विकासन्युज

हिमालयन बैंकले दियो ६ नेपाली फेलोलाई एचबिएल-दायित्व फेलोसिप अवार्ड

काठमाडौं । हिमालयन बैंक लिमिटेडले यस वर्ष नेपाली फेलोहरुलाई एचबिएल—दायित्व फेलोसिप अवार्ड २०१७ प्रदान गरेको छ । यी फेलोहरुले नेपालको आर्थिक समृद्धिको लागि विभिन्न सरकारी निकायहरु तथा नीति निर्माताहरुसँग सहकार्य गरी शासन प्रणालीमा नवीनता ल्याउन सहयोग पुर्‍याउने बैंकले जानकारी दिएको छ। बैंकले सन् २०१६ देखि ६ जना नेपाली फेलोहरुलाई यो अवार्ड प्रायोजन गर्दै आइरहेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समसेर ज.ब.रा. ले बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक समारोहमा अवार्ड प्रायोजन वापतको ५ लाख ४ हजार रुपैयाँ दायित्वका कार्यकारी निर्देशक डा. पुकार मल्ललाई प्रदान गरेका छन् । सोही अवसरमा दायित्वका तर्फवाट कार्यकारी निर्देशक डा. मल्लले बैंकका प्रमुख कार्यकारी अधिकृत राणालाई बैंकले फेलोसिप सञ्चालनका लागि गर्दै आइरहेको महत्वपूर्ण सहयोगको लागि प्रशंसा पत्र प्रदान गरेका छन् ।

प्रतिनिधिसभा उम्मेदवारले १४ लाख खर्च गर्न पाउने प्रस्ताव

काठमाडौँ, २९ भदौ । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हद तोक्ने सम्बन्धमा राजनीतिक दलसँग परामर्श गरेको छ । परामर्शमा आयोगका तर्फबाट पहिलो निर्वाचित हुने प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक जना उम्मेदवारले अधिकतम  १४ लाख ४१ हजार ५०० रूपैयाँसम्म खर्च गर्न पाउने प्रस्ताव अघि सारेको छ । मतदाता नामावली खरिद  १ हजार ५००, सवारी साधन प्रयोगमा  ३ लाख, सवारी साधनको इन्धनमा  ६० हजार, प्रचारप्रसार सामग्री छपाइमा  ५० हजार, ढुवानीमा  २५ हजार, आमसभा, गोष्ठी, जुलुसमा ७लाख, अन्य प्रचारप्रसार र विद्युतीय माध्यममा एक लाख, मतदान खर्च  ५५ हजार तथा विविध  एक लाख ५० हजार गरी  १४ लाख ४१ हजार ५०० सम्म खर्च गर्न पाउने प्रस्ताव आयोगले छलफलका लागि अघि सारेको हो । त्यस्तै प्रदेशसभा सदस्यको पहिलो निर्वाचित हुने प्रणालीअन्तर्गत उम्मेदवारले प्रतिनिधिसभा सदस्यको आधा अर्थात् ७ लाख २१ हजार ७५० निर्वाचन खर्च गर्न पाउने अधिकतम हदको प्रस्ताव गरेको छ । यसैगरी, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले आफूले पेश गरेको बन्द सूचीमा उम्मेदवारी दिएको उम्मेदवारको संख्याअनुसार प्रतिउम्मेदवार रु दुई लाखका दरले हुन आउने रकमसम्म खर्च गर्नसक्ने आयोगले प्रस्ताव गरेको छ । त्यस्तै प्रदेशसभा सदस्यमा पनि उम्मेदवारको संख्याका आधारमा प्रतिउम्मेदवार १लाख ५० हजारका दरले निर्वाचन खर्च गर्नसक्ने प्रस्ताव आयोगले राजनीतिक दलका बीचमा छलफलका लागि लगेको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मितव्ययी बनाउने सन्दर्भमा आयोगले राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हद तोक्ने प्रस्ताव अघि सारेको हो । निर्वाचन खर्चको विवरण पेश गर्नुपर्ने दायित्व भएका राजनीतिक दल वा उम्मेदवारले निर्वाचनको अन्तिम परिणाम प्रकाशन भएको मितिले ३० दिनभित्र बिल भरर्पाईसहितको खर्चको विवरण पेश गर्नुपर्नेछ । आयोगले तोकेको हदभन्दा बढी खर्च गर्ने वा तोकिएको अवधिमा खर्चको विवरण पेश नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई निजले गरेको खर्च वा आयोगद्वारा निर्धारित खर्चको हदमध्ये जुन बढी हुन्छ सोही बराबरको रकम जरिवाना गर्नसक्ने कानूनी व्यवस्थाका लागि पनि आयोगले प्रस्ताव गरेको छ । आयोगद्वारा गरिएको जरिवाना छ महिनासम्म नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुनेगरी बढीमा छ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउन वा उम्मेदवार हुन अयोग्य घोषित गर्नसक्ने कानूनी व्यवस्थाका लागि प्रस्ताव गरेको छ । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकार, राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गराउन आयोग संवेदनशील रहेको बताए। रासस

