विकासन्युज

अरुण काबेलीको ३० कित्ता आइपिओ कात्तिक ९ देखि

काठमाडौं, २१ असोज । अरुण काबेली पावरले सर्वसाधारणको लागि ३० लाख कित्ता सेयर निस्कासन गर्ने भएको छ । कम्पनीले शुक्रबार सार्वजनिक सुचना प्रकाशित गरेर ९ कात्तिकदेखि साधारण सेयर निस्कासन खुल्ला गर्ने जानकारी दिएको छ । सो पावरको इस्यू म्यानेजर सिद्धार्थ क्यापिटल हो । कम्पनीले सर्बसाधारणको लागि छुट्टयाएको सेयर निस्कासन बन्द छिटोमा १२ कात्तिक र ढिलोमा २३ कात्तिकमा हुनेछ । सो कम्पनीको सेयर कम्तिमा ५० कित्ता र बढीमा १५ हजार कित्ताको लागि निवेदन दिन पाइनेछ । कम्पनीमा ७० प्रतिशत प्रमोटर सेयर लगानी छ भने आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि १० प्रतिशत सेयर यसअघि नै निस्कासन गरिसकिएको छ । बाँकी रहेको २० प्रतिशत सेयर सर्वसाधारणलाई दिन लागिएको हो । सो पावर कम्पनीको अधिकृत पूजी १ अर्ब ५० करोड रुपैयाँ छ । आयोजना स्थल पाँचथर र ताप्लेजुङ जिल्लाको थर्पु, नागी, थुम्बेदिन र साब्लाङ गाविसमा पर्छ । सो आयोजनावाट बार्षिक १४ करोड १७ लाख ४६ हजार ४ सय ७० किलोवाट घण्ट विद्युत उत्पादन हुनेछ । यसरी उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणलाई बर्षायाममा प्रतिकिलोवाट घण्टा ४ रुपैयाँ ८० पैसा र हिउदाका दिनहरुमा प्रतिकिलोवाट घण्टा ८ रुपैयाँ ८० पैसाको दरले विक्री गर्ने सम्झौता प्राधिकरणसँग भइसकेको छ । यस्तो मूल्य आर्थिक बर्ष २०७३/७४ लाई आधार बर्ष मानी त्यसपछिका प्रत्येक आर्थिक बर्षमा बार्षिक ३ प्रतिशतका दरले ८ पटक मूल्य बढाउने सम्झौता प्राधिकरण र आयोजनाको विचमा भएको छ । सो आयाजना बनाउनको लागि ४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । २५ मेगावाट क्षमताको सो आयोजना प्रतिमेगावाट १६ करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ । कम्पनीमा हाल १ हजार ९ सय १३ जना प्रमोटर र १४ हजार ६ सय ७३ जना आयोजना प्रभावित क्षेत्रका सेयरधनी छन् । कम्पनीलाई इक्रा नेपालले ४ प्लस रेटिङ दिएको छ । सो कम्पनीको साधारण सेयरको लागि आवेदन दिन सिद्धार्थ क्यापिटलको कार्यालय, सिद्धार्थ बैंकका शाखा कार्यालयहरु र अरुण काबेली पावर लिमिटेडको कार्यालयमा सम्पर्क गर्नुपर्ने कम्पनीले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

सिद्धार्थ बैंकको ७५ लाख कित्ता हकप्रद सेयर निष्काशन, ११०० रुपैयाँको सेयर १०० मा किन्न पाइने

काठमाडौं, २१ असोज । सिद्धार्थ बैंकले सर्बसाधारण सेयरधनीको लागि ७५ लाख ५५ हजार १९३ कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । उक्त सेयरको लागि कात्तिक ११ गतेदेखि मंसिर १५ गतेसम्म आवेदन गर्न सकिने बैंकले जनाएको छ । बैंकले ४ बराबर १ को अनुपानका हकप्रद सेयर जारी गरेको हो । सिद्धार्थ बैंकको १०० कित्ता सेयर हुनेले २५ कित्ता हकप्रद सेयरको लागि आवेदन गर्न सक्छन् । बैंकले हकप्रद सेयरमा प्रिमियम नराखी प्रतिकित्ता १०० रुपैयाँमा नै निष्काशन गरेको छ । हाल यो बैंकको सेयर प्रतिकित्ता ११ सय रुपैयाँ भन्दा बढीमा कारोबार भईरहेको छ । हाल बैंकले सेयर पुँजी ३ अर्ब २ करोड २० लाख रुपैयाँ रहेकोमा हकप्रद सेयर जारी पछि सेयर पुँजी ३ अर्ब ७७ करोड ९७ लाख रुपैयाँ हुने बैंकले जनाएको छ ।

