विकासन्युज

खाना खादै गर्दा समातेको कुमारीका सिइओको बयान, प्रहरी भन्छ -होइन

१४ फागुन । महानगरीय प्रहरी प्रभाग बानेश्वरमा रहेका कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत उदयकृष्ण उपाध्यायले आफू खाना खान थकाली रेष्टुरेन्ट गएको समयमा प्रहरीले पक्राउ गरेको दाबी गरेका छन् । उनले प्रहरीलाई सो बयान दिएर अनावश्यक दुख नदिन भन्दै चाढो रिहाइ गर्न पनि माग गरेका छन् । ‘थकाली खाना खानको लागि गएको समयमा प्रहरीले मलाई पक्राउ गरेको भन्ने बयान दिनुभएको छ,’ महानगरीय प्रहरी प्रभाग बानेश्वरका एक अधिकारीले भने– पदीय मर्यादा पनि विचार गर्नुपर्ने भएकोले मिलाएर चाढै छोड्ने तयारी गर्दैछौं । प्रहरीले उनलाई ११ फागुनमा कोटेश्वरको आशियाना रेष्टुरेन्टवाट पक्राउ गरेको थियो । प्रहरीले औपचारिक रुपमा पक्राउको कारण खुलाएको छैन । उनको साथमा अर्काे एक जना पनि भएको प्रहरीको दाबी छ । ‘उहाँले जस्तो दाबी गरिरहनु भएको छ, त्यो हुदैहोइन,’ ती प्रहरी अधिकारीले भने– हामीले प्रमाण सहित नै भेटेको भएपनि उहाँको पदीय मर्यादा पनि विचार गर्नुपर्ने अवस्था आएको छ । उपाध्यायलाई चाढै रिहा गरिने प्रहरीको भनाइ छ ।

