जनता बैंकबाट गुरुप्रसाद न्यौपानेको सेयर जफत हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले जनता बैंकमा रहेको गुरुप्रसाद न्यौपानेको सेयर जफत गर्न निर्देशन दिएको छ । न्यौपानेले आफु बैंकको सञ्चालक रहेका बेला श्रीमतीका नाममा सेयर बजारबाट सेयर खरिद गरेको फेला परेपछि न्यौपानेको सेयर जफत गर्न जनता बैंकलाई निर्देशन दिएको हो । न्यौपानेकी श्रीमति सुमित्रादेवी न्यौपानको स्वामित्वमा रहेको सर्व साधारण समुहको ५२ हजार ४ सय ७० कित्ता सेयर जफत गर्न राष्ट्र बैंकले भदौ ११ गते जनता बैंकलाई पत्र लेखेको हो । सो सेयर वापत आउने बोनस तथा हकप्रद सेयर समेत जफल गर्न केन्द्रिय बैंकले भनेको छ । न्यौपानेकी श्रीमतिका नाममा १२ प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रद वापत कुल ८५ हजार कित्ता सेय रहेको छ । जनता बैंकको सेयरको बजार मूल्यका आधारमा न्यौपाने परिवारको २ करोड १२ लाख भन्दा बढि मूल्यको साधारण सेयर जफत हुन लागेको हो । यसरी जफत भएको सेयर स्वतः जनता बैंकको सम्पतिमा गणना हुनेछ ।
दशै तिहारको अवसरमा टिसीएलले ‘ल्यायो हातमा हात्ती पकेटको साथी’ अफर
काठमाडौं । टिभी ब्राण्ड टीसीएलले दशैं तिहारलाई लक्षित गरी ‘हातमा हात्ती पकेटको साथी’ अफर ल्याएको छ । यो योजनामा ग्राहकले प्रत्येक टीसीएलका टिभी, वासिन मेसिन , रेफ्रिजेरेटरको खरीदमा २५ हजार रुपैयाँसम्मको नगद छुट तथा एयर कन्डिस्नरको खरीदमा फ्रि इन्सटलेसन पाउने कम्पनीले जनाएको छ । ग्राहकले खरीद गरेको सामाग्री टिसीएलको अफिसियल फेसबुक पेजमा वारेन्टि कार्ड सहित सेल्फि अपलोड गरी धेरै भन्दा धेरै लाइक पाएर उत्कृष्ट १० जनाले २५ हजार रुपैयाँ सम्म पाउने तथा आकर्षक उपहारहरु जित्ने मौका पाउने कम्पनीले जानकारी दिएको छ । नेपालका लागि टिसीएल ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत इओएल प्रालि रहेको छ ।
नेशनल लाईफद्धारा बाढीपीडितलाई राहत वितरण
काठमाडौं । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले तराई बाढीपिडितहरुलाई राहत वितरण गरेको छ । कम्पनीको शाखा कार्यालय राजविराज मार्फत उक्त राहत वितरण गरिएको थियो । तिलाठी कोइलाडी गाँउपालिका वडा नं ५ अन्तर्गत कोइलाडी बर्साइन गाविसको वडा नं. १, ३ र ४ मा ४ सय ५० जना बाढीपिडित परिवारलाई चामल, दाल, आलु, नुन, गेडागुडि, चिउरा आदि वितरण गरेको छ । २०७४ भाद्र १७ गतेको दिन राजविराज शाखाका शाखा प्रमुख राजेन्द्र प्रसाद यादवको संयोजकत्व रहेको उक्त राहत वितरण कार्यक्रममा कम्पनीका शाखा कार्यालयका कर्मचारीहरु लगायत अन्य शाखाका प्रमुखहरु तथा अभिकर्ताहरुको टोली एवंम प्रहरी प्रशासनका कर्मचारीहरु राहत सामाग्री पिडितहरुको घर आगनमै पुगी वितरण गरेको जानकारी जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । कम्पनीले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत उक्त राहत वितरण गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नारच्याङमा जलविद्युत् आयोजनाका काम धमाधम
