त्रिविको जग्गा मिच्नेहरूलाई कारबाही हुन्छ : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी छन् । प्रधानमन्त्री कार्कीले मंगलबार दिउँसो सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेलसमेतको उपस्थितिमा त्रिविका उपकुलपति प्रा दीपक अर्याल, रेक्टर प्रा खड्ग केसी, रजिस्ट्रार प्रा केदारप्रसाद रिजाललगायतसँग छलफल गरेकी हुन् । छलफलमा मुख्य सचिव एकनारायण अर्यालसहित जग्गा खोजबिन समितिका पदाधिकारीहरू पनि सहभागी थिए । प्रधानमन्त्री कार्कीले प्रतिवेदन कार्यान्वयनमा हालसम्म भएको प्रगतिबारे जानकारी माग गर्दै आगामी प्रक्रियाका विषयमा चासो राखेकी थिइन् । उनले प्रतिवेदन सार्वजनिक भएपछि के कति फिर्ता आयो, फिर्ता हुने प्रक्रिया कसरी अघि बढेको छ र दोषीमाथि कारबाहीको प्रक्रिया के–के भयो भनेर जिज्ञासा राखेकी थिइन् । त्रिविका पदाधिकारीले विश्वविद्यालयको जग्गा ओगटेर बसेकाहरूलाई हटाउन र अपचलन भएर गएको जग्गाको लगत कायम गर्न सरकारको सहयोगको अपेक्षा रहेको बताए । गृहमन्त्री अर्यालले लगत कायम गर्ने प्रक्रियामा विश्वविद्यालय आफैँ अग्रसर हुनुपर्ने र किर्ते गरी जग्गा हडपिएको छ भने प्रत्येक घटनाको अलगअलग मुद्दाका रूपमा सीआईबीलगायत निकायमा जाहेरी दिनुपर्ने बताए । जग्गा अपचलनमा सीआईबीको विशेषज्ञता र अनुभव पनि रहेकाले कारबाही अघि बढाउन तयार रहेको उनको भनाइ थियो । मुख्य सचिव एकनारायण अर्यालले प्रतिवेदनमा औँल्याइएका विषयमध्ये ६० प्रतिशत काम विश्वविद्यालय आफैँले गर्न सक्ने बताए । सबै कामका लागि सरकारको मुख ताक्न नहुने उनको धारणा थियो । शिक्षामन्त्री पुनले यो विषय धेरै नतन्काइकन गर्न सक्ने काम तुरुन्तै गरिहाल्नुपर्ने र यसका लागि सबै सरोकारवाला निकायहरूको प्रतिनिधि रहने गरी कार्यदल बनाउनुपर्ने प्रस्ताव राखे । प्रधानमन्त्री कार्कीले असम्बन्धित संघसंस्था र व्यक्तिहरूले त्रिविको जग्गा ओगट्ने, बल भएकै आधारमा मिचेर खाने र बेचबिखन समेत गर्ने प्रवृत्ति तत्काल रोक्न निर्देशन दिइन् । साथै यसमा जो–जो दोषी भए पनि तत्काल कठघरामा उभ्याउनुपर्ने उनको निर्देशन छ ।
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिमा प्रधानमन्त्रीको चासो, तत्काल सूचना निकाल्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका हैसियतले उनले मन्त्रालयका सचिव हरि मैनालीलाई आफ्नो कार्यकक्षमा बोलाएर प्रगति विवरण माग गरेकी हुन् । निगममा महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रधानमन्त्री कार्कीले सचिव मैनालीकै संयोजकत्वमा गत कात्तिक १४ गते छनोट समिति गठन गरेकी थिइन् । उक्त समितिमा क्याप्टेन केबी लिम्बू विज्ञ सदस्य र मन्त्रालयकै योजना तथा प्रशासन महाशाखा प्रमुख रहने सहसचिव सदस्यसचिव छन् । सचिव मैनालीले यसबीचमा कार्यविधिको काम गरेको र केही समय बाहिर पनि जानुपरेको बताए । उनले आजै समितिको पहिलो बैठक बस्ने जानकारी गराए । प्रधानमन्त्री कार्कीले ढिलो नगरी खुला प्रतिस्पर्धाका लागि दर्खास्त आह्वानको सूचना प्रकाशित गर्न निर्देशन दिएकी छन् ।
राष्ट्रपतिसमक्ष मधेस प्रदेशका प्रदेश प्रमुख कर्णको शपथ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले कर्णलाई शपथ गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी सहभागी रहेको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधेस प्रदेशको प्रदेश प्रमुखमा धनुषाका सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
कार्त्तिक २९ र ३० गते सुदूरपश्चिममा पर्यटन प्रर्वद्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रम हुँदै
काठमाडौं । आउँदो कार्त्तिक २९ र ३० गते सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रर्वद्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रम हुने भएको छ । अन्तरक्रिया कार्यक्रम नेपाल पर्यटन बोर्ड र होटल व्यवसायी महासंघ नेपालको संयुक्त आयोजनामा हुने भएको हो। महासंघका अध्यक्ष दिनेश कुमार चुकेले कार्यक्रम सुदूरपश्चिमको पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गर्न लागेको जानकारी दिए । अध्यक्ष चुकेका अनुसार कार्यक्रममा मधेश प्रदेशबाहेक बाँकी ६ प्रदेशका प्रतिनिधि, स्थानीय सकारका प्रतिनिधि, होटल व्यवसायीलगायत ६०/७० जना स्टेक होल्डरहरुको सहभागिता रहने छ । ‘सुदूरपश्चिम प्रदेश प्राकृतिक रूपमा धनी हुँदा हुँदै पर्यटनको हिसाबले पछाडि परेको छ,’ उनले भने, उक्त प्रदेशको पर्यटन प्रवर्द्धनका लागि हामी सबै होटल व्यवसायी र स्टेक होल्डर लागि परेका छौं ।’ अन्तरक्रिया कार्यक्रममा प्याकेज कसरी बनाउने, पर्यटन प्रवर्द्धन कसरी गर्ने सम्बन्धमा अन्तरक्रिया हुने अध्यक्ष चुकेको भनाइ छ । कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० दीपकराज जोशी, गोदाबरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्ट, अतिरिक्त नायब महानिरीक्षक ओमबहादुर रानालगायत उपस्थित हुने जनाइएको छ ।
