बस्तुगत तर्फ अनुप मल्लको छुट्टै प्यानल
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा अनुप बहादुर मल्लले छुट्टै प्यानल दर्ता गरेका छन् । मल्लले बस्तुगत तर्फको उपाध्यक्षसहित ६ जना कार्य समिति सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । मल्लको समुहबाट फेल्ट एसोसियसनका नरेशलाल श्रेष्ठ, नेपाल मत्स्य व्यवसायी संघका तर्फबाट तुल्सीराज गिरी, नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका सुरज बज्राचार्य, फ्रेड फरवार्डर्स एसोसियसनका प्रकाश सिंह कार्की, केमिकल तथा मेडिकल इक्युपमेन्ट सप्लाई एसोसियसनका भक्त बहादुर हमाल र पशुपंक्षी व्यवसायी संघका हेमराज बरालले केन्द्रिय कार्यसमिति सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । केन्द्रिय कार्यसमिति सदस्यमा उम्मेदवारी दर्ता गरेका मत्स्य व्यवसायी संघका अध्यक्ष तुल्सीराज गिरीले आफुहरुले निर्वाचन जित्ने दावी गर्दै कुनै हालतमा उम्मेदवारी फिर्ता नगर्ने बताए ।
होण्डाको ‘खुसीको वर्ष’ नेपाली बजारमा, स्क्रयाचमा कुपनमा रु १ लाख सम्मको नगद छुट
काठमाडौं । होण्डा मोटरसाइकल तथा गाडीका लागि नेपालका एकमात्र अधिकृत विक्रेता तथा नेपालकै एक अग्रणी कम्पनी स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले आफ्नो नयाँ वर्ष स्किम “खुसीको वर्ष” बजारमा ल्याएको छ । यस स्किम मार्फत कम्पनीले आफ्ना ग्राहकहरु तथा समस्त नेपालीहरुलाई नयाँ वर्षको शुुभकामना व्यक्त गर्दै आकर्षक योजनाहरु प्रस्तुत गरेको छ । यस स्किम अन्तर्गत होण्डाका ग्राहकहरुले विभिन्न नगद उपहार तथा सुविधाहरु जित्ने अवसर पाउने छन् । होण्डा मोटरसाइकल वा स्कुटरको खरिदमा ग्राहकहरुले स्क्रयाच कुपन मार्फत रु. १ लाख सम्मको नगद छुटका साथै असीमित अविधिसम्म ५ वर्षको लागि स्पेयर पार्टस्मा १० प्रतिशत छुट र ५६०० रुपैयाँ बराबरको ५ वर्षको निःशुल्क सर्भिस कुपन प्राप्त गर्ने सक्नेछन् । हरेक चाडबाडको समयमा झै यसपाली पनि यस प्रकारको उपहार योजनाले ग्राहकमा खुसियाली ल्याउनेमा कम्पनी विश्वस्त छ ।
अध्यक्षको कोठामा तीन वटा कुर्सी राखेपछि महासंघ कमजोर भयो-सुरज बैद्य
म २७ वर्षदेखि निरन्तर नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध भएको छु । बास्तवमा म मेरो श्रीमतीसँग भन्दा महासंघसँग नजिक छु । मैले श्रीमतीलाई भन्दा बढी समय महासंघलाई दिएको छु । म आज विगतको बारेमा केही बोल्छु । इतिहास विर्सने मान्छे नेता बन्न सक्दैन, अगाडि बढ्न सक्दैन । महेशलाल प्रधान महासंघको अध्यक्ष हुँदा महासंघको अफिसमा कोठा भन्दा ठूलो टेबुल थियो । भनाईको मतलब टेबुल ठूलो होइन, टेबुलको तुलनामा कोठा धेरै सानो थियो । महासंघको अफिस सारै सानो थियो । उहाँले अफिस ठूलो र व्यवस्थित बनाउन जोड दिनु भयो । पञ्चकन्य ग्रुपले ठूलो सहयोग गर्यो । मेरो बुबाले पनि महत्वपूर्ण सहयोग गर्नुभयो । अरु धेरैले सहयोग गरे । त्यतिबेलाको सचिवलय धेरै राम्रो बन्यो । महेशलाल अध्यक्ष भएको बेलामा भारतले नेपालमा नाकाबन्दी गर्यो । मलाई याद छ, त्यो बेला नेपाल वायुसेवा निगमले बेलुका भएपछि सबै सिट निकालेर बंगलादेशबाट तेल बोकेर नेपाल ल्याउँथ्यो । महेशलाल यस्तो महासंघको