म्याग्दी । जलविद्युत्मा प्रचुर सम्भावना बोकेको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा भित्रिएका जलविद्युत् आयोजनाले निर्माण कार्यलाई तीव्रता दिएका छन् । नारच्याङमा अहिले ५ वटा जलविद्युत् आयोजनाले निर्माण अगाडि बढाएका छन् । जलविद्युत् आयोजनाले पूर्वाधार निर्माणलाई तीव्रता दिएसँगै नारच्याङ छिट्टै जलविद्युत् गाउँका रुपमा विकास हुने भएको छ । अन्नपूर्ण हिमालको फेदीबाट बग्ने घलेम्दीखोलाबाट विद्युत् उत्पादन गर्न लागेको घलेम्दीखोला जलविद्युत् आयोजनाले आगामी चैतभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्यसहित पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । घलेम्दी हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको पाँच मेगावाट क्षमताको सो आयोजनाको करिब एक हजार ७ सय मिटर लामो सुरुङ निर्माण सकिएको छ । सुरुङमार्ग निर्माणले पूर्णता पाएसँगै बाँधतर्फ सामान ढुवानी गर्न सकिने भएकाले निर्माण सहज भएको घलेम्दी हाइड्रो लिमिटेडका अध्यक्ष किशोर सुवेदीले बताए । सो आयोजना जिल्लाकै लगानीकर्ता र प्रवद्र्धकको प्रयासमा निर्माण हुन लागेको पहिलो आयोजना हो । विसं २०७१ देखि शुरु भएको आयोजनाको पूर्वाधार निर्माणको काम हालसम्म ७५ प्रतिशत पूरा भएको छ । आयोजनाबाट २०७४ चैतभित्र उत्पादन शुरु गर्ने लक्ष्य छ । आयोजनामा लुम्बिनी र टुरिजम् डेभलपमेन्ट बैंकले ५५ करोड रुपैयाँ लगानी गरेका छन् । सो आयोजनाबाट उत्पादन हुने विद्युत्लाई नारच्याङकै घरापस्थित तातोपानी साना जलविद्युत् आयोजनाको सबस्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जडान गर्ने योजना छ । नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाले समेत पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । रोवष्ट इनर्जी प्रालिले निर्माण गर्न लागेको सो आयोजनाको काम विगत करिब १ वर्षदेखि दु्रत गतिमा बढेको छ । निलगिरि र घलेम्दीखोलाको दोभानमा बाँध रहने यस आयोजनाको २ हजार ३ सय मिटर सुरुङमार्गबाट ल्याइने पानीलाई २ सय ८७ मिटर हेडबाट नारच्याङको बेँसीगाउँस्थित कालीगण्डकी नदीको किनारमा रहने विद्युत् गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ । पूर्वाधार निर्माणमा परिचालन भएको हाई हिमाल हाइड्रो कन्स्ट्रक्सनले अहिलेसम्म ९ सय ६० मिटरभन्दा बढी सुरुङमार्ग निर्माण गरिसकेको परामर्शदाता हाइड्रो कन्सल्ट इन्जिनियरिङका आवासिय इन्जिनियर दिवाकर खड्काले बताए । सन् २०१६ को जुनदेखि पूर्वाधार निर्माण शुरु गरेको उक्त आयोजनाबाट सन् २०१९ फेब्रुअरीसम्ममा विद्युत् उत्पादन शुरु गर्ने लक्ष्यअनुसार काम भइरहेको छ । नारच्याङमै निलगिरि खोलाबाट जलविद्युत् उत्पादनका