नेपालको फुटवल खेल खस्कियो, फिफा वरियातमा १८१ औ स्थान

काठमाडौं । नेपाल फुटवल खेलमा कमजोर हुदै गएको छ । विश्व फुटबल महासंघ (फिफा) को विश्व वरियतामा नेपाल ६ स्थान तल झरेको छ । फिफाले सार्वजनिक गरेको वरियताअनुसार नेपाल ६ स्थान तल झर्दै १८१ औं स्थानमा पुगेको छ । अघिल्लो महिना १७५ औं स्थानमा रहेको थियो । नेपाल एएफसी एसियन कप छनोट अन्तर्गत गत हप्तामात्र नेपाल एसियाली मुलुक ताजिकिस्तानसँग पराजित भएपछि ६ अंक तल झरेको हो । त्यसबेला नेपाल ताजकिस्तानसंग २–१ ले पराजित भएको थियो । फिफाको नयाँ वरियता अनुसार नेपाल भुटानभन्दा पछि छ भने दक्षिण एसियामा चौथो स्थानमा पुगेको छ । नेपालभन्दा अघि भारत, माल्दिभ्स र भुटान छन् । फिफाको नयाँ वरियताको शीर्षस्थानमा जर्मनी हुन पुगेको छ । जर्मनीले ब्राजिललाई पछि पार्दै शिर्ष स्थानमा उक्लिएको हो । ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो, अर्जे्न्टिना चौथो र बेल्जियम पाँचांै स्थानमा छन् ।

