विकासन्युज

किसान बंगुरपालनतर्फ आकर्षित

नुवाकोट । जिल्लामा पछिल्लो समय किसान बंगुरपालनतर्फ आकर्षित भएका छन् । बंगुरपालनबाट मनग्य आम्दानी भएपछि किसान बंगुरपालनतर्फ आकर्षित भएका हुन् । जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लामा अहिले किसानले व्यावसायिक रुपमा पालेको बंगुरको संख्या १४ हजार रहेको छ । उक्त संख्या बर्सेनि बढ्दै गएको छ । जिल्ला पशुसेवा कार्यालयमा बंगुरपालनको लागि ६२ वटा फार्म दर्ता भएको कार्यालयका पशु विकास अधिकृत डा चन्द्रविक्रम कुँवरले जानकारी दिए । “बंगुरपालन फस्टाउँदै गएको छ । दर्ता नगरी धेरै किसानले बंगुरपालन गर्दै आएका छन्,” उनले भने । निम्न आयस्तर भएका नागरिकको उत्थानका लागि सरकारले सहकारीमार्फत बंगुरपालनमा अनुदान दिँदै आएको छ । खाद्य सुरक्षा र आयआर्जनका लागि बंगुरपालन कार्यक्रमअन्तर्गत सूर्यगढी गाउँपालिका–३ फँलाटेको अग्रसर कृषि सहकारी संस्थाले बंगुरपालनका लागि सरकारले दिएको अनुदान किसानलाई वितरण गर्दै आएको अध्यक्ष निशा अधिकारीले बताए । उक्त सहकारीले २ वर्षदेखि बंगुरपालनका लागि कृषकलाई अनुदान दिँदै आएको छ । राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष सिंहदरबारद्वारा प्राप्त रकम सहकारीले जिल्लाका विभिन्न ठाउँमा परिचालन गरिरहेको छ । हालसम्ममा १ सय २० जनालाई दुई-दुई वटा बंगुर र खोरका लागि सहकारीले ३० लाख रुपैयाँ अनुदान प्रदान गरेको अधिकारीले बताए । बागेश्वरी, खानीगाउँ र गेर्खुका ४०/४० कृषकलाई अनुदान रकम प्रदान गरेको छ । राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष सिंहदरबारले उपलब्ध गराउने अनुदान रकम वितरण गर्ने सो संस्थाले जनाएको छ । रासस

