विकासन्युज

देव: विकास बैंकले धितोपत्र बोर्डमा दियो ५० प्रतिशत हकप्रदको लागि निवेदन

काठमाडौं, २० असोज । देवः विकास बैंकले २ बराबर १ (५० प्रतिशत) को अनुपातमा हकप्रद सेयर ल्याउन गत सोमबार धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले ४४ करोड ५ लाख ४४ हजार ३९ रूपैयाँको ४४ लाख पाँच हजार चार सय ४०.३९ कित्ता हकप्रद सेयर ल्याउन लागेको हो । हाल बैंकको चुक्ता पुँजी ८८ करोड १० लाख रूपैयाँ रहेको छ । बोनस सेयर बाहेक ५० प्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्ता पुँजी एक अर्ब ३२ करोड रुपैयाँ पुग्नेछ । बिहीबार बैंकको प्रतिकित्ता सेयर ३८१ रुपैयाँमा कारोबार भएको छ । देवः विकास बैंकको हकप्रदमा बिक्री प्रवन्धकको काम एनआइबीएल क्यापिटल लिमिटेडले गरिरहेको छ ।

डोल्पा र हुम्लामा पुग्यो थ्रीजी सेवा, अब ७५ वटै जिल्लामा, दसै र तिहारको अबसरमा प्रति एमबी १२ पैसामा डाटा अफर

काठमाडौं, २० असोज । आधुनिक सूचना र प्रविधिको सेवा अब डोल्पा र हुम्ला जिल्लामा पनि पुगेको छ । हिजो (असोज १९ गते) डोल्पाको दुनै र आज ‘२० गते’ देखि हुम्लाको सिमिकोटमा थ्रीजी सेवा शुरु भएको नेपाल टेलिकमले जनाएको छ । यो सेवा सञ्चालनमा आए पछि अब सबै जिल्लामा थ्रीजी सेवाको पहुँच पुगेको कम्पनीले जनाएको छ । थ्रीजी अहिलेसम्म नेपालमा प्रयोगमा आएको प्रविधि मध्ये अत्याधुनिक हो । टेलिकमले फोरजी सेवा सञ्चालनको लागि तयारी गर्दैछ । ‘नेपाल टेलिकमले देशका ७५ वटै जिल्लामा जीएसएम प्रविधिको थ्रीजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा समेत यो सेवा सञ्चालनमा आए पछि अब सबै जिल्लामा थ्रीजी सेवाको पहुँच पुगेको हो’ टेलिकमद्धारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ । नेपाल टेलिकमले जीएसएम मोवाइलमा थ्रीजी सेवा २०६४ जेठ ३ गतेदेखि सुरु गरेको थियो । सुरुमा काठमाडौ उपत्यकाको चक्रपथ भित्रका सीमित क्षेत्रमा मात्र सञ्चालनमा रहेको थ्रीजी सेवा हाल विस्तार भएर सबै जिल्लामा पुगेको हो । थ्रीजी सेवा मार्पmत उपभोक्ताहरुलाई भ्वाइस सेवाको अतिरिक्त उच्च गतिको डाटा डाउनलोड तथा अपलोड गर्ने सुविधा उपलब्ध छ । त्यसै गरी कम्पनीले हालै दशैं, तिहार तथा छठको उपलक्ष्यमा जीएसएम तथा सीडीएमए दुवैमा सबैभन्दा सस्तो मूल्यमा डाटा प्याकेज उपलब्ध गराइरहेको छ । कम्पनीले हाल प्रति एमबी ७ पैसा सम्ममा नाइट डाटा प्याकेज उपलब्ध गराइरहेको छ । नाइट डाटा अफर राती १० बजे देखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिन्छ । यो अफर अन्तर्गत ४० रुपैयाँमा ५०० एमबी र ८५ रुपैयाँमा १२०० एमबी डाटा प्रयोग गर्न सकिन्छ । नाइट डाटा अफर आगामी पुस १५ गते सम्म उपलब्ध गराइने छ । नाइट डाटा अफर लिनका लागि जीएसएम वा सीडीएमए प्रिपेडका लागि स्पेशल५००एमबी वा स्पेशल१२००एमबी लेखेर १४१५ मा र पोष्टपेडका लागि १४०० मा पठाउनु कम्पनीले जनाएको छ । त्यसैगरी कम्पनीले उपलब्ध गराएको डाटा अफर अन्तर्गत १०० एमबीको डाटा रु. ५०।– मा र २५० एमबीको डाटा रु. १००।– मा उपलब्ध गराइएको छ । सो अवधिमा डाटा प्रयोगकर्ताले निःशुल्क रुपमा क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन पनि सक्छन् । यो अफर आगामी असोज २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म उपलब्ध गराइने कम्पनीका प्रबक्ता प्रतिभा बैद्यले बताईन् ।

