विकासन्युज

एसियाली विकास बैंकले थप रू ५० अर्ब लगानी गर्ने, तनहुँ सेती जलविद्युत् आयोजना र गौतमबुद्ध विमानस्थलको काम प्रभावकारी

काठमाडौं । एसियाली विकास बैंकले नेपालको ऊर्जा, भौतिक पूर्वाधार तथा शिक्षालगायतका क्षेत्रमा करिब रु ५० अर्ब थप लगानी गर्ने जनाएको छ । बैंकले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरेर थप लगानीका लागि आफूहरुले प्रयास गरिरहेको र त्यसमा नेपाल सरकारको सहयोग रहने जानकारी दिइयो । आगामी असोज अन्तिमसम्म मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न हुने क्रममा रहेको भन्दै बैंकका उपाध्यक्ष बेन्चाई झाङले ढिला भए पनि आयोजनाले गति लिएकामा खुसी व्यक्त गरे । सोही आयोजनाको दोस्रो चरणका लागि थप लगानी गर्ने विषयमा आफूहरुले छलफल गरिरहेको तथा अन्य केही ठूला आयोजनामा समेत लगानी गर्ने तयारीमा बैंक रहेको बताए । मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको काम सम्पन्न भएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले दिने सेवा प्रवाहका आधारमा लार्के र याङ्ग्रीको पानी ल्याउने विषयमा समेत छलफल गरिने उनको भनाइ थियो । सन् २०३० सम्म नेपाललाई मध्यमस्तरीय आय भएको मुलुकमा रुपान्तरण गर्ने लक्ष्यका साथ सरकारले अगाडि सारेको रणनीतिक योजनालाई सफल बनाउन बैंकको तर्फबाट भरपुर सहयोग रहने उपाध्यक्षको भनाइ थियो । बैंकले लगानी गरेको तनहुँ सेती जलविद्युत् आयोजना र गौतमबुद्ध विमानस्थलको काम प्रभावकारी रुपमा अगाडि बढेको उल्लेख गर्दै उनले पछिल्लो दिनमा परियोजना कार्यान्वयनमा आएको सहजताले आफूहरुलाई खुसी तुल्याएको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार प्रक्रियाले पनि गति लिने उपाध्यक्ष झाङको विश्वास थियो । उनले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंह, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलगायतसँग भेटवार्ता गरी थप लगानीका बारेमा छलफल गरेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित भएका छन् ।एकता महाधिवेशनअन्तर्गत आज भएको मतदान प्रक्रियामा थापाले दुई हजार ८०४ मत प्राप्त गर्नुभयो । उनका प्रतिद्वन्द्वी प्रदीपविक्रम राणाले २५१ मत प्राप्त गरे । पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार कुल तीन हजार १३६ मत सदर तथा ८१ मत बदर भएको छ । अध्यक्षमा निर्वाचित भएसँगै थापाले कार्यकर्ताको भावनालाई सम्मान गर्दै गुटबन्दीलाई अन्त्य गर्ने बताएका छन् । कार्यकर्तालाई अन्याय हुन नदिने बताउँदै अध्यक्ष थापाले आगामी दिनमा पार्टीलाई एकताबद्ध गरी राष्ट्रिय राजनीतिमा पार्टीले मुख्य भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । मङ्गलबार केन्द्रीय सदस्यका लागि निर्वाचन गरिनेछ । पार्टीको विधानअनुसार १६३ सदस्यीय केन्द्रीय समितिको ६० प्रतिशत (९८ पद) का लागि हुन लागेको निर्वाचनमा ३६३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बाँकी ४० प्रतिशत सदस्य क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ । महिलातर्फ ३३ सिट रहेका छन्, जसमा खुल्ला १६ तथा आरक्षणमा १७ छन् । आरक्षणतर्फ मधेसी समुदायबाट पाँच, आदिवासी जनजाति छ, उत्पीडित दुई, मुसलमान एक, कर्णाली र पिछडिएको क्षेत्र दुई, थारु समुदायबाट एक जना निर्वाचित हुनेछन् । पुरुषतर्फ ६५ सिट कायम गरिएको छ, जसमा खुल्ला ४० तथा आरक्षणमा २५ सिट छन् । आरक्षणतर्फ मधेसी सात, आदिवासी÷जनजाति नौ, उत्पीडित दुई, मुसलमान दुई, कर्णाली र पिछडिएको क्षेत्र दुई, थारु एक र प्रवासबाट दुई जना निर्वाचित हुनेछन् । महाधिवेशनपछि ४० प्रतिशत मनोनयन गरिने र २७ सदस्यीय पदाधिकारी चयन गरिनेछ । रासस