पर्वतका एक सय विपन्न परिवारलाई घर निर्माण

पर्वत । पुख्र्यौली पेशाले हातमुख जोर्न धौ–धौ, टहराको बास, आकाशबाट परेको पानी चुहिएर लत्ताकपडा र अन्नपात सबै भिजेर बालबच्चा जोगाउनै मुस्किलजस्ता पीडा भग्दै आएका बिहादी–१ बाच्छाको माझी समुदाय आजभोलि फुरुङ्ग छ । कमजोर आर्थिक अवस्थाका कारण लामो समयदेखि कष्टपूर्ण जीवनयापन गर्दै आएको माझी समुदाय नयाँ घर पाएपछि दंग परेको हो । जनता आवास कार्यक्रममार्फत १० घरपरिवार माझी घर निर्माणका लागि सहयोग पाएपछि खुशी हुँदै अहिले धमाधम घर निर्माणमा कस्सिएका छन् । आफूहरुको पीडा देखेर सरकारबाटै घर निर्माणमा सहयोग भएकामा खुशी लागेको उल्लेख गर्दै दीपक माझीले भने, “आफूले कमाएर घर निर्माण गर्ने धेरै परको कुरा थियो, दैनिक नदीमा माछा मारेर परिवारको छाक टार्नै मुस्किल थियो तर हाम्रो मर्म बुझेर सहयोग गरेकोमा धन्यवाद दिन्छु ।” गत वैशाखदेखि घर निर्माण गर्न थाल्नुभएका उनले आफूले पाउने तीन किस्ताको रकम पाइसकेको जानकारी दिैँदै बताए, “अब छानो हाल्ने र झ्याल, ढोकाको काम बाँकी छ त्यसपछि शौचालय बनाउन थाल्छु ।” स्थानीय माझी बस्तीकी विमला माझी पनि कम्ती खुशी छैनन् । “घर बनाउन सहयोग पाउँदा धेरै खुशी छौँ” उनले भने, “टहरामा बस्नुपर्दा निकै सास्ती भोग्नुपरेको थियो, घर निर्माण गर्न पैसा दिए पछि बिहानदेखि कस्सिएर आफ्नो घर आफैँ निर्माण गर्न जुटेका हौँ ।” दीपक र विमलाजस्तै बाच्छाका रामबहादुर माझी, डिलकुमारी माझी, डिलबहादुर माझी, सपना माझी, राजमान माझी र टीका माझीलगायतले घर निर्माणका लागि सहयोग पाएका हुन् । घर निर्माणमा सहयोग पाएका यी सबै परिवार जीर्ण टहरोमा बस्दै आएका थिए । “आफ्नो सम्पत्तिले पुरानो टहरो मर्मत गर्नसक्ने अवस्था पनि थिएन” रामबहादुरले भने– “अहिले बल्ल सरकार भएको अनुभूति भएको छ ।” उनले वर्षौंदेखि कष्टपूर्णरूपमा बस्दै आए पनि गुनासो राख्ने ठाउँसमेत नपाएको बताए । बाच्छाका समाजसेवी सेवकनाथ आचार्यले जनता आवास कार्यक्रमले वास्तविक पीडितलाई समेटेको बताए । “माझीको पीडा देखिरहेका थियौँ तर केही गर्नसक्ने अवस्था थिएन” उनले भने, “जनता आवास कार्यक्रममा आएको जानकारी पाएपछि माझी बस्तीमा ल्याउन पहल पहल गर्यौँ ।” घर निर्माणका लागि उनीहरुले जम्मा कर कटाएर २ लाख ३३ हजार रुपैयाँ पाउनेछन् । समन्वय समितिले घरको जग हाल्दा पहिलो किस्तादेखि निर्माण सम्पन्न गर्दासम्म जम्मा रकमलाई चार किस्तामा वितरण गर्ने व्यवस्था मिलाएको छ । पहिलो किस्ता ५२ हजार रुपैयाँ, दोस्रो किस्ता ६३ हजार रुपैयाँ तेस्रो किस्ता ७३ हजार रुपैयाँ र चौथो किस्तामा बाँकी सबै रकम प्रदान गर्ने व्यवस्था मिलाएको जिल्ला समन्वय समितिले जनाएको छ । चौथो किस्ता भने शौचालय निर्माणपछि मात्रै जिल्ला समन्वय समितिले उपलब्ध गराउनेछ । जिल्ला समन्वय समितिमार्फत पर्वतका आर्थिक रुपमा विपन्न र गरिब परिवारलाई १ सय वटा घर निर्माण गर्ने योजनाअनुरुप बाच्छाका १० घरपरिवार माझीले सहयोग पाएको जनता आवास कार्यक्रम पर्वतका संयोजक अर्जुनप्रसाद जोशीले बताए । पर्वतको बिहादी–२ बाच्छा, महाशिला–६ फलामखानी, फलेबास–६ देवीस्थान, फलेवास–१ कार्कीनेटा, कुश्मा–२ खुर्कोट, कुश्मा–१३ खौलालाकुरी, कुश्मा–१४ आर्थरडाडाखर्क र मोदी–१ भुकताङ्लेमा गरी विपन्नलाई १०० वटा घर निर्माणका लागि जनता आवास कार्यक्रम सञ्चालन गरिएकोे छ । रासस

