डमा यही दरको बिमा दाबी क्षतिपूर्ति तिर्नुपर्छ । जबकी, नेपाली यात्रुले २० हजार डलरबराबरको मात्र बीमा दाबी गर्न पाउँछन् । कारोबार दैनिकबाट ।

३७ अर्ब जुटाउन नसक्दा र काम गर्ने मोडालिटी तय नहुँदा काठमाडौँ-हेटौँडा सुरुङ मार्ग कामै नगरी निर्माण अवधि समाप्त

काठमाडौं १९, पुस । राजधानी भित्रने र बाहिरिने द्रूत मार्गका रूपमा कुनै बेला निकै चर्चा पाएको काठमाडौँ–हेटौँडा सुरुङमार्ग निर्माणको काम एक इन्च अगाडि नबढी यसको निर्माण अवधि नै गुजारिएको छ। काठमाडौँ–निजगढ द्रुत मार्गको चर्चासँगै नागरिकको करोडौँ रुपियाँ सेयरका रूपमा लगानी भइसकेको सुरुङ मार्ग निर्माण करिब तुहाइएको छ र यसले लगानीकर्ता नागरिकमा चिन्ता छाएको छ। सुरुङमार्ग निर्माणका लागि सरकारले २०६९ सालमा नेपाल पूर्वाधार विकास निर्माण कम्पनी लिमिटेडलाई जिम्मा दिए पनि कम्पनीले निर्माणको काम अगाडि नबढाएपछि सन् २०१६ को अन्त्यसम्म निर्माण सम्पन्न गर्नुपर्ने सुरुङमार्ग गर्भमै तुहिएको हो। यो सुरुङमार्ग निर्माणका लागि सरकारले दुई वर्षको समयावधि उपलब्ध गराएको थियो, दुई वर्षको म्यादभित्र सुरुङ निर्माणका लागि एक मिटर पनि खन्ने काम भएन। सन् २०१६ को डिसेम्बरसम्म सो मार्ग निर्माण गर्ने गरी दुई वर्षअघि तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालय र नेपाल पूर्वाधार विकास निर्माण कम्पनी लिमिटेडबीच सम्झौता भएको थियो। पूर्वाधार कम्पनीले नै तयार गरेको डिजाइनलाई स्वीकृत गर्दै मन्त्रालय र कम्पनीबीच सो सम्झौता भएको थियो। ‘पीपीपी मोडेल’ मा निर्माण हुने सो सुरुङमार्ग ३० वर्षसम्म नेपाल पूर्वाधार कम्पणीले सञ्चालन गर्ने र त्यसपछि सरकारलाई हस्तान्तरण गर्ने भनिएको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले सुरुङमार्ग निर्माणका लागि थप तीन वर्षको निर्माणावधि माग गर्दै नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले मन्त्रालयमा निवेदन दिए पनि सो कम्पनीलाई नयाँ समयावधि थप्ने कि नथप्ने विषयमा अहिलेसम्म कुनै निर्णय हुन नसकेको जानकारी दिए। उनका अनुसार, सो विषयमा मन्त्रालय अहिले प्रक्रियामा रहेको छ। अहिले मन्त्रालयले काठमाडौँ हेटौँडा सुरुङमार्गको म्याद थप्नु उचित हुन्छ वा हुँदैन भनेर अध्ययन गरिरहेको बताउँदै उनले अहिले मन्त्रालयले नेपाल पूर्वाधार विकास कम्पनीसँग अबका दिनहरूमा सुरुङमापर्ग निर्माण सम्पन्न गर्न सक्ने आधारहरू मागिरहेको जानकारी