विकासन्युज

ज्योति र पूर्णिमाले हकप्रद सेयर निष्कासन गर्ने, अनुमतिका लागि पुगे धितोपत्र बोर्ड

काठमाडौं । ज्योति विकास बैंक र पूर्णिमा विकास बैंकले हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएका छन् । सो प्रयोजनको लागि अनुमति माग्न दुबै बैंक नेपाल धितोपत्र बोर्ड पुगेका छन् । ज्योति विकास बैंकले शतप्रतिशत(एक बराबर एकको अनुपातमा) हकप्रद जारी गर्ने अनुमति मागेको छ । बैंकले अंकित मूल्य १०० रुपैयाँको एक करोड १० लाख ४३ हजार कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले चैत १५ गते धितोपत्र बोर्डमा निवेदन दिएर सिद्धार्थ क्यापिटल मार्फत एक अर्ब १० करोड ४३ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न अनुमति मागेको हो । त्यस्तै, पूर्णिमा विकास बैंकले पनि २५ प्रतिशत (४ बराबर १ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्न बोर्डको अनुमति मागेको छ । बैंकले अंकित मूल्य १०० रुपैयाँको ८ लाख ८० हजार ९६२ कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो । कम्पनीले चैत १६ गते धितोपत्र बोर्डमा निवेदन दिएर सिद्धार्थ क्यापिटल मार्फत ८ करोड ८० लाख ९६ हजार रुपैयाँ बराबरको हकप्रद जारी गर्ने निर्णय गरेको छ ।

फैलँदो कफी कल्चरबाट उत्साहित बन्दै किसान र कफी व्यवसायी

काठमाडौं । नेपाली जनजीवनमा कफी सेवन सोखको रुपमा विकासित भैरहँदा बजारमा पनि कफी व्यवसाय एकदमै फस्टाएको छ । व्यापारमा कफिको मात्रा बढेसँगै कफीको व्यवसायीक खेतिप्रति पनि किसानहरु आकर्षित भएका छन । नेपालमा कफी कल्चर भित्र्याउने श्रेय हिमालयन जाभालाई जान्छ । यसको स्थापना १९९९ मा काठमाडौंमा भएको थियो । व्यवसायी गगन प्रधानले कमलादी स्थित हेरिटेज प्लाजामा रातो सटर भाडामा लिएर करिब ४० सिट क्षमताको हिमालयन जाभा कफी सप खोलेका थिए । त्यसपछि पहिलो ब्रान्च सन २००४ मा काठमाडौं गेष्ट हाउस ठमेलमा खोले । हाल उपत्यकामा १६ वटा र पोखरा तथा चितवनमा पनि शाखा छन । कफी पिउन गएका कविता बरालका अनुसार त्यहाँ कफी पिउन जानेहरुका लागि ३० मिनेट वाइफाइ सेवा निःशुल्क छ । हालै बजारमा नेपालीमा उत्पादन गरिएका कफिहरुको बढि प्रयोगमा आएका छन । प्रयोगमा आउनुको साथसाथै कफि खेति पनि निकै फस्टाएको छ । अभिनास प्रयासका अनुसार अहिले लगभग २००० जनाले एउटा कफि सपमा दैनिक कफिको स्वाद चाख्छन् । कफी पिउने प्रचलन चीनबाट सुरु भएसँगै अहिले संसारभर व्यापक छ । संसारभर कफि पिउनेको आकर्षण संगै नेपालमा पनि कफि पिउनुलाई शौखको रुपमा लिने भएकोले यस प्रतिको आकर्षण नयाँ पुस्तादेखि हेरेक पुस्तामा देख्न सकिन्छ । कफि पिउँदा फ्रेस भइने इनर्जी दिने र पिउने वित्तिकै प्रतिक्रिया पाइने हुदा यस प्रति आकर्षण बढेको हो । नेपालमा गर्मी तथा जाडो दुबै मौसममा कफिको ब्रिक्रिा समान हुने गरेको कफि व्यवसाय प्रयासले बताएका छन । नेपालमा कफी प्रतिको आर्कषण सँगै नेपाली बजारमा केहि कफीका प्रकारहरु प्रसिद्ध रहेका छन । जसमध्ये हिमालयन जाभा र क्यापाचिनो प्रसिद्ध छन् । नेपालमा हाल कफीको व्यसायीक खेति काभ्रे, नुवाकोट ,गुल्मी, पोखरा लगाएतका जिल्लाहरुमा रहेका छ । कफी उत्पादनसँगै यसको प्रयोग ६ महिना देखि एक वर्ष भित्र गरिसक्नु पर्ने कफी व्यवसायी विष्णु पराजुलीले बताए । यसरी उत्पादन गरीएका कफीको माग वढे सँगै कफि कल्चर पनि बढेको छ । (प्रशिक्षार्थी)