कुलमानका कारण उँभो लाग्यो विद्युत् प्राधिकरण, लोडसेडिङ हट्यो, नोक्सान घट्यो

काठमाडौ । एउटा मान्छे बदलिँदा सरकारी संस्थान कसरी सफलताको दिशामा जाँदो रहेछ भन्ने पुष्टि गरेको छ नेपाल विद्युत् प्राधिकरणले । सरकारले गत वर्ष आजैका दिन प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्यो । उनी कार्यकारी निर्देशकमा नियुक्त हुनु अगाडि प्राधिकरणले हिउँदमा सात घण्टा दैनिक विद्युत्भार कटौती हुने प्रक्षेपण गरेको थियो ।  प्राधिकरणको आर्थिक अवस्था दुरुहपूर्ण अवस्थामा थियो । सञ्चित घाटा बढ्दै गएको थियो भने सञ्चालन खर्चसमेत बढिरहेको थियो । विद्युत्भार कटौतीका कारण मुलुकको आर्थिक, सामाजिक क्षेत्र नराम्ररी प्रभावित भएको थियो । नागरिकको दैनिक जीवन कष्टकर थियो । मुलुकको आर्थिक अवस्थासमेत नराम्ररी प्रभावित भएको थियो । गत वर्ष लक्ष्मीपूजाको दिनदेखि काठमाडौँ उपत्यका र प्रमुख शहरमा विद्युत्भार कटौतीको अन्त्य आज मुलुकभर फैलिएको छ । नागरिकमा सरकार र प्राधिकरणप्रतिको विश्वास बढेको छ । अँध्यारोको व्यापार गर्ने भनेर आरोप खेप्ने प्राधिकरणलाई हेर्ने दृष्टिकोण आज बदलिएको छ । प्राधिकरणको प्रमुख  भएको एक वर्ष पुगेको अवसरमा आज प्राधिकरणको प्रधान कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर घिसिङले भन्नुभयो, “म प्राधिकरणको नेतृत्व संहाल्न आउँदा जताततै समस्या नै समस्या थियो, तर आज एउटा नयाँ अवस्थामा आइपुगेका छौँ । विद्युत्भार कटौतीको अन्त्य भएको छ । नागरिकमा एउटा नयाँ विश्वास पैदा भएको छ ।” उहाँले आव २०७२÷७३ मा रु तीन अर्ब छ करोड ३९ लाख सञ्चालन नोक्सानीमा रहेको प्राधिकरण  २अर्ब ४० करोड ७३ लाख सञ्चालन नाफा गर्न सफल भएको जानकारी दिए । आव २०७२/७३ मा ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरण आव २०७३/७४ मा  ९७ करोड ८९ लाख  रूपैयाँमा सीमित भएको छ । प्राधिकरणको वार्षिक बजेटमै आव २०७३/७४ को घाटा करिब ७ अर्ब ५० करोड रूपैयाँ  हुने प्रक्षेपण गरिएको थियो । अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि खुद वार्षिक घाटा अझै कम हुने अनुमान गरिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । प्राधिकरणले नेपाली जनताको लगानी सुनिश्चित गर्न कम्पनी मोडलमा जलविद्युत् आयोजना निर्माण गर्ने निर्णय गरेको जानकारी दिँदै माथिल्लो अरुण, दूधकोशी, तमोर, उत्तरगंगा, आँधीखोला, राहुघाट, मोदी र तामाकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माणका लागि कम्पनी स्थापना गरिएको सो अवसरमा जानकारी दिइयो । जलविद्युत् आयोजनामा परामर्श सेवा उपलब्ध गराउनका लागि प्राधिकरणको ५१ प्रतिशत, विद्युत् उत्पादन कम्पनी तथा राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको १७÷१७ प्रतिशत र जलविद्युत् लगानी तथा विकास कम्पनीको १५ प्रतिशत शेयर लगानी रहने गरी ‘एनइए इन्जिनियरिङ कम्पनी लिमिटेड’ स्थापना गरी क्रियाशील बनाइएको समेत कार्यकारी निर्देशक घिसिङको भनाइ छ । देशलाई ऊर्जामा आत्मनिर्भर बनाई आर्थिकरुपमा समृद्ध बनाउन जनताको समेत लगानीमा जलविद्युत् आयोजनाको द्रुत गतिमा विकास गर्ने लक्ष्य राखेको छ । जलाशययुक्त र पिकिङ आयोजना निर्माणमा विद्युत् प्राधिकरणले विशेष पहल गर्ने तथा अन्य वैकल्पिक ऊर्जाको उचित समिश्रणलाई हुने गरी उत्पादन समिश्रण कायम गर्ने योजना अगाडि सारेको छ । यस्तै पूर्व–पश्चिम र उत्तर दक्षिण जोड्ने उच्च भोल्टेजका प्रसारण लाइन निर्माण सम्पन्न गर्ने । छिमेकी देशसँग जोड्ने अन्तरदेशीय उच्च भोल्टेजका प्रसारण लाइन निर्माण गर्ने कार्यलाई जोड दिइएको छ । ग्राहकलाई गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्ने र प्राधिकरणलाई आर्थिकरुपमा सक्षम र सवल बनाउँदै व्यावसायिक संस्थाका रुपमा विकास गर्नेसमेत कार्यकारी निर्देशक घिसिङको नयाँ कार्ययोजना रहेको छ । प्राधिकरणको वित्तीय अवस्था सुदृढ गर्नका लागि सञ्चालन खर्चमा न्यूनीकरण, स्वः उत्पादन वृद्धि, विद्युत् चुहावट घटाउँदै विद्युत्को बिक्री परिमाण बढाउनेलगायत उपलब्ध स्रोतको अधिकतम परिचालन गर्ने । आगामी वर्ष पनि विद्युत् चुहावट करिब तीन प्रतिशतले घटाउने लक्ष्य राखिएको छ । गत आवमा तीन प्रतिशत नै चुहावट घटाउन सफल भएको प्राधिकरणले जनाएको छ । आगामी दिनमा रातको समयमा खेर जान सक्ने विद्युत् र बढी विद्युत् माग हुने समयमा माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न रुपा बेगनास पम्प स्टोरेज आयोजनाको सम्भाव्यता अध्ययन गरी कार्यान्वयन गर्ने प्रणालीको विकास गर्न लागिएको प्राधिकरणको भनाइ छ । आगामी १० वर्षभित्र करिब १२ हजार मेगावाटसम्मको विद्युत् खपत गर्न सक्ने गरी मुलुकका प्रमुख शहरी तथा औद्योगिक क्षेत्रमा वितरण प्रणाली विस्तार गर्ने नीति प्राधिकरणले लिएको छ । विद्युत् चुहावट घटाउन, सेवा प्रवाहमा दक्षता अभिवृद्धि गर्न तथा ग्राहकलाई थप सुविधा उपलब्ध गराउन स्मार्ट मिटर र स्मार्ट ग्रिडलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने, अनलाइन तथा एकीकृत भुक्तानी प्रणालीलाई अवलम्बन गरी ग्राहकलाई थप सुविधा उपलब्ध गराउने पनि प्राधिकरणको लक्ष्य रहेको छ । रासस

