विकासन्युज

मेलम्चीकाे बाँकी ४ किमी सुरुङ खन्न ढिलाई, २६ किमी मध्ये २२ पूरा गरेपछि काममा सुस्तता

काठमाडौं । मेलम्ची खानेपानीको अब ४ मिलोमिटर मात्र सुरुङ खन्ने काम बाँकी छ ।आयोजनाका अनुसार मुख्य सुरुङको २६ मध्ये २२ किमि सुरुङ खन्ने काम पुरा भइसकेको छ । सिन्धु – ग्यालथुङ खण्डको ८ किमि सुरुङमा कमजोर भौगर्भिक अवस्थाका कारण समस्या भएकाले खन्ने काममा ढिलाई भएको आयोजनाले जनाएको छ । सरकारले असोजमा उपत्यकामा मेलम्चीको पानी ल्याउने प्रतिवद्धता जनाइसकेको हुँदा साउनभित्र सुरुङ खन्ने काम पुरा गरिसक्नुपर्ने आयोजनाका उपनिर्देशक रमाकान्त दुवाडीले बताए । कानि्तपुर दैनिकबाट ।

पशुपतिको बर्सेनि अर्बौं रुपैयाँ खेर, आम्दानीको स्रोत र सम्पति हुँदापनि सदूपयोग भएन

