विकासन्युज

१ सय ३ वटा परियोजनालाई ४० करोड ३० लाख

इलाम । कृषि उत्पादनमा मूल्य शृङ्खलाको विकासमार्फत बजार पहुँच तथा मूल्य अभिवृद्धि गर्ने उद्देश्यले जिल्लाका १ सय ३ वटा परियोजनालाई ४० करोड ३० लाख ४४ हजारको रुपैयाँ सहयोग उपलब्ध गराइएको छ । कृषि मन्त्रालय र डेनमार्क सरकारको सहयोगमा ती परियोजनाको कार्य अगाडी बढाउन सहयोग सम्झौता गरिएको हो । चिया, अलैँची, अदुवा र डेरीमा मूल्य शृङ्खला विकासका लागि प्रविधि प्रवद्र्धनमा उक्त सहयोग गरिएको उन्नति समावेशी कार्यालयले जनाएको छ । कार्यक्रमले ५६ वटा चियासम्बन्धी परियोजनालाई २६ करोड ८० लाख ३३ हजार रुपैयाँ स्वीकृत गरेको छ । डेरीसम्बन्धी २९ वटा परियोजनालाई ९ करोड १३ लाख ६३ हजार रुपैयाँ र अलैँचीसम्बन्धी १५ वटा परियोजनालाई ३ करोड ७५ लाख ७५ हजार रुपैयाँ स्वीकृत गरेको हो । अदुवासम्बन्धी ३ वटा परियोजनालाई ६० लाख ७२ हजार रुपैयाँ स्वीकृत गरेको छ । चियाका २० परियोजनामा गत असार मसान्तसम्ममा ४ करोड २१ लाख ५१ हजार रुपैयाँ निकासा भई काम भइरहेको छ । सो अवधिमा डेरीका ८ परियोजनामा ६८ लाख ३३ हजार रुपैयाँ, अलैँचीका चार परियोजनामा २४ लाख ३८ हजार रुपैयाा र अदुवाका २ परियोजनामा १२ लाख ३४ हजार रुपैयाँ निकासा गरी काम भइरहेको छ । उन्नति समावेशी कार्यालयका कर्मचारी शिवलाल कार्कीका अनुसार ती परियोजनाबाट १७ हजार १ सय १८ घरधुरी लाभान्वित हुने छन् । चियाका ५६ परियोजनाबाट सात हजार ८ सय ७० घरपरिवार, डेरीका २९ परियोजनाबाट ५ हजार ३ सय ७८, अलैँचीका १५ परियोजनाबाट २ हजार ७ सय ३० तथा अदुवाका तीन परियोजनाबाट १ हजार १ सय ४० घरपरिवार लाभान्वित हुने छन् । उन्नतिले प्रत्यक्ष अनुदान अन्तर्गत २३ वटा अदुवाखेती सम्बन्धी कार्यरत समूहलाई २१ लाख ९८ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । उन्नति च्यालेञ्ज फण्डअन्तर्गत कृषि फार्म, सहकारी संस्था, समूह तथा गैरसरकारी संस्थाको परियोजना स्वीकृत गरी सहयोग गर्न थालिएको हो । रासस

सुन प्रकरणमा दुईजना सवारी चालक पक्राउ

रसुवा । अठासी किलो सुन प्रकरणमा रसुवाबाट २ जना सवारी चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा रसुवा जिल्ला स्याफ्रुबेँसीका दम्बा तामाङ र सिन्धुपाल्चोकका दिलीप खड्का रहेका छन् । यी २ सवारी चालकमध्ये तामाङले चिनियाँ भूभागमा र खड्काले नेपाली भूभागमा सुन बोकेको मोटर ओहोरदोहोर गराउने भूमिका निर्वाह गरेको पाइएकाले पक्राउ गरी अनुसन्धानका लागि काठमाडौँ पठाइएको प्रहरी प्रमुख थापाक्षेत्रीले बताए । रसुवागढीदेखि बेत्रावतीसम्म रसुवा जिल्लाको आधार इलाकाभित्र नेपाल प्रहरीको छ, सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मको तीन र नेपाली सेनाको ३ वटा जाँच परीक्षणको पोस्ट रहे पनि नेपाल–चीनको सीमा क्षेत्रको पोस्टबाहेक अन्य पोस्टमा वा१७च ६४२७ नंको टाटा सफारीकार दर्ता भएको नभेटिएको प्रहरीले जनाएको छ । रासस