विदेशमै रासायनिक मल उद्योग खोल्नेबारे छलफल सुरु, ग्यासको पाइपलाइन नभै नेपालमा असम्भव

काठमाडौं । एलपी ग्याँसको खानी भएकै मुलुकमा रासायनिक मल उत्पादन गरेर नेपाल ल्याउने विकल्पबारे छलफल सुरु भएको छ । भारतीय कम्पनी डेभलपमेन्ट कर्पोरेशन (कर्नाटक) लिमिटेडले तयार पारेको रासायनिक मल उद्योग स्थापना सम्बन्धी डिपिआरको अध्ययनका क्रममा एलपी ग्याँसको खानी भएकै मुलुकमा मल उद्योग स्थापना गर्ने विकल्पबारे छलफल भएको हो । सो कम्पनीले ढल्केबरमा रासायनिक मल उद्योग उस्थापना गर्न सकिने प्रतिवेदन बुझाएको थियो । तर ठुलो मात्रामा एलपी ग्याँस आवश्यक पर्ने देखिएपछि त्यस्तो विकल्पबारे छलफल अघि बढेको हो । ‘एलपी ग्यासको पाइपलाईन नभएसम्म नेपालमा रासायनिक मल उद्योग सञ्चालन गर्न नसकिने अवस्था देखियो, त्यसैले जुन देशमा ग्यासको खानी छ, त्यसकै नजिक मल उद्योग स्थापना गरेर मल मात्रै नेपाल ल्याउने विकल्पबारे छलफल अघि बढाएका छौं’, राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रभु बुढाथोकीले भने । लगानी बोर्डको साउन १८ गते बसेको बैठकले डा. बुढाथोकीको नेतृत्वमा रासायनिक मल उद्योग स्थापना सम्बन्धी डिपिआर अध्ययनका लागि उनको नेतृत्वमा उच्चस्तरिय समिति गठन गरेको थियो । सो समितिका संयोजक बुढाथोकीले नै ग्यास खानी भएकै मुलुकमा रासायनिक मलको उद्योग स्थापना गर्नुपर्ने विकल्पमा छलफल अघि बढाएका हुन् । ‘पानी र कोइलाबाट मल उत्पादन गर्ने प्रबिधी अहिले छैन, हामीसँग एलपी ग्यासको खानी पनि छैन, बुलेटबाट ग्यास ल्याएर नेपालमै रासायनिक मल उत्पादन गर्ने कुरा त्यति सम्भव देखिएन, त्यसैले नयाँ विकल्पबारे आफैंले छलफल सुरु गरेको हुँ’, उनले विकासन्युजसँग भने । भारतीय कम्पनीले ७ लाख मेट्रिक टन मल उत्पादन क्षमताको उद्योग १६२ हेक्टर जमिनमा स्थापना गर्न सकिने उल्लेख गरेको छ । त्यस्तो उद्योग स्थापनाका लागि ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । भेटिएनन् रासायनिक मल विज्ञ समितिले अब रासायनिक मल विज्ञ नेपालीहरुसँग छलफल गर्ने तयारी गरेको छ तर अहिलेसम्म नेपालमा रासायनिक मलका विज्ञ फेला पार्न सकेको छैन् । त्यसैले विदेशमै रहेको नेपाली रासायनिक मल विज्ञहरु समेत खोज्ने क्रम सुरु गरेको बुढाथोकीले बताए । ‘हामीले एउटा प्राबिधिक टिम बनाएका छौं, त्यो टिमले रासायनिक मलका विज्ञहरु खोजेर थप अध्ययन गर्छ’, बुढाथोकीले भने ।