नेपाली भूभागमा तारबार लगाउँदा भारतीय एसएसबीको अवरोध

बर्दिया । राजापुरस्थित ८६ र ८७ नं सीमा स्तम्भको ८० मिटर उत्तर नेपाली भूभागमा तारबार लगाउँदा भारतीय सुरक्षाकर्मी एसएसबीले विरोध गरेका छन् । चैत १६ र १७ गते नेपाल-भारत सीमा छुट्याउने अन्तर्राष्ट्रिय सिमानामा पर्ने दशगजाबाट करिब ८० मिटर उत्तरको नेपाली भूमिमा तारबार लगाउँदा एसएसबीले अवरोधको प्रयास गरेका थिए । स्थानीयवासीको प्रतिवादपछि एसएसबीको अवरोध तोड्दै नेपाली भूभागमा तारबार लगाउने काम भइरहेको छ । जिल्लाको राजापुर नपा र गेरुवा गाउँपालिकाको सीमावर्ती क्षेत्रमा भारतीय जङ्गलबाट आउने हात्तीलगायत जङगली जनावर रोक्न विद्युतीय तारबार लगाउने क्रममा एसएसबी नेपालभित्र छिरेर रोक्ने प्रयास गरेको हो । सीमा स्तम्भ नम्बर ८६ र ८७ बीच नेपाल भूमिमा विद्युतीय तारबार लगाउने क्रममा एसएसबीले स्थानीयवासीलाई धम्काउँदै रोक्ने प्रयास गरेका थिए । तारबार रोक्न एसएसबी हतियारसहित नेपाली भूमि प्रवेश गरेको स्थानीयवासीको भनाइ छ । एसएसबीले तारबार लगाए ज्यान मार्ने धम्की दिएको स्थानीयवासी विष्णु रिजालले बताए । घटनालगत्तै राजापुरस्थित सीमा सुरक्षा सशस्त्र प्रहरी बल त्यहाँ पुगेको थियो । सशस्त्र प्रहरी बल राजापुरका सशस्त्र प्रहरी निरीक्षक प्रकाश रानाले संयुक्त नापी टोली नआएसम्म दशगजादेखि करिब सय मिटर उत्तर नेपाली भूभागमा तारबार लगाउन सहमति भएको जनाए । प्रनि रानाले भने एसएसबी हतियारसहित नेपाल प्रवेश नगरेको बताएका छन् । नेपाली भूभागभित्र तारबार लगाउन नपाउने भारतीय सुरक्षाकर्मीको हेपाहा प्रवृत्तिले स्थानीयवासी आतङ्कित भएको भिम्मापुरका लालबहादुर चौधरीले बताए । निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमअन्तर्गत सीमावर्ती खैरीचन्दनपुरबाट राजापुरसम्म करिब २७ किमी क्षेत्रमा भारतबाट प्रवेश गर्ने जङ्गली जनावरबाट हुने क्षति कम गर्न तारबार लगाउने काम भइरहेको छ । रासस

नयाँ धरहरा निर्माणका लागि अध्ययन पूरा, निर्माण लागत करिब रु दुई अर्ब ८० करोड लाग्ने