लागि २ वटा आयोजनाको काम अगाडि बढेको छ । ३८ मेगावाटको निलगिरि र ६२ मेगावाट क्षमताको निलगिरि क्यास्केटका प्रवद्र्धकले निलगिरि खोलाको किनार हुँदै सडक निर्माण भइरहेको स्थानीय जनजागरण युवा क्लबका तमबहादुर चोचाङ्गीले बताए । नारच्याङमा विसं २०४३ मा निर्माण शुरु भएर २०४४ देखि जिल्लामै पहिलोपटक विद्युत् वितरण थालेको दुई मेगावाट क्षमताको तातोपानी जलविद्युत् आयोजनाले जलविद्युत्को सम्भावनाको ढोका खोलेको थियो । अन्नपूर्ण साउथबाट बग्ने घलेम्दी, निलगिरि हिमालबाट बग्ने निलगिरि र खयरवराह तालबाट बग्ने रेले खोला तथा कालीगण्डकी नदीबाट विद्युत् उत्पादनका लागि अहिलेसम्म नारच्याङमा मात्रै १० वटा जलविद्युत् आयोजना दर्ता भइसकेका छन् । दर्ता भएकामध्ये १० मेगावाटको रेलेखोला जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकेको छ भने १० मेगावाट क्षमताको माथिल्लो घलेम्दी, पाँच मेगावाटको निलगिरि माथिल्लो र ५० मेगावाटको मध्य कालीगण्डकी जलविद्युत् आयोजना अहिले दर्ता भएर इआइएको चरणमा छन् । लाइसेन्स खारेजीमा परेको १६५ मेगावाट क्षमताको कालीगण्डकी गर्ज डिटेल सर्वेको काम सकेको र करिब ३ सय रोपनी जग्गाको मुआब्जा वितरण गरिसकेकाले उक्त आयोजना लगानीकर्ताको खोजीमा छ । जलविद्युत् आयोजनासँगै गाउँमा भौतिक पूर्वाधार विकासले गति लिएको छ । स्थानीयस्तरमा उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि म्याग्दीको दाना र पर्वतको खुर्कोटमा २ सय २० केभी क्षमताको सबस्टेसन तथा ३८ किमी दूरीको दाना–खुर्कोट प्रसारण लाइन निर्माण शुरु गरेपछि जलविद्युत् आयोजनाले पूर्वाधार निर्माणलाई तीव्रता दिएका हुन् । आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्ने प्रसारण लाइन र सबस्टेसनको अभावमा यसअघि अनुमति लिएर पनि लामो समयदेखि दर्तामै थन्किनु परेको थियो । रासस
पानी बाँडफाँडमा कुरा नमिलेपछि नेपाल–भारत पञ्चेश्वर वार्ता विफल, भारतले अग्राधिकार खोजेपछि नेपालीले गरे अस्वीकार
काठमाडौं । पानीको बाँडफाँडमा कुरा नमिलेपछि नेपाल–भारतबीच पञ्चेश्वर वहुउद्धेशिय परियोजना अघि बढाउने विषयमा भएको वार्ता विफल भएको छ । पानी बाँडफाँडको विषयमा कुरा नमिल्दा अन्य विषयमा प्रवेश नै नगरी दुई देशको सचिवस्तरिय प्राविधिक समितिको वैठक निश्कर्ष विहीन भएको हो । वैठक भारतको नयाँ दिल्लीमा भएको थियो । भारतले यसअघि शारादा व्यारेजमा उपयोग गरेको पानीको हिस्सा बाहेक बाँडफाँड गर्नुपर्ने अडान लिएर अग्राधिकार कायम गरेपछि वार्ता विफल भएको वार्तामा सहभागी जल तथा ऊर्जा आयोगका सहसचिव माधव वेल्वासेले बताए । उनका अनुसार भारतले शारादा व्यारेजमार्फत पाइरहेको पानीको भोगचलन वर्तमान अवस्थामा पनि पाउनुपर्ने गरी अग्राधिकार कायम गर्न माग गरेको थियो । शारदा व्यारेजलाई दिइरहेको पानी बाहेक बाँटफाँट गर्न भारतीय पक्षले प्रस्ताव