अनुदान वितरण कार्य तीव्र, भूकम्प कम प्रभावित थप ४ जिल्लामा शुरु
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प कम प्रभावित १७ जिल्ला मध्ये थप ४ जिल्लामा पनि निजी आवास पुनर्निर्माणका लागी पहिलो किस्ताको अनुदान रकम बितरण शुरु गरेको छ । यसअघि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले गत चैत्र २१ गते कास्कीको अन्नपुर्ण गा“उपालिकाबाट अनुदान वापतको पहिलो किस्ता बितरण कार्य शुरु गरेका थिए । बा“की १६ जिल्ला मध्ये आईतबार लमजुङ, पर्वत, धनकुटा र सोलुखुम्बुबाट पनि पहिलो किस्ता वापतको ५० हजार रुपैया बितरण शुरु गरिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए । प्राधिकरणले एक साताभित्रमा बा“की सवै जिल्लामा निजी आवास पुनर्निर्माणका लागी अनुदान बितरण शुरु गरिसक्ने तयारी गरेको छ । प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा अनुदान सम्झौता भइसकेका करिब ९८ प्रतिशत लाभग्राहीलाई अनुदान वापतको पहिलो किस्ता बितरण गरिसकेको छ भने ती जिल्लामा दोस्रो र तेस्रो किस्ता पनि तीव्र गतिमा बितरण भइरहेको छ ।
एशोसिएटमा ९ जनाको उम्मेदवारी फिर्ता, ३ जना टिमबाट आउट, यी हुन् निर्वाचित हुने १९ जना
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसिएटतर्फ सदस्य पदका ९ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । यसअघि कार्यसमिति सदस्य रहेका अनिल केडिया, रामकृष्ण प्रसाई, रामचन्द्र संघाइ र प्रकाश गिरीले उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै, यस पटक कार्यसमितिमा प्रवेश गर्न उम्मेदवारी दर्ता गराएका शंकर श्रेष्ठ, शक्ति कुमार बेगानी, नारायण बजाज, उदिप श्रेष्ठ ( पूर्व प्रदीपकुमार श्रेष्ठका छोरा) र शिशिर कुमार भट्टको उम्मेदवारी फिर्ता भएको छ । एशोसिएटतर्फको उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । यसतर्फ १९ सदस्य पदका लागि शुरुमा ३१ जनाले उम्मेदवारी दिएका थिए । ९ जनाले उम्मेदवारी फिर्ता लिएपछि चुनावी प्रतिस्प्रर्धामा २२ जना छन् । त्यसमा तीन जनालाई टिमबाट आउट गरिएको छ । प्रोक्सी प्रणालीबाट हुने यस निर्वाचनमा टिममा नपर्नेले चुनाव जित्ने सम्भावना हुँदैन । टिममा नपर्नेमा अखिल कुमार चापागाई, बासुदेव गौतम र भेषराज अर्याल छन् । अब एशोसिएयततर्फ १९ सदस्यमा को को विजय हुन्छन् भन्ने पक्कापक्की भएको छ । नेतृत्वबाट समर्थन पाई टिममा परेका अशोक कुमार तेमानी, अशोक कुमार तोदी, आनन्द वगरिया, ओमराज भण्डारी, कृष्णप्रसाद दुलाल, गोपाल खनाल, ज्योत्सना श्रेष्ठ (सुब्बा), प्रबलजंग पाण्डे, भरतराज आचार्य, मनिषकुमार अग्रवाल, मंगेशलाल श्रेष्ठ, राजेशकुमार अग्रवाल, रामशरण थपलिया, रंजितराज आचार्य, विजयसिंह बैद्य, शाहिल अग्रवाल, सुनिल नारायण श्रेष्ठ, सौरभ ज्योति र ज्ञानेन्द्रलाल प्रधानले चुनाव चित्ने निश्चत भएको छ ।
