विकासन्युज

एक्सेल डेभलपमेन्ट बैंकको १९ औं शाखा मोरङ्को उर्लावारीमा

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १९ औं शाखा मोरङ् जिल्लाको उर्लावारी नगरपालिका अन्तर्गत उर्लावारी बजारमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक उद्घाटन सोमबार(आज) उर्लावारी नगरपालिकाका नगरप्रमुख खडग फागो र यस बैंकका संचालक समितिका अध्यक्ष हेमराज ढकालले संयुक्त रुपमा गरेका हुन् । आर्थिक र व्यापारिक दृष्टिकोणले प्रमुख भुमिका भएको उर्लावारी बजारमा ग्राहककै रोजाइको माध्यम अर्थात एबीबीएस, एसएमएस,आईपीएस, अनलाइन क्लिएरिङ तथा मोवाईल बैंकिगं, रेमिट्यान्स सेवा लगायतका अधिकांश बैंकिङ सेवाहरु उक्त नवस्थापित शाखा कार्यालयबाट प्रदान गरिने बैंकले जनाएको छ । झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम र मोरङ्का विभिन्न २२ स्थानमा अवस्थीत आफ्ना कार्यालयहरु मार्फत ग्राहकहक समक्ष बैंकिङ सेवा प्रदान गरिरहेको छ । साथै, चालु आवमा आफ्नो कार्यक्षेत्रभित्रका थप केहि ठॉउहरुमा शाखा विस्तार गर्ने लक्ष्य समेत लिएर कार्य सम्पादन गरिरहेकोे बैंकले जनाएको छ ।

५ वर्षभित्रै दाङमा बन्दैछ बहुउद्देश्यीय सुविधासम्पन्न रंगशाला, डिपिआरको काम अन्तिम चरणमा

दाङ । दाङको बेलझुण्डीमा सुुविधा सम्पन्न बहुउद्देश्यीय रंगशाला बन्ने भएको छ । मिसन आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ का लागि सम्भावित खेलस्थल निरीक्षणका लागि यहाँ आउनु भएका युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहलले पाचँ वर्षभित्रै बेलझुण्डीमा सुविधा सम्पन्न बहुुउद्देश्यीय रंगशाला बन्ने गरी काम थाल्ने बताएका छन् । जिल्लाको खेलकुद विकास र विस्तारका लागि बहुउद्देश्यीय रंगशाला निर्माणको गुरुयोजना बमोजिम डिपिआरको कार्य अन्तिमचरणमा पुगेकाले अब छिट्टै निर्माण प्रक्रिया शुरु हुने उनले बताए । सचिव दाहलले बेलझुण्डीको १५ बिगाहा जमिनमा अन्तर्राष्ट्रिय मापदण्डको फुटबल मैदान, चारसय मिटर ट्र्याकभित्र फुटबलको अभ्यास खेलमैदान, आन्तरिक खेलका लागि बहुउद्देश्यीय कर्बड हललगायतका भौतिक संरचना निर्माणका लागि डिपिआरको काम भइरहेको बताए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले आठाैं राष्ट्रिय खेदलकुदलाई लक्षित गरी डिपिआरको कामसँगै बजेट निकासा तत्काल अगाडि बढाउन आग्रह गरे । रासस

