साना घरायसी समान अब सिजी डिजिटल र एलजी सपमा
काठमाडौं । अब सिजी डिजिटल र एलजीका सोरुमहरुमा पनि घरायसी समा पाइने भएको छ । उपभोक्ताहरुको मागलाई ध्यानमा राखेर बिभिन्न कम्पनीका साना घरायसी समान उपलब्ध गराउन लागेको हो । उपभोक्ताहरुले देशैभर रहेका सिजी डिजिटल र एलजी सपहरुबाट साना घरायसी समानहरु खरिद गर्न सक्नेछन् । सिजी, पिजिओन लगायतका अन्तराष्ट्रिय ब्राण्डका समान ती शोरुमहरुमा उपलब्ध हुनेछन् । बिशेषगरि भान्छामा प्रयोग हुने ग्यास चुल्यो, प्रेसर कुकर, राइस कुकर, चप बोर्ड, चक्कु, लगायतका साना घरेलु समान खरिद गर्न सकिने दुबै कम्पनीले जनाएका छन् ।
१० बाणिज्य बैंकको नाफा साढे ४५ प्रतिशतले बढ्यो, कसको कति ?
काठमाडौं । १० वटा बाणिज्य बैंकहरुको कुल नाफा ४५ दशमलब ६८ प्रतिशतले वृद्धि भएको छ । तेश्रो त्रैमासिकको वित्तिय विवरण सार्वजनिक गरेका १० वटा बाणिज्य बैंकले आफ्नो कुल नाफा ३ अर्ब ६५ करोडले वृद्धि गरेर ११ अर्ब ६४ करोड पुर्याएका हुन् । गत आर्थिक बर्षको नौ महिनामा तीनै १० वटा बैंकहरुले जम्मा ७ अर्ब ९९ करोड मात्रै नाफा कमाउन सफल भएका थिए । १० मध्ये सबै भन्दा धेरै नाफा कमाउने बैंकका रुपमा एभरेष्ट बैंकले एक अर्ब ५२ करोड पुर्याएको छ । एभरेष्टले गत आवको नौ महिनामा १ अर्ब २० करोड नाफा कमाएको थियो । ग्लोबल आइएमई बैंकले १ अर्ब ४८ करोड नाफा कमाउँदै दोश्रो स्थान सुरक्षित गरेको छ । यो बैंकले गत आवको सोही अवधीमा जम्मा १ अर्ब ३ करोड कमाएको थियो । प्रभु बैंकले १ अर्ब ४४ करोड नाफा कमाउन सफल भएको छ । यसले गत आवको नौ महिनामा ६२ करोड नाफा कमाएको थियो । एनएमबी बैंकले पनि एक अर्ब २३ करोड नाफा कमाएको छ । यसले गत आवको सोही अवधीमा जम्मा ७७ करोड नाफा कमाएको थियो । एनआइसी एसिया बैंकले पनि १ अर्ब १३ करोड नाफा कमाउन सफल भएको छ । जबकी यो बैंकले गत आवको नौ महिनासम्मा जम्मा ७५ करोड मात्रै नाफा कमाउन सफल भएको थियो । सिद्धार्थ बैंकले पनि एक अर्ब १३ करोड नाफा आर्जन गरेको छ । यो बैंकले गत आवको नौ महिनामा भने जम्मा ७८ करोड मात्रै नाफा आर्जन गरेको थियो ।माछापुच्छ्रे बैंकले पनि एक अर्ब ५ करोड नाफा कमाएको छ । यो बैंकले गत आवको सोही अवधीमा जम्मा ६२ करोड नाफा कमाएको थियो । सानिमा बैंक, नेपाल बंगलादेश बैंक र सिटिजन्स बैंकले मात्रै एक अर्ब नाफा पुर्याउन सकेका छैनन् । नौ महिनामा सानिमा बैंकले ९७ करोड नाफा कमाएको छ । गत आवको नौ महिनमा यसले ६७ करोड नाफा कमाएको थियो । त्यस्तै, सिटिजन्स बैंक इन्टरनेशनलले ८७ करोड नाफा कमाएको छ । यसले अघिल्लो आवको सोही अवधीमा ७२ करोड नाफा कमाएको थियो । नेपाल बंगलादेश बैंकको नाफा पनि ८२ करोड पुगेको छ । यसले गत आवको नौ महिनामा ७० करोड नाफा कमाउन सफल भएको थियो ।
काठमाडौंको मेयरमा एमालेबाट विद्या सुन्दर शाक्यको उम्मेदवारी
