विकासन्युज

लुम्बिनी जनरलले हकप्रद निष्कासन गर्ने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड

काठमाडौं । लुम्बिनी जनरल इन्स्यारेन्स कम्पनीले सेयरधनीलाई १०० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि अनुमति माग्न कम्पनी नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको ३९ लाख कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो । कम्पनीले चैत २० गते धितोपत्र बोर्डमा निवेदन दिएर सिबीआएल क्यापिटल मार्फत ३९ करोड लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न अनुमति मागेको हो ।

ठूला दातामा भारत र चीन परेनन्, यी हुन नेपाललाई धेरै सहयोग गर्ने १० दाता

काठमाडौं । भनिन्छ छिमेकी भनेको मर्दाका मलामी र पर्दाका जन्ती हुन् । तर नेपालका दुई ठूला छिमेकी राष्ट्र भारत र चीन भने नेपाललाई सघाउने ठूला दाताहरुमा पर्दैनन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०७२/७३ सालको वैदेशिक सहयोगीमा भारत र चीन दुबै नपरेका हुन् । गत आर्थिक बर्षमा नेपालको विकासमा साँझेदारीसहित सहयोग गर्ने ठुला ५ दातृ निकायमा विश्व बैंक, एसियाली विकास बैंक, अमेरिकी सहयोग नियोग(युएसएड), संयुक्त राष्ट्र संघ समुह र बेलायत पर्छन् । गत आवमा विश्व बैंकले नेपालको विकासमा २४३ दशमलब ६९ मिलियन अमेरिकी डलर उपलब्ध गराएको थियो भने एसियाली विकास बैंकले ११८ दशमलब ९३ मिलियन अमेरिकी डलर सहयोग गरेको हो । त्यस्तै, संयुक्त राष्ट्र संघ समुहले ११३ दशमलब ५७ मिलियन अमेरिकी डलर र बेलायतले ८९ दशमलब ४ मिलियन अमेरिकी डलर सहयोग गरेका हुन् । नेपाललाई ४५ दशमलब ९१ मिलियन अमेरिकी डलर सहयोग गरेको जापान छैठौं नम्बरमा छ भने ३६ दशमलब ९८ मिलियन डलर सहयोग गरेर स्विजरल्याण्ड सातौं स्थान ओगटेको छ । भारत भने जम्मा ३५ दशमलब ७६ मिलियन डलर सहयोग गरेर आठौं स्थानमा खुम्चिएको छ । नौं नम्बरमा रहेको नर्वेले ३५ दशमलब ५३ मिलियन डलर सहयोग गरेको छ भने दशौं नम्बरमा परेको चीनले जम्मा ३५ दशमलब ३६ मिलियन अमेरिकी डलर मात्रै सहयोग गरेको छ । फरक फरक प्राथमिकता ? विश्व बैंक र एसियाली विकास बैंकले क्रमशः ६५ दशमलब ७६ र ४२ दशमलब ३४ मिलियन अमेरिकी डलर सहयोग उर्जामा गरेका छन् । उता, अमेरिकाले भने स्वास्थ्य क्षेत्रमा बढि सहयोग गरेको छ । गत आवमा अमेरिकाले ४२ दशमलब ३२ मिलियन अमेरिकी डलर सहयोग स्वास्थ्य क्षेत्रमा लगाएको देखिन्छ । संयुक्त राष्ट्र संघ समुहले भने ३५ दशमलब १७ मिलियन डलर शान्ति तथा पुर्ननिर्माणमा लगाएको छ । बेलायतले भने सहयोगको ठुलो हिस्सा वातावरण, विज्ञान तथा प्रबिधीमा केन्द्रित गरेको छ । बेलायतले ३३ दशमलब ३० मिलियन अमेरिकी डलर वातावरण, विज्ञान तथा प्रबिधीमा लगाएको हो । कति आयो बजट प्रणालीमा ? अर्थ मन्त्रालयका अनुसार गत आवमा वैदेशिक सहयोग ५ दशमलब २२ प्रतिशत बढेको थियो । गत आवमा नेपालले एक अर्ब ७० करोड ४० लाख अमेरिकी डलर बैदेशिक सहयता पाएको थियो । सोमध्ये ५० प्रतिशत अनुदान थियो भने ३५ प्रतिशत ऋण र १५ प्रतिशत प्राबिधिक सहयोग थियो । सो रकममध्ये ६३ प्रतिशत मात्रै बजेट प्रणालीबाट आएको थियो । आर्थिक बर्ष २०७१/७२ सालमा कुल सहयोगको ६५ प्रतिशत बजेट प्रणालीबाट आएको थियो ।