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीले गर्नुपर्ने जिम्मेवारी पूरा नगर्दा कोषले बर्सेनि अर्बौं रुपैयाँ गुमाउँदै आएको छ । कोषमातहत रहेको करिब पाँच हजार रोपनी जग्गा कौडीको भाउ र सित्तैंमा विभिन्न निकायलाई दिँदा कोषको आम्दानी गुमेको हो । तिलगंगा आँखा अस्पतालले कोषसँग सम्झौता गरेर लिएको पाँच रोपनी जग्गाको भाडा २२ वर्षसम्म तिरेन । बारम्बारको ताकेतापछि बर्सेनि झन्डै पाँच करोड रुपैयाँ उठ्ने उक्त जग्गाको भाडाबापत अस्पतालले दुई लाखका दरले तिर्न थालेको छ । कोषको सञ्चालक परिषद्का कोषाध्यक्ष तारानाथ सुवेदीले भने, ‘तिलगंगा आँखा अस्पतालले कोषको पाँच रोपनी जग्गा २२ वर्ष सम्झौताअनुरूप आम्दानी शून्यमा राख्यो । पुनरावलोकन गर्दा दुई वर्षयता प्रतिरोपनी ४० हजारका दरले बर्सेनि दुई लाख तिर्ने र बक्यौता किस्ताबन्दीमा तिर्ने सहमति भएपछि ११ लाख रुपैयाँ उठाएका छौं ।’ नागरिक उड्डयन प्राधिकरणले एक हजार रोपनीभन्दा बढी जग्गा व्यावसायिक प्रयोजनमा लगाए पनि कोषलाई वार्षिक जम्मा २२ लाख मात्र तिर्दै आएको छ । पशुपतिको बृहत् गुरुयोजना बनाउने क्रममा आयोजित छलफल कार्यक्रममा सोमबार सुवेदीले भने, ‘अस्पतालजस्तै प्राधिकरणले विमानस्थलका लागि प्रयोग गरेको, पार्किङ र गल्फकोर्टको एक हजार एक सय ६७ रोपनी जमिन व्यावसायिक प्रयोजनमा छ तर कोषलाई प्रतिरोपनी १८ सय रुपैयाँका दरले वार्षिक २२ लाख रुपैयाँ मात्र तिर्छ । हामी मौन छौं ।’ पूर्वसंस्कृतिमन्त्री जीवनबहादुर शाहीले केही महिनाअघि प्राधिकरणले अबदेखि पशुपति क्षेत्र विकास कोषलाई वार्षिक एक करोड रुपैयाँ दिने निर्णय गराएका थिए । कोषले उक्त निर्णयलाई ‘कृपा’ का रूपमा लिएको जानकारी दिँदै सुवेदीले भने, ‘पहल गर्ने हो भने कोषले तिलगंगा अस्पतालबाट बर्सेनि ५ करोड उठाउन सक्छ । कोष विगतदेखि प्रतिपर्यटक एक हजार लिएर वर्षमा उठ्ने ८र१० करोडमा सबै धानिएको भनेर मक्ख छ । त्योभन्दा बढी सोचाइ राखेको पनि छैन ।’ पाशुपत क्षेत्रमा आउने पर्यटक हाल सरदर १५ मिनेट मात्र अडिने गरेको तर बृहत् गुरुयोजना बनाएर काम गर्ने हो भने घन्टौं राख्न सकिने कोषका सदस्यसचिव डा। गोविन्द टन्डनले आफ्नो कार्यपत्रमा प्रस्तुत गरेका छन् । तराईको रौतहट र सर्लाहीमा पूर्वपश्चिम राजमार्गनजिकको आवादीसमेत भए पनि १ हजार १ सय बिघा जमिन कोषले अधीनमा लिनसकेको छैन । पहल गरेर कुत मात्र उठाउने हो भने पनि बर्सेनि अर्ब रुपैयाँ उठ्ने उनको दाबी छ । ‘तराईको के कुरा, गोठाटारको ५ सय ३५ रोपनी जग्गा सरकारले कोषलाई पशुपतिको गुठी कायम गर्न हस्तान्तरण गरे पनि मन्त्रिपरिषद्बाट कोषमार्फत गुठीमा ल्याउन पहलसमेत गर्न नसक्दा अर्बौं रकम यसै खेर गएको छ’, उनले थपे । सुवेदीले भण्डारखाल, आसपास र मृगस्थलीका जग्गाको पनि कुनै सदुपयोग गरेको छैन । ‘पशुपतिनाथ गुठीको भण्डारखाल बगैंचाभित्रको १ सय ३६ रोपनी र पर्खालबाहिर दक्षिणतर्फको झन्डै १५ रोपनी, नवाली टोलको नौ आना र श्लेषमान्तक तथा मृगस्थलीको वन उद्यानबाट बर्सेनि करोडौं आम्दानी हुन सक्ने भए पनि कोषले कुनै काम गरेको छैन’, उनले भने । कोषको लगतमा झन्डै ४ हजार ६ सय रोपनी जग्गा काठमाडौं उपत्यका र आसपासका जिल्लामा रहेको देखिन्छ । ‘कोषसँगै कल्पनै गर्न नसक्ने स्रोत छ तर त्यो त्यसै छ । गम्भीर पहल गर्ने हो भने कोषलाई अर्बौं रकम प्राप्त हुने निश्चित छ । कानुनी प्रश्न र ‘अख्तियारको भूत’ बाट हामी तर्सिएका छौं’, उनले भने, ‘एक्सनमा गएपछि रियाक्सन आउनु स्वाभाविक हो तर कर्मचारी यो सामान्य विषयदेखि पन्छिन्छन् । अख्तियारको भूत पशुपतिमा पनि छ ।’ पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हाल्ने र अख्तियारले पनि बिनाआधार प्रमाण, तर्क र औचित्यहीन उजुरीका भरमा कोषबाट सबै अभिलेख उठाएर लैजाने र बर्सौंसम्म कुनै टुंगो नलगाई अल्मल्याएर राखिदिने गरेकाले त्यस्तो जिम्मेवारीबाट पन्छिने सहज प्रवृत्तिले प्रोत्साहन पाएको उनको भनाइ छ । कर्मचारीको कार्यशैली खुलासा गर्दै कोषाध्यक्ष सुवेदीले भने, ‘तपाईं ९पदाधिकारी० हरू चार वर्षका लागि आउनुभएको हो, हल्लिएर जानोस् भनेर ठाडै भन्ने हैसियतका कर्मचारी पनि भेटिए । कसरी कामको सहयोग पाउने रु ’ यसअघिका पदाधिकारीले पनि कर्मचारी खुसी पार्न उपदान र सेवासुविधाका लागि पशुपतिनाथकै जग्गा बेचेर करिब ५ करोड खर्चिएको उनले खुलासा गरे । उनले प्रश्न गरे, ‘जग्गा बेच्नुको सट्टा १३ वर्षदेखि बहाल उठाउन नसकेको करोडौं रकम उठाउने कुरामा कसैको सोचाइ आएन । असीमित स्रोत छ तर सोचाइ सीमित छ ।’ कामको जिम्मेवारीबाट पन्छिने प्रवृत्ति र कुनै नयाँ काम गर्ने सन्दर्भ आए ‘अख्तियारले यसो गर्छ उसो गर्छ’ भन्दै पन्छिने प्रवृत्ति बढेका कारण आवश्यक कामसमेत हुन नसक्दा अर्बौं रुपैयाँ गुमाउनु परेको तथ्य खुलेको हो । परिषद् सदस्य नवलकिशोर चौधरीले कोषले दाताले जे भने पनि हुन्छ भन्दै जिम्मा लगाएर खुसी मान्ने गरेको बताए । पशुपतिको जग्गा कहाँ कति ? तिलगंगा आँखा अस्पताल– पाँच रोपनी (भाडास् दुई लाख) नागरिक उड्डयन प्राधिकरण (विमानस्थल, पार्किङ र गल्फकोर्ट)– एक हजार एक सय ६७ रोपनी )भाडाः २२ लाख) रौतहट र सर्लाही– १ हजार १ सय बिघा (आम्दानीविहीन) गोठाटार– ५ सय ३५ रोपनी (आम्दानीविहीन) भण्डारखाल आसपास र मृगस्थली– १ सय ५१ रोपनी (आम्दानीविहीन) अन्नपूर्ण पोस्टबाट ।