अब घरमै बसेर लिनुस् वैदेशिक शिक्षाको जानकारी, अल्फाबिटाले ल्यायो मोबाइल एप

काठमाडौं । अल्फाबिटा कन्सल्टेन्सी प्रालीले अल्फाबिटा मोबाइल एप सार्वजनिक गरेको छ । आइतबारदेखि कल्सल्टेन्सी यो एप सञ्चालनमा ल्याएको हो । एपमा अल्फाबिटा कन्सल्टेन्सीबाट वैदेशिक शिक्षाका लागि प्रक्रिया अघि बढाइएका विद्यार्थीहरुले आफ्नो प्रक्रिया कहाँसम्म पुगेको छ भन्ने कुरा घर बसी बसी बुझ्न सकिने सेवा रहेको छ । विद्यार्थीको सहजतालाई ध्यानमा राखेर उक्त मोबाइल एप सञ्चालनमा ल्याएको कन्सल्टेन्सीले जनाएको छ । एपबाट विद्यार्थीहरुले आयल्ट्स, पिटिइ, जिआरइ, जिम्याट, एक्ट लगायतका कक्षाहरुका साथै विद्यार्थीले विभिन्न विश्वविद्यालयका बारेमा बुझ्न र उपलब्ध छात्रवृत्तिको बारेमा जानकारी लिनसक्ने कन्सल्टेन्सीले जानकारी दिएको छ । यो कन्सल्टेन्सीले २६ वर्षदेखि वैदेशिक अध्ययनको सेवा प्रदान गरिरहेको छ । नेपालका कन्सल्टेन्सीमा अल्फाबिटाले पहिलोचोटी एप सार्वजनिक गरेको कन्सल्टेन्सीको दाबी छ । यो एप अल्फाबिटाका विद्यार्थीबाहेक वैदेशिक शिक्षाका लागि इच्छुक जोकोही विद्यार्थीका लागि पनि उपयोगी छ । अल्फाबिटा एपका लागि एन्ड्रोइडका प्रयोगकर्ताले प्लेस्टोरमा गएर निशुल्क एप डाउनलोड गर्नसक्छन् । आइओएसका लागि छिट्टै एप उपलब्ध गराउने तयारीमा रहेको कन्सल्टेन्सीले जनाएको छ । यस एपबाट विद्यार्थीलाई वैदेशिक शिक्षा, भाषा कक्षा र प्रवेश परीक्षाको तयारीबारे बुझ्न मद्दत पुग्ने कन्सल्टेन्सीले जानकारी दिएको छ ।

काँग्रेसका नेता गगन थापा माथि बम आक्रमण, ७ कार्यकर्ता घाईते

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापा माथि बम आक्रमण भएको छ । सोमबार चुनावी प्रचारमा गएका थापामाथि काठमाडौंको चपलीमा बम आक्रमण भएको । यसमा उनी सहित ७ कार्यकर्ता घाईते भएका छन् । काठमाडौं क्षेत्र नं ४ स्थित बुढानीलकण्ठ नगरपालिकाको चपलीमा रहेको माधव कोलोनीमा चुनावी घरदैलो कार्यक्रम सकेर चुनावी कोण सभा गर्ने क्रममा उनी माथि बम आक्रमण भएको हो । थापासँगै चुनावी अभियानमा रहेका १२ जना काँग्रेस कार्यकर्ताहरु बम आक्रमणमा घार्इते भएका छन् । जसमध्ये दुर्इको अवस्था गम्भीर रहेको छ । उनीहरुलार्इ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्यार्इएको छ । घाइते भएका थापाको कानमा र ढाडमा चोट लागेको छ ।

राष्ट्रिय बीमा र फष्ट माइक्रोफाइनान्सको बोनस सेयर सूचिकृत, कसको कति?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई कम्पनीको २० लाख १७ हजार १२० कित्ता बोनस सेयर सूचिकृत भएको छ । सोमबार मात्रै राष्ट्रिय बीमा कम्पनी र फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको गरी सो मात्राको सेयर सूचिकृत भएको हो । नेप्सेमा राष्ट्रिय बीमा कम्पनीको १४ लाख २१ हजार ९९५ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, फष्ट माइक्रोफाइनान्सको ५ लाख ९५ हजार १२५ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

