सुपथ दरको आवास कर्जा निस्प्रभावी, भूकम्प पीडितको घरको बासमा आशा मात्रै
काठमाडौं । भूकम्प पीतितलाई घर निर्माणमा सहयोग पुर्याउने उद्देश्यले ल्याइएको सुपथ दरको आवास कर्जा कार्यक्रम प्रभावकारी हुन सकेन । भूकम्प गएको २ वर्ष भैसक्दापनि अधिकांश पीडितले उक्त सुविधा नपाएपछि यसबारे प्रश्न उठ्न थालेको हो । राष्ट्र बैंकको तथ्यांक अनुसार यो शीर्षक अन्र्तगत गत फागुनसम्म २ सय ६४ घरघुरीले ५२ करोड ६२ लाख रुपैयाँ ऋण लिएका छन् । यो संख्या अपेक्षाभन्दा निकै कम हो । सरकारी तथ्यांक अनुसार भूकम्पबाट करिब सवा ८ लाख घरमा क्षति पुगेको थियो । तीमध्ये पहिचान भएका घरघुरीो संख्या ६ लाख ३६ हजार रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणको तथ्यांक छ । जसमध्ये ५ लाख ४८ हजार २ सय ५५ लाभग्राहीसँग मात्रै निजी आवास पुनर्निमाणका लागि अनुदान सम्झौता भएको छ । कान्तिपुर दैनिकबाट ।
अप्टिकल फाइवर विछ्याउँन स्मार्ट टेलिकम अयोग्य, ६ र ७ प्रदेशका लागि पुनः टेण्डर
काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरण (एनटीए)ले अप्टिकल फाइबरमार्फत सूचना महामार्ग निर्माण गर्न माग गरेको पछिल्लो आवेदनमा स्मार्ट टेलिकम छनोट हुन सकेन । मध्यपहाडी लोकमार्गलाई आधार बनाएर सूचनाको महामार्ग बनाउन प्राकिरणले मागेको ६ र ७ नं प्रदेशको प्रस्तावमा स्मार्ट टेलिकमले मात्रै आवेदन दिएको थियो । तर, यो प्रस्तावमा स्मार्टको एक्लो आवेदन परेको भएपनि यसले आवश्यक मापदण्ड पूरा गर्न नसकेका कारण प्राधिकरणले पुनः प्रस्ताव आव्हान गरेको छ । देशका ७५ वटै जिल्ला सदरमुकाम जोड्ने तीब्र गतिको ब्रोडव्याण्ड इन्टरनेट पुर्याउँन प्राधिकरणले ६ र ७ नं प्रदेशकका लागि एक महिना पहिले सार्वजनिक प्रस्ताव मागेको थियो । यो प्रस्तावबाट कुनैपनि कम्पनी छनोट नभएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद आर्यालले बताउनुभयो । यस अघि १ देखि ३ नम्बर प्रदेशको जिम्मा टेलकमले र ४ र ५ को जिम्मा भने युटीएलले पाइसकेका छ । टेलिकमले करिब पौने ५ अर्ब र युटीएलले २ अर्बमा सूचना महामार्ग बनाउने जिम्मा पाएका छन् । ६ र ७ प्रदेशको लागि करिब पौन चार अर्ब रुपैयाँको सीमााभि रहेर जसले कम कबोल गर्छ उसैलाई छनोट गर्ने पनि प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार यो महामार्गको काम पनि विभिन्न जिल्ला सदरमुकाबाट सो जिल्लाको हरेक सामूदायिक विद्यालय, स्वास्थ्य चौकी र गाउँपालिकासम्म इन्टेरनेट पुर्याउन भने पुनः प्रस्ताव माग हुने भएको छ । अहिलेसम्म जिल्ला सदरमुकामबाट गाँउसम्म पुर्याउने काममा भूकम्प प्रभावित ११ जिल्ला मात्रै छनोट भएको उल्लेख छ । अन्नपूर्ण पोस्टबाट ।