शसक्त र एकतावद्ध क्यानको नाराले मेरो जित सुनिश्चित भैसक्यो

कम्प्युटर एसोसियसन अफ नेपाल(क्यान महासंघ)को प्रथम साधारण सभा फागुन १६ गते राजधानीमा सम्पन्न हुँदैछ । आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने भएपछि वर्तमान कार्यसमितीमा उपाध्यक्ष रहेका नारायण न्यौपाने प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । लुम्बिनीको रुपन्देही स्थायी घर भएका ३२ बर्षिय न्यौपानेले पुर्वाञ्चल विश्वविद्यालयबाट आईटीमा स्नातक गरेका छन् भने सिक्किम मणिपाल युनिभर्सिटीबाट सन २००९ मा आईटीमै स्नातकोत्तर गरेका थिए । उनी सुचना प्रबिधी समाजका संस्थापक अध्यक्ष हुन् भने विज्ञान मन्त्रालयको सुचना प्रबिधी बिकास समितीमा निजी क्षेत्रका तर्फबाट प्रतिनिधित्व गरिरहेका छन् । एच एण्ड बी डेभलपमेन्ट बैंकमा तीन बर्षसम्म आईटी प्रमुखका रुपमा काम गरेका न्यौपानेले विज्ञान मन्त्रालय पुनसंरचना सुझाव समितीमा समेत आईटी क्षेत्रको प्रतिनिधत्व गरिसकेका छन् । हलमार्क इन्फोसिसका प्रबन्ध निर्देशक रहेका न्यौपानेकै अगुवाईमा डिजिटल सिग्नेचरको कारोबार गर्ने नेपाल सर्टिफाईङ कम्पनी सुरु भएको छ । कम्पनीमा उनी प्रमुख सञ्चालक अधिकृतका रुपमा काम गरिरहेका छन् । नेपालमा सुचना प्रबिधीका क्षेत्रमा आईपर्ने जोखिम न्युनिकरणका लागि भर्खरै गठन भएको आईटीसर्ट एनपीका समेत उनी संस्थापक महासचिव हुन् । क्यानमा कार्यसमिती सदस्य हुँदै सचिव, महासचिव र उपाध्यक्षको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गरिसकेका न्यौपाने क्यान महासंघको प्रथम अध्यक्ष बन्न तम्सिएका छन् । उनै न्यौपानेसँग बिकासन्युज डटकमले गरेको कुराकानी / तपाईको उम्मेदवारी किन ? मैले आफ्नो उम्मेदवारी दिँदा दुई तीनवटा कुरालाई बढि जोड दिएको छु । क्यान भर्खर महासंघ बनेको छ । काम गर्ने तौरतरिका पुरानै छ । पुरानालाई सम्मान गर्दै नयाँ पुस्ताको उर्जालाई सदुपयोग गर्ने योजना बनाएको छु । नयाँ र पुराना व्यवसायीहरुको साझा सहभागीतामा नेपालमा सुचना सञ्चार प्रबिधीको बिकास गर्नका लागि मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ । सूचना प्रबिधीलाई उद्योगका रुपमा बिकास गराउने योजना पनि छ । पुरानाको योगदानको उच्च कदर गर्दै नयाँ पुस्ताको उर्जालाई अधिकतम सदुपयोग मार्फत शसक्त र एकतावद्ध क्यान महासंघको निर्माणका लागि मैले उम्मेदवारी दिएको हुँ । क्यान महासंघका मतदाताले तपाईलाई किन अध्यक्ष बनाउने ? मैले क्यानको कार्यसमितीको सदस्य हुँदै सचिव महासचिव र उपाध्यक्षसम्मको जिम्मेवारी कुशलता पुर्वक पुरा गरिसकेको छु । मेरो भूमिका र योगदानलाई हेरेर साथीहरुले उम्मेदवार बन्न आग्रह गरेका हुन् । क्यानको शाखलाई जोगाउन साथीहरुले उम्मेदवार बनन अनुरोध गरेपछि उम्मेदवार बनेको हुँ । पछिल्लो समयमा क्यानको मुल नेतृत्व प्रति सदस्यहरुको धारणा खासै राम्रो देखिन्न । क्यानलाई सुचना सञ्चार प्रबिधीमा संलग्न सदस्यहरुको साझा संस्थाका रुपमा स्थापित गराउनु छ । आईसीटीको बिकासमा क्यानको भुमिका चाहने र यसलाई उद्योगको मान्यता दिलाउन चाहनेहरुले मलाई अध्यक्ष बनाउने हो । अर्काे महत्वपुर्ण कुरा भनेको क्यानमा नेतृत्व परिवर्तनका पक्षमा पनि बुलन्द आवाज उठेको छ । आफ्नो क्षमताले भ्याए जति काम एक कार्यकालमा गर्न सकिन्छ । दोश्रो कार्यकालमा नयाँ योगदानको सम्भावना रहँदैन् । नयाँ मान्छेबाट नयाँ क्षमता र योगदानको अपेक्षा गर्ने हो । नेतृत्व जाम गराउने कुरा पनि न्याय संगत हुँदैन् । क्यानका मेलाहरुप्रति सर्वसाधारणहरुको आकर्षण घटेको छ, त्यसलाई कसरी बढाउनु हुन्छ ? क्यानको मुल नेतृत्वले क्यानलाई इन्फोटेक र सफ्टेक आयोजकका रुपमा मात्रै चित्रित गर्दै आएको छ । त्यसलाई पनि सफल बनाउन सकेको छैन् । पछिल्लो समय अवलोकन कर्ताहरुको संख्या पनि घटिरहेको छ । आईसीटीलाई उद्योगका रुपमा बिकास गराउने, नीति नियमका परिमार्जन, व्यवसायीकताको बिकास, व्यवसायीक एकता, आईसीटीको बिकासमा क्यानको मुख्य भुमिका हुनुपर्छ । पर्यटन, कृषि, शिक्षा क्षेत्रमा पनि आईसीटीको भुमिका खोज्नु पर्छ । क्यान अहिले केहि व्यक्तिहरुको स्वेच्छाचारितामा चलेको छ । म अध्यक्ष भएँ भने सदस्यहरुकोबिचमा अपनत्व महशुस गराउने छु । क्यानलाई ब्राण्डिङ गराउने छु । सुदुर पुर्वदेखि सुदुर पश्चिमसम्म क्यानको विस्तार तथा आईसीटीको बिकासका योजना के के छन् ? क्यान महासंघको गठन नै त्यसकै लागि भएको हो । क्यानका जिल्ला शाखाहरुको शसक्तिकरण मार्फत नै देशमा आईसीटीको बिकास सम्भव हुन्छ । त्यो मेरो महत्वपुर्ण प्राथमिकताको बिषय हो । त्यसैले पनि जिल्ला शाखाहरुले मलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । तपाईले जित्ने आधारहरु के के छन् ? मसँग जिल्ला शाखाहरुको राम्रो साथ छ । क्यानका संस्थापकहरुको मलाई सहयोग छ । क्यानका संस्थापक सिएन उपाध्याय, पुर्व अध्यक्ष बिप्लवमान सिंह लगायतको सहभागीताले मेरो टिमलाई बलियो बनाएको छ । आईर्टीस नेपालका सभापति चन्द्र बिलाश भुर्तेल, टेलिकमका प्रतिनिधी पनि मेरो टिममा छन् । प्राइम कलेजका नरेश श्रेष्ठ लगायतको उम्मेदवारीले मलाई झन बलियो बनाएको छ । मुख्य कुरा एजेण्डा नै हुन् । क्यान महासंघको प्रगतिका लागि मसँग ठोस योजना छन् । त्यसकारण मेरो जित सुनिश्चित छ । फर्जि सदस्यताको चर्चा पनि चलेको छ नी ? क्यानको सत्तामा बसेर शक्तिको दुरुपयोग भैरहेको छ । अन्तिम समयमा आएर अबैधानिक रुपमा सदस्यता थपिएको देखिन्छ । तर पनि मेरो जित सुनिश्चित छ । उनीहरुले भर्ति गरेका सदस्यहरुले समेत मलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आईसीटीमा लागेका मान्छेहरु प्रलोभनमा पर्दैनन् । विवेकको अधिकतम प्रयोग गर्छन् । त्यसैले पनि म अत्तालिएको छैन् । क्यान महासंघलाई एकतावद्ध बनाउन पनि नारायण न्यौपाने चाहिन्छ भन्नेमा मतदाताहरु सचेत छन् ।