काठमाडौं । पूरातत्व विभागले धरहराको पुनःनिर्माणका लागि करिब रु दुई अर्ब ८० करोडको लागत अनुमानको अध्ययन गरेको छ । विभागले नयाँ धरहराको नक्साङकन, डिजाइन र अनुमानित लागत तय गरेपछि त्यसको निर्माण सम्पन्न गर्दा सम्मको लागत अनुमान गरिएको हो । अध्ययन प्रतिवेदनअनुसार करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको स्थानमा निर्माण गरिने धरहरा दुईसय ४५ फिट अग्लो हुनेछ । घुम्न आउने स्वदेशी तथा विदेशीका लागि मनोरम बगैँचा तथा अन्डरग्राउन्ड पार्किङको समेत व्यवस्था गरिने भएको छ । विभागले अब बन्ने धरहरालाई पछिल्लो समय विकसित भएका प्रविधिको समेत अत्यधिक उपयोग गरी बलियो बनाउने विषयमा पनि अध्ययन गरिरहेको थियो । गतवर्ष २०७२ बैशाखको भूकम्पका कारण क्षतिग्रस्त सो सम्पदाको संरचना अहिलेको अवस्थामा कस्तो हुनुपर्ने भनेर विभागले गरेको अध्ययनमा आधुनिक सामग्रीको उपयोग गरी पुरानै शैलीमा विकास गरिने निस्कर्ष निकालिएको छ । विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार सो अध्ययन प्रतिवेदन एक साताभित्र नेपाल टेलिकमलाई हस्तान्तरण गरिनेछ, सोही प्रतिवेदनका आधारमा उक्त सम्पदा सो संस्थाले निर्माण गरिदिनेछ । टेलिकमले धरहरा पुनःनिर्माण गर्ने प्रतिबद्धता गरेलगत्तै विभागले त्यसको अध्ययन सुरु गरेको थियो । टेलिकमले सोही रकमको परिधिभित्र रही निर्माण तथा खर्च गर्नुपर्ने हुन्छ । सोही भूकम्पमा काठमाडौँ उपत्यकाका अन्य विभिन्न महत्वपूर्ण सम्पदामा समेत क्षति भएको थियो । रासस

कल खाताको पैसा झिकेर सेयर बजारमा, एक सातामा बैंक निक्षेप ७ अर्बले घट्यो

काठमाडौं । वाणिज्य बैंकहरूमा एक साताको अवधिमा ७ अर्ब रुपैयाँले निक्षेप संकलन घटेको छ । चैत ४ गतेसम्म वाणिज्य बैंकहरूमा १९ खर्ब ५३ अर्ब निक्षेप संकलन भएकोमा एक साता अर्थात चैत ११ गतेसम्म निक्षेप संकलन घटेर १९ खर्ब ४६ अर्बमा झरेको छ ।  माघ २० गते ‘क’ वर्गका बैंकहरूसँग यस्तो निक्षेप १९ खर्ब ३६ अर्ब थियो । सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै वाणिज्य बैंकहरूको निक्षेप संकलन घटेको हो । चैत पहिलो सातासम्म दैनिक ३०/३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार हुने गरेकोमा चैतको दोस्रो साता दैनिक करिव ढेड अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तो छ बैंकहरूको कर्जा प्रवाह र निक्षेप संकलनको अवस्था गते/महिना             निक्षेप            कर्जा २० माघ              १९३६            १६१७ २५ माघ             १९४१            १६२५ ६ फागुन          १९४२            १६२६ २० फागुन        १९४१            १६३१ २७ फागुन        १९४४           १६२९ ४ चैत               १९५३            १६३० ११ चैत             १९४६            १६३२ सेयर बजारको आकर्षणले बैंकहरूमा डिपोजिट रकम घट्न गएको विश्लेषकहरूको भनाइ छ । बैंकहरुले कल एकाउन्टको व्याजदर घटाउन थालेपछि सो रकम पुँजी बजारमा आउन थालेको ब्रोकर्स संघका पूर्व अध्यक्ष अन्जनराज पौडेलले बताए । लगानी योग्य पुँजीको अभावका कारण विगत तीन महिनायता सबै प्रकारका कर्जा प्रवाह रोकका बैंकहरूले पछिल्लो समय साना कर्जाहरू दिन थालेका छन् । यसले गर्दा कर्जा प्रवाह पनि बढेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले जानकारी दिए । चैत ४ गतेसम्म १६ खर्ब ३० अर्ब कर्जा लगानी भएकोमा ११ गते आइपुग्दा कर्जा प्रवाह २ अर्ब रुपैयाँले वृद्धि भएको छ । लगानी योग्य पुँजी अभावका बेला बैंकहरूले साना व्यवसायमा लगानी गर्न शुरु गरेपनि निक्षेप भने पछिल्लो घट्दो र कर्जा लगानी बढ्दो क्रममा रहेको छ । गत माघ २० गते १६ खर्ब १७ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाको लगानी प्रवाह १५ अर्बले बढेर अहिले १६ खर्ब ३२ अर्ब पुगेको छ ।