नेपालमा पहिलो पटक नेपाल यार्न एण्ड टेक्सटायल एक्सपो

काठमाडौं । नेपाल धागो उत्पादक संघले नेपालमा पहिलो पटक नेपाल यार्न एण्ड टेक्सटायल एक्सपो सञ्चालन गर्ने भएको छ । यो मेला भदौ ३० गतेदेखि असोज ३ गते सम्म रानधानीको भृकुटीमण्डपमा आयोजना गर्न लागेको छ । नेपालमा उत्पादित धागोबाट तयार गरिएको सामाग्रीहरु जस्तै कपडा, होजियरी, सर्टिङ-सुटिङ, निटिङ्ग आदि वस्तुहरुलाई एउटै छानामुनी समेटेर त्यसको प्रचार प्रसार एवं विक्री वितरण गर्ने तथा स्वदेशमा रहेको विभिन्न कपडा, होजियरी र निटिङ्ग उद्योगहरुको लागि आवश्यक पर्ने सम्पुर्ण ग्रे तथा रंगिन धागोहरुको जानकारी दिने उद्देश्यका साथ उक्त मेलाको आयोजना गर्न लागेको संघले जानकारी गराएको छ । साथै, आधुनिक प्रविधीका मेशीनरीहरु समेत प्रदर्शनिमा राखिएको हुंदा उद्योगिहरुलाई नयाँ प्रविधी तथा मेशिनरीहरुको जानकारीको थप अवसर प्राप्त हुनेछ । नेपाल धागो उत्पादक संघको स्थापना विसं २०५३ सालमा भएको र हाल संचालनमा रहेका उद्योगहरुमा रिलायन्स स्पिनिङ्ग, त्रिवेणी स्पिनिङ्ग, जय स्पिनिङ्ग तथा जगदम्बा स्पिनिङ्ग प्रमुख रहेका छन् । उक्त संघमा आवद्ध विभिन्न उद्योगहरुले हाल पोलिष्टर, भिस्कोस, सुति, एक्रेलिक, मिलान्ज, टेक्सराइज्ड र व्लेण्डेड रंगिन तथा सादा गरि हाल वार्षिक रुपमा करिब ४० हजार मेट्रिक टन धागोहरु उत्पादन गर्दै आइरहेको छ । कम्पनीका अनुसार उत्पादनको ८० प्रतिशत निर्यात हुन्छ भने २० प्रतिशत स्वदेशमै खपत हुने गरेको छ । विगत देखि भारतमा निर्यात गर्दै आएकोमा, ६÷७ वर्षदेखि तेश्रो मुलुकमा समेत निर्यात भइरहेको छ र वार्षिक रुपले निर्यात दरमा वृद्धि समेत भईरहेको कुरा धागो संघले जानकारी गराएको छ । स्वदेशमा कपडा उद्योगको विकास तीन दशक अगाडि देखि भएता पनि यसको विकासको लागि दुइ दशक अगाडिबाट धागो उद्योगको स्थापना तथा विकास भएको हो । नेपालमा उत्पादित ठूला तथा साना उद्योगहरुबाट हाल कपडा, सर्टिङ-सुटिङ होजियरी, स्वेयटर, झुल आदि विभिन्न प्रकारको कपडा उत्पादनमा प्रयोग हुने धागोहरु उत्पादन भइरहेका छन् । यी धागो तथा कपडा उद्योगहरुले प्रत्यक्ष अप्रत्यक्ष रुपमा करीब ५० हजार जनाको लागि रोजगारीको अवसर सृजना गरीरहेका छन् भने ३० प्रतिशत महिलाको संख्या रहेको छ ।  

आयल निगमका कार्यकारी निर्देशक खड्कालाई कारबाही गर्न आपूर्ति सचिवको सिफारिस

काठमाडौं । जग्गा खरिद प्रकरणमा मुछिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई कारबाही गर्न आपूर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटाले सिफारिस गरेका छन् । संसदीय समितिले पेट्रोलियम भण्डारणका लागि नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले जग्गा खरिद गर्दा अनियमितता गरेको ठहर गर्दै मन्त्रालयलाई कारबाही गर्न निर्देशन दिएको थियो । कारबाहीका लागि मन्त्रिपरिषधमा सिफारिस गर्ने मन्त्रालयले जानकारी दिएको छ ।सम्बन्धित निकायले छानविन गरी खड्कामाथि कार्वाही गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । मन्त्रालयको उच्च नेतृत्व र आयल निगमले बोलपत्र माध्यमबाट जग्गा खरिद गर्दा आर्थिक अपव्यय अपचलन र अनियमितता भएको ठहर गरेको थियो । २ लाख रुपैयाँ पर्ने जग्गा १६ लाख रुपैयाँमा किनेको पाइएको प्रतिवेदनमा उल्लेख छ । यस्तै वडादेखि मालपोत हुँदै प्रमुख जिल्ला अधिकारी (सिडिओ) सम्मको मिलोमतोमा भएको पाइएको छ । चलनचल्तीको भन्दा ४ गुणा बढी तिरेको समितिको  ठहर छ । बोलपत्रले अत्याधिक व्ययभार पारेको र सर्वसाधारणले तिरेको रकम अपव्यय गरेको, निगमले खरिद गरेको झापाको जग्गा रेल्वे लाइन भित्र परेको र खरिद गर्ने माध्यम कानुनसम्मत देखिए आर्थिक अनियमितता गरेको समितिको निष्कर्ष छ । निगमले सात प्रदेशमा पेट्रोलियम भण्डारण स्थापना गर्न जग्गा खरिद गरेको हो ।

