विकासन्युज

पोखरामा पर्यटकको अवैध व्यापार, पर्यटक भिसामा आएर व्यापारदेखि रेष्टुरेन्टको मालिकसम्म

पोखरा । सरकारी अनुगमन नहुँदा पर्यटकीय सहर पोखरामा बसेर अवैध व्यापार गर्ने पर्यटक बढ्दै गएका छन् । पर्यटक भिसामा आएर सडकमा बसेर क्युरियो सामानको बिक्रि गर्नेदेखि रेस्टुराँ र व्यवसायिक रुपमा प्याराग्लाइडिङ गराउने पर्यटकको संख्या बढेको छ । पछिल्लो समयमा भिसा अवधि सकिएर पनि अवैध रुपमा बस्ने पर्यटकको संख्या बढ्दै गएको छ । लामो समय बस्ने पर्यटकका क्रियाकलापहरुको नियमित अनुगमन नहुँदा पोखरामा गैरकानुनी रुपमा बस्ने र अवैध रुपमा कारोबार गर्ने विदेशी पर्यटक बढेका हुन् । कुनै घटनामा संलग्न भएको अवस्थामा पक्राउ परेर अनुसन्धान गर्दा मात्रै प्रहरीले पर्यटक अवैध रुपमा बसेको भेउ पाउने गरेको छ । अन्नपूर्ण पोस्टबाट ।

नेपाल दक्षिण एसियाको तेस्रो खुसी राष्ट्र, खुशी र दुखी १०/१० राष्ट्रको नाम सार्वजनिक

काठमाडौं । नेपाल दक्षिण एसियाकै तेस्रो खुसी राष्ट्रमा परेको छ। संयुक्त राष्ट्रसंघसँग आबद्ध ग्लोबल साइन्टिफिक स्टडिज संस्थाले सार्वजनिक गरेको ‘सन् २०१७ को वल्र्ड ह्याप्पिनेस’ प्रतिवेदनमा नेपालले ४ दशमलव ९६ अंक प्राप्त गरेको छ। विश्वको खुसी राष्ट्रका सूचीमा नेपाल ९९औँ सूचीमा छ। गत वर्ष भने नेपाल विश्वको १०७औँ खुसी राष्ट्रमा थियो। यस वर्ष नेपालले आठ स्थान सुधार गरेको छ। नर्वे संसारकै खुसी राष्ट्र वल्र्ड ह्याप्पिनेस संस्थाको प्रतिवेदनमा युरोपेली राष्ट्र नर्वे संसारको सबैभन्दा खुसी राष्ट्रको सूचीमा परेको छ। गत वर्ष डेनमार्क पहिलो स्थानमा रहँदा नर्वे चौथो स्थानमा थियो। डेनमार्क यस वर्ष दोस्रो स्थानमा झरेको छ। संसारको सबैभन्दा खुसी हुने राष्ट्रको पहिलो ६ स्थानसम्म युरोपेली देश नै छन्। तेस्रो स्थानमा आइसल्यान्ड, चौथोमा स्विट्जरल्यान्ड, पाँचौँमा फिनल्यान्ड तथा छैटौँमा नेदरल्यान्ड छन्। दक्षिण एसियामा पाकिस्तान पहिलो आतंकवादको चपेटामा रहेको पाकिस्तान दक्षिण एसियाकै सबैभन्दा खुसी राष्ट्रमा परेको छ। समग्र विश्वमा भने पाकिस्तान ८०औँ स्थानमा छ। पाकिस्तानले ५।२६ अंक पाएको छ। दक्षिण एसियाको दोस्रो खुसी राष्ट्रमा भुटान रहेको छ। भुटानले ५.०१ अंक पाएको छ। बंगलादेश ४.४६ अंकसहित चौथो र ४.४४ अंकसहित श्रीलंका पाँचौँ खुसी राष्ट्रमा परेका छन्। दक्षिण एसियाकै ठूलो तथा विकसित भारत भने छैटौँ खुसी राष्ट्रमा रहेको छ। भारतले ४.३१ अंक पाएको छ। अफगानिस्तान ३ं.७९ अंकसहित सातौँ खुसी राष्ट्रमा रहेको ग्लोबल साइन्टिफिक स्टडिज संस्थानको प्रतिवेदनमा उल्लेख छ। अमेरिका १४औँ राष्ट्र विश्वकै सर्वाधिक शक्तिशाली राष्ट्र अमेरिका खुसी राष्ट्रको शीर्ष दश स्थानमा समावेश छैन। अमेरिका चौधौँ स्थानमा छ। अमेरिका गत वर्षभन्दा एक स्थान तल झरेको प्रतिवेदनमा उल्लेख छ। अमेरिकाले यसपटक ६.९९ अंक पाएको छ। चीन भने ६.६५ सहित २०औँ खुसी राष्ट्रको सूचीमा छ। दुःखीमध्येको पहिलो खुसी राष्ट्रमा हैटी ग्लोबल साइन्टिफिक स्टडिज संस्थाले १४५औँदेखि १५४औँ स्थानसम्मकालाई विश्वकै दुःखी राष्ट्र मानेको छ। सबैभन्दा दुःखी राष्ट्रमध्येको पहिलो खुसी राष्ट्रमा ३.६३ अंकसहित हैटी छ। दुःखी राष्ट्रको पनि सबैभन्दा दुःखी राष्ट्रमा २.९० अंकसहित बुरुन्डी रहेको छ। सबैभन्दा खुसी राष्ट्र स्थान राष्ट्र अंक १) नर्वे ७.५३ २) डेनमार्क ७.५२ ३) आइसल्यान्ड ७.५० ४) स्विट्जरल्यान्ड ७.४९ ५) फिनल्यान्ड ७.४६ ६) नेदरल्यान्ड ७.३७ ७) क्यानडा ७.३१ ८) न्युजिल्यान्ड ७.३७ ९) अस्ट्रेलिया ७.३१ १०) स्विडेन ७.२८ दुःखी १० राष्ट्र स्थान विश्वमा स्थान राष्ट्र अंक १)१४५ हैटी ३.६३ २) १४६ यमन ३.५९ ३) १४७ दक्षिण सुडान ३.५ ४) १४८ लिबेरिया ३.५३ ५) १४९ गुएना ३.५० ६) १५० टोगो ३.४९ ७) १५१ रुवान्डा ३.४७ ८) १५२ सिरिया ३.४६ ९) १५३ तान्जानिया ३.३४ १०) १५४ बरुन्डी २.९० नयाँ पत्रिका दैनिकबाट ।