रानीपोखरीको ठेक्का लाग्यो तर कार्यक्रम स्वीकृत भएन

काठमाडौं । ऐतिहासिक महत्वको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर निर्माणका लागि पुरात्व विभागले फागुन १२ गते नै टेण्डर आव्हान गरेको थियो । विभागले १५ दिने अवधी तोकेर एक करोड २६ लाख १४ हजार ९ सय ९५ रुपैंया(भ्याट बाहेक)को टेण्डर खोलेको थियो । एक दर्जन भन्दा बढि कम्पनीहरुले आवेदन पनि दिएका छन् । यतिबेला टेण्डर अनुसार निर्माण कर्ता कम्पनी छनौटको अन्तिम तयारी भैरहेको छ तर राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले अझै कार्यक्रम स्वीकृत गरिदिएको छैन् । ‘हामीले ३ महिना अघि नै फाइल पठाएका थियौं, पछिल्लो पटक फेरी पनि केहि परिमार्जन गरेर फाइल पठाएका छौं तर अझै स्वीकृत भएको छैन्’, पुरातत्व विभागका एक इञ्जिनियरले विकासन्युजसँग भने । तर राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुषालले भने रानीपोखरीको बालगोपालेश्वर मन्दिरको कार्यक्रम केहि दिन भित्रै स्विकृत हुने दावी गरे ।‘हामी अध्ययनको अन्तिम चरणमा पुगेका छौं, एक दुई दिनभित्रै कार्यक्रम स्विकृत हुन्छ र बजेट निकासा गरिन्छ’, प्राधिकरणका प्रवक्ता भुषालले विकासन्युजसँग भने । मन्दिरको फाउण्डेशनमा सिमेन्टले ढलान गर्नेकी नगर्ने भन्ने विवादका कारण मन्दिर निर्माण अघि नबढेको हो । काठमाडौं महानगरपालिकाले बनाएको फाउण्डेसनलाई जस्ताको त्यस्तै उपयोग गर्ने र त्यसमाथीको संरचना भने पुरातत्विक महत्वको बनाउने विभागको तयारी छ । तर प्राधिकरणले भने युनेस्कोले खतराको सूचिमा राख्ने चेतावनी दिएकाले ढलान गर्न नहुने बताउँदै आएको छ । काठमाडौं महानगरपालिकाले यस अघि नै ६ करोड २९ लाखको लागतमा रानी पोखरी पुर्ननिर्माण अघि बढाएको थियो । तर सिमेन्ट, छड र नयाँ निर्माण सामग्री प्रयोग गरेको भन्दै युनेस्कोले आपक्ति जनाएको थियो । युनेस्कोको आपक्ति पछि बालगोपालेश्वर मन्दिर भने पुरातत्व विभाग आफैंले बनाउन लागेको हो । पुरातत्व विभागले पनि पुरातात्विक महत्व जोगाउन नचाहेका आशंका व्यक्त गर्दै प्राधिकरणले कडाई गरेको बताएको छ । विभागले भने जस्ताको त्यस्तै दुरुस्तै भन्ने मान्यताका साथ बलियो संरचना बनाउन लागिपरेको बताउँदै आएको छ । तत्कालिन राजा प्रताप मल्लले १६७० सालमा पुत्र वियोगमा परेकी रानीको वियोगलाई भुलाउन रानीपोखरी निर्माण गरेका थिए ।

अब काठमाडौंको आकाशमै प्याराग्लाइडिङ, पोखरामा अनुमति रोकिएपछि काठमाडौं डाँडातर्फ उडान