कर फर्छ्योटका नाममा २१ अर्ब लुट, मिलेमतोमा साढे ३० अर्बमा ९० प्रतिशत छुट
काठमाडौं । सरकारले दुई वर्षअघि कर फर्छ्योटका लागि गठन गरेको कर फर्छ्योट आयोगका पदाधिकारीहरू गम्भीर आर्थिक अनियमिततामा मुछिएका छन् । कर फर्छ्योटका नाममा गठन गरेको आयोगले करिब २१ अर्ब रुपैयाँ ‘अनियमितता’ गरेको भेटिएको छ । आयोगका पदाधिकारीले ३० अर्ब ५२ करोड रुपैयाँ फर्छ्योट गरी ९ अर्ब ५४ करोड रुपैयाँमात्रै असुल्ने निर्णय गरेका हुन् । फर्छ्योटबाट मिनाहा भएको करिब २१ अर्ब रुपैयाँ सोझै अनियमितता भएको छ । महालेखा परीक्षकको कार्यालयले कर फर्छ्योटका नाममा गम्भीर अनियमितता भएको भन्दै थप अनुसन्धान हुनुपर्ने निर्णय गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि कर फर्छ्योट आयोगका बारेमा छुट्टै छानबिन गरिरहेको छ । ‘प्रारम्भिक रूपमा उजुरीमाथि छानबिन हुँदा कर फर्छ्योटमा प्रशस्त अनियमितता देखियो,’ अख्तियार उच्च स्रोतले कान्तिपुरसित भन्यो, ‘आयोगका एक महाशाखा प्रमुखको सुपरभिजनमा कर फर्छ्योट आयोगका कामकारबाहीबारे विस्तृत छानबिन भइरहेको छ ।’ अनियमितताको प्रारम्भिक पुस्ट्याइँपछि छानबिन विस्तृत चरणमा हुनेछ । २०७१ सालमा तत्कालीन अर्थमन्त्री रामशरण महतले कर फर्छ्योट आयोग गठन गरेका हुन् । चार्टर्ड एकाउन्टेन्ट लुम्बध्वज महतको संयोजकत्वमा गठित आयोगमा महालेखा परीक्षकको कार्यालयमा लामो समय काम गरेका चार्टर्ड एकाउन्टेन्ट उमेश ढकाल सदस्य थिए । आन्तरिक राजस्व विभागका महानिर्देशकले तोकेको सहसचिव सदस्य सचिव हुने कानुनी व्यवस्था रहेकामा महानिर्देशक चूडामणि शर्माले आफै सदस्य सचिवका रूपमा काम गरेका थिए । आयोगले आर्थिक वर्ष २०६९/७० सम्मको कर बक्यौता फर्छ्योट गर्ने अधिकार पाएको थियो । सरकारले उठाउनुपर्ने तर असुलउपर नभएको राजस्वलाई बक्यौता भएको मानिन्छ । सिद्धान्ततस् अधिकतम ‘बक्यौता’ उठाउन र नाम मात्रैको छुट दिन गठन भएको आयोगका पदाधिकारीहरूले भने निजी कम्पनीहरूलाई ९० प्रतिशतभन्दा बढी छुट दिएर नाममात्रैको बक्यौता उठाएका हुन् । करदाताले समयमै कर नबुझाउँदा लामो समयदेखि बक्यौता रहन्छ । करदाता स्वयंले नबुझाउँदा, सरकारले तोकेको करमा चित्त नबुझाई प्रशासनिक पुनरावलोकन, न्यायाधिकरण र अदालतमा विवादमा पुगेका कारण लामो समयदेखि उठ्नुपर्ने राजस्व बक्यौताको रूपमा रहन्छ । वर्षोदेखिको बक्यौता रहनुभन्दा राज्यले निर्धारण गरेको कर उठोस् भन्ने उद्देश्यले कर फर्छ्योट आयोग गठन गरिन्छ । ‘केही सांकेतिक सहुलियत दिएर लामो समयदेखिको कर उठाउनुपर्नेमा मिलेमतो गरी ठूलो परिमाणको कर मिनाहा गरियो,’ महालेखा परीक्षक कार्यालय स्रोतले भन्यो, ‘राज्यकोषमाथि यो ठूलो लुट हो ।’ आयोगमा १७२६ निवेदन परेकामध्ये १०६९ वटामाथि कारबाही गरी सम्झौता भएको छ । ४० अर्ब ८३ करोड रुपैयाँ बक्यौतामाथि निवेदन परेकोमा ३० अर्ब ५२ करोड रुपैयाँ फर्छ्योट भएको थियो । त्यसमध्ये ९ अर्ब ५४ करोड रुपैयाँमात्रै राज्यकोषमा ल्याउने निर्णय भएको छ । फर्छ्योट भएकोबाट करिब ६९ प्रतिशत राजस्व राज्यकोषबाट गुमेको छ भने ३१ प्रतिशतमात्रै आम्दानी भएको छ । करको हिसाबकिताब मिलेको अर्थात् फर्छ्योट भएको ३० अर्ब ५२ करोड रुपैयाँमध्ये करिब ९ अर्ब ७२ करोड रुपैयाँ मात्र कायम गरी बाँकी आयोग पदाधिकारीले नै अनियमितता गरेको स्रोतले जनायो । त्यो रकम बिना कुनै कारण बक्यौता भएको थियो । कर निर्धारणमा प्रश्न उठाई प्रशासनिक पुनरावलोकन, राजस्व न्यायाधिकरण वा अदालतमा कर विवाद जारी रहेको अवस्थामा बक्यौता हुनु स्वाभाविक मानिए पनि बिना कुनै कारण करदाताकै अटेरीले कर नउठ्नु लापरबाही हो । त्यस्तो प्रकृतिको राजस्व उठाउन कठोर रूपमा प्रस्तुत हुनुपर्ने आयोगका पदाधिकारीहरू आफैंले मिनाहा गरिदिएका हुन् । कान्तिपुर दैनिकबाट ।
विदेशमा नेपाली नेपालीबाटै असुरक्षित, आफ्नै साथिको हत्या गर्ने १५ जना जेलमा
काठमाडौं । देशमै रोजगारीको अवसर सिर्जना हुन नसक्दा वैदेशिक रोजगारीका लागि दैनिक दुई हजारभन्दा बढी नेपाली विदेश पलायन भइरहेका छन्। यसरी पलायन हुने नेपाली कामदार नेपालीबाटै असुरक्षित हुने गरेको प्रधानमन्त्री कार्यालयका वैदेशिक जानकार सुशील ढुंगाना बताउँछन् । रोजगारीकै लागि मलेसिया र खाडीका देशमा वार्षिक पाँच लाखको हाराहारीमा नेपाली पलायन भइरहेका छन् । त्यसमा पनि मासिक १० हजारदेखि १५ हजार संख्यामा कामकै लागि साउदी अरब पुग्ने गरेका छन् । साउदीमा रोजगारीकै लागि पुगेका नेपालीमध्ये अहिले साउदीको जेलमा १५ नेपाली हत्या अभियोगमा जेल जीवन बिताइरहेका छन् । जेलमा रहेका १५ जनामध्ये तीन जनालाई त्यहाँको अदालतले मृत्युदण्ड सुनाइसकेको छ । हत्या अभियोगमा जेल जीवन बिताइरहेका १५ जनामध्ये ५ जनालाई नेपाली दाजुभाइ नै हत्या गरेको अभियोग छ । अन्नपूर्ण पोस्टबाट ।
‘रक्सी नखाने प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीको प्रतिवद्धता, नयाँवर्षबाट नयाँ अभियान
काठमाडौं । जीवननै पहिलो भन्दै स्वास्थ बन्ने प्रतिवद्धता सहित प्रधानमन्त्री पुष्पकमल दाहाल र स्वास्थ्यमन्त्री गगन थापाले रक्सी नखाने प्रतिवद्धता जनाएका छन्। नयाँ वर्षको अवसरमा स्वाथ्य मन्त्रालयले आयोजना गरेको पदयात्रा कार्यक्रममा सहभागी भई प्रधानमन्त्री दाहाल र स्वास्थ्य मन्त्री थापाले यस्तो प्रतिवद्धता जनाएका हुन्। सरुवा भन्दा पनि नसर्ने रोगीको संख्या बढेको