अध्यक्ष हुुनुहुन्थ्यो जसले निजी क्षेत्रको उद्योग बन्द हुनु हुन्न र सामान आवत जावत गर्नु दिनुपर्छ भनेर जोड दिनु भयो । त्यतिबेला रमेशनाथ शर्मा वाणिज्य मन्त्री हुनुहुन्थ्यो । महासंघका अध्यक्ष महेशलालको जोडबलमा नाकाबन्दीको समयमा पनि निजी क्षेत्रलाई डिजेल उपलब्ध गराउनुभएको थियो । त्यतिबेला देशमा त्यत्रो समस्या हुँदा पनि हाम्रो उद्योग चले । महासंघको ठूलो काम थियो त्यो । मलाई अझै याद छ, विनोद चौधरीको कार्यकाल । उहाँको नेतृत्वमा महासंघको भवन बनाउँन पहल भयो । उहाँले मोहन गोपाल खेनातलाई विशेष स्थान दिएर पैसा संकलन गर्नुभयो । हामीले जग्गा किन्यौ र भबन बनायौ । त्यहि भवनमा महासंघको अहिलेको सचिवालय बसेको छ । पद्म ज्योति अध्यक्ष भएको समय पनि ऐतिहासिक रह्यो । उहाँले भारतीय लगानी नेपाल भित्र्याउनु भनेर महासंघ र सीआईआईसँग मिलेर संयुक्त आर्थिक परिषद् स्थापना गर्नुभयो । भारतीय लगानी भित्र्याउने र निर्यात बढाउने त्यतिबेलाको उदेश्य थियो । डावर नेपाल, यूनिलिभर, सूर्य नेपाल लगायत कम्पनी नेपालमा स्थापना हुनुमा उहाँको ठूलो देन छ । उहाँकै पालामा नेपाल भारत व्यापार सम्झौता भयो । सम्झौता गर्न जाने टोलिमा म पनि थिए । त्यो काम त्यति सजिलो थिएन, बडो अफ्ठारो अवस्था थियो । नरसिंह राव भारतका प्रधानमन्त्री हुनुहुन्थ्यो, नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्थ्यो । दुई देशका प्रधानमन्त्रीसँगै निजी क्षेत्रका प्रतिनिधि उभ्याएर त्यो सम्झौता भयो । दुई देशबीचको सम्झौतामा निजी क्षेत्र प्रत्यक्ष सहभागि गराईएको त्यो पहिलो घट्ना थियो । महासंघको छवि त्यति राम्रो भएको थियो । आन्दराज मुल्मीको समयमा महासंघ फुट्ने अवस्था आयो । रविभक्त र प्रदिप श्रेष्ठबीच चुनाव हुने संभावना थियो । विवाद यसरी चर्कियो कि महासंघ फुट्छ नै भन्ने स्थिति भएको थियो । तर उहाँले आफ्नो पक्षको अध्यक्षका उम्मेदवार रविभक्तलाई बसाएर, प्रदिपकुमार श्रेष्ठलाई निर्विरोध अध्यक्ष बनाउनु भयो । नेतृत्वमा हुनु पर्ने गुण त्यो हो, आनन्ददाईले देखाउनुभयो । प्रदीप कुमार श्रेष्ठ एकदमै योग अध्यक्ष । उहाँले धेरै राम्रो काम गर्नुभयो । ट्रेड यूनियन दिवस मनाउने उद्योग दिवस नमनाउने भनेर उहाँले सरकारलाई प्रश्न गर्नुभयो । उहाँकै पालादेखि हो उद्योग वाणिज्य दिवस मनाउन शुरु भएको । रविभक्त श्रेष्ठ महासंघको अध्यक्ष भएकै समयमा उहाँ मन्त्री बन्नुभयो । निजी क्षेत्रको उचाई बढ्यो । नेपाल सरकारभित्र यसको महत्व कत्ति हुँदो रहेछ भनेर उहाँले स्थापित गर्नुभयो । विनोदबहादुर श्रेष्ठ अध्यक्ष भएको समयमा नेपालीको लगानी मात्रै हैन, विदेशीको मात्रै हैन, एनआरएनको लगानी भित्र्याउँनुर्छ भनेर लाग्नुभयो । एनआरएनको लगानी भित्र्याउने अवधारण सुरु भयो र एनआरएनको लगानी नेपालमा भित्र्न थाल्यो । यो पनि महासंघले गरेको राम्रो काम हो । त्यसपछि चण्डीराज ढकाल अध्यक्ष बन्नुभयो । बडा अप्ठ्यारो अवस्था थियो त्यतिबेला पनि । टे«ड युनियएन बडा संगठित रुपले अगाडि आएको थियो । चण्डीजीको समयमा गार्मेन्ट इण्डष्टिलाई बडा अप्ठ्यारोमा थियो । उहाँले ट्रेड युनिएनसँग मिलेर अगाडि बढुनुपर्छ भनेर भन्नुभयो । हामीले सहमति गरेर अगाडि बढ्यो । कुशकुमार