नेशनल बैंकिङ्गको ५ प्रतिशत लाभांश पास

काठमाडौं, २० असोज । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटको सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने निर्णय पास भएको छ । बिहीवार सम्पन्न बैंकको आठौं वार्षिक साधारणसभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरे बमोजिमको लाभांश पारित गरेको छ । उक्त सभाले आथिर्क वर्ष २०७२/७३ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७२/७३ को वासलात, सोही अवधिको नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरण छलफल गरी पारित गरेको छ । साधारण सभामा संस्थाका शेयरधनीहरुले संचालक समितिको अध्यक्ष अजय श्रेष्ठले आ.व.२०७२/७३ मा सञ्चालन गरेको नेपालका विद्यमान बैंकिङ्ग कर्मचारीहरुलाई लक्षित गरी बैंकिङ् सर्टिफिकेट कोर्स अन्तर्गत लेभल वानको कोर्ष जुनियर एसोसिएटस् अफ नेश्नल बैंकिङ् ईन्ष्टिच्युटको सञ्चालन पश्चात आगामी आर्थिक वर्षमा लेभल टु को कोर्ष चाटर्ड एसोसिएटस् अफ नेश्नल बैंकिङ् ईन्ष्टिच्युट थालनी गरिने जानकारी गराएका छन् ।

बजारमा दोहोरो अंकको सुधार, सबै समूह उक्लिए, ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि

काठमाडौं, २० असोज । यो साताको शुरुदेखि नै लगातार बढेको सेयर बजार आज अन्तिम दिन पनि दोहोरो अंकले बढेको छ । लगातार बढिरहेको छ । बिहीबार नेप्से परिसूचक १३ दशमलब २८ अंकले बढेर १८१९ दशमलब ८८ अंकमा पुगेको छ । यो साताभरिकै उच्च अंक हो । सो दिन १३० कम्पनीको १५ लाख कित्ता सेयर एक अर्ब रुपैयाँमा किनबेच भएको छ । बुधबारको तुलनामा आज कारोबार रकममा पनि सुधार भएको छ । बिहीबार कारोबार भएका ७ वटै समूह सूचकहरु उकालो लागेका छन् । सबैभन्दा बढी होटल समूह १०४ अंकले उक्लिएको छ । त्यस्तै बीमा, हाइड्रोपावर, विकास बैंक क्रमशः ६४, २५ र २३ अंकले उकालो लागेका छन् । बाँकी अन्य समूह भने सामान्य अंकले वृद्धि भएका छन् । सो दिन फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै अन्य ४ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । ज्योति विकास बैंक, कुमारी बैंक, कसमस बैंक र जेबिल्स फाइनान्सका लागानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्डका १ का लगानीकर्ताले करिब साढे ३ प्रतिशत गुमाएका छन् । बजारमा बैंक अफ काठमाडौं लुम्बिनीको १३ करोड ९३ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, एभरेष्ट बैंक र शिखर इन्स्योरेन्स कम्पनीको ६ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ ।

सातवटा परियोजना सञ्चालनका लागि जापानको ६१ करोड रुपैयाँ सहयोग

काठमाडौं, १९ असोज । जापान सरकारले विभिन्न सातवटा परियोजना सञ्चालनका लागि नेपाल सरकारलाई ६१ करोड रुपैयाँ सहयोग गरेको छ । नेपालस्थित जापानी दूतावासका अनुसार जापानले हनुमानढोकास्थित पञ्चमुखी हनुमान मन्दिर र पाटनको देगु तलेजु मन्दिरको जीर्णोद्वार गर्न ३३ करोड रुपैयाँ र सिचाइँ प्रणाली सुधार कार्यक्रममा १५ करोड रुपैयाँ नगद सहयोग गर्नेछ । त्यस्तै, जापानले गोदामघर निर्माण गर्न तीन करोड रुपैयाँ, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकको पाँचखालमा प्लान्ट निर्माण गर्न पाँच करोड रुपैयाँ, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुई करोड रुपैयाँ तथा स्वास्थ्य क्षेत्र सुधार कार्यक्रममा तीन करोड रुपैयाँ प्रदान गर्नेछ । उक्त रकम जापानले प्रदान गर्ने खाद्य सहयोग कार्यक्रममार्फत उपलब्ध गराउने बताइएको छ । रासस