गृहले माग्यो चार अर्ब, स्थानीय निर्वाचनलाई आवश्यक सवारी खरिद गर्ने भनाइ

काठमाडौं । गृह मन्त्रालयले स्थानीय तह निर्वाचनको मौका छोपेर सवारीसाधन खरिद गर्न भन्दै ४ अर्ब रुपैयाँ बजेट माग गरेको छ । बैशाख ३१ मा हुने स्थानीय तह निर्वाचन सुरक्षा दृष्टिकोणले चुनौतिपूर्ण रहेको भन्दै गृहले दुई साता अघि अर्थ मन्त्रालयसँग ३१ अर्ब रुपैयाँ बजेट मागेको थियो । ‘आगामी चुनावका लागि करिब एक हजार पाँच सय संख्यामा सवारी साधन खरिद गर्नुपर्ने प्रस्ताव गृहबाट आएको छ ।’ अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने ‘यसका लागि ४ अर्ब रुपैयाँ माग गरिएको छ ।’ नागरिक दैनिकबाट ।

बीमा समूहको परिसूचक ५६७ अंकले बढ्यो, पुँजी वृद्धिबारे गलत हल्ला

काठमाडौं । सोमबार सेयर बजार ४२ अंकले बढ्यो । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५६७ अंकले बढ्यो । प्रिमियर इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, यूनाईटेड इन्स्योरेन्सको सेयर सोमबार १० प्रतिशतले वृद्धि भई कारोबार बन्द भयो भने सगरमाथा इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सेयर क्रमशः ९.९८ र ९.९७ अंकले बढ्यो । सोमबार निर्जीवन सबै बीमा कम्पनीको सेयर ८ देखि १० प्रतिशतले वृद्धि भयो । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सेयर प्रतिकित्ता १८४ रुपैयाँले बढ्यो भने अन्य जीवन बीमा कम्पनीहरुको सेयर मूल्य पनि उच्चदरमा बृद्धि भयो । सोमबार जस्तै, आईतबार पनि सबै बीमा कम्पनीहरुको सेयर मूल्य वृद्धि भएको थियो । बीमा समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्दैछ भन्ने सन्देश बजारमा भइरल झै फैलिएको छ । तर सरकारी अधिकारीहरुले पुँजी वृद्धि सम्बन्धमा चलेको हल्लामा सत्यता नभएको बताएका छन् । पुँजी वृद्धि गर्ने विषयमा पछिल्लो समयमा छलफल समेत नभएको अर्थसचिव शान्तराज सुवेदीले बताए । ‘पुँजी वृद्धि सम्बन्धि निर्णय बीमा समितिले गर्छ । तर समितिले निर्णय गर्नुपूर्व अर्थमन्त्रालयसँग पनि छलफल हुन्छ’ सचिव सुवेदीले विकासन्युजसँग भने–‘पछिल्लो समयमा पुँजी वृद्धिबारे औपचारिक, अनौपचारिक कुनै पनि तहमा छलफल भएको छैन ।’ ‘पछिल्लो समयमा पुँजी वृद्धिबारे औपचारिक, अनौपचारिक कुनै पनि तहमा छलफल भएको छैन ।’ अर्थसचिव शान्तराज सुवेदी   बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले बजारमा चलेको हल्लाको बारेमा आफूले टिप्पणी नगर्ने बताए । ‘पुँजी वृद्धिबारे तपाईसँग मैले जे भनेको थिएँ, विकासन्युजमा प्रकाशित मेरो अन्तर्वार्तामा छापिएको छ, त्यसमा सबै कुरा स्पष्ट बोलेको छु, अहिले मैले भन्नु पर्ने नयाँ कुरा केही पनि छैन’ अध्यक्ष चापागाईले भने । यस लिङ्कमा अध्यक्ष चापागार्इसँगकाे अन्तर्वार्ता पढ्न सकिने छ । पछिल्लो समय बीमा कम्पनीहरुको बारेमा सकारात्मक समाचार प्रकाशित भएकोले सेयर बजारमा सकारात्मक असर परेको हुन सक्ने समितिका सल्हाकार भोजराज शर्माले बताए । ‘कम्पनीको नाफा बढेको, बोनस सेयर आउने, हकप्रद सेयर निश्काशन गर्ने, एफपीओ आउने खालका समाचार आएका छन्, त्यसको असार सेयर बजारमा परेको हुनसक्छ’ शर्माले भने । बीमा ऐन कानुन मन्त्रालयमा अर्थ सचिव सुवेदीका अनुसार प्रस्तावित बीमा ऐनको मस्यौदा भने अर्थमन्त्रालय तयार गरी रायको लागि कानुन मन्त्रालयमा पठाएको बताए । कानुन मन्त्रालयबाट स्वीकृत भई आएपछि मन्त्रिपरिषद्मा पेश हुनेछ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि विधेयक संसदमा पेश हुनेछ । ‘बीमा ऐन अन्तराष्ट्रिय स्तरको बन्दैछ । यसले बीमा क्षेत्रलाई धेरै व्यवस्थित र पारदर्शी बनाउनेछ’ अर्थसचिव सुवेदीले भने ‘बीमा समितिलाई स्वायत्त नियामक निकायको रुपमा अधिकार दिईएको छ । पुँजी वृद्धि, नियमन, अनुगमन लगायत धेरै कार्य गर्न समितिलाई स्वायत्तता दिईएको छ ।’

एस डेभलपमेन्ट बैंकको विलय प्रक्रियासँगै सञ्चालक राजेन्द्र दाहालको राजीनामा किन ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंक प्राप्ति गर्ने सम्बन्धमा विशेष साधारणसभा बोलाएकै दिन एस डेभलपमेन्ट बैंकका सञ्चालक राजेन्द्र प्रसाद दाहालले पदबाट राजीनामा गरेको सूचना वाहिर आएको छ । एक्वाएर गर्ने क्रममा स्वाप रेसियोको विषयलाई लिएर एस डेभलपमेन्ट बैंकका सेयरधनीहरुले असन्तुष्टि व्यक्त गर्दै आएको समयमा यस बैंकका प्रवद्र्धक सेयरधनीको तर्फबाट सञ्चालक दाहालको राजीनामा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । बैंकका अनुसार दाहालले तीन महिना अघि राजीनामा दिएका थिए । उनको राजीनामा चैत ४ गते बसेको सञ्चालक समितिले स्वीकृति गरेको छ । दाहालले राजीनामा पत्रमा व्यक्तिगत कारण जनाएका छन् । ‘म एक फाइक्रोफाइनान्समा संलग्न हुँदैछु । त्यसको लागि सबै प्रक्रिया पुरा गरेर एस डेभलपमेन्ट बैंकबाट बाहिरीएको छु’ दाहालले विकासन्युजसँग भने–‘इन्भेष्टमेन्ट बैंकमा गाभिने विषयमा मेरो तर्फबाट विमति छैन । फागुन ३० गतेसम्म बैंक सञ्चालक समितिले गरेको सबै निर्णयमा मेरो सहमति छ, हस्ताक्षेर गरेको छु र त्यसमा जिम्मेवारी छु ।’ दाहाल साे बैंकमा करिब ५ वर्ष सञ्चालक भए ।