सर्वसाधारणलाई सस्तो पसल खोज्नुपर्ने बाध्यता, महँगीले सर्वसाधारणलाई लागि दसैँ दशा समान

काठमाडौं २१, असोज । अकासिँदो महँगीले गर्दा सर्वसाधारणलाई दसैँ दशा बन्ने गरेको छ । जसोतसो परम्परा धान्नैपर्ने भएकाले सस्तो पसल खोज्नुपर्ने बाध्यता उनीहरूमा छ । सर्वसाधारणले सस्तोमा किनमेल गर्न फुटपाथ बजारलाई रोजेका छन् । चर्को मोलमोलाई गरेर सस्तोमा किनमेल गर्न चाहनेका लागि यस्तो बजार उपयुक्त हुन्छ । आफूले प्रायजसो दसैँमा फुटपाथमै कपडा खरिद गर्ने गरेको शर्मिला तामाङले बताउनुहुन्छ । गाउँबाट परिवारका लािग दसैँको कपडा खरिद गर्न आउनुभएकी तामाड भन्नुहुन्छ, ठूला पसलमा यही सामानको मूल्य बढी हुन्छ । त्यसैले म त सधै फुटपाथमा नै खरिद गर्छु । यस्तै रञ्जना गल्लीमा बच्चाको लुगा छानिरहनुभएकी केसाङ क्षेत्रीले ठूला पसलमा भाडा ज्यालासमेत जोडेर सामानको मूल्य तोकिने भएकाले सामान महँगो हुने अनुमान गर्नुभयो । ग्राहक मात्र होइन व्यापारीहरू पनि फुटपाथ बजार सर्वसाधारणका लागि उपयुक्त हुने बताउछन् । असनस्थित लुगा व्यापारी सर्मन नुवाकोटीले ठूला पसलले उही सामानको बढी मूल्य लिने दाबी गर्नुहुन्छ । केही ठूला पसलेले हामीले किनेकै ठाउँबाट सामान ल्याउँछन् तर हामीले भन्दा बढी मूल्यमा बेच्ने गरेको पाइन्छ । उहाँले फुटपाथमा सामान किन्दा मोलमोलाई गर्न डराउन नहुने सुझाव दिनुहुन्छ । यसैगरी आम मानिस सस्तोमा खाद्यान्न आपूर्ति गर्न सरकारले राजधानीसहित देशका विभिन्न क्षेत्रमा सस्तो बजार सञ्चालमा ल्याएको छ । यस्ता बजारमा मानिसको भीड लागेको छ । टेकुस्थित सस्तो बजारमा खाद्यान्न खरिद गर्नुआउनुभएकी कविता श्रेष्ठ भन्नुहुन्छ, पाँच दश रुपियाँले पनि धेरै फरक पर्छ अहिले मौकामा अलि धेरै सामान खरिद गर्न आएको हो । उहाँले नबिग्रने तथा नकुहिने खाद्यान्न सामान बढी खरिद गर्ने जानकारी दिनुभयो । उता सामाखुसी टाउन प्लानिङमा रहेको एक पसलमा एउटा सर्ट, टिसर्ट, बच्चाको लुगा तथा विभिन्न घरमा सजाउने सामान १० रुपियाँमा खरिद गर्न भीड लाग्ने गरेको छ । आर्थिक अवस्था कमजोर भएका व्यक्तिले पनि लुगाफाटो फेरेर लगाउन सकोस् तथा कुनै पनि सामानको पुनःप्रयोगले वातावरणलाई राम्रो हुन्छ भन्ने उद्देश्यका साथ सुखावती स्टोर सञ्चालनमा आएको सो पसलमा पनि मानिसको भीड निकै थियो । उक्त स्टोरका सञ्चालक चिजमान गुरुङ भन्नुहुन्छ, दसैँ सुरु भएदेखि ग्राहकहरूको बाक्लै उपस्थिति छ । गोरखापत्र दैनिकबाट ।

एक एनआरएनले ३ जना पर्यटक पठाउने प्रतिवद्धता, सन् २०१७ सम्ममा १६ लाख पर्यटक नेपाल पठाउने अभियान सुरु