स्थानीय तहको निर्वाचन वैशाख ३१ गते गर्न निर्वाचन अायाेगकाे प्रस्ताव

काठमाडौं ९ फागुन । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसँग प्रस्ताव गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यसहित आयोगका पदाधिकारीसँगको छलफलमा आयोगले उक्त मितिमा निर्वाचन गर्ने प्रस्ताव गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न लागेको र त्यसमा सरकारका तर्फबाट के कस्तो सहयोग उपलब्ध गराउनुपर्छ भनी आयोगका पदाधिकारीसँग परामर्श गरेका छन्। परामर्शपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आयोग द्रुत गतिमा निर्वाचन गराउन तयार रहेको बताए ।

बिपी राजमार्ग भत्किएपछि सहायक मार्गलाई मर्मत गरी एकतर्फीबाट मात्र सवारी सञ्चालन

सिन्धुली । शीतलपाटी गाविस–९ बेनीघाट खाल्टेमा सडक भत्किएपछि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा ल्याइएको छ । राजमार्ग निर्माणका बेला सञ्चालनमा रहेको सहायक मार्गलाई मर्मत गरी एकतर्फीबाट मात्र सवारी सञ्चालनमा ल्याइएको हो । आइतबार राति ११ बजेदेखि अवरुद्ध राजमार्ग १९ घन्टापछि खुलाइएको बनेपा –सिन्धुली – बर्दिबास सडक योजनाका योजना प्रमुख भरतकाजी तिवारीले जानकारी दिए। अहिले बीच बाटामा रोकिएका सबै सवारीलाई गन्तव्यतर्फ पठाइएको छ । राति सवारी सञ्चालन गर्दा जोखिम रहने भएकाले सो समयमा कुनै पनि सवारी साधन सञ्चालन नगरिने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जियारले जानकारी दिए । साँघुरो वैकल्पिक सडकबाट सवारी सञ्चालन गर्नुपर्ने भएकाले अहिले सुरक्षालाई ध्यानमा राख्दै तत्कालै एकातर्फबाट मात्र सवारी सञ्चालन गरिने छ । साँझ परेपछि दैनिक राजमार्ग बन्द रहने र बिहान ६ बजेदेखि मात्र सवारी सञ्चालन गरिने उनको भनाइ छ । रासस

रोयल ट्रेजरको मह यात्रा फागुन १३ देखि १५ गतेसम्म प्रमुख सहरमा हुने

ललितपुर/जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज अन्र्तगतको हिमालयन डिष्टीलरी प्रालिले लामो अन्तरालपछि मह जोडी सहितको समूहका माध्यमबाट नेपाली दर्शकहरुलाई मनोरञ्जन दिलाउने भएको छ । देशभरका जम्मा १० शहरमा आयोजना हुने उक्त मनोरञ्जनात्मक कार्यक्रमको नाम ‘रोयल ट्रेजर–मह यात्रा २०७३’ रहेको छ । कार्यक्रम आगामी फागुन १३ देखि २५ गतेसम्म देशका विभिन्न प्रमुख शहरहरुमा आयोजना हुनेछ । मह जोडी कलाकारहरुको समूहमा मदन कृष्ण श्रेष्ठ, हरि वंश आचार्य, नरेन्द्र कंशाकार, किरण केसी, शिव हरि पौडेल, मोहित श्रेष्ठ, योमन श्रेष्ठ, राजाराम पौडेल, माण्डवी त्रिपाठी र रुद्र अधिकारी रहेका छन् । कार्यक्रम पोखरामा फागुन १३ गते, भैरहवामा १४ गते, धनगढी – १६ गते, महेन्द्रनगर – १७ गते, नेपालगञ्ज – १८ गते, बुटवल – १९ गते, सौराहा, चितवन – २० गते, विराटनगर – २२ गते, विर्तामोड – २३ गते र धरान – २४ गतेका दिन आयोजना हुने आयोजकले जनाएको छ । रोयल ट्रेजरको प्रस्तुती रहेको यस मह यात्रा– २०७३ मा होटल संघ नेपालको समेत सहभागिता रहेको छ । नगद संकलन गर्ने उद्देश्य राखिएको यस कार्यक्रमार्फत उठ्ने रकमबाट होटल संघ नेपालको क्षेत्रीय खण्ड अन्र्तगतका अतिथि सत्कार उद्योगहरुको सुधार एवम् उत्थान गरिने छ । जसका लागि यस्ता उद्योगहरुमा कार्यरत् कर्मचारीहरुलाई आवश्यक तालिम एवम् छात्रवृत्ति समेत उपलब्ध गराइने योजना रहेको छ ।

चौध देशमा राजदूत नियुक्तिका लागि सिफारिस, कुन देशकाे लागि काे सिफारिस ?

