ग्रिड पुगेपछि लघुविधुत् बन्द, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँग सरकारी समन्वयको अभाव
काठमाडौं २९, असोज । विधुत् प्रधिकरणले विधुत्तीकरणका नाममा वातावरण मन्त्रालयअन्तर्गतको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँग समन्वय नगरी राष्ट्रिय प्रसारण लाइन विस्तार गरेपछि ती क्षेत्रमा सञ्चालित लघु जलविद्युत आयोजना धमाधम बन्द हुन थालेका छन् । केन्द्रका लघु जलविद्युत् विज्ञ एवं कार्यक्रम संयोजक जगदीश कोजूका अनसार करिब तीन मेगावटबराबरका लघु जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइन(ग्रिड)पुगेपछि बन्द भएका वा सञ्चालनमा आउन छाडेका समाचार शनिबारको अन्नपूर्ण पोस्टमा छापिएको छ । राष्ट्रिय प्रसारण लाइनको बिजुलीको गुणस्तर उच्च हुने भएकाले ग्रिड पुगेपछि स्थानीय बासिन्दा लघु जलविद्युतका लाइन लिन मान्दैनन्’,कोजुले भने,‘लघु जलविद्युतको बिजुली ग्रिडमा जोड्न सकिन्छ तर त्यसो पनि हुन सकिरहेको छैन ।’
बंगलादेशलाई २३ अर्ब डलर, तीन दशकपछि चिनियाँ राष्ट्रपतिको वंगलादेश भ्रमण
काठमाडौं २९, असोज । ब्रिक्स सम्मेलनमा भाग लिनुअभि चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार बंगलादेशको भ्रमण गरेका छन् । भ्रमणका क्रममा चिनले बंगलादेशलाई २३ अर्ब अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने सम्झौतासमेत भएको छ । राष्ट्रपति सीको उपस्थितिमा दुई देशबीचक २६ बुँदे सम्झौता तथा समझदारीमा हस्ताक्षर भएको छ । सम्मेलनमा भाग लिन भारतको गोवा जाने क्रममा उनले छिमेकी बंगलादेशको औपचारिक भ्रमण गरेका हुन् । चिनियाँ राष्ट्रपतिको बंगलादेश भ्रमण तीन दशकपछि भएको हो । समाचार स्रोत: कान्तिपुर दैनिकबाट ।
गुहेश्वरी मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सले ५ करोड ५६ लाख रुपैयाँ लाभांश दिने
काठमाडौं, २८ असोज । गुहेश्वरी मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सले ५ करोड ५६ लाख रुपैयाँ लाभांश दिने भएको छ । बैंकले ५ करोड २८ लाख ७३ हजार रुपैयाँ बोनस र कर प्रयोजनको लागि २७ लाख ८२ हजार ७९४ रुपैयाँ नगद लाभांश गरि साे मात्रामा लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय असोज २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंक तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो लाभांश पाउने छन् ।
सुनको कारोबार बढ्दो, मूल्य घट्दो
काठमाडौं, २८ असोज । दसैँको सुरुवातसँगै सुनको मूल्य घटेकाले कारोबार बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ । दसैँको घटस्थापनाको दिन प्रतितोला ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला ५६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य ५५ हजार ७५० रुपैयाँ कायम रहेको छ । सङ्घका अनुसार घटस्थापनापछि पटक पटक गरी सुनको मूल्य घटेर प्रतितोला दुई हजार ३०० रुपैयाँ भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा कमी आएसँगै नेपालमा पनि त्यसको प्रभावले मूल्य घटेको सङ्घका अध्यक्ष मणिकरत्न शाक्यले बताए । अध्यक्ष शाक्यका अनुसार विगतमा दसैँ, तिहार, विवाहकायाममा दैनिक ३० किलो सुनको कारोबार हुने भए पनि मूल्य उच्च भएका कारण कारोबारमा नकारात्मक प्रभाव परेपछि यस वर्ष करिब ४० किलो दैनिक व्यापार भइरहेको छ । त्यसैगरी असली चाँदीको मूल्य ८६० रुपैयाँ बाट घटेर ८१० रुपैयाँ कायम भई कारोबार भइरहेको सङ्घले जनाएको छ । रासस
सानिमा बैंकको १५ प्रतिशत बोनस पारित, वाग्मती डेभलपमेन्ट बैंकलाई खरिद गर्ने
काठमाडौं, २८ असोज । सानिमा बैंकको सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय पारित भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि शून्य दशमलब ७९ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको सञ्चालक समितिको उक्त प्रस्तावलाईआश्विन २८ गते बसेको बैंकको १२ औ बार्षिक साधारणसभाले पारित गरेको छ । बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त सभाले बोनस शेयर जारी पश्चात थप ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ । साथै सानिमा बैंकसँग भएको आपसी समझदारी अनुसार वाग्मती डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पनि सो सभाले पारित गरेको छ । त्यसैगरी बैंकको अधिकृत पूँजी वृद्धि गरी ९ अर्ब रुपैयाँ तथा जारी र चुक्ता पूँजी ६ अर्ब नब्बे करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरेको छ । आर्थिक वर्ष २०७२/७३ मा बैंकले खुद नाफा एक अर्ब रुपैयाँ कमाएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। सानिमा बैंकको कुल सम्पत्ति ५५ अर्ब ८९ करोड रुपैयाँ, कुल निक्षेप ४६ अर्ब ३४ करोड रुपैयाँ तथा कर्जा सापटी ४० अर्ब ४६ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७१/७२ को तुलनामा नाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश ६०.२९, ३६.१२, ४३.१३, र ३८.६८ प्रतिशतले बृद्धि गरेको बैंकले जनाएको छ । त्यसैगरी बैंकले नेपाल भर ४० वटा शाखा तथा ४७ एटिएम संजाल विस्तार गर्न सक्षम भएको छ ।
चन्द्रागिरि केबलकारको टिकट अब उपत्यका भित्रका आईएमई सेन्टरमा पनि
काठमाडौं, २८ असोज । चन्द्रागिरि केबलकारको टिकट उपत्यका भित्रका २४ आईएमई सेन्टरबाट लिन सकिने व्यवस्था मिलाईएको छ । दशैंको विदामा चन्द्रागिरिमा बढ्दो चापसँगै टिकटकै लागि लाईन बस्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै आम सेवाग्राहीको सेवाका लागि यस्तो सेवा उपलब्ध गराईएको छ । आईएमई सेन्टरहरुले नेपाली नागरिकहरुलाई मात्र टिकट विक्री गर्न सक्नेछन । यसरी विक्री भएका टिकटको वैधता तीन महिनासम्म मात्र हुनेछ । उपत्यका भित्रका आईएमई सेन्टरको पूर्ण विवरण चन्द्रागिरि हिल्स लिमिटेडको आधिकारीक वेभसाईटमा उपलब्ध छ । नेपालको नम्बर १ रेमिट्यान्स कम्पनी आईएमईका प्रमुख शहर तथा शहरोन्मुख ग्रामिण क्षेत्र समेतलाई समेट्ने गरी ७५ जिल्लाका ५००० भन्दा बढी एजेन्ट/सब–एजेन्ट, १४७ आईएमई सेन्टर र विभिन्न बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।
सेती फाइनान्सले १ः१.५ हकप्रद सेयर निष्कासन गर्दै, कात्तिक १० गते बुक क्लोज
काठमाडौं, २८ असोज । सेती फाइनान्स लिमिटेडले १ बराबर १.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय लिएको छ । सो प्रयोजनको लागि कात्तिक १० गते कम्पनीको बुक क्लोज हुने भएको छ । उक्त निर्णय गत असोज १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । हाल फाइनान्सको चुक्ता पूँजी ६३ करोड ४५ लाख रुपैयाँ रहेको छ ।