नेपाली सेनाका दुई प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । सरकारले नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गरेको छ । सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले एमसिए–नेपालले निर्माण गर्ने ४०० के.भि. विद्युत प्रशारणलाइनको लागि आवश्यक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, तनहूँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट र मकवानपुर जिल्लामा पर्ने विद्युत प्रशारणलाइनको मध्य रेखाबाट २३ मिटर दायाँ र २३ मिटर बायाँमा पर्ने करिव १ हजार ३ सय ८१ हेक्टर क्षेत्रफलका जग्गामा कुनै प्रकारको संरचना निर्माण गर्न तथा रुख रोप्न नपाउने गरी निषेध गर्ने निर्णय गरेको बताए । उनका अनुसार सरकारले जग्गामा कुनै प्रकारको संरचना निर्माण गर्न तथा रुख रोप्न नपाउने गरी निषेध गर्ने र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै, सरकारले भारतको विशाखापटनम्मा २०८२ कात्तिक २८ देखि २९ गतेसम्म आयोजना हुने ३० औं पार्टनरसिप समिट, २०२५ मा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हालाई स्वीकृति प्रदान गर्ने गरेको छ । यस्ता छन् सरकारका अन्य निर्णय: एमसिए–नेपालले निर्माण गर्ने ४०० के.भि. विद्युत प्रशारणलाइनको लागि आवश्यक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, तनहूँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट र मकवानपुर जिल्लामा पर्ने विद्युत प्रशारणलाइनको मध्य रेखाबाट २३ मिटर दायाँ र २३ मिटर बायाँमा पर्ने करिव १ हजार ३ सय ८१ हेक्टर क्षेत्रफलका जग्गामा कुनै प्रकारको संरचना निर्माण गर्न तथा रुख रोप्न नपाउने गरी निषेध गर्ने । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने । भारतको विशाखापटनम्मा २०८२ कात्तिक २८ देखि २९ गतेसम्म आयोजना हुने ३० औं पार्टनरसिप समिट, २०२५ मा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हालाई स्वीकृति प्रदान गर्ने । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने। जग्गाधनी श्यामप्रसाद श्रेष्ठलाई हाल जिल्ला प्रशासन कार्यालय, स्याङ्जाको कार्यालय रहेको जग्गाको क्षतिपूर्ति बापत एक करोड रुपियाँ उपलब्ध गराउने । २०८२ भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा निजामतीतर्फ ४ र नेपाल प्रहरीतर्फ ११ थप कर्मचारी उपलब्ध गराउने । २०८२ कात्तिक २६ देखि २८ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल– इण्डिया कोर्डिनेशन मिटिङकोे ९ औं बैठकमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक श्री राजु अर्यालको संयोजकत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा अतिरिक्त प्रहरी महानिरीक्षक श्री दानबहादुर कार्कीलाई बढुवा गर्ने । भूउपयोग (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने । साविक रेशम खेती विकास कार्यक्रम धनकुटाको नाममा दर्ता रहेको धनकुटा नगरपालिका वडा नं. ७ स्थित जम्मा २५ रोपनी ५ आना तीन पैसा जग्गा प्रादेशिक अस्पताल निर्माणका लागि उपयोग गर्न दिन स्वीकृति दिने । २०८२ फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने । नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने । नेपाली सेनाद्वारा सञ्चालन हुने तालिमहरूको सहयोगार्थ नेपाली सेना र अफिस अफ डिफेन्स करप्शनबिच सम्पन्न भएको समझदारीपत्रको अवधि दुईवर्ष थप गर्न स्वीकृति दिने । २०८२ मङ्सिर ८ देखि १२ गतेसम्म अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने आइएइए स्कुल अन नुक्लियर एण्ड रेडियोलोजिकल लिडरसिप फर सेफ्टी एण्ड फर नुक्लियर सेक्युरिटी कार्यक्रममा सचिव (विज्ञान प्रविधि) श्री विश्ववावु पुडासैनीलाई सहभागी हुन स्वीकृति दिने। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य बीमा बोर्ड, काठमाडौं, गेटा अस्पताल, धनगढी, कैलालीः सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा, बाँके, डडेल्धुरा अस्पताल, डडेल्धुरा र कान्ति बाल अस्पताल, काठमाडौँको आ.व. ०८२÷८३ का लागि अधिकृतस्तरका २५६ अस्थायी दरबन्दी स्वीकृत गर्ने। स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा कार्यरत अतिरिक्त स्वास्थ्य सचिव (अधिकृत बाह्रौँ तह) डा. टंकप्रसाद बारकोटीले दिनुभएको राजीनामा स्वीकृत गर्ने । मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्न र श्री सुरेन्द्र लाभ कर्ण, धनुषालाई मधेस प्रदेशको प्रमुखमा नियुक्ति गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
बढ्यो सेयर बजार, ५ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.२१ अंकले बढेर २५६५ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १४२ कम्पनीको सेयर मूल्य बढ्दा १०२ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३२७ कम्पनीको ७९ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार साहस उर्जाको भएको छ । साहसको ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै राधी विद्युतको ३२ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको २६ करोड, शिवम् सिमेन्टको १६ करोड र इस्ट्रन हाइड्रोपावरको ९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साइन रेसुंगा डिभेन्चर, बन्दीपुर केबलकार, माबिलुङ इनर्जी, सागर डिस्टीलरीको सेयर मूल्य १० प्रतिशत र बुंगल हाइड्रोको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । मंगलबारको कारोबारमा सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रहेको छ । बैंकिङ ०.०७, हाइड्रोपावर ०.७७, जीवन बीमा ०.५७, उत्पादन तथा प्रशोधन ०.३३, निर्जीवन बीमा ०.५० तथा व्यापार ०.६९ प्रतिशतले बढेका छन् । अन्य ०.६७, माइक्रोफाइनान्स ०.०५, लगानी ०.२९, होटल तथा पर्यटन ०.३८, फाइनान्स ०.६१ तथा विकास बैंक ०.४७ प्रतिशतले घटेका छन् ।
दराज ११:११ अफरमा बोस्च पावर टुल्स: १५ प्रतिशतसम्म छुट, प्रेसर वाशर मात्र ११ मा
काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी बोस्चको पावर टुल्स दराज नेपालको ११:११ अफरमा सहभागी भएको छ। अफरमार्फत पेशेवर निर्माणकर्ता, गृह सुधारक र आफ्नै हातले निर्माण गर्ने उत्साहीहरूलाई उच्च गुणस्तरका उपकरणमा १५ प्रतिशतसम्मको विशेष छुट प्राप्त हुने भएको छ । यस अभियानमा बोस्चले निर्माण, अटोमोबाइल र घर सुधारका लागि आफ्नो लोकप्रिय पावर टुल्सको विस्तृत श्रृंखला प्रस्तुत गरेको छ । विशेष आकर्षणको रूपमा 'फास्टेस्ट फिङ्गर फर्स्ट' अफरमा २२ हजार ९०० मूल्यको प्रेसर वाशर मात्र ११ मा उपलब्ध हुनेछ । बोस्च जीडब्ल्यूएस ६००, बोस्च जीएचजी १६-५० हिट गन, बोस्च जीएसबी ४५० इम्प्याक्ट ड्रिल, बोस्च जीबीएच २(२३ आरईए रोटरी ह्यामर, बोस्च जीएसबी १३ आरई इम्प्याक्ट ड्रिल किट सेट र बोस्च जीएलएम ४० लेजर रेन्जफाइन्डर अभियानमा उपलब्ध छन् । बोस्च पावर टुल्सले आफ्नो विश्वव्यापी गुणस्तर, टिकाउपन र नवप्रवर्तनको प्रतिष्ठा बलियो बनाउँदै नेपालका ठूला निर्माण कम्पनीदेखि व्यक्तिगत कारीगरसम्म ग्राहकलाई आवश्यक उपकरण उपलब्ध गराउँछ । बोस्च पावर टुल्सको नेपालभर एक सय प्लस आधिकारिक उपवितरक रहेका छन् ।
लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेको हुँ : मुख्यमन्त्री यादव
जनकपुरधाम । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लोकतन्त्रको संस्थागत विकासका लागि आफूले मुख्यमन्त्री पद स्वीकार गरेको बताएका छन् । मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी उनले आफू वर्तमान संविधानअनुसार मुख्यमन्त्री बनेको जानकारी दिँदै मधेसका समस्या समाधान गर्न पद स्वीकार गरेको स्पष्ट पारे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभामा सबैभन्दा ठूलो राजनीतिक दल भएकाले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री भएको बताए । उनले मधेसका समस्या समाधान गर्न सबै राजनीतिक दलको सहयोग आवश्यक भएको बताए । मुख्यमन्त्री यादवले विध्वंसात्मक गतिविधि त्याग्न सम्बद्ध पक्षलाई अनुरोध गर्दै वस्तुनिष्ठ समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई अनुरोध गरे ।