भन्दै रोगीको संख्या घटाउन र जनचेतना जगाउन मन्त्रालयले कार्यक्रमको आयोजना गरेको थियो । पदयात्रा कार्यक्रममा प्रधानमन्त्रीका साथै उर्जामन्त्री जनार्दन शर्मा, स्वास्थ्य मन्त्री गगन थापा, नायिका मनिषा कोइराला, स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेती लगायतको सहभागिता रहेको थियो । कार्यक्रमका अवशरमा मन्त्रालयले स्वास्थ्य सम्बन्धी सचेतना बढाउन ‘मेरो वर्षु नामक एप्स सार्वजनिक गरेको छ । सरुवा भन्दा पनि नसर्ने रोगीको संख्या बढेको भन्दै रोगीको संख्या घटाउन राज्यले हैन जनताले प्रतिवद्धतामा सहभागि बन्नु पर्ने आवस्यकता भएको स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्रराज उप्रेतीले बताए।कार्यक्रममा सहभागि अभिनेतृ मनिषा कोइरालाले आफूले क्यान्सरविरुद्ध संघर्ष गरेकाले स्वास्थ्यप्रति सचेत रहन आग्रह गरिन्। स्वास्थ्यका लागि घरमै गरिने सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सकिने बताइन्। रक्सीले शरीरका भित्री अंग खराव गरी चाँडै रोगी बनाउछ तर पनि रक्सी खानेको संख्या नघटेकाले यो प्रतिवद्धतामा आफू सहभागि भएको कोइरालाले बताइन्। खुसी हुदाँ, दुख लाग्दा, र फुर्सदको समयमा अरु भन्दा पनि रक्सी खानेको संख्या बढ्दो अवस्था भएको तथ्याङक छ । रक्सी कम्पनीको आकर्षक बिज्ञापन र जनचेतना अभावले वालवालिका देखि बृद्धबृद्धासम्म रक्सी पिउने दिनानु दिन बढ्दो अवस्थामा रहेको स्वास्थ्य संस्थाको तथ्याङक छ। स्वास्थ्य मन्त्री गगन थापाले ‘मेरो वर्ष(म स्वस्थ्य, मेरो देश स्वस्थ्यु भन्ने नारा अघि सारेर पाँच प्रतिवद्धता सार्वजनिक गरेका छन् । कार्यक्रममा बोल्दै मन्त्री थापाले रक्सी नखाने लगायतका पाँच प्रतिवद्धता अवलम्बवन गर्न सके मात्रै पनि राज्यले स्वास्थ्य उपचारको अरवौ खर्च बचाउन सकिने बताए। उपचारकै कारण आफ्नो खल्तीबाट धेरै पैसा खर्चने देशमा हाम्रो देश अगाडि भएको बताए। आफ्नो स्वास्थ्यलाई सधै तन्दुरुस्त राखी सुखी जीवन विताउन यो प्रतिवद्धतामा सहभागि हुन समेत सबैलाई मन्त्रीले आग्रह गरे। स्वास्थ्य रहन पाँच प्रतिवद्धताः १. म रक्सी, चरोट र सूर्तिजन्य पदार्थ खान्न २. म नियमित व्यायाम गर्छु ३. म स्वस्थ्य र पोषिलो खाना खान्छु ४. म नियमित स्वास्थ्य परीक्षण गराउँछु ५. म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग छु ।अन्नपूर्ण पोस्टबाट ।
हिमाँचल ट्रेकिङ गएका नेपालीकाे पीडा, चिसोले आँखैअगाडि दुई साथी गुमे