जनता बैंकले सिद्धार्थ डेभलपमेन्ट बैक एक्वाएर गर्ने, चुक्ता पूँजी ८ अर्ब नाघ्ने
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले सिद्धार्थ डेभलपमेण्ट बैक लिमिटेडलाई एक्वाएर (प्राप्ति) गर्ने भएको छ । सो सम्बन्धी सम्बन्धि सम्झौतापत्रमा जनता बैक नेपाल लिमिटेडका तर्फबाट अध्यक्ष केशबबहादुर रायमाझी र सिद्धार्थ डेभलपमेन्टको तर्फबाट अध्यक्ष रामबहादुर भण्डारीले हस्ताक्षर गरेका छन् । बैकले उत्कृष्ट वाणिज्य बैकको रुपमा स्थापित हुने उद्देश्यका साथ यो प्राप्ति सम्बन्धी सम्झौता गरेको जनाएको छ । जनता बैकले चैत्र २५ गतेबाट नै राष्ट्रियस्तरको त्रिवेणी बिकास बैकसँग मर्जर सम्पन्न गरी एकीकृत कारोवार शुरु गरेको छ । त्रिवेणी विकास बैक पश्चात बैकको चुक्ता पूँजी करिब ५ अर्ब पुगेको छ । त्यस पश्चात सिद्धार्थ डेभलपमेन्ट बैकको प्राप्ति र चालू आर्थिक बर्षको मुनाफाबाट बैकको पूँजी ८ अर्ब पुग्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । सिद्धार्थ डेभलपमेन्ट बैंकलाई प्राप्तिपछि बैकको करिब १०० भन्दा बढी शाखा सञ्चालनमा आउने छन् । त्यस्तै, बैंकको निक्षेप ५५ अर्ब रुपैयाँ र लगानी ५० अर्ब रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।
स्वाधिन अर्थतन्त्रको पक्षमा महासंघ उभिनुपर्छ – दीपकबहादुर शाही
दीपक बहादुर शाही, अध्यक्ष, नेपाल सौर्य विद्युत उत्पादक संघ उम्मेदवार, बस्तुगत सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ नेपाल उद्योग वाणिज्य महासंघ उद्योग व्यवसायीहरुको छाता संगठन हो । हामी व्यवसायी भन्दा पहिला नेपाली हौं र हामी सबै उपभोक्ता हौं । त्यसैले हामीले सबैभन्दा पहिला कसरी नेपालको अर्थतन्त्रलाई स्वाधिन बनाउने भनेर सोच्नुपर्छ । दोस्रो, हामी सबै उपभोक्ता, कसरी उपभोक्तालाई सरल मूल्यमा, सहज तरिकाबाट गुणस्तरीय बस्तु तथा सेवा उपलब्ध गराउने भनेर सोच्नुपर्छ । महासंघको संगठनलाई बलियो बनाउनुपर्छ, सचिवालयलाई बलियो बनाउनुपर्छ । सरकार र महासंघबीचको सम्बन्ध बेला बखत चोर र पुलिसको जस्तो देखिन्छ । त्यस्तो किन हुन्छ ? समस्याको पहिचाहन गरेर समाधान गरिनुपर्छ । हाम्रा आवश्यकता के हुन ? त्यसमा पनि प्राथमिकताका अजेण्डा के हुन ? विकशित देश कसरी विकास भए, हामी किन पछाडि पर्यौ ? विदेशमा काम गर्ने नेपालीले पठाएको रेमिट्यान्सले जीडीपीको ३० प्रतिशत हिस्सा लिन्छ, ती मिहेनती नेपालीलाई हामीले नेपालमा किन रोजगारी दिन सकेनौं ? छिमेकी चीन, भारतले गरेको उच्च आर्थिक वृद्धि, जापान र अमेरिकाले हासिल गरेको विकासका मोडलहरु हामीले अध्ययन गरेर उचित नीति र मोडलमा हामी अगाडि बढ्नुपर्छ । व्यक्तिगत रुपमा म क्लिन इनर्जीको क्षेत्रमा काम गरिरहेको छु र यो क्षेत्र नेपाल सरकारको मात्र होइन, विश्वको प्राथमिकता प्राप्त क्षेत्र हो । छिमेकी देश चीनले ३० हजार मेगावाट सोलार विजुली उत्पादन गरेको छ । भारतले २२ हजार मेगाबाट बिजुली सोलार, विण्डबाट उत्पादन गरेको गरिसकेको छ । जापानले आणविक भट्टीबाट उत्पादन गरेको न्यूक्लियर इनर्जीलाई निरुत्साहित गर्दै क्लिन इनर्जी उत्पादनमा जोड दिएको छ । इनर्जी उत्पादन अहिले विश्वको प्रमुख अजेण्डा हो । इनर्जीले नै घरमा बत्ती बल्छ, चुलो बल्छ, होटल चल्छ, उद्योग, कलकारखाना, रेल, मोटर चल्छ । इनर्जीको स्रोतहरु धेरै छन् । त्यसमा मिक्स गर्नु नै सबैभन्दा उत्तम मानिएको छ । नेपालमा पनि कुल इनर्जीमा १३ प्रतिशत सोलार, वायोग्यास, माइक्रो हाइड्रो छन् । म महासंघमा गएर यो क्षेत्रको विकासमा जोड दिनेछु । चुनावको सुन्दरता भनेको राम्रो मान्छे छान्नु हो । तर नेपालमा राम्रो भन्दा हाम्रो मान्छे छान्ने समस्या देखियो । त्यसैको परिणाम हो राजनीतिमा पनि राम्रा मान्छे पछाडि परेका छन् । अन्य संघसंस्थामा पनि बेलाबेलामा राम्रा मान्छे पछाडि पर्छन्र । तर बस्तुगत संघका अध्यक्षहरु आफैमा सक्षम, विकेकशील हुनुहुन्छ । उहाँहरुलाई थाहा छ-कुन उम्मेदवारले विषयबस्तुलाई राम्ररी बुझ्न सक्छन्, प्रस्तुत गर्न सक्छन्, सरकारी निकायमा स्पष्ट रुपमा आफ्ना अजेण्डा राख्न सक्छन् । मलाई विश्वास छ ७० भोट पाएर चुनाव जित्छु । (कुराकानीमा अाधारित)
‘हुन्डाई फेस्टिभ डिलाइट’ को विजेता घोषित, क-कसले पाए आई-२० र क्रेटा गाडी
काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट’ अफरको विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेको छ । तीनकुने स्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा बिजेताहरुलाई लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ तथा कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनालले पुरस्कार हस्तान्तरण गरेका हुन् । यस अफर अन्तर्गत, कुपन नम्बर ११०१ का क्रिएटिभ टच गार्मेन्ट ईन्डस्ट्रिज, नयाँ बजार, काठमाडौंले हुन्डाई इलाईट आई२० प्राप्त गरेका छन् । साथै कुपन नम्बर १७६८ का श्री नेत्र बहादुर खड्का, धरानले हुन्डाई क्रेटा प्राप्त गरे । साथै, १०० जना भाग्याशाली विजेताहरुको लक्की ड्र श्रीमती बिमला खनालद्धारा कनज्युमर आई नेपालको अनामनगर अवस्थित कार्यालयमा गरिएको थियो । सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकले ६ लाखसम्मको छुट र एक वर्षको निशुल्क बिमा साथै १०० जना भाग्याशाली विजेताहरुले एक(एक तोला सुन र बम्परमा दुई जना भाग्याशाली विजेताहरुले एक/एक थान हुन्डाई इलाईट आई२० र हुन्डाई क्रेटा जित्ने अवसर प्राप्त गरेका थिए । सो योजना २०७३ भाद्र १३ गते देखि २०७३ कात्तिक २२ गते सम्म लागु गरिएको थियो ।