१२ दिने भक्तपुर व्यापार मेला सम्पन्न, १० करोड रुपैयाँको कारोबार

भक्तपुर। सल्लाघारीमा गत चैत २२ गतेदेखि शुरु भएको १२ दिने औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा १० करोड रुपैयाँको कारोबार भएको छ । औद्योगिक शान्ति नेपालले आयोजना गरेको मेलामा चार लाख मानिसले अवलोकन गरेको आज आयोजित समापन कार्यक्रममा संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए । उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले दुई सय २५ स्टल राखिएको मेलामा दैनिक चर्चित कलाकारको साङ्गीतिक प्रस्तुति एवम् सामानमा ४० प्रतिशतसम्म छुट दिएकाले उपभोक्ताको घुइँचो लागेको आयोजक संस्था मध्यपुर ब्वाइज ब्यान्डका सुनिल बज्राचार्यले जानकारी दिए । मेलामा सयभन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारले हास्यव्यङ्ग्य, प्रहसन, गीत, नृत्य, जादूगरलगायत प्रस्तुतिका साथै नृत्य प्रतियोगिता सञ्चालन गरिएकै कारण पनि सहभागीको उत्साहजनक सहभागिता रहेको मेलाका संयोजक दीपक थापाले जानकारी दिए । मेलामा दैनिक उपभोग्य सामग्री, विभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री, पर्यटन प्रवद्र्धन गर्ने स्टल, खेल सामग्री, अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्रान्डका मोबाइल, इलेक्ट्रोनिक्स लगायतका सामानको स्टल राखिएको थियो । रासस

१० बर्ष भित्र वैदेशिक रोजगारीको अन्त्य गरिने

काठमाडौं । उद्योग मन्त्रालयको आगामी बर्षको बजेटले १० बर्ष भित्र रोजगारीका लागि विदेशिनु पर्ने वाध्यताको अन्त्य गर्न रोजगारी सृजनालाई प्रमुख प्राथमिकतामा राख्ने भएको छ । यसका लागि वैदेशिक लगानी आकर्षित गर्न दोस्रो पुस्ताको नीतिगत आर्थिक सुधारलाई निरन्तरता दिने र औद्योगिक पूर्वाधारको विकास गर्ने कार्यक्रमलाई मन्त्रालयले अगाडी बढाउने भएको छ । उद्योग मन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा मन्त्रालयमा आईतवार आयोजित छलफल कार्यक्रममा रोजगारी सृजनाका लागि आगामी आर्थिक बर्षमा स्वदेशी कच्चा पदार्थको प्रयोग गर्ने, कृषि र वनमा आधारित साना, लघु तथा घरेलु उद्योगलाई प्रोत्साहित गरिने निर्णय गरिएको छ । यस्ता उद्योगहरुको विकासका लागि प्रविधि र बजारिकणमा सघाउन मन्त्रालयका तर्फबाट अनुदानको व्यवस्था समेत गरिएको छ । उद्योग मन्त्रालयको आगामी आर्थिक बर्षको वजेटले ग्रामिण महिला तथा युवा उद्यमीहरुलाई उनीहरुको उद्योग विकासका लागि अनुदान समेत उपलब्ध गराउने नीति लिने भएको छ । यसरी अनुदान उपलब्ध गराउँदा ती उद्योग सँगको उत्पादकत्वलाई विश्लेषण गरी अनुदान उपलब्ध गराईनेछ । विदेशमा बस्ने नेपालीहरुलाई नेपाली बस्तुको प्रयोगलाई प्रात्साहित गर्न नेपाली वस्तुहरुको गुणस्तर प्रत्याभूत गर्ने दिशामा मन्त्रालयले सघाउने नीति लिने भएको छ । यसका लागि मन्त्रालयको नियमित वजेटका अतिरिक्त थप साँढे ३ अर्व रुपैंया बजेट आवश्यक पर्ने सो छलफल कार्यक्रममा बताईयो । मन्त्रालयले पहिलो पटक आगामी बर्षको बजेटको सम्वन्धमा सरोकारवाला निजी क्षेत्र सँग समेत छलफल गरी आगामी बजेटलाई अन्तिम रुप दिने तयारी समेत गरिरहेको छ । यसका लागि भोलि सोमवार मन्त्रालयमा सरोकारवाला निजी क्षेत्रको सहभागितामा छलफल कार्यक्रम हुँदैछ ।