२ हप्तामा २० लाख पटक हेरियो ‘नाई मलाई थाहा छैन’, उत्कृष्ट भिडियोलार्इ एकलाख पुरस्कार

टिका प्रसाईं र सञ्जीब पराजुलीको स्वर रहेको गीत ‘नाई मलाई थाहा छैन’ (क्लव मिक्स) गीत युट्युबमा सार्वजनिक भएको दुई हप्तामै २० लाख भन्दा बढी पटक हेरिएको छ । पछिल्लो समय युट्युबमार्फत चर्चामा आएको डान्स ग्रुप ‘कार्टुन्ज क्रिउ’ र अर्की चर्चित मोडेल ‘एलिशा राइ’ ले अभिनय गरेको यो भिडियो सार्वजनिक भए पश्चात भने ‘नाई मलाई थाहा छैन’ को क्रेज निकै बढेको छ । हेमन्त रानाको साइली गीत पछि युट्युबमा अत्यधिक चर्चामा रहेको गीत ‘नाई मलाई थाहा छैन’ अहिले सुपरहिट हुँदै भाइरल भएको हो । गायकद्वयको ‘सँगसँगै’ एल्बममा समावेस यस गीतका गीतकार एकनारायण भण्डारी, संगीतकार तथा एरेञ्जर आशिष अविरल हुन् । यसै गीतको पहिलो संस्करणमा ‘बाबा एजुकेशन कन्सलटेन्सी’ को प्रायोजनमा अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता पहिले देखिनै सञ्चालित छ । प्रतियोगितामा भिडियो पठाई सक्नुपर्ने अन्तिम दिन ३१ मार्च २०१७ राखिएको छ । यस प्रतियोगितामा भाग लिने सहभागीहरुमध्ये युट्युब भिवर र जजको मुल्यांकनमा एक समूह अर्थात् उत्कृष्ट एक भिडियोले एकलाख नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागिताको लागि पालन गर्नुपर्ने नियमहरु गायकद्वय सञ्जिब पराजुली ( facebook.com/SanjibParajuli) र टीका प्रसाईं (facebook.com/Tika.Prasain.Music ) को फेसबुक पेजमा राखिएको छ ।

उपभोक्ता दिवस बहिस्कार गर्ने वा नगर्ने विषयमा उपभोक्तावादी वानियाँ र महर्जनबीच चर्काे विवाद