काठमाडौं । नेकपा(एमाले)ले काठमाडौंको मेयरमा विद्या सुन्दर शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले स्थायी कमिटी बैठकले शाक्यलाई काठमाडौं महानगरपालिकाको मेयर बनाउने निर्णय गरेको हो । शाक्य एमाले काठमाडौं जिल्ला कमिटीका सचिव तथा महानगरपालिकाको दलिय संयन्त्रमा एमालेका प्रतिनिधी छन् । केशब स्थापित र गौरी प्रधानलाई पछि पार्दै शाक्यले काठमाडौं महानगरपालिकाको मेयरको टिकट हात पारेका हुन् । उप मेयर भने राप्रपाले पाउनेछ । एमाले र राप्रपाले काठमाडौं र ललितपुर उपमहानगरपालिकामा तालमेल गर्ने निर्णय गरेका हुन् । दुबै महानगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयर लिने सहमति भएको हो ।
नविन्द्रराज जोशीका दाईलाई काठमाडौंको मेयर बनाउने काँग्रेसको निर्णय
काठमाडौं । नेपाली काँग्रेसले काठमाडौं महानगरपालिकको मेयरमा राजुराज जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले जोशीलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । जोशी उद्योग मन्त्री नविन्द्रराज जोशीका दाई हुन् । काँग्रेसले उपमेयरको उम्मेदवार भने हरिप्रभा खड्गीलाई बनाउने निर्णय गरेको छ । त्यसैगरी ललितपुर महानगरपालिकाका प्रमुखमा चिरिबाबु महर्जन र उपप्रमुखमा गीता सत्याललाई चुनावी मैदानमा उतारेको छ । क्षेत्रफलका हिसाबले नेपालकै सबैभन्दा ठूलो महानगर मानिएको प्रदेश नं ४ को पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले रामजी कुँवर र उपप्रमुखमा सरस्वती गुरुङलाई उम्मेदवार बनाएको छ । यसैगरी भरतपुर महानगरपालिका प्रमुखमा दिनेश कोइराला र उपप्रमुखमा पार्वती शाहलाई उम्मेदवार बनाएको छ । पहिलो चरणमा निर्वाचन हुने एकमात्र उपमहानगरपालिका हेटौडा उपमहानगरपालिकाका कांग्रेसले प्रमुखमा आनन्दराम पराजुली र उपप्रमुखमा लक्ष्मी श्रेष्ठलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसका तर्फबाट संबन्धित महा /उप–महानगरपालिकाको प्रमुख,उपप्रमुख र वडा अध्यक्ष सहित सदस्य पदमा आधिकारिक रुपमा मनोनयन गरिएका उमेद्वारहरुले संबन्धित निर्वाचन अधिकृतको कार्यालयमा उमेद्वारी दर्ता गराउने क्रम जारी रहेको छ ।
समयमा नबन्ने भयो बाराको गार्मेण्ट प्रोसेशिङ जोन, पूर्वाधार निर्माणका लागि २ अर्ब २० करोड लाग्ने
काठमाडौं । आगामी आर्थिक वर्ष २०७४/७५ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य सहित अघि बढाएको गार्मेण्ट प्रोसेशिङ जोन (जीपीजेड) निर्माण कार्य ढिला हुने भएको छ । चालु आर्थिक वर्षको बजेट घोषणाको क्रममा २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ अघि उक्त परियोजन अघि बढाउने भनिएपनि अहिलेसम्म आयोजना निर्माणको ठोस काम हुन सकेको छैन । जोन स्थापनाका लागि अर्थ मन्त्रालयबाट माघमा मात्र सहमति आएको र बजेटका कारण समयमा परियोजना निर्माण कार्य शुरु गर्न नसक्दा जोन सञ्चालनमा आउन अझै ३ वर्ष लाग्ने भएको हो । सरकारले चालू आवमा जोने पूर्वाधार निर्माणका लागि ५० करोड रुपैयाँ निकासा गरेको छ । परियोजना निर्माण गर्ने क्रममा रकम अभाव भएमा अझ थप्ने बताएको छ । उक्त परियोजनाको पूर्वाधार निर्माणका लागि कुल २ अर्ब २० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । सिमरा विशेष आर्थिक क्षेत्रअन्तर्गत एक सय ६५ बिगाह क्षेत्रफलमा उक्त जोन बन्दै गरेको छ । जोन निर्माण कार्य शुरु भएपनि निर्धारित समयमा भने नसकिने भएको छ । विभिन्न चारओटा प्याकेजमा आयोजनाको काम अगाडि बढाउन लागिएको आयोजना प्रमुख तथा सेज विकास समितिका इञ्जिनीयर अर्जुन पाण्डेयले बताए । ‘३ वर्षमा परियोजना निर्माण कार्य सम्पन्न गर्ने गरी योजनाका चारओटै प्याकेजको टेण्डर गर्ने तयारी भइरहेको छ,’ उनले भने ‘चारओटै प्याकेजका लागि छुट्टाछट्टै टेण्डर गरिने छ ।’ परियोजनाको पहिलो प्याकेजमा बाटो, जग्गा विकास, नाला निर्माण, खानेपानीलगायतका काम सम्पन्न गरिनेछ । यसका लागि एक अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । दोस्रो प्याकेजमा विद्युत्, ढल प्रशोधन केन्द्रलाई समेटिएको छ । यसको अनुमानित लागत करीब ५७ करोड रुपैयाँ छ । विभिन्न भवनको निर्माण कार्य तेस्रो प्याकेजमा राखिएको छ । यसका लागि ३५ करोड रुपैयाँ र हेलिप्याड, हेल्थ क्लब, गेष्ट हाउसलगायत चौथो प्याकेजमा २९ करोड खर्च लाग्ने अनुमान छ । गार्मेण्ट प्रोसेसिङ दुईओटा प्याकेजका टेण्डर समेत भरसक यसै वर्ष अगाडि बढाउने तयारी आयोजनाले गरेको छ । सिमरा सेजलाई बहुवर्षीय आयोजनाका रूपमा अगाडि बढाउने सरकारको योजना छ । यदि योजना अघि बढेमा सिमरा सेज ८ सय ३३ बिगाह क्षेत्रफलमा फैलिएको हुनेछ ।
३ वर्षभित्रै राजधानीका सबै कारखाना र इँटाभट्टा विस्थापित हुने
काठमाडौं । नेकपा(एमाले)ले काठमाडौं उपत्यकका तीन जिल्लालाई संसारकै रमणीय सांस्कृतिक तथा व्यवस्थित शहरका रुपमा स्थापित गराउने प्रतिवद्धता व्यक्त गरेको छ । एमालेले आफ्नो सरकार बनेको दोश्रो वर्षभित्र नेपालको राजधानी रहेको उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरूलाई मिलाएर मेघा नगर घोषणा गर्ने बताएको छ । काठमाडौँ उपत्यका लगायत मकवानपुरको टिस्टुङ र कुलेखानी क्षेत्र, धादिङको बैरेनी र नौबिसेसम्मको क्षेत्र, विदुर, बेत्रावतीदेखि बैरेनीसम्मको नुवाकोट र रसुवा जिल्लामा पर्ने त्रिशुली उपत्यका, मेलम्ची समेत इन्द्रावती उपत्यका र दोलालघाट, पाँचखाल, भकुन्डेबेसी, बनेपा, धुलिखेल र पनौती क्षेत्र समाहित हुने गरी वृहत्तर राजधानी क्षेत्रको विकास गर्ने पनि एमाले प्रतिवद्धता छ । एक बर्षमै अधिकार सम्पन्न राजधानी सुधार, विस्तार तथा विकास प्राधिकरण स्थापना गरि गुरुयोजना बनाउने, दोस्रो वर्षदेखि सम्पूर्ण संरचना निर्माण शुरु.गर्ने भनिएको छ । त्यसरी विकसित गरिएको राजधानीमा एउटा मेघा शहर सहित १० वटा अत्याधुनिक स्याटलाइट शहर निर्माण गर्ने एमाले भननई छ । एमालेले ३ वर्षभित्र गाडी पार्किङका लागि उपत्यकाका विभिन्न स्थानमा बहुतले भवनहरू निर्माण गर्ने, सबै सडकहरूमा पाँच मिनेटको फरकमा छुट्ने गरी महानगरपालिकाद्वारा सञ्चालित सुविधा सम्पन्न सार्वजनिक यातायातका साधनहरू सञ्चालन गर्नेछ । ३ वर्षभित्र राजधानी उपत्यकाबाट सबै किसिमका कारखाना, इँटाभट्टा र वर्कशपहरूलाई उपत्यका बाहिर स्थानान्तरण गर्नेछ । राजधानीमा भित्री, बाहिरी र बृहत्् गरी तीन वटा चक्रपथ निर्माण, विस्तार तथा विकास गरिने छ । सबै चक्रपथ र अन्य सडकहरूको समानान्तर मेट्रो रेल सञ्चालन गर्ने बताएको छ । एमालेले प्राकृतिक ताल तथा निर्माण हुनेसमेत गरी राजधानी उपत्यकाभित्र कम्तीमा २० वटा तालको विकास