गरेपछि नेपालले अस्वीकार गरेको वेल्वासेको भनाई छ । शारदाको पानीमा अग्राधिकार कायम गरेपछि बाँकी पानीको स्रोत धेरै कम हुने भएपनि नेपालले अस्वीकार गरेको हो । महाकाली सन्धीअनुसार पञ्चेश्वर परियोजनाको पानी र जलविद्युत आधाआधी हुने भन्ने सन्धीको व्यवस्था विपरित भारतले पानीको माग गरेको छ । सचिवस्तरिय वार्ताबाट पञ्चेश्वरमा सहमति जुट्ने अपेक्षा नेपालले लिएको थियो । पञ्चेश्वर जलासय बनेपछि पनि भारतले वर्षादमा पनि पानी चाहिने भनेपछि वार्ता निश्कर्षमा पुग्न नसकेको वार्तामा सहभागी ऊर्जा मन्त्रालयका सहसचिव तथा प्रवत्ता दिनेशकुमार घिमिरेले बताए । भारतले वर्षादमा पनि पानी मागेपछि जलासय नभरिने र बिजुली उत्पादन घट्ने भएपनि यसलाई अस्वीकार गरेको उनको भनाई छ । परामर्शदाता वापकोर्स इन्डिया लिमिटेडले तल्लो र माथिल्लो गरी पञ्चेश्वरको जडित क्षमता ५ हजार ४० मेगावाट हुने गरी विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार पारेको छ । पञ्चेश्वरबाट वर्षैभरी ९२५ मेगावाट बिजुली (फर्म पावर) उत्पादन हुने देखिएको छ । यसको आधा ४६२ मेगावाट बिजुली वर्षेभरी आउनुपर्ने गरी जलासय भर्न पाउनुपर्ने माग राखेको उनले बताए । नेपालले परियोजनको जलासयमा वर्षादमा पानी भर्नुपर्ने माग राखेको थियो । “पहिलो दिन धेरै कुरा मिलिसकेको थियो“ उनले भने दोस्रो दिनमा भारतीय अधिकारीले राजनीतिक कुरा भएको भन्दै सहमति लिन आवश्यक देखियो भनेर अर्को बैठकमा थप छलफल आवश्यक भएको भन्दै पछि हटे ।” वैठकमा सन् १९६२ देखि सन् २०१२ सम्मको ५० वर्षको जलवायुको प्रतिवेदनलाई दुवै पक्षले स्वीकार गरेको उनले जानकारी दिए । बैठकको प्राविधिक समूहका विभिन्न समूह र उपसमूह गठन गरेर सहमतिको प्रयास गरिएको थियो । सन् २००३ मा भारतीय पक्षले दिएको प्रतिवेदनमा पानीको वहाव कम देखाएको थियो । पानीको विषयमा कुरा नमिलेपछि लगानीलगायत अन्य विषयमा प्रवेश नै नपाएको उनले जानकारी दिए । बैठक पुनः बस्ने गरी सकिएको छ । विभिन्न कार्यसमूह बनाइ फेरी वार्ता गर्ने सहमति भएको छ । नेपालले सन्धीमा भएको प्रावधान बमोजिम पानी र बिजुली आधाआधा हुनुपर्ने अडान लिएको छ । नेपालले परियोजनामा कुल लागतको ३७ र बाँकी ६३ प्रतिशत भारतको लगानी हुनुपर्ने अडान कायमै राखेको छ । एकसाता अघि काठमाडौमा भएको सचिवस्तरिय प्राविधिक बैठकमा सहमति जुट्न नसकेपछि पुनः दिल्लीमा बैठक बोलाइएको थियो । बैठकमा नेपालको तर्फबाट जल तथा ऊर्जा आयोगका सचिव मधुसुदन अधिकारी र भारतको केन्द्रीय जल आयोगका अध्यक्ष नरेन्द्रकुमारले नेतृत्व गरेका थिए । नेपालले पानीको उपयोग गर्न नसक्ने नेपालले पञ्चेश्वरबाट बाँध बनेपछि प्राप्त हुने पानी पूरै उपयोग गर्न नसक्ने देखिएको छ । महाकाली सन्धीले पानी, बिजुली र लगानी आधा–आधा भने पनि नेपालतर्फ सिँचाइ गर्ने भूमि कम भएपछि यस्तो अवस्था आउने देखिएको हो । नेपालतर्फ कैलाली र कञ्चनपुर गरी कुल ९३ हजार हेक्टरमा मात्र सिँचाइ हुने देखिएको छ । बार्दिया र कैलाली सिमाना कर्णाली चिसापानीमा रानीजमरा–कुलरिया सिँचाइ आयोजना निर्माणाधीन अवस्थामा रहेकाले कैलालीमा महाकालीको पानी आवश्यक पर्ने दखिँदैन । उता, भारततर्फ भने १६ लाख हेक्टर जमिन सिञ्चित हुने देखिएको छ ।
नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट रातमा पनि खुल्ला
? चितवन । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर नारायणगढ–मुग्लिन सडक यही भदौ २८ गतेबाट रातको समयमा पनि खुल्ला गरिने भएको छ । स्थानीय प्रशासन, प्रहरी, निर्माण कम्पनी र सरोकारवालाहरुको आज यहाँ सम्पन्न बैठकले चाडपर्वका बेला सडकलाई यात्रुमैत्री बनाउन विभिन्न निर्णयसमेत गरेको छ । गत असार २५ गतेबाट सो सडक रातको समयमा बन्द गर्ने गरिएको थियो । मुग्लिनबाट आउने सवारीलाई साँझ ७ देखि बिहान ५ बजेसम्म रोकिँदै आएको छ भने नारायणगढतर्फबाट जाने सवारीलाई दासढुंगामा साँझ ६ देखि बिहान ४ बजेसम्म रोकिँदै आएको छ । रातिको समयमा पहिरोको जोखिम बढेपछि सवारी साधन रोकिएको र मौसममा सुधार आएसँगै चाडपर्वलाई मध्यनजर गर्दै रातिको समयमा पनि सडक खुल्ला गर्ने निर्णय गरिएको बैठकमा सहभागी नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले बताए । यात्रुबाहक सवारी साधनको चाप हुने समयमा मालबाहक सवारी साधनलाई रोकेर यात्रुबाहकलाई प्राथमिकताका साथ सडक पार गराउने बैठकले निर्णय गरेको छ । बैठकले कालोपत्रे गर्ने कार्य छोटोछोटो दूरीमा आवागमनलाई असर नपर्ने गरी गर्ने, खाल्टाखुल्टी तत्काल पुर्ने, धुलो उड्ने ठाउँमा पानी छर्कने, रातको समयमा सुरक्षा प्रबन्ध व्यवस्थित गर्ने निर्णय गरेको छ । त्यसैगरी सडक सुरक्षाका लागि कन्भेन्स लेन्स राख्नाका साथै सडक सुरक्षासम्बन्धी सन्देश प्रचारप्रसार गर्ने निर्णयसमेत बैठकले गरेको छ । बैठकमा प्रदेश नं ३ का प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक केशरीराज घिमिरे, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापा, नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रतिनिधि, परामर्शदाता कम्पनीका प्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधि, यातायात व्यवसायी सङ्घका प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो । राजधानी काठमाडौँबाट दशै, तिहारसहितका चाडपर्वको समयमा ३० लाख यात्रु बाहिरिने अनुमान छ । अधिकांशले यही बाटो प्रयोग गर्नुपर्ने हुन्छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार तीन वर्षअघिको तथ्यांकअनुसार दशैँको बेला यो सडक हुँदै दैनिक १० हजार ६ सय ९१ वटासम्म सवारी साधन आवतजावत गरेका थिए । आगामी पुससम्म सम्पन्न गर्नुपर्ने उक्त सडकखण्डको हालसम्म ५४ प्रतिशतमात्रै काम भएको छ । रासस
१ सय ३ वटा परियोजनालाई ४० करोड ३० लाख