जोशी ध्यक्ष हुँदा पनि नेपाल बडो अप्ठ्यारो अवस्थामा थियो । माओवादीले अनिश्चित कालिन हड्ताल गर्यो । ७ दिनसम्म नेपाल बन्द भयो । त्यो बन्द तोड्ने काम महासंघको अगुवाईमा भयो । बसन्तपुरमा गरिएको शान्ति र्याली ऐतिहासिक थियो । त्यतिबेला राजनीतिक दलका शिर्ष नेताहरुबीच बोलचाल नै बन्द भएको, राजनीतिमा ठूलो गतिरोध आएको बेलामा निर्णयक वहस महासंघले गरायो । सबै दलहरुका शिर्ष नेताहरुलाई एउटै हलमा राखेर, राष्ट्रिय टेलिभिजनहरुमा लाईभ प्रसारण गरिएको निर्णयक निकै वहस सफल भयो । मेरो पालामा के भयो मैले बोल्ने कुरा भएन । मैले भन्न खोजेको को हो भने महासंघ हामी कहाँ थियौ । अहिले काहाँ पुग्यौ भन्न खोजेको हो । आजको दिनमा पनि महासंघ अफ्ठारो अवस्थामा आउँदा कसले बचाउँने ? सीएनआई जस्ता संस्था छन्, चेम्बर अफ कमर्श छ । सबै दलले भातृ संस्था झै व्यवसायिक संस्था खोल्न थालेका छन् । अब निजी क्षेत्रको साझा मुद्दामा कसले बोल्ने ? थरीथरीका संस्थाले थरी थरीका कुरा गर्छन, सरकारले कसलाई मान्ने, कसलाई नमान्ने ? निजी क्षेत्रको आवाज कसले र कहाँ उठाउने भन्ने महत्वपूर्ण प्रश्न छ । अध्यक्षको कोठामा एउटै मात्रै कुर्सी थियो, हुनुपथ्र्यो । अहिले महासंघको अध्यक्षको कोठामा २/३ वटा कुर्सी छन् भन्ने मैले सुनेको छु । अध्यक्षको कोठामा धेरै कुर्सी राखिएपछि महासंघ कमजोर बनेको छ । मैले महासंघ कसरी बुझेको छु भने पूर्वअध्यक्षहरुले महासंघ अप्ठ्यारो परेको बेलामा सुझाव दिने हो । मैले अध्यक्ष पशुपति मुरारकालाई पटक पटक विधान संशोधन गर्नुअघि सम्झाए । के हामी तयार छौ भनेर ? पूर्व अध्यक्षज्युहरु हुनुहुन्छ, उहाँहरुले यो संस्था बुझ्नु भएको छ, उहाँहरुसँग सल्लाह गर्नुपर्छ भनेर मैले ४/५ पटक सल्लाह दिएँ । जब सल्लाह नै मान्दैन के सल्लाह दिने ? विधान संशोधन गरेर हिजो गल्ती भएकै हो । हिजोको गल्तीले भोली महासंघमा नव्रिगियोस भन्ने मेरो चाहना हो । अब गल्ती नहोस भन्ने मेरो भनाइ होस् । विधान सांसोधन भयो । विधान बनेको छैन । अगाडि बढेको छैन । विधानले के भन्छ भने जवबसम्म प्रदेशको चुनाव हुँदैन तबसम्म यो चुनाव हुनै सक्दैन । कि विशेष कारण हुनुपर्यो । म उहाँहरुलाई सोध्न् चाहन्छु । विशेष कारण के थियो र प्रदेशको चुनाव नगरेको पहिला ? किन ? जालझेल किन ? मैले सुनेको कतिसम्म सत्य हो मलाई थाहा छैन । अहिलेको बरिष्ठ उपाध्यक्ष भवानी राणा भैरवहाको चुनावी घोषणा सभामा जान चाहानु भएको थिएन । प्रेसर गरियो, जानै पर्ने, ड्यासमा बस्नै पर्ने, फोटो देशभर देखाउनै पर्ने । जति सम्म जायाज अभ्यास हो ? मलाई साथीहरुले भन्नुभयो–किशोर प्रधानको उम्मेदवारी घोषणा सभामा नजान धेरैलाई दवाव दिइयो । मतदातालाई उम्मेदवारको कुरै सुन्न हुन्न भन्ने ? यसले महासंघलाई बलियो बनाउँछ कि कमजोर ? सोच्ने बेला आएको छ । तपाईहरुले सोचेर निर्णय गर्ने बेला आएको छ । हामीले लोभ र लालस देखाउन चाहान्न । हामी कसैलाई दवाव दिन चाहान्नौं । नेता जम्माउने तपाईहरुले हो, सहि मान्छे छानेर भोट हाल्नुहोस् । (किशोर प्रधानको समूहले आइतबार आयोजना गरेको कार्यक्रममा बैद्यले व्यक्त गरेको विचार)
सोमबार मात्रै पाँच कम्पनीको सेयर मूल्य समायोजन, हेरौँ कुन-कुनकोे भयो ?