कुमारी बैंकको सिईओ पक्राउ, प्रहरी कार्यलय तिनकुनेको हिरासतमा

१३ फागुन । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत उदय उपाध्याय पक्राउ परेका छन् । महानगरीय प्रहरी कार्यलय तिनकुनेले उपाध्यायलाई फागुन ११ गते कोटेश्वरस्थित एक गेष्ट हाउसबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । तिनकुने प्रहरी स्रोतका अनुसार उपाध्यायलाई प्रहरी कार्यलय तिनकुनेमा हिरासतमा राखिएको छ । उनीमाथि सार्वजनिक अपराध सम्वन्धि मुद्दा चलाईएको छ । फागुन १३ गते जिल्ला प्रशासन कार्यलय काठमाडौंले उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको स्रोतले बतायो । कुमारी बैंक स्रोतका अनुसार प्रमुख कार्यकारी अधिकृत उपाध्याय आईतबारदेखि वार्षिक विदामा बसेका छन् । उनी पक्राउ हुनुमा व्यक्तिगत कारण रहेको स्रोतले बतायो । राष्ट्र बैंक उच्च स्रोतका अनुसार कुनै पनि बैंकको व्यवस्थापक वा सञ्चालकलाई सार्वजनिक अपराधा मुद्दा लागेमा मुद्दाको अन्तिम अन्तिम किनारा नलागेसम्म निलम्वन गरिन्छ ।