तिनाउ डेभलपमेन्ट बैंकलाई ३५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले तिनाउ डेभलपमेन्ट बैंक लिमिटेडलाई हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । धितोपत्र बोर्डमा निवेदन बुझाएपछि कम्पनीले १०ः३.५ अर्थात् ३५ प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको हो । बोर्डको अनुमति अनुसार कम्पनीले ११ लाख ९४ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले ११ करोड ९४ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
यूकेएड सक्षम र माछापुच्छ्रे बैंकबीच साझेदारी, सेवाबाट वञ्चितलाई सरल लघुकर्जा दिने
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र यूकेएड सक्षम एक्सेस टु फाइनान्सबीच एक साझेदारीमा हस्ताक्षर भएको छ । सोमबार भएको उक्त साझेदारी अन्तर्गत नेपालभरका चौध वटा जिल्लामा रहेका सेवाबाट वञ्चित जनसंख्यालाई सरलीकृत लघुवित्त सेवाहरू प्रदान गरिने कम्पनीले जनाएको छ । उक्त हस्ताक्षर कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत निरजकुमार श्रेष्ठ र सक्षमका टोली प्रमुख बलजित भोहरा लगायतका दुवै संस्थाका विभिन्न प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । ‘सरलीकृत लघुवित्त सेवा’ परियोजनाले मध्य र सुदूर पश्चिमाञ्चल विकास क्षेत्रका बाँके, दाङ, कैलाली, कञ्चनपुर, रूपन्देही र सुर्खेत जिल्ला र मध्यमाञ्चलविकास क्षेत्रको धादिङ जिल्ला गरी सातजिल्लामा २० वटा शाखारहित बैंकिङ सेवा विन्दुहरू स्थापना गर्ने लक्ष्य लिएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निरज कुमार श्रेष्ठले भने, “परियोजनाको ३ वर्षे समयावधिमा बैंकले आफ्ना शाखा रहित बैंकिङ सेवाविन्दुहरू र समर्पित सम्बन्धप्रबन्ध (रिलेशनशिप म्यानेजर) मार्फतबाट ९,००० भन्दा बढी हितग्राहीहरूलाई सेवा पुर्याउने लक्ष्य लिएको छ । यसको अतिरिक्त, हाम्रो वित्तीय साक्षरताअभियानको माध्यमबाट १३,००० हितग्राही सम्म पुग्ने लक्ष्य लिएका छौं ।” त्यसैगरी, सक्षमका टोलीप्रमुख बलजित भोहराले भने, “दुर्गम ग्रामीण क्षेत्रहरूमा औपचारिक वित्तीय संस्थाहरूको अभावले गर्दा स्थानीय व्यक्तिहरू स्थानीय ऋणदाताहरू अत्यन्त उच्चदरमा ऋण लिन बाध्य भएका छन् र उक्त ऋण दाताहरूले ऋण तिर्न नसक्दा ऋण लिने व्यक्तिहरूको शोषण गर्दै आएको पाइन्छ । तसर्थ, हामीलाई विश्वास छ कि हाम्रो यस साझेदारीले यस्ता समस्याहरूको सम्बोधन गर्नेछ र देशमा सेवाबाट वञ्चित रहेका जनसंख्यालाई सेवा प्रदान गर्नेछ ।” साथै, उनले लघुवित्त सेवाविस्तारको लागि समर्पित सम्बन्धप्रबन्धकहरू परिचालन गरे पश्चात हामीले निर्धारण गरेका लक्ष्यहरू छिट्टै नै प्राप्त हुने बताएका छन् ।