काठमाडौं २१, असोज । सन् २०१७ को अन्त्यसम्मका नेपालमा १६ लाख पर्यटक पठाउने र यसका लागि नेपाल भ्रमणको अभियान सुरु गर्ने गैरआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्टले बताए । नेपालमा विदेशी पर्यटक बढाउन संघले आफ्ना सदस्यमार्फत हरेक देशका एनआरएन एक जनाले ३ जना विदेशी पर्यटक नेपाल पठाउने प्रतिवद्धता पनि भट्टले व्यक्त गरे ।   कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले हरेक वर्ष नेपालमा विदेशी पर्यटकको घुम्ने संस्कृति बढ्दै गएको बताए । उनका अनुसार नेपालमा धेरै मात्रामा फूर्सदको समयमा घुम्ने मात्र नभएर मेडिकल, मनोरञ्जन, धार्मिकसहितका पर्यटकको पनि आकर्षण बढ्न थालेको पनि उनको बुझाई छ । संघले पर्यटन प्रवद्र्धनमा एनआरएनएको भूमिका प्रभावकारी बनाउन चाहेको जानकारी दिएको छ । एनआरएनले ६ महिना अगाडिदेखि बोर्डसँगको सहकार्यमा अतिथी देवो भवः नामक पर्यटन प्रवद्र्धनको अभियान संचालन गरिरहेको छ । यही अभियानलाई थप प्रभावकारी बनाउन संघले आफ्नो सक्रियाता बढाउन चाहेको बताएको छ । अभियानका प्रमुख लिडर डा. पुष्प अधिकारीले छिमेकी मुलुक भारत र चीनको तुलनामा नेपालमा साह्रै न्यून पर्यटक आगमन हुने गरेको बताए । उनका अनुसार विश्वर पर्यटनमा अगुवाई गरेको देशको बीचमा रहेको नेपालको उपस्थिति बलियो बनाउनुपर्ने तर्क पेश गरे । डेमार्कका लागि पर्यटन प्रवद्र्धन दूत सोमनाथ सापकोटा र रसियाका लागि पर्यटन प्रवद्र्धन दूत सपिला राजभण्डारीले आफ्नाफ्नो प्रस्तुतीकरण समेत दिएका छन् । उनीहरुले बोर्डले गाइडलाइन दिनुपर्ने, अन्तर्राष्ट्रिय पहुँचका लागि हवाई मार्गको विस्तार हुनुपर्ने, प्रवद्र्धनात्मक अभियानका सामग्री उपलव्ध हुनुपर्ने सहितको माग पनि पर्यटन प्रवद्र्धन दूतको छ । बोर्डले सन् २०१८ सम्मका लागि २८ जना यस्ता दूतको नवीकरण गरेको छ । कम्तिमा दुई वर्षका लागि दिने यस्तो दूत नवीकरण नभएका र प्रक्रियामा रहेको संख्या तथा बोर्डले दूत नियुक्त गरेका गरी करीब चार दर्जन रहेका छन । पर्यटन बोर्डले एउटै देशमा पाँच जनासम्म यस्तो पर्यटन दूत नियुक्त गरेको छ । बोर्डले विभिन्न देशमा गरी सन् २०१८ सम्मका लागि नवीकरण भएका यस्ता पर्यटन दूतको संख्या हाल २८ जना रहेको तथ्यांक उपलव्ध गराएको छ । बोर्डले धेरैवटा देशमा एक जना मात्रै नियुक्त गरेको भएपनि संयुक्त राज्य अमेरिकामा भने पाँच जना पर्यटन सद्भाव दूत नियुक्त गरेको छ ।

दसैँमा घर हिँडेका यात्रु जाममा, समस्या हुनसक्ने १६४ स्थान पहिचान, समयमै गन्तव्यमा पुग्नै सास्ती

काठमाडौं २१, असोज । सडक विभागले बाढी–पहिरोको समस्या हुनसक्ने एक सय ६४ स्थान पहिचान गरेको छ । ती ठाउँहरूमा बाटो खुलाउन नयाँ–पुराना गरी तीन सय ५० हेभी इक्विपमेन्ट, एक हजार आठ सय सडक कामदार र चार सय निरीक्षकलाई तयारी अवस्थामा राखिएको विभागले जनाएको छ । वर्षा लागेसँगै यो तयारी थालिएको र यथावत् राखिएको सडक विभागका सहप्रवक्ता लक्ष्मीदत्त भट्टले बताए । अवश्यक परेमा सुरक्षाकर्मीको पनि सहयोग लिइने उनले बताए । उपत्यकाबाट दसैँ मनाउन घर हिँडेका यात्रुलाई बाटोमा घन्टौँ जाममा बस्नुपर्ने बाध्यता छ । राजमार्गका केही खण्डमा पहिरो र सवारीको अत्यधिक चापले पनि समस्या छ । पृथ्वी राजमार्गको आँबुखैरेनीमा बुधबार झरेको सुक्खा पहिरोले लामो दूरीका बस समयमै गन्तव्यमा पुग्न नसकेको सडक विभागका सहप्रवक्ता लक्ष्मीदत्त भट्टले बताए । उपत्यकाबाट बाहिरिने अरनिको र बिपी राजमार्गमा भने कुनै समस्या नरहेको भट्टले बताए । नयाँ पत्रिका दैनिकबाट ।