ताम्राकार कम्प्लेक्समा मोबाइल महोत्सव सुरु, लेनेभोको मोबाइल खरिदमा ३० प्रशित छुट

काठमाडौं । राजधानीको न्यूरोडमा ताम्राकार मोबाइल कम्प्लेक्समा बिहिबारबाट मोबाइल महोत्सव सुरु भएको छ । ताम्राकार मोबाइल बजारले मेला अवधिभर मोबाइलको मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरेको जानकारी दिएको छ । सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिएको बताउँदै ताम्राकार मोबाइल कम्प्लेक्सका सचिब गुरुदत्त शर्माले लेनेभोको सबै मोडलका मोबाइलको खरिदमा ३० प्रतिशत छुटको ब्यवस्था गरेकोे बताए । ताम्राकार मोबाइल बजारमा न्यूनतम ९ सयदेखि १ लाख ३० हजार रुपैयाँसम्मका बिभिन्न ब्राण्डका मोबाइल सेट उपलब्ध भएको मोबाइल कम्प्लेक्सका कोषाध्यक्ष अनिल ढकालले बताए । चाडपर्वको अवसरमा विभिन्न ब्राण्डका मोबाइल फोनको खरिदमा मोटरसाइकल, टिभी, स्मार्ट फोन लक्की ड्र मार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ । दैनिक २ वटा स्मार्टफोन, १० वटा ब्लुतुथ तथा पावर बैंक लक्की ड्र मार्फत बितरण गर्नेे व्यवस्था गरिएको मोबाइल बजारका अध्यक्ष जगत साउदले जानकारी दिए ।साथै, साप्ताहिक रुपमा एउटा सामसुङको ३२ इन्चको टिभी लक्की ड्र मार्फत नै वितरण गर्ने कम्पनीले जानकारी दिएको छ । बम्पर उपहारमा प्रदान गरिने सुजुकीको एउटा जिक्सर मोटरसाइकल र एउटा सुजुकी कम्पनीकै स्कुटरको लक्की ड्र छठपर्व सकिने बित्तिकै गर्ने छ भने एउटा मोटरसाइकल भने दशैं अगाडीनै लक्की ड्र मार्फत बितरण गर्ने कम्पनीले जानकारी दिएको छ ।    