काठमाडौं । सोमबार मात्रै पाँच वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । सो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार वाणिज्य बैंक सहित पाँच कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले सेञ्चुरी बैंक, सानिमा बैंक, लक्ष्मी बैंक, कृषि विकास बैंक र सेती फाइनान्सको सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले सेञ्चुरी बैंकको १० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । समायोजन पछिको सेयर मूल्य ३६२ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ३७१ रुपैयाँ रहने भएको छ । त्यस्तै, लक्ष्मी बैंकको शतप्रतिशत प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको नेप्सेले जनाएको छ । समायोजन पछिको सेयर मूल्य ४४९ रुपैयाँ तोकेको छ भने जसका लागि आधार मूल्य ४५५ रुपैयाँ रहने भएको छ । त्यसैगरि, सानिमा बैंकको ३० प्रतिशत प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ । बैंकले समायोजन पछिको सेयर मूल्य ४६५ रुपैयाँ तोकेको छ भने जसका लागि आधार मूल्य ५२८ रुपैयाँ रहने भएको छ । त्यस्तै २० प्रतिशत बोनस पछि कृषि विकास बैंकको प्रतिकित्ता ४७८ रुपैयाँ कायम भएको छ । जसको आधारमूल्य ५३० रुपैयाँ छ । नेप्सेले सेती फाइनान्सको पनि ३.६ प्रतिशत बोनसपछि सेयर मूल्य समायोजन गरेको छ । जसको आधारमूल्य २५२ रुपैयाँ रहेको नेप्सेले जनाएको छ ।
किशोर प्रधान प्यानलको उम्मेदवारी दर्ता
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार किशोर प्रधानको प्यानलले उम्मेदवारी दर्ता गरेको छ । प्रधानले बस्तु तर्फको उपाध्यक्षमा शंकर पाण्डे र जिल्ला नगरको उपाध्यक्षमा प्रमोद श्रेष्ठलाई उम्मेदवार बनाएको छ । सोमबार मध्यान्ह प्रधान समुहले महासंघ सचिवालय टेकु पुगेर उम्मेदवारी दर्ता गराएको हो । यो समुहले एसोसियट तर्फको उपाध्यक्षमा भने चन्द्र ढकाललाई नै समर्थन गर्ने बताएको छ । उम्मेदवारी दर्ता कार्यक्रममा महासंघका पुर्व अध्यक्ष कुशकुमार जोशी पनि सहभागी थिए । जोशीले सबै उम्मेदवारहरुलाई माला लगाईदिएर विजयको शुभकामना दिएका थिए । महासंघको गरिमा र व्यवसायीक उन्नतिका लागि आफ्नो प्यानल चुनावी मैदानमा खडा भएको बरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधानले बताए ।
तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो सम्पन्न, ७३ लाख रुपैयाँ बढीको कारोबार
काठमाडौं । कृषि विकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा बिहीबारदेखि सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो सम्पन्न भएको छ । ‘शान्ति, सम्वृद्धि तथा स्वच्छ वातावरणको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सम्पन्न एक्स्पोमा मौसमी फूल, आलङ्कारिक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो, बिउबिजन, ग्रीन हाउस, कृषि औजार, सुक्ष्म तथा थोपा सिँचाइ प्रविधिलगायतको रु ७३ लाख भन्दा बढीको कारोबार भएको आयोजक समितिले जनाएको छ । अपेक्षा गरेअनुसार कारोबार भएको बताउँदै एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले यस पटकको अन्तर्राष्ट्रिय मेला कारोबारसँगै प्रवद्र्धन गर्न पनि सफल भएको बताए । मेलामा फ्लोरिकल्चर व्यवसायमा प्रयोगमा आएका अन्तर्राष्ट्रिय प्रविधिका बारेमा पनि अवलोकनकर्ताले जानकारी पाएको उनले बताए । मेला अवधिभर ६६ हजार भन्दा बढी फूलका पारखी मेला अवलोकनका लागि आएको जानकारी गराउँदै एसोसिएसनका संयोजक जेवी तामाङले अघिल्लो वर्षमा भएका मेलामा भन्दा यस वर्ष फूल तथा बोटबिरुवा खरिद गर्नेहरु धेरै रहेको बताए । प्रविधि विस्तारका लागि भारत, बङ्गलादेश, श्रीलङ्का, चीन र दक्षिण कोरियालगायत मुलुकबाट पुष्प व्यवसायीलाई मेलामा सहभागी गराइएको थियो ।
जीवन बीमा बजार २३ प्रतिशतले विस्तार, पुँजी वृद्धिलाई बजारको समर्थन
काठमाडौ । बीमाको पुँजी वृद्धिलाई बजार विस्तारले पनि समर्थन गरेको छ । बीमा क्षेत्रको प्रचार–प्रसारपछि बीमा गर्नेहरूको संख्यासँगै बीमा कारोबार रकम पनि बढेको छ । गएको वर्षको दोस्रो त्रैमासम्म १३ अर्ब ११ करोड करोड रहेको यस्तो रकम यस वर्षको दोस्रो चौमासमा आइपुग्दा बढेर १६ अर्ब १५ करोड पुगेको छ । जीबन बीमा प्रिमियमको वृद्धि २३.१८ प्रतिशतले बढेको देखिएको छ । त्यस्तै, चालू आर्थिक वर्ष २०७३÷७४ को दोस्रो त्रैमासिकसम्म ७ लाख ५९ हजार २० जनाले बीमा गरेका छन् । गत वर्ष सोही अवधिमा ६ लाख ५६ हजार १ सय ४९ जनाले जीवनबीमा गरेको समितिले जनाएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष १ लाख २ हजार ८ सय ५१ जना बीमा गर्ने बढेका छन् । बीमा गर्नेको रकम बढेसँगै बीमा रकम पनि बढेको बीमा समितिका अध्यक्ष चिलञ्जीवी चापागाईँले बताए । गत वर्षको तुलनामा यस आर्थिक वर्षमा ३ अर्बभन्दा बढीले जीवन बीमाबापतको शुल्क बढेको समितिको तथ्यांकले देखाएको छ । यस अवधिमा ७ अर्बको सर्वाधिक जीवन बीमा भएको छ भने गएको वर्षको समीक्षा अवधिमा यस्तो बीमा ६ अर्ब रुपैयाँको मात्र थियो । यसरी बीमा गराउने कम्पनीहरूमा सबैभन्दा अगाडि नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीले यस अवधिमा ४ अर्ब ९४ करोडको जीवन बीमा प्रिमियम संकलन गरेको छ । जीवन बीमा गराउने दोस्रो कम्पनी लाइफ इन्स्योरेन्स परेको छ । कम्पनीले यो अवधिमा ३ अर्ब ६७ करोडको जीवन बीमा गराएको छ । नेशनल लाइफ इन्स्योरेन्स सर्वाधिक जीवन बीमा गराउने कम्पनीको तेस्रो स्थानमा रहेको छ । उक्त अवधिमा सो कम्पनीले दुई अर्ब ९ करोडको जीवन बीमा गराएका थिए । गएको वर्षको दोस्रो चौमाससम्म नेपाल लाइफ इन्स्योरेन्सले ४ अर्ब १२ करोड, लाइफ इन्स्योरेन्स २ अर्ब ९५ करोड, नेशनल लाइफ इन्स्योरेन्स १ अर्ब ४९ करोड रकमको जीवन बीमा गराएका थिए ।
सोमबारको सेयर बजारमा पुनः सर्किट ब्रेक
काठमाडौं । सेयर बजारमा पुनः सर्किट ब्रेक लागेको छ । सोमबार बजार खुलेको ३० मिनेट नपुग्दै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पुनः सर्किट ब्रेक लागेको हो । यस अघि बजार खुलेको १५ मिनेट नपुग्दै नेप्से परिसूचक ३ प्रतिशतले बढेर १५ मिनेट बन्द भएको थियो । त्यसपछि बजार पुनः खुलेको थियो । बजार ११ बजेर ५९ मिनेट जाँदा खुल्ने नेप्सेले जनाएको छ ।