महासंघले समस्या देखाएर मात्र हुँदैन, समाधान पनि दिन सक्नुपर्छ-शिव घिमिरे
शिवप्रसाद घिमिरे, बस्तुगततर्फका उम्मेदवार, नेपाल उद्योग वाणिज्य महासंघ नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य बन्न यसअघि म दुई पटक चुनाबमा उठे । एक पटक बराबर मत आयो, चिठ्ठामा मैले हारेँ । एक पटक १ मत कम भएर हारेँ । अहिले तेस्रो पटक चुनाव उठ्दैछु । सम्भव भएसम्म घर वा अफिसमा भेटेर, सम्भव नभएको अवस्थामा फोनबाट ९९ वटै बस्तुगत संघका अध्यक्षहरुलाई भेटेको छु । सबैले भोट दिन्छु भन्नुभएको छ । बस्तुगतमा १४ जनालाई भोट दिन पाइन्छ, १४ मध्ये एउटा तपाई छुटाउँदिन भनेर सबैले भन्नुभएको छ । ‘तपाईलाई दिन नमिल्ने भयो कसैले पनि भनेका छैनन् ।’ बस्तुगत संघ भनेको विषयगत विज्ञहरुले नेतृत्व गरेका संस्था हुन् । यस क्षेत्रको मतदाताले मलाई, म संलग्न पेट्रोलियम व्यवसायको महत्वलाई बुझेका छन् । सवा खर्ब पेट्रोलियम पदार्थको आयात हुन्छ, यसको महत्व सबैले बुझेका छन् र यो क्षेत्रलाई उपेक्षा गरिदैन भन्ने मलाई लाग्छ । कृषि, शिक्षा, स्वास्थ्य, सञ्चार, जलविद्युत लगायत क्षेत्रमा म संलग्न छु र म आफै संलग्न बस्तुगत संघ नै १५ वटा छन् । महासंघ भनेको सरकार र निजी क्षेत्रबीच पुलको काम गर्ने संस्था हो । आर्थिक समृद्धिको लागि राज्यतर्फबाट नीतिगत रुपमा धेरै काम गर्नुपर्छ । महासंघको सचिवालयले दिने सेवा प्रर्याप्त छैन । महासंघमा सदस्यता नपाएका संस्थाहरु पनि धेरै छन् । समस्या पहिल्याउनु एउटा पाटो हो, समस्या समाधान तर्फ काम गर्नु अर्को पाटो हो । महासंघले समस्या चित्रण गर्दै आएको छ तर समाधान दिन सकेको छैन । हामीले विज्ञहरुको सहयोगमा समाधान दिनुपर्छ । हरेक क्षेत्रमा कलेक्टिभ लेबीमा क्षेत्रगत विज्ञ राखेर योजनावद्ध रुपमा धेरै काम गर्न सकिन्छ । यसले लगानीकर्तालाई धेरै राहात मिल्ने छ । कुरामा मात्र आर्थिक क्रान्तिका गरेर हुँदैन, काम गर्नुपर्छ । राजनीतिक नेतालाई मात्र गाली गरेर हुँदैन । आफूले आफ्ना लागि मात्र काम गरेर हँदैन । सामूहिक हितको काम गर्न, लगानीमैत्री नीति निर्माणमा सहयोग गर्न महासंघले धेरै काम गर्नसक्छ । मुलुकको लागि राम्रो काम गर्न चाहानेको लागि महासंघ धेरै राम्रो प्लेटफर्म हो । हाम्रो टिम पनि राम्रो छ । किशोर प्रधान महासंघमा लामो समय काम गरेर खारिएको उद्यमी हुनुहुन्छ, बस्तुगतर्फ शंकर पाण्डे सिनियर व्यक्तित्व, निर्यातको क्षेत्रमा धेरै काम गरेको व्यक्ति हुनुहुन्छ । निर्माण क्षेत्रमा सफल व्यवसायी सकुन्तलाल हिराचत, अर्थतन्त्र धानेको बैदेशिक रोजगार व्यवसायी, कृषि, उर्जा, सञ्चार क्षेत्रका साथीहरु हाम्रो टिममा छ । विश्वास छ, मलगायत हाम्रो टिमले निर्वाचन जित्छ ।