असिमित नाफा लिन पाउनुपर्ने माग गर्दै दरबारमार्गका व्यवसायीले पसल बन्द गरे

काठमाडौं । राजधानीको ब्राण्डेड पसलहरुको हब दरबारमार्ग अहिले सुनसान छ । दसैंको मुखमा शपिङ गर्न आउने उपभोक्ता तथा पर्यटकसमेत रित्तो हात फर्कन बाध्य छन् । दरबारमार्गको किङ्स वेका सबै पसलहरु बन्द छन् । आपूर्ति मन्त्रालयले उपभोक्ता ठगी गरेको आरोपमा दरबारमार्गका चारवटा ब्राण्डेड पसलमा सिलबन्दी गर्यो । त्यसको विरोधमा क्षतिपूर्तिको माग गर्दै दरबार मार्गका व्यवसायीले अनिश्चितकालिन बन्द गरेका हुन् । दरबारमार्गका व्यवसायीले बेच्ने समानमा कानुनले २० प्रतिशतको मार्जिन नतोकेकाले बढी मूल्यमा सामान बेच्नु गलत नभएको दाबी गरेका छन् । “दरबारमार्गको सटर भाडा, स्टाफ खर्च लगायत गरी सबै महंगो पर्ने भएकाले हामीले उपभोक्तासँग जायज मूल्यमा सामान बेचिरहेका छौं” दरबारमार्ग विकास बोर्डका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले भने, “कालोबजारी ऐनमा सरकारले तोकेका वस्तुहरुमा मात्र २० प्रतिशतको मार्जिन राखिएको छ । हामीले बेच्ने सामानबारे त्यस्तै कुनै मार्जिन नतोकिएकाले जबरजस्ती सिलबन्दी गर्नु गलत हो ।” व्यवसायीले सरकारलाई निराधार पसलको सिलबन्दी गरेको आरोप लगाएका छन् । “सरकारले गरेको जबरजस्तीले दरबारमार्गको गरिमामा ठेस पुगेको छ,” कक्षपतिले भने, “अनुगमन गर्न आउनु जायज छ । तर उहाँहरुले मागे अनुसार कागजपत्र जुटाउँदै गर्दा सिलबन्दी गर्नु बिल्कुलै गलत हो ।”दसैंका मुखमा पसल बन्द भएपछि दैनिक व्यापारमा ५० प्रतिशतले ह्रास आउने एक व्यवसायीले बताए । दरबारमार्गका व्यवसायीले उठाएका माग गैरकानुनी भएको उपभोक्ता अधिकारकर्मी जगन्नाथ मिश्रले बताए । मिश्रले व्यवसायी कानुनले तोकेको भन्दा बढी मूल्यमा व्यापार गरेर उल्टो क्षतिपूर्ति माग गर्ने व्यवसायीमाथि कालोबजारी ऐन अन्तर्गत कारबाही हुने बताए । कालोबजारी ऐन अनुसार व्यवसायीलाई एक वर्षको जेलसम्मको सजाय तोकिएको उनले बताए । कालोबजारी ऐनमा उत्पादन स्थलबाट लिएको मूल्यभन्दा २० प्रतिशत मुनाफा लिनुपर्ने कुरा स्पष्ट उल्लेख छ । उत्पादन स्थलमा लिइने मूल्य भन्नाले उद्योगले लिने र भन्सार बिन्दुमा लिने मूल्य भन्ने बुझ्नुपर्ने उनको भनाई छ । “यसलाई विभिन्न चरणमा लिइने शुल्कका आधार लिन मिल्दैन । भन्सार बिन्दुबाट लिइने शुल्क र बेच्दाको मूल्यमा २० प्रतिशतको मार्जिन हुनुपर्छ । यसरी हेर्दा व्यवसायी गलत देखिन्छ ।” उनले भने ।

सेयर बजार १२ अंक घट्यो, बैंकले सेयर कर्जा खुला गरेपनि बजार बढ्न सकेन ।

  काठमाडौं । बुधबार बढेर लगानीकर्तालाई आशा जगाएको भोलिपल्ट सेयर बजार घटेको छ । बिहीबार बजार घटेर १२ अंक घटेर १ हजार १५४ अंकमा सीमित भएको छ । बुधबार पनि ११ अंक बढेको थियो । सेयर बजारका सबै परिसूचकमा गिरावट आएपछि राताम्मै भएका छन् । बैंकले सेयर कर्जा खुला गरेपनि बजारमा सेयर आपूर्ति बढेपछि बजार बढ्न सकेन । बैंकिङ, होटल, विकास बैंक, वित्त, जलविद्युत, बीमा र उत्पादनमुलक सबै क्षेत्रको बजार घटेको छ । सबैभन्दा बढी बीमाका सेयरधनीले गुमाएका छन् । बिहीबार आरएसडीसी लघुवित्तका लगानीकर्ताले ७२ रुपैयाँ कमाएका छन । रिलायवल माइक्रोफाइनन्सका लगानीकर्ताले ८५ रुपैयाँ गुमाएका छन् । बिहीबार साढे ७३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा बढी सेयर कारोबार नबिल बैंकको भएको छ । नबिलको प्रतिकित्ता १ हजार ६७५ रुपैयाँमा ४ करोड ८८ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ ।