दिए। सुरुङमार्ग निर्माणको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)का लागि पूर्वाधार कम्पनीले भौतिक पूर्वाधार मन्त्रालयमा बुझाएको प्रतिवेदन अन्तिम स्वीकृतिका लागि वातावरण मन्त्रालयमा पठाइएको जानकारी प्रवक्ता अधिकारीले दिए। नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष लाल केसीले विगतमा यो सुरुङमार्गको निर्माण किन हुन सकेन भन्ने कुराबाट पाठ सिक्दै भविष्यमा सुरुङमार्गको निर्माण कसरी गर्न सकिन्छ भन्ने योजनाको तयारीमा कम्पनी लागेको बताए। विगतमा पनि विस्तृत योजना प्रतिवेदन ९डीपीआर०, वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) तथा अन्वेषणलगायत कामहरू भएको बताउँदै अध्यक्ष केसीले कम्पनी अहिले अबको पाँच वर्षको समय पाएमा सुरुङमार्ग निर्माण गरी छाड्ने प्रतिबद्धता व्यक्त गरे। सरकारले सहजीकरणको काम गरेमा यस योजनाका लागि आर्थिक स्रोतको कमी पनि नहुने उनको दाबी छ। सो सुरुङमार्ग निर्माणका लागि सेयरका रूपमा दश लाख रुपियाँ लगानी गर्नुभएका मकवानपुर, फाखेलका जीवन लामाले वार्षिक रूपमा नाफा र लाभांश आउँछ भन्ने आशमा गरिएको लगानीको साउँ नै डुब्ने हो कि भन्ने चिन्ता गरे। पैसा माग्न जाँदा तपार्इँको सेयर कहीँ पनि हराउँदैन, यो कम्पनी हो कुनै व्यक्ति होइन, एक ठाउँमा नभए अर्को ठाउँमा लगानी गर्छ भनेर कम्पनीबाट जवाफ पाएको उनले बताए। नेपाल पूर्वाधार विकास कम्पनीले सो सुरुङमार्ग निर्माणका लागि सञ्चालक तथा नागरिकबाट गरी ३१ करोड ७६ लाख रकम सङ्कलन गरी अहिले बैङ्क ग्यारेन्टीका लागि राखेको रु तीनकरोड र बाँकी ४० लाख रुपियाँ बाहेक अन्य रकम खर्च गरिसकेको बुझिएको छ। २०६९ वैशाखमा मन्त्रिपरिषद्ले यो सुरुङमार्ग निर्माण गर्ने प्रस्तावलाई पारित गरेको थियोे। सरकार र कम्पनीबीच भएको सम्झौताअनुसार कम्पनीले दुई वर्षभित्र लगानीको आधारसहित आर्थिक प्रतिवेदन पेस गर्नुपर्ने थियो। तर कम्पनीले अहिलेसम्म सरकारलाई आर्थिक प्रतिवेदन बुझाउन सकेको छैन। कम्पनीमा भवन भट्टको रु ९ करोड ३७ लाख ६० हजार, कुशकुमार जोशीको रु३० लाख, विक्रम पाण्डेको रु १० लाख र जयराम लामिछानेको रु १० लाख, प्रदीपजङ्ग पाण्डेको रु१० लाख र सकुन्तलाल हिराचनको दश लाख रुपियाँ लगानी रहेको बताइएको छ। कम्पनी रजिस्ट्रारको कार्यालयअनुसार कम्पनीका १५९ जना सेयरधनी छन्। पूर्वाधार कम्पनीले यस सुरुङमार्गको कूल लागत रु ३७ अर्ब हुने अनुमान गरेको छ। गोरखापत्र दैनिकबाट ।