काठमाडौं । मुलुकमा उपभोक्ता निरन्तर ठगिँदै आएका छन् । यसैबीच यसपटकको सरकारले आगामी बुधबार उपभोक्ता दिवस मनाउने तयारी गरिरहँदा उपभोक्तावादीले भने शुक्रबार बढेको ग्यासको मूल्यवृद्धिलाई विषय बनाएर सो दिवस बहिस्कार गर्ने चेतावनी दिएका छन् । उपभोक्ताका दैनिक सास्तीमा प्रायः निरपेक्ष रहने उपभोक्तावादी संघ संस्था विशेषगरी इन्धनको मूल्य बढ्दा भने चर्को विरोधमा उत्रनु स्वाभाविक हो । यसपटक पनि केही उपभोक्तावादी संस्था विरोधमा उत्रिएका छन् । सोमबार आपूर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मलेनमा राष्ट्रिय उपभोक्ता मञ्त्रका अध्यक्ष प्रेमलालले सरकारले ग्यासको सिलिण्डरमा गरेको मूल्य वृद्धि फिर्ता गर्नुपर्ने भन्दै मार्च १५ मा मनाउन लागिएको उपभोक्ता दिवस बहिस्कार गर्ने बताए । मञ्चका अध्यक्ष महर्जनले उपभोक्ता दिवस कै मुखमा मूल्य वृद्धि गर्नु असोभनिय भएकाले मूल्य वृद्धि तत्काल फिर्ता गर्नुपर्ने बताए । उनले भने, ‘सरकार तथा आयल निगमले उपभोक्ता दिवस कै मुखमा उपभोक्तालाई दु: ख दिन मूल्य बढाउनूपर्ने के कारण छ ? आयोजक समितिमा सहभागी व्यवसायिक सस्थाहरुलाई उपभोक्ता अधिकार दिवसको उपलक्ष्यमा आफनो सेवा तथा वस्तुमा थोरै भएपनि मूल्य घटाई राहत महसुस हुने गरी बिक्रि बितरण गर्न हुन अनुरोध गर्ने सरकारले आफै दिवसको पूर्वसन्ध्यामा खाना पकाउने ग्यांसको मूल्य बढाउने काम गरी अत्यन्त गैरजिम्मेवार र अबिवेकपूर्ण काम गरेकोछ ।’ उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले भने महर्जनको कुरामा असहमती जनाए । ‘उपभोक्तासँग जोडिएको विशेष दिन भएकाले हामील सबैले यो दिवस मनाउनुपर्छ,’ उनले भने, ‘मूल्यवृद्धिको निहूँमा उपभोक्ता दिवस नमनाउने कुरा गलत हो ।’ त्यसपछि यसैबीच महर्जन र बानियाँबीच भनाभन चलेको थियो । आपूर्ति मन्त्री दिपक बोहोराले मूल्यवृद्धि र उपभोक्ता दिवस फरक कुरा भएको बताए । उनले भने, ‘मूल्यवृद्धिका विषयमा हामी छुट्टै छलफल गर्न सक्छौं । तर यो उपभोक्ता दिवसलाई सफल पार्न सक्दो सहयोग गर्नुहोला ।’ बोहोराले विदेशबाट महँगो मूल्यमा किनेर सस्तोमा बेच्दा धान्नै नसकेकाले यस्तो निर्णय गरेको बताए । गत शुक्रबार सरकारले ग्यासको सिलिण्डरको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँले बढाएको थियो । सरकारले काठमाडौं बाहेक पनि अन्य ७४ जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उपभोक्ता दिवस मनाउने तयारी गरेको मन्त्रालयले जानकारी दिएको छ ।

नयाँ ‘स्मार्ट लाइसेन्स’ वितरण शुरु, लिखित परीक्षा आगामी शुक्रबार हुने

भक्तपुर । यातायात व्यवस्था विभाग भक्तपुर जगाती कार्यालयले सोमबारदेखि नयाँ ‘स्मार्ट लाइसेन्स’ अर्थात् सवारी चालक प्रमाणपत्र वितरण शुरु गरेको छ । कार्यालयले गत माघ २ गतेदेखि कार्यालय सञ्चालन गरेर सेवा शुरु गरी सवारी चालक अनुमतिपत्रको नवीकरण गर्दै आएको थियोे । सोमबारदेखि नयाँ लाइसेन्सका लागि दरखास्त लिन शुरु गरिएको बताउँदै कार्यालय प्रमुख अनोज घिमिरेले आगामी शुक्रबार बिहान ७ बजे आफ्नै कार्यालयमा लिखित परीक्षा सञ्चालन गरी शनिबार ट्रायल(प्रयोगात्मक) परीक्षा लिइने जानकारी दिए । सर्वोच्च अदालतले निजी ट्रायल सेन्टरमा कार्यालयले ट्रायल लिन नपाउने आदेश दिएपछि विभागले आफ्नै सेन्टरमा सञ्चालन गर्ने भएको छ । घिमिरेले भने-“तत्कालका लागि यातायात अनुमतिपत्रको ट्रायल परीक्षा दुई पाङ्ग्रेको हकमा यातायात व्यवस्था विभागको आफ्नै ट्रायल सेन्टरमा र चार पाङ्ग्रेका लागि नेसनलट्रेडिङ पुतलीसडकको ट्रायल सेन्टरमा व्यवस्था गरेका छौँ ।” रासस

नेपाल टेलिकमको ७ अर्ब ६५ करोड रुपैयाँ बोनस रकम पास, सेयरधनीले चैत १ गतेदेखि पाउने