नयाँ दिल्ली । साहसिक यात्रा (एडभेन्चर ट्रिप) अनुभवको मूल्य दुई साथीको ज्यानै गुमाएर चुकाउनुपर्ला भनेर यी विद्यार्थीले पक्कै कल्पना गरेका थिएनन् । रमाइलो गर्ने, घुम्ने, नयाँ ठाउँको मजा लिने अनि हिउँसँग खेल्ने भनेर गत साता तीनदिने ट्रेकिङका लागि हिमाँचल प्रदेशको कुल्लु गएका पाँच नेपाली युवामध्ये दुई जनाले ज्यानै गुमाउनुपर्यो । प्राकृतिक सुन्दरता, मनमोहक दृश्यावलोकन सँगै हिउँको मज्जा लिँदै रमाइलो गर्न हिडेका उनीहरुको एडभेन्चर जिन्दगीभरका लागि नमिठो संझनामा परिणत भयो । दुइ साथीलाइ गुमाउनुको पिडासँगै उनीहरुलाइ आफूले पाएको पूनर्जीवनको वास्तविकता पत्याउनै गाह्रो भइरहेको छ । हिमाँचलको मणिकरण घाटीमा पर्ने रसौल–मलाना ट्रयाकमा हिडेका यी विद्यार्थीहरु रसौलटप भन्ने स्थानमा फँसेका थिए । पानी परेर चिसो भएको मौसममा हिमपात समेत भएपछि उनीहरु हराएका थिए । त्यसै क्रममा जीवन र मृत्युसँग पौँठेजोरी खेल्दै चम्पापुर कंचनपुरका संतोष ऐर र काठमाडौंका विप्रा पोखरेल सदाका लागि अस्ताए भने तीन जनाले पूर्नजीवन पाए । बाँचेका मध्ये एक अर्जुन मि श्र कुल्लुको जिल्ला अस्पतालबाट डिस्चार्ज भएर फर्किएपछि नयाँ दिल्लीको लक्ष्मीनगरमा पंक्तिकारसँग कुरा गर्न तयार भए । चार वर्षदेखि उत्तर प्रदेशको ग्रेटर नोयडाको आइआइएमटी इन्जिनियरिंग अन्तिम वर्षका छात्र अर्जुन मि श्र केहि महिना अघि मात्र हिमांचल प्रदेशको कुल्लुको ट्रेकिंगबाट फर्किएका थिए । ‘साथीहरुसँग फेरि जाने योजना बनायौं, मेरै नेतृत्वमा ट्रेकिङका लागि हिडेका थियौं । गाइड गर्न सक्छु भन्ने थियो । दिल्लीबाट कुल्लु हिडेका हामी मणिकरण ,खीरगंगा,रसौल हुँदै कसौलसम्म पुग्यौं,’ अर्जुनले भने । चैत १९ गते शनिबार राती साढे बाह्र बजे दिल्लीबाट हिडेका पाँच विद्याथी तीन दिनमा फर्किहाल्ने योजनामा थिए । तर, नियतीले अर्कै योजना बनाएको थियो उनीहरुका लागि । अर्जुनको अनुभव फेल खायो । ४ हजार फिटको उचाइमा रहेको रसौलबाट मलाना गाउँ तर्फ जाने क्रममा अचानक पानी पर्न थाल्यो । हिमपात पनि शुरु भयो । ‘हिडदै गयौं, हाम्रो अनुमानअनुसार तीन घंटामा मलाना पुगिसक्छौं भन्ने थियो । तर दुर्भाग्य सात बजेसम्म पनि हामीले बाटो फेला पार्न सकेनौं,’ उनले भने, ‘रसौलटप भन्ने ठाउँमा पुग्यौ, चारैतिर हिउँले पुरिएको छ, घुमिफिरी एउटै ठाउँमा पुग्थ्यौं । केहि बेरपछि हामीले चाल पायौं, बाटो भुल्यौ भनेर ।’ हिउँको चिसोले उनको पैताला अझै लाटिएको छ । मोबाइलको चार्ज पनि सकिइसकेको थियो । संतोष (चिसोले कठाग्रिएर निधन भएका कन्चनपुर निवासी संतोष ऐर) को मोबाइलमा १५ प्रतिशत ब्याट्री रहेछ । त्यसैबाट उनीहरूले सय नम्बरमा प्रहरीलाइ फोन गरे । दिल्लीमा रहेका दाइ राजेश घिमिरेलाई फोन गरेर बाटो भुलेको र चाँडै उद्धार नभए नबाँच्ने बताए । ‘कहाँ छौं भन्ने पनि थाहा छैन । हिउँ पर्न रोकिएको थिएन, चिसोले कठाग्रिदै थियौं । बाँच्दैनौ भन्ने थियौँ, तैपनि एक अर्कालाइ हौसला दियौं,’ उनले भने । अन्नपूर्ण पोस्टबाट ।