इलाम । कृषि उत्पादनमा मूल्य शृङ्खलाको विकासमार्फत बजार पहुँच तथा मूल्य अभिवृद्धि गर्ने उद्देश्यले जिल्लाका १ सय ३ वटा परियोजनालाई ४० करोड ३० लाख ४४ हजारको रुपैयाँ सहयोग उपलब्ध गराइएको छ । कृषि मन्त्रालय र डेनमार्क सरकारको सहयोगमा ती परियोजनाको कार्य अगाडी बढाउन सहयोग सम्झौता गरिएको हो । चिया, अलैँची, अदुवा र डेरीमा मूल्य शृङ्खला विकासका लागि प्रविधि प्रवद्र्धनमा उक्त सहयोग गरिएको उन्नति समावेशी कार्यालयले जनाएको छ । कार्यक्रमले ५६ वटा चियासम्बन्धी परियोजनालाई २६ करोड ८० लाख ३३ हजार रुपैयाँ स्वीकृत गरेको छ । डेरीसम्बन्धी २९ वटा परियोजनालाई ९ करोड १३ लाख ६३ हजार रुपैयाँ र अलैँचीसम्बन्धी १५ वटा परियोजनालाई ३ करोड ७५ लाख ७५ हजार रुपैयाँ स्वीकृत गरेको हो । अदुवासम्बन्धी ३ वटा परियोजनालाई ६० लाख ७२ हजार रुपैयाँ स्वीकृत गरेको छ । चियाका २० परियोजनामा गत असार मसान्तसम्ममा ४ करोड २१ लाख ५१ हजार रुपैयाँ निकासा भई काम भइरहेको छ । सो अवधिमा डेरीका ८ परियोजनामा ६८ लाख ३३ हजार रुपैयाँ, अलैँचीका चार परियोजनामा २४ लाख ३८ हजार रुपैयाा र अदुवाका २ परियोजनामा १२ लाख ३४ हजार रुपैयाँ निकासा गरी काम भइरहेको छ । उन्नति समावेशी कार्यालयका कर्मचारी शिवलाल कार्कीका अनुसार ती परियोजनाबाट १७ हजार १ सय १८ घरधुरी लाभान्वित हुने छन् । चियाका ५६ परियोजनाबाट सात हजार ८ सय ७० घरपरिवार, डेरीका २९ परियोजनाबाट ५ हजार ३ सय ७८, अलैँचीका १५ परियोजनाबाट २ हजार ७ सय ३० तथा अदुवाका तीन परियोजनाबाट १ हजार १ सय ४० घरपरिवार लाभान्वित हुने छन् । उन्नतिले प्रत्यक्ष अनुदान अन्तर्गत २३ वटा अदुवाखेती सम्बन्धी कार्यरत समूहलाई २१ लाख ९८ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । उन्नति च्यालेञ्ज फण्डअन्तर्गत कृषि फार्म, सहकारी संस्था, समूह तथा गैरसरकारी संस्थाको परियोजना स्वीकृत गरी सहयोग गर्न थालिएको हो । रासस
सुन प्रकरणमा दुईजना सवारी चालक पक्राउ
रसुवा । अठासी किलो सुन प्रकरणमा रसुवाबाट २ जना सवारी चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा रसुवा जिल्ला स्याफ्रुबेँसीका दम्बा तामाङ र सिन्धुपाल्चोकका दिलीप खड्का रहेका छन् । यी २ सवारी चालकमध्ये तामाङले चिनियाँ भूभागमा र खड्काले नेपाली भूभागमा सुन बोकेको मोटर ओहोरदोहोर गराउने भूमिका निर्वाह गरेको पाइएकाले पक्राउ गरी अनुसन्धानका लागि काठमाडौँ पठाइएको प्रहरी प्रमुख थापाक्षेत्रीले बताए । रसुवागढीदेखि बेत्रावतीसम्म रसुवा जिल्लाको आधार इलाकाभित्र नेपाल प्रहरीको छ, सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मको तीन र नेपाली सेनाको ३ वटा जाँच परीक्षणको पोस्ट रहे पनि नेपाल–चीनको सीमा क्षेत्रको पोस्टबाहेक अन्य पोस्टमा वा१७च ६४२७ नंको टाटा सफारीकार दर्ता भएको नभेटिएको प्रहरीले जनाएको छ । रासस