चाडपर्वका लागि नारायणगढ–मुग्लिन सडक बुधबारदेखि चौबीसै घण्टा खुल्ने

चितवन । दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरेर नारायणगढ–मुग्लिन सडक बुधबारदेखि चौबीसै घण्टा सञ्चालन हुने भएको छ । विस्तारका क्रममा रहेको सो सडकमा पहिरो खस्ने समस्या बढेपछि सुरक्षाका कारण गत असार २५ गतेदेखि रातका समयमा सडक रोकिँदै आएको छ । मुग्लिनतर्फबाट आउने सवारीलाई साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म तथा नारायणगढतर्फबाट जाने सवारीलाई दासढुंगामा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म रोकिँदै आएको छ । मौसममा सुधार आएसँगै चाडपर्वलाई ध्यानमा राखी रात समयमा पनि सडक खुला गर्ने निर्णय गरिएको प्रजिअ नारायणप्रसाद भट्टले बताए । यात्रुवाहक सवारी साधनको चाप हुने समयमा मालवाहक सवारीलाई रोकेर यात्रुवाहकलाई प्राथमिकताका साथ सडक पार गराइने पनि उनले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार राति ८ बजेदेखि १२ बजेसम्म मुग्लिनतर्फ जाने मालवाहक ट्रकलाई रामनगर नजिकै भतेरी जंगलमा र नारायणगढतर्फ आउनेलाई लेबरटारमा रोकिने भएको छ । यसबाट यात्रुवाहक सवारी साधनलाई रातका समयमा सडक पार गर्न सहज हुने छ । राति पनि पहिरो खस्न सक्ने भएकाले तत्काल सहयोगका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, आयोजना र ठेकेदार कम्पनीका प्रतिनिधिलाई तयारी अवस्थामा राखिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यावदका अनुसार सडकमा ग्रेडर लगाएर खाल्डाखुल्डी पुर्ने, धुलो उड्ने स्थानमा पानी छर्कने, गाडी बिग्रिएमा तत्काल हटाउने, पहिरो खसेमा पन्छाउने लगायत तयारी गरिएको छ । सोका लागि प्रहरीसमेत परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार सो सडकमा मात्र तत्काल परिचालन हुनका लागि ५० नेपाल प्रहरी परिचालन गरिएको छ । मुग्लिनमा प्रहरी निरीक्षकको नेतृत्वमा इलाका प्रहरी कार्यालय तथा सिमलताल, जुगेडी र रामनगरमा प्रहरी चौकी छन् । सडक जाम हुँदा छिटो खुलाउनका लागि चार मोटरसाइकलमा आठ प्रहरी परिचालन गरिएको छ । समग्र सडकको अवस्थाबारे अनुगमन गर्न नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी सम्मिलित टोलीसमेत गठन गरिएको थापाले बताउनुभयो । कुरिनटारमा रहेको सशस्त्र प्रहरीले पनि सडकको सुरक्षाका साथै आवश्यक परेमा उद्धार गर्न तयारी हालतमा टोली राखेको छ । राजधानीबाट दशंै, तिहारसहितका चाडपर्वमा ३० लाख यात्रु बाहिरिने अनुमान छ । अधिकांशले यही बाटो प्रयोग गर्नुपर्ने हुन्छ । रासस