काठमाडौँ, ९ फागुन । सरकारले १४ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय आज गरेको छ । सिंहदरबारमा आज दोस्रो पटक बसेको मन्त्रिपरिषद्को बैठकले युनाइटेड अरब इमिरेट्सका लागि आशा लामा, जापानका लागि प्रतिभा राणा, डेनमार्कका लागि युवनाथ लम्साल, बहराइनका लागि पदम सुन्दास र अस्ट्रेलियाका लागि लक्की शेर्पालाई नियुक्ति गर्न सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । त्यस्तै कतारका लागि रमेशप्रसाद कोइराला, साउदी अरेबियाका लागि महेन्द्र सिंह, म्यानमाका लागि भीम उदास, श्रीलङ्काका लागि विश्वम्भर प्याकुर्याल, ओमनका लागि शर्मिला पराजुली, दक्षिण कोरियाका लागि अर्जुनजङ्गबहादुर सिंह, बङ्गलादेशका लागि चोपलाल भुसाल र इजरायलका लागि निरञ्जन थापालाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरिएको छ । साथै सरकारले स्पेनमा राजदूतावास खोली त्यहाँ भरत रायमाझीलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता कार्कीले बताए । रासस

यूनाइटेड मोदीको १७ लाख २५ हजार कित्ता आइपीओ आउँदै, फागुन १९ गतेदेखि बिक्री खुला

काठमाडौं । यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि १७ लाख २५ हजार कित्ता थप साधारण सेयर(आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी फागुन १९ गतेदेखि एक सय अंकित मूल्य बराबरको १७ करोड २५ लाख रुपैयाँ बराबरको साधारण सेयरको बिक्री खुला गर्ने छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले लाजिम्पाटमा रहेको सेयर बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल, सि.बी.आई.एल क्यापिटल डिल्लीबजार, काठमाडौं क्यापिटल कमलादी, भिबोर क्यापिटल ललितपुर, गोर्खाज फाईनाइन्सका शाखा कार्यालयहरु बाट आवेदन गर्न सक्नेछन् । साथै, डिल्लीबजार, बौद्ध, न्यूरोड, सातदोबाटो, सुर्यबिनायक, दमक, धरान, ईटहरी, नारायणगढ र बिर्तामोडबाट पनि इच्छुक लगानीकर्ताले सो मात्राको आईपीओमा आवेदन गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार इच्छुक लगानीकर्ताले छिटोमा फागुन २३ गतेसम्म र ढिलोमा चैत ३ गतेसम्म आवेदन दिन सक्ने छन् ।

अध्यक्ष श्रेष्ठद्धारा हिमालयन बैंकको इटहरी शाखा कार्यालयको उद्घाटन

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सोमबार एक समारोहबीच इटहरी शाखा कार्यालयको उद्घाटन गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले उक्त नव निर्मित इटहरी शाखा कार्यालय भवनको उद्घाटन गरेका छन् । उक्त समारोहमा इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष लीलम बस्नेत, इटहरी इलाका प्रहरी कार्यालय प्रमुख नरेश सुवेदी लगायत बैंकका पदाधिकारीहरु तथा कर्मचारीहरुको पनि उपस्थिति थियो । उक्त अवसरमा मन्तव्य राख्दै बैंक सञ्चालक समितिका अध्यक्ष  श्रेष्ठले इटहरीमा बैंकको आफ्नै शाखा कार्यालय भवनको समुद्घाटन गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै बैंकको गतिविधिको जानकारी दिएका छन् । साथै उनले समग्र राष्ट्रिय आर्थिक विकासमा आफ्नो सहभागिता बढाउ“दै लैजान र स्थानीय स्तरमा आर्थिक उत्थानमा सहयोग पुर्याउँदै जान बैंकले विभिन्न सेवा सुविधाको बिस्तारका साथै शाखा विस्तारको कार्यक्रमलाई गति दिंदै जाने बताएका छन् । अतिथीका तर्फवाट इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष लिलम बस्नेतले मन्तब्य दिंदै बैंकको प्रगतिमा बधाई दिदै बैंकका इटहरी शाखा प्रमुख तुल्सी कार्कीले शाखाले पुर्याईरहेको सेवाको जानकारी दिएका छन् । बैंकले यस शाखा भवनवाट ग्राहकहरुलाई लकर सेवा समेत आफ्ना सम्पूर्ण बैंकि¨ सेवा तथा सुविधाहरु उपलब्ध गराउने छ ।