गर्नेछ । ती तालहरूको पानी तथा उपत्यका बाहिरका नदीहरूबाट लिफ्ट प्रणालीबाट पानी प्रवाहित गरी वाग्मती, विष्णुमती, मनोहरा र हनुमन्तेमा सफा पानी बग्ने सुनिश्चित गर्नेछ । चोभारमा सोही प्रणालीबाट पानी प्रशोधन गरी पिउने पानीको रूपमा पनि प्रयोग गर्नेछ । वाग्मती नदीको शिरदेखि चोभारसम्म ५० मिटर चौडाइको नदी प्रवाह क्षेत्र कायम गर्ने, नदीका दुवै किनारामा ५०÷५० मिटर ग्रिनवेल्ट निर्माण गरी कम्तीमा २५ स्थानमा पार्क निर्माण गर्ने, वाग्मती नदीमा ठाउँ– ठाउँमा बाँध हालेर ताल विकास गरिने छ । वाग्मती नदी र यसका शाखाहरूको स्वच्छता, पवित्रता र नदी प्रवाहक्षेत्रलाई कानूनद्वारा संरक्षण गरी उल्लंघन गर्नेलाई दण्ड जरिवाना लाग्ने व्यवस्था लागु गर्ने एमाले प्रतिद्धता छ । फुल्चोकी, मृगस्थली, गोकर्ण र शिवपुरीका जङ्गगलहरूलाई जोड्ने गरी एकीकृत विकास गरिने छ । यो क्षेत्रलाई खुल्ला चिडियाखाना र पर्यटन केन्द्रका रूपमा विकास गरिने उल्लेख ।
प्रदेश नं ३,४ र ६ मा स्थानीय तहको मनोनयन दर्ता सुरु
काठमाडौँ, १९ वैशाख । मुलुकका ७४४ वटा स्थानीय तहमध्ये वैशाख ३१ गते हुने तीन प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा जनप्रतिनिधि छान्न आज मनोनयन दर्ता सुरु भएको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि विहान १० बजे देखि ५ बजेसम्मको समय तय गरेको छ । मुलुकका प्रदेश नं ३, ४ र ६ का सबै महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा विभिन्न राजनीतिक दलले मनोनयन दर्ता गर्न सुरु गरेका छन् । संविधानसभाबाट बनेको संविधान कार्यान्वयन गर्ने क्रममा हुन लागेको स्थानीय तहको ऐतिहासिक निर्वाचनले डेढ दशकदेखिको जनप्रतिनिधिको रिक्तताको अन्त्य गर्दै स्थानीय सरकार निर्माण हुनेछ । गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाबाट निर्वाचित हुने जनप्रतिनिधिबाट लोकतन्त्रको स्थानीय तहमै वास्तविक अभ्यास भई जनताले लोकतन्त्रको लाभको उपभोग गर्ने विश्वास निर्वाचन आयोगले लिएको छ । रासस
माछापुच्छ्रे बैंकको नाफा ६१ प्रतिशतले बढ्यो, नौ महिनाको कमाई १ अर्ब रुपैयाँ
काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा १ अर्ब रुपैयाँ नाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ६१ प्रतिशतले बढी हो । यस बैंकको चुक्ता पुँजी ६ अर्ब ५९ करोड रुपैयाँ छ भने जगेडा तथा संचित कोषमा १ अर्ब ७५ करोड रुपैयाँ छ । एक वर्षमा बैंकले निक्षेप करिव ११ अर्ब वृद्धि गरी ५८ अर्ब रुपैयाँ पुर्याएको छ । कर्जा सापटी १३ अर्बले वृद्धि गरी ५३ अर्ब रुपैयाँ पुर्याएको छ । लगानी करिब ५ अर्ब रुपैयाँ छ । सेयर पुँजीको आधारमा बैंकको बिजनेश भोलुम केही सानो भएको छ । बैंकको पुँजी प्रयाप्तता अनुपात १६ प्रतिशत छ । निक्षेप कर्जा अनुपात ७१ प्रतिशतमा झरेको छ । खराव कर्जा शुन्य दशमलव ३६ प्रतिशतमा झरेको छ । यसले बैंकको पोजिशन राम्रो देखाउँछ । बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ छ । हाल यस बैंकको सेयर प्रतिकित्ता ४२० रुपैयाँमा कारोबार भईरहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ छ ।