नेपाल बैंकको सीइओमा सात जनाको भिडन्त, अन्तिम निर्णय अर्काे साता

१३ फागुन । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा सात जनाले प्रधिस्पर्धा गरिरहेका छन । बैंकमा निजी क्षेत्रका बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृतदेखि त्यही कार्यरत उच्च स्तरका कर्मचारीले आवेदन दिएका छन् । प्रमुख कार्यकारी अधिकृतको लागि आवेदन दिनेमा अनलराज भट्टराई, कुमार लम्साल, कुलराज चालिसे, देवेन्द्र प्रताप शाह, समिर दाहाल, छविराज पन्त र रघुनाथ खनाल छन् । यो पदको लागि  फागुन १० गतेसम्म आवेदन खुला थियो । यो पदको लागि आवेदन दिएका देवेन्द्र प्रताप शाह अर्थमन्त्री डा. रामशरण महतका खास मान्छे हुन्। उनले बीमा समितिको अध्यक्ष र कृषि बिकास बैंकको महाप्रबन्धकको अनुभव संगालिसकेका छन् । यी दुवै संस्थाको जिम्मेवारी उनले अथमन्त्री महतकै कारण पाएका थिए । उमेरले सबैभन्दा पाका  शाह आधुनिक बैंकिङ प्रणालीमा अभ्यस्त छैनन्  । अर्का आवेदक अनलराज भट्टराईको बैंकिङ करिअरको शुरुवात नै नेपाल बैंकबाट भएको थियो । बैंकमा प्रथम श्रेणीबाट प्रवेश गरेका भट्टराईले विशिष्ट श्रेणीबाट राजिनामा दिएका थिए । उनले त्यहा पाँच बर्ष मात्र काम गरेका थिए । भट्टराई सानिमा बिकास बैंक, सिनर्जी डेभलपमेन्ट बैंक र कमर्श एण्ड ट्रष्ट बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत हुन्। कुमार लम्साल पनि विभिन्न वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन् । यसअघि प्रभु बैंकमा र त्यसभन्दा अघि सानिमा बैंकमा उनी सीइओ थिए । छविराज पन्त हाल नेपाल एसबीआई बैंकको प्रमुख जोखिम अधिकृतको रुपमा कार्यरत छन् । कुलराज चालिसे नेपाल बैंकका पूर्वकर्मचारी हुन् । बरिष्ठ प्रबन्धकको जिम्मेवारीमा रहेका उनले चार वर्षअघि पदबाट राजिनामा दिएका थिए । समिर दाहाल सिटिजन्स बैंकमा प्रमुख वित्त अधिकृतको रुपमा कार्यरत छन्। उनी चार्टर्ड एकाउटेन्ट पनि हुन् । उनले यसअघि भने हिमालयन बैैंकमा आन्तरिक लेखा परिपक्षण तथा अनुगमन शाखामा रहेका काम गरेका थिए । रघुनाथ खनाल भने हाल नेपाल बैंकमै कार्यरत छ । उनी त्यहाका  उपमहाप्रबन्धक हुन् ।

विहीवार गभर्नर नियुक्ती हुने, डा. शर्मा अगाडि, काफ्ले सिफारिसमै नपर्ने !