रविन्द्र मिश्रको साझा पार्टीले किशोर थापालाई काठमाडौंको मेयर उठाउने
काठमाडौं । पुर्व सचिव तथा इञ्जिनियर किशोर थापालले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने भएका छन् । उनले साझा पार्टीको प्रतिनिधित्व गर्दै काठमाडौं महानगरपालिकामा स्वतन्त्र मेयरको उम्मेदवारी दिन लागेका हुन् । साझा पार्टीले आफ्नो फेसबुक तथा ट्वीटर मार्फत थापाको उम्मेदवारी सार्वजनिक गरेका हो । आर्किटेक्ट इञ्जिनियर थापाले शहरी विकास, शिक्षा, पर्यटन र नागरिक उड्डयनका क्षेत्रमा लामो अनुभव बटुलेका छन् । काठमाडौं उपत्यकाको सडक विस्तार, मेलम्ची खानेपानी आयोजना, २० बर्षे उर्जा विकास योजना, बाहिरी चक्रपथ योजना, राष्ट्रिय आवास नीतिको निर्माणमा महत्वपुर्ण भूमिका खेलेका थिए । थापा साझा पार्टी केन्द्रिय संयोजन समितिका सदस्य हुन् ।
एनसेलले ल्यायो ‘कलआयो बोनस पायो’ अफर
काठमाडौं । एनसेलका सबै ग्राहकले अब विश्वका कुनै पनि देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट भन्दा बढी कुरा गर्दा दुई मिनेट बोनस टक टाइम पाउनेछन् । देशकै अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहकका लागि बोनस टक टाइमका साथ ‘कलआयो बोनस पायो’ अफर ल्याएको छ । जस अन्तर्गत एनसेल ग्राहकले अब विश्वका कुनै पनि देशबाट आएको अन्र्तराष्ट्रिय आगमन कलमा दुई मिनेट भन्दा बढी कुरा गर्दा दुई मिनेटको बोनस टक टाइम पाउनेछन् ।नयाँ वर्ष २०७४ को उपलक्ष्यमा ल्याइएको यो योजना यहि बैशाख १ गतेदेखि लागु हुनेछ । यस योजना अन्र्तगत ग्राहकले विदेशबाट आफ्ना आफन्तजन, साथीभाई र प्रियजनहरुले गरेको कल उठाई दुई मिनेट वा सो भन्दा बढी कुरा गर्दा दुई मिनेटको बोनस टक टाइम पाउनेछन् । अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गरेको दुई मिनेट पुरा भएपछि ग्राहकले स्वतः दुई मिनेटको बोनस टक टाइम पाउनेछन् । फोनमा जति मिनेट कुरा भए पनि ग्राहकले बोनस टक टाइम एक पल्ट मात्र कुरा गरेको दुई मिनेट पुरा भए पश्चात पाउँनेछन् । यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुनेछ । उक्त बोनसबाट ग्राहकले एनसेलको नेटवर्क भित्र कुरा गर्न सक्नेछन् । “नयाँ वर्ष २०७४ को शुभकामना स्वरुप यो ‘कलआयो बोनस पायो’ योजनाल्याइएको हो । ग्राहकले विदेशमा रहेका आफ्ना प्रियजनबाट आएको फोन उठाएर बोनस टक टाइम प्राप्तगर्दै एनसेल नेटवर्कमा रहेका अन्य आफन्तजन तथा साथीभाइसँग थप सम्पर्कमा रहनसक्नेछन्,” एनसेलका कपोर्रेट संवाद विज्ञ मिलन शर्माले भने । यो योजना तीन महिनाको लागि मान्य हुनेछ ।