कहाँ अड्कियो निजगढ विमानस्थल ? डिजाइन बन्नै २ बर्ष लाग्ने

काठमाडौं । निजगढ विमानस्थल आयोजनाले गत जेठमै डिपिआर निर्माणका लागि आवेदन दिने २२ वटा कम्पनीमध्ये ६ वटालाई छानेर नागरिक उड्डयन प्राधिकरणमा पठाएको थियो । तर प्राधिकरणले अझै त्यो फाइल अगाडी बढाएको छैन् । एक बर्ष अघिदेखि सुरु भएको मुआब्जा वितरणको कामले पनि गति लिन सकिरहेको छैन् । हालसम्म करिब २० परिवारले १३ विगाह जमिनको ६ करोड मुआब्जा मात्रै लगेका छन् । बाँकी करिब एक सय विगाह जमिनको मुआब्जा लिन स्थानीयले नै अनिच्छा देखाईरहेका छन् । स्थानीयले मुआब्जाको दर बढाउनुपर्ने माग राख्दै आएका छन तर आयोजनाले मुआब्जाको दर बढाउन नसकिने बताउँदै आएको छ । उता, कोरियाली कम्पनील ल्याण्ड मार्क वल्र्डवाइड(एलएमडब्ल्यु)ले तयार पारेको विस्तृत सम्भाव्यता अध्ययन रिपोर्टको स्वामित्व लिने नीतिगत निर्णय पनि कार्यान्वयनमा आएको छैन् । कोरियाली कम्पनीसँग विस्तृत सम्भाव्यता अध्ययनको रिपोर्ट लिनका लागि पुर्व सम्झौता अनुसार ३५ लाख डलर तिर्नुपर्ने हुन्छ । पर्यटन मन्त्रालयले ३५ लाख डलर तिर्ने निर्णय गरेको छ तर कोरियाली कम्पनीले ब्याज र क्षतिपुर्ति समेत चाहिने भन्दै आएको छ । १४७३ परिवार सुकुम्बासीको पुनस्थापना कसरी गर्ने भन्नेबारे पनि कुनै योजना बन्न सकेको छैन् । ‘आजकै मितिबाट काम सुरु गरियो भने पनि डिजाइन बनाउन अझै २ बर्ष लाग्छ, अहिलेसम्म काम कहिले र कसरी सुरु हुन्छ, त्यसको टुंगो लागेकै छैन’, निजगढ विमानस्थल आयोजनाका प्रमुख हरि अधिकारीले भने । इआइए रिपोर्ट तयार भएर थप अध्ययनको चरणमा रहेको छ भने नेपाली सेनाले रुख काट्ने काम अघि बढाएको छ । उता, नेपाल नागरिक उड्यन प्राधिकरणले निजगढ निजगढ विमानस्थल आयोजनाको स्तर घटाएर पोखरा, भैरहवा र निजगढ विमानस्थल हेर्ने केन्द्रिय संरचना निर्माण गरिएको छ । निजगढ विमानस्थलको कार्यकारी आयोजनालाई घटुवा गरि आयोजना कार्यान्वयन ईकाइ मात्रै बनाइएको छ ।