राष्ट्रिय बीमा कम्पनीले बोलायो वैशाख २२ गते वार्षिक साधारणसभा, के के छन् प्रस्ताव?

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले आगामी वैशाख २२ गते कम्पनीको २९औँ वार्षिक साधारणसभा बोलाएको छ । चैत्र ३१ गते बिहिबार बसेको राष्ट्रिय बीमा संस्थान संचालक समितिको १४६७ औं बैठक र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालक समितिको १०२ औं बैठकले सोही दिन सभा बोलाउने निर्णय गरेका हुन् । उक्त सभामा कम्पनीको (साबिकको राष्ट्रिय बीमा संस्थानबाट निर्जीवन बीमा ब्यवसाय हस्तान्तरण भई आएको) आ.ब.२०६०/६१, २०६१/६२ र २०६२/६३ को लागि संचालक समितिबाट सिफारिस भए बमोजिंमको नगद लाभांश (कर प्रयोजनको लागि) तथा बोनस सेयर अनुमोदन गरिने कम्पनीले जनाएको छ । साथै, कम्पनीको प्रवन्धपत्र नियमावलीमा अत्यावश्यक संशोधन तथा पूँजी संरचना समायोजन गर्नको लागि प्रस्ताव प्रस्तुत गरिने छ । सोही प्रयोजनको लागि बिशेष साधारण सभा आयोजना गर्नको लागि संचालक समितिलाई अधिकार प्रदान गर्ने कम्पनीले बताएको छ । उक्त सभा प्रयोजनको लागि वैशाख ८ गतेदेखि २२ गतेसम्म कम्पनीको सेयर दर्ता किताब (बुक क्लोज) बन्द रहने छ ।

नयाँ वर्षलाई नेप्सेले देखायो रातो झण्डा, पहिलो कारोबारमा ४५ अंकको गिरावट

काठमाडौं । नेप्सेले नयाँ वर्ष २०७४ साललाई रातो झण्डा देखाएको छ । नयाँ वर्षमा पहिलो दिन खुलेको सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजारमा नेप्से परिसूचक ४५ दशमलब ५२ अंकले घटेर १६५१ दशमलब ६१ अंकमा झरेको छ । दोहोरो अंकले घटेको बजारमा सेयर कारोबारमा भने सामान्य गिरावट भएको छ । आइतबार बजारमा एक अर्ब २१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जुन अघिल्लो कारोबारको तुलनामा २७ करोड रुपैयाँ घटी हो । कुल १३५ कम्पनीको कारोबार भएको आइतबारको बजारमा १६ लाख ८७ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा कारोबार भएका सबै समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ३२२ अंकले ओरालो लागेको छ । त्यस्तै, फाइनान्स र अन्य समूहको परिसूचक क्रमशः ८ र ४ अंकले ओरालो झरेका छन् भने बाँकी समूहको परिसूचक दोहोरो अंकले ओरालो लागेका हुन् ।