यात्रुलाई सधैं गुणस्तरहीन खाना, राजमार्गको होटलको गुणस्तर नै कमजोर

काठमाडौं २१, असोज । राजमार्गका होटल तथा रेस्टुराँ व्यवसायीले यात्रुलार्इ महँगोमा गुणस्तरहीन खाना खुवाउँछन् भने त्यही यात्रुवाहक बसका चालकलाई निः शुल्क स्वादिष्ट भोजन । खानाको फाइल तस्बिर दशैंतिहारजस्ता चाडबाडमा मात्र होइन, राजमार्गका अधिकांश होटलमा सधैजसो यही क्रम चल्दै आएको छ । राजमार्गका होटल तथा रेस्टुरा व्यवसायीले बढी मूल्य असुल गरेर पनि यात्रुलाई गुणस्तरयुक्त खाना दिँदैनन् । तिनै होटल तथा रेस्टुराले चालकका लागि भने अलग्गै कोठमामा विशेष भान्साको व्यवस्था गर्छन् । यात्रुबहाक बसका चालकसहित स्टाफका लागि खसी र कुखुराको सुपसहित फ्राइड मासु वा सेकुवा , पापड, सलाद कम्तीमा दुई थरी हरियो तरकारी,बासना आउने चामलका खानासहित कोल्ड ड्रिंक्स पनि व्यवस्था हुन्छ । चालकसहित तीनचारजनालाई यस्तो विशेष भान्सबाहेक यात्रु ल्याइदिएबापत दैनिक हजार रुपैयाँको आकर्षक भत्ता पनि होटल व्यवसायीले दिने चालकहरु बताउँछन् । अन्नपूर्ण पोष्टबाट ।

४२ मेगावाट बिजुली त्यत्तिकै खेर, वैकल्पिक उर्जा प्रवर्धन केन्द्र तथा सामुदायले अनुदानमा निर्माण गरेका आयोजनाको विजुली खेर

काठमाडौं २१, असोज । राज्यको ९० प्रतिशतभन्दा बढी अनुदानमा बनेको लघु तथा साना जलविद्युत आयोजनाबाट उत्पादित ४२ मेगावाट बिजुली उपयोग हुन नसकी खेर गइरहेको छ । वैकल्पिक उर्जा प्रवर्धन केन्द्र तथा सामुदायले निर्माण गरेका यस्ता आयोजनाबाट उत्पादित बिजुली साँझ केही घन्टा बत्ती बाल्ने प्रयोजनमा मात्र सीमित भएको छ । केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालका अनुसार स्वतन्त्र रुपमा सञ्चालित साना तथा लघु जलविद्युत आयोजनाबाट उतपादित उक्त परिमाणको बिजुली राष्ट्रिय प्रसारण लाइनमा आवद्ध हुन नसक्दा उपयोगहीन भएको हो । राष्ट्रिय प्रसारण लायन विस्तार भएका विद्युत प्राधिकरणको सञ्जालमा भने बिजुली अपुग भई हाल दैनिक आठ घण्टा लोडसेडिङ भइरहेको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट।

भत्किएकै घरको भग्नवशेषमा जमरा, भग्नावषेह हटाउन नक्सदा दुई वर्षको दशैं भत्किएकै घरमा

काठमाडौं २१, असोज । गत वैशाखको भुकम्पले भक्तपुर ७–गोल्मढीकी पुर्णलक्ष्मी मानन्धरको तीनतले घर भत्कायो । उनको ४ जनाको परिवार डेढ वर्षयता भक्तपुर ५–डेकोचास्थित अस्थायी शिविरमा बसिरहेका छन् । गोल्मढी गल्लीबाट भुकम्पले भत्काएको घरको भग्नावशेष समेत हटाउन नसकेका पूर्णलक्ष्मीको परिवारले बढादसैंको जमरा भने सोही भग्नवशेषमा राखेको छ । ‘दसैको मुख्य आकर्षण जमारा नै हो’ उनले भनिन्, ‘जमरालाई कुलदेवताका रुपमा लिइन्छ, कुलदेवतालाई मुलघरबाहेक अन्त राख्नु हुदैन भन्ने मान्यताअनुसार भत्किएकै घरमा जमारा राखेका छौं ।’ टीका लगाउने, भोज खानेसमेत भत्किएकै घरको एक छेउमा गर्ने तयारी गरेको उनले बताइन् । अघिल्लो वर्षको दसैं पनि उनले सोही भग्नावशेषमै मनाएकी थिइन् । गोल्मढीकी रविना मानन्धरको पनि अवस्था उस्तै छ । भूकम्पपछि विवाह गरी टहरामा भित्रिएकी रविनाले दसैंको जमरा भने भत्किएकै घरमा राखेको बताइन । कान्तिपुर दैनिकबाट ।