१३ फागुन । नयाँ गभर्नरको दौडमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरनाथ शर्मा निकै अगाडि देखिएका छन् । सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि डा. शर्मालाई गभर्नर बनाउदा आफ्नो पार्टीलाई आपत्ति नहुने संकेत प्रधानमन्त्री सुशील कोइरालालाई दिएपछि उनको सम्भावना बढी भएको हो । सरकारले भने भोलि (विहिवारै) मन्त्रीपरिषदबाट नयाँ गभर्नर नियुक्ती गर्ने तयारी गरेको छ । मंगलवारको मन्त्रीपरिषदले अर्थमन्त्री डा. रामशरण महतको अध्यक्षतामा सिफारिस समिति गठन गरेको थियो । समितिमा पूर्वगभर्नर हिमालयशमशेर जवरा र अर्थशास्त्री प्राडा पार्थिवेश्वर तिमल्सिनालाई सदस्यमा मनोनित गरेको थियो । दिउसको मन्त्रिपरिषदले समिति गठन गरेपछि मंगलवार साझ नै समितिको अनौपचारिक बैठक बसेको स्रोतको भनाइ छ । सो बैठकले विहिवारको मन्त्रिपरिषद बैठकमा पेश गर्ने गरी नाम सिफारिस गरिसक्ने तयारी पनि गरेको छ । समितिले नयाँ गभर्नरको लागि ३ जना सम्भावित उम्मेदवारको नाम सिफारिस गर्नेछ । डा. शर्मासँगै डेपटी गभर्नर महाप्रसाद अधिकारीको नाम सिफारिस गर्ने तयारी समितिले गरेको छ । सामान्यतया गभर्नरको लागि एक जना डेपुटी गभर्नरको नाम सिफारिस गर्दा वरिष्ठ डेपुटी गभर्नरकै नाम सिफारिस गर्ने गरिएको छ । अहिले वरिष्ठ डेपुटी गभर्नर गोपालप्रसाद काफ्ले छन् । काफ्ले आफ्नो नाम सिफारिस हुन्छ भन्नेमा ढुक्क भएर बसेका भएपनि सिफारिस समितिले उनको सट्टा अधिकारीको नाम सिफारिस गर्न लागेको स्रोतको भनाइ छ । ‘वरिष्ठ डेपुटी गभर्नरकै नाम सिफारिस गर्नुपर्छ भन्ने कुनै वाध्यता छैन,’ स्रोतले भन्यो– यसअघि पनि वरिष्ठ डेपुटी गभर्नर भएपनि रामबाबु पन्तको साटो विजयनाथ भट्टराईको र कृष्णवहादुर मानन्धर वरिष्ठ भएपनि बीरविक्रम रायमाझीको नाम सिफारिस भएका नजिर छन् । मानन्धरले आफू कामु गभर्नर भैसकेको भन्दै रायामाझीको नाम सिफारिस गर्न समितिसँग अनुरोध गरेका थिए । प्राडा तिमल्सेनालाई सिफारिस समितिमा ल्याइनुले तीन जनाको नाम सिफारिस हुदा एक जना एमाले नजिकका ब्यक्ति पनि पर्ने निश्चित जस्तै भएको छ । तिमल्सेना एमाले निकटका अर्थशास्त्री हुन् । डेपुटी गभर्नर अधिकारी पनि एमाले नजिकका मानिन्छन् । काँग्रेसको सरकार भएको, अर्थमन्त्री पनि काँग्रेसकै भएको र काँग्रेस निकटै मानिने भएकाले बरिष्ठ डेपुटी गभर्नर काफ्लेको नाम सिफारिस हुने चर्चा पनि छ । तर अर्थमन्त्री डा. महतले भने सत्ता समिकरण मिलाउनको लागि एक जना एमाले निकटको ब्यक्ति राख्नै पर्ने र अहिले सिफारिसमा मात्रै पर्ने भएकोले एमाले निकट अर्थशास्त्री नआउने भएकोले अधिकारीको नाम सिफासिर गर्नुपर्ने वाध्यता आएको आफू निकटकालाई बताउन लागेको स्रोतको भनाइ छ । सिफारिस समितिलाई दुईटा नाम छनोट गर्न सहज भए पनि तेस्रो नामको विषयमा भने निकै मेहनत पर्ने भएको छ । काँग्रेस उपसभापति रामचन्द्र पौडेलले आफ्ना सम्धी युवराज भुषालको नाम सिफारिस गर्न दबाब दिएका स्रोतको भनाइ छ । तर पौडेलले भुषालको नाममा जोड गरे अर्थमन्त्री डा महतले पूर्वअर्थसचिव रामेश्वर खनालको नाम लिने डा. महत निकट स्रोतको भनाइ छ । यस्तो अवस्थाको कारण भुषालको नाम सिफारिस हुने सम्भावना कम छ । यद्यपि खनाल पनि गभर्नर बन्ने दौडमा भने छैनन् । समितिले प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरन्जीबी नेपाल र आकांक्षी रहेका केहि बैंकर्समध्येवाट एक जनाको नाम सिफारिस गर्ने गरी गृहकार्य थालेको छ । बाणिज्य बैंकको संचालक र उच्च ब्यवस्थापनमा बसेको ब्यक्तिलाई गभर्नर बनाउन नहुने भन्ने आवाज जबरजस्त रुपमा उठेपछि डा. नेपालको नाम सिफासिर हुने स्रोतको दाबी छ । यस्तै पूर्वमन्त्री विद्याधर मल्लिक पनि गभर्नरको दौडमा सहभागी भएको बताइएको छ । तर उनी यसअघि नै मन्त्री बनिसकेकोले गभर्नरको लोभ गर्नु राम्रो नहुने पनि बताइएको छ । पूर्वअर्थ सचिव भैसकेको, राष्ट्रपतिको आर्थिक सल्लाहकार पनि भैसकेको काविल मानिस भएकोले मल्लिकले स्वीकार गरे उनैलाई गभर्नर बनाउनु पर्ने आवाज काँग्रेस भित्र पनि उठ्न लागेको छ । समावेशीताको कुरा उठिरहेको सन्दर्भमा योग्य र मधेशी मुलको भएको कारण मल्लिकले चाहना राखे उनी गभर्नर बन्ने सम्भावना बलियो रहेको केहि काँग्रेसीको भनाइ छ । तर मल्लिक र डा. शर्मा दुबै जनाको नाम भने सिफारिस हुने छैन । यी दुई मध्ये जसको नाम सिफारिस हुन्छ सोही ब्यक्ति गभर्नर बन्ने पक्का जस्तै भएको अर्थमन्त्री निकट स्रोतको भनाइ छ ।