एनएमबिमाइक्रोफाइनान्सका शाखा प्रबन्धकलाई वित्तीय साक्षरता सम्बन्धि तालिम

काठमाडौं । एनएमबि माइक्रोफाइनान्सले शाखा प्रबन्धकहरुलाई वित्तीय साक्षरता सम्बन्धी तालिम दिएको छ । प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले आइतबार वित्तीय साक्षरता तालिमका उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै कोनाजोले वित्तीय साक्षरता कुनै नौलो शब्द नभए पनि यसभित्रका विषयवस्तुहरु गहन रहेको कुरा वताए । उनले वित्तीय साक्षरताका विषयवस्तुहरु वचत, कर्जा, बिमा, विप्रेषण आदि रहेकोले यस बारेमा सवै ब्यक्ति तथा समुदायहरुले जान्नुपर्नेमा जोड दिए । वित्तीय साक्षरता सम्बन्धी तालिम सदस्यहरुलाई मात्र नभएर शाखा प्रबन्धक लगायत सबै तहका कर्मचारीहरुलाई अत्यावश्यक रहेको उनले बताए । वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरुको गहनाको रुपमा रहेको वित्तीय अनुशासन र सुशासनलाई हर क्षेत्रमा कायम राख्नुपर्ने उनले बताए । कार्यक्रममा वित्तीय संस्थाको केन्द्रीय कार्यालयका ८ जना कर्मचारीहरुका साथै २८ जना शाखाप्रबन्धकरुको उपस्थिति रहेको थियो । विभागीय प्रमुख खगेन्द्र तिम्सिनाले गरेका उक्त तालिममा सहभागीहरुलाई विभागीय प्रमुख डम्बर वहादुर श्रेष्ठले स्वागत गरे । उक्त तालिम पश्चात सबै शाखाप्रमुखहरुलाई वित्तीय साक्षरता सम्बन्धी ज्ञान दिलाई आफ्नो शाखा अन्तरगतका सदस्यहरुलाई तालिम प्रदान गर्न सक्ने गरी दक्ष वनाइने उद्धेश्य रहेको बैंकले जानकारी दिएको छ ।

युनाइटेड फाइनान्सले १९ प्रतिशत बोनस सेयर दिने, रणनीतिक सााझेदार भित्राउदै

काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेडले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर दिने भएको छ । फाइनान्सको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट बोनस सेयर दिने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि बोनस सेयर वितरण हुने छ । फाइनान्सले चुक्तपुँजी ८० करोड रुपैयाँ पु¥याउन बोनस सेयर वितरणको निर्णय गरेको हो । यस्तै भारतको कोचीस्थित मुथहुट फाइनान्स लिमिटेडलाई वैदेशिक रणनीतिक साझेदारीको रुपमा भित्राउने भएको छ । मुथहुटलाई २० प्रतिशत अर्थात २१ लाख कित्ता सेयर बिक्री गर्ने योजना सार्वजनिक गरेको छ । साझेदारी भित्राउन भएको छ ।

चक्रवर्ती हवी नर्सिङ कलेजद्वारा नियम विपरीत भर्ना, एकैदिन ९२ लाख रुपैयाँ संकलन

भक्तपुर । मध्यपुरथिमिमा रहेको चक्रवर्ती हवी नर्सिङ कलेजले अवैधानिकरुपमा ३८ जना विद्यार्थी भर्ना गरेर एकैदिन ९२ लाख ५० हजार रुपैयाँ संकलन गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिइभिटीसँग कुनैपनि स्वीकृति नलिई ऐन, नियम विपरीत अवैधानिकरुपमा विद्यार्थी भर्ना गरेको हो । सिटिइभिटीको अनुमतिबिना नै कलेजले आइतबार सूचना प्रकाशित गरेर एक दिनका लागि तीनवर्षे प्रमाणपत्र तह नर्सिङमा भर्ना खोलेर प्रतिविद्यार्थी दुई लाख ५० हजार रुपैयाँ अग्रिम शुल्क लिएर विद्यार्थी भर्ना गराएको हो । कलेजका लेखा शाखाका विक्रम देउजाले एकदिनका लागि भर्ना खोलेको बताउँदै १ सय ३७ जना विद्यार्थीले आवेदन दिएकामा ३७ जनालाई भर्ना गरिएको र तीनवटा सिट छात्रवृत्तिका लागि राखिएको बताए । सिटिइभिटीसँग अनुमति नै नलिई कुन आधारमा भर्ना गरिएको भन्ने प्रश्नमा उनले यसबारे आफूलाई थाहा नभएको तर विगत दुई वर्षदेखि अदालतबाट अन्तरिम आदेस ल्याएर विद्यार्थीलाई परीक्षामा सहभागी गराउने गरेकाले यसवर्ष पनि सिटिइभिटीविरुद्ध अदालत जाने तयारी भएको बताए । कलेजका प्रबन्ध निर्देशक दिनेशकुमार सिंहसँग यसबारे जानकारी लिन खोज्दा उनी राससको सम्पर्कमा आएनन् । कलेजले अवैधानिकरुपमा विद्यार्थी भर्ना गराएर ठगी गरेको र विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै गुनासो पुगेपछि प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले तत्काल भर्ना रोक्न कलेजलाई निर्देशन दिएका छन् । पोखरेलले भने, “कलेजका प्रतिनिधिलाई बोलाएर तत्काल अवैधानिक भर्ना रोक्न मैले निर्देशन दिएको छु, भर्ना भएका विद्यार्थीले पैसा फिर्ता लान चाहेमा दिने र सिटिइभिटीविरुद्ध अदालत जान्छौँ भन्दै गएका छन् ।” यता सिटिइभिटीका सदस्य सचिव पुष्परमण वाग्लेले चक्रवर्ती हवि नर्सिङ कलेजलाई सिटिइभिटीले विद्यार्थी भर्ना गर्न स्वीकृति प्रदान नगरेको र नवीकरणसमेत नगरेको बताउँदै विद्यार्थीलाई भर्ना नगर्न सूचना जारी गरेको बताए । विद्यार्थी भर्ना भए त्यसको जिम्मेवार सिटिइभिटी नहुने बताउँदै उनले विगत दुईवर्ष अदालतको आडमा विद्यार्थी भर्ना गराए पनि यसवर्ष भने कलेज खारेज गर्ने प्रक्रिया अगाडि बढाउने बताए । कलेजले विगत दुईवर्ष पनि यसैगरी अवैधानिकरुपमा विद्यार्थी भर्ना गर्ने र अदालतबाट स्टे अर्डर ल्याएर विद्यार्थीको रजिस्ट्रेसन दर्ता गराउने गर्दै आएको थियो । सिटिइभिटीको नियमअनुसार हरेकवर्ष विद्यार्थी भर्नाअघि कलेजको भौतिक तथा शैक्षिक पूर्वाधार ठीक भए÷नभएको, शिक्षक गुणस्तरीय भए÷नभएको, आफ्नै अस्पताल वा एकसय शय्याका अरु अस्पतालसँग प्रयोगात्मक शिक्षाका लागि अनुमति लिए÷नलिएको अनुगमन गरेर सिटिइभिटीको मापदण्ड पूरा गरेकालाई मात्रै विद्यार्थी भर्ना गर्न स्वीकृति प्रदान गर्ने र नवीकरण गर्ने नियम छ । चक्रवर्तीले सिटिइभिटीका यी कुनै नियम पूरा नगरेको सिटिइभिटी सम्बन्धन महाशाखाका निर्देशक जीवनारायण काफ्लेले जानकारी दिँदै कलेजमा शिलबन्दी गरिने बताए । सिटिइभिटीले पनि कानूनी बाटो अवलम्बन गर्ने बताउँदै सदस्य सचिव वाग्लेले भने, “नर्सिङ कलेजको सम्बन्धन दिने, नवीकरण गर्ने अधिकार सिटिइभिटीसँग मात्रै छ, कि ऐन खारेज गर्नुपर्यो, हैन भने ऐन, नियम विपरीत विद्यार्थी भर्ना गर्ने र अदालतको आडमा स्टे अर्डर जारी गरे कलेज खारेजीको प्रक्रियामा अगाडि जान्छौँ ।” विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर विगतमा अदालतको स्टे अर्डरलाई मानेर विद्यार्थीको रजिस्ट्रेसन गरिए पनि यसवर्ष भने ऐन मिच्ने, १ सय शय्याको अस्पतालमा प्रयोगात्मक गर्न अनुमति नभएको, पूर्वाधार नपुगेको र नवीकरण नगरेकाले विद्यार्थीको रजिस्ट्रेशन नगर्ने अदालतले सिटिइभिटीको भनाइ छ । अदालतले सिटिइभिटी प्रशासन प्रमुख रमेश बखतीले चक्रवर्ती नर्सिङ कलेजले झुटो सूचना जारी गरेर जनमानसमा भ्रम फैलाउँदै विद्यार्थी भर्ना गराएको सुन्नमा आएको बताउँदै सिटिइभिटीले भर्ना नहुन सार्वजनिक सूचना नै जारी गरेकाले त्यसको जिम्मेवारी सिटिइभिटीले नलिने बताए । विद्यार्थी भर्ना गर्न आएका अभिभावक चाँगुनारायण नगरपालिका–९ का नकुल राउतले कलेजले विद्यार्थीलाई भर्नाको नाममा ठगी गरेको बताउँदै भर्ना भएका विद्यार्थीको रकम फिर्ता गर्नुपर्ने बताए । भर्ना भएका विद्यार्थी र उनका अभिभावकले कलेजमा दिनभर भेला भएर कलेजले विद्यार्थीको भविष्य अन्योल बनाउन खोजेको बताउँदै रकम फिर्ता गर्न माग गरेका थिए । रासस ––––––