बीमा समितिको अध्यक्षमा चिरञ्जीवि चापागाई नियुक्त, बीमा सेवाको पुहुँच विस्तार, नीतिगत सुधार र प्रभावकारी नियमनमा जोड दिइने

काठमाडौं, १८ पुस । बीमा समितिको अध्यक्षमा चिरञ्जीवि चापागाई नियुक्त भएका छन् । गत विहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्री कृष्णवहादुर महराले चापागाई, डा रविन्द्र घिमिरे र रमेश भट्टराईको नाम सिफारिस गरेका थिए । चापागाईलाई नियुक्त गर्ने निर्णय गत विहीबार कै मितिमा भएको र त्यसमा आफूले सोमबार हस्ताक्षर गरेको मुख्यसचिव सोमलाल सुवेदीले विकासन्युजलाई बताए । नवनियुक्त चापागाई नेपाल राष्ट्र बैंकका निर्देशक हुन् । उनी हाल पोखारा शाखाको प्रमुखको रुपमा कार्यरत छन् । उनी विगत २७ वर्षदेखि राष्ट्र बैंकमा कार्यरत छन् । बाग्लुङमा जन्मेका चापागाईले त्रिभुवन विश्वविद्यालयबाट एमबीए र पछि पूर्वाञ्चाल विश्वविद्यालयबाट एक्जिक्यूटिभ एमबीए (दोस्रो) सम्मको औपचारिक शिक्षा हासिल गरेका छन् । नेपालको सशक्त नियमनकारी निकाय राष्ट्र बैंकमा २७ वर्ष काम गरेको अनुभव बीमा क्षेत्रमा प्रयोग गर्ने चापागाईले बताए । विकासन्युजसँग संक्षिप्त कुरा गर्दै उनले भने–‘राष्ट्र बैंकमा ७ वर्ष रेगुलेशन डिपार्टमेन्टमा काम गरको अनुभव छ । पाँचौ राष्ट्रिय पारिवारिक सर्वेक्षणको सफल नेतृत्व गरेको अनुभव छ । आफ्नो क्षमता र अनुभव बीमा क्षेत्रमा प्रयोग गर्छु ।’ बीमा सेवाको पुहुँच विस्तार, नीतिगत सुधार र प्रभावकारी नियमनमा आफूले जोड दिने उनले बताए ।

ग्लोबल आइएमईको दशौँ बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

काठमाडौं, १८ पुस । ग्लोबल आइएमई बैंकले आफ्नो १०औ वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरेको छ । बैंकले “रक्तदान नै जीवन दान” हो भन्ने मुल नाराका साथ रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रम सम्पन्न भएको छ । मुलुकमा देखिएको रगत अभाबलाई ध्यानमा राखेर बैंकले यस कार्यक्रमको आयोजना गरेको जनाएको छ । हाल ९१ शाखा, १०३ एटिएम, ६ वटा एक्टेन्सन काउण्टर, ४४ शाखा रहित बैंकिङ्ग सेवा रहेको यस बैंकले ६ लाख भन्दा बढि ग्राहकलाई सेवा दिदै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ । ग्लोबल आइएमई बैंकले स्थापनाको एक दशकमा बैंक अफ द इएर तथा बेष्ट इन्टरनेट बैंकिङ्ग अर्वाडबाट समेत सम्मानित भईसकेको छ ।

काउन्सिलबाट चार जनालाई छात्रवृत्ति प्रदान

काठमाडौं, १८ पुस । प्रेस काउन्सिल नेपालमा आयोजित एक कार्यक्रममा चार जनालाई छात्रवृत्ति प्रदान गरिएको छ । सो कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णवहादुर कार्कीले ४ जना शोधार्थीहरुलाई जनही २५ हजार रुपैयाँका दरले छात्रवृत्ति रकम प्रदान गरेका छन् । छात्रवृत्ति पाउनेहरुमा क्रमशः सलोजा दाहाल, डिल्लीप्रसाद निरौला, मन्दिरा दुलाल र जितेन्द्रकुमार झा रहेका छन् । काउन्सिलका अनुसार उनीहरुले अनलाइन मिडियामा आचार संहिताको पालना, दक्षिण एशियाली पत्रकारितामा नीतिशास्त्रको तुलनात्मक अध्ययन, प्रकोप रिपोर्टिङमा आचार संहिताका मुद्धाहरु र धनुषा जिल्लामा ग्रामीण पत्रकारिताको विकास सम्बन्धी शोध गरेका छन् । सो अवसरमा काउन्सिल अध्यक्ष कार्कीले पत्रकारितामा अध्ययन अनुसन्धान गरेका, बिशेषज्ञमूखि पत्रकारहरुको आवश्यकता रहेको बताउँदै जान्ने र योग्य व्यक्तिले पत्रकारिता गर्नुपर्ने बताएका छन् ।