सिटिजन्स बैंकले शुरु गर्यो ‘इन्टरबैंक फुटसल टुर्नामेन्ट’, १७ वटा वाणिज्य बैंक सहभागि हुने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल अधिराज्य भरिका वाणिज्य बैंकहरु बीच ‘थर्ड सिटिजन्स इन्टरबैंक फुटसल टुर्नामेन्ट’ आयोजना गरेको छ । १७ वटा वाणिज्य बैंकहरुको सहभागिता रहेको यस प्रतियोगिता वैशाख २ देखि ४ गते सम्म काठमाडौंको कमलादी स्थिति यूनिग्लोब कलेजमा सञ्चालन भईरहेको छ । उक्त प्रतियोगिताका बिजयताहरुलाई वैशाख ७ गते बैंकको मुख्य कार्यालय नारायणहिटिमा आयोजित हुने दशौं वार्षिकोत्सवमा ट्रोफी वितरण गरिने बैंकले जनाएको छ ।

मेची-महाकाली रेलमार्ग निर्माणमा बजेट अभाव, अर्थ मन्त्रालयले दिएन ७० करोड रुपैंयाँ

काठमाडौं । अर्थ मन्त्रालयले मेची-महाकाली रेल मार्ग निर्माणमा बजेट निकासा नगरेपछि बर्दिबास–लालबन्दी रेल मार्ग निर्माणले गति लिन छाडेको छ । रेल विभागले करिब पाँच महिना अघि मन्त्रालयलाई ७० करोड निकासा गरिदिन पत्र लेखेको थियो तर अर्थले अझै पैसा दिएको छैन् । ‘हामीले पाँच महिना अघि ७० करोड निकासाका लागि अनुरोध गरेर पत्र लेखेका थियौं तर अझै पाएका छैनौं’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले भने । सरकारले ९४५ किलोमिटरको मेची–महाकाली रेल मार्गलाई राष्ट्रिय गौरवको आयोजनामा राखेर बजेटको अभाव हुन नदिने प्रतिवद्धता गर्दै आएको थियो । तर पाँच महिनासम्म पनि ७० करोड निकासा नभएपछि रेल विभागका कर्मचारी समेत निरास बन्न थालेका छन् ।‘हामी धमाधम काम गरिरहेका छौं, कामदार कम्पनीलाई भुक्तानी गर्न पैसा मागेको अझै पाएका छैनौं’, उपाध्यायले भने । कतिपय आयोजनाले बजेट खर्च गर्न नसकेको भन्दै अर्थमन्त्रालयले चाँडो खर्च गर्न भनिरहेको छ । तर पुँजीगत खर्च गरिरहेका राष्ट्रिय गौरवका आयोजनाका लागि भने मन्त्रालयले पर्याप्त रकम उपलब्ध गराउन नसकेको पनि स्पष्टै भएको छ । रेल विभागले मेची–महाकाली रेल मार्ग अन्तर्गत बर्दिबास–लालबन्दीको ३० किलोमिटर खण्डमा धमाधम काम गरिरहेको छ । गत चैत ३ गतेको मन्त्रि परिषद बैठकले ११ हजार १ सय २३ वटा रुख काट्ने अनुमति दिएपछि विभागले थप उत्साहित हुँदै काम अघि बढाईरहेको छ । पुर्व पश्चिम रेल मार्गको औषत लागत प्रति किलोमिटर ३५ देखि ४० लाखको हाराहारीमा हुनेछ । यो रेल मार्गले नेपाललाई ट्रान्स एसियन रेलवे नेटवर्कसँग जोड्नेछ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक बर्षका लागि विभागलाई ४ अर्बको बजेट सिलिङ उपलब्ध गराएको छ । विभागले भने ७ अर्ब बजेट मागेको थियो । विभागले आगामी बर्षमा लालबन्दि–सिमरा रेल मार्गको काम अघि बढाउने तयारी गरिरहेको छ ।