भैपरी शीर्षकमा थप १७ अर्ब बजेट निकासा, सरकार परिवर्तनसँगै रकमान्तर गरेर पैसा बाँड्ने क्रम बढ्दो
काठमाडौं, २८ असोज । गत आर्थिक वर्षमा अर्थ मन्त्रालयले भइपरी खर्च शीर्षकबाट १७ अर्ब २ करोड रुपैयाँ रकम थप निकासा गरेको छ । गएको वर्षको बजेट मध्यावधि समीक्षासम्म ६ अर्ब ९० करोड बजेट शिर्षक बाहेकका शिर्षकमा बजेट बाडेको मन्त्रालयले असार मन्सान्तसम्म सो रकम रकमान्तर भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । गएको वर्षको पहिलो ६ महिनामा विभिन्न मन्त्रालय तथा निकायबाट रू. ६३ अर्ब ७१ करोड थप बजेट माग आएको थियो । यस वर्ष पनि त्यस्तो माग आउन भने कम नभएको मन्त्रालय पदाधिकारीहरुको भनाइ छ । उनीहरुका अनुसार अहिले दैनिक ३०÷४० वटा थप बजेट मागका फाइलहरु आउने गरेका छन् । ‘थप बजेट माग आउन यो वर्ष पनि कम छैन’, मन्त्रालयले स्रोतले भन्यो ‘सरकार पिच्छेका स्वार्थ हुन्छ, अर्को सरकारले ल्याएको बजेट कहाँ चित्त बुझ्छ र ।’ सो अवधिमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को निर्णय अनुसार भूकम्पपीडितलाई न्यानो कपडा वितरणका लागि ६ अर्ब २ करोड रुपैयाँ निकासा भएको थियो । दैवी प्रकोप अन्तर्गतको विभिन्न सात ओटा निर्वाचन क्षेत्रका आयोजनालाई १ अर्ब ६५ करोड थप रकम विनियोजन गरेको थियो । निर्माणाधिन विभिन्न पुलहरुको कार्य सम्पन्न गर्न तथा खानेपानी तथा सरसफाईका लागि १ अर्ब ५० करोड, १ अर्ब ५० करोड रुपैयाँ थप रकम रकामान्तर भएको अर्थ मन्त्रालयको हिसाव छ । नगरपालिकामा सौर्य वत्ती अनुदान कार्यक्रमको लागि १ अर्ब रुपैयाँ निकाशा भएको छ भने अन्य विभिन्न साना, खुद्रे तथा झोले आयोजना जसले राजनीतिक स्वार्थ पुरा गर्न तथा कार्यकर्तालाई रिझाउन खर्च निकाशा गरिएको बताइएको छ । सामान्य प्रशासन, गृह, ऊर्जालगायत अन्य मन्त्रालयलाई पनि थप बजेट विनियोजन भएको छ । अर्थ मन्त्रालयले बजेट प्रस्तुत हुनुभन्दा पहिले नै कार्यक्रमहरू तयार भइसक्नु पर्ने र पछि बनेका कार्यक्रमलाई बजेट नदिने व्यवस्था गरेसँगै थप बजेट विनियोजनको क्रम केही रोकिएको हो । थप बजेट दिने क्रम केही कम भए पनि बजेट माग भने गत आवको तुलनामा ३ गुणाभन्दा बढीले वृद्धि भएको छ । गत आवसम्म मन्त्रीको दबाबमा परेर रातो किताबमै नपरेका कार्यक्रमलाई बजेट विनियोजन गर्ने परिपाटी धेरै थियो । यस वर्ष पनि यो क्रम रोकिएको छैन । चालू आवमा सबैभन्दा धेरै बजेट माग गर्ने मन्त्रालयमा भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालय रहेको छ । मन्त्रालयले रू. ४२ अर्ब बजेट माग गरेको छ । उक्त मन्त्रालयले देशैभरि सडक निर्माण गर्नको लागि सो रकम माग गरेको हो । रक्षा मन्त्रालयले विभिन्न प्रयोजनका लागि रकम माग गरेको थियो भने नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका लुम्बिनी तथा पशुपति क्षेत्र विकास गुरुयोजना कार्यान्वयनका लागि बजेट माग गरेको हो । बजेटमा नपरेका शीर्षकका लागि रकम माग गर्ने र दिने दुवै परिपाटी राम्रो नभए पनि विभिन्न दबाबका कारण अर्थ मन्त्रालय केही थप बजेट निकासा गर्न भने बाध्य छ ।