काठमााडौं । पछिल्लो समय सरकारले पोखरामा प्याराग्लाइडिङको उडान अनुमतिका लागि नयाँ इजाजतपत्र रोकेपछि यी कम्पनी सहर नजिकका डाँडाँसम्म आइपुगेका छन् । ‘पोखरामा उडान अनुमति नपाएपछि दुई महिना अगाडि मात्रै भक्तपुरबाट उडान गर्ने गरी एउटा कम्पनीले अनुमति पाएको छ । अहिले फेरि शिवपुरीबाट प्याराग्लाइडिङ गर्न आवेदन परेको छ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालल भने । अनुसार शिबपुरिबाट काठमाडौंतर्फ उडान गर्न शिवपुरी प्याराटे«कले अनुमति मागेको छ । यो कम्पनीको फाइल सदर भएर निर्णयको लागि अगाडि बढिसकेको छ । यसले अनुमति पाउने अन्तिम चरणमा रहेको उनले जानकारी दिए । यो कम्पनीले शिवपुरीबाट काठमाडौको आकाशमै उडान गर्ने भएको छ । पछिल्लो समय नेपालमा आउने विदेशी पर्यटकको साहसिक पर्यटनमा रुची बढेकोले पनि प्याराग्लाइडिङ तथा अन्य साहसिक पर्यटकीय गतिविधि बढ्न थालेको उल्लेख छ । पोखरामा अनुमति रोकिएपछि, स्याङजा, धरान, बन्दिपुर, पाल्पामा एकदुईवटा कम्पनी जान थालेका छन् । यी क्षेत्रमा व्यवसायीक संभावना भएपनि प्रवद्र्धन गर्न नसक्दा पर्यटक पुग्न सकेका छैन । काठमाडौंमा हुने यस्ता साहसिक गतिविधिमा भने पर्यटक आकर्षण गर्न सकिने पर्यटन मन्त्रालयको हवाई उडान महाशाखाको भनाइ छ । पछिल्लो समय ललितपुरको लाकुरीभञ्यांङमा पनि प्याराग्लाइडिङ संचालनको लागि अनुमति पाएका थिए । तर, त्यो ठाउँबाट काठमाडौंतर्फ उडान गर्न भने हवाई रुटमै परेकोले व्यवसायिक रुपमा सफल हुन सकेन । पछिल्लो सयम फेरि काठमाडौंलाई नै दृष्टिगत गरेर इचङ्गुनारायण, शिवपुरी, भक्तपुरसहितका स्थामा प्याराग्लाइडिङको अनुमति आउन थालेको छ । यसले साहसिक पर्यटनमा संभावना देखाएको पनि पर्यटन मन्त्रालयको भनाइ छ । नेपालमा हाल प्याराग्लाइडिङ प्रशिक्षण स्कूल, अल्ट्रालाइट र प्याराग्लाइड गरी नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई उड्डयन सुरक्षा विभागबाट मात्रै वटा ७३ वटा कम्पनीले अनुमति लिएका छन् । यस मध्ये बन्दिपुरको ब्लू स्काई र स्याङ्जाको बाबु एडभेन्चर प्रशिषण स्कूल हो । पोखरा, फिस्टेल र एभिया क्लव गरी तीन अल्ट्रालाईटका कम्पनी छन भने बाँकी सबै प्याराग्लाइडिङ कम्पनी हुन । मन्त्रालयबाट अनुमति प्राप्त प्याराग्लाइडिङका कम्पनीमध्ये स्याङ्जा, सुर्खेत र बन्दिपुरमा एकएकवटा, धरान र काठमाडौमा.दुईदुईवटा रहेको छन भने बाँकी सबै कम्पनी पोखरामा रहेका छन् । पोखराको सराङकोटबाट उडान गर्ने प्याराग्लाइडिङ कम्पनी १९ वटा रहेका छन भने बाँकी सबै कम्पनी तोरेपानीमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । किनबेचका लागि पनि नयाँ इजाजत ! प्राधिकरणको हवाइ उड्डयन सुरक्षा विभागका अनुसार कम्पनीको किनबेच भएको सुचना आउने पनि थालेको छ । अनुमति लिएर संचालन नआएका कम्पनीले ३० देखि ४० लाख रुपैयाँसम्म विक्री भएको सूचना आएको भएपनि कुनै पनि कम्पनीको स्वामित्व परिवर्तन भएको जानकारी नआएको उड्डयन सुरक्षा विभागको उडान अनुमति शाखाको भनाइ । शाखाका अनुसार कम्पनीको स्वामित्व परिवर्तन भएको जानकारी जरुरी नभएको र उद्योग विभागमा जानकारी दिए पुग्ने भएकोले पनि प्राधिकरणमक्ष नआएको हुनसक्ने उल्लेख छ । प्राधिकरण स्रोतका अनुसार कम्पनीको किनेबेच हुनु सामान्य भएपनि अनुमति लिनकै लागि हुने यस्तो विक्रीले भने प्याराग्लाइडिङको भविष्यप्रति नै प्रश्नचिन्ह उठाउने उल्लेख छ । मनोरञ्जनपूर्ण हवाई खेल अन्र्तगत इन्जिन जोडिएर वा नजोडिकन हावाको माध्यमबाट तैरिने खेलका रुपमा प्राधिकरणले हवाई खेलकूदका संस्थालाई अनुमति दिने गरेको छ । यस अन्तर्गत अल्ट्रलाइट, माइक्रोलाईट, प्यारामोटर, स्ट्रङ प्याराग्लाइडर, स्काइमोटरसहितका कम्पनी पर्छन् । यसलाई संचालन गर्न निवेदन दस्तुरवापत ५ हजार, बैंक धरौटि ५ लाख, इजातज शुल्क बापत ५० हजार तथा चुक्ता पूँजी १ करोड हुनुपर्ने प्रावधान मन्त्रालयले तोकेको छ ।