मेची राजमार्गको दमक–रबि सडक निर्माणका लागि थप बजेटको माग

काठमाडौं, २० असोज । मेची राजमार्गको विकल्पका रुपमा अगाडि बढाइएको दमक–चिसोपानी–रबि सडक (फाल्गुनन्द मार्ग) निर्माणका लागि थप बजेट उपलब्ध गराइदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरिएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलले सडक निर्माणका क्रममा पक्की ढल, ब्रेष्ट वाल, ग्राभेलिङ, रिटेनिङ वाललगायत निर्माणका लागि ५० करोड रुपैयाँ उपलब्ध गराउन माग गरेको हो । दमक–चिसोपानी–रबि सडक (फाल्गुनन्द माग) निमार्ण उपभोक्ता समितिका अध्यक्ष रेवतीराज पुरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सुरक्षाका कारण निर्माण कार्यलाई अगाडि बढाउन कठिनाइ भएको भन्दै तत्काल अस्थायी प्रहरी चौकी स्थापना गर्न पनि माग गरेको छ । विकास निर्माणका कार्यलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयसँग छलफल गरेर अगाडि बढ्ने बताए। प्रनिनिधिमण्डलमा सहभागी सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले बहुआयामिक विशेषता बोकेको सडकलाई अगाडि बढाउन सरकारको सहयोग आवश्यक भएको बताए । त्यसैगरी, नेकपा (एमाले) नेता तथा पूर्वमन्त्री अग्नि खरेलले पूर्वको विकास र त्यहाँको आर्थिक उन्नतिका लागि महत्वपूर्ण मानिएको सडक निर्माणका लागि सबैको एकमत भएकाले त्यसमा सहयोग आवश्यक भएको बताए । सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष पुरीले २५ वर्ष बितिसक्दा पनि सडक निर्माण कार्य सम्पन्न नभएको भन्दै यस क्षेत्रका १२ लाखभन्दा बढी जनसङ्ख्यालाई प्रत्यक्ष सुबिधा हुने सडक सम्पन्न गर्न ध्यान दिन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । उनका अनुसार कूल ४० किलोमिटर लम्बाइको उक्त सडक निर्माणका लागि एक अर्ब ५० करोड रुपैयाँ आवश्यक पर्छ । त्यसका लागि यसै आर्थिक वर्षका लागि प्रधानमन्त्रीसँग रकम मागिएको हो । रासस

३९ करोड विनियोजनमा भारत र चीन जोड्ने लोकमार्गको निर्माण तीव्र गतिमा

पर्वत, २० असोज । करिब एक दशकदेखि अलपत्र बनेको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको निर्माण तीव्ररुपमा अघि बढेको छ । राष्ट्रिय गौरवका आयोजनाको रुपमा रहेको भारत र चीन जोड्ने कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा ट्र्याक खुलाउने तथा स्तरवृद्धिको काम तीव्र पारिएको छ । लोकमार्गअन्तर्गत सदरमुकाम कुश्मादेखि स्याङजाको मिर्मी सम्मको करिब ६८ किलोमिटर सडक खण्डमा ट्र्याक खुलाउने तथा स्तरवृद्धिको काम तीव्र पारिएको हो । उक्त सडकखण्डमा ट्र्याक खोल्ने, सडक चौडा बनाउने, तारजाली हाल्ने, कल्भर्ट बनाउने, नाली काट्नेलगायतको कामले तीव्रता पाएको छ । उक्त खण्डको स्तरवृद्धि गर्न ३९ करोड रुपैयाँ विनियोजन भइसकेको छ । सो सडकखण्डको काम २०७४ असारभित्र सम्पन्न गर्नेगरी दुई ओटा निर्माण कम्पनीमार्फत काम भइरहेका छन् । अहिले मिर्मी–रानीपानी खण्डमा काष्ठमान्डप निर्माण कम्पनी र रानीपानी–कुश्मा खण्डमा सूर्य कन्स्ट्रक्सन प्रालिले काम गरिरहेका छन् । सडकको स्तर १० मिटर फराकिलो बनाइनुका साथै मोड तथा ग्रेड सुधार र ह्युम पाइप, कल्भर्ट निर्माण गर्नु मुख्य रहेको सूर्य कन्स्ट्रक्सन प्रालिका सञ्चालक आरके थापाले जानकारी दिए। कालीगण्डकी लोकमार्ग दक्षिणमा रहेको पूर्वपश्चिम राजमार्गबाट प्रारम्भ भई तीन अञ्चल नौ जिल्ला हुँदै उत्तरी छिमेकी राष्ट्र चीनको कोरला नाकासम्म जोडिएकाले यस क्षेत्रको विकासका लागि मेरुदण्डका रुपमा लिइएको छ । लोकमार्गको निर्माणपश्चात् यस क्षेत्रको गरिबी निवारणमा ठूलो सहयोग पुग्ने पर्वत क्षेत्र नं २ का सांसद विकास लम्सालले बताए । रासस