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को नवौं वार्षिक साधारणसभा फागुन ३० गते काठमाडौमा सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७२/७३ को मुनाफाबाट सेयरधनीलाई ७ अर्ब ६५ करोड बोनस (नगद लाभांश) वितरण गर्ने कम्पनीको प्रस्ताव पारित गरेको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनीहरु मध्ये सेयरपुँजीको आधारमा सबैभन्दा ठूलो कम्पनी नेपाल टेलिकमले रकमको आधारमा सबैभन्दा बढी बोनस वितरण गर्दै आएको छ । चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको यस कम्पनीले सेयरधनीलाई चुक्ता पूँजीको ५१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले लाभांश रकम चैत्र १ गतेदेखि शेयरधनीहरुलाई वितरण गर्ने जनाएको छ । कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्गले साधारणसभामा बोल्दै आर्थिक वर्ष २०७२÷७३ मा सेवा विस्तार, सञ्चालन र वित्तीय दृष्टिकोणले उत्साहजनक रहेको बताए । सो अवधिमा कुल राजस्व ३.६८ प्रतिशतले वृद्धि गरी खुद मुनाफा रु. १३ अर्ब ६८ करोड कायम राख्न कम्पनी सफल भएको बताए । गत आर्थिक वर्षको तुलनामा १५.६५ प्रतिशतले ग्राहक संख्या वृद्धि भएको उनले बताए । गत पुस मसान्तसम्ममा यस कम्पनीको संचित मुनाफा ७८ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । उनले सेवा विस्तारको कार्यलाई नाफामूलक क्षेत्रहरूमा मात्र सीमित नराखी तुलनात्मकरुपमा लगानी बढी हुने अति विकट तथा दुर्गम क्षेत्रहरूमा समेत निरन्तरता दिइराखेको र सावर्जनिक खरिद ऐन, २०६३ को पहिलो संशोधन २०७३ बाट वोलपत्र, खरिद सम्झौता लगायतका प्रावधानमा भएका संशोधनलाई समावेश गर्न कम्पनीको खरिद कार्यविधि मस्यादौ तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । कम्पनीको सेवा विस्तारमा र सेवाको गुणस्तर कायम गर्न अहं भूमिका निर्वाह गर्ने आपूर्तिकर्ता, परामर्शदाता र निर्माण व्यवसायीलाई थप जिम्मेवार भई कम्पनीसँग सहकार्य गर्न अभिपे्ररित गर्न खरिद सम्झौतामा नै यथोचित व्यवस्था मिलाउने गरी प्रकृया शुरु भएको जानकारी दिए । उक्त सभाले आर्थिक वर्ष २०७२।७३ को लागि सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०७३ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आर्थिक वर्ष २०७२/७३ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई छलफल गरी सर्वसम्मतले पारित गरेको छ । यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा लेखापरीक्षण समितिको सिफारिसबमोजिम आ. व. २०७३÷७४ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टड एकाउण्टेण्ट सुबोध कुमार कर्णलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजको पारिश्रमिक समेत पारित गरेको छ ।

टिसीएलको एसीमा ५ वर्षे वारेण्टी अफर

काठमाडौं । गुणस्तरीय उत्पादन सँगै टिसीएलले आफ्ना सबै एसीहरुमा ५ वर्षे वारेण्टी अफर ल्याएको छ । कम्पनीले उपभोक्ताहरुको चाहानालाई मध्यनजर गर्दै आकर्षक प्रस्ताव र योजनाहरु ल्याउने क्रममा उक्त योजना ल्याएको कम्पनीले जनाएको छ । नेपालकालागि टिसीएल ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुपअन्तर्गतको इओएल प्रा लि रहेको छ ।

नेपाल बङ्गलादेश बैंकले दियो दुर्घटना बीमाको ५ लाख रुपैयाँको भुक्तानी

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले भैँसेपाटी शाखाका ग्राहक स्व. सुकुमाया लामाको बीमा रकम ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले उक्त क्षतिपुर्ति रकमको चेक मृतकका छोराहरु मनोजकुमार लामा, रमेशकुमार लामा र सुवर्ण लामालाई हस्तान्तरण गरेको हो । बैंकका नायव महाप्रबन्धक सुरेन्द्रभुषण श्रेष्ठद्वारा एक समारोह बिच हस्तान्तरण गरेका हुन् । बैंकले आफ्ना बचत खातावालाहरुलाई दुर्घटना बीमा सुविधा दिंदै आएको छ । उक्त सुविधा अन्र्तगत खातावालहरुको दुर्घटनामा मृत्यु भएमा खातामा भएको मौजदातको दोब्बर अथवा बढीमा ५ लाख रुपैयाँसम्म रकम क्षतिपुर्ति वापत भुक्तानी गरिने जनाएको छ । यस प्रकारको सुविधा आगामी दिनहरुमा पनि निरन्तरता दिंदै जाने बैंकले जनाएको छ ।