सिप्रदी ट्रेडिङ्को नयाँ च्यासिस बस नेपाली बजारमा, ३ लाख किलोमिटर सम्मको वारेन्टी

काठमाडौं, १८ पुस । टाटा मोर्टसको लागि नेपालको एक मात्र आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङ्  प्रा.लि. ले नयाँ बस च्यासिस एयर सस्पेन्सन युक्त एल.पी.ओ. १५१२/५५ बजारमा ल्याएको छ । कम्पनीका अनुसार १०.७ मिटर लामो यस च्यासिस टाटा कुमिइस् टुरबोचार्जड इन्टरकुलड डिजेल इन्जिनको शक्तिले सम्पन्न रहेको छ । १३३ हर्ष पावरको इन्जिन भएको यस वाईड बडी च्यासिस, एयर सस्पेन्सन अनि ४० रिक्लाइनिङ सिटहरु जडित छ । उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेण्टी गर्ने यस च्यासिस सुरक्षाको दृष्टिकोणले पनि सर्वोत्कृष्ट रहेको कम्पनीको दावी छ । एयर सस्पेन्सन युक्त एल.पि.ओ. च्यासिस, १०ः००–२०ः०० साईजको रेडियल टायर जस्ता विशेषताको कारण शहर भित्र र शहर बाहिरको सुरक्षित यात्राको लागि यस च्यासिस अति उपयोगी रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १३३ हर्ष पावरको ईन्जिन, ४९० न्युटन मिटरको टर्क, २५३ मिलिमिटरको क्लच प्लेट र जि-६०० गियर बक्स जस्ता विशेषता रहेको यसले अप्ठ्यारा, पहाडी क्षेत्रमा पनि सहज रुपले गाडीले भार बहन गर्ने क्षमता राख्दछ । यसैगरी यस बसमा जि-६०० गियर बक्समा पनि ओभरड्राइभ विशेषता र ४१/७ अनुपातको क्राउन भएको कारण यस च्यासिसले कम इन्धनमा नै उच्च गति प्रदान गर्दछ । २४ वटा भन्दा बढी सेवा केन्द्र भएको सिप्रदी नेपालकै सबैभन्दा व्यापक बस र ट्रकको बिक्री पछिको सेवा संजाल भएको कम्पनी हो । उत्कृष्ट सेवा र सर्वसुलभ मर्मत सम्भारका दृष्टिकोणले एल.पी.ओ. १५१२/५५ एयर सस्पेन्सन बसले ग्राहक वर्गहरुलाई विश्वस्त पार्ने क्षमता राख्दछ । साथै यस गाडीमा ३ वर्ष वा ३ लाख किलोमिटर सम्मको वारेन्टी उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

मिर्मिरे माईक्रोफाइनान्सले २५ प्रतिशत हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं, १८ पुस । मिर्मिरे माईक्रोफाईनान्स डेभलपमेन्ट बैंकले आर्थिक बर्ष ०७२/०७३ मा कायम चुक्ता पूँजीको २५ प्रतिशत (अर्थात १ बराबर ०.५० को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले शेयरधनीलाई जारी गर्न लागेको प्रति सेयर सय रुपैयाँका दरले हुने १ लाख ५० हजार कित्ता सेयरको सार्वजनिक गर्न लागेको हो । सो मात्राको हकप्रद निष्काशनको लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता सोमबार सम्पन्न भयो । सम्झौतामा मिर्मिरे माईक्रोफाइनान्स डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारी तथा निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका तर्फबाट महा–प्रबन्धक शंकरप्रसाद कालीकोटाले हस्ताक्षर गरेका छन् । मिर्मिरे माईक्रोफाईनान्सको छैठौं वार्षिक साधारण सभाले कम्पनीको अधिकृत पूँजी १० दश करोड रुपैयाँ पुर्याउने निर्णय गरेको छ ।