चिलिमेका २ कम्पनीको साधारण शेयर आउँदै, सञ्चयकर्ता प्राथमिकतामा

काठमाडौं । चिलिमे जलविद्युत् कम्पनी मातहत रहेका २ महत्वपूर्ण जलविद्युत् आयोजनाले साधारण शेयर निष्कासन गर्ने भएको छ । चिलिमे जलविद्युत् कम्पनी मातहतका रसुवागढी जलविद्युत् आयोजना र साञ्जेन जलविद्युत् आयोजनाले साधारण शेयर जारी गर्न लागेका हुन् । रसुवागढी जलविद्युत् आयोजनाले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र लगानीकर्ता निकायका कर्मचारीलाई पहिलो चरणमा १ करोड ६४ लाख २१ हजार ४० कित्ता साधारण शेयर जारी गर्ने तयारी गरेको हो । साधारण शेयर जारी गरेर १ अर्ब ६४ करोड २१ लाख चार हजार रुपैयाँ बराबर रकम जोहो गर्ने आयोजनाको तयारी छ । नेपाल–चीन सीमा नजिक कूल १११ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणको क्रममा रहेको छ । आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १८ प्रतिशत, नेपाली नागरिकको १५ प्रतिशत, स्थानीय प्रभावितको १० प्रतिशत, कर्मचारी सञ्चयकोषलगायतको १९.५ प्रतिशत र अन्यको ४ सय ५० प्रतिशत शेयर रहनेछ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा गत वैशाख १३ गते साधारण शेयर निष्कासनका लागि निवेदन दिएको थियो । बोर्डले मागेका केही सुझावसमेत बुझाइसकेको कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल, एआइबिएल क्यापिटल, ग्लाबेल आइएमई क्यापिटल र एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड रहेका छन् । आयोजनाका प्रमुख माधव कोइरालाले भूकम्प र भारतको अघोषित नाकाबन्दी तथा ठेकेदारको समस्याका कारण केही ढिला भएको आयोजना हाल युद्धस्तरमा निर्माण भइरहेको बताए । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी साञ्जेन जलविद्युत् आयोजनाले साधारण शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले गत वैशाख १२ गते आवेदन दिएको थियो । सो कम्पनीले ८७ लाख ६० हजार कित्ता साधारण शेयर जारी गर्न लागेको छ । ८७ करोड ६० लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न कम्पनीले नागरिक लगानी कोषलाई बिक्री प्रबन्धक तोकेको छ । सो कम्पनीले कर्मचारी सञ्चयकोषमा रकम सञ्चय गरेका कर्मचारी तथा लगानी गरेका कम्पनीका कर्मचारीलाई साधारण शेयर दिन लागेको हो । उक्त कम्पनीले १ सय ४८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४ सय २५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माण करिब ६० प्रतिशत सकिएको छ । साञ्जेन जलविद्युत् आयोजनाको निर्माण करिब ४५ प्रतिशत सम्पन्न भएको छ । यसबाट सबैभन्दा बढी लाभ कर्मचारी सञ्चयकोषमा कोष कट्टी गरिरहेका तथा लगानीकर्ता कम्पनीका कर्मचारीलाई हुनेछ । निजी प्रवद्र्धकको साधारण शेयर आउँदै बोर्डमा आवेदन दिइएको आधारमा हेर्ने हो भने यस वर्ष विभिन्न १४ जलविद्युत् कम्पनीको मात्रै प्राथमिक शेयर र थप निष्कासन एफपिओ गरी ५ अर्ब सात करोड रुपैयाँ भन्दा बढी शेयर बजारमा आउन लागेको छ । कुल १४ जलविद्युत् कम्पनीले आइपिओ र एफपिओका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । आवेदन दिएका सबैको शेयर यस वर्षभित्रै निष्कासन हुनेछ । बुटवल पावर कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा एफपिओ निष्कासन गर्न लागेको छ । सो कम्पनीले प्रतिकित्ता ५ सय१८ रुपैयाँ प्रिमियम मूल्य प्रस्ताव गरेको छ । धितोपत्र बोर्डले स्वीकृति दिन बाँकी रहेको उक्त प्रस्तावअनुसार ४० लाख ८१ हजार कित्ता एफपिओ निष्कासन गर्न लागेको छ । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावितलाई ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता शेयर निष्कासन गर्ने तयारी गरेको छ । राधी विद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणलाई ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको सात लाख ६४ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने तयारी गरेको छ । आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले स्थानीयवासीलाई ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्कासन गर्न लागेको जनाएको छ । आयोजनाका प्रमुख विश्वनाथ कँडेलले साधारण शेयर निष्कासनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । यस्तै गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडले स्थानीयवासीलाई २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता साधारण शेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ । जोशी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीयवासीलाई ३ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको ३ लाख ७१ हजार ४०० कित्ता र शुभम् पावर लिमिटेडले स्थानीयवासीलाई २ करोड बराबरको २ लाख तथा लुघिम बुद्धपावर नेपाल लिमिटेडले स्थानीयवासीलाई ९ करोड ७८ लाख बराबरको नौ लाख ७८ हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको छ । बोर्डकाअनुसार युनिक हाइडेल लिमिटेडले ५ करोड ५५ लाख रुपैयाँ बराबरको ५५ लाख कित्ता, सिइडिबी हाइड्रो फण्डले २२ करोड ८९ लाख ३० हजार रुपैयाँ बराबरको २२ लाख ९८ हजार कित्ता, कालिका पावर लिमिटेडले स्थानीयवासीलाई ६ करोड बराबरको ६ लाख कित्ता र युनियन हाइड्रोपावर लिमिटेडले ६ करोड ३३ लाख ७४ हजार रुपैयाँ बराबरको ६ लाख ३३ हजार कित्ता साधारण शेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ । रासस