भारतका ‘भगौडा’ बेलायतको यो गाँउमा ‘मसीहा’ ! सोमबार हुँदैछ माल्याविरुद्ध सुनुवाई

टेविन (बेलायत)। भारतले यो वर्ष मदिरा व्यापारी विजय माल्यालाई भगौडा घोषित गरेको थियो । अधिकांश भारतीय नागरिक माल्यालाई कारबाही भएको हेर्न चाहन्छन् । तर बेलायतको टेविन गाँउमा बस्ने अर्बपति परिवार यस्तो चाहदैनन्। लण्डनबाट ४८ किलोमिटरपर यो गाँउमा माल्याको घर छ, जहाँ मानिसका लागि उनी एक मसीहा हुन् । माल्यामाथी भारतको १७ वटा बैंकको ९ हजार करोड भारतिय रुपैयाँ बराबरको कर्जा नतिरेको आरोप छ । त्यो ऋण उनले आफ्नो बन्द भइसकेको किङफिशर एयरलाइन्सका लागि लिएको थियो । त्यति मात्र होइन उनीमाथी फर्जी तरिकाले पैसा लिएको र मनी लन्ड्रिङको पनि आरोप छ । माल्याले भर्खरै मात्र दुई हजार निवास रहेको यो गाँउलाई क्रिसमस ट्री उपहार दिएका छन् । जसकारण माल्यामाथी उनिहरुको विशेष सम्मान छ । क्राउन पबका बारम्यान रोजले भने, ‘माल्या यो गाँउको लागि अमूल्य सम्पती जस्तै छन् । हामी यस्तो मानिस पाएर खुशी छौं ।’ बारम्यानले भने,’यहाँका मानिसहरुरलाई माल्या समस्यामा परेको कुरा थाहा छ । तर प्राय धनी मानिस कुनै न कुनै समस्यामा परेकै हुन्छन् । किन नुहनु? माल्यालाई कारबाही नहोस् हामी यही आशा गर्छौं । भगवानले माल्याको रक्षा गरुन् ।’ माल्याको विरुद्ध सोमबार सुनुवाई हुँदैछ । कंट्री बम्पकिनका क्याफेका सेफले भने, ‘माल्या माटोसँग जोडिएका छन् । उहाँ आफ्नो पत्नी र बच्चाहरुसँग यहाँ आउनुहुन्थ्यो । उनले कहिल्यै धनीमानी जस्तो देखावटी गर्दैनथे । मलाई थाहा छ की भारत सरकारले उनको खोजी गरिरहेको छ तर हामीलाई यसको मतलब छैन । आफुपनि बाच र अरुलाई पनि बाच्नदेउ ।’

विभिन्न परियोजनामा पुरुषभन्दा बढी महिला लाभान्वित

भद्रपुर । न्याय तथा विकासका लागि सामाजिक सञ्जाल नामक संस्थाले झापामा एकिकृत सामुदायिक उत्थानशील विकास परियोजना मार्फत सात हजार ७०७ जना लाभान्वित भएका छन् । झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका-१ र २ मा गत पुस महिनादेखि एक वर्षका लागि सञ्चालित सो कार्यक्रमबाट चार हजार ८०२ महिला लाभान्वित भएको सहजकर्ता सोमनाथ भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार विपद् जोखिम व्यवस्थापन, क्षमता विकास कार्यक्रम, साना जल उत्पन्न योजना कार्यान्वयन, कृषक पाठशाला, दिगो जीविकोपार्जन क्रियाकलाप, दलहन, तेलहन बालीमा सहयोग, खानेपानी तथा सरसफाइ सम्बन्धी सचेतनामूलकजस्ता कार्यक्रममा सात हजार ७०७ जना लाभान्वित हुनुका साथै रु ६२ लाख १६ हजार ५२४ खर्च भएको छ । सोही परियोजना अन्तर्गत झापाको कचनकवल गाउँपालिका र सिसात्ताक्षी नगरपालिकामा बाढी प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री सहयोग कार्यक्रमबाट दुई हजार २६७ बालबालिका लाभान्वित भएको सञ्जालले जनाएको छ । कक्षा १ देखि ५ सम्मका बालिकालाई वितरण गरिएको शैक्षिक सामग्रीका लागि रु नौ लाख ४० हजार ६२ खर्च भएको सञ्जालका सहजकर्ता कुमार चुडालले जानकारी दिए । यसैगरी, स्वच्छ खानेपानीका लागि उच्च धारा निर्माण, शौचालय मर्मत, घर निर्माणमा अनुदान र कृषि बजार मर्मत संभारजस्ता झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकामा सञ्चालित कार्यक्रममा रु ११ लाख ८८ हजार ६६४ खर्च भएको थियो । स्थानीय विकास अधिकारी खेमराज ओझाले मानिसको जीवनस्तर उकास्न र विपत्मा परेका मानिसलाई तत्काल राहत प्रदान गर्न सञ्जालले गरेको कार्य सराहनीय रहेको बताए। रासस