गर्भनर सिफासिर समितिमा अर्थमन्त्रीका सम्धी र साढूदाइ

१२ फागुन । सरकारले नयाँ गभर्नर नियुक्तिको लागि एउटा पारिवारिक सिफारिस समिति गठन गरेको छ । सिफारिस समितिको संयोजकमा अर्थमन्त्री डां रामशरण महत रहेका छन् । अन्य दुई सदस्यमा मन्त्रीका सम्धी र साढुदाज्यू रहेका छन् । समितिका सदस्य पूर्व गभर्नर हिमालयशमसेर राणा अर्थमन्त्रीका सम्धी हुन् । अर्का सदस्या राष्ट्र बैंकका पूर्व सञ्चालक प्रा.डा. पाथिर्वेश्वर तिमिल्सिना डा. महतका साढुदाज्यू भएको स्रोतले बतायो । समितिका तिनै जना घनिष्ट सम्बन्ध रहेका पारिवारिक सदस्य हुन् । विभिन्न क्षेत्रमा सफलता हासिल गरेको ती पात्रबीच महत्वपूर्ण चाडपर्वमा समेत भेटघाट र आर्शिवाद आदानप्रधान हुँदै आएको छ । डा रामशरण महतका छोराले सागरबहादुर पाँडेका छोरी विवाह गरेका छन् । सागर पाँडे नेपाल इन्भेष्टभेन्ट बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडेका आफ्नै दाजु हुन् । दाजु सागर पाँडे माओवादी युद्धको क्रममा मारिएपछि सागरकी छोरीलाई भाई पृथ्वीले हुर्काएका थिए । ती कन्यालाई महतको छोरासँग विवाह गराउने सबै चाँजोपाँजो मिलाउने काम पृथ्वीवहादुरले नै गरेका थिए । पाँडे सिफासिर समितिमा रहेका सदस्य तथा पूर्व गभर्नर हिमालय शमशरे राणाका ज्वाई हुन् । यसरी डा महत र राणाबीच सम्धीको सम्वन्ध जोडिएको छ । त्यस्तै समितिका अर्का सदस्या प्रा.डा पार्थिवेश्वर तिमल्सिना डा रामशरण महतको साढूदाज्यू हुन् । डा महतकी जेठी सासुसँग डा तिमल्सिनाले विवाह गरेका हुन् । पहिलो श्रीमतीको निधत भएपछि डा तिमल्सिनाले दोस्रो विवाह गरेको स्रोतले जानकारी दियो । प्रा.डा. तिमल्सिना एमाले निकट अर्थविद् हुन् । एमाले भएपनि डा महतको पारिवारिक सम्वन्ध भएकाले गभर्नर छनौटको समिति छानिएको स्रोतको दावी छ । डा महतले आफू अनुकुल व्यक्तिलाई गभर्नरमा सिफारिस गर्न बातावरण अनुकूल बनाउँदै यस्तो समिति बनाएको विश्लेषण गरिएको छ । समितिले बाहालवाला डेपुटी गभर्नरसहित तीन जनाको नाम सिफासिर गर्ने छ । वर्तमान गर्भनर डा युवराज खतिवाडाको कार्यकाल आगामी चैत ५ गतेदेखि सकिदैछ । त्यसअघि नै सरकारले नयाँ गभर्नर नियुक्त गर्नुपर्नेछ ।