आइतबार ५ अर्बको विकास ऋणपत्र आउदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ५ अर्ब रुपैयाँको ऋणपत्र बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैंकले सरकारका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो । आगामी १० वर्षका लागि निष्कासन गर्न लागेको ऋणपत्रको सावाँ ०८४ असोज २ गते फिर्ता हुने राष्ट्र बैंकले जनाएको छ । प्रत्येक ६ महिनामा ऋणपत्रको ब्याज भुत्तानी हुने छ । ऋणपत्र बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउने छन् । सरकारले चालु आर्थिक वर्षमा कुल १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउदै छ । यसमध्ये विकास ऋणपत्र उपकरणबाट ७२ अर्ब रुपैयाँ उठाउने लक्ष्य लिइएको छ ।

बिहिबारदेखि १६औं आइईएफ सम्मेलन सुरु, सिंचाई मन्त्रीले भने, ‘उद्यमशिलता अघि बढेमात्र राष्ट्र सफल हुन्छ’

काठमाडौं । सिंचाइ मन्त्री सञ्जयकुमार गौतमले उद्यमशिलतालाई दिगो रुपमा अघि बढाउन सकेमात्रै ब्यक्तिगत तथा राष्ट्रिय सफलता हासिल हुने बताएका छन् । नेपालमा बढ्दै गइरहेको श्रम तथा बौद्धिक पलायनले समस्या श्रृजना गरिरहेको औल्याउँदै उनले वैकल्पिक जिविकोपार्जनका लागि उद्यमशिलताको विकास तथा प्रबद्र्धनमा सबै एकजुट भएर लाग्नुपर्ने  बताएका हुन् । बिहीबार राजधानीमा आयोजित दिगो उद्यमशिलता तथा आर्थिक विकास १६ औं इन्टरनेशनल आन्टरप्रेनर सिप फोरम (आइएफ) सम्मेलनको उद्घाटन गर्दै मन्त्री गौतमले नेपालमा तत्कालिक रुपमा उद्यमशिलताको विकास गनुपर्ने हालको परिप्रेक्षमा आइ ई एफ सम्मेलनको आयोजना सान्दर्भिक भएको बताए । विश्वास व्यक्त गरे। सम्मेलनकाप्रमुखवक्ता इसेक्स विजनेश स्कुलका प्रफेसर जय मित्राले उद्यमशिलता सम्पूर्ण संसारलाई गति दिनका आवश्यक नयाँ विचार तथा समाधानको खोजी भएको बताए । सोका लागि आवश्यक नयाँ प्रविधीको आवश्यकता औल्याउँदै उनले मानव शंसाधन, प्रविधी र आर्थिक, समाजिक तथा वातावरणिय श्रोतहरुको दिगो प्रयोग माथि जोड दिए । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर यूवराज खतिवडाले दिगो विकास लक्ष्य र सो लक्ष्यहरु हासिल गर्नका लागि नेपालले गरिरहेको पहल बारे प्रकाश पारे । कतिपय दिगो विकास लक्ष्य हासिल गर्नका लागि हालको संस्थागत संरचना बाधक रहेको बताउँदै सो संरचनालाई गम्भिरतापूर्वक सच्याउनुपर्ने खतिवडाले बताए । यसका साथै लक्ष्यहरुलाई पछ्याउन सहज गराउने उदेश्यका साथ नेपाल सरकारले सन् २०१५ मा राष्ट्रिय प्रतिवेदनतयार गरेको जानकारी दिँदै उनले लक्ष्य हासिल गर्ने दिशामा संचालन गरिनुपर्ने क्रियाकलापहरुलाई प्राथमिकता दिनका लागि दिगो विकास लक्ष्यलाई हालको राष्ट्रिय योजनामा पारिएको उनले बताए । सम्मेलनको पहिलो दिन आज देशी तथा २० वटाभन्दा बढी राष्ट्रका विदेशी शिक्षक तथा विधार्थी, उद्यमी, विज्ञ, अनुसन्धानकर्ता, व्यापारी तथा व्यवसायी तथा विकास संस्थाका प्रतिनीधिहरु गरी ५०० जनाभन्दा बढीले सहभागी रहेको आयोजकले जानकारी दिएका छन् । सन् २००१ मा इटालिको नेपल्सबाट सुरु भएको यस सम्मेलनको आयोजना हालसम्म चीन, भारत, दक्षिण अफ्रिका, कोलम्बिया, टर्कि, बहराइन, इटाली, लुथिनिया तथा लाट्भीयामा भइसेकेको छ । यसबाहेक मेडेप परियोजनाअन्तर्गत छानिएका १० उत्कृष्ट बस्तुहरुको प्रदर्शनीको उदेश्यका साथसम्मेलनमा १३ वटा स्टलहरु पनि राखिएको छ । साथै, सम्मेलनको दोश्रो दिनभोली पाँचवटा सफल उद्यमशिलताको यात्रा सम्बन्धि भिडियो पनि देखाइनेछ जसमा उत्कृष्ट चयन हुने एक भिडियोलाई ५० हजार रुपैँया राशि बारबरको पुरष्कारले सम्मान गरिने आयोजकले बताएका छन् । “सबै खाले श्रोतहरुको प्रचुरताको बाबजुतपनि नेपालले सामाजिकतथाआर्थिक विकास हासिलगर्नका लागितिश्रोतहरुलाई सदुपयोग गर्न सकेको छैन,”कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालले भने, “यी तथा अन्य यस्ता समस्याहरुको दिर्घकालीन समाधानका लागि नै नेपाललाई बढी भन्दा बढी नविन सोच तथा सम्पूर्णरुपले जाँगरिला उद्यमीहरुको खाँचो परेको हो ।”  