कुलमानलाई उर्जा मन्त्रीको निर्देशन-निर्माणाधिन ११ वटै आयोजनाको काम समयमै सक्नु

काठमाडौं । ऊर्जामन्त्रालयले नेपाल विद्युत प्राधिकरण तथा प्राधिकरण अन्तर्गतका कम्पनिहरुबाट निर्माणाधिन जलविद्युत आयोजनाहरुलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिएको छ । जलविद्युत आयोजनाहरुको पछिल्लो अबश्थाबारे जानकारी लिन मन्त्रालयले आयोजना गरेको बैठकमा ऊर्जामन्त्री महेन्द्र बहादुर शाहीले जलविद्युत आयोजनाहरुमा देखिएको समस्याबारे आफूले पहल गर्ने भन्दै गंभीरतापूर्वक तोकिएकै समयमा काम सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले जलविद्युत आयोजनाहरु समयभित्रै सम्पन्न भए माग अनुसारको विद्युत आपूर्ती गर्न सकिने बताए । नेपाल विद्युत प्राधिकरण तथा प्राधिकरण अन्तर्गत रहेका ११ वटा जलविद्युत आयोजनाहरुका प्रमुखहरुसंग आयोजनाहरुको प्रगति विवरणबारे मन्त्री शाहीले जानकारी लिएका हुन। सरकारी लगानीमा माथिल्लो तामाकोशी , चमेलिया , कुलेखानी तेस्रो , राहूघाट, माथिल्लो त्रिशुली थ्रि ए , तल्लो सान्जेन , माथिल्लो सान्जेन , रसुवागाडी, मध्य भोटेकोशी , तनहुँ र माथिल्लो त्रिशुली थ्री बि जलविद्युत आयोजनाहरु निर्माण भईरहेका छन् । यी आयोजनाका प्रमुखहरुले बैठकमा वन , स्थानीय जनताको मुआब्जा वितरण र ठेकेदारबाट देखीएका समस्याहरु प्रस्तुत गरेका थिए ।

स्ट्याण्डर्ड चाटर्ड बैंकमा २ नयाँ सञ्चालक नियुक्त

काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकमा २ जना नयाँ सञ्चालक नियुक्त भएका छन् । भदौ १९ गते बसेको बैंक सञ्चालक समितिले करेन डिअलविस र मन बहादुर राईलाई नयाँ सञ्चालकमा नियुक्त गरेको हो । डिअलविसलाई स्ट्याण्डर्ड चाटर्ड बैंक ग्रीन्डलेस अष्ट्रेलियाका तर्फबाट सञ्चालक नियुक्त गरिएको हो भने राईलाई साधारण सेयर धनीका तर्फबाट सञ्चालक नियु क्त गरिएको हो । राईलाई आगामी साधारण सभासम्मका लागि सञ्चालक नियुक्त गरेको हो ।