नविल बैंकमा भत्ता विवाद, राष्ट्र बैंकले फाइल रोक्यो, सेयरधनीले बोनस पाएनन्

१२ फागुन/कुनै पनि कम्पनीले साधारणसभा गरेपछि कति दिनमा लाभांश वितरण गर्नुपर्छ ? नेपाल धितोपत्र बोर्डका निर्देशक तथा प्रवक्ता निरज गिरी भन्छन्–‘विदेशमा साधारणसभाबाट पारित भएको भोलिपल्ट नै सेयरधनीको खातामा पठाईन्छ । नेपालमा कम्पनी ऐनले ढिलोमा ४५ दिन भित्र लाभांश वितरण गरिसक्नु पर्ने भनेको छ ।’ ४५ दिन लामो समय भयो भन्ने गुनासो लगानीकर्ताबाट आईरहेको उनले बताए । तर कम्पनीहरुले ४५ दिनमा पनि लगानीकर्तालाई लाभांश दिदैनन् । नविल बैंक लिमिटेडको ३० औं साधारणसभा गत मंसिर १६ गते सम्पन्न भयो । साधारणसभाले सेयरधनीलाई ४५ प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर दिने निर्णय ग¥यो । साधारणसभा सम्पन्न भएको तीन महिना बित्नै लाग्दा पनि नविल बैंकले सेयरधनीलाई बोनस सेयर वितरण गरेको छैन । सेयर डिपार्टमेन्टका अफिसर प्रकाश बसुकलाका अनुसार राष्ट्र बैंकले नै बैंकको साधारणसभाले गरेको निर्णयलाई स्वीकृति गरेको छैन । स्रोतका अनुसार साधारणसभाले पारित गरेको बैंकका अध्यक्ष र सञ्चालकको बैठक भत्ता वृद्धि सम्बन्धि प्रस्ताव राष्ट्र बैंकले रोकिदिएको छ । साधारणसभाले सञ्चालक समितिको बैठक भत्ता ५० प्रतिशतसम्म वृद्धि गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार प्रति बैठक अध्यक्षले १५ हजार रुपैयाँ र सञ्चालकले १२ हजार रुपैयाँ भक्ता पाउनेछन् । उपसमितिहरुको बैठकमा सहभागि हुँदा पनि सोही अनुसार भत्ता पाउने साधारणसभाले पारित गरेको माइन्यूटमा उल्लेख छ । यसअघि प्रति बैठक अध्यक्षले १० हजार रुपैयाँ र सदस्यहरुले ८ हजार रुपैयाँ भत्ता बुझदै आएका थिए । वृद्धि गरिएको भत्ता कम्पनीको विनियमावलीमा समावेश गरि संशोधन गर्नुपर्छ र त्यसमा राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यलयले अनुमोदन गर्नुपर्छ । कम्पनी सचिव अनिल खनालले बोनस सेयर वितरण गर्ने प्रक्रियामा बैंक लागि रहेको बताए । बोनस सेयर छापेर वितरण गर्न तयारी अवस्थामा राखिएको तर राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यलयबाट लिनुपर्ने स्वीकृति नपाएको बताए । उता राष्ट्र बैंकका प्रवक्ता डा. मीनवहादुर श्रेष्ठले नविल बैंकको कुनै फाइल पेन्डिङमा नभएको बताए । बोनस सेयर वितरण नहुनुमा बैंकको आन्तरिक कारण हुनसक्ने उनले संकेत दिए । तीन महिनाअघि सर्वसहमतिमा चुनिएका सञ्चालक लालमणि जोशीले राजीनामा दिएका छन् । सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्दै सञ्चालक बनेको जोशीले किन राजीनामा गरेका गरेका हुन् ? सार्वजनिक गरिएको छैन । उनको राजीनामा बारे कम्पनी सचिव खनालले केही पनि उल्लेख गर्न चाहेनन् । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली सम्पर्कमा आउन चाहेनन् ।