वैशाख १५ भित्र शाखा विस्तार गर्न नेप्सेको निर्देशन

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले तोकिएको मापदण्ड पूरा गरेर शाखा विस्तार गरी संचालन गर्न ब्रोकरलाई निर्देशन दिएको छ । नेप्सेले सेयर दलाललाई विस्तारित शाखा संचालनमा ल्याउनल निर्देशन दिएको छ । नेप्सेका अनुसार अनुमति पाएका कम्पनीले उक्त मितिभित्र स्थापना गर्न नसक्ने भएमा अन्य ईच्छुक सदस्य दलाल कम्पनीहरुलाई शाखा विस्तार स्थापनाका लागि अवसर दिईने छ । नेप्सेले पुँजीबजार विस्तारका लागि मुलुकको विभिन्न भागहरुबाट लगानीकर्ताहरुलाई उनीहरुको बचत परिचालन गर्न सक्षम बनाउनुका साथै दोश्रो बजार पहुँचलाई सहज बनाउने उद्देश्यले विस्तारित शाखा संचालन गर्न निर्देशन दिएको हो । हालसम्म ४१ वटा सदस्य दलालहरुबाट विस्तार तथा संचालन गर्न स्वेच्छिक रुपमा आवेदन प्राप्त भएको नेप्सेले जनाएको छ ।

घर निर्माण घट्दा सुस्तायो विद्युतीय बत्ती व्यवसाय

काठमाडौं । राजधानीमा नयाँ भवनको निर्माण घटेपछि विद्युतीय बत्तीको व्यवसाय पनि सुस्ताएको छ । लोडसेडिङ हटेपछि देशका विभिन्न भाग झीलमील भइरहेको बेला ट्युबलाइट, चीम लगायत बत्तीको खपत भने घटेको छ । अर्डर नआएर तीन महिनादेखि बत्तीको व्यापार सुस्ताएको व्यवसायी बताउछन् । नयाँ भवन निर्माणका कामहरुले गति लिन नसकेकाले बत्तीको माग ३० प्रतिशतले घटेको नेपाल विद्युतिय व्यवसायी संघका महासचिव सुदर्शन प्रसाद पौडेलले बताए । ‘हाम्रो व्यवसायको ठुलो हिस्सा भवन निर्माणसँग जोडिएको छ । जती नयाँ भवन बन्छन्, त्यसैअनुसार अर्डर आउछ,’ उनले भने, ‘अहिले निर्माण तथा पुननिर्माणका कामहरु सुस्ताएका छन् । अहिले बैंकले पैसा दिन नसकेकाले निर्माणका कामहरु हुनसकेका छैनन् । त्यसैले लाइटिङ अप्लाइन्सको कारोबार पनि झरेको छ ।’ संघको तथ्याङ्क अनुसार नेपालभर वार्षिकरुपमा करिब ७५ अर्ब रुपैयाँबराबरको विद्युतिय उपकरणको कारोबार हुनेगरेको छ, जसमध्ये २५ प्रतिशत बत्तीको मात्र रहेको छ । ओपल एलइडी सोरुमका इन्चार्ज बानी सिंहका अनुसार एउटा सोरुमबाट मासिक करिब तीन लाख बत्तीको बिक्री हुनेगरेको छ । परम्परागत चीमको विस्थापन पछिल्लो समय परम्परागतरुपमा प्रयोग भइरहेको चीमलाई सिएफएल, एलइडि लाइट जस्ता नयाँ उपकरणले विस्थापित गरेको छ । लोडसेडिङ हटेपछि उपभोक्ताले विद्युतिय खपत बचाउने तर्फ ध्यान पुर्‍याउन खोजेको व्यवसायी बताउछन् । परम्परागत चीमलाई विस्थापित गर्दै बजारमा सिएफएल (कम्प्याक्ट फ्लोरोसेनट लाइट बल्ब) आयो । तर सिएफएल बल्बले ट्युबलाइटले जस्तो चम्किलो उज्यालो नभएकाले सिएफएलले पूर्णरुपमा उपभोक्तालाई सन्तुष्ट पार्न नसकेको फिलिप्सका मार्केटिङ म्यानेजर राजेन्द्र शाक्यले बताए। उनले पछिल्लो समयमा सिएफएल, चीम र ट्युबलाइटलाई पनि एलइडी (लाइट इमिटिङ डायोड) लाइटले विस्तारै विस्थापन गर्ने देखिएको बताए । उनले भने, ‘अब एलइडीले बजारमा अरु बत्तीलाई विस्थापित गरेको छ । यो सिएफएलको तुलनामा कम विद्युत खपत गर्छ । यसको आयु चार वर्षको हुन्छ ।’ तर एलइडी लाइटको मूल्य भने सामान्य बत्तीको तुलनामा दुई गुणा महंगो हुनेउनले जानकारी दिए । लोडसेडिङ हटेपछिको प्रभाव कात्तिकमा लोडसेडिङ हटेपछि विद्युतिय उपकरणको माग बढेसँगै बत्तीहरुको माग पनि बिस्तारै बढेको उनले बताए । उनले भने, ‘ वैकल्पिक उर्जासम्बन्धी उपकरणले हाम्रो कारोबार ओगटेको थियो । लोडसेडिङ हटेपछि हाम्रो कारोबारमा उल्लेखनियरुपमा सुधार आएको थियो । तर पछि नव निर्माणका कामहरु सुस्ताएपछि हाम्रो व्यापार घट्न थाल्यो ।’    