पोखरामा १६ हजार च्याङ्ग्रा भित्रिए, प्रति च्याङ्ग्राको मूल्य २५ हजार रुपैयाँ

पोखरा, २० असोज । यस वर्षको दसैँका लागि पोखरामा १६ हजार च्याङ्ग्रा भित्रिएका छन् । विशेष गरी मुस्ताङबाट त्यहाँका स्थानीय कृषकका साथै अन्य ठाउँबाट गएका व्यवसायीले दशैंका लागि भेडा तथा च्याङ्ग्रा खरिद गरी पोखरामा ल्याएर बिक्री गर्ने गरेका छन् । दसैँका लागि पोखराको टुँडिखेलमा ल्याइने च्याङ्ग्रा यतिखेर हेमजा, सुइखेत, याम्दीलगायत स्थानमा राखिएकामा यही फूलपातीसम्म पोखराको टुँडिखेलमा ल्याइसक्ने व्यवसायीको तयारी छ। जिल्ला पशुसेवा कार्यालयका पशु विकास अधिकृत महेन्द्र मल्लका अनुसार व्यवसायीले पोखरामा बिक्रीका लागि मुस्ताङबाट २१ हजार १० वटा च्याङ्ग्रा हिँडाएको भए पनि हालसम्म १६ हजार च्याङ्ग्रा पोखरा र आसपासका क्षेत्रमा भित्रिसकेका छन् । कतिपय व्यापारीले बाटोमा नै च्याङ्ग्रा बिक्री गरिसकेका छन् । जोमसोमबाट २५५ वटा च्याङ्ग्रा लिएर पोखरा गएका व्यवसायी युवराज नेपालका अनुसार उनले २५ हजार रुपैयाँका दरले ४३ वटा च्याङ्ग्रा बेचेका छन् । व्यवसायी नेपाल जस्तै मुस्ताङको घिलिङबाट २०० च्याङ्ग्रा ल्याएका मानबहादुर तामाङ पोखरा ल्याएसँगै दिन प्रतिदिन च्याङ्ग्रा लिन आउने सर्वसाधारणको चाप बढ्दै गएको बताउछन् । “मैले ल्याएको बथानमा २२ हजारदेखि २५ हजार रुपैयाँसम्मका च्याङ्ग्रा छन्,”–उनले भने,–“च्याङ्ग्रा खरिद गरी व्यापार गर्ने कुरामा जोखिम मोल्नै पर्छ, हिमाली भेगको च्याङ्ग्रा पोखरा ल्याएर बेच्ने कुरा त्यति सजिलो छैन ।” विगत सात वर्षदेखि मुस्ताङबाट च्याङ्ग्रा ल्याएर पोखरामा व्यापार गर्दै आएका कास्की ल्वाङघलेलका सोम तामाङले यस वर्ष उपल्लो मुस्ताङको लोमन्थाङबाट १०० वटा च्याङ्ग्रा ल्याएका छन् । च्याङ्ग्राको व्यापारबाट केही फाइदा हुने भएपनि यो जोखिमको व्यापार भएको उनको भनाइ छ । “चिसो ठाउँको च्याङ्ग्रा गर्मी ठाउँमा ल्याउनुपर्ने भएएकाले कति त मर्ने पनि हुन्छ,” उनले भने, “हिँडाएर ल्याउनुपर्ने भएकाले कति त बाटैमा हराउने सम्भावना पनि हुन्छ ।” च्याङ्ग्रा ल्याउने क्रममा पनि व्यापारीहरूले बाटोमा धेरै समस्या झेल्दै आएको अर्का व्यवसायी ज्योतीप्रसाद पुनले बताए । कार्यालयको तथ्याङ्कअनुसार पोखरामा मात्रै दैनिकरुपमा सात हजार ५०० किलोग्राम खसिको मासु खपत हुन्छ भने ३५ हजार किलोग्राम कुखुराको मासु खपत हुने गरेको छ । मासिक पाँच हजारको सङ्ख्यामा पोखरामा खसी भित्रने गरेको बताउँदै मल्लले दसैँका समयमा हिमाली भेगबाट आउने भेडा तथा च्याङ्ग्राका कारण एक हजारदेखि एक हजार २०० सम्म कम भित्रिने गरेको बताए । पछिल्ला वर्षमा कास्की जिल्ला विस्तारै कुखुरामा आत्मनिर्भर हुँदै गएको कार्यालयले जनाएको छ । जिल्लाका भरतपोखरीको चवादी, कुर्लिङका साथै निर्मलपोखरी, माझठाना, थुमाको डाँडालगायत स्थानमा पछिल्ला वर्षमा व्यावसायिक रुपमा कुखुरापालनका साथै बाख्रापालन गर्ने क्रम सुरु भएको स्थानीय कृषक बताउँछन् । रासस