वागबजारको सडक अस्तव्यस्त, धुलोले सर्वसाधारण विरामी

नारायण पौडेल / काठमाडौं १२ फागुन । राजधानीको व्यापक चहलपहल हुने बागबजार क्षेत्रका सडक तीन साता देखि अस्तब्यस्त छन् । तीन साता अघि खानेपानी तथा ढल निकास बिभागले ढल निकासीका लागि नयाँ संरचना निर्माण गर्न भन्दै भत्काएको सडकले बागबजारवासी तथा सो मार्गबाट आवातजावत गर्ने सर्वसाधारणले सास्ती भोग्नु परेको हो । सडककाबिच भागमा ठुला–ठुला खाल्डा खनेर छाडिएको छ भने ढलका खुल्ला मंगलहरुले बागबजारलाई नै दुर्गन्धित बनाएको छ । त्यसो त समय–समयमा चल्ने सानो हावाले समेत धुलो उडाएर बागबजारको मुख्य सडक आसपासका घर, पसल तथा सर्वसाधारण्लाई धुलाम्मे बनाईरहेको छ । मुख्यतः पुतलीसडक चोकदेखि रत्नपार्कको आकाशेपुलसम्मको क्षेत्रमा खनेर असरल्ल छाडिएका खाल्डाहरुका कारण बाटोको कन्तबिजोग मात्रै भएको छैन् स्थानिय तथा आवातजावत गर्ने सर्वसाधारणहरुको स्वास्थ्यमा समेत असर गरिरहेको छ । आफुलाई काठमाडौं उपत्यका खानेपानी लिमिटेडको कमलादी कार्यालयका कर्मचारी बताउने श्रीकृष्ण नाम गरेका व्यक्ति भन्दैैै थिए–‘तीन साता अघि ढल राख्न भनेर खनेको बाटो अझै बनिसकेको छैन्, केयुकेएलको पाईप राख्न फेरि खन्नु पर्ला अनि सडक विस्तारको नाममा पनि खन्ने होलान् ।’ उनले खुमाउरो शैलीमा बागबजार सडक बर्षैसम्म नबन्ने तर्फ संकेत गरेका थिए । तर पनि सरकारी कर्मचारीका रुपमा उनले भने–‘एक महिनामा बनाईसक्ने भनेर खनेका हुन क्यारे अब दुई तीन महिनामा त बन्छ होला नी ।’ आफुलाई पुर्व वडा प्रतिनिधी बताउने होमप्रसाद खड्गी भने चाँडो काम सम्पन्न हुनु पर्ने धारणा राख्दै थिए । धुलो र ढलको दुर्गन्धले बागबजारमा बसिनसक्नु भएको बताउँदै उनले तत्काल काम सम्पन्न गर्नु पर्ने बताए । ‘धुलो र ढलको गन्धलाई हाम्रो स्वास्थ्यमा निकै असर गरिसक्यो अब सरकारी काम कहिले जाला घामको शैलीले हुँदैन, चाँडो काम सक्नु पर्छ ।’ खड्गीले भने । बागबजारको ढल निर्माण कार्यमा पनि सरकारी ढिलासुस्ति देखिएको आरोप उनले लगाए । उनले बिकास निर्माणका कार्यमा भैरहेका यस्ता ढिला सुस्तिले जनतामा निरासा तथा आक्रोश पैदा हुन सक्ने तर्फ पनि सचेत हुनु पर्ने पनि धारणा राखे । पुतलीसडकबाट बागबजार प्रवेश गर्ने पुतलीसडक चोकमा ‘सडक तथा ढल निर्माण कार्य भैरहेकाले बाटो बन्द छ’ लेखिएको छ । तर त्यसको वेवास्था गर्दै सो क्षेत्रमा मोटरसाईकल, ट्याक्सी तथा निजी कारहरु प्रवेश गरिरहेका देखिन्छ । आवतजावत गर्ने सर्वसाधारणले मुखमा माक्र्स लगाएतका भेटिन्छन् भने कतिपय अवश्थामा हातैले नाक/मुख छोप्नु परेको छ । स्काभेटरले बाटो खन्ने काम पनि गरिरहेको देखिन्छ । काम गरिरहेको स्काभेटरको नजिकैबाट सर्वसाधारण तथा सवारीसाधनहरु आवतजावत गरिरहेका हुन्छन् । निर्माणाधिन भनिएको सडकमा असरल्ल छाडिएका ढल, इँटा, बालुवा र माटोका थुप्रोहरुले सर्वसाधारणलाई हिडडुल गर्न मात्रै मुस्किल बनाईरहेको छैन् जुनसुकै समयमा गम्भिर दुर्घटना हुन सक्ने सम्भावना पनि देखाईरहेको छ ।