मानव संशाधन सम्मेलन सम्पन्न,विभिन्न क्षेत्रका २५० काे सहभागिता

काठमाडौं । मानव संशाधन सम्मेलन २०१७ काठमाडौ‌मा सम्पन्न भएको छ ।  सन् २००८ देखी संचालन हुँदै आएको ग्रोथसेलर्स कनसल्टेन्सी प्रालि को आयोजनामा भएको यो सम्मेलन मानव संशाधन भेलाको दशौ संस्करण हो । यस कार्यक्रममा मानव संशाधन समुदायलाई एउटै मन्चमा ल्याएर बिभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा ख्याती प्राप्त विज्ञहरुको उपस्थितीमा सससामयिक बिषयमा वारेमा विचार, जानकारी तथा अन्तरराष्ट्रिय राष्ट्रिय रुपमा प्रचलनमा रहेका सान्दर्भिक बिषयका बारेमा बिचार, जानकारी आदान प्रदानका सत्रहरु तथा मस्तिष्कमन्थन र गहन अन्तरकृया हुने गरेको छ । यस वर्षको प्रमुख आकर्षण भारतका प्राडा टीभी राओ, आई एस् एफ इरुदयराज, चन्द्रकुमार शेखर र स्वदेशी श्रोत ब्यक्तीहरुमा राष्ट्रिय योजना आयोगका माननिय सदस्य डा स्वर्णिम वाग्ले, राष्ट्रिय पुनरनिर्माण प्राधिकरणका मुख्य कार्यकारी अधीकृत डा गोबिन्द राज पोख्रेल, पंकज श्रेष्ठ, अजय मिश्र, मनिष झा, सुश्री मुन गुरुंग, अन्तर्राष्ट्रिय श्रम संगठनका श्री रिचार्ड हावार्ड, रभी के सी, आशुतोष तिवारी, डा सान्दुक रुईत, देवाशिष हाईत, बिना राना, समीर काईवर रहेका थिए । यो सम्मेलनमा बिभिन्न क्षेत्रका गरेर २५० भन्दा जनाको सहभागिता रहेको थियो। यस कार्यक्रमका प्रमुख अतिथी काठमाण्डु विश्वबिद्द्यालयका डिन प्राध्यापक सुबास के सी ले सम्मेलनको उद्घाटन गरे । उक्त कार्यक्रममा लेखक द्वय मोहन ओझा र मनोहर मान श्रेष्ठको पिपल पावरः एक्सेलिङ ह्युमन रिसोर्सेज नामक संग्रह पनि बिमोचन गरे। यस कार्यक्रमका शीर्ष प्रायोजक निम्बल ईन्फोसिस प्रालि र डि ए भी कलेज अफ म्यानेजमेन्टको सहप्रायोजनका साथै नेपाल टेलीकम, सी ई कन्स्ट्रक्सन, सिद्धार्थ अवकाश कोष, मेट लाईफ, सगरमाथा ईन्स्युरेन्स, रेनल्ट, फ्याक्ट नेपाल, र वाटरकम का साथै अन्य संस्थाहरुको सहयोग रहेको थियो।