साना उद्योग सुदृढ नभएसम्म मुलुक आर्थिक रूपमा समृद्ध हुन सक्दैनः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले ग्रामीण क्षेत्रमा रहेका घरेलु तथा साना उद्योगहरू सुदृढ नभएसम्म मुलुक आर्थिक रूपमा समृद्ध हुन नसक्ने बताएका छन् । घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग कुरा गर्दै उनले साना तथा घरेलु उद्योगहरू अर्थतन्त्रको मेरूदण्ड भएको भन्दै आगामी बजेटले यस्ता विषयलाई सम्बोधन गर्ने आश्वासन दिएका छन्। लघु, घरेलु तथा साना उद्योगको विकासका लागि ठोस कार्यक्रम ल्याईने प्रतिबद्धता पनि उनले व्यक्त गरे। नेपालको आर्थिक रूपान्तरण, परम्परागत कृषि पेशालाई आधुनिकीकरण र व्यवसायीकरण नगरेसम्म मुलुकको आर्थिक समृद्घि सम्भव नभएको उनको भनाई थियो । महासंघका उपाध्यक्ष विष्णुबहादुर लुईटेलले आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै लघु, घरेलु तथा साना उद्योगबाट घरघरमा रोजगार र आत्मसम्मान सहितको समृद्घ अर्थतन्त्र निर्माणको आधार भन्ने नाराका साथ महासंघ अगाडि बढिरहेको बताए । स्वदेशी श्रम, पुँजी र कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योगले स्वरोजगारी, रोजगारीका साथै मुलुकको आर्थिक विकास महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै उनले पूँजी, प्रविधि र बजार समस्याका कारण यो क्षेत्रले अपेक्षाअनुसार गति लिन नसकेकोतर्फ ध्यानाकर्षण गराए । यसैगरि महासंघको प्रतिनिधिमण्डलले वाणिज्यमन्त्री रोमी गौचन थकाली, विज्ञानमन्त्री प्रेमबहादुर सिंहसँग पनि छुट्टाछुट्टै भेट गरी आगामी दिनमा नेपालका लघु, घरेलु तथा साना उद्योगको उत्पादन विविधीकरण गर्न चाल्नुपर्ने कदम र कार्यक्रम बारेमा छलफल गरेको थियो । लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धन तथा आगामी २०७४ बैशाख ७ देखि ११ गतेसम्म आयोजना हुने नेपाल १३ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनीका बारेमा समेत छलफल गरेको थियो । प्रतिनिधिमण्डलमा महासंघका सल्लाहकार वासुदेव गिरी, उपाध्यक्ष मोहन कटुवाल, महासचिव डम्बर रेग्मी, कोषाध्यक्ष सत्यनारायण प्रजापतिलगायतको सहभागिता रहेको थियो । सो अवसरमा उद्योगी/व्यवसायीहरूले पूँजी र प्रविधिको अभावमा नेपाली उत्पादनले मूल्य र गुणस्तरमा विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा बजार विस्तार हुन नसकेको भन्दै उनीहरूले नेपाली उत्पादनलाई गुणस्तरीय प्रतिस्पर्धी बनाउन सहज वित्तीय पहुँच, प्रविधिको विस्तार र तालिममा विशेष दिनुपर्नेमा जोड दिँदै आएका छन् ।