सेयर बजारमा करेक्सन, ३७ अंकले बढ्यो

काठमाडौं । लगातार १२ दिनदेखि घट्दै आएको सेयर बजारमा बिहीबार करेक्सन भएको छ । बिहीबार बजार ३७.११ अंक बढेर १ हजार ५३० अंकमा पुगेको छ । बुधबार ९ अंक घटेर १ हजार ५ सय तल पुगेको थियो । कारोबार रकम कम भएपनि बजार भने साढे २ प्रतिशतले बढेको छ । १२ दिनपछि बजार करेक्सन भएको नेपाल स्टक ब्रोकर एसोसियसनका पुर्व अध्यक्ष नरेन्द्र सिजापति बताउछन् । लगातार घट्दै गएको बजार बढेपछि एउटा विन्दुमा आएर करेक्सन भएको उनको भनाई छ । “आजको बजार वृद्धिले लगानीकर्तामा सकरात्मक मनोबैज्ञानिक प्रभाव पारेको छ” उनले भने “आगामी दिनमा यसले निरन्तरता पाउछकी पाउदैन त्यो हेर्न बाँकी छ ।” आज एक दिनको वृद्धिलाई आधार मानेर विश्लेषण गर्न नसकिने बताउदै उनले भने “अर्को हप्ता कस्तो कारोबार हुन्छ हेर्नुपर्छ । यद्यपी बढ्ने संकेत देखिएको छ ।” बिहीबार बैकिङ, होटल, बीमा, जलविद्युत, विकास बैंक, वित्त र उत्पादनमुलक सबै क्षेत्रको बजार बढेको छ । बिहीबार सबैभन्दा बढी कमाउनेमा राष्ट्रिय बिमा कम्पनी लिमिटेडका लगानीकर्ता भएका छन् । राष्ट्रिय बीमा लगानीकर्ताले एकै दिन १ हजार ४७० रुपैयाँ कमाएका छन् । यो कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेर १६ हजार १८० रुपैयाँ पुगेको छ । यस्तै गुमाउनेमा नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकताले ३५८ रुपैयाँ गुमाएका छन् । नेसनलले बिहीबार ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । नेसनलको १० प्रतिशत घटेको छ । बिहीबार ६३ करोड ५० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । नेपाल लाईफको प्रतिकित्ता १ हजार ९८९ मा कुल ३ करोड ८ लाख २५